विकासन्युज

महालक्ष्मी विकास बैंकको नयाँ शाखा बानेश्वरमा, डेपुटी गभर्नरद्धारा उद्धघाटन

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो नयाँ शाखा मध्यबानेश्वर स्थित बानेश्वरमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन थप शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता गरेका छन् । बैंकले हाल ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ रहको छ । हालसम्म बैंकले करिब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

एनएमबि बैंकको एक करोड १४ लाख कित्ता एफपीओ नेप्सेमा सूचिकृत

काठमाडौं । एनएमबि बैंक लिमिटेडको एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ नेप्सेमा सुचिकृत भएको छ । बुधबार मात्रै बैंकको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । सो दिन बैंकको सेयर प्रतिकित्ता ३१९ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।

बैंकले दिने अटोलोन ५० प्रतिशत घट्यो, अब के होला अटो व्यवसाय ?

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव (क्रेडिट क्रन्च) भएपछि यसको असर सवारीसाधन कर्जा (अटोलोन) मा परेको छ । क्रेडिट क्रन्च भएपछि पछिल्ला वर्ष अटोमा बैंकको लगानी घटेको छ । गत असारसम्म बैंक तथा वित्तीय संस्थाको सवारी क्षेत्रमा हुने लगानी ५० प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३९ अर्ब २४ करोड रुपैयाँ सवारीसाधनमा लगानी भएको थियो । गत आर्थिक वर्षमा घटेर २१ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको छ । गत वर्ष १४.५ प्रतिशतले मात्र अटोलोन वृद्धि भएको छ । अघिल्लो वर्ष सवारीसाधन कर्जा ३५.५ प्रतिशत वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले अटो लोनलाई सुरक्षित र बढी नाफा हुने क्षेत्रका रुपमा लिने गरेका छन् । व्यवसायिक प्रयोजनका लागि सवारीसाधनमा १८ अर्ब र व्यक्तिगत प्रयोजनका लागि ३ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । हालसम्म १ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।बैंकिङ प्रणालीमा क्रेडिट क्रन्च भएपछि पछिल्लो २ वर्षमा बैंकले गाडी खरिदमा दिने कर्जा घट्दै गएकाले यो वर्ष पनि यो व्यवसायका लागि शुभ संकेत देखिएको छैन् । अटो लोन खुम्चिदै गएपनि नेपाली बजारमा नयाँ कम्पनीको प्रवेश भएको छ ।  मंगलबार मात्रै वेलायतमा बनेको एमजी मोटर्सको नयाँ गाडी सार्वजनिक गरिएको छ । नेपालमा टाटा, हुण्डाइ, मारुती सुजिकी, डाट्सन, होण्डा, टोयटा, निसान, मित्सुविसी, इसीजी, किया, सेभरले, स्कोडा र भग्वागसनलगायत ब्राण्डका गाडी बढी बिक्री हुने गरेका छन् । केन्द्रीय बैंकले निजी सवारी साधन खरिद गर्दा मूल्यको ५० प्रतिशत मात्र ऋण दिन पाउने व्यवस्था गरेको छ । राज्यलाई बढी कर तिर्ने सवारी साधन क्षेत्रलाई राष्ट्र बैंकले अनुत्पादक भनेको छ । ९० प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाले लगानी गर्दै आएकोमा त्यसलाई घटाएर ५० प्रतिशतमात्र गर्न पाउने व्यवस्था गरेको छ ।

दैनिक छालाको केयरमा ध्यान दिए मेकअपको हानिकारक प्रभावबाट बच्न सकिन्छ

फुरदिकी शेर्पा, ब्युटीसीयन तथा मेकअप आर्टिस्ट काठमाडौं। आजको समयमा आएर सुन्दर देखिनु मानिसहरुको एउटा चाहना भएको छ। सुन्दरता बढाउनको लागि मेकअप गर्नु सामान्य जस्तै भइसक्यो। शायद अब आफ्नो अनुहारमा मेकअप नगर्ने मान्छे बिरलै भेटिछन्। मानिसहरु मेकअप त गर्छन् तर आफ्नो छालालाई मेकअपले कस्तो असर गरिरहेको छ भन्ने कुरा त्यती वास्ता गर्दैनन। यसो गर्नाले छालामा निकै ठूलो समस्या देखिन सक्छ । तर, छालाको सुरक्षामा ध्यान दिएर मेकअप गर्ने हो भने यस्तो खतराबाट जोगिन सक्नुहुन्छ । दैनिक छालाको केयरमा केही टिप्स अपनाए मेकअपको हानिकारक प्रभावबाट छालालाई जोगाउन सक्नुहुन्छ। स्किनको प्रकार चिनेर प्रडक्ट प्रयोग गर्ने हामीले हाम्रो आफ्नो स्किन टाईपस हरु छुटाएर त्यही अनुरुप स्किन गर्यौ भने राम्रो हुन्छ। छाला अनुसारको प्रोडक्ट प्रयोग नगर्दा छालालाई नकरात्मक असर पर्न सक्छ त्यसैले सबैभन्दा पहिले आफ्नो छालाको प्रकार चिन्न जरुरी छ। सामान्य,चिल्लो, ड्राई , सेन्सिटिभ, हाईड्रेटेड, डिहाईट्रेटेड, मेट्युर स्किन, कम्बिनेसन स्किन यि सात वटा स्किनको प्रकार चिनेर आफ्नो स्किन अनुसारको प्रडक्ट प्रयोग गरे स्किन एकदम राम्रो हुन जान्छ। मुख जहिले पनि सफा पानीले धुने हाम्रो छालालाई स्वस्थ राख्नलाई यो अर्को महत्वोपूर्ण कुरा हो। मेकअप गर्नुभन्दा अगाडी जहिले पनि हामीले राम्रोसँग सफा पानीले मुख धुन पर्छ। छालामा भएको सबै फोहोर सफा गरेर मात्र किमहरु प्रयोग गर्नुपर्छ। चिल्लो छाला भएको ब्यक्तीहरुले फेसवासको प्रयोग गर्ने र ड्राइ स्किन छ भने क्लिन्जिङ र सामान्य र सुक्खा छाला भएको ब्यक्तीहरुले सफा पानीले मात्रा धुए हुन्छ। सबै प्रकारको छालाले फेस वास प्रयोग गर्न सक्छन्। सस्तो पायो भन्दैमा जुन पनि मेकअप प्रडक्ट प्रयोग नगर्ने हामीले सस्तो पायो भन्दैमा जे पनि किन्नु हुँदैन। आफ्नो छालालाई उक्त प्रडक्टले असर गर्छ कि गर्दैन भन्ने कुरामा पनि हामीले एकदम ध्यान दिन जरुरी हुन्छ। सस्तो प्रडक्टले एक दुई दिन राम्रो गरे पनि लामो समयमा यसले छालालाई नराम्रो असर गर्नेसक्छ। कति प्रडक्टहरुमा त अझै कहिले बनेको भनेर पनि लेखिएको हुँदैन। हेर्दा सक्कली जस्तै देखिए पनि सस्तो मेकअप प्रडक्ट बन्न प्रयोग भेएको केमिकलनै नराम्रो हुनेगर्छ। तर यसको मतल सबै सस्तो प्रडक्ट नराम्रो हुन्छ र सबै महङो राम्रो हुन्छ भन्ने होईन। छालालाई सुहाउँदो प्रडक्ट चिन्न सके सस्तो र महँगोमा त्यती फरक पर्न जाँदैन जस्तो लाग्छ मलाई। सनब्लक क्रिमको प्रयोग गर्ने जाडो होस् या गर्मी, घरभित्र रहनुहोस् या बाहिर जानुपर्ने होस्, तपाईंलाई सनब्लक अत्यावश्यक हुन्छ । कतिपयको बुझाइ छ, बाहिर घाममा ननिस्किने भएपछि कोठाभित्र त सूर्यको किरणले कुनै असर गर्दैन । तर, यो बुझाइ गलत हो । कोठाभित्र पनि रिफ्लेक्सन या विभिन्न माध्यमबाट सूर्यको किरण छिरेको हुन्छ । त्यसैले छालाको प्रकृति र मौसमअनुसार सनब्लक क्रिम लगाउनुपर्छ । मोस्टराईजरको प्रयोग गर्ने दिनहुँ मेकअप गर्नुहुन्छ भने तपाईंले छालालाई मोस्चराइज राख्न आवश्यक पर्छ । दिनका लागि मोस्चराइजर डे प्रयोग गर्दा राम्रो हुन्छ।. मोस्चराइज भएको छालामा मेकअप पनि नेचुरल देखिन्छ । छालामा फाउन्डेसनले पार्न सक्ने असरलाई पनि मोस्चराइजरले जोगाउँछ । राम्रो एसपिएफ (सन प्रोटेक्सन फ्याक्टर) क्रिम लगाउनुहोला। यो क्रिमले घामको हानिकारक किरणबाट छालालाई जोगाउँछ। आईक्रिमको प्रयोग गर्ने आँखामुनिको छाला निकै संवेदनशील र पातलो हुन्छ । यसकारण यहाँ बढी हाइड्रेसन आवश्यक पर्छ । यसकारण मेकअप गर्नुअघि आई क्रिम लगाउने गर्नुहोस् । आई क्रिम बजारमा सर्बत्र उपलब्ध हुन्छ । मेकअप जहिले पनि राम्रोसँग धुने सुत्नुअघि जहिल्यै मेकअप हटाउन अल्छी नगर्नुहोला । किनभने  जब लामो समयसम्म छालामै मेकअप रहन्छ, छालामा मेकअपको असर त्यो अवस्थामा बढी पर्नजान्छ। । पुरानो मेकअप सफा नगरी त्यहीँमाथि नयाँ मेकअप थप्नु झन् हानिकारक हुन्छ । बेलुका हेभी मकेअप गर्नुभएको छ भने क्लिन्जिङ-टोनिङ-मोस्टराईजिङ गर्नुहोस्। यसो गर्दा मकेअप क्लिन हुन को साथै स्किन पनि राम्रो हुन्छ। हामीले मकेअप गर्नुभन्दा अगाडी पनि येहि प्रकृया  गरे स्किन भने राम्रो हुन्छ। नाईट क्रिमको प्रयोग गर्ने सूर्यको हानिकारक किरणका कारण छालामा परेको नोक्सानबाट बचाउन छालालाई नाइट क्रिमको आवश्यक पर्छ । नाइट क्रिमले मेकअपको हानिकारक प्रभावबाट पनि छालालाई सुरक्षित राख्छ । नाइटका लागि केही आयली मोस्चराइजर हुन्छ । आँखामुनि डार्क सर्कल छ भने आई क्रिम मोस्चराइजर पाइन्छ ।

युनिग्लोब कलेजको ग्राजुयशन कार्यक्रम सम्पन्न

काठमाडौं। नयाँ बानेश्वरमा अबस्थित पोखरा विश्विद्यालयद्धारा सम्बन्धन प्राप्त युनिग्लोव कलेजले आफ्नो एम.विं.ए फाइनान्स तर्फको १२औं र १३ औं व्याचका विद्यार्थीहरुको लागि ग्राजुयशन कार्यक्रम होटल ¥याडिशन, लाजिम्पाटमा सम्पन्न गरेको छ । कार्यक्रममा गेष्ट अफ अनरका रुपमा नेविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले किनोट स्पिच दिनुभएको थियो। कार्यक्रममा अनिल केशरी शाहले विद्यार्थीहरुलाई सहि मार्ग चित्रण कोरी आफ्नो बाटोमा निरन्तर रुपमा लागि परे अवश्य आफ्नो पहिचान बनाउन सकिन्छ भन्ने कुरामा जोड दिनु भयो ।कार्यक्रममा ग्राजुयशन भाषण सोहीकलेजका शैक्षिक निर्देशक प्रा.डा. राधेश्याम प्रधानद्धारा दिइएको थियो । उक्त ग्राजुयशन कार्यक्रममा १२० जना एम ए विं।ए। फाइनान्सका विद्यार्थीहरु ग्राजुयट भएका थिए । कार्यक्रममा ४० जनाभन्दा बढी विषयगत प्राध्यापकहरु उपस्थितिका साथै कार्यक्रमको सभापतित्व त्यस कलेजका अध्यक्ष डा.खगेन्द्र ओझाले गरेका थिए । कार्यक्रममा विभिन्न विधामा पुरस्कृत गरिएको थियो । उक्त कार्यक्रममा १२ औं व्याचकापोखरा विश्वविद्यालयले लिएको परीक्षामाउच्चतमअंकप्राप्त गर्ने मोधावी छात्र श्री सुदिप घिमिरेलाई पुरस्कार प्रदान गरिएको थियो भने उत्कृष्ट शोधपत्रतर्फको विधामा सुश्री कृतीथापा मगरले पुरस्कार हात पारेकी थिइन । त्यसैगरी कार्यक्रमा त्यस क्याम्पसका प्राचार्य डा.नरबहादुर विष्टले विद्यार्थीहरुलाई बजारको भिडमा आफ्नो क्षमता र कलालाई मध्यनजर गरि उत्कृष्टताको बाटोमा सधै अग्रशर रहि राष्ट्र निर्माणमा आफ्नो अग्रणी भुमिका निर्वाह गर्नका लागि प्रोत्साहन गरेका थिए। उक्त कार्यक्रमका सभापती डा. खगेन्द्र ओझाले व्यवस्थापन शिक्षामा युनिग्लोव कलेजले खेलेको भुमिकाबारे प्रकाश पार्दै २१औं शताब्दीमा विद्यार्थीमा प्रयोगात्मक शिक्षाको जोड दिदै व्यत्तित्व निर्माणमा समय परिस्थिती अनुरुप आफुले आफुलाई समयकाृ माग अनुसार बदल्दै लैजानु पर्ने र साथसाथै आफ्नो भुमिका र दायित्वप्रति सधै सजक रही देशविकासमा टेवा पु¥याउन सम्बन्धित सबैलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा शैक्षिक निर्देशक प्रा.डा. राधेश्याम प्रधानले सधै सत्यको बाटमा हिँडी आफुले अध्ययन गरेको विधाले सामाजिक, आर्थिक तथा वित्तिय क्षेत्रमा उल्लेखनिय योगदान दिइ सधै स्वभिमान पुर्णतरिकाले राष्ट्रको लागि सेवादिन अनुरोध गरेका थिए।

५० पैसाको बिजुलीले १ किलोमिटर गुड्ने स्कुटर

काठमाडाैं । ‘मेड इन चाईना आज छ भोली छैन’, भन्ने उखान नेपाली बजारमा चर्चित छ । तर पनि नेपालीको भान्छादेखि अफिसम्म चिनियाँ समानहरुकै बिगबिगी छ । त्यति मात्रै होइन पछिल्लो समय मोटर बजारमा पनि चिनियाँ उत्पादनहरुको प्रभव बढिरहेको छ । संसारभर चिनियाँ प्रविधीले आफ्नो प्रभाव बढाउँदै लगिरहेका बेला नेपाली बजार पनि त्यसबाट टाढा रहने कुरै भएन् । चिनियाँ उत्पादन कमसल मात्रै छैनन्, न्युन लागतसँगै किफायती पनि छन भन्ने प्रमाण हो विद्युतिय स्कुटर । चीनको प्रसिद्ध मोटर कम्पनी एनआईयुले निर्माण गरेको विद्युतीय स्कुटरले प्रति किलोमिटर ५० पैसा मात्रै इन्धन खपत गर्छ । अर्थात ५० पैसा बराबरको विद्युतले चार्ज गर्दा एक किलोमिटर माइलेज दिन्छ । चिनीयाँ कम्पनी एनआईयुले उत्पादन गरेको विद्युतीय स्कुटर नेपालमा इको इन्फिनिटी प्राइभेट लिमिटेडले बजारीकरण गरिरहेको छ । यी स्कुटरमा २ वर्षसम्मको मर्मत खर्च नलाग्ने सुविधा पनि उपलब्ध छ । स्कुटरको महंगो मूल्य, आकाशिदो पेट्रोलको भाउ थेग्न नसक्ने, सर्भिस शुल्कले हैरान भएका स्कुटर चालकको लागि यो खुसीको खबर हुन सक्छ । यो स्कुटरको मोबाइल एप्स पनि छ । जसले बिग्रिएको बेला स्कुटर बनाउन जानकारी पनि दिने छ । पहिलो चरणमा २ वटा मोडलका मात्रै विद्युतीय स्कुटर भित्रीएका छन् । एन सिरिजको मूल्य २ लाख ४९ हजार रुपैंयाँ र एम सिरिजको मूल्य २ लाख २९ हजार रुपैयाँ तोकिएको इको इन्फिनिटीले जनाएको छ । ‘४० रुपैया बराबरको चार्ज गर्दा ८० किलोमिटर गुडछ । ब्याट्री चार्ज गर्न ३ घन्टा देखी ४ घन्टासम्म लाग्छ ।’, इको इन्फिनीटीका सिनियर मार्केटिङ मेनेजर राकेश प्रधानले भने । २ वर्षसम्मका लागि कम्पनीले वारेन्टी दिएर बिक्रि गरिरहेको छ । पेट्रोलबाट सञ्चाल हुने बाइक र स्कुटर भन्दा विद्युतीय बाइक र स्कुटरमा भन्सार शुल्क कम हुने भएकाले मूल्य अन्यको भन्दा सस्तो हुने प्रधान बताउँछन् । उनका अनुसार विद्युतीय सवारी साधनमा २५ प्रतिशत मात्रै सरकारले भन्सार शुल्क उठाउने गरेको छ । १ वर्ष परिक्षण गरेर मात्रै ल्याएकाले समस्या नभएको उनले बताए । नेपालमा विद्युतीय सवारी नेपालमा विद्युतीय सवारी साधनको प्रयोग सन् १९९३ देखि हुन थालेको हो । उपत्यकामा सञ्चालित बिक्रम टेम्पोले प्रदूषण बढाएपछि विकल्पका रुपमा अमेरिकी सहयोग नियोगको सहयोगमा ७ वटा ब्याट्रीबाट सञ्चालन हुने सफा टेम्पो सञ्चालनमा ल्याइएको थियो । त्यसको एक वर्षपछि थप ८ वटा सफा टेम्पो ल्याइयो । अहिले उपत्यकामा ७०० विद्युतीय टेम्पो र त्यसका लागि ३१ वटा चार्जिङ्ग स्टेशन छन् । एक स्टेशनमा दैनिक २० देखि ३० वटा टेम्पोको ब्याट्री रिचार्ज गर्न मिल्छ । तर, पाँच वर्षयता भने विद्युतीय टेम्पोको नयाँ दर्तामा रोक लगाइएको छ । भारतले सन् २०३० सम्म तेलबाट चल्ने सवारीसाधनहरुको बिकल्पका रुपमा इलेक्टोनिक सवारी साधन सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

लालपूर्जा नभएपछि धादिङका चेपाङले घर बनाउन पाएनन्

काठमाडौं । गाउँबासी सबैको आवास पुनःनिर्माण लाभग्राही सूचीमा नाम भएर पनि घर बनाउन नपाएपछि बेनिघाट रोराङ गाउँपालिका–२ पार्लाक, भैँसे र बाङकूर्तिका चेपाङ समुदाय आक्रोशित भएका छन् । भूकम्पले ध्वस्त भएको बस्तीमा पुनःनिर्माण प्राधिकरणबाट आएका प्राविधिक टोलीले घरको सर्वेक्षण गरेर गएपछि अनुदान सम्झौता भए पनि जग्गाको लालपूर्जा नहुँदा उनीहरूले घर बनाउन नपाएको पूर्णबहादुर चेपाङले बताए । आवास पुनःनिर्माण सूचीमा नाम भएर पनि घर निर्माण गर्न सम्झौता रोकिएपछि धेरै पटक तत्कालीन गाविस÷वडा कार्यालय र गाउँपालिका धाएको जीतबहादुर चेपाङले बताए । पूर्णबहादुर चेपाङ मात्र होइन हस्तबहादुर चेपाङ, सुकरा चेपाङ, सुकरामबहादुर चेपाङ, सोमसिं चेपाङ, चन्द्रबहादुर चेपाङ, दीपलाल चेपाङ, सोमबहादुर चेपाङ, पार्लाकका शुकराम चेपाङ, लालबहादुर चेपाङ, दीलबहादुर चेपाङ, वीरबहादुर चेपाङ, शेरबहादुर चेपाङ, विक्रम चेपाङ र आइतसिं चेपाङ, जगतबहादुर चेपाङ र रुपबहादुर चेपाङ, धनबहादुर चेपाङको नाम पुनःनिर्माणको सूचीमा रहेको छ तर उनीहरूले अनुदानको रकम पाउन नसक्दा अन्योलमा परेका छन् । गाउँभरिका कसैको पनि लालपूर्जा छैन । पार्लाक र बाङकुर्ती गाउँका विसं ०३२ मा जग्गा नापी हुँदा बागमती अञ्चल, धादिङ जिल्ला लोथर कान्द्राङ पञ्चायत वडा नं ४ को ठेगानामा नापी भएको थियो । जग्गाको नापी छैन । जग्गाको पूर्जा छैन । उठिबास लाउँछ कि सरकारले । हामीलाई धादिङ चाहिन्छ । चितवन जाँदैनौँ, रुपबहादुर चेपाङले बताउँदै गर्दा चेपाङ समुदाय आक्रोशित भएका थिए । धादिङ जिल्लाको तर्फबाट नापी भएको जग्गापछि चितवनतर्फ सो गाउँ राखिएपछि चितवनमा नापीको श्रेस्ता गएकाले धादिङबाट केही गर्न नसकिएको वडाध्यक्ष टंकबहादुर थापाले बताउनुभयो । गाउँपछि धादिङतर्फ परेपछि चितवनमा भएको श्रेस्ता धादिङ आएको छैन । चेपाङ समुदाय खानका लागि सङ्घर्ष गरिरहनु परेकाले पहल गरेनन् । अहिलेसम्म बनेका सरकारले उनीहरूको गुनासो सुन्ने फुर्सद नै निकालेनन् । हालसम्म पनि भूमिकर नतिरेकाले उनीहरूले अहिले आफ्नो नाममा जग्गा ल्याएर घर बनाउन नसक्ने अवस्था भएकाले गाउँबासीको समस्या समाधान गर्न पहल गर्नुपर्ने वडाध्यक्ष थापाको भनाइ छ । रासस

प्रभु बैंकको सीओओमा थकाली र सीसीओमा लम्साल नियुक्त

काठमाडौ। प्रभु बैंक लिमिटेडको उच्च व्यवस्थापनमा दुईजना युवा बैकर थपिएका छन् । बैंकको प्रमुख सञ्चालन अधिकृत (सीओओ)मा दिनेश थकाली र चिफ क्रेडिट अफिसर (सीसीओ) मा निरज लम्साल नियुक्त भएका हुन् । सीओओ थकालीले भदौ १ गतेदेखि कार्यभार सम्हालेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । उनका अनुसार सीसीओ लम्सालले भदौ ४ गतेदेखि कार्यभार सम्हालेका हुन् । थकाली यसअघि सांग्रिला डेभलपमेन्ट बैंकको डेपुटी सीइओ थिए । ३२ वर्षको उमेरमै तत्कालीन सांग्रिला डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका दिनेश थकाली बागेश्वरी र सांग्रिला गाभिएपछि भने डेपुटी सीइओको भूमिकामा थिए । थकाली नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका पूर्वमहासचिव समेत हुन् । उनले लण्डन स्कूल अफ इकोनोमिक्स, लण्डन, विश्व बैंक, वासिङ्गटन, हिडा, जापान, एआइटी, थाइलैण्ड, फिच्ट लर्निङ्ग, सिंगापुर लगायतका प्रतिष्ठित संस्थाहरुबाट बैंकिङ्ग तथा व्यवस्थापन सम्बन्धि विभिन्न विद्यामा अध्ययन तथा तालिम लिएका छन् । त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकको अध्ययन पूरा गरेका थकालीले सांग्रिलाबाट म्यानेजमेण्ट ट्रेनीको रुपमा बैकिङ करियर शुरु गरेका थिए । त्यसैगरी, चिफ क्रेडिट अफिसरमा नियुक्त भएका लम्साल यसअघि नेपाल बंगलादेश (एनबी) बैंकको सिनियर म्यानेजर तथा कर्पोरेट अफिसको ब्राञ्च म्यानेजर थिए । लम्सालसँग १९ वर्षसम्म बैंकमा काम गरेको अनुभव छ । पछिल्लो अढाई वर्ष उनले एनबिमा सिनियर म्यानेजरको रुपमा काम गरेका थिए । त्रिभुवन विश्व विद्यालयबाट एमबिएसम्मको अध्ययन पूरा गरेका लम्साल विद्यार्थी जिबनकालमै सन् १९९९ मा एनबी बैंकमा म्यानेजमेन्ट ट्रेनीको रुपमा काम गरेका थिए । सीइओ अशोक शेरचनले दुई जुझारु युवा बैंकरको आगमनले बैंकलाई नयाँ उचाइमा पुर्याउन ठूलो मद्दत पुग्ने बताए ।