टेलिकमको सामाजिक सञ्जाल ‘मिट’मा प्रयोगकर्ता ४६ हजार पुगे
काठमाडौं १७ साउन। औपचारिक सेवा सुचारु गरेको ७ महिनामा नेपाल टेलिकमको सामाजिक सञ्जाल मिटका प्रयोगकर्ता उल्लेख्य रुपमा बृद्धि भएका छन्। गत माघदेखि टेलिकमले मिटको औपचारिक सुरुवात गरेको थियो। अहिलेसम्म मिटमा ४६ हजार भन्दा धेरै प्रयोगकर्ता भएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन। लेख, तस्बिर, श्रव्य तथा दृश्यलाई एकार्कामा पठाउन सकिने सो सञ्जालको गत पुषमा सञ्चारमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए। नेपाल टेलिकमले आफ्ना विभिन्न सेवाहरुलाई एउटै सिस्टममा आवद्ध गराउन युनिफाइड कम्युनिकेशन सिस्टम (UCS) को रुपमा विकास गर्न यो सेवा ल्याएको हो। टेलिकमका ग्राहकले आफ्नो जीएसएम वा सिडिएमए मोबाइलमार्फत मिटको सुविधा लिन सक्छन्। टेलिकमले युसिएसमार्फत् ग्राहकलाई प्रतिदिन १० वटा एसएमएस निःशुल्क दिएको छ। त्यस्तै एक पटकमा धेरै संख्यामा एसएमएस पठाउन बल्क एसएमएसको पनि पठाउन मिल्छ। यसमा म्यासेजको क्यारेक्टर संङ्ख्या एक सय ६० वाट बढाएर तीनसय २० पुर्याएको टेलिकमले जनाएको छ । विस्तृत कार्ययोजना र लक्ष नबनाइकन आएको यो सञ्जालले अहिलेसम्म सामाजिक सञ्जाल प्रयोगकर्तामाझ राम्रो प्रभाव पार्न सकेको छैन। निशुल्क मेसेजको सुविधा पाउँदा पनि यो सञ्जालको खासै प्रयोग भएको छैन। यसले कम्पनीका सेवाग्राहीका बीचमा सामाजिक सम्बन्ध विकास गराउने उद्देश्य लिइएको टेलिकमको भनाइ छ। सो सञ्जालबाट कम्पनीका विभिन्न सेवाका बारेमा ग्राहकसँग आवश्यक अन्तक्रिया समेत गर्न सकिन्छ। टेलिकमले दश करोड २० लाख कुल लगानीमा सुरु गरेको यो सञ्जालमा दिनहुँ प्रयोगकर्ता बढिरहेका छन्। ‘औषतमा दैनिक दुइसय ५० प्रयोगकर्ता थपिन्छन्’ प्रवक्ता वैद्यले भनिन् ‘अझै परिष्कृत गरेर प्रयोगकर्ता थप्ने र सेवा विस्तार गर्ने योजना रहेको छ।’
अब बन्ने भयो बाहिरी चक्रपथ, चोभार–गाम्चा–सतुङ्गल खण्डमा ९९प्रतिशत जग्गाधनीको सहमति
काठमाडौँ, १७ साउन । बाहिरी चक्रपथ निर्माणको चर्चा चलेको एक दशकपछि काठमाडौँ उपत्यकाका तीनै जिल्ला जोडिने ७३ किमी चक्रपथ निर्माण हुने भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले गत असार ११ गते चोभार–गाम्चा–सतुङ्गल ६.६ किमी दूरीको ३.५ वर्ग किमी जग्गा विकास गरी बाहिरी चक्रपथ निर्माण गर्न त्यस क्षेत्रका जग्गाधनीको असहमति भए ३५ दिनभित्र उजुरी दर्ता गर्न सार्वजनिक सूचना प्रकाशन गरेको थियो । आइतबार अन्तिम असहमति दर्ता गराउने दिनसम्म ९६ मात्र उजुरी परेकाले बाहिरी चक्रपथ बन्ने निश्चित भएको हो । आयोजना रोकिनका लागि कम्तीमा चार हजार असहमतिका उजुरी पर्नुपर्ने प्राधिकरणका शाखा अधिकृत ध्रुव सापकोटाले जानकारी दिए । “चोभार–गाम्चा–सतुङ्गल ६.६ किमी दूरीको ३.५ वर्ग किमी क्षेत्रमा अनुमानित सात हजार व्यक्तिको जग्गा छ, यसको ५१ प्रतिशतले असहमति जनाएका भए बाहिरी चक्रपथको काम रोकिन्थ्यो, धेरैको सहमति भएकाले बाहिरी चक्रपथ बन्ने सुनिश्चित भएको छ”– उनले भने । करिव ९८ प्रतिशतभन्दा बढी जग्गाधनीले चक्रपथ निर्माण गर्न सहमति दिएकोले अब निर्माण कार्य अगाडि बढाईने उनले बताए । बाहिरी चक्रपथको सडक ५० मिको हुनेछ । सडकका लागि प्राधिकरणले जग्गा अधिग्रहण गर्दैन । नमिलेको जग्गालाई योजनाबद्ध रुपमा विकास गरी समुदायलाई हस्तान्तरण गर्छ । जग्गा विकास गरिदिएबापत जग्गाधनीले बाहिरी चक्रपथ र जग्गा विकास गरिने ३.५ वर्ग किमी क्षेत्रमा छ, आठ र ११ मिटरका अन्य ती सहायक सडक निर्माणका लागि आवश्यक जग्गाको योगदान गर्नुपर्ने प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपानेले बताए । “असहमति जनाएका ९६ जना जग्गाधनीमध्ये अधिकांशले बाहिरी चक्रपथ निर्माण हुनुहुँदैन भन्ने नभई आयोजना छिटो सम्पन्न होस् र २० प्रतिशतभन्दा कम जग्गा काटियोस् भनी माग गर्नेको सङ्ख्या धेरै छ, पूर्ण रुपमा असहमति राख्नेको सङ्ख्या कम छ”– उनले भने । बाहिरी चक्रपथ निर्माण प्रक्रियामा चार वर्षअघि कीर्तिपुर नगरपालिकाका बासिन्दाले धेरै विरोध गरेका थिए । यस पटक कीर्तिपुरका मानिसले बाहिरी चक्रपथ निर्माणका लागि सकारात्मक सहयोग गरेको प्राधिकरणले जनाएको छ । यसबीचमा गत वर्ष आएको भूकम्प र प्राधिकरणले स्थानीयवासीमा जनचेतना जगाएकाले स्थानीयवासी सकारात्मक बनेका हुन् । सूचनामा सकारात्मक प्रतिक्रिया आएपछि छिटो गरी बाहिरी चक्रपथको चोभार–गाम्चा–सतुङ्गल ६.६ किमी निर्माण अघि बढ्ने भएको छ । बाहिरी चक्रपथको सो खण्डमा त्रिभुवन, पृथ्वी, काठमाडौँ–तराई दु्रतमार्ग र काठमाडौँ–केरुङ मार्गसमेत जोडिनेछ । यसअघि बाहिरी चक्रपथ निर्माणका लागि गरिएका प्रयासमा यही खण्डमा विवाद आएकाले काम रोकिएको थियो । रासस
कैलाश विकास बैंकको नाफा करिव ४४ करोड, विकास बैंक मध्ये सबैभन्दा बढी
काठमाडौं, १७ साउन । कैलाश विकास बैंकले गत आथिर्क वर्षमा ४३ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको छ । विकास बैंकहरु मध्ये कैलाश विकास बैंक सबैभन्दा बढी नाफा गर्न सफल भएको छ । सरकारलाई बुझाउने कर र कर्मचारी बोनस खर्चअघिको बैंकको नाफा ६९ करोड रुपैयाँ छ । बैंकको कर खर्च १८ करोड ८२ लाख र स्टाफ बोनस ६ करोड २७ लाख रुपैयाँ हुने जनाएको छ । बैंकको चुक्ता पुँजी १ अर्ब ५८ करोड छ भने संचित कोषमा ८६ करोड ७४ लाख रुपैयाँ छ । बैंकले गत आसार मसान्तसम्ममा निक्षेप १५ अर्ब ७ करोड परिचालन गरेको छ भने कर्जा सापटी १३ अर्ब २६ करोड र लगानी ४५ करोड रुपैयाँ गरेको छ । यस विकास बैंकको क्यापिटल एडेक्वसी १६ प्रतिशत छ भने खराव कर्जा ०.८२ प्रतिशत छ । बैंकको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ, प्रतिसेयर सम्पत्ति ११२३ रुपैयाँ, प्रतिसेयर आम्दानी २७ रुपैयाँ रहेको छ ।
पौने पाँच अर्ब रुपैयाँ बराबरको हस्तकलाका सामान निर्यात
काठमाडौँ, १७ साउन । आर्थिक वर्ष २०७२/७३ मा नेपालमा उत्पादित हस्तकलाका सामान रु चार अर्ब ७६ करोड २४ लाख ६० हजार बराबरको विदेशमा निर्यात भएको छ । नेपाल हस्तकला महासङ्घका अनुसार निर्यात भएको हस्तकलाका समानमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा रहेको छ । विदेसिएको हस्तकलाका सामानमध्ये अमेरिकामा मात्र कुल निर्यातको ३० प्रतिशत रहेको छ । महासङ्घका अनुसार रु एक अर्ब ३६ करोड ६१ लाख ४० हजार मूल्य बराबरका हस्तकलाका सामान अमेरिकामा निर्यात भएको हो भने सबैभन्दा थोरै रु २५ हजार मूल्य बराबरको मोनाकोमा निर्यात भएको छ । महासङ्घका महानिर्देशक डा गोविन्दप्रसाद पोखरेलले अमेरिकामा नेपाली हस्तकलाको धेरै माग भएको कारण अत्यधिक व्यापार भएको बताए। “सबैभन्दा धेरै अमेरिकामा माग रहेको छ,” उनले भने । महासङ्घबाट हाल अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानडा, कुवेत, जापान, चीन, भारतलगायत ६० भन्दा बढी देशमा हस्तकलाका सामान निर्यात हुँदै आएको छ । नेपालमा उत्पादित हस्तकलामध्ये सबैभन्दा धेरै ललितपुरमा हुने गरेको छ । नेपालबाट हाल अल्लो वस्तु, बासजन्य वस्तु, पोतेका सामान, हाड सिङ्गका सामान, सेरामिक सामान, सुर्तीजन्य सामान, स्फटिकजन्य सामान, ढाका, फेल्ट, सीसा, धुप, छाला, धातुजन्य, कपडाजन्य, चित्रकला, कागज र कागजजन्य, रेसाजन्य, चाँदी गरगहना, प्रस्तकला, काष्ठकला र उलनजन्य सामान विदेशमा निर्यात हुँदै आएको छ । आव २०७२/७३ विदेश निर्यात भएको हस्तकलामध्ये धातुजन्य हस्तकला धेरै रहेको छ । जसमा रु एक अर्ब २२ करोड ३२ लाख ८७ हजार बराबरको निर्यात भएको हो । गत आवमा रु एक अर्ब नौ करोड १९ लाख ४८ हजार ८४३ बराबरको निर्यात भएको थियो । नेपालमा हस्तकलाका जिल्लागत १४ र वस्तुगत १० सङ्घ रहेका छन् । जिल्लागत सङ्घ बागलुङ, भक्तपुर, दाङ, धनुषा, झापा, पाल्पा, कास्की, ललितपुर, लमजुङ, मकवानपुर, म्याग्दी, रामेछाप, सङ्खुवासभा र भक्तपुरमा रहेका छन् । यस्तै वस्तुगततर्फ धातु, जुत्ता, सेरामिक्स, पश्मिना, कागजलगायतका उद्योग आबद्ध छन् । महासङ्घका अध्यक्ष धर्मराज शाक्यले प्राकृतिक रेशा, सिसाका सामान, बोधिचित्तका माला, रुद्राक्षलगायतका हस्तकला विदेशमा अत्यधिक माग हुने गरेको बताए । परस्परागत हस्तकलाभन्दा नयाँ हस्तकलाका सामान विदेशमा बढी माग हुने गरेको छ । परम्परागत हस्तकलाका सामानमा काष्ठकला, प्रस्तरकला, धातुकलालगायत रहेका छन् भने नयाँमा प्राकृतिक रेशा, सिसाका सामान, बोधिचित्तका माला रहेका छन् । हस्तकलाका सामान निर्यातमा आव २०७१÷७२ को तुलनमामा आव २०७२/७३ मा रु दुई करोड बराबरको कमी आएको छ । आव २०७१/७२ रु चार अर्ब ७८ करोड ५४ लाख ७६ हजार बराबरको कारोबार भएको थियो । महासङ्घका अध्यक्ष शाक्यले भूकम्प र नाकाबन्दीका कारण गत आवको तुलनामा पछिल्लो आवमा निर्यात घटेको बताए महासङ्घमा एक हजार ५०० व्यवसायी आबद्ध भए पनि हाल करिब ४०० व्यापारीले मात्र हस्तकलाका सामान नियमित रुपमा निर्यात गर्दे आइरहेका महासङ्घले जनाएको छ । रासस
अस्ट्रेलियाले ३८ अर्ब अमेरिकी डलर जुवामा गुमायो, गोप्य र फोहोरी खेलबाट ८० करोड राजश्व संकलन
अस्ट्रेलिया, १७ साउन । सदा विजयी रहने आशय वा बेलायती पूर्वसाम्राज्ञी भिक्टोरियाका देशबासी भन्ने तात्पर्यसहितको नामाकरण गरिएको भिक्टोरियन भनी परिचित अस्ट्रेलिया जनताले बिद्युतीय यन्त्र परिचालित स्लट मेसिनमा जुवा खेली अरबौँ डलर गुमाउँछन् भन्ने कसले सोचेको हुन्छ ? तर यथार्थ प्रतिवेदन हालै प्रकाशित भएका छन् । गुगल फोटो गत २४ वर्षअघि मुलुकमा भित्रिइ जुवाडेहरुका माझ लोकप्रिय हुँदै आएको यस स्लट मेसिनमा जुवा खेल्दाखेल्दै अस्ट्रेलियालीले ३८ अर्ब अमेरिकी डलरभन्दा बढी धनराशी हारिसकेका बल्ल पत्तो लागेकोे छ । हालै एउटा अनुसन्धान प्रतिवेदन स्थानीय सञ्चार माध्यममा प्रकाशनमा आएपछि स्लट मेसिन (स्थानीय जनजिब्रोमा पोकिज् भनिने) जस्ता सबैथरी बिद्युतीय द्युतक्रिडा यन्त्र नष्टपारी कडा प्रतिबन्ध लगाउनुपर्ने सार्वजनिक रुपमा आवाज उठेको छ । लेबर पार्टीका वर्तमान प्रधानमन्त्री डेनियल एन्ड्रयुजले जनतालाई जुवा खेलाई ८० करोड अमेरिकी डलरभन्दा बढी रकम स्लट मेसिन करको नामबाट लुटेर ‘गोप्य र फोहोरी खेल’मा लिप्त भएको भन्ने आरोप सरकारका बिपक्षी दल तथा सो मेसिनका कडा विरोधी खेमाले लगाएका छन् । ‘एन्ड्रयुज सरकारलाई पदच्युत गर्ने ठीक समय यही हो’ अलायन्स फर ग्याम्ब्लिङ्ग रिफर्म नामक संस्थाका टिम कोस्टेलोले एक सञ्चार माध्यम न्युज लिमिटेडलाई बताएका छन्। एजेन्सी
४२ रोपनीमा फैलिएर यस्तो बन्दैछ धरहरा
काठमाडौं, १७ साउन । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ । अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा आज यहाँ भएको कार्यक्रममा धरहराको प्राविधिक प्रस्तावलाई सार्वजनिक गरियो । तीन अर्ब रुपैयाँको लागतमा तीन वर्षभित्र सम्पन्न गर्ने योजना रहेको सो प्रस्ताव अनुसार अब धरहरा क्षेत्रमा अहिले रहेको गोश्वारा हुलाक र टक्सार कार्यालय समेत गाभिनेछ । उक्त प्रस्ताव तयार पारेका वास्तुकार विष्णु पन्थीले पुरानो धरहराकै स्वरुपमा नयाँ धरहरा निर्माण गरिने बताए । भित्री भागमा केही व्यापारिक केन्द्र हुने भए पनि बाहिरी स्वरुप पुरानै धरहराको रहने छ । पुरानो धरहराको अवशेषलाई नछोइकन त्यसैको अगाडिपट्टि नयाँ धरहरा बनाइने छ । नयाँ धरहरा क्षेत्रमा छिर्ने बित्तिकै बगैँचा देख्न सकिनेछ । बगैँचा वरिपरि बस्न मिल्ने र पानी परेका बेला ओत लाग्ने ठाउँ समेत राखिएको छ । नयाँ धरहरा क्षेत्रमा सुन्धारा समेत पर्ने भएकाले यसलाई पनि आकर्षक रुपमा प्रस्तुत गरिएको छ । सुन्धाराको धाराबाट पानी बग्नेछ र अहिले रहेकै ठाउँ पानीले भरिनेछ भने सुन्धाराको तीनतिरको छेउछेउ भ¥याङ राखी अवलोकनकर्तालाई फोटो खिच्ने ठाउँ छाडिनेछ । यसले त्यस क्षेत्रमा पर्यटकको आकर्षण अझ बढी रहने विश्वास गर्न सकिन्छ । धरहरा छिर्ने बाटो हुँदै अगाडि बढ्दा छेउमा ५० फिटको पानीको फोहरा पनि देख्न सकिन्छ, जसबाट २४ घन्टा पानी प्रवाह हुन्छ । द्वारबाट भित्र छिरेपछि ‘अन्डरग्राउन्ड’ मा इलेक्ट्रिक भ¥याङ् हुँदै तल झर्नुपर्ने हुन्छ । तल रहेको लिफ्टबाट सिधैँ धरहराको टुप्पोमा पुग्न सकिन्छ । पहिलेकै स्वरुपमा तयार पारिएकाले अहिले निर्माण गर्न लागिएको धरहरामा पनि ११ तला रहेको छ । धरहराबाट ८० प्रतिशत ‘भ्यू’ देखिने ‘ग्लास’ समेत राखिनेछ । धरहरामा प्रकाशको राम्रो व्यवस्था गरिने भएकाले साँझ यहाँ झलमल्ल हुन्छ । धरहराको उत्तरपट्टि तीन तले अत्याधुनिक ‘अन्डरग्राउन्ड पार्किङ’ को निर्माण गरिने छ । एकसय ३४ वटा गाडी अट्ने उक्त पार्किङ् क्षेत्रमा छिर्ने र निस्कने बाटो समेत छुट्टै तयार पारिएको छ । धराहरा चढ्न ‘लिफ्ट’ वास्तुकार पन्थीका अनुसार नयाँ धरहरा अपाङ्गता भएकालाई समेत ध्यानमा राखेर निर्माण गरिएकाले कसैले पनि धरहरा चढ्न पाइँन भनेर गुनासो गर्नुपर्ने छैन । दुई वटा लिफ्टको व्यवस्था गरिएकाले १०/१० जनाले एकै पटक धरहरा चढ्न सक्नेछन् । धरहराभित्रै थियटर पुरानो धरहराको इतिहास र अहिलेसम्मको अवस्थाबारे अवलोकनकर्तालाई जानकारी दिन नयाँ धरहराभित्रै ‘मिनी थियटर’ को व्यवस्था गरिने छ । उक्त मिनी थियटरमा भीमसेन थापा, महारानी त्रिपुरासुन्दरीले निर्माण गराएको धरहरा, धरहरा निर्माणको इतिहास, भत्किएपछिको अवस्थालगायतको १५ मिनेटको वृत्तचित्र समेत देखाइने छ । थियटरको २० जनासम्म अट्ने क्षमता छ । धरहरा क्षेत्रमा सङ्ग्रहालय इतिहासलाई जीवन्त राख्ने र नयाँ पिँढीलाई यसबारे जानकारी दिने उद्देश्यले टक्सार कार्यालयमा रहेका पुराना मेसिन, मुद्रालाई सङ्ग्रहालय निर्माण गरी व्यवस्थित गरिनेछ । पचास वर्ग फिटको क्षेत्रमा निर्माण गरिने उक्त सङ्ग्रहालयमा नेपालमा मुद्रा बनाउन प्रयोग गरिएका विभिन्न मेसिन प्रदर्शनीमा राखिनेछ । धरहरामा छिर्ने बित्तिकै सङ्ग्रहालय नदेखिने भएकाले उक्त सङ्ग्रहालय हेर्न अवलोकनकर्ताले एकछिन भए पनि चारैतिर खोज्नैपर्ने छ । नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले विसं १८८१ मा आफ्नो दरबार लगनटोलमा पहिलो पटक धरहरा बनाउन लगाएका थिए । यो धरहरा बनाएको अर्को वर्ष अर्थात् विसं १८८२ मा महारानी त्रिपुरासुन्दरीले अहिले धरहरा रहेको स्थानमा धरहरा बनाउन लगाइन् । विसं १८९० को भूकम्पले भीमसेन थापाले बनाएको धरहरा चर्किएको भए पनि रानीले बनाउन लगाएको धरहरामा भने केही भएको थिएन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले नयाँ धरहरा आठ रेक्टर स्केलसम्मको भूकम्पले समेत नहल्लाउने गरी बनाइने बताए । ‘मेरो धरहरा म आफैँ बनाउँछु’ भन्ने अभियानअन्तर्गत एक करोड ९५ लाख रुपैयाँ सङ्कलन भइसकेको जानकारी दिँदै मन्त्री पोखरेलले भने – “धरहरा निर्माणका लागि लाग्ने रु तीन अर्बमध्ये सर्वसाधारणबाट सङ्कलन भएर पनि नपुगे जति रकम नेपाल टेलिकमले बेहोर्ने छ ।” उनका अनुसार निर्माणपछि धरहरा क्षेत्र पशुपतिपछिको सबैभन्दा आकर्षक पर्यटकीय ठाउँ बन्नेछ । रासस
हिमस्टारद्वारा नयाँ एयर कन्डिसनर नेपाली बजारमा, सुपथ मूल्यमा पाइने
काठमाडौं, १७ साउन । हिम इलेक्ट्रोनिक्स प्रालि.ले हिमस्टारको नयाँ एयर कन्डिसनर नेपाली बजारमा ल्याएको छ । उक्त कम्पनीले नेपालमा हिमस्टारका विद्युतीय सामग्रीहरू उत्पादन, वितरण, तथा बजार–व्यवस्थापन गर्दै आएको छ । कम्पनीका अनुसार हिमस्टार एयर कन्डिसनरमा कपर कन्डेन्सर छ जुन आलुमिनम कन्डेन्सरले भन्दा कम विद्युत प्रयोग गरेर चौतर्फी रूपमा तापक्रम रेगुलेट गर्छ । त्यसै गरी टर्बो कुल मोडले स्पिडलाई नियन्त्रण गरी आरामदायी रूपमा हावा सबैतिर फ्याँक्ने काम गर्दछ । अटो क्लिनका लागि एउटा बटन थिच्दा पुग्छ । जसले ए.सि.लाई भित्रबाट आफै सफा गर्छ । कम्पनीले बताए अनुसार एन्टि ब्याक्टेरियल फिल्टरले ब्याक्टेरिया भित्रिन दिँदैन र हावालाई स्वच्छ राख्ने काम गर्दछ । एक्टिभ कार्बोन फिल्टरले हावामा धुलो मिसिन दिँदैन । ह्यिुमिडि फिकेसनले आद्रतालाई नियन्त्रणमा राखी हावाको नमीलाई कायम राख्छ । कम्पनीका अनुसार अटो रिस्टार्टले बत्ती गए पछि पनि उही सेटिङ याद गरी बत्ती आउँदा सोही रुपमा काम गर्छ । त्यस्तै, भिटामिन सि फिल्टरले हावामा भिटामिनको मात्रालाई कायम राखी छालामा ¥यास आउन दिँदैन । हिमस्टारका यी कन्डिसनरहरु उत्कृष्ट हुनुको साथ सुपथ मूल्यमा पाइने कम्पनीले जनाएको छ । १ र १.५ टन मा उपलब्ध यी एयर कन्डिसनर हिम इलेक्ट्रोनिक्सका आधिकारिक विक्रेताबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
दुई महिनाभित्रै क्लियरिङ बैंक, नेप्सेमा नयाँ सफ्टवेयर र इन्भेष्टर्स आइडीसम्म
काठमाडौं, १७ साउन । नेपाल धितोपत्र बोर्डले साउन ५ गते ब्रोकर कमिसन करिब ४० प्रतिशतले घटायो । त्यसको दुई दिनपछि अर्थात साउन ७ गते ओटिसी मार्केटको कारोबार शुल्क झन ९० प्रतिशतसम्म कम गरायो । त्यति मात्रै होइन, बोर्डले ब्रोकहररुलाई सचेत गराउनेदेखि कालोधन लगानी हुन सक्ने सम्भावनालाई अध्ययन गर्न समेत छानविन समिति बनाइसकेको छ । पछिल्लो समय सेयर बजार सुधारका प्रयासहरुमा नेपाल धितोपत्र बोर्डले तदारुकता देखाईरहेको छ । बोर्डले आगामी दुई महिनाभित्र सम्पन्न हुनेगरि सुधारको खाका नै तयार पारेको छ । जस अनुसार दुई महिनाभित्रै क्लियरिङ बैंक, इन्भेष्टर्स आइडीदेखि नेप्सेमा नयाँ सफ्टवेयर जडान र सेटलमेन्ट ग्यारेण्टी फण्ड तथा अक्सन मार्केटको काम समेत पर्छन् । ‘नेपालको सेयर बजारलाई प्रबिधी मैत्री तथा लगानी कर्ता मैत्री बनाउने अभियानमा छौं, त्यसका लागि विस्तृत योजनासहित काम गरिरहेका छौं, आगामी दुई महिनामा धेरै उपलब्धिपुर्ण कामहरु हुनेछन्’, नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरिले भने । बोर्डले क्लियरिङ्ग बैंक थप्ने जिम्मेवारी पाएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई साउन मसान्तभित्रै प्राबिधिक काम सकेर क्लियरिङ्ग बैंक थपिसक्न भनेको छ । त्यस्तै, लगानी कर्ताको पहिचानका लागि यूनिक इन्भेष्टर आइडिन्टिफिकेशन (इन्भेष्टर आइडि) प्रदान गर्न बोर्डले आवश्यक प्रविधि विकास गर्ने प्रकृया अगाडी बढिसकेको छ । भदौ १५ गतेसम्ममा अध्ययन तथा मोडालिटी निर्क्र्याैल गरेर अघि बढ्न सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई अर्काे निर्देशन दिएको छ । त्यसबाहेक सेटलमेन्ट ग्यारेण्टी फण्डको कार्यान्वयन, अक्सन मार्केट कार्यान्वयनको कार्यबिधी बनाउने काम पनि भदौं १५ गतेभित्रै सम्पन्न गर्न नेप्सेलाई निर्देशन दिएको छ । धितोपत्र तथा रकमको राफसाफ सम्बन्धमा टी प्लस टु मा नै पे–इन गर्न लगाउने, टी थ्रीमा खरीदकर्ताको खातामा धितोपत्र तथा बिक्रि कर्ता खातामा रकम जम्मा हुने व्यवस्था गर्ने व्यवस्था कार्यान्वयन गराउन पनि बोर्डले कडा निर्देशन दिइसेकेको छ । धितोपत्र दलाल व्यवसायीको भौतिक पूर्वाधारसहित मार्जिन लेण्डिङ्ग, डिलरसिप कार्य गर्न दिनेबारे पनि नेप्सेसँग साउन मसान्त भित्रै रायसुझाव मागी सकेको छ । काठमाडौं बाहिर धितोपत्र दलाल व्यवसायीको कार्यालय विस्तार गर्नेबारेमा नेप्सेले गठन गरेको अध्ययन समितिको प्रतिवेदन चाँडै उपलब्ध गराउन भनेको छ । नेप्सेले धितोपत्र बजारको सदस्यता तथा कारोबार विनियमावली, २०५५ तथा धितोपत्र सूचिकरण विनियमावली, २०५३ लाई प्रतिस्थापन गर्न पेश गरेको विनियमावलीहरुमा बोर्डको सुझाव अनुसार परिमार्जन गरी आगामी भदौ १५ गते भित्र बोर्डको स्वीकृतिका लागि पेश गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । ‘बोर्डको उदेश्य भनेको पुँजी बजारको सुदृढीकरण र लगानी कर्ताको हितको रक्षा नै हो, त्यसको लागि बजारलाई अन्तराष्ट्रियस्तरको बनाउनु पर्छ, हामी त्यहि दिशामा अघि बढिरहेका छौं, नेप्से, सिडिएस, ब्रोकर, मर्चेण्ट बैंकर तथा सूचिकृत कम्पनी सबैलाई लगानी कर्ताको हितका पक्षमा उभिने बनाउँछौं ।’, बोर्डको प्रवक्ता गिरिले विकासन्युजसँग भने । सेयर बजार विश्लेषक रविन्द्र भट्राईले भने नेप्से मार्फत बोर्डको गराउनुपर्ने काम भने तत्कालै सम्भव हुनेमा आशंका व्यक्त गरे । ‘बोर्डले सुरु गरेको सुधारको प्रयास सकारात्मक छ, तर नेप्से मार्फत गराउनु पर्ने काम समयमै सम्पन्न गर्न कठिन छ’, विश्लेषक भट्टराईले भने ।