धितोपत्र बोडमा तयार भयो सेयर बजारका सुधार ८ बुँदे कार्ययोजना, नेप्से र सीडीएसको पनि सहमति
काठमाडौं, ४ साउन । सेयर बजारमा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड बीच तत्काल काम गर्ने गरी ८ बुँदे कार्ययोजना बनेको छ । बढदो बजारको आयतन सँगसँगै लगानीकर्ताहरुलाई सहज र सरल रुपमा कारोबार र कारोबार पश्चातको फछर्यौट तथा राफसाफ चुस्त बनाउने साथै बजारमा देखिएका समस्याहरु समाधान गर्न यि काम गर्न लागिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष्य डा रेवतबहादुर कार्कीको अध्यक्षता सोमबार बसेको बैंठकमा बोर्डका उच्च अधिकृतहरु, नेप्से र सिडिएस एण्ड क्लियरिङ्ग लि.का उच्च अधिकृतहरुसँगको समेत सहभागितमा बनेको बनेको समयसिमा सहितको योजना र निर्णय निम्नअनुसार भएको बोर्डले जनाएको छ । १. सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले क्लियरिङ्ग बैंक थप्ने सम्बन्धमा कार्य अगाडि बढाइसकेकोमा यही साउन मसान्तअर्थात अगष्ट १६ सम्ममा प्राविधिक कार्य सम्पन्न गरी क्लियरिङ्ग बैंक थप्ने कार्यलाई सम्पन्न गर्ने । २. लगानीकर्ताको पहिचानका लागि यूनिक इन्भेष्टर आइडिन्टिफिकेशन (इन्भेष्टर आइडि) प्रदान गर्न बार्डले आवश्यक प्रविधि तथा प्रकृया विकास गर्ने सम्बन्धमा प्रकृया अगाडी बढाइ सकिएकोमा यसलाई आगामी भाद्र १५ गते सम्ममा अन्तिम रुप दिने सम्बन्धमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट आवश्यक कार्य गर्ने । ३. धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९ को व्यवस्था बमोजिम धितोपत्र तथा रकमको राफसाफ सम्बन्धमा टीप्लस टूमा नै पे–इनगर्न लगाउने, टीप्लसस थ्रीमा खरीदकर्ताको खातामा धितोपत्र तथा बिक्री कर्ता खातामा रकम जम्मा हुने व्यवस्था गर्ने र लगानीकर्ताले ढिलोमा कारोबार भएको चौथो दिनभित्र धितोपत्र तथा रकम पाउने व्यवस्था गर्न सम्पूर्ण निक्षेप सदस्य तथा राफसाफ सदस्यलाई सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले परिपत्र गरी कडाइका साथ सो को पालना गर्ने गराउने । ४. धितोपत्र दलाल व्यवसायीको भौतिक पूर्वाधार सहित मार्जिन लेण्डिङ्ग, डिलरसिप कार्य गर्न दिने सम्बन्धमा आवश्यक पुनरावलोकन गर्न आवश्यक देखिए बमोजिम यस सम्बन्धमा पहिलेनै नेपाल स्टक एक्सचेञ्जबाट राय सुझाव माग गरेकोमा नेप्सेले यही साउन मसान्तसम्ममा राय सुझाव उपलब्ध गराउने । ५. काठमाडौं बाहिर धितोपत्र दलाल व्यवसायीको कार्यालय विस्तार गर्ने सम्बन्धमा नेप्सेबाट कार्यदल गठन गरी कार्य अगाडि बढाइसकेकोमा उक्त कार्यदलबाट यथाशिघ्र प्रतिवेदन प्राप्त गरी आवश्यक कार्य अगाडि बढाउने । ६. नेप्सेले धितोपत्र बजारको सदस्यता तथा कारोबार विनियमावली, २०५५ तथा धितोपत्र सूचिकरण विनियमावली, २०५३ लाई प्रतिस्थापन गर्न पेश गरेको विनियमावलीहरुमा बोर्डको सुझाव अनुसार परिमार्जन गरी आगामी भाद्र १५ गते भित्र बोर्डको स्वीकृतिका लागि पेश गर्ने । ७. हालबजारमा दैनिक २ अर्बको कारोबार हुन लागि सकेको परिपे्रक्ष्यमा सेटलमेन्टको जोखिमसमेत बढदै गइरहेकोले त्यसलाई न्युनीकरण गर्न सेटलमेन्ट ग्यारेण्टी फण्ड तथा अक्सन मार्केटको व्यवस्था गर्ने सम्बन्धमा आवश्यक कार्यविधी तयार गरी नेप्सेले आगामी भाद्र १५ गते भित्रबोर्डमा पेश गर्ने । ८. सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले उक्त संस्थाको विनियमावलीका बिभिन्न दफाहरुमा संशोधन गर्न बोर्डको स्वीकृतिका लागि पठाएकोमा विभिन्न समयमा आएका संशोधनलाई एकीकृत गरी पेश गर्ने र बोर्डले स्वीकृति सम्बन्धीकार्य अविलम्ब अगाडि बढाउने ।
हिरोले अहिलेसम्मकै सवैभन्दा धेरै माइलेज दिने स्प्लेन्डर ल्यायो अझ शक्तिशाली भएको दावी
काठमाडौं, ४ साउन। हिरो मोटोकर्पले भारतमा नर्मल सेगमेन्टको वाइकमा सवैभन्दा धेरै माइलेज दिने भनिएको हिरो आई स्मार्ट स्प्लेन्डर एकसय १० सिसिको मोटरसाइकल सार्वजनिक गरेको छ। दिल्लीमा रहेको एक्स शोरुमका अनुसार भारतीय बजारमा यसको मूल्य ५३ हजार तीनसय रुपैया भारु तोकिएको छ। आइथ्रिएस प्रविधिमा रहेको यो मोटरसाइकलले धेरै माइलेज दिने बताइएको छ। यो प्रविधिले मोटरसाइकल रोकेर राखेको अवस्थामा स्वचालित रुपमा इन्जिन बन्द गरिदिन्छ र पुन चलाउनु परेमा क्लचमात्र तान्दा हुने कम्पनीले जनाएको छ। जसले गर्दा इन्धनको बचत धेरै हुने कम्पनीको दाबी रहेको छ। विशेषगरी धेरै भिडभाड भएको अवस्थामा र जाम भएका ठाउँहरुमा यसको प्रभावकारीता धेरै हुने कम्पनीले जनाएको छ। यद्यपी यो नयाँ मोटरसाइकलमा पहिलेको हिरो आइ स्मार्ट एकसय सिसिको भन्दा धेरै फरक भने रहेको छैन। यसमा पहिलेको भन्दा धेरै आकर्षक र पहिलेको जस्तै डुअल टोन कलरमा उपलब्ध रहने कम्पनीले जनाएको छ। कम्पनीका अनुसा यसले हाल बजारमा भएको सय सिसिको आइस्मार्टभन्दा दश प्रतिशत धेरै शक्ति उत्पन्न गर्ने क्षमताको रहेको छ। कम्पनीको दाबी हेर्ने हो भने हाल बजारमा रहेको सवैभन्दा धेरै माइलेज दिने वाइकहरुमा हिरो आइस्मार्ट नै पर्छ र नयाँ आउने एकसय १० सिसिको नयाँ मोटरसाइकलले पहिलेको भन्दा धेरै माइलेज दिन सक्ने अनुमान गर्न सकिन्छ। भारतमा सार्वजनिक भएको यो मोटरसाइकल चाँडै नै नेपालमा सार्वजनिक हुने जनाइएको छ।
उपत्यकामा रातोकार्ड धनीको घरमा मात्र भूकम्प पीडित सर्वेक्षण हुने
काठमाडौं, ४ साउन । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललिपुर तथा भक्तपुरमा मङ्गबारदेखि भूकम्प पीडितको लगत सङ्कलन शुरु भएको छ । केन्द्रीय तथ्याङ्क विभागले अन्य भूकम्पप्रभावित जिल्लाजस्तै उपत्यकामा पनि व्यक्तिगत आवास पुनर्निर्माणका लागि लगत सङ्कलनका लागि घरधुरी सर्वेक्षण शुरू गरेको हो । ‘अन्य जिल्लामा भन्दा उपत्यकामा गरिने सर्वेक्षण फरक छ,’ विभागका उपमहानिर्देशक डा. रुद्र सुवालले भने, ‘यहाँ भूकम्पप्रभावित घर अर्थात् सरकारले भूकम्पपीडित भनी रातो कार्ड प्रदान गरेको घरको मात्र लगत सङ्कलन गरिन्छ ।’ अन्य जिल्लाका सबै घरधुरीमा गएर भूकम्पपीडितको लगत सङ्कलन गरिएको थियो । भूकम्पका बेला तत्काल राहत वितरणका लागि विपद्पछिको आवश्यकता मूल्याङ्कन (पीडीएनए) सर्वेक्षणमा उपत्यकामा सवा १ लाख भूकम्पपीडित रहेको तथ्याङ्क छ । पछिल्लो समय आएको गुनासोको आधारमा सो सङ्ख्या बढेर १ लाख ५० हजार पुग्न सक्ने विभागको अनुमान छ । विभागले असार २५ गतेबाट असार महीनाभरि लगत सङकलनमा खटिने ५ सय सामाजिक परिचालक, ५ सय इञ्जिनीयर र ५० जना सुपरभाइजरलाई तालीम प्रदान गरेको थियो । लगत सङ्कलन सकिएपछि दशैं अघि नै उपत्यकाका भूकम्प पीडितलाई अनुदान वितरण गरिने राष्ट्रिय पुनर्निमाण प्राधिकरणले जानकारी दिएको छ । भूकम्पबाट अतिप्रभावित अन्य ११ जिल्लामा भने यसअघि नै विस्तृत घरधुरी सर्वेक्षण सम्पन्न गरेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान वितरणको कार्य गरिरहेको छ ।
भूकम्प र नाकाबन्दी छिचोल्दै ४८२ अर्ब राजश्व संकलन, लक्ष्य भन्दा ७ अर्ब बढी
काठमाडौं, ४ असार । सरकारले आर्थिक वर्ष २०७३/७४ मा लक्ष्य भन्दा ७ अर्ब बढी राजश्व संकलन गरेको छ । गत आवमा सरकारले कुल ४७५ अर्ब राजश्व संकलन लक्ष्य निर्धारण गरेको थियो । तर सरकारले लक्ष्य भन्दा सात अर्ब बढी अर्थात ४८२ अर्ब १७ करोड राजश्व संकलन गर्न सफल भएको हो । मंगलबार अर्थमन्त्रालयमा राजश्वको विवरण सुनाउँदै अर्थमन्त्री बिष्णु पौडेलले भने–‘भूकम्प र नाका बन्दीलाई छिचोल्दै लक्ष्य भन्दा ७ अर्ब बढी राजश्व संकलन भएको छ, इच्छाशक्ति भयो भने काम गर्न सकिने रहेछ भन्ने प्रमाणित भएको छ ।’ भूकम्प तथा नाका बन्दीपछि राजश्व संकलनको नयाँ योजना बनाएको थियो । सोही योजना अनुसार अघि बढ्दा राजश्व संकलन लक्ष्य पुरा भएको अर्थ मन्त्रालयका राजश्व सचिव राजन खनालले बताए ।‘हामीले भूकम्प र नाका बन्दीका समयमा आपतकालिन राजश्व संकलन योजना बनाएका थियौं, त्यसमा निष्क्रिय कोषहरुको रकम समेत ट्रयाक गर्ने भन्ने थियो ।’ उनले निष्क्रिय कोषबाट ट्रयाक गरिएको राजश्व सम्बन्धीत निकायले मागेका बेला सरकारले उपलब्ध गराउने जानकारी पनि दिए । बिषय परिस्थितिमा संकलन गरिएको सो राजश्व लक्ष्यको तुलनामा १०२ प्रतिशत हो । पुँजीगत खर्च न्युन भएको तथा आपुर्ति व्यवस्थामा समेत राजश्व संकलन लक्ष्य भन्दा बढी हुनुलाईअर्थमन्त्री पौडेलले ठुलो सफलताको संज्ञा दिएका थिए । सो अवधीमा सरकारले ४२२ अर्ब १६ करोड कर राजश्व र ६० अर्ब गैर कर राजश्व संकलन गरेको हो । कर राजश्वको वृद्धिदर १९ प्रतिशत रहेको छ भने गैर कर राजश्वको वृद्धिदर २० प्रतिशत कायम भएको छ । ३१ प्रतिशत आयकर संकलन बढेको भने भ्याटको संकलन १५ प्रतिशतले बढेको छ । अन्तःशुल्कको वृद्धि दर पनि २३ प्रतिशत कायम भएको छ । सरकारले नेपाल दुर सञ्चार प्राधिकरणको ग्रामिण दुर सञ्चार विकास कोषको १० अर्ब रुपैंयाँ राजश्वमा तानेको थियो । मुलुकको कुल गार्हस्थ उत्पादनमा राजश्वको हिस्सा २१ दशमलब ४ प्रतिशत पुगेर इतिहासको रेकर्ड तोडिएको छ । बजेट कार्यान्वयनको योजना छः अर्थमन्त्री कार्यक्रममा अर्थमन्त्री बिष्णु पौडेलले सरकारसँग बजेट कार्यान्वयनको ठोस योजना रहेको दावी गरे । उनले भने–‘असार मसान्तको दिनमा सदन समक्ष बजेट कार्यान्वयनको योजना पेश गर्ने योजना थियो, त्यस्तो अवसर जुटेन, तैपनि ठुक्क हुनुहोस हामीले बजेटको कार्यान्वयन कसरी गर्ने भनेर ठोस योजना बनाएका छौं ।’ मन्त्री पौडेले आफुले ल्याएको बजेटको कार्यान्वयन मुलुकको भविष्यसँग जोडिएको दावी गरे । उनले सरकारको बहिर्गमनको दिनगन्ती नगर्न सुझाव दिँदै भने सदनले गर्ने निर्णयको सरकारले सम्मान गर्ने स्पष्ट पारे । आफुले बिकास बजेट खर्च गर्ने योजना समेत बनाईसकेको र केहि दिनभित्रै सार्वजनिक गर्ने उनले बताएका थिए ।
भूकम्प र नाकाबन्दीपछि घरजग्गाको कारोबार बढ्यो
चितवन, ४ साउन । भूकम्प र नाकाबन्दीका कारण पहाड र तराई प्रभावित भएपछि सर्वसाधारणले बासस्थानको रोजाइँको रुपमा चितवनलाई लिएपछि यहाँको जग्गाको कारोबार बढेको छ । भूकम्पबाट जिल्ला न्यून मात्र प्रभावित रह्यो । तराई आन्दोलनको पनि यहाँ खासै प्रभाव परेन । स्वदेशको कमाई र विदेशबाट भित्रिएको विप्रेषण थन्क्याउनेस्थल चितवनको जग्गा हुन पुगेको छ । जिल्ला मालपोत कार्यालयका अनुसार आव २०७२/७३ मा ४२ हजार थान लिखित रजिस्ट्रेसन भएको छ । उक्त सङ्ख्या अघिल्लो आवमा २८ हजार थान मात्रै थियो । गत आवमा रजिस्ट्रेसन शुल्क, धितो बैंकिङ र पुँजीगत लाभकर गरी रु एकअर्ब १७ करोड ८ लाख ९१ हजार राजस्व सङ्कलन भएको थियो । अघिल्लो आवमा रु ५५ करोड ८४ लाख ६९ हजार मात्रै राजस्व सङ्कलन भएको थियो । कार्यालयका सूचना अधिकारी हरिकृष्ण सुवेदीका अनुसार गत आवमा रजिस्ट्रेसन शुल्कबापत रु ९६ करोड ५५ लाख ९४ हजार सङ्कलन भएको छ भने अघिल्लो आवमा सो शीर्षकमा रु ४४ करोड ८० लाख ९२ हजार सङ्कलन भएको थियो । धितो बैंकिङमा रु सात करोड १७ लाख १७ हजार राजस्व सङ्कलन भएको छ भने अघिल्लो आवमा रु पाँच करोड ४४ लाख ३३ हजार सङ्कलन भएको थियो । पुँजीगत लाभकरतर्फ रु १३ करोड ३५ लाख ७८ हजार तथा अघिल्लो आवमा रु पाँच करोड ५९ लाख ४२ हजार राजस्व सङ्कलन भएको थियो । सरकारी दररेटसँगै लिखत सङ्ख्या बढेककाले राजस्व बढेको कार्यालय प्रमुख टङ्कप्रसाद उपाध्यायले बताए । “देशभरको सुरक्षित बासस्थानको रुपमा चितवनलाई लिएकै कारण घरजग्गा खरिद गर्नेको सङ्ख्यामा वृद्धि भएको हो,” उनले भने । घरजग्गाको मागसँगै मूल्यमा समेत दोब्बर वृद्धि भएको छ । अहिले सहरको महँगो जग्गा छोडेर ग्रामीण क्षेत्रमा सस्तो जग्गा किन्ने क्रम बढेको बताइएको छ । रासस
एनएमबि बैंकको ‘एक घर एक खाता’ योजना शुरु
काठमाडौं, ४ साउन । एनएमबि बैंकले एक घर एक खाता योजनाको शुभारम्भ गरेको छ । बैंकका अनुसार हरेक नेपालीको बैंकमा एक खाता होस् र हरेक नेपालीलाई सरल वित्तीय पहुँच पुगोस् भन्ने यस योजनाको उद्देश्य रहेको छ । “आत्मनिर्भर नेपालको साथमा एनएमबि बैंक” अभियानलाई नै निरन्तरता दिदै बैंकले एक घर एक खाता योजना संचालनमा ल्याएको हो । यस योजनाले गर्दा नेपालीमा वित्तीय साक्षरताको वृद्धि हुने, बचत गर्ने बानीको विकास हुने तथा हरेक नागरिकलाई वित्तीय प्रणालीमार्फत् कारोवार गराउन समेत टेवा पुग्ने बिश्वास बैंकले लिएको छ ।
बजारमा दिनदिनै नयाँ रेकर्ड, परिसूचक १८०० विन्दुमा, कारोबार रकम २ अर्ब नाघ्यो
काठमाडौं, ४ साउन । नेप्सेले हालै कारोबारको समयावधी थप गरेसँगै सेयर बजारमा पनि दिनदिनै नयाँ नयाँ रेकर्ड बन्दै गएको छ । मंगलबार नेप्से परिसूचक १३ दशमलब ९० अंकले बढेर १८०० दशमलब ४७ अंकमा पुगेको छ । दिउँसो बजार खुल्ना साथ बढेर १८१३ अंकमा पुगेको परिसूचक १८०० अंकमा पुगेर बजार बन्द भएको छ । सो दिन १३९ कम्पनीको २९ लाख २ हजार कित्ता सेयर करिब २ अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी माछापुच्छ्रे बैंकको करिब ३० करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल बैंकको करिब १० करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनी, नेपाल बङ्गलादेश बैंक, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र एनआइसी एसिया बैंकको करिब ७ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार इन्स्योरेन्स, अन्य र हाइड्रोपावर समूह बाहेक अन्य समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक ४० अंकले बढेको छ । बैंकिङ् र होटल समूहको परिसूचक बराबर ३५ अंकले बढेको छ । त्यस्तै विकास बैंक र फाइनान्स समूहको परिसूचक क्रमशः १५ र ८ अंकले वृद्धि भएको छ । इन्स्योरेन्स, अन्य र हाइड्रोपावर समूह क्रमशः २४०, १७ र ९ अंकले घटेका छन् । सो दिन सबैभन्दा बढी सिद्धार्थ बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । किसान माइक्रोफाइनान्स वित्तिय संस्था र कैलाश विकास बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । त्यस्तै, सबैभन्दा बढी निर्धन उत्थान बैंकका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत गुमाएका छन् ।
सकेसम्म सहमतिको सरकार बनाउन सभामुखको सुझाव
काठमाडौं, ४ साउन । सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयन गर्न दलहरु एकजुट हुनुपर्ने बेलामा सरकार निर्माण गर्ने विषयमा दलहरु विभाजित हुनु देश र जनताका लागि दुर्भाग्य भएको टिप्पणी गरेका छन्। स्वास्थ्य मन्त्रालयद्वारा मंगलबार आयोजित खोपसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै सभामुख घर्तीले भनिन् – “जनता दलहरु एकजुट भई संविधान कार्यान्वयन भएको देख्न चाहन्छन्, गणतन्त्र स्थापना र संविधान निर्माणमा एक जुट भएका दलहरु विभाजित हुनु राम्रो होइन ।” दलहरु मिलेर सकेसम्म सहमतिको सरकार निर्माण गर्नु राम्रो हुने सुझाव उनले दिए। “अहिले पनि बालबालिकाले सिटामोल र जीवनजल खान नपाएर अकालमा ज्यान गुमाउने अवस्था विद्यमान नै छ, राजनीतिक परिवर्तन भयो आर्थिक र सामाजिक परिवर्तन साथमा जान सकेन’ – उनले भने । सभामुख घर्तीले समयमै सबै बालबालिकलाई पुग्ने खोप खरिद गर्न र नेपाललाई पूर्ण खोपयुक्त बनाउन सरकारको ध्यानाकर्षण गराए । पूर्णखोपयुक्त घोषणा गरिने अभियान सो अवसरमा स्वास्थ्यमन्त्री रामजनम चौधरीले मन्त्रालयले खोप कार्यक्रमलाई उच्च प्राथमिता दिँदै आएको र आगामी दिनमा खोपका प्रकार बढाउँदै जाने तथा सबै बालबालिकालाई आवश्यक मात्रामा खोप लगाउने र नेपाललाई पूर्णखोपयुक्त घोषणा गरिने अभियानमा सरकार लागेको जानकारी दिए । व्यवस्थापिका–संसद्, महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिका सभापति रञ्जुकुमारी झाले खोप कार्यक्रमलाई आगामी दिनमा अझ व्यवस्थित बनाउन खोप ऐन पारित गरी विनियमावली निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिए । मन्त्रालयका नवनियुक्त सचिव डा सेनेन्द्र उप्रेतीले सबै बालबालिकालाई खोपको पहुँच पु¥याउन मन्त्रालयले प्राथमिकता दिएको बताए । बालस्वास्थ्य महाशाखाका प्रमुख डा राजेन्द्र पन्तले हाल नेपालमा ९० प्रतिशतभन्दा माथि खोप व्यवस्था रहेको बताए। कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा नेहाल सिंह, युनिसेफ नेपालका प्रतिनिधि तामो होजुमी, रोटरी क्लबका प्रतिनिधि जया शाह, अर्थ मन्त्रालयका सहसचिव लोकदर्शन रेग्मी, विश्व बैंकका प्रतिनिधि डा मानव भट्टराई र सविन भ्याक्सिन संस्थाका प्रतिनिधि डा जोन अन्डुसरले खोपको व्यवस्थापनका बारेमा प्रकाश पारेका थिए । तीनदिने सो गोष्ठीमा नेपालसहित केन्या, सेनेगल, युगान्डा, मङ्गोलिया लगायत २२ देशका विधायिका र स्वास्थ्य मन्त्रालयका उच्चपदस्थ कर्मचारीको सहभागिता छ । गोष्ठीमा खोपका अनुभव आदानप्रदान समेत गरिने छ । हाल मन्त्रालयले जन्मेदेखि २३ महिनासम्मका बालबालिकालाई ११ प्रकारका खोप निःशुल्क रुपमा लगाउँदै आएको छ । यी खोपका लागि सविन भ्याक्सिन संस्थाले सरकारलाई आर्थिक एवम् प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । रासस