विकासन्युज

युनाइटेड इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा श्रेष्ठ सर्वसहमतिले चयन

काठमाडौं, १७ भदौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको संचालक समितिको अध्यक्षमा विजयवहादुर श्रेष्ठ चयन भएका छन् । भदौ १५ गते बसेको कम्पनीको संचालक समितिको २६३ औँ बैठकले श्रेष्ठलाई अध्यक्षमा सर्वसहमतिले चयन गरेको हो । कम्पनीको सर्वसाधरण शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्दै श्रेष्ठ २०५४ साल देखि निरन्तर रुपमा कम्पनीको संचालक समिति सदस्य भै कार्य गरि रहेका छन्  । उनले दिल्ली विश्व विद्यालयबाट वित्त तथा बजार शास्त्रमा स्नातकोतर गरेका हुन् । हालसम्म कम्पनीले केन्द्रीय कार्यालय तथा २० वटा शाखा कार्यालयहरुबाट निरन्तर ग्राहकहरुलाई बीमा सेवा प्रदान गरि रहेको छ । त्यसका साथै, कम्पनीले आगामी दिनमा समेत बीमा सेवालाई अझ परिस्कृत गरि प्रविधिमा आधारित सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआईएललाई मर्चेन्ट बैंकिङ कारोबार गर्न अनुमति

गणेशराज पोखरेल काठमाडौं, १७ भदौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनी सिबिआईएल क्यापिटल लिमिटेडले मर्चेन्ट बैकिङ कारोबार गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार सिबिआईएल क्यापिटललाई कारोबार गर्न अनुमति प्रदान गरेको सिबिआईएल क्यापिटलका अध्यक्ष गणेशराज पोखरेलले जानकारी दिए । १० करोड रुपैयाँ चुक्ता पुँजी भएको यस कम्पनीमा सिटिजन्स बैंक इन्टरनेशनलको ६७ प्रतिशत सेयर छ । ३३ प्रतिशत सेयर विभिन्न क्षेत्रको उद्योगी व्यवसायीहरुले लिएका छन् । नयाँ कम्पनीको अध्यक्षमा पोखरेल, सञ्चालकहरुमा आजाद श्रेष्ठ, बोधराज देवकोटा, रामधन श्रेष्ठ रहेको छन् । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समिर दाहालले समाल्ने भएका छन् । यस कम्पनीले सेयर निश्काशन तथा बिक्री प्रबन्धक, सेयरधनी रजिष्ट्रशन, म्यूचल फण्ड लगायत धितोपत्र व्यवसायी गर्न अनुमति पाएको छ । कम्पनीले म्यूचल फण्ड निश्काशन गर्ने लक्ष्यका साथ काम शुरु गरिसकेको पोखरेलले जानकारी दिए ।

अरनिको डेभलपमेन्ट बैंकको ३६ प्रतिशत हकप्रद वितरण गर्ने निर्णय पारित

काठमाडौं, १७ भदौ । नेपाल धितोपत्र बोर्डले अरनिको डेभलपमेन्ट बैंकको हकप्रद सेयर वितरण गर्ने निर्णय पारित गरेको छ । बैंकले ३६ प्रतिशत हकप्रद सेयर वितरण गर्ने भएको छ । हाल बैंकको चुक्ता पूँजी २४ करोड २५ लाख रुपैयाँ रहेको छ । साथै, शुक्रबार बैंकको सेयर मूल्य प्रति कित्ता ४६२ रुपैयाँ रहेको छ ।

गुहेश्वरी मर्चेन्ट बैंकले ५० प्रतिशत हकप्रद वितरण गर्दै, १९ गते बुक क्लोज

काठमाडौं, १७ भदौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सले हकप्रद सेयर वितरण गर्ने भएको छ । बैंकले ५० प्रतिशत हकप्रद सेयर वितरण गर्नको लागि भदौ १९ गते बुक क्लोज गर्न लागेको छ । हाल बैंकको चुक्ता पूँजी २९ करोड ३७ लाख रुपैयाँ रहेको छ । शुक्रबार बैंकको सेयर मूल्य प्रतिकित्ता ४४७ रुपैयाँ रहेको छ ।

सहयोगी विकास बैंकले २२ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, १७ भदौ । सहयोगी विकास बैंकले सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैंठकको निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।

सुधार गरेर रुग्ण उद्योग चलाउने उद्योग मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं, १७ भदौ । उद्योग मन्त्री नवीन्द्रराज जोशीले रुग्ण उद्योगहरुको स्थलगत अध्ययन गरेर सुधार गर्ने बताएका छन् । बिहीबार व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्धन समितिको बैठकमा बोल्दै मन्त्री जोशीले रुग्ण उद्योगहरुलाई सुधार गरेर पुनःसञ्चालनमा ल्याउन सकिने भन्दै त्यसका लागि मन्त्रालयले आवश्यक कदम चाल्ने बताए । उनले औद्योगिकीकरण नै मुलुकको आर्थिक समृद्धिको बाटो रहेको बताउँदै उद्योग मन्त्रालयले त्यसका लागि क्रियाशीलता बढाउने स्पष्ट पारे । ‘उद्योग मन्त्रालयको जिम्मेवारी नै उद्योगधन्दाको विकास र विस्तारमार्फत आर्थिक समृद्धि हासिल गर्नु हो ।’, मन्त्री जोशीले भने । उनले औद्योगिक विकासका लागि अघिल्ला सरकारले गरेका सकरात्मक कामहरुले फेरि पनि निरन्तरता पाउने भन्दै संसदीय समितिसँग सहकार्य गरेरै मन्त्रालय अघि बढ्ने बताए । बैठकमा बोल्दै मन्त्री जोशीले उद्योग सम्बन्धी नियम कानुन आवश्यकता अनुसार परिमार्जन गरिने स्पष्ट पारेका छन् । ‘उद्योग सँग सम्बन्धित कानुन निर्माण, परिमार्जन र बाँझिएका कानुन सुधारनका लागि सम्बन्धित मन्त्रालय र समितिसंग सहकार्य गरेर अघि बढ्छौं ।’, मन्त्री जोशीले बताए । बैठकमा समितिका सभापति भीष्म आङदाम्बेले मन्त्री जोशीलाई सफल कार्यकालको शुभकामना दिदैं उद्योगको विकासका लागि मन्त्रालयले गर्ने हरेक काम कारबाहीमा समितिको सदैव सहयोग रहने बताएका छन् । बैठकमा उद्योग सचिव शङ्करप्रसाद कोइरालाले लगानीमैत्री वातावरण बनाएर औद्यौगिकीकरणमार्फत मुलुक समृद्धि बनाउने अभियानमा मन्त्रालयले लागेको बताउँदै परिवर्तन र सुशासनको अनुभूति गराउने गरी काम गर्ने बताए । बैठकमा धारणा राख्ने अधिकांश सांसदहरुले औद्योगिक विकास, लगानीमैत्री वातावरण र मौलिक उद्योग स्थापनामा जोड दिनुपर्ने बताएका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनलको बोनस विवादमा

काठमाडौं, १७ भदौ । सिटिजन्स बैंक इन्टरनेसनलले सेयरधनीलाई दिने भनेको लाभांश विवादमा परेको छ । बैंकको संचालक समितिले प्रस्ताव गरेको २४ दशमलब ४९ प्रतिशत बोनस सेयर विवादमा परेको हो । गत १३ भदौमा बसेको संचालक समितिले सो बोनस सेयर दिने प्रस्ताव गरेको थियो । तर गत आर्थिक बर्षको अन्त्यमा निस्कासन गरिएको हकप्रदलाई बोनस नदिने संचालक समितिको निर्णयको कारण विवाद उत्पन्न भएको छ । धितोपत्र वोर्डमा यस सम्बन्धमा एक पटक छलफल भइसकेको छ । यस्तो छलफलमा साधारणसभा प्रयोजनको लागि हुने बुकक्लोज भन्दा अगाडिका सेयरधनीले लाभांश पाउने स्थापित मान्यता विपरित बोनस सेयर घोषणाको प्रस्ताव गरिएकोले त्यस्तो प्रस्ताव स्वीकार गर्न नसकिने बोर्डका पदाधिकारीले निष्कर्ष निकालेका छन् । ‘बुकक्लोजको मितिभन्दा अगाडि कायम रहेका सेयरधनीले लाभांश पाउछन्, अहिलेसम्मको अभ्यास र ब्यवस्था पनि यही नै हो,’ बोर्डका प्रवक्ता निरज गिरीले भने । बैंक संचालक समितिले भने हकप्रद सेयर निस्कासन भन्दा अगाडि कायम रहेको चुक्ता पूजीका आधारमा बोनस वितरण गर्ने निर्णय गरेको छ । बैंक संचालक समितिले यो समयसम्मका सेयरधनीले लाभांश दिने र यसपछिकालाई नदिनेभन्दै मिति तोक्ने गर्ने हो भने साधारणसभा प्रयोजनको लागि बुकक्लोज गरिरहनुको औचित्य नहुने बोर्डका अधिकारीहरुको भनाइ छ । बैंकले १३ भदौमा संचारमाध्यमहरुलाई पठाएको प्रेस विज्ञप्तिमा ‘भदौ १३ गते बसेको संचालक समितिको २१४ औं बैठकको निर्णय बमोजिम आ.व २०७२/७३ को वितरण योग्य मुनाफाबाट २०७३ आषाढ मसान्तको चुक्ता पूँजी ३ अर्ब ६ करोड ५२ लाख ३३ हजार ८१७ रुपैयाँको २४.४९ प्रतिशतले हुने ७५ करोड ०६ लाख ७५ हजार ७६२ रुपैयाँ बराबरको बोनस शेयर र सोमा लाग्ने करको लागि १.२९ प्रतिशतले ३ करोड ९५ लाख ०९ हजार २५१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ’  भन्ने उल्लेख गरिएको छ । तर बैंकले प्रकाशित गरेको गत असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणमा चुक्ता पूजीको अंक नै फरक छ । बैंकले प्रकाशित गरेको विवरणमा गत असार मसान्तसम्ममा बैंकको चुक्ता पूजी ३ अर्ब ६५ करोड ६ लाख ४० हजार रुपैयाँ रहेको उल्लेख गरिएको छ । बैंकले गत साउन ४ गतेसम्म हकप्रद सेयर भर्ने म्याद दिएको थियो । बैंकले निस्कासन गरेको मध्ये करिब ७ करोड रुपैयाँ बराबको हकप्रद विक्री नभएर लिलामी प्रक्रियावाट विक्री गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

पर्यटक सवारीले नेपाली बोक्न नपाउने व्यवस्था हुँदै, व्यवसायीको विरोध

काठमाडौं १७, भदौं । सरकारले हरियो नम्बर प्लेटका सवारी साधनले नेपाली यात्रु बोक्ने नपाउने व्यवस्था गर्न लागेको छ । सरकारको यस्तो व्यवस्थाप्रति पर्यटक यातायाता व्यवसायीले भने विरोध गरेका छन् । नेपाल पर्यटक वस व्यवसायी संघका अध्यक्ष श्रीकान्त आचार्यले सरकारले व्यवसायीको स सहकार्य र सहमतिमा यातायात नियमावली ल्याउनुपर्ने बताएका छन् । संघले विज्ञप्ती जारी गरेरै सरकारको यस्तो तयारीको विरोध गरेको हो । सरकारले भने ्चालकको लापरबाहीका कारण दुर्घटनाढेको बहानामा पर्यटक सवारीलाई पनि कडाइ गर्ने तयारी थालेको छ । सवारी दुर्घटना बढेका कारण दैनिकजसो दुर्घटना हुने र सर्वसाधारण यात्रुले ज्यान गुमाउने क्रम पछिल्लो समय बढेको छ । दुर्घटना न्यूनीकरण गर्न र चालक तथा सवारी साधानलाई व्यवस्थित गर्न पनि सरकराले यातायता नियमावलीमा कडा प्रावधान राख्न खोजेको उल्लेख छ । सरकारले यात्रुको ज्यान जानेगरी सवारी चलाउने चालकको लाइसेन्स सधैका लागि खारेजी तथा सवारी दर्ता निलम्बनसम्मको कडा व्व्यवस्था राखेर यातायात नियमावली ल्याउने तयारी भएको छ । सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन हुँदै, पर्यटक सवारी पनि मारमा पर्ने  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी दुर्घटना न्यूनीकरणका लागि यस्तो व्यवस्था ल्याउन लागेको बताउँदै मन्त्री रमेश लेखकले सवारी तथा यातायात व्यवस्था नियमावली संशोधनको निर्णयसहित सहमतिका लागि कानुन मन्त्रालय समक्ष पठाइएको बताएका छन् । यसैको मारमा यता हरियो प्लेटका सवारीसाधन पनि पर्ने भएका छन् । कानुन मन्त्रालयमा पठाइएको सवारी तथा यातायात व्यवस्था नियमावलीमा पर्यटक बसले गैरपर्यटक व्यक्ति बोक्न नपाउने र बोकेमा ६ महिनासम्म चालकको लाइसेन्स रद्द गर्ने जनाएको छ । त्यस्तै, अटेर गरि सवारी चलाएमा चालक सहित सवारी सञ्चालक समेत कारबाहीको कठघरामा पर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसको लागि सवारी दर्ता निलम्बन गर्नेसम्मको व्यवस्था नियमावलीमा गरेको मन्त्री लेखकले जानकारी गराए । रातो प्लेटका सवारीसाधनले पनि भाडामा मान्छे बोक्न नपाउने भएको छ । निजी सवारीसाधनले भाडामा मान्छे बोकेमा सवारी दर्ता निलम्बन गर्ने प्रस्तावमा उल्लेख छ । यसैगरि, मालवाहक सवारीसाधनले यात्रु बोकेमा वा यात्रुवाहक सवारीले सामान बोकेमा चालक अनुमतिपत्र ६ महिना निलम्बन हुनेछ । यस्ता सवारीको रुट परमिट खारेज गर्ने पनि नियमावलीमा प्रस्ताव गरिएको छ । सरकारले ल्याउन लागेको यस्तो नियमावलीको पर्यटन व्यवसायीहरुले भने विरोध गरेका छन् । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए)का अध्यक्ष साङ्गे लामाले आन्तरिक पर्यटन प्रवर्द्र्धन अभियान चालिरहँदा सरकारले यस्तो नियम ल्याउनु बिल्कुल गलत भएको बताए । उनले सरकारले नै घुमफिर वर्ष मनाउने घोषणा गर्नु र आन्तरिक पर्यटकलाई बढावा दिन विभिन्न कार्यक्रम चलाउनु तर यता आन्तरिक पर्यटक बोक्न भने नपाउनु अन्याय भएको बताए । उनले पर्यटक र गैरपर्यटकको बहानामा कुनै पनि हालतमा हरियो प्लेट माथिको बन्देज स्वीकार्य नहुने बताए । सबै खालका पर्यटक बोक्न पाउनुपर्ने माग पर्यटक व्यवसायीको छ । व्यवसायीसँगको मागका विषयमा व्यापक अन्तरक्रिया र छलफल हुनुपर्ने माग व्यवसायीको छ ।