काठमाडौं । समता शिक्षा निकेतनको १०० रुपैयाँमा एमबीबीएस पठाउने योजना विफल भएको छ । समताले १०० रुपैयाँमा एमबीबीएस, नर्स, अहेव, ल्यावटेक्निसिएन र एचए पढाउने योेजना सार्वजनिक गरेको थियो ।
प्रा.डा. गोविन्द केसीको अनसनपछि भएको सहमतिले समताको यो लक्ष्य विफल भएको हो । काठमाडौ उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाउने भएपछि उसको यो लक्ष्य पूर्ण नहुने भएको हो ।

समताका संस्थापक उत्तम सञ्जेलले गरिबका छोराछोरीलाई १०० रुपैयाँमा डाक्टर बनाउँछु भन्दा पनि नपाईने हाम्रो कस्तो देश हो ? भनी प्रश्न गरे । काठमाडौँमा हाम्रो १०० बेड भएको समता अस्पताल छ । १०० बेडको अस्पताल नभई मेडिकल कलेज सञ्चालन गर्न पाइँदैन । काठमाडौं भन्दा बाहिर अस्पताल पनि छैन । खोल्न सकिने अवस्था पनि नभएको उनले गुनासो गरे ।
“हामीले १०० रुपैयाँमा १० हजार डाक्टर बनाउने लक्ष्य बोकेका थियौं, यो योजना अब तुहिएको छ” उनले भने “हाम्रो देशमा डाक्टर पढ्न लाखौ रुपैयाँ खर्च गर्नुपरेको छ । यो अवस्थालाई अन्त्य गराैँ भनेर प्रयास गरेको हो । तर समताको प्रयास विफल भएको छ ।”
अहिले डाक्टर पढ्नका लागि ४० देखि ५० लाख र नर्स पढ्नका न्युनतम ४ देखि ७ लाख रुपैयाँसम्म खर्च लाग्छ । यस्तै अहेव, ल्यावटेक्नीसिएन र एचए पढ्न पनि लाखौँ रुपैयाँ खर्च गर्नुपर्छ । यसले गर्दा यी विषयमा कम आय भएका व्यक्तिको पंहुच बाहिर रहेको छ । समताले गरिवलाई पनि स्वास्थ्यको पंहुच पुर्याउने लक्ष्य लिएको थियो ।
डाक्टर, नर्स, अहेव लगाएतका कक्षा सञ्चालनका लागि सरकारसंग अनुमति मागेको थियो । सरकारले यो वर्षिभत्र सञ्चालन गर्न अनुमति दिने प्रतिवद्धता समेत जनाएकोमा डाक्टरको अनसन पछि रोकिएको छ ।
समता अस्पतालले होलबडी चेकअप गराउन १ हजार ५०० शुल्क लिएको छ । बिरामीले प्याथोलोजी सेवा लिनु परे या ईसीजी वा अल्ट्रासाउन्ड गर्नुपरे थप शुल्क तिर्नु पर्दैन । अझ ज्येष्ठ नागरिक परिचयपत्र भएका बिरामीलाई त अस्पतालले निःशुल्क उपचारको व्यवस्था समेत गरेको छ ।
अपाङ्ग तथा महिलाको लागि पनि अवस्था हेरेर अस्पतालले शुल्कमा छुट दिँदै आएको छ । गरिव र असाय बालबालिकाहरुलाई समता शिक्षा निकेतनले १०० रुपैयाँमा देशै भरि शिक्षा प्रधान गरिरहेको छ ।