विकासन्युज

सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ बैतडीमा, भदौदेखि सञ्चालनमा आउने

बैतडी, १८ साउन । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ बैतडीको पाटनमा सञ्चालन हुनेभएको छ । प्याराग्लाइडिङका लागि प्राविधिक टोलीले उपयुक्त ठहर गरेपछि भदौमा मध्यपहाडी लोकमार्गको पश्चिमी सहर बैतडीको पाटनमा सुरु हुने भएको हो । सुदूरपश्चिमेलीको मुख्यपर्व गौरालाई लक्षित गर्दै भदौ महिनाको पहिलो हप्तादेखि पाटनमा प्याराग्लाइडिङ सञ्चालनमा आउने भएको छ । भारतको हिमाञ्चलका धरम चन्दको नेतृत्वमा आएको एक प्राविधिक टोलीले सन् २०११ देखि सुदूरपश्चिमका विभिन्न स्थानमा प्याराग्लाइडिङ सम्भावनाबारे अध्ययन गरेको थियो । अध्ययनपश्चात् टोलीले बैतडीको पाटनमा उपयुक्त ठहर गरेको हो । प्राविधिक टोलीले पाटनका चार ठाउँबाट प्याराग्लाइडिङ उपयुक्त भएको ठहर गरेको छ । पाटन नगरपालिका–१२, दहडाँडा, वडा नं २ को जरौलीडाँडा, वडा नं १३ को अन्नाडीडाँडा र वडा नं ११ को हुरहुरे डाँडाबाट प्याराग्लाइडिङ गर्न सकिने देखिएको टोलीले ठहर गरेको हो । टोलीले डडेल्धुराको टुँडिखेल, डोटीको तिखाडाँडा लगायतका ठाउँमा समेत परीक्षण गरेको थियो । सुरुमा डडेल्धुराबाट प्याराग्लाइडिङका लागि परीक्षण गरिएपनि हावाको एकोहोरो बहावका कारण सम्भव नदेखिएको प्रविधिक टोलीका सदस्य श्यामराज भट्टले बताए । उनले भने “पाटनमा हावाको गति र दिशा उपयुक्त रहेको छ ।” प्राविधिक टोलीले सन् २०१४ मा नै प्याराग्लाइडिङको परीक्षण सफल भएपछि प्राविधिक टोली यस वर्ष पुनः पाटन पुगेर प्याराग्लाइडिङका लागि पहल सुरु गरेको बताइएको छ । सुदूरपश्चिम पर्यटन विकास केन्द्रका नामले संस्था दर्ता गरेर स्थानीय ११ जनाले व्यावसायिक रुपमा नै सञ्चालन गर्ने तयारी गरेका छन् । त्यस्तै, पाटन नगरपालिका–१३ को भिटास्थित पोखरी नजिकमा कटेज खोल्ने तयारी गरेका छन् । कटेज स्थापनापश्चात् कटेजमा स्थानीय परिकार राखिने बताइएको छ । सुदूरपश्चिमका स्थानीय परिकारमा खीर, माणा, फाणो, बटुको, डुपका, मकैको रोटीलगायतका परिकार राखिने भएका छन् । पाटनभन्दा करिब आठ किलोमिटर पश्चिममा रहेको नेपालकै गहिरो गुफा पताल भुमेश्वरको प्रवद्र्धन र प्याराग्लाइडिङलाई व्यवसायिकीकरण गर्न संस्थागतरुपमै प्रयास गर्ने केन्द्रका अध्यक्ष तथा पाटनका युवा पुष्कर भण्डारीले बताए । उनले भने “पर्यटन प्रवद्र्धनका लागि संस्था दर्ता गरेर सामूहिक रुपमा सञ्चालनको तयारी भएको छ ।” पर्यटन प्रवद्र्धन र आकर्षणका लागि भन्दै स्थानीय युवा प्याराग्लाइडिङ व्यावसायिकरुपमा नै सञ्चालन गर्न लागेका हुन् । बैतडीमा रहेका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गरी पर्यटक भित्र्याउन सके यहाँको विकास हुने अध्यक्ष भण्डारीको भनाइ रहेको छ । पाटनमा प्याराग्लाइडिङ सञ्चालनमा आएपछि नेपालकै गहिरो गुफा पतालभुमेश्वर, निङलाशैनी मन्दिर, रौलाकेदार मन्दिर, त्रिपुरासुन्दरी मन्दिर, जगन्नाथ मन्दिर, ईश्वरी गङ्गाधाम, मेलौली भगवती, भिटाकेदार मन्दिर, दोगडा धाम, देउलेक केदार, सिगास धुरा, त्रिवेणी धाम, डिलासैनी मन्दिर, ग्वाल्लेक केदारलगायतको समेत प्रचारप्रसार हुनेछ । भारतीय सहर दिल्ली, लखनउ नैनीताललगायत ठाउँमा घुम्न आउने पर्यटकलाई बैतडीमा भित्र्याउने लक्ष्य केन्द्रले राखेको छ । पर्यटक भित्र्याउन भारतका विभिन्न ठाउँमा रहेका प्याराग्लाइडिङ व्यवसायीसँग समन्वय गरिने बताइएको छ । रासस

सन २०३० मा कहाँ पुग्छ नेपाल ? कति नेपाली गाउँमा, कति शहरमा ?

काठमाडौं, १८ साउन । सरकारले सन २०२२ सम्ममा अतिकम विकसित राष्ट्रबाट मध्यमस्तरको आय भएको मुलुक बनाउने योजना अघि सारेर काम गरिरहेको छ । त्यसैक्रममा सरकारले साक्षार जिल्लादेखि खुल्ला दिशा मुक्त क्षेत्र र नगरपालिकाहरु धमाधम घोषणा गरिरहेको छ । यसै सन्दर्भमा सन २०३० सम्ममा नेपाल कहाँ पुग्छ भन्ने सन्दर्भमा गरिएको एक अध्ययन रिपोर्ट सार्वजनिक भएको छ । लगानी बोर्डले गरेको सो अध्ययनले सन २०३० सम्ममा नेपालको अवस्था कस्तो हुनेछ ? भन्ने आंकलन गरेको छ । अध्ययनका अनुसार सन २०३० मा नेपालमा १० हजार ९२ मेगावाट विद्युतको माग हुने देखिन्छ । अध्ययनका अनुसार सन २०३० मा शहरमा बसोबास गर्ने नेपालीको संख्या ४० प्रतिशतबाट बढेर ४९ प्रतिशत पुग्नेछ । त्यस्तै ५४ लाखको संख्यामा रहेको घरधुरी संख्या पनि बढेर ७७ लाख पुग्नेछ । हाल कायम रहेको दुई करोड ७६ लाखको जनसंख्या पनि बढेर सन २०३० सालमा ३ करोड ९० लाख पुग्नेछ । हाल शहरी इलाका खाना पकाउने इन्धनका रुपमा ३ प्रतिशत विद्युतिय उर्जाको प्रयोग भैरहेको छ । तर यो मात्रा सन २०३० सम्ममा यो बढेर ५२ प्रतिशत पुग्नेछ । ग्रामिण क्षेत्रमा परम्परागत उर्जाको प्रयोग ७७ प्रतिशतबाट घटेर ५५ प्रतिशतमा झर्नेछ । हाल ग्रामिण क्षेत्रमा ४ प्रतिशतको हाराहारीमा रहेको विद्युतको खपत पनि बढेर १९ प्रतिशत पुग्नेछ । ग्रामिण जनताले सन २०३० मा कोठा तताउन २५ प्रतिशत, पानी तताउन ४ प्रतिशत र खाना पकाउन ४५ प्रतिशत विद्युतिय उर्जाको प्रयोग गर्नेछन् । सन २०३० सम्ममा १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनादेखि ३३६० मेगावाट क्षमताको पञ्चेश्वर आयोजनासहित १४ वटा ठुला आयोजना निर्माण भैसक्नेछन् । त्यतिबेला जीडिपीमा कृषि क्षेत्रको योगदान अहिलेको ३३ प्रतिशतबाट घटेर २२ प्रतिशतमा खुम्चिनेछ । खनिज तथा खानीहरुको उत्खननले जीडिपीमा सो क्षेत्रको योगदान अहिले रहेको ७ प्रतिशतबाट बढेर १२ प्रतिशत पुग्नेछ । सेवा क्षेत्रको योगदान पनि ५२ प्रतिशतबाट बढेर ५४ प्रतिशत पुग्नेछ । उर्जा मन्त्रालयले ल्याएको १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने योजना सफल हुने हो  भने सन २०३० मा नेपालले आफुलाई पुग्ने विद्युत उत्पादन गरेर निर्यात समेत गर्न सक्ने देखिन्छ ।

प्रधानमन्त्रीमा अध्यक्ष दाहालको उम्मेदवारी दर्ता

काठमाडौं, १८ साउन । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालले नेपालको प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराएका छन् । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उनले प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष दाहालका प्रस्तावकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा छन् । समर्थकमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ल, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, नेकपा (संयुक्त)का जयदेव जोशी, अखण्ड नेपाल पार्टीका कुमार खड्का र स्वतन्त्र सांसद चन्द्रेश्वर झा रहेका छन् । व्यवस्थापिका–संसद् सचिवालयले तयार गरेको निर्वाचन कार्यक्रमअनुसार आज बिहान ११ः०० बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । आजै अपराह्न ४ः३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । बुधबार बिहान ११ बजे हुने संसद्को बैठकमा सबै उम्मेदवारको सूचना प्रस्तुत भई प्रस्तावक र समर्थकको समर्थनपछि ती सूचनामाथि सामूहिक छलफल र निर्णयार्थ प्रस्तुत (मतदान) गरिनेछ । ती सबै कार्यक्रम संसद् भवन नयाँबानेश्वरमा हुनेछ । रासस

प्रधानमन्त्रीको निर्वाचनमा एमालेबाट कसैले उम्मेदवारी नदिने

काठमाडौं, १८ साउन । नेकपा (एमाले)ले प्रधानमन्त्रीको निर्वाचनमा आफ्ना तर्फबाट उम्मेदवारी नदिने भएको छ । प्रधानमन्त्रीमा उम्मेदवारी नदिने भए पनि एमालेले नेपाली काँग्रेस र (माओवादी केन्द्र)का उम्मेदवार पुष्पकमल दाहालका विरुद्धमा मतदान गरी जिम्मेवार प्रतिपक्षमा बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको एमाले स्थायी कमिटीको बैठकपछि पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले आफूहरुले राष्ट्रिय सहमतिका लागि आवाज उठाउँदै आएका सन्दर्भमा जिम्मेवार राजनीतिक संस्कार र वातावरणका लागि सो निर्णय गरेको बताए । संसद् नियमावलीअनुसार प्रधानमन्त्री पदमा एक मात्र उम्मेदवार भए पनि मत विभाजनबाट निर्णय हुनेछ । एमालेले हालसम्म आफ्नो गठबन्धनमा रहेका दललाई पनि दाहालको विरोधमा मतदान गर्न आग्रह गरेको छ । उनले संविधान र कार्यान्वयनका लागि सहमतिको राजनीति एमालेको प्राथमिकता भएकामा जोड दिँदै २०७४ माघभित्र तीनै तहका निर्वाचन नगराउने षड्यन्त्रप्रति खबरदारी गर्ने बैठकले निर्णय गरेको जानकारी दिए । उनले राष्ट्रिय एकता र सद्भावमा खतरा उत्पन्न हुने अवस्थामा संविधान संशोधन आफ्नो पार्टीलाई स्वीकार्य नहुने तर सहमतिबाट समाधानका लागि लचिलो हुने जनाए । “मुलुकमा संवैधानिक वा राजनीतिक रिक्तता तथा लोकतान्त्रिक मान्यतामा खतरा आउन सक्नेतर्फ हामी गम्भीर छौँ”, नेता भट्टराईले भने, “तर हामी राष्ट्रिय सहमति तथा संस्कारयुक्त राजनीतिका पक्षमा छौँ ।” रासस

रिलायबल बैंकले ल्यायो नयाँ योजना, सय दिने मुद्दतीमा ७ प्रतिशत ब्याज

काठमाडौं, १८ साउन । रिलायबल डेभलपमेन्ट बैंकले सय दिने मुद्दतीमा ७ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ । सय दिन पुरा भए पश्चात साँवा र ब्याज स्वत बचत खातामा जम्मा हुने र सो बचत खातामा ५ प्रतिशतसम्म वार्षिक ब्याजदर प्राप्त गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार सय दिनको अवधि समाप्त भएर बचत खातामा रकम आए पश्चात एससीटि नेटवर्क अन्तर्गतका देशभरि रहेका ११ सयभन्दा बढी एटिएमहरुबाट निशुल्क रकम झिक्न सकिने छ । उक्त सेवा बैंकको सबै १७ शाखाहरुबाट उपलब्ध हुने छ ।

कार्ड जारी गर्ने रेमिटान्स कम्पनीको चुक्ता पूजी २५ करोड, अन्यले पनि कम्तिमा दुई गुणा बढाउनै पर्ने

काठमाडौं, १८ साउन । बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूजी बढाउदै लगेको नेपाल राष्ट्र बैंकले रेमिटान्स ब्यवसायमा संलग्न कम्पनीको चुक्ता पूजी पनि बढाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत कार्ड जारी गर्ने रेमिटान्स कम्पनीको हकमा छुट्टै ब्यवस्था गरी २५ करोड रुपैयाँ र अन्य कम्पनीले कम्तिमा पनि दुई गुणाले चुक्ता पूजी बढाउनु पर्ने ब्यवस्था गरिएको हो । कार्ड जारी गर्ने रेमिटान्स कम्पनीको चुक्ता पूजी कति हुनुपर्छ भन्ने ब्यवस्था यसअघि थिएन । यसअघि प्रिन्सिपल कम्पनी भइ रेमिटान्स ब्यवसायमा संलग्न कम्पनीको चुक्ता पूजी ५ करोड रुपैयाँ भए हुन्थ्यो । सोही पूजीको आधारमा रेमिटान्स कम्पनीले कार्ड जारी गर्न सक्ने ब्यवस्था थियो । सो ब्यवस्था अनुसार आइएमइ मनि ट्रान्सफर कम्पनीले रेमिटान्स कार्ड जारी पनि गरेको छ । प्रिन्सिपल कम्पनी भइ कारोवार गर्ने रेमिटान्स कम्पनी, फर्म वा संस्थाको चुक्ता पूजी १० करोड रुपैयाँ हुनै पर्ने ब्यवस्था गरिएको छ । यसअघि यस्तो पूजी ५ करोड रुपैयाँ भए हुन्थ्यो । यस्तै विदेशस्थित प्रिन्सिपल कम्पनीको एजेन्ट भइ रेमिटान्स कारोवार गर्ने कम्पनी, फर्म र संस्थाहरुको न्यूनतम चुक्ता पूजी २ करोड रुपैयाँ पुर्याउनु पर्ने भएको छ । यसअघि यस्तो पूजी १ करोड रुपैयाँ भए हुन्थ्यो । नयाँ ब्यवस्था नेपाल राष्ट्र बैंकवाट इजाजतपत्र नविकरण गर्ने समयसम्ममा कायम गरिसक्न राष्ट्र बैंकले सवै कम्पनीहरुलाई निर्देशन दिइसकेको छ । रेमिटान्स कारोवारको इजाजत प्रत्येक बर्ष नविकरण गर्नुपर्ने हुन्छ । यस्तै मनि चेन्जरहरुको चुक्ता पूजी पनि बृद्धि गरिएको छ । नयाँ ब्यवस्था अनुसार भारतीय रुपैयाँ मात्रै खरिद विक्रीको कारोवार गर्ने मनि चेन्जरले आफ्नो न्यूनतम चुक्ता पूजी ५ लाख रुपैयाँ नै राखे हुनेछ । तर परिवत्र्य विदेशी मुद्राको खरिद कारोवार गर्ने मनि चेन्जरले आफ्नो चुक्ता पूजी अहिलेको १० लाख रुपैयाँबाट बढाएर १५ लाख रुपैयाँ पुर्याउनु पर्ने भएको छ । भारतीय रुपैयाँसहित परिवत्र्य विदेशी मुद्राको कारोवार गर्ने मनि चेन्जरले आफ्नो चुक्ता पूजी १५ लाख रुपैयाँबाट बढाएर २० लाख रुपैयाँ पुर्याउनै पर्ने भएको छ ।

चार वटा बाणिज्य बैंकको नाफा चार अर्ब, सिद्धार्थ, प्रभु, सनराईज र लक्ष्मीले कति कमाए ?

काठमाडौं, १८ साउन । चार वटा बाणिज्य बैंकहरुले २०७३ असार मसान्तसम्ममा चार अर्ब नाफा कमाएका छन् । मंगलबार वित्तिय विवरण सार्वजनिक गरेका सिद्धार्थ बैंक, प्रभु बैंक, सनराईज बैंक र लक्ष्मी बैंकले सो अवधीमा कुल चार अर्ब नाफा कमाउन सफल भएका हुन् । चारमध्ये सिद्धार्थ बैंक र प्रभु बैंकको नाफा एक अर्ब नाघेको छ भने सनराइज बैंकले आफ्नो नाफा १०२ प्रतिशतले बढाउन सफल भएको छ । त्यस्तै, लक्ष्मी बैंकको नाफा पनि २३ करोडले वृद्धि भएको छ । सिद्धार्थको नाफा १२४ करोड सिद्धार्थ बैंक लिमिटेडले २०७३ असार मसान्तसम्ममा एक अर्ब २४ करोड नाफा कमाएको छ । यो नाफा बैंकले २०७२ असार मसान्तममा कमाएको भन्दा ४७ करोडले बढि हो । बैंकले २०७२ असार मसान्तसम्ममा जम्मा ७७ करोड नाफा कमाएको थियो । बैंकले कमाएको नाफामा १५ करोड रुपैंयाँ राइटब्याकबाट प्राप्त भएको हो । सिद्धार्थको खराब कर्जा एक दशमलब ४१ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी रुपैंयाँ ४९ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ २०६ रुपैंयाँ ९१ पैसा रहेको छ । प्रभुले कमायो ११४ करोड प्रभु बैंकले २०७३ असार मसान्तसम्ममा एक अर्ब १४ करोड नाफा कमाएको छ । बैंकको यो नाफामा एक अर्ब ५ करोड रुपैंयाँ राइटब्याकबाट प्राप्त भएको हो । यो नाफा बैंकले २०७२ असार मसान्तसम्ममा कमाएको भन्दा १३ करोडले बढि हो । बैंकले सो अवधीमा जम्मा एक अर्ब १ करोड रुपैंयाँ नाफा कमाउन सफल भएको थियो । समस्याग्रस्त ग्राण्ड बैंकसँग मर्ज भएको प्रभुको खराब कर्जा ८ दशमलब ३८ प्रतिशत रहेको छ । बैंकले ६० अर्ब निक्षेप संकलन गरेर ४८ अर्ब कर्जा प्रवाह गरेको छ । सनराइजको नाफा १०२ प्रतिशतले वृद्धि त्यस्तै, सनराइज बैंकले आफ्नो नाफामा १०२ प्रतिशतले वृद्धि गरेको छ । बैंकले २०७३ असार मसान्तसम्ममा ९५ लाख रुपैंयाँ नाफा कमाएको हो । यो नाफा बैंकले २०७२ असारमसान्तसम्ममा कमाएको भन्दा ४८ करोड अर्थात १०२ प्रतिशतले बढि हो । सो नाफामा ५५ करोड रुपैंयाँ भने राइटब्याकबाट प्राप्त भएको हो । बैंकले २ दशमलब ९० प्रतिशतमा रहेको खराब कर्जालाई घटाएर एक दशमलब २४ प्रतिशतमा झारेको छ । ३ अर्ब ९७ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १६ करोड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २३ रुपैंयाँ ९८ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १५४ रुपैंयाँ ५६ पैसा रहेको छ । लक्ष्मी बैंकले कमायो ६७ करोड लक्ष्मी बैंकले २०७३ असार मसान्तसम्ममा ६७ करोड ३७ लाख मुनाफा आर्जन गरेको छ । बैंकले कमाएको यो नाफा २०७२ असार मसान्तसम्मको भन्दा २३ करोड ७४ लाखले बढि हो । बैंकले सो अवधीमा ४३ करोड ६३ लाख नाफा आर्जन गरेको थियो । लक्ष्मी बैंकको यो नाफामा १० करोड रुपैैंयाँको हिस्सा राइटब्याकले ओगटेको छ । ३ अर्ब चुक्ता पुँजी भएको लक्ष्मी बैंकको जगेडा कोषमा २ अर्ब ६० करोड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २२ रुपैंयाँ १७ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १८५ रुपैंयाँ ७७ पैसा रहेको छ ।

माइक्रोसफ्टले सुरु गर्‍यो पानीमुनि डाटा सेन्टरको परीक्षण, क्लाउड छाडेर समुन्द्र तिर किन ?

काठमाडौं, १८ साउन। समयको यस्तो क्षण जसमा हामी आफ्ना डेटाहरु जोगाउन क्लाउडतिर हेरिरहँदा माइक्रोसफ्ट भने समुन्द्रको गहिराई हेर्दैछ। कम्पनीले पानीमुनि प्रोटोटाइप डाटा सेन्टरको परीक्षणमा जुटेको छ। यसलाई कम्पनीले अमेरिकाको पश्चिम तटीय सागरको १ किलोमिटर गहिराईमा राख्दैछ। डाटा स्टोर गर्ने लियोना फिलपट नाम लिइएको यो युनिटबाट कुनै पनि डेटा ९० दिनसम्म विश्वको कुनै पनि ठाउँमा जोगाउन सकिन्छ भन्ने प्रमाणित गर्ने उद्देश्य राखिएको छ। विश्वको आधाजति जनसंख्या समुन्द्री पानीको सतह नजिकै बस्ने भएकाले उनीहरुसँग नजिकिन लागेको डेटा सेन्टरले आर्थिक भार कम पार्ने र स्पिड बढाउन सक्ने बताइएको छ।   यसमा थप वातावरणीय फाइदाहरु पनि धेरै छन्। प्राकृतिक करेन्टबाट विद्युत उत्पादन र प्राकृतिक रुपमै कुलिङ समेत गर्न सकिन्छ।   ‘गहिरो सतहमा रहेको पानीले सहजै कुलिङ गराउन सघाउँछ भने नविकरणीय उर्जा पनि उत्पादन हुन्छ र वातावरण सन्तुलन राख्छ,’ परियोजनाको नेतृत्व गरिरहेका नर्म ह्वइटेकरले भने। प्रविधिको ताप डेटा सेन्टरलाई चिसो बनाउनु कुनै पनि आइटी कम्पनीका लागि चुनौतीपूर्ण काम हुने गरेको छ। फेसबुक र गुगलजस्ता कम्पनीले आफ्नो डेटा सेन्टरलाई कम तापक्रम हुने मुलुकमा स्थानान्तरण गर्नुको मुल कारण यही हो। यसबाट उनीहरुको लागत समेत घटिरहेको हुन्छ।   हरेक १८ महिनामा करिब दोब्बर इलेक्ट्रोनिक डेटा उत्पादन भइरहेको छ विश्वभर। अनलाइनमा धेरैभन्दा धेरै इन्टरनेटमा आधारित प्रडक्टहरु थपिँदैछन् जसले डाटा उत्पादन झन तीब्रतर गतिमा बढाएको छ। यी तथ्याङ्कहरु सबै कही न कही स्टोर हुनुपर्छ। र, त्यस्तो ठाउँ चिसो हुनुपर्छ।   त्यसो त समुन्द्र पहिलेदेखि नै डेटाको पूर्वाधार विकासका लागि प्राण नै हो। ९९ प्रतिशतभन्दा धेरै डेटा पानीमुनि रहेका केबुलबाट विश्वव्यापी रुपमा प्रसार हुने गर्छ।   स्याटेलाइटको विकासपछि पनि स्थायित्व र विश्वसनीयताका आधारमा केबुलहरु प्रविधिको पहिलो रोजाई हुने गरेको छ। माइक्रोसफ्टले ५ वर्षभित्र पानीमुनि डेटा सेन्टरहरु पूर्णरुपमा राखेर काम लिन सक्ने अपेक्षा गरेको छ। त्यसपछि त्यसलाई सतहमा ल्याउने र मर्मत तथा सुधार गर्न सकिने छ। कम्पनीले कम्तिमा पनि २० वर्षसम्म एउटा युनिटबाट काम लिन सकिने लक्ष्य राखेको छ। डलिमेल युकेवाट साभार