विकासन्युज

सिँचाइ मन्त्रालयका ५ वर्षे कार्यक्रमका लागि २५ अर्ब बजेट चाहिने

काठमाडौं, ५ साउन । सरकराले कृषियोग्य भूमिमा भरपर्दो र दिगो सिँचाइ सेवामार्फत कृषि उत्पादकत्व तथा उत्पादन वृद्धि गर्न तराई तथा भित्री मधेशका २२ जिल्लामा ‘समृद्ध तराई मधेश सिँचाइ विशेष’ कार्यक्रम लागू गर्ने भएको छ । कृषियोग्य भूमिमा सिँचाइको भरपर्दो व्यवस्था मिलाउन तथा उत्पादकत्व बढाएर देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सिँचाइ मन्त्रालयले यस्तो विशेष कार्यक्रम कार्यान्वयनमा लैजान लागेको हो । ५ वर्षे उक्त कार्यक्रमका लागि रू. २४ अर्ब ८० करोड बजेट लाग्ने अनुमान सिँचाइ विभागले गरेको छ । कार्यक्रममा तराईका १८ र भित्री मधेशका उदयपुर, मकवानपुर, दाङ र चितवन जिल्ला समेटिएका छन् । आगामी ५ वर्षमा सम्पूर्ण कृषिभूमिमा बाह्रै महीना सिँचाइ सुविधा पु¥याउने लक्ष्यसहित सरकारले चालू आवमा २०७३/७४ मा रू.२४ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ । सो कार्यक्रम कार्यान्वयन गर्न चालू आवमा रू.२ अर्ब ३० करोड विनियोजन गरिएको मन्त्रालय योजना तथा कार्यक्रम महाशाखाका सह–सचिव सागरकुमार राईले जानकारी दिए । उनका अनुसार तराई र भित्री मधेशका ११ जिल्लामा आधुनिक सिँचाइ प्रणालीमार्फत सिँचाइ सुविधा उपलब्ध गराउन सो कार्यक्रम प्रारम्भ गर्ने लागिएको हो । कार्यक्रमअन्तर्गत ती क्षेत्रमा सिँचाइको भरपर्दो व्यवस्थाका लागि उपलब्ध स्रोत तथा सम्भावनाका आधारमा सतह तथा भूमिगत सिँचाइ सेवाको विस्तार र नयाँ पोखरी तथा इनारको निर्माण गरिने छ । आधुनिकीकरणसहित क्षमता अभिवृद्धि गरिने भएको छ । मन्त्रालयका अनुसार सुनसरी–मोरङ, बागमती, कमला र नारायणी सिँचाइजस्ता ठूला तथा बृहत् आयोजनामा थप पानी उपलब्ध गराउन स्थानीय खोला, खोल्सी, नाला आदिको पानीसमेत उपयोग गर्ने गरी कार्यक्रम तयार गरिएको छ । कार्यक्रमअन्तर्गत भूमिगत स्यालो तथा डीप ट्युबवेल निर्माणबाट करीब ९४ हजार हेक्टर, तालतलैया तथा इनार निर्माणबाट करीब १७ हजार हेक्टर र सतह सिँचाइका अन्य योजना निर्माणबाट १७ हजार ५ सय हेक्टर सिञ्चित क्षेत्र विस्तार गरी करीब १ लाख २८ हजार ५ सय हेक्टर थप कृषियोग्य भूमिमा सिँचाइ सेवा विस्तार हुनेछ । ‘विद्यमान सिँचाइ प्रणालीहरूको पुनःस्थापना तथा सुधारबाट करीब ५७ हजार हेक्टर कृषियोग्य जमीनमा सिँचाइ सेवा व्यवस्थित र भरपर्दो हुन गई कृषि उत्पादन दोब्बरले बढ्ने अपेक्षा गरिएको छ,’ उनले भने, ‘रोजगारी सिर्जना गर्नु र उत्पादकत्व बढाई आयात प्रतिस्थापन गर्नु कार्यक्रमको प्रमुख उद्देश्य हो ।’ सिँचायको भरपर्दो व्यवस्था नहुँदा देशकै अन्न भण्डार तराईका केही जिल्लाले अधिकांश खडेरी चपेटा भोग्नु पर्दा कृषि उत्पादनमा कमी आएपछि मन्त्रालयले सिँचाइका लागि विशेष कार्यक्रम सञ्चालन गर्न लागेको हो । आयोजनाको अन्त्यसम्म १ हजार ३ सय तालतलैया तथा पोखरी संरक्षण तथा पुनःस्थापन गरिनेछ भने ५ हजारओटा नयाँ इनार निर्माण गर्ने भएको छ । सरकारले चालू आवको बजेटमा सिँचाइ सुविधामार्फत उत्पादकत्व वृद्धि गरी देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्घोष गरेको छ । विगत केही वर्षयता सिँचाइको बजेटमा लगातार वृद्धि भए पनि खाद्यान्न उत्पादन भने घट्दै गएको सरकारी तथ्याङ्कले देखाएको छ । कुल गार्हस्थ्य उत्पादनमै ठूलो असर पार्ने धान बालीको उत्पादन १० दशमलव २ र गहँुको उत्पादन १२ प्रतिशतले घटेको तथ्याङ्क कृषि विकास मन्त्रालयले सार्वजनिक गरिसकेको छ । अघिल्लो आव २०७०/७१ मा ४७ लाख ८८ हजार मेट्रिक टन धान उत्पादन भएकोमा गत आवमा उत्पादन घटेर ४२ लाख ९९ हजार मेटमा सीमित भएको छ । अघिल्लो आवमा १९ लाख ७५ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो । नाकाबन्दी र खडेरीका कारण गत आवमा १७ लाख ३७ हजार मेटमात्र गहुँ उत्पादन भएको छ । गत आवमा ३३ लाख ७७ हजार हेक्टरमा खाद्यान्न बाली लगाई ९२ लाख ६६ हजार मेट उत्पादन भएकोमा चालू आवमा उत्पादन क्षेत्र ३३ लाख ६ हजार हेक्टरमा खुम्चेको र उत्पादन पनि ८६ लाख १४ हजार मेटमा सीमित रहेको छ । हाल नेपालमा करीब २६ लाख हेक्टर कृषियोग्य जमीन रहेको छ । सोमध्ये चालू आवसम्ममा जम्मा १३ लाख ८९ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध छ । यो चालू आवको लक्ष्य १३ लाख ९६ हजार हेक्टरको ९९ प्रतिशत हो । यही प्रगतिबाट उत्साहित भएर आगामी आवमा सिँचाइ सुविधा उपलब्ध जमीन १४ लाख ३७ हजार हेक्टर पु¥याउने सरकारको लक्ष्य छ ।

‘प्रहरी मेरो साथी’ अभियानअन्तर्गत घरघरमा स्टिकर टाँस्दै

सप्तरी, ५ साउन । ‘प्रहरी मेरो साथी’ अभियानअन्तर्गत यहाँ आइतबारदेखि प्रहरीले फोन नम्बर अङ्कित स्टिकर टाँस कार्यक्रमलाई निरन्तरता दिएको छ । जिल्लाको पाँच नगरपालिका र ९१ वटा गाविसमा कुल एक लाख २१ हजार घरको मूल ढोकामा प्र्रहरी आफैँ गएर सो स्टिकर टाँस्ने अभियान सञ्चालन गरेको प्रहरीले जनाएको छ । नागरिकलाई असुरक्षा महसुस हुने गतिविधिप्रति सजग, सचेत र सतर्क गराउने, अपराधिक घटना कम गर्ने उद्देश्यले प्रहरीको पहुँच छिटो र प्रभावकारी बनाउन एवम् प्रहरी र नागरिकबीचको सम्बन्ध प्रगाढ बनाउने तथा नागरिकमा शान्ति सुरक्षाको थप अनुभूति दिलाउन यो अभियान सञ्चालन गरिएको सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। सो अभियानअन्तर्गत प्रहरीले जिल्लाको प्रत्येक घरका परिवारसँग भेटघाट गर्ने, नागरिकसँग सुमधुर सम्बन्ध स्थापित गर्न प्रयास गर्ने, नागरिक सूचनाका आधारमा फरार अपराधी अभियुक्तलाई पक्राउ गर्नेलगायतका कार्यलाई निरन्तरता दिने प्रहरी उपरीक्षक ढकालले बताए । गतवर्ष मधेस आन्दोलनको समयमा सप्तरीमा प्रहरी र नागरिकबीचको सम्बन्ध चिसिदै गएको बेला यस अभियानलाई निरन्तरता दिएको प्रहरीको भनाइ छ । रासस

ब्रोकर कमिसन करिब ४० प्रतिशतले घट्यो, (धितोपत्र बोर्डको निर्देशन पत्रसहित)

काठमाडौं, ५ साउन । अर्थमन्त्रालयले सेयर ब्रोकर कम्पनीहरुको कमिसन करिब ४० प्रतिशतले घटाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिएको छ । मन्त्रालयको स्वीकृति पाएपछि बोर्डले आजै निर्णय गरेर सेयर कारोबारमा लाग्दै आएको ब्रोकर कमिशन  घटाएको छ । । अब ५० हजार रुपैयाँसम्मको सेयर कारोबारमा शुन्य दशमलब ६ प्रतिशत मात्रै ब्रोकर कमिसन लाग्नेछ । यसअघि ५० हजारसम्मको कारोबारमा एक प्रतिशत कमिसन लाग्दै आएको थियो । त्यस्तै, ५० हजारदेखि ५ लाखसम्मको सेयर कारोबारमा शुन्य दशमलब ५५ प्रतिशत ब्रोकर कमिसन लाग्नेछ । यस अघि सो मात्राको कारोबारमा शुन्य दशमलब ९ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको थियो । त्यस्तै ५ लाखदेखि २० लाखसम्मको कारोबारमा लाग्दै आएको शुन्य दशमलब ८ प्रतिशत कमिसनलाई पनि शुन्य दशमलब ५० प्रतिशतमा झारिएको छ । २० लाखदेखि एक करोडसम्मको कारोबारमा लाग्दै आएको शुन्य दशमलब ७ प्रतिशत कमिसन पनि घटाएर शुन्य दशमलब ४५ प्रतिशत कायम गरिएको छ । एक करोड भन्दा बढिको कारोबारमा भने जम्मा शुन्य दशमलब ४ प्रतिशत मात्रै ब्रोकर कमिसन लाग्नेछ । धितोपत्र बोर्डको बोर्ड बैठकले बुधबारै निर्णय अनुमोदन गरेर नेपाल स्टक एक्सचेञ्च(नेप्से)लाई पत्राचार गरेको छ । घटाईएको ब्रोकर कमिसन बिहिबारदेखि नै लागु हुनेछ ।

सुमेरु सेभिङ्गको १८औं वाषिर्कोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, ५ साउन । ललितपुरको सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभले आफ्नो स्थापनाको १८ औं वाषिर्कोत्सव मनाएको छ । सुमेरु सहकारी र लायन्स क्लव अफ काठमाडौं सुमेरुको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरी वाषिर्कोत्सव मनाइएको हो । लायन्स कल्वका गभर्नर कुमार सुवेदी र सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले संयुक्त रुपमा रक्तदान कार्यक्रमको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा जम्मा ५ सय ३९ जनाले रक्तदान गरेका थिए । उक्त कार्यक्रम “सुमेरुको सामाजिक अभियान गरौं रक्तदान गरौं जीवन दान” भन्ने नाराका साथ सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला स्थित सरकारी र गैर सरकारी कार्यालयका पदाधिकारीहरुको उल्लेख उपस्थितीे रहेको थियो ।

सेयर बजारमा साढे १३ अंकको गिरावट, उत्पादनमूलक बाहेक सबै समूह ओर्लिए

काठमाडौं, ५ साउन । नेप्सेले समयाबधी थप गरेसँगै बजारमा उतार चढावको क्रम जारी छ । मंगलबार १३ अंकले बढेर १८०० अंकमा पुुगेको बजार बुधबार भने १३ दशमलब ६३ अंकले घटेर १७८६ अंकमा पुगेको छ । सो दिन १४१ कम्पनीको ३४ लाख ७४ हजार कित्ता सेयर २ अर्ब १२ करोड ९१ लाख रुपैयाँमा सेयर किनबेच भएको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकममा पनि करिब २ करोड बढीको गिरावट आएको छ । बुधबार उत्पादनमूलक समूह बाहेक अन्य सबै समूहको परिसूचक आरालो लागेका छन् । बजारमा सबैभन्दा बढी इन्स्योरेन्स समूहको परिसूचक १२६ अंकले ओरालो लागेको देखिन्छ । होटल, अन्य, हाइड्रोपावर र बैंकिङ् समूहको परिसूचक क्रमशः ३५, १५, १२ र ११ अंकले घटेका छन् । विकास बैंक र फाइनान्स समूह भने सामान्य अंक क्रमशः ६ र १ अंकले झरेका छन् । बजारमा सबैभन्दा बढी सिद्धार्थ बैंकको ३९ करोड ६९ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । शिखर इन्स्योरेन्स कम्पनीको करिब १० करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, माछापुच्छ्रे बैंक, नेपाल बैंक, एनआइसी एसिया बैंक र एडिविएल बैंकको ७ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । सो दिन ६ वटा कम्पनीको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ । मिसन डेभलपन्ट बैंक र बोटलर्स नेपाल(तराई) का लागानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत कमाएका छन् । त्यस्तै, किसान माइक्रोफाइनान्स वित्तिय संस्था, एडिबिएल, कैलाश विकास बैंक र अरनिको डेभलपमेन्ट बैंकको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ । मिथिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत गुमाएका छन् ।

एनबी इन्स्योरेन्सको शाखा गोंगबुमा पनि

काठमाडौं, ५ साउन । एनबी इन्स्योरेन्स कम्पनीले आफ्नो १३औं शाखा काठमाडौंको गोंगबुमा खोलेको छ । बुधबार बैंकका संचालक समितिका सदस्य योगेश्वर शर्मा ढकालले उक्त शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रममा कम्पनीका अध्यक्ष अम्बिका प्रसाद पौडेलले कम्पनीले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरिनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराएका छन् । कम्पनीका अनुसार निकट भविष्यमा कम्पनीले थप शाखा खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै सेवा प्रदान गर्ने जानकारी गराएको छ । त्यस्तै, कम्पनीका कार्यकारी प्रमुख श्रेष्ठले कम्पनीले आ.ब. २०७२/०७३ मा करिब २६ हजार बीमा लेखबाट ३५ करोड रुपैयाँ भन्दा बढी बीमा शुल्क आर्जन का साथै करिब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बताएका छन् । हालसम्म कम्पनीले १३ वटा शाखा, ५ वटा सम्पर्क कार्यालय तथा ७ वटा सेवा काउन्टरहरुबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।

बाढी पहिरोले द्वारीखोला हाइड्रोपावरमा करोडौँको क्षति

दैलेख, ५ साउन । दैलेखको द्वारीमा निर्माण सम्पन्न हुने तयारीमा रहेको ३.७५ मेगावाटको द्वारीखोला हाइड्रोपावरले बाढी र पहिरो आउँदा ठूलो क्षति बेहोरेको छ । पाइपलाइन र मुहान साइटमा पहिरो र बाढीले दुई करोड रुपैयाँकोको क्षति पुगेको निर्माण प्रवद्र्धक भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ । बत्ती परीक्षणको तयारी हुन दुई महिना बाँकी रहँदा बाढी पहिरोले क्षति पु¥याउँदा दैलेखवासी निराश भएका छन् । दसैँदेखि विद्युत्भार कटौतीमुक्त जिल्ला हुनेमा निश्चित रहेका दैलेखवासी हाइड्रोमा आएको बाढी पहिरोले निराश भएका हुन् । साइट इन्चार्ज सन्तोष कार्कीले असोजमा काम सकेर बत्ती बाल्ने कार्ययोजना केही दिनपछि धकेलिएको बताए । कम्पनीले द्वारीखोलाबाट २६ सय मिटर लम्बाइको नहर खनेर पाइपलाइनमार्फत एक किलोमिटर तल पानी झारेर पावरहाउसबाट विद्युत् निकाल्नेछ । यसरी द्वारीखोलाबाट निकालिएको विद्युत् ३२ किमी पोल गाडेर सदरमुकाममा रहेको सवस्टेसनमार्फत राष्ट्रिय लाइनमा जोडिने जनाइएको छ । मुहानमा बाढी र पाइप विछ्याउने तयारी रहेको ठाउँमा पहिरोले दुई करोड रुपैयाँकोको क्षति पुगेको आयोजना निर्माण कम्पनी भूगोल इनर्जी प्रालिका साइट इन्चार्ज कार्कीले जानकारी दिएका छन् । कार्कीले भने – “ठूलो पानी परेपछि बाढी र पहिरोले निर्माणस्थलमा क्षति गरायो । कम्पनीका अनुसार पाइप लाइन र ड्यामसाइटमा क्षति भएको छ ।” द्वारीखोला हाइड्रोपावरसँगै अन्य दुईवटा आयोजना निर्माण चरणमा भएपनि सुस्त गतिमा छन् । छिटो निर्माण कार्य सकेमा द्वारीखोला आयोजना दैलेख जिल्लामा ठूलो लगानीमा बत्ती बल्ने पहिलो हाइड्रो हुनेछ जसका लागि पावरहाउस, जेनेरेटर र टर्वाइन जडान, सवस्टेसनसम्म पोलहरु गाड्ने काम भइसकेका छन् । चीनबाट पाइप ल्याइएको हो भने भारतमा पावरहाउसमा जोडिने मेसिन ल्याइएको र निर्माणको काम भइरहेको द्वारीखोला हाइड्रोपावर कम्पनीका सञ्चालक समितिका सदस्य मोहनविक्रम कार्कीले बताए । सिभिल निर्माण, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकलको कामसँगसँगै गरेर प्रगति राम्रो देखाएको थियो । कम्पनीले प्रभावित क्षेत्र द्वारी गाविसमा रु एक करोड रकम खर्च गरेर गाउँसम्म मोटरबाटो खनेको छ । कम्पनीले ४० रोपनी जग्गाको रु एक करोड क्षतिपूर्तिसमेत दिइसकेको छ । त्यस्तै, कम्पनीले विद्यालय, पुल, सडक, गोरेटो बाटोका साथै स्थानीयवासीलाई रोजगारीसमेत दिएको छ । रासस

राष्ट्रिय बाणिज्य बैंकमा १९५ जनालाई जागिर, प्लस टु पासले आवेदन दिन सक्ने

काठमाडौं , ५ साउन  ।  राष्ट्रिय बाणिज्य बैंकमा १९५ जनालाई जागिर खुलला गरेको छ । गत वर्षकै प्रक्रियालाई निरन्तरता दिनेगरी बैंकले १०० जना थप गरी १ सय ९५ जना कर्मचारी भर्ना गर्न लागेको हो । गत वर्ष आवेदन दिएकाले यो वर्ष आवेदन दिनुपर्ने छैन । गत वर्षकै आवेदनले मान्यता पाउने बैंकले जनाएको जनाएको छ । बैंकले गत वर्ष महिला आवेदनका लागि ३५ वर्ष ननाघेका महिलाले आवेदन दिनसक्ने गरी विज्ञापन खुलाएको थियो । तर, ४० वर्षसम्मका महिलाले आवेदन दिन पाउनुपर्ने भन्दै अदालतमा मुद्दा परेपछि प्रक्रिया रोकिएको थियो । अदालतले ४० वर्षसम्मका महिलाले आवेदन दिन सक्ने फैसला गरेपछि कर्मचारी भर्नाको प्रक्रिया अघि बढेको हो । अदालतको फैसलापछि बैंकले आफ्नो कर्मचारीसम्बन्धी नियमावली संसोधन गरेको छ । बैंकले ३ तहमा ७३ जना, ५ तहमा ४१ जना, ६ तहमा ७५ जना, ७ तहमा पाँच जना र ८ तहमा एक जना कर्मचारीका लागि आवेदन मागेको हो । नयाँ कर्मचारीले विराटनगर, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी क्षेत्रीय कार्यालय अन्तरगर्तका शाखामा काम गर्नुपर्ने छ । प्लस टु उतिर्णदेखि माथिल्लो शैक्षिक योग्यता भएकाहरुले आवेदन दिन सक्नेछन् ।