नेपाल बैक प्युठान शाखा लुट्ने प्रयास, स्पे्रमार्फत चौकीदार बेहोस
प्युठान, १८ भदौ । नेपाल बैंक शाखा कार्यालय प्युठान लुट्ने प्रयास शुक्रबारअसफल भएको छ । साँझ बैंकका चौकीदारलाई स्पे्रमार्फत बेहोस बनाई बैंक लुट्ने प्रयास असफल भएको हो । लुटेरा कार्यालय समय सकिएपछि बैंकमा आफ्नो मोबाइल छुटेको बहाना बनाउँदै बैंकमा छिरेको बताइएको छ । अहिले लुटेराको खोजी जारी राखिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । घटनास्थलमा अहिले सहायक प्रजिअ भूपबहादुर पुनसहित जिप्रकाबाट बाक्लो मात्रामा सुरक्षाकर्मी आएका छन् । लुटेराले चौकीदारलाई बेहोस बनाउन नसकेपछि तत्काल भागेको बताइएको छ । लुटेराले साथमा लिएको अन्दाजी आठ थान बैंकको नगद राख्ने ठाउँ काट्ने हेक्जाब्लेड, चार थान हातमा लगाइने पञ्जा लगायत बैंक लुट्नका लागि प्रयोग हुने सामग्रीसहितको झोला बैंकमै छाडेका छन् । चौकीदारले आफूमाथि एक्कासि आक्रमण भएकाले लुटेराको पहिचान गर्न नसकिएको बताएका छन् । नेपाल बैंक प्युठान शाखाका प्रमुख विभागको तालिमका लागि भन्दै जिल्ला बाहिर रहेका छन् । त्यस्तै निमित्त कार्यालय प्रमुख पनि कार्यालय समयपछि घर गएका समयमा बैंक लुट्ने प्रयास भएको हो । बैंक लुट्नका लागि प्रयोग भएका सामानले गर्दा शृङ्खलाबद्ध तरिकाले बैंक लुट्न खोजिएको जस्तो देखिएको छ । बैंक लुट्ने प्रयास गर्नेमा कम्तीमा चारदेखि १० जनासम्मको संलग्न रहेको हुन सक्ने अनुमान गरिएको छ । रासस
२ लाख ६२ हजार भूकम्प पीडितले पाए ५० हजार
काठमाडौं, १९ भदौ । २ लाख ६२ हजार ४ सय ८२ परिवार भूकम्क पीडितले घर बनाउन ५० हजार रुपैंयाँ प्राप्त गरेका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार भदौ १७ गते साँँझसम्ममा ती भूकम्प पीडितको बैंक खातामा पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ उपलब्ध गराइएको हो । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय केन्द्रिय आयोजना कार्यान्वयन इकाइले हालसम्म ४ लाख ९ हजार ५ सय ६४ भूकम्प पीडित परिवारसँग अनुदान सम्झौता गरिसकेको छ । अनुदान सम्झौता भएको एक साता भित्रै पीडितको बैंक खातामा पहिलो किस्ताको रकम जम्मा गर्ने व्यवस्था छ ।भूकम्प पीडितलाई सरकारले दुई लाख रकम निजी आवास निर्माणका लागि दिने भनेको छ । सो रकम तीन किस्तामा दिने भनेको छ । पहिलो किस्तामा ५० हजार, दोश्रोमा ८० हजार र तेश्रोमा ७० हजार दिने कार्यबिधी रहेको छ । पुष्पकमल दाहाल प्रधानमन्त्री बनेपछि ४५ दिन भित्र भूकम्प पीडितलाई पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ दिने निर्णय गरेका थिए ।
नेपालमा उडान प्रतिस्पर्धा गर्दै विदेशी वायुसेवा, नियमित उडानमा २९ वायुसेवा
काठमाडौं १८, भदौ । नेपालमा अन्तरराष्ट्रिय वायुसेवाको उडान प्रतिस्पर्धा बढेको छ । नेपालमा उडान गर्ने विदेशी वायुसेवा एक आपसमा नै उडानमा प्रतिस्पर्धा गरिरहेका छन् । नेपालको राष्ट्रिय ध्वजाबाहक बलियो नभएको र नेपाली वायुसेवा पनि अन्तर्राष्ट्रिय गनव्यमा आक्रामक रुपमा जान नसकेका कारण विदेशी वायुसेवाको नेपालमा हालिमुहाली भएको नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकरको बुझाई छ । वैदेशिक रोजगारीमा जाने नेपाली बढ्दै जानु र विदेशी पर्यटकसमेत बर्षेनी बढ्नुले अन्तरराष्ट्रिय वायुसेवाको उडान थप्दै गएका हुन । नेपालमा अहिले विभिन्न देशका २९ वटा वायुसेवाले नियमति उडान गरिरहेका छन् । विदेशी वायुसेवाको नेपाल उडानमा देखिएको सम्भावनाकै कारण नेपाल आएर फिर्ता जाने भन्दा पनि उडान गर्नेकै वाहुल्यता रहेको छ । अघिल्लो वर्षको भूकम्पपछि फिर्ता गएका वायुसेवा एक पछि अर्को गर्दे अहिले सबैले नेपालमा उडान सुरु गरिसकेका छन् । चिनियाँ वायुसेवा कम्पनी चाइना इस्टर्नले भूकम्प र नाकाबन्दीपछि नेपाल उडान बन्दै गरेको थियो । तीन महिना अगाडिबाट सातामा दुईवटा उडान सुरु गरेको यो वायुसेवाले एक साताअघि मात्रै नेपालमा दैनिक उडान सुचारु गरिसकेको छ । नेपालमा आउने वायुसेवाको संख्या हरेक वर्ष थपिँदै जाने गरेको छ । हाम्रो विमानस्थलको क्षमताले नै नभ्याएका कारण हामीले नियन्त्रण गर्नुपर्ने अवस्था रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । पछिल्लो एक अवधिमा वायुसेवाको विस्तार यात्रु सङ्ख्यामा भएको बृद्धिलाई सकारात्मक रूपमा हेरिएकोले पनि नेपालको हवाइ उड्डयन सुधारोन्मुख देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । पछिल्लो एक वर्षको अवधिमा नेपाल उडानमा रहेका वायुसेवाले ३२ लाख अन्तर्राष्ट्रिय यात्रुलाई सेवा दिएका छन् । सबै अन्तरराष्ट्रिय उडानको जहाजका लागि सरकारले हाल वार्षिक ७२ लाख सिट क्षमता उपलब्ध गराएको भएपनि करीब ३२ लाख मात्र उपयोगमा आउन सकेको छ । वायुसेवा कम्पनीले क्षमता अनुसार उडान नगरेका तथा दुई देश बीचमा हुने उडान अनुमतिले पूरै कार्यान्वयन नुहनाले पनि सो सिट क्षमताको पूर्ण उपयोग नभएको प्राधिकराणको भनाइ छ । ३८ देशसँग हवाई सम्झौता १५ देशको मात्रै उडान नेपालले द्विपक्षिय हवाई सेवा सम्झौता हालसम्म ३८ ओटा देशसँग गरेको भएपनि नेपालमा जम्मा जहाज उडान भएका मुलुकको सङ्ख्या भने १५ ओटा मात्र रहेको छ । नेपालमा भारतबाट पाँचओटा, युएइबाट चार, चीनबाट तीनओटा, मलेसीयाबाट तीनओटा वायुसेवा कम्पनीले उडान गरिरहेका भएपनि ती जहाजमार्फत पूर्ण मात्रामा सिट क्षमताको भने उपयोग हुन सकेको छैन् । कतार, ड्रागन, ओमान, थाइ, गल्फ, इत्तेहादलगायतका वायुसेवा कम्पनीले दैनिक एक देखि ४ ओटासम्म उडान गर्ने गरेका छन् । यी सबै वायुसेवाले पनि नेपालका लागि पूरा क्षमतामा उडान गर्न भने सकेका छैनन् । नेपालमा उडान गरिरहेका अन्तरराष्ट्रिय वायुसेवा कम्पनी मध्ये केहीले यात्रु चाप बढ्दै गएको यस वर्षको पर्यटकीय सिजन अक्टोबर तथा नोभेम्वरको समय पारेर केही उडान थप गर्ने गरेका पनि छन् । नेपालबाट हाल नियमति अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा हिमालय एयरलाइन्स मात्रै हो । नेपालमा उडान संभावना रहेको भन्दै वीबी एयरले उडान सुरु गरेपनि निरन्तरता पाउँन सकेन । अहिले सिम्रिक एयरले कार्गो अन्तराष्ट्रि र श्री एयरले यात्रु उडानमै अन्तर्राष्ट्रिय गर्ने तयारी गरिरहेको छ । बुद्धले चार्टर उडान मात्रै अन्तर्राष्ट्रिय गरिरहेको छ । ठूलो जहाज ल्याएर अन्तर्राष्ट्रिय गर्ने निगमको योजना नेपालप्रति विदेशी हवाई कम्पनीको चासो बढ्दै गएको र विस्तार हुँदै गरेको हवाई बजारका कारण नेपालमा उडान अनुमति चाहने अन्तरराष्ट्रिय विमान कम्पनी बढिरहेको पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको भनाइ छ । नेपालकै वायुसेवा वायुसेवा निगमले पनि अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तार गरिरहेको छ । ठूलो जहाज ल्याएर अन्तर्राष्ट्रिय उडान गर्न योजनालाई पनि अगाडि सारेको छ । पर्यटन मन्त्रालयका अनुसार नेपालमा पाँचौ ट्राफिक स्वतन्त्रताको अधिकार पाउने हो भने अन्तर्राष्ट्रिय वायुसेवाको वाढी नै लाग्छ । सो अधिकारको प्रयोग गरेर नेपालमा उडान गर्न चाहने वायुसेवा कम्पनी एयर अरेवियाले यस अघि नै मागेको थियो । यसको मागको टुङ्गो नलागेकोले थप अरु प्रक्रियो रोकिएको छ । यसले पाँच वर्षअगाडि नै अनुमति पाएको भएपनि नेवाल वायुसेवा निगमको नाफामूलक गन्तव्यमा उडान गर्न लागको भन्दै विरोध आएपछि सोको यस्तो उडान रोकिएको छ । यस्तो अधिकारको कार्यान्वयन हुन हो भने नेपालमा श्रीलङकन एयरलाइन्स, रसियन एयरलान्स एयरफोर्ड, टर्किस एयरलाइन्स, अष्टे«लियन तथा अमेरीकी विमानले पनि नेपाल उडान गर्ने मन्त्रालयलको दाबी छ । नेपालमा उडान भर्ने इच्छासहित श्रीलङ्काको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक र सचिवले उडान आग्रह गरिसकेका छन् भने सन् २००२ उडान भरेर बन्द गरेको एयरफोर्डले समेत पुनः उडान गर्ने चासो देखाएको छ । नेपालका हाल बंगलादेशको एक नयाँ वायुसेवाले पनि उडानको चासो देखाको छ । नेपालमा विदेशी वायुसेवाको सङख्या बढ्दै गएको भएपनि ती वायुसेवा पर्यटक केन्द्रीत भने हुन छैनन् । हाल उडान भरिरहेको विमान कम्पनीले पनि पर्यटक केन्द्रीत गन्व्यमा उडान गर्न सकेका छैनन् । नेपालमा युरोपेली र अमेरीकी देशबाट सीधा उडान हुने हो भने नेपालको पर्यटन व्यवसाय फस्टाउने पर्यटन व्यवसायीको भनाई छ । यसका लागि नेपालले पूर्वाधार विकास र पर्यटक आकर्षणका कार्यक्र र प्याकेज दिन आवश्यक भएको व्यवसायीले बताएका छन् ।
युवतिको नाममा फेसबुक बनाएर ठगी, प्रहरी कारवाही जारी
काठमाडौं – युवतीको नाममा फेसबुक बनाई ठगी गर्दै आएका युवक पक्राउ परेका छन् । सप्तरी बस्ने विराटनगरका २४ वर्षीय विकासकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई भारतबाट पक्राउ गरी ल्याएको हो । उनले काठमाडौंको युवतीहरुको नाममा फेसबुक बनाएका थिए । तीनै युवतीका साथीहरुलाई साथी बनाई आफूलाई समस्या परेको भन्दै च्याटमा सहयोग माग्ने गरेका थिए । कसैसँग रिचार्ज गरिदिन आग्ह गर्थे तथा कहिले बिरामी भएको भन्दै खर्च माग्दथे । चिनेकै साथीले सहयोग मागेपछि दिने गरेका थिए । तर, वास्तविक साथी नभई उनीहरुको नाममा नक्कली फेसबुक अकाउण्ट बनाई त्यसरी साहले भलुक्याएर ठगी गर्दै आएका थिए । पछि युवतीहरुले थाहा पाएर प्रहरीमा उजुरी गरेपछि उनी पक्राउ परेका हुन् । नयाँपत्रिका दैनिकबाट ।
‘तीजको दरले पेट गडबडी गर्ला बरी लै’, दर खादा स्वाथ्यको ख्याल गर्नुपर्ने
काठमाडौं १८, भदौ । तीजको रमाइलो आयो बरी लै’ जस्ता गीत बज्न थालेको निकै दिन भयो । यसले हिन्दू नारीहरूको महान् चाड तीज नजिकिँदैछ भन्ने सन्देश दिन्छ । टेलिभिजन, रेडियो, युट्युबमा तीजका गीत बजिरहेका छन् । हिन्दू धर्म, संस्कृतिमध्ये नारीहरूको महान पर्व तीजको दर खाने दिन शनिबार परेको छ । प्रत्येक वर्षको भाद्र शुक्ल द्वितीयाका दिन दर खाने र तृतीयाका दिन निराहार बसेर शिवको पूजा गरिन्छ । धार्मिक रूपमा तीज पर्व महिलाले पुरुषप्रति गरेको त्याग र समर्पणको जीवन्त कथा हो । पार्वतीले आफ्ना पति रोज्ने अधिकार स्थापित भएको पर्व तीज हो । महिला अधिकारको गरिमामय चाडका रूपमा रहेको यो पर्व मनाउने क्रममा पछिल्ला वर्षमा केही विकृति भित्रिएका छन् । बढ्दो तामझाम र सहरीया जीवनशैलीमा आएको परिवर्तनले चेलीलाई घरमा बोलाएर मीठोमसिनो खुवाउने चलन अब होटल, क्याटरिङ र रेस्टुरातिर सरेको छ । विभिन्न पारिवारिक समूह, सङ्घ, संस्था, टोलछिमेक र पार्टीहरूले चेलीबेटीलाई दर खुवाउन यस्तै ठाउँमा बोलाउने गरेका छन् । धेरै दिनसम्म दरको नाममा भोज खाने गर्नाले अस्पतालमा पेटका रोगीको सङ्ख्या बढेको पाइएको छ । तीजको रमाइला गीतमा एउटा गीत थप्नुपर्ने भएको छ । त्यो हो– ‘तीजको दरले पेट गडबडी गर्ला बरी लै’। तीज आउनु निकै अघिदेखि दर खान थालेका महिलालाई परम्पराका गीतका सट्टा चेतनामूलक यस्तै गीत गाउनु सुनाउनुपर्ने अवस्था आएको छ । तीज आउनु महिना दिनअगावैदेखि दर खाएर पेट दुखाएका महिलाले केही दिनयता आयुर्वेद औषधालय धाउन थालेका छन् । गोरखापत्र दैनिकबाट ।
अझै दिइएन द्वन्द्वकालमा नष्ट भएका लालपुर्जा, सरकारी चासो नहुदाँ जनता मारमा
काठमाडौं १७, भदौ । सशस्त्र द्वन्द्वमा नष्ट भएका जग्गाधनी प्रमाणपत्र पुनः नापी गरी दिन नसक्दा घरजग्गाको कारोबार तथा अंशबन्डामै समस्य परेको छ । फाइल तस्बिर द्वन्द्व समाधान भएको एकदशक नाघिसक्दा पनि सरकारले चासो नदिँदा सर्वसाधारण जनता निकै मारमा परेका छन् । तत्कालीन नेकपा माओवादीको सशस्त्र विद्रोहबाट सयौं व्यक्तिका लालपुर्जा जलेर नष्ट भएका थिए । सरकारले पुनः नापी गरी लालपुर्जा दिन नसक्दा पीडित मारमा परेका छन् । पुनः नापी गरी उनीहरुलाई लालपुर्जा उपलव्ध गराउनुपर्ने सरकारको दायित्व भए पनि अहिलेसम्म स्पष्ट रुपमा काम हुन नसकेको नापी कार्यालयको भनाइ छ । नापी कार्यालयले पुनर्निर्माणको विशेष कार्यक्रम र बजेट प्राप्त भएमा मात्र पुन नापी गर्न सक्ने जनाएको छ । तर, अहिलेसम्म सरकारले न त पुनर्निर्माणको विशेष कार्यक्रम नै ल्याएको छ न त बजेट नै छुट्याएको छ । आजको राजधानी दैनिकमा खबर छ ।
पूर्वराजपरिवारको सम्पत्ति विवाद फेरि बल्झियो, प्रेरणाको दाइजो उनकै हुने अदालतको फैसला
पूर्वराजा वीरेन्द्रले पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहलाई दिएको दाइजो सरकारमातहत ल्याउन नमिल्ने पूर्वफैसलालाई सर्वोच्च अदालतले पुनः सुनुवाइको बाटो खोलेको छ । गणतन्त्र स्थापनापछि पूर्वराजा र राजपरिवार सदस्यका नाममा रहेका सबै जग्गा नेपाल ट्रस्टमार्फत सरकारको स्वामित्वमा ल्याउने निर्णय भएपछि पूर्वअधिराजकुमारीले भोगचलन गर्दै आएको जग्गा सरकामातहत ल्याउने निर्णय भएको थियो। सो निर्णयलाई चुनौती दिँदै प्रेरणाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि अदालतले प्रेरणाको नाममा रहको जग्गा उनकै हुने भन्दै फैसला गरेको थियो । सो फैसलामा चित्त नबुझेको भन्दै नेपाल ट्रष्टले गरेको पुनराबलोकन सुनुवाइको अनुमति दिएपछि पूर्वअधिराजकुमारीको स्वामित्वमा रहेको जग्गा वैधानिकतामाथि फेरि सर्वोचमै न्यायिक सुनुवाइ हुने भएको हो । छाउनीमा रहेको १५ रोपनी १ आजा जग्गा र घर २०६२ सालमा महाराजधयिरजका नाममा रैकर दर्ता भएको र दाइजो बकस पाएपछि बनेको कानुन देखाएर ट्रस्टले सो जग्गा सरकारमातहत ल्याउन नपाउने तर्कका आधारमा सर्वोचचले प्रेरणाको पक्षमा फैसला गरेको थियो ।
इजरायलले नेपाली कामदारको कोटा बढाउने, आगामी वर्ष ३ सय भन्दा बढी जाने
काठमाडौं १८, भदौ । इजरायलले नेपाली केअर गिभर कामदारको कोटा बढाउने भएको छ । वैदेशिक रोजगारीका लागि त्यहाँ जाने नेपालीको कोटा थप गर्ने जानकारी इजरायलले दिएको हो । इजरायली राजदूत यारोन मायरले परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई शुक्रबार शिष्टाचार भेट गरी नेपालबाट इजरायल केअर गिभरमा जाने कामदारको कोटा बढाउने तयारी भइरहेको जानकारी गराएका हुन् । स्रोतका अनुसार इजरायलले आगामी वर्ष ३ सयभन्दा बढी नेपाली कामदार लैजाने जानकारी दिएको छ । इजरायल जाने केयर गिभरको संख्या बढाउने विषयमा एक अध्ययन टोली अर्को साता नै नेपाल आउने र टोलीको सिफारिसका आधारमा कोटा बढाउने इजरायली राजदूतले जानकारी गराएको परराष्ट्रमन्त्री महतका सञ्चार संयोजक एकराज पाठकले बताए । सन् २००९ देखि नेपाली केअर गिभर इजरायल जान पाएका छैनन् । बीचमा एक सय नेपालीलाई भारतबाट श्रम स्वीकृति गराएर लगिएको थियो । तीन महिनाअघिदेखि नेपालबाट पुनस् इजरायल कामदार जान आरम्भ भएको हो । हाल इजरायलमा ५ हजारभन्दा बढी नेपाली कार्यरत छन्, जसमा ५९ नेपाली केअर गिभरका रूपमा कार्यरत छन् । पछिल्लो समय सरकारी स्तरबाट ९जीटूजी० मार्फत नेपालीहरू इजरायल जान थालेका हुन् । अहिले ५९ नेपालीहरू त्यसरी पुगेको पनि जनाइएको छ । नेपाल र इजरायलबीच सन् १९६० जुन १ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुईपक्षीय सम्बन्ध सुमधुर रहेको र नेपालको विकासमा इजरायलीहरू सहयोगी बन्दै आएको प्रसंग पनि राजदूतले प्रस्तुत गरेका थिए । आजको कान्तिपुर दैनिकबाट ।