विकासन्युज

प्रभुको क्रेडिट कार्ड प्रयोगकर्तालाई ‘इन्स्टापे’ र ‘रिवार्ड पोइन्टस्’ सुविधा

काठमाडौं, ५ साउन । प्रभु बैंक लिमिटेडले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुलाई थप सुविधा सहित ‘इन्स्टापे’ र ‘रिवार्ड पोइन्टस्’ नयाँ दुई योजनाहरु सञ्चालनमा ल्याएको छ । इन्स्टापे योजना अन्तर्गत ग्राहकहरुले आफ्नो क्रेडिट कार्डको माध्यमबाट विदेश भ्रमणको विल तिर्न, कलेज तथा स्कुलको फी तिर्न, अस्पतालकोे विल तिर्न, विभिन्न इलेक्ट्रोनिक समानहरु खरिद गर्न, गरगहना खरिद गरी बिल तिर्न, मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् र सो रकमलाइ बढीमा १८ महिना सम्मको मासिक किस्तामा बैंकलाई भुक्तानी गर्न सक्नेछन् । बैंकका अनुसार यो योजना अन्तर्गत उपयोग गरेको रकममा ब्याज लाग्ने छैन तर ग्राहकहरुले तोकिएको सेवा शुल्क भने तिर्नुपर्नेछ । यस योजनामा सहभागी हुन चाहने ग्राहकहरुले कारोवार भएको मितिले ७ दिनभित्र आफुले उपयोग गरेको रकम तिर्न चाहेको किस्ता संख्या उल्लेख गरी निवेदन दिनुपर्नेछ र उक्त निवेदनका आधारमा बैंकले मासिक किस्ता कायम गर्नेछ । यसैगरी अर्को योजना रिवार्ड पोइन्टस् अन्तर्गत ग्राहकहरुले आफ्नो क्रेडिट कार्डको माध्यमबाट समान खरिद गरेमा प्रत्येक २०० रुपैयाँ बराबर १ प्वाइन्ट कायम हुनेछ । यसरी कायम भएको प्वाइन्ट सञ्चित हुँदै जानेछ र ५०० प्वाइन्ट पुगेपछि बैंकले सम्बन्धित ग्राहकको खातामा ५०० रुपैयाँ नगद जम्मा गरिदिने बैंकले जनाएकोे छ । ग्राहकहरुको अधिकतम् हितलाई मध्येनजर गर्दै बैंकले सञ्चालन गर्न लागेको यी दुवै योजनाहरुबाट क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहक महानुभावहरु लाभान्वित हुन्छन् भन्ने बैंकले विश्वास लिएको छ ।

बीमा बजारको नेतृत्व युवा पुस्ताको काँधमा, कार्यसम्पादन पनि राम्रो

विजयबहादुर शाह काठमाडौं, ५ साउन । गत महिना सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत केबी बस्नेतले अवकाश लिए । नेपालको बीमा बजारमा इतिहास नै रचेका बस्नेतले करिब ५७ वर्ष बीमा बजारमा काम गरे र ७८ वर्षको उमेरमा अवकाश लिए । उक्त कम्पनीको कार्यकारी प्रमुख पद उमेरले बस्नेतभन्दा ३० वर्ष कान्छा चंकी कुँवर क्षेत्रीले समाल्दै छन् । कम्पनीले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । चंकी पछिल्लो उदाहरण पात्र मात्र हुन् । अहिले नेपालका अधिकांश बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतमा ५० वर्षभन्दा कम उमेरका छन् । प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विके महर्जन हाल ३९ वर्षका भए । उनले सो कम्पनीको कार्यकारी प्रमुख पद समालेको ८ वर्ष बितेको छ । जीवन बीमा कम्पनीहरुमध्ये अग्रपंत्तिमा रहेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत विवेक झा अहिले ४३ वर्षका भए । उनले कम्पनीको कार्यकारी नेतृत्व समालेको ६ वर्ष भयो । दीपप्रकाश पाण्डे प्रभु इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्यको उमेर ४० वर्ष मात्र हो । उनले यो कम्पनीमा कार्यकारी प्रमुखको भूमिका निर्वाह गरेको २ वर्ष भयो । ४० वर्षभन्दा कम उमेरमा बीमा कम्पनीको कार्यकारी प्रमुख हुनेहरु धेरै छन् । प्रिमियर इन्स्योरेन्स कम्पनीका सुद्युम्न उपाध्याय, एशियन लाईफ इन्स्योरेन्सका राजेश श्रेष्ठ, यूनाईटेड इन्स्योरेन्सका शेखर बराल लगायतले उमेर चार दशक नबिताउँदै कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालेका हुन् । त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवारले पनि ४२ वर्षको उमेरमा प्रमुख कार्यकारीको जिम्मेवारी समालेका हुन् । युवाहरु नै सफल निर्जीवन बीमा कम्पनीमध्ये अग्रपंक्तिमा रहेको शिखर इन्स्योरेन्सले युवा नेतृत्व दीपप्रकाश पाण्डेकै अगुवाईमा बीमा बजारमा शिखर चुमिरहेको छ । उनले विगत १३ वर्षदेखि यो कम्पनीको नेतृत्व गरिरहेका छन् । जीवन बीमा कम्पनीको अगुवाई गरिरहेको नेपाल लाईफ इन्स्योरेन्समा विवेक झा प्रमुख कार्यकारी अधिकृत हुँदा जीवन बीमा कोष ७ अर्बको विवेक झा थियो, ६ वर्षमा ३० अर्ब रुपैयाँ पुग्यो । बजार हिस्सा २३ प्रतिशतबाट ३५ प्रतिशत पुगेको छ । ‘म कार्यकारी प्रमुख हुँदा कम्पनीमा २८६ जना कर्मचारी थिए, अहिले ३०० जना छौं’ झा भन्छन्–‘कम्पनीको व्यापार करिब ५ गुणा वृद्धि हुँदा कर्मचारी ५ प्रतिशतले मात्र वृद्धि भएको छ ।’ सफट्वेयर र एप्सको प्रयोगले व्यवस्थापन प्रभावकारी भएको उनले बताए । उनले व्यवस्थापकीय जिम्मेवारी लिएपछि कम्पनीले पहिलो वर्ष १२६ प्रतिशत, दोस्रो वर्ष ९८ प्रतिशत, तेस्रो वर्ष ६८ प्रतिशत र चौथो वर्ष २५ प्रतिशत लाभांश बाँड्यो । उनी भन्छन्–‘मैले व्यवस्थापन लिँदा बीमितलाई दिने बोनसको आधारमा कम्पनी तेस्रो स्थानमा थियो । विगत पाँच वर्षदेखि हामी सबैभन्दा अगाडि अर्थात पहिलो स्थानमा छौं ।’ विरेन्द्र बैद्यवारले सिद्धार्थ इन्स्योरेन्सको कार्यकारी प्रमुखको जिम्मेवारी समालेको दुई वर्ष पुरा भएको छैन । उनको नेतृत्वमा कम्पनीको विजनेश ७० करोडबाट ११५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको नाफा र सेयरको मूल्य ह्वात्तै बढेको छ । कम्पनी प्रतिस्पर्धामा अगाडि बढिरहेको छ । बैद्यवारको बुझाईमा युवा पुस्ताले कम्पनीको व्यवस्थापन नेतृत्व समाल्दैमा विल्कुलै नयाँ अपेक्षा गर्नु हुन्न । नयाँ नेतृत्वबाट सुधारको गुञ्जायस भने बढी नै हुन्छ । ‘म्यान्युयली हुदै आएका काम कम्प्यूटरबाट गराउने, सफ्टवेयर र एप्सहरुको प्रयोग बढाउने कार्य युवा नेतृत्वबाट छिटो हुनसक्छ’ विरेन्द्र बैद्यवार उनी भन्छन्–‘युवा नेतृत्वले समालेको कम्पनीमा दावी भुक्तानी छिटो भएको देखिन्छ । मोटिभेशन जगाउने काम भएका छन् । पहिला ट्यालेन्ट युथहरु रोजगारीको लागि बैंकिङ क्षेत्रमा मात्र रोज्ने, अहिले बीमा कम्पनीहरुप्रति आकर्षण बढेको छ ।’ प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्य भन्छन्–‘नेतृत्वमा पहिला भिजन क्लियर हुनुपर्छ । भिजन क्लियर छ भने युवाले छिटो विश्लेषण गर्न र निर्णय लिन सक्छ ।’ प्रविधिको प्रयोग, आधुनिक व्यवस्थापन शैली, टिम वर्कमा युवा पुस्ता अगाडि भएको उनको भनाई छ । ‘शिखर इन्स्योरेन्समा दीपप्रकाश पाण्डे, एनएलजी इन्स्योरेन्सका विजयबहादुर शाहको सफल नेतृत्वले पुष्टि गरिसकेको छ कि युवा नेतृत्वले बीमा कम्पनीहरुमा राम्रो प्रफमेन्स देखाईरहेको र यसले अरु कम्पनीमा पनि युवा पुस्तालाई जिम्मेवारी दिनुपर्छ भन्ने सन्देश गईरहेको छ’ बैद्यवारले बताए । एनएलजी इन्स्योरेन्स कम्पनीमा विजय ८ वर्ष पहिले नोक्सानमा थियो । २ वर्षदेखि वार्षिक साधारणसभा हुन सकेको थिएन । कम्पनीले बीमा क्षेत्रभन्दा बाहिरबाट चाटर्ड एकाउन्टेट विजयबहादुर शाहलाई प्रमुख कार्यकारी अधिकृत बनायो । संचित बज्राचार्य ‘म आउनुपूर्व कम्पनीको वार्षिक प्रिमियम २० करोड थियो, गत आर्थिक वर्षमा हामीले १२१ करोड प्रिमियम संकलन गरेका छौं, नोक्सानमा गएको कम्पनीले सेयरधनीलाई हरेक वर्ष २० प्रतिशत लाभांश दिन थालेको छ’–शाहले भन्छन्–कम्पनीले सन् २०१३ मा न्यूविज अवार्ड पायो, म्यानले सन् २०१४ बेष्ट म्यानेजर अफ द एयर अवार्ड दियो, साफाले सन् २०१५ मा उत्कृष्ट एकाउण्ट अवार्ड दिएर सम्मान गर्यो ।’ प्रिमियर इन्स्योरेन्समा सुद्युम्न उपाध्यायले नेतृत्व लिएपछि कम्पनीको व्यापार, नाफा, ब्राण्ड इमेज सबै राम्रो भएको एक सेयरधनीले बताए । सुद्युम्न उपाध्यायले प्रिमियर इन्स्योरन्सको कार्यकारी प्रमुखको जिम्मेवारी समालेको ६ वर्ष भयो । ‘मैले जिम्मेवारी लिदा कम्पनीको वार्षिक प्रिमियम १७ करोड थियो । गत आर्थिक वर्षमा १०० करोड नाघेको छ’ उपाध्ययनले भने । कम्पनी विवादमा परेपछि एशियन लाईफ इन्स्योरेन्सका कार्यकारी प्रमुख बनेका राजेश श्रेष्ठले विवाद समाधानका साथै कम्पनीको व्यापार विस्तारमा पनि सफलता हासिल गर्दै आएका छन् । ‘चार वर्षमा जीवन बीमा कोष २१४ करोडबाट ८०० करोड रुपैयाँ पुगेको छ । वार्षिक प्रिमियम १०३ करोडबाट २०० करोड रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता चङ्की कुँवर क्षेत्री १८९ बाट १८०० नाघेको छ’ राजेश श्रेष्ठ भन्छन्–‘कम्पनीको सुशासनमा पक्ष राम्रो भएको छ, बीमा समितिले दिएको हरेक निर्देशन र नीतिको पूर्ण पालना भएको छ ।’ संस्थागत सुशासन निर्देशकाले बीमा कम्पनीका कार्यकारी प्रमुखको शैक्षिक योग्यताको साथै अनुभव पनि तोकेकोले बीमा क्षेत्रमा नयाँ पुस्ताले छिटो अवसर पाएको जानकारहरु बताउँछन् । कार्यकारी प्रमुखले एउटै कम्पनीमा दुई कार्यकाल भन्दा बढी काम गर्न नपाउने व्यवस्थाले नेतृत्व हस्तान्तरणलाई अझ गतिशिल बनाउने अनुमान गरिएको छ ।

‘गरिबी निवारणमा सहकारीका भूमिका महत्वपूर्ण’

काठमाडौं, ५ साउन । राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष सरोजकुमार शर्माले सहकारीमार्फत गरिबी निवारण गर्न सकिने बताएका छन् । सूचना चौतारी सञ्चार सहकारीको आयोजनामा भएको डबली २० औं श्रृंखला ‘गरिबी निवारणका लागि सहकारी’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै सह–अध्यक्ष शर्माले स्वाभिमान अर्थतन्त्रका लागि सहकारीले कृषि क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । सहकारीले उद्यमशीलतामा जोड दिदैं उत्पादन वृद्वि गर्नु र रोजगारी सिर्जना गर्नु भएपनि त्यसो गर्न नसकेको उनको भनाई थियो । ‘ग्रामीण क्षेत्रमा कृषिको संभावना प्रशस्त भएपनि सहकारीको ध्यान कृषिमा जान सकेको छैन्’ उनले भने । ‘हामी श्रम सप्लाई गर्छाै तर कच्चा पदार्थ बाहिरबाट ल्याउँछौं, यसले कसरी गरिबी निवारण हुन सक्छ’ उनले भने । सहकारीले उद्योग सञ्चालन गर्न सके युवाहरु वैदेशिक रोजगारमा जानु नपर्ने उनको भनाई थियो । सह–अध्यक्ष शर्माले विभिन्न नाममा हुने अनुदान मिस युज भएको तथा लक्षित वर्गसम्म पुग्न नसकेको बताए । ‘अनुदानको सट्टा सफ्ट लोनको व्यवस्था गर्न सके किसानको हित हुन्छ’ उनले भने–‘अहिले काठमाडौंबाट गएको अनुदान काठमाडौंमा नै फर्किएको छ ।’  जसले सहकारी दर्ता गर्छ, उसैले नियमन गर्नु उचित नभएको र सहकारी विभाग नभई सहकारी रजिष्ट्रारको जस्तो गरी काम गरिरहेको उनको भनाई थियो । कार्यक्रममा बोल्दै गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले गरिबी निवारणका लागि सहकारी उपयुक्त मोडेल भएपनि सहकारी तथा गरिबी निवारण मन्त्रालयकै कारण गरिब लक्षित सहकारी सञ्चालन गरेर कार्यक्रम लैजान नसकिएको बताए । ‘हामीले ९ महिनासम्म पनि खान नपुग्ने वर्गको उत्थानका लागि काम गर्दछौं’ उनले भने । कोषले ४ सय २५ सहकारीमार्फत ७२ प्रतिशत जनसंख्यामा आफ्ना कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाई थियो । कोष अहिले गरिबी निवारण कोष ऐन अन्र्तगत सञ्चालित भएपनि नीतिगत तहमा सहकारी मन्त्रालयमा सार्ने निर्णय भए आफूहरुलाई कुनै आपत्ति नहुने उनले बताए । कार्यकारी निर्देशक केसीले विशेष लक्षित सहकारी सञ्चालन गर्ने र त्यसैका माध्यमबाट हरेक कार्यक्रम सञ्चालन गर्न आफूहरु लागेको बताए ।

नीजि मेडिकल कलेजले तीन दिन पर्खने, चौथो दिनदेखि कडा आन्दोलन

काठमाडौं, ५ साउन । नीजि मेडिकल कलेजहरुले आफ्ना माग पुरा गराउन तीन दिने अल्टिमेटम दिएका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गनर्दै उनीहरुले आन्दोलनको रुप परिवर्तनका लागि ३ दिन पर्ख र हेरको नीति अवलम्बन गर्ने बताएका हुन् । सरकारले आफ्ना माग प्रति वेवास्था गरेको बताउँदै उनीहरुले अब कडा आन्दोलन थाल्ने घोषणा समेत गरे । एशोशिएसन अफ प्राईभेट मेडिकल कलेजले नेपालको चिकित्सा क्षेत्रमा देखिको अन्तरद्धन्द्ध र त्यसको समाधानका लागि सरकारले संवाद आरम्भ गर्नुपर्ने बताएको छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एशोशिएसन अफ प्राईभेट मेडिकल कलेजका अध्यक्ष डाक्टर भोला रिजालले व्यक्ति उठाएर उग्र आन्दोलन गर्ने र जनताले स्वास्थ्य शिक्षा पाउनु हुदैन भन्ने मान्यताको बिरोध गरे । अनसनले नै सबै माग पुरा हुनेभए आफुहरुका लागी पनि अनसन ठुलो कुरा नभएको बताए । बिराट मेडिकल कलेजका अध्यक्ष डाक्टर ज्ञानेन्द्रमानसिंह कार्कीले गोविन्द केसि कुनै कोणबाट सहि नभएको आरोप लगाए । नीजि क्षेत्रलाई मासेर लाखौँको रोजगारी खोस्ने अनी मेडिकल कलेजको सिट कटौंति गर्न लगाएर स्वदेशमा पढ्ने विद्यार्थीको अधिकार खोस्ने व्यक्ति कहि कतैबाट राष्ट्रको हितमा हुनै नसक्ने उनको आरोप थियो । एशोशिएसनले पत्रकार सम्मेलन मार्फत ८ वटा मागहरु अगाडि सारेको छ । उसले सिट संख्या कटौति गर्न नहुने, विदेशी विद्यार्थीहरुलाई समेत स्वदेशमा पठन पाठन गर्ने वातावरणको सृजना गर्नुपर्ने लगायतका माग अघि सारेको हो ।

लण्डनमा पाईलटले मदिरा पिएर विमान उडान भर्न खोजेपछि तनाव

लन्डन, ५ साउन । मदिरा सेवन गरेर उडान गर्न लागेको आरोपमा दुई जना विमान चालकलाई स्कटल्यान्डमा सोमबार पक्राउ गरिएको छ । विमान चालकले स्कटल्यान्डबाट टोरोन्टोका लागि सोमबार एयर ट्रान्साटको ए ३१० विमानमा २५० यात्रु लिएर उडान भर्ने तयारीमा रहेका बेला मदिरा सेवन गरेका बताइएपछि तत्कालै उनीहरुलाई पक्राउ गरिएको थियो । मङ्गलबार स्कटल्यान्डका ३९ वर्ष र ३७ वर्षका दुवै जनालाई पेस्ली सेरिफ कोर्टमा उपस्थित गराइने बताइएको छ । चालकहरुलाई मदिरा सेवन गरेको आरोपमा पक्राउ गरिएपछि उक्त विमानको उडान स्थगित गरी यात्रुहरुलाई होटलमा राखिएको थियो । एयर ट्रान्साटका प्रवक्ताले विमानका दुई कर्मचारी पक्राउ परेको पुष्टि गरेपनि उनीहरुको मुद्दा अदालतमा पुगिसकेकाले अनुसन्धानपूर्व केही नबताउने बताए । हामी चालक दलका सदस्य र यात्रुको सुरक्षाप्रति सजक छौँ र रहने छौँ एयर ट्रान्साटका प्रवक्ताले बताए । स्थगित विमानको मङ्गलबार टोरोन्टोका लागि उडान हुने बताइएको छ । रासस÷एएफपी

अरनिको डेभलपमेन्ट बैंकको नाफा ५ करोड ८४ लाख, १८ प्रतिशत बोनस सेयर दिन सक्ने

काठमाडौं, ५ साउन । अरनिको डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ५ करोड ८४ लाख रुपैँया खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलानामा बैंकले ८६ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ३ करोड १३ लाख रुपैँया खुद नाफा गरेको थियो । बैंकले गत आर्थिक वर्षको नाफाबाट करिब १८ प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । कम्पनीको चुक्ता पुँजी २५ करोड ७८ लाख रुपैयाँ मात्र छ । पुँजी वृद्धि सम्बन्धि राष्ट्र बैंकको निर्देशनका कारण यस बैंकलाई बोनस सेयर दिनुपर्ने बाध्याता छ । निक्षेप २ अर्ब १ करोड छ भने कर्जा तथा लगानी १ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.९८ प्रतिशत मात्र रहेको छ भने कर्जा निक्षेप अनुपात ७५ प्रतिशत छ ।

जिल्ला अस्पतालको जग्गा अतिक्रमण गरेर घर निर्माण

जाजरकोट, ५ साउन । जाजरकोट जिल्ला अस्पतालको जग्गा अतिक्रमणको चपेटामा परेको छ । स्थानीयवासीबाटै अस्पतालको जग्गा अतिक्रमण भएको हो । सदरमुकामको ठाटीबजारमा रहेको अस्पतालको ४० रोपनी जग्गामा पाँच रोपनीभन्दा बढी जग्गा स्थानीयवासीबाट कब्जा भएको अस्पताल विकास समितिका अध्यक्ष नगेन्द्र शाहले जानकारी दिए । दर्जन बढी पक्की घर बनेका छन । लभ रोडको दायाँबायाँ र थाप्लेचौर जाने बाटोको दायाँबायाँको जग्गा स्थानीयवासीबाट अतिक्रमण भएको अध्यक्ष शाहले बताए । अतिक्रमण हटाउन आफ्नो एकल प्रयासले नसकिने भन्दै शाहले यसतर्फ सरोकारवाला सबैले चासो दिनुपर्ने कुरा बताए । जाजरकोटमा २०३३ सालमा अस्पताल स्थापना हुँदा उक्त जग्गा अस्पतालको नाममा प्राप्त भएको थियो । चालीस रोपनी जग्गामा आठ रोपनी जग्गा जिल्ला अदालतलाई, डेढ रोपनी खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालयलाई र ११ आना जग्गा वृद्धाश्रमलाई उपलब्ध गराइसकेको जिल्ला अस्पताल जाजरकोटका प्रमुख डाक्टर राजेन्द्र जिसीले जानकारी दिए । बाँकी रहेको जग्गामा स्थानीयवासीले घर निर्माण गरेको जिसीको भनाइ छ । सरकारी जग्गा कब्जा गरेर घर निर्माण गरिनु राम्रो पक्ष नरहेको भन्दै जिसीले अस्पतालले जतिबेला पनि सो जग्गा खाली गराउन सक्ने जिसीको भनाइ रहेको छ । त्यसैगरी, जिल्लामा जिल्ला वन कार्यालय, राष्ट्रिय अनुसन्धान, प्रहरी, अस्पताललगायत कार्यालयका सरकारी जग्गा स्थानीयवासीबाट अतिक्रमण गरिएको बताइएको छ । सरकारी सम्पत्तिमा स्थानीयवासीले रजाइँ गर्दासमेत नियमक निकाय भने मौन रहेका छन् । रासस

एनआईसी एशियाको नाफा १ अर्ब ७ करोड, १८ प्रतिशत बोनस सेयर दिन सक्ने

काठमाडौं, ५ साउन । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्ष १ अर्ब ७ करोड रुपैँया खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलानामा बैंकले ५७ प्रतिशत नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ६८ करोड ३ लाख रुपैँया खुद नाफा गरेको थियो । बैंकले गत आर्थिक वर्षको नाफाबाट करिब १८ प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । कम्पनीको चुक्ता पुँजी ४अर्ब ५७ करोड रुपैयाँ मात्र छ । पुँजी वृद्धि सम्बन्धि राष्ट्र बैंकको निर्देशनका कारण यस बैंकलाई पनि बोनस सेयर दिनुपर्ने बाध्याता छ । यस बैंकले निक्षेप ६९ अर्ब ४८ करोड र कर्जा तथा लगानी ७१ अर्ब ३४ करोड रुपैयाँ परिचालन गरेको छ । बैंकको खराब कर्जा ०.८२ प्रतिशत मात्र रहेको छ भने कर्जा निक्षेप अनुपात ७८ प्रतिशत छ ।