विकासन्युज

मातृभूमि विकास बैंकको नाफा ८७ लाख २९ हजार, १२ प्रतिशत बोनस सेयर दिन सक्ने

काठमाडौं, ६ साउन । मातृभूमि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष ८७ लाख २९ हजार रुपैँया खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलानामा बैंकले ३३ प्रतिशत नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ६५ लाख ५८ हजार रुपैँया खुद नाफा गरेको थियो । बैंकले गत आर्थिक वर्षको नाफाबाट करिब १२ प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । कम्पनीको चुक्ता पुँजी ५ करोड ५६ लाख रुपैयाँ मात्र छ । पुँजी वृद्धि सम्बन्धि राष्ट्र बैंकको निर्देशनका कारण यस बैंकलाई पनि बोनस सेयर दिनुपर्ने बाध्याता छ । यस बैंकले निक्षेप ४७ करोड ४५ लाख रुपैयाँ र लगानी ३१ करोड ६ लाख रुपैयाँ परिचालन गरेको छ । बैंकको खराब कर्जा ०.२१ प्रतिशत मात्र रहेको छ ।

विपद व्यवस्थापनका लागि एनआरएनए र नेपाली सेनाले सहकार्य गर्ने

काठमाडौं, ६ साउन । गैर आवासिय नेपाली संघ(एनआरएन) र नेपाली सेनाले विपद व्यवस्थापनमा सहकार्य गर्ने भएका छन् । भूकम्प, बाढिपहिरो लगायतका ठूला विपदसंग जुध्ने क्षमता अभिबृद्धि गर्ने तथा राहत सामाग्रीको प्रभावकारी भण्डारण र बितरणका लागि दुवै संस्थाले मिलेर काम गर्ने सम्झौता भएको हो समझदारीपत्रमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले र नेपाली सेनाका व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापाले हस्ताक्षर गरेका हुन् । बुधबार काठमाण्डौमा हस्ताक्षर भयो । सो कार्यक्रममा प्रधान सेनापति राजेन्द्र क्षेत्री र एनआरएनएका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोको समेत उपस्थिति थियो । समझदारीपत्र अनुसार नेपाली सेना र गैरआवासीय नेपाली संघवीच उद्धार र राहतका लागि तालिम प्रदान गर्ने, उद्धारका लागि आबश्यक सामाग्रीहरु आदानप्रदान गर्ने तथा औषधि, लत्ताकपडा र खाद्यन्न जस्ता अत्यावश्यक मानवीय सामाग्री आदान प्रदान गरिनेछ ।

सेटलमेन्ट ग्यारेण्टी फण्ड अन्तिम चरणमा, सेयर राफसाफको जोखिम कम हुने

काठमाडौं, ६ साउन । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सेयर राफसाफमा वृद्धि हुँदै गएको जोखिम कम गर्न सेटलमेन्ट ग्यारेण्टी फण्ड ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ । नेपाल धितो पत्र बोर्डको निर्देशन अनुसार नेप्सेले सेटलमेन्ट ग्यारेण्टी फण्ड सञ्चालन कार्यबिधीको मस्यौदा निर्माणलाई अन्तिम चरणमा पुर्याएको हो । ‘सेटलमेन्ट ग्यारेन्टी फण्ड सञ्चालन कार्यबिधीको मस्यौदा अन्तिम चरणमा पुगिसकेको छ, कति रकमको कोष बनाउने र कसले कति लगानी गर्ने भन्नेबारे अन्तिम चरणको छलफल भैरहेको छ’, नेप्सेका सहायक प्रवक्ता मुराहरी पराजुलीले विकासन्युजसँग भने । धितो पत्र बोर्डले ‘हाल बजारमा दैनिक २ अर्बको कारोबार हुन लागीसकेको परिपे्रक्ष्यमा सेटलमेन्टको जोखिमसमेत बढदै गइरहेकोले त्यसलाई न्युनीकरण गर्न सेटलमेन्ट ग्यारेण्टी फण्डको व्यवस्था गर्ने सम्बन्धमा आवश्यक कार्यविधी तयार गरी नेप्सेले आगामी भाद्र १५ गते भित्र बोर्डमा पेश गर्ने ।’ निर्देशन दिएको थियो । ‘सेटलमेन्ट ग्यारेन्टी फण्डले राफसाफको जोखिमलाई कम गर्छ, जति सकेको चाँडो फण्ड कार्यान्वयनमा आउनु पर्छ’, सेयर बजार विश्लेषक रविन्द्र भट्टराईले भने । के हो सेटलमेन्ट ग्यारेन्टी फण्ड ? बजारमा सेयर करोबार भएको तीन दिन भित्र खरिद कर्ताले पैसा तिरिसक्नु पर्ने व्यवस्था छ । त्यसको चौथो दिन ब्रोकर कम्पनीले नेप्सेलाई पैसा बुझाउँछ । तर कहिले काँही खरिद कर्ताले तेश्रो दिनसम्म पनि पैसा बुझाउँदैनन् । तर ब्रोकरले भने चौथो दिन भित्र पैसा बुझाउनै पर्ने हुन्छ । यस्तो अवस्थामा समग्र सेयर बजार नै जोखिममा जान्छ । यसकै लागि सेटलमेन्ट ग्यारेन्टी फण्डको अवधारणा अघि सारिएको हो । खरिद कर्ताले तेश्रो दिनसम्म पैसा बुझाउन सकेन भने ब्रोकरले सेटलमेन्ट ग्यारेण्टी फण्डबाट रकम सापटी लिएर नेप्सेलाई बुझाउँछ । जब खरिद कर्ताले रकम बुझाउँछ तब उसँग केहि रकम जरिवाना गराएर कोषको रकम फिर्ता गरिन्छ । सेयर बजारको राफसाफमा हुने जोखिमलाई न्युन गर्न धितोपत्र बोर्डको निर्देशन अनुसार नेप्सेले यस्तो फण्ड ल्याउन लागेको हो । कत्रो बन्छ फण्ड ? कस्को हिस्सा कति ? फण्डमा नेप्सेले केहि रकम राख्ने र केहि ब्रोकर कम्पनीबाट उठाउने मोटामोटी सहमति बनेको छ । तर ठ्याक्कै कसले कति रकम योगदान गर्ने भन्ने निचोड निस्केको छैन् । ‘नेप्से र ब्रोकरले मिलेर लगानी गर्ने भन्ने निष्कर्ष छ तर कसले कति रकम योगदान गर्न भन्ने एकिन भएको छैन्’ नेप्सेका सहप्रवक्ता पराजुलीले भने । अहिलेसम्म भने सेटलमेन्टमा देखिँदै आएको जोखिम ब्रोकर कम्पनी स्वंयले व्यहोर्दै आएका छन् । हाल नेप्सेले प्रत्येक ब्रोकर कम्पनीसँग पाँच लाख रुपैंयाँ धरौटीका रुपमा असुल्दै आएको छ ।

भारतीय नाकाबन्दीको प्रभाव – चिनियाँ पर्यटक बढ्दै, भारतीय अाैसत अबस्थामा

काठमाडौं, ५ साउन। नेपालमा अाैद्यवगिक क्षेत्रमा समेत लगानीमा भारतलाई पछि पार्न लागेको चीनले पर्यटकको संङ्ख्यामा पनि उछिन्दै छ। विगत केहि बर्षदेखिको तथ्याङ्क हेर्ने हो भने भारतीयको तुलनामा चिनियाँ पर्यटकको नेपाल अागमन धेरै राम्रो देखिएको छ। भारतले लगाएको नाकावन्दीपछि भारतका भन्दा चिनियाँ पर्यटकहरु उल्लेख्य मात्रामा नेपाल घुम्न अाएका छन्।   अधिल्लो बर्ष सन् २०१५ मा चिनियाँ र भारतीय पर्यटक झन्डै बराबरीको संख्यामा भित्रिएको पर्यटन विभागकले जनाएको छ। यो वर्ष ७४ हजार ७ सय ७७ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने भारतीय पर्यटकको संख्या योभन्दा १०७ मात्रैले बढी अर्थात् ७४ हजार ८८४ छ । वैशाखमा गएको भूकम्प र नाकाबन्दीका कारण सन् २०१५ मा समग्र पर्यटक आगमन ३२ प्रतिशतले घटेको थियो । यो तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा चिनियाँ पर्यटकको संङ्ख्या बर्षेनि धेरै प्रतिशतले बृद्धि भइरहेको छ। सन् २०११ को नेपाल पर्यटन वर्षमा १ लाख चिनियाँ पर्यटक भित्र्याउने लक्ष्यसहित प्रवद्र्धनात्मक कार्यक्रम सुरु गरिएको थियो । सोही कार्यक्रमले निरन्तरता पाइरहेकाले पनि चिनियाँ पर्यटकको आगमन वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।   पर्यटन व्यावसायि र सरकारको ध्यान छिमेकी मुलुकमै केन्द्रित भएकाले चीन र भारत नै पर्यटनको मुख्य बजार भएको उनीहरुको बुझाइ रहेको छ। चिनियाँ नागरिक विश्वभर घुम्नेमा सबैभन्दा अग्रस्थानमा रहेकाले यसबाट नेपालले फाइदा लिन सकेमा अर्थतन्त्रमै राम्रो प्रभाव पर्ने सक्छ ।

भूकम्प र नाकावन्दीले थलिएको पर्यटन क्षेत्र तङ्ग्रिदै, अागमन बढ्यो

काठमाडौं, ५ साउन।  गत वर्षदेखि विविध कारणले सुस्ताएको नेपाली पर्यटन विस्तारै तङ्ग्रिँदै गएको छ । अध्यागमन कार्यालयको तथ्यांकअनुसार सन् २०१६ को पहिलो ५ महिनामा २ लाख ३५ हजार ७२४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको यही अवधिमा २ लाख ५९ हजार ६१२ पर्यटक नेपाल आएका थिए । गत वर्षको अप्रिल २५ मा भूकम्प गएपछि मे महिना पूरै प्रभावित भएको थियो । भूकम्पलगत्तै सुरु भएको मधेश आन्दोलन र भारतीय नाकाबन्दीले सन् २०१५ नेपाली पर्यटनका लागि निरासाजनक बन्यो । गएको वर्ष पर्यटक आगमन एक तिहाईले घटेको अध्यागमन विभागले जनाएको छ । नयाँ वर्षको सुरुवातसँगै पर्यटनमा आशाको किरण देखिएको पर्यटन व्यवसायीहरू बताउँछन् । सामान्य अवस्था रहेको २०१५ को जनवरीमा ३८ हजार ६१६ पर्यटक नेपाल भित्रिएका थिए । नाकाबन्दीबाट भर्खरै छुटकारा पाएको २०१६ को जनवरीमा ३३ हजार ३६२ पर्यटक नेपाल भ्रमणमा आएका छन् । फेबु्रअरीमा ४४ हजार, मार्चमा ५७ हजार र अप्रिलमा ५४ हजार पर्यटक नेपाल भित्रिएका छन् । २०१५ को फेब्रुअरी, मार्च र अप्रिलमा यो संख्या क्रमशः ५८ हजार, ७९ हजार र ६५ हजार थियो । गत वर्षको मेमा १७ हजार ५६९ पर्यटकमात्र नेपाल प्रवेश गरेका थिए । यो वर्षको मेमा भने ४५ हजार २९८ विदेशी पर्यटक नेपाल आएका छन् । यो अवधिमा भारतीय पर्यटकको आगमन बढेको तथ्यांकले देखाउँछ । सन् २०१५ को पहिलो ५ महिनामा ३४ हजार २०७ भारतीय पर्यटक भित्रिएकोमा यो वर्षको सोही अवधिमा ४८ हजार ५१२ पर्यटक भित्रिएका छन् । भूकम्पपछिको राहत वितरणमा धेरै भारतीय नेपाल आएका थिए । गत वर्षको पहिलो ५ महिनामा ४५ हजार ६४३ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएकोमा यो वर्ष यो संख्या घटेर २७ हजार २१२ मा झरेको छ । छिमेकी मुलुक चीन र भारतबाट नेपालमा सबैभन्दा बढी पर्यटक आउने गरेका छन् । महिना               सन् २०१५            सन् २०१६ जनवरी               ३८६१६                   ३३३६२ फेबु्रअरी             ५८५२३                   ४४८१० मार्च                   ७९१८७                   ५७८७४ अप्रिल                ६५७२९                   ५४३८० मे                      १७५६९                   ४५२९८ श्रोत अध्यागमन विभाग

आपुर्ति मन्त्रालयले रोक्यो ग्यास बुलेट खरिद प्रक्रिया

काठमाडौं, ५ साउन । आपुर्ति मन्त्रालयले ग्यास बुलेट खरिद सम्बन्धी प्रक्रिया अघि नबढाउन नेपाल आयल निमगलाई निर्देशन दिएको छ । निगमले बुधबार मात्रै नेपाल एलपी ग्यास उद्योग संघलाई ग्यास ६ सय ग्यास बुलेट खरिदको अनुमति दिएको थियो । निगमले टैंक तथा टैंकर एंव बलेटबाट पेट्रोलियम पदार्थ तथा ग्यास ढुवानी सम्बन्धी छुट्टै विनियमावली बनाईरहेको जनाउँदै सो कार्य सम्पन्न नभएसम्म खरिद प्रक्रिया अघि नबढाउन मन्त्रालयले निगमलाई निर्देशन दिएको हो ।

वैदेशिक व्यापार साढे ८५० अर्ब रुपैयाँ, आयात ७८१ अर्ब, निर्यात ६६ अर्ब

काठमाडौं, साउन ५ । गत आर्थिक वर्ष २०७२/७३ मा नेपालको कुल वैदेशिक व्यापार ८ खर्ब ५० अर्ब ३० करोड रुपैयाँको पुगेको छ । गत आवको भन्दा अघिल्लो आव २०७१/७२ मा २ दशमलव ४२ प्रतिशतले व्यापार घटेर साढे ८ खर्बमा व्यापार सीमित भएको भन्सार विभागको तथ्याङ्क छ । अघिल्लो आवमा ८ खर्ब ७१ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो । गत आवको जेठ मसान्तसम्मको वैदेशिक व्यापार ७ खर्ब ४६ अर्ब रुपैयाँ रहेको थियो । अघिल्लो आवको सो अवधिमा यस्तो व्यापार ७ खर्ब ७० अर्ब ८७ करोड रुपैयाँ भएको थियो । भूकम्पका कारण उत्तरी छिमेकी चीनसँगको प्रमुख नाका तातोपानी बन्द हुनु र दक्षिणी सीमाको ६ महिना लामो नाकाबन्दीले नेपालको वैदेशिक व्यापार सङ्कुचन आएका कारण वैदेशिक व्यापार घटेको विभागका प्रवक्ता सूर्य सेढाईंले बताए । गत आवका शुरुवाती महिनामा लगभग ठप्प रहेको वैदेशिक व्यापार दक्षिणी नाकाको अवरोध हटेपछि र उत्तरबाट रसुवागढीमार्फत आयात निर्यात शुरू भएपछि भने फस्टाएको थियो । फलस्वरूप, पछिल्ला महीनाहरूमा विस्तारै आयात निर्यातले नाकाबन्दी तथा भूकम्पअघिकै गति समातेको विभागको भनाइ छ । आयातित सामग्री निर्बाध रूपमा नेपाल भित्रन नसक्दा र कच्चा पदार्थको अभाव तथा आन्दोलनका कारण नेपाली उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा चालू आवको पहिलो ६ महीनासम्म ३ खर्ब ८ अर्ब ५० करोड रुपैयाँको मात्र वैदेशिक व्यापार भएको विभागको तथ्याङ्क छ । शिथिल अर्थतन्त्र, आव शुरु भएदेखि तराई मधेश बन्द तथा नाका अवरोधले आपूर्ति प्रणालीमा पारेको असहज परिस्थितिका कारण गत आवमा नेपालको दुबै व्यापारमा प्रभाव परेको छ । नाकाबन्दीको कारण आयातित वस्तु नेपाल भित्रन सकेनन् । नेपालमा इन्धन, कच्चा पदार्थलगायत आपूर्ति सहज नहुँदा पर्याप्त वस्तु उत्पादन सकेन र उत्पादन भएका वस्तु पनि वाहिर पठाउन नसके पछि गत आवमा अघिल्लो आवको तुलनामा आयात निर्यात दुबै घटेको छ । गत आवमा भएको कुल व्यापारमध्ये ७ खर्ब ८१ अर्ब ७२ करोड रुपैयाँको आयात हो भने ६६ अर्ब ५८ करोड रुपैयाँको निर्यात हो । अघिल्लो आवको सोही अवधिमा यस्तो व्यापार क्रमशः ७ खर्ब ८६ अर्ब १९ करोड रुपैयाँ र ८५ अर्ब १९ करोड रुपैयाँ थियो । गत आवको पहिलो ६ महीनामा २ खर्ब ७७ अर्ब रुपैयाँको वस्तु तथा सेवाहरू नेपाल भित्रिएको र ३१ अर्ब ५० करोड रुपैयाँका वस्तु तथा सेवा नेपालबाट बाहिरिएको विभागले जानकारी दिएको छ । अर्धवार्षिक आयात अघिल्लो आवको सोही अवधिको तुलनामा २६ दशमलव ५ प्रतिशतले कम हो । अघिल्लो आवमा साउनदेखि पुससम्मको अर्धवार्षिक अवधिमा ३ खर्ब ७७ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो भने ४३ अर्ब ३९ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको विभागकोे भनाइ छ । सरकारले केही वर्षयता१ खर्ब रुपैयाँको वस्तु तथा सेवा निर्यात गर्ने योजनासहित विभिन्न निर्यातित वस्तुमा प्रोत्साहनको व्यवस्था गरे पनि निर्यात भने गिर्दाे अवस्थामा रहेको छ । अघिल्लो आवमा ७ खर्ब ९९ करोड रुपैयाँ रहेको व्यापारघाटा गत आवमा ७ खर्ब १३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । गत आवको निर्यात—आयात अनुपात भने एक बराबर ११ (१ः११.४) रहेको छ । बन्दहडताल तथा नाकाबन्दीका कारण अनौपचारिक अर्थतन्त्र विस्तार हुँदै जानु र औपचारिक क्षेत्र खुम्चँदै गएका कारण यसको प्रत्यक्ष असर वैदेशिक व्यापारमा देखिएको हो ।

नेप्सको दैनिक नयाँ नयाँ रेकर्ड, कति सान्दर्भिक ?

हरिबोल काफ्ले काठमाडौं, ५ साउन । नेप्से सुचकको नयाँ उचाईका बारेमा लगानीकर्ताको चासो हुनु स्वभाविक हो । यो समयमा बजारलाई सकारात्मक दिशामा लैजाने तथ्यपरक यर्थाथहरु निम्न रहेको देखिएको छ । अधिक मुनाफा र प्रतिफल बैंक, वित्तिय संस्था र बीमा कम्पनीको प्रतिफल लोभ लाग्दो देखिएको छ । लामो समयसम्मको नाकाको अवरोध र भुकम्पको मारले संस्थागत मुनाफामा असर परेको देखिएन । त्यसको विपरित संस्थाहरुको मुनाफा अधिक रह्यो । समग्र अर्थतन्त्रमा परेको प्रतिकुल प्रभावका बिचमा पनि नाफाको दर अधिक हुनाको कारणले पूँजीबजारको प्रवृतिलाई जीवन्त तुल्याएको देखिन्छ । नाकाको अवरोध वा भुकम्पको प्रकोपले बैंक, वित्तिय संस्था र बीमा कम्पनीले आफ्नो संस्थागत संरचनालाई झन् मजबुत बनाउने अवसरको रुपमा लिन पुगेका छन् । जसकाकारण आगामी वर्षहरुमा त्यसको प्रतिफल झन् लोभ लाग्दो हुन सक्छ । सापेक्ष प्रविधि प्रयोग र सूचनाको पूर्ति बजारको आवश्यकता अनुसारको प्रविधि, नीति र उपकरणको परिपुर्ति समयानुकुल विस्तार भएको छ । कारोबारको समय, प्रविधि प्रतिको विश्वासनियता र नेप्सेको प्रतिवद्धता नेप्से वुलिसको परिपुरक हो । प्रविधिको पछिल्लो प्रयोगले कारोवारका लागि लगानीकर्ताले पुरा गर्नुपर्ने अनेक प्रकारका प्रक्रियाहरु सरल र सहज बनेको छ । सुचनाको भरपर्दो संयन्त्रको विकास र लगानीकर्तालाई सुचनाको उपलब्धतामा भएको वृद्धिले अहिलेको अवस्थामा महत्वपुर्ण भूमिका खेलेको छ । नेप्सेको मार्केट डेब्थ पछिल्लो प्रयोग हो । सही सूचनाको उपयोग र विश्लेषण लगानीको निर्णयका लागि सबैभन्दा ठुलो आवश्यकता हो । विश्व बजारको अभ्यासले समेत सूचनाको श्रोत, विश्लेषणको गहिराई र तथ्य परक सूचनाको महत्वलाई सबैभन्दा ठूलो लगानीमन्त्रको रुपमा पहिचान गरेको देखिएको छ । बैंक तथा वित्तिय संस्थाले केही समय अघिदेखि मात्र सुचनाको अधिकार सम्बन्धि केही अनिवार्य व्यवस्थाहरुलाई मध्यनजर गरि सो सम्बन्धि विवरणहरु समेत प्रकासित गर्न थालेका छन् । साथै नीति र उपकरणको सार्थक प्रयोगतर्फ समेत सरोकार निकायहरु उन्मुख भएको देखिएका छन् । धितोपत्र बोर्डले समेत पछिल्लो समयमा बजार व्यवस्थित गर्नका लागि थप व्यवस्थित, पारदर्शी र विस्वसनीय भुमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेको छ । ठूला संस्थाहरुले समेत लगानी बढाउने दिशामा आफ्नो ध्येय कायम रहेको बुझाईले पनि केहि हदसम्म लगानीकर्ताको मनोवल उच्च पारेको छ , जसको सकारात्कम टेवा बजारले पाएको छ । अधिक तरलता र न्युन व्याज लामो समय सम्मको अस्थिरताले लगानीको ठूलो पूँजी स्थिर बनेको छ । अधिक तरलता भएको समयमा प्राय जस्तोसुकै स्थिर पूँजीले पनि अवसरको मुनाफालाई अवसरको विकल्पमा रोज्ने गरेको पाईन्छ । अर्थव्यवस्थामा जबसम्म अन्यत्रको क्षेत्रले मुनाफा उल्लेख्य सिर्जना गर्दैन । सेयर बजारको लगानी जबसम्म पलायन हुन खोज्दैन तब सम्म सेयर बजारको प्रवृतीमा शंका गर्नुपर्ने ठाउँ हुदैन । बजारको व्याज निर्धारण पनि तरलताको माग र पूर्तिको सन्तुलनमा भर पर्छ । अर्थात अधिक तरलताको समय भनेको लगानीमा न्युन चाप पैदा भएको अवस्था हो । यो समयमा व्याजको दर समेत न्युन विन्दुमा आईपुग्छ । न्युन विन्दुको निक्षेपणले लगानीकर्ता अधिक जोखिम लिन रुचाउने गर्दछन्, जसकाकारण बजारले ठूलो गति लिन सक्ने देखिन्छ । पूँजी वृद्धिको वाध्यता र सवल माग पक्ष विषेशत वाध्यात्मक पूँजीवृद्धिको कार्ययोजनामा सबै प्रकारका बैंक तथा वित्तिय संस्थाहरु समावेश भैसकेका छन् । चुक्तापूँजी वृद्धिको प्रभाव नेप्से वृद्धिका लागि सबैभन्दा परिस्कृत निर्णय थियो । न्युन समयभित्र ठुलो स्तरले पूँजी वृद्धिको अनिवार्य व्यवस्थालाई बैंक तथा वित्तिय संस्थाले विभिन्न प्रकारले तारतम्य मिलाउदै गएकाछन् । जस अन्र्तगत बोनस वा हकप्रद शेयरको आकांक्षाले पनि लगानीकर्ताको लगानी निरन्तर प्रवाह भएको छ । बैंक तथा वित्तिय संस्थाको पूँजी संरचना विस्तारका लागि धेरै संस्था मर्जरमा गएका छन् । जसकाकारण तिनीहरुको कारोवार समेत स्थगित छ । अभौतिकिकरण र स्थगित कारोवारको अवस्थाले बजारमा शेयरको आपुर्ति पक्षलाई समेत कमजोर बनाएको छ । आपुर्तिपक्षमा देखिएको विचलनले मागपक्ष अधिक हावि हुनु त्यसले मुल्य बढाउनु पनि वृद्धिको सान्दर्भिक तथ्य हुन सक्छ ।