यस्तो छ एलजी सुपर एचडी टिभी सर्वोत्कृष्ट हुनुको कारण
काठमाडौं, १७ साउन । एलजीको सुपर युएचडी टिभी अरु टिभीको तुलनामा सर्वोत्कृष्ट र फाइदाकारी रहेको दाबी छ । कम्पनीका अनुसार अन्य टिभीको तुलनामा एलजीको सुपर युएचडी टिभीमा एचडीआरसँगै डब्लि भिजन आउने छ । कम्पनीले जनाएअनुसार अन्य टिभीमा साधारण स्पिकर हुने गरेकोमा यसमा उच्च गुणस्तरीय हार्मन र कार्डनद्धारा डिजाइन गरिएको छ । यसमा आपिएस ४ के क्वान्टम डिस्प्ले र अर्बौ रंग देखिने भएकोले तस्विरलाई वास्तविक देखाउने कम्पनीले बताएको छ । अरु टिभी स्मार्ट मात्रै भएको दाबी गर्दै एलजीले म्याजिक रिमोट भएको वेभओएस ३.० भएको जनाएको छ । यो टिभी ३डी समर्पित भएको कम्पनीले बताएको छ ।
किरण सुज र मोर्डन स्लिपर इन्डस्ट्रीको आयोजनामा ‘डिलर मिट’ सम्पन्न
पोखरा, १७ साउन । युनिभर्सल ग्रुप अन्तर्गतको किरण सुज मेनुफेक्चर र मोर्डन स्लिपर इन्डस्ट्री प्रालिको आयोजनामा पोखरामा शनिबार बृहत ‘डिलर मिट’ सम्पन्न भएको छ । उक्त सम्मेलनमा देशभरबाट ६४ वटा अधिकृत विक्रेताहरुको सहभागिता रहेको कम्पनीका प्रमुख बजार व्यवस्थापक गणेश कार्कीले जानकारी दिए । सम्मेलनमा विक्रेताहरुले कम्पनीबाट उत्पादित गोल्डस्टार जुत्ता र हात्तीछाप चप्पल हरेक नेपालीको पहिलो रोजाई बन्न सफल भएको धारणा राखेका थिए । लाइफटाइम एचिभमेन्ट अवार्डबाट माँ भद्रकाली भवानी स्टोर्स काठमाडौंलाई सम्मान गरिएको थियो । त्यसैगरी अन्य बिधावाट उत्कृष्ट हुने डिलरहरुलाई समेत सम्मानीत गरिएको छ । सम्मानित हुनेमा गोल्डस्टार सुजतर्फ पौडेल सुसेन्टर इटहरी, जयअम्वे स्टोर वीरगञ्ज, दिब्य लक्ष्मी स्टोर बुटवल, सुरज इन्पोरियम महेन्द्रनगर, अधिकारी ब्रदर्श बिजनेस प्रालि काठमाडौं, आशीर्वाद इम्पेक्स पोखरा, वनेपा चप्पल पसल बनेपा, आर एन डब्लु स्टोर वनेपा र रञ्जित सु सेन्टर पोखरा उत्कृष्ट बनेका छन् । हात्तीछाप चप्पलतर्फ उत्कृष्ट डिलरहरुमा पौडेल सु सेन्टर इटहरी, गौरीशंकर फेन्सी स्टोर्स सुर्खेत, शुभलक्ष्मी ट्रेड सेन्टर, सुभास रेडिमेड सेन्टर, न्यु सिद्धवावा इन्टरनेश्नल, प्रयाग ट्रेडर्स काठमाडौ, केशव फेन्सी भैरहवा, करिम बुट हाउस लाहान र अधिकारी ब्रदर्स बिजनेस प्रालिलाई सम्मान गरिएको थियो । उक्त कम्पनीले नेपाल सहित दक्षिण एसिया सहित अरबीयन राष्ट्रहरुमा समेत निर्यात गर्ने गरेको छ । सो कम्पनी निर्यात क्षेत्रमा उत्कृष्ट कम्पनी भएकाले नेपाल चेम्बर अफ कमर्सले बिगत ७ बर्षदेखि निरन्तर सर्वाधिक निर्यात गर्ने कम्पनिको रुपमा सम्मान गर्दै आएको छ । यस्तै नेपाल सरकारले सन २०१४ मा निर्याततर्फ उच्च करदाता सम्मानबाट सम्मानित गरेको थियो । किरण सुज मेनुफेक्चर दैनिक ३५ हजार जोर जुत्ता उत्पादन गर्दै आएको छ । त्यस्तै मोडन स्लिपरले दैनिक २५ हजार हात्तीछाप चप्पल उत्पादन गर्दै आएको छ । राजधानी उपत्यकामा प्रत्यक्षरुपमा ३ हजार जनालाई रोजगारी दिने यो कम्पनी राजधानीको सवैभन्दा धेरै रोजगार दिने कम्पनीको रुपमा स्थापित भएको छ ।
बहुमतीय आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान
काठमाडौं, १७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न आह्वान गरेका छन्। सहमतिका लागि तोकिएको समयसीमामा कुनै सहमति हुन नसकेपछि राष्ट्रपति भण्डारीले आज व्यवस्थापिका–संसद् सचिवालयलाई पत्र पठाएर बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न आग्रह गरेका हुन् । नेपालको संविधानको धारा ३०५ को बाधा अड्काउ फुकाउ आदेश तथा संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपति भण्डारीले पत्र पठाउनुभएको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले बताए । राष्ट्रपति भण्डारीले यही साउन १० गते प्रमुख दललाई सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न आग्रह गरेका थिए । उनले दिएको समयसीमा आइतबार सकिएपछि पुनः बहुमतका आधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हुन् । राष्ट्रपतिको पत्र प्राप्त भएपछि संसद् सचिवालयले प्रधानमन्त्री चयनको कार्यतालिका तयार गर्नेछ । सचिवालयले यही बुधबार नयाँ प्रधानमन्त्री चयन हुने गरी प्रक्रिया सुरु गर्न लागेको जनाएको छ । व्यवस्थापिका–संसद्को बैठक आज अपराह्न १५ः०० बजे बोलाइएको छ । आजको बैठकमा पूर्व सांसद हरिराज खेवाको शोक प्रस्ताव पारित गरिने र त्यसपछि राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र वाचन गर्ने कार्यसूची रहेको छ । रासस
भिटोफ अध्यक्षमा सापकोटा
काठमाडौं, १७ साउन । गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ–नेपाल)को अध्यक्षमा कमल सापकोटा निर्वाचित भएका छन् । २० औं गाउँ पर्यटन दिवसका आयोजित भिटोफको सम्मेलनले आगामी दुई वर्षे कार्यकालको सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । भिटोफको प्रथम उपाध्यक्षमा राम घले, द्धितिय उपाध्यक्षमा दिपक दाहाल, महासचिवमा बासुदेव पाण्डे, सचिवमा जस्था पाण्डे, कोषाध्यक्षमा गगनराज न्यौपाने, सह कोषाध्यक्षमा कृष्ण बहादुर सुवेदी निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरि सदस्यहरुमा हरिचन्द्र गैरे, सञ्जिव श्रेष्ठ, कुल प्रसाद सुवेदी, जंग बहादुर लामा र प्रकाश अर्याल पनि निर्विरोध निवाचित भएका छन् । दुई जना मनोनितसदस्य भने निवाचित कार्यसमितीले गर्ने प्रावधान रहेको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले १० वर्षे पर्यटन रणानीतिलाई निरन्तरता दिने बताएका थिए । मन्त्री पोखरेलले केपी ओली नेतृत्वको सरकारले ल्याएको १० वर्षे पर्यटन रणनीतिलाई निरन्तरता दिन नयाँ बन्ने सरकारलाई आग्रह पनि गरेका थिए । १० वर्षमा कम्तीमा २३ लाख पर्यटक नेपाल भित्र्¥याउने रणनीतिका साथ सरकारले पर्यटन रणनीति सार्वजनिक गरेको भन्दै यसलाई कुनै दल र पार्टी विशेषको कार्यक्रमको रुपमा नलिई देशकै हितका लागि आएको कार्यक्रमका रुपमा बुझ्नु पर्ने उनको भनाई थियो ।
जनशक्ति नहुँदा ‘आइसियु’ बनेन, एक करोड बजेट फिर्ता
बागलुङ, १७ साउन । सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा धौलागिरि अञ्चल अस्पताल बागलुङमा आइसियु कक्ष बन्न सकेको छैन । जसका कारण आइसियुका लागि स्वास्थ्य मन्त्रालयबाट आएको बजेट समेत फिर्ता हुने गरेको छ । स्वास्थ्य मन्त्रालयले आइसियुका उपकरण खरिदका लागि आव ०७१/०७२ मा रु एक करोड बजेट विनियोजन गरेको थियो । उक्त बजेट दक्ष जनशक्ति नभएकै कारण फिर्ता भएको अस्पताल विकास समितिले जनाएको छ । समितिका अध्यक्ष टीकाराम सापकोटाका अनुसार आइसियु कक्ष चलाउन न्यूनतम चार विशेषज्ञ चिकित्सकको आवश्यकता पर्छ । तर, अहिले अस्पतालमा विशेषज्ञ चिकित्सक एकजना मात्र हुनुहुन्छ । उपकरण खरिदका क्रममा समेत विशेषज्ञ चिकित्सकको आवश्यकता पर्ने अध्यक्ष सापकोटाको भनाइ छ । स्व हरि खड्का ट्रमा सेन्टरको लागि आएको उक्त बजेटबाट आइसियु कक्ष निर्माण गर्ने योजना अस्पतालले बनाएको छ । विशेषज्ञ चिकित्सकको व्यवस्थापन हुन नसकेमा उक्त बजेट पनि फिर्ता हुने सम्भावना छ । आइसियु चलाउनको लागि एनेस्थोलोजिस्ट, फिजिसियन, अर्थोपेडिक र रेडियोलोजिस्ट चिकित्सक आवश्यक पर्ने अध्यक्ष सापकोटाले बताए। मन्त्रालयले छिट्टै विशेषज्ञ चिकित्सक उपलब्ध गराउने आश्वासन दिएपछि आइसियुका उपकरण खरिदका लागि प्रक्रिया अघि बढेको छ । सरकारले गत वर्ष बागलुङका स्व सभासद् हरि खड्काको स्मृतिमा ट्रमा सेन्टर खोल्ने निर्णय गरेको थियो । ट्रमा सेन्टरका लागि आइसियु अनिवार्य चाहिने हुँदा विशेषज्ञ चिकित्सकको तत्काल व्यवस्था गर्न अस्पतालले मन्त्रालयसँग माग गरेको छ । दरबन्दीमा चिकित्सक आउन नसके अस्पतालले आफ्नै व्यवस्थापनमा भए पनि आइसियु सञ्चालन गर्ने जनाएको छ । अस्पतालका प्रमुख चिकित्सक सागर राजभण्डारीले अञ्चलमै आइसियु सेवा नहुनु दुःखद् रहेको बताए । “आइसियु सेवा दिनसके जटिल समस्याको पनि यही निदान र उपचार हुन्छ” चिकित्सक राजभण्डारीले भने “अस्पतालमा स्रोतसाधन र जनशक्ति व्यवस्थापनको लागि सबैले पहल गर्नुपर्छ ।” रासस
बूढीगण्डकी प्रभावित र लाप्राकी वासिन्दा अनुदान सम्झौताबाट वञ्चित
गोरखा, १७ साउन । जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा प्रत्यक्ष रुपमा प्रभावित हुने गोरखाका १४ गाविसका भूकम्पपीडित लाभग्राहीले निजी आवास निर्माण प्रयोजनका लागि अनुदान सम्झौता गर्न पाएका छैनन् । आयोजना प्रभावित क्षेत्रको घरजग्गाको लालपुर्जा राखेर अनुदान सम्झौता नहुने भएपछि उनीहरु अनुदान सम्झौताबाट वञ्चित हुँदै आएका छन् । सरकारले बूढीगण्डकी आयोजना क्षेत्रअन्तर्गत गोरखा र धादिङ क्षेत्रका घरजग्गाको किनबेचमा रोक लगाएको छ । घ्याल्चोक, दर्वुङ, फुजेल, बोर्लाङ, नाम्जुङ, अश्राङ, बुँकोट, धावा, तान्द्राङ, आरुचनौटे, थुमी, आरुपोखरी, आरुआर्वाङ र मान्वु गाविसस्थित आयोजना प्रभावित क्षेत्रका भूकम्पपीडित अनुदान सम्झौताबाट वञ्चित हुनुपरेको हो । गोरखास्थित पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयका शाखा अधिकृत गुणराज भट्टराईका अनुसार आयोजना क्षेत्रका करिब दुई हजार घरपरिवारसँग अनुदान सम्झौता गर्ने काम बाँकी छ । बूढीगण्डकी प्रभावितले अस्थायी घर बनाउन पाउने निर्णय भएकाले छिट्टै अनुदान सम्झौता गरिने उनको भनाइ छ । बूढीगण्डकी प्रभावितलाई अस्थायी घर बनाउन रु दुई लाख अनुदान उपलब्ध गराउने गरी अनुदान सम्झौताको तयारी गरिएको हो । अनुदान सम्झौता गरी वितरणमा ढिलाइ भएको र रोक्का भएका जग्गाको मुआब्जा वितरण नहुँदा बूढीगण्डकी प्रभावितहरु अन्योलमा छन् । छिट्टै अनुदान वितरणको प्रक्रिया सुरु हुने भएकाले अन्योलता हट्ने प्राधिकरणको विश्वास छ । प्रभावित क्षेत्रका भूकम्पपीडितले भूकम्प प्रतिरोधी घर निर्माण नगरे पनि अनुदान रकम पाउने बताइएको छ । अन्य क्षेत्रका लाभग्राहीले भने सरकारले तोकेको मापदण्डमा टेकेर घर बनाउनुपर्ने हुन्छ । बूढीगण्डकी सरोकार समितिका अध्यक्ष हरेराम ढकालले विज्ञप्ति जारी गर्दै छिटो मुआब्जा वितरण गर्नुपर्ने बताएका छन् । जग्गा रोक्का गर्ने, मुआब्जा नबाँड्ने अनि अनुदान दिन ढिलाइ गर्ने हो भने आन्दोलन गर्नुको विकल्प नभएको ढकालको भनाइ छ । “बूढीगण्डकी प्रभावितलाई घर बनाउन एकै पटकमा रु दुई लाख दिनुपर्छ’ ढकालले भने । यस्तै भूकम्पको केन्द्रबिन्दु बारपाकको छिमेकी गाविस लाप्राकवासीले पनि अनुदान सम्झौता गर्न पाएका छैनन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले घर निर्माण गरिदिने सम्झौता भए पनि काम सुरु नहुँदा लाप्राकीहरु अन्योलमा छन् । भूकम्पपछि गाउँबाट विस्थापित भएका लाप्राकीहरु गुप्सीपाखाको अस्थायी टहरोमा बसोबास गर्दै आएका छन् । गुप्सीपाखाको ६१७ टहरोमा लाप्राकी बसोबास गर्छन् । नयाँ घरको पर्खाइमा भए पनि पुनःनिर्माणको काम सुरु नहुँदा अन्योलता बढेको स्थानीयवासी मारसिङ गुरुङको भनाइ छ । विसं २०७२ वैशाख १२ मा गएको भूकम्पले जिल्लाका करिब ७० हजार घरमा क्षति पुगेको भए पनि तथ्याङ्क सङ्कलनपछि ५८ हजार वटा घर पुनःनिर्माणलाई अनुदान दिने निर्णय भएअनुसार अहिले धमाधम अनुदान सम्झौता भइरहेको छ । जिल्लाका ३० गाविसका पीडितको बैंक खातामा रु ५० हजारका दरले पहिलो किस्ताको रकम पठाइसकेको जिविसका योजना अधिकृत सतिश भट्टराईले बताए । बैंक खातामा आएको अनुदान रकम झिक्न दुर्गम भेगका लाभग्राहीलाई भने सकस भएको छ । स्थानीय विकास अधिकारी नारायण आचार्यले बर्खाका बेला घर बनाउन नसकिने भएकाले खाताको रकम नझिक्न आग्रह गरेका छन् । शाखारहित बैंकलाई अनुदान वितरण गर्ने प्रयोजनका लागि गाउँ–गाउँमा पठाउने उनको भनाइ छ । दुर्गम भेग बैंकको पहुँचमा नहुँदा भूकम्पपीडितहरु तीन दिन हिँडेर सदरमुकामस्थित बैंकमा झरेका छन् । जिल्लाभरका ५८ हजार भूकम्पपीडित लाभग्राहीमध्ये ४८ हजारसँग अनुदान सम्झौता सम्पन्न भइसकेको छ । अन्य लाभग्राहीसँग पनि छिट्टै अनुदान सम्झौता गरी खातामा रकम पठाउने तयारी भएको आचार्यले बताए । अनुदान पाउन योग्य भए पनि छुटेको भन्दै १५ हजार जनाले गुनासो गरेका छन् । रासस
लक्ष्मी क्यापिटल मार्केटले २५ प्रतिशत नगद लाभांश दिने
काठमाडौं, १७ साउन । लक्ष्मी क्यापिटल मार्केटले लक्ष्मी भ्यालु फण्ड १ मा लगानी गर्ने लगानीकर्तालाई २५ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त निर्णय आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । लक्ष्मी क्यापिटलले जारी गरेको ५ करोड कित्ता लक्ष्मी भ्यालु फण्ड १ नेप्सेमा सूचिकृत छ । प्रतिकित्ता १० रुपैयाँ अंकित लक्ष्मी भ्यालु फण्ड हाल प्रतिकित्ता १६ रुपैयाँमा कारोबार हुँदै आएको छ ।
गत वर्ष झण्डै ७ रुपैयाँले महंगियो डलर, ५ वर्षमा नेपाली मुद्रा २५ रुपैयाँभन्दा बढीले अवमूल्यन
काठमाडौं, १७ साउन । विगत ५ वर्षमा नेपाली मुद्रा अमेरिकी डलरसँगको तुलनामा २५ रुपैयाभन्दा बढीले अवमूल्यन भएको छ । आर्थिक वर्ष २०६८/६९ देखि गत आर्थिक वर्ष २०७२/७३ सम्ममा नेपाली मुद्राको तुलनामा अमेरिकी डलर २५ रुपैयाँ १९ पैसाले महंगिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले नै यस्तो देखाएको हो । विश्वभरी नै अमेरिकी डलरको माग र संचिति बढेको, पेट्रोलियम पदार्थको मूल्य निकै कम भएको, विश्व सेयर बजार कमजोर बनेको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बनेका कारण नेपाली मुद्राको अवमूल्यन भएको हो । नेपालले भारतीय मुद्रा (भारु) १ रुपैयाँ बराबर नेपाली मुद्रा १ रुपैयाँ ६० पैसा हुने गरी विनिमय दर निश्चित (पेग) गरेको छ । यसैकारण अमेरिकी डलरसँग भारतीय मुद्रा कमजोर हुदा त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पर्छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०६८/६९ मा अमेरिकी डलरको औसत बार्षिक विनिमय दर १ डलर बराबर ८१ रुपैयाँ २ पैसा थियो । यस्तै आर्थिक वर्ष २०६९/७० मा अमेरिकी डलरको औसत विनिमय दर झन्डै ७ रुपैयाँले बढेर ८७ रुपैयाँ ९६ पैसा पुगेको थियो । आर्थिक वर्ष २०७०/७१ मा भने डलरको विनिमय दर सामान्य रुपमा मात्रै बढेको छ । सो आर्थिक वर्षमा अमेरिकी डलरको बार्षिक औसत विनिमयदर १ डलर बराबर ९८ रुपैयाँ २५ पैसा पुगेको थियो । आर्थिक बर्ष २०७१/७२ मा अमेरिकी डलरको विनिमय दर सामान्य रुपमा मात्रै बढेको पाइएको छ । सो आर्थिक बर्षमा अमेरिकी डलरको बार्षिक औसत विनिमयदर १ अमेरिकी डलर बराबर ९९ रुपैयाँ ४९ पैसा थियो । सो आर्थिक वर्षमा अमेरिकी डलर नेपाली मुद्राभन्दा १ रुपैयाँ २४ पैसाले मात्रै महंगिएको थियो । गत आर्थिक वर्ष २०७२/७३ मा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको मूल्य निकै महंगिएको छ । गत आर्थिक वर्षको ११ महिना अर्थात असार मसान्तसम्ममा अमेरिकी डलरको औसत विनिमय दर १ अमेरिकी डलर बराबर १०६ रुपैयाँ २१ पैसा छ । यो ११ महिनाको अवधिमा अमेरिकी डलरको औसत विनिमय दर ६ रुपैयाँ ७२ पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार अमेरिकी डलर सवैभन्दा महंगो गत आर्थिक बर्षको मार्च महिनामा भएको थियो । सो महिनामा नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलर १०८ रुपैयाँ ५२ पैसामा किनेको थियो भने १०९ रुपैयाँ १२ पैसामा विक्री गरेको थियो । गत बर्षको मार्च महिनाको औसत विनिमय दर १ अमेरिकी डलर बराबर १०८ रुपैयाँ ८२ पैसा थियो ।