विकासन्युज

परिवार नियोजन संघमा ब्रम्हलुट, विघटनको संघारमा

काठमाडौं १७, भदौ । नेपाल परिवार नियोजन संघमा भएको व्यापक अनियमितताका कारण संघको अस्तित्व नै संकटमा पर्ने खतरा बढेको छ । संघको नेतृत्वले दातृ निकायबाट प्राप्त रकम अनियमितता तरिकाले खर्च गर्ने र संघको कामकाज प्रचलित ऐन, कानुन र संघको विधानलाई समेत उल्लघंन गर्दै मनोमानी ढंगले संचालन गर्न थालेपनि संघको अस्तित्व संकटमा परेको हो । संघले आफ्ना कार्यक्रम संचालन गर्न कानुनबमोजिम पेन गर्नुपर्ने कागजात पेस नगर्ने, परियोजनाहरु स्वीकृतिबिना नै संचालन गर्ने, कार्यक्रम संचालन गरेपश्चात अनुमोदन नगर्ने, समाज कल्याण् परिषद्बाट अनुगमन नगराउनेलगायत समाज कल्याण ऐन २०४९, समाज कल्याण नियमवाली २०४९, संस्था दर्ता ऐन २०३४ तथा नेपाल परिवार नियोजन संघको विधानका व्यवस्थाहरु संघको केन्द्रीय समितिले लगातार उल्लघंन गरिरहेका कारण संघ संकटमा परेको छ । जसका कारण करिब १ करोड जनताले प्राप्त गरेको सेवा बन्द हुने अवस्थामा रहेको छ भने करिब ६ सय कर्मचारीको भविष्य अन्योलमा परेको छ । नेपाल समाचारपत्र दैनिकबाट  ।

दूतावासबाट पाँच हजारमै राहदानी, खाडी मुलुकका नेपालीलाई लाभ

काठमाडौं १७, भदौ । एसियाली मुलुकमा रोजगारीमा रहेका नेपालीले अब ५ हजार रुपैयाँ (५० अमेरिकै डलर)मै राहदानी पाउने भएका छन् ।सकारको यो निर्णयबाट सबभन्दा बढी नेपाली रहेका खाडी मुलुक र मलेसियामा रहेका कामदारले राहात पाउनेछन् । ती मुलुकमा काम गर्न गएका नेपालीबाट राहदानीमा चर्को शुल्क लिएको भन्दै सरकारको आलोचना बढेपछि मन्त्रिपरिषद्को बिहीबारको बैठकले राहदानीको राजस्व एकैपटक ३० डलर (करिब तीन हजार रुपैयाँ) घटाउने निर्णय गरेको शुक्रबारको कान्तिपुर दैनिकमा समाचार छापिएको छ । विदेशका जेलमा रहेका नेपाली र अन्यको अवस्थाबारेसमेत जानकारी खोजिरहेको सरकारले पहिलो राहतका रुपमा राहदानीको राजस्व घटाएको हो । एसियाली मुलुक मलेसिया, कतार, साउदी अरेविया, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, लेवनान, इराक, इरान, कुबेत, इजरायल, सिरिया, जोर्डन र यमनमा रहेका नेपालीले अब आफ्नै मुलुकको जिल्लामा तिरेसरहकै शुल्कमा राहदाी पाउनेछने ।

सडकमा सरुवा हुन तँछाडमछाड, आकर्षक कमाइले आकर्षण बढ्यो

काठमाडौं १७, भदौ । आर्थिक वर्ष ०७१/७२ मा ६ सडक कार्यालयद्वारा संचालित आयोजनामा वास्तविक खर्चभन्दा १ करोड ५० लाख रुपैयाँ बढी भुक्तानी भयो । महालेखा परीक्षकको ५३ औं प्रतिवेदनअनुसार बिलभन्दा बढी चेक काटिएको, दोहोरोपन नहेरिएको र ठेकेदारसँग घटाउनुपर्ने छुट नघटाएकाले बढी भुक्तानी भएको हो । ‘यस्तो हुनुको प्रमुख दोषी लेखापाल र प्राविधिक हुन्,’ महालेखा प्रवक्ता बाबुराम गौतमले भने । उनका अनुसार बढी भएको रकम असुल गरी सम्बन्धित अधिकारीलाई कारबाही गर्न सरोकारवाला निकायलाई पत्राचार गरिएको छ । ठेकेदारसँगको मिलेमतोमा अनधिकृत रुपमा कमाइ हुने भएकोले पनि कर्मचारीको आँखा सडकमा नै गएको हो । यही कारण पनि लेखापालहरु सडकमा नै आउन चाहेका हुन । कान्तिपुर दैनिकबाट ।

ग्यासको मूल्य ५० रुपैयाँ घट्यो, विहीबारदेखि प्रति सिलिण्डर १३ सय २५ रुपैयाँ

काठमाडौं, १६ भदौ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घटाएको छ । निगमले नजिकिँदो चाडबाडको अवसर पारेर मूल्य घटाएको हो । एक महिनाभित्रमा निगमले मूल्य दोस्रो पटक घटाएको हो । एक महिनाअघि १४ सय २५ रुपैयाँ पर्ने ग्यास भोलिदेखि १३ सय २५ रुपैयाँमा किन्न पाईने छ । बिहीबारको मन्त्रिपरिषद बैठकले पनि दशैंतिहारको अवसरमा मूल्य घटाउन निर्देशन दिएकोले सोही आधारमा मूल्य घटाउने निर्णय गरेको निगमका प्रवक्ता भानुभक्त खनालले बताए । बिहीबारराति १२ बजेदेखि लागू हुने गरी एउटा ग्यास सिलिन्डर १३ सय २५ रुपैयाँमा तोकिएको उनले बताए । मूल्य घटेपछि पनि निगमलाई प्रतिसिलिन्डर ग्यासमा ६१ रुपैयाँ नाफा रहेको छ । यसैगरी मन्त्रिपरिषद्ले आपूर्ति मन्त्रालयलाई खाना पकाउने ग्यासका पनि स्वचालित मूल्य प्रणाली लागू गर्न सैद्धान्तिक सहमति दिएको छ । अब खाना पकाउने ग्यासमा पनि तेलमा जस्तै भारतको मूल्य अनुसार भाउ घटबढ हुनेछ ।

पूनर्निर्माणको लागि बेलायतद्वारा १० अर्ब १० करोड रुपैयाँ अनुदान

काठमाडौँ, १६ भदौ । भूकम्पपछिको पुनःनिर्माणका लागि नेपाललाई बेलायत सरकारले १० अर्ब १० करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएकोे छ । अर्थ मन्त्रालयमा बुधबारआयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक सहायता महाशाखाका प्रमुख वैकुण्ठ अर्याल र अन्तर्राष्ट्रिय सहयोग विकास विभाग नेपालका प्रमुख गेयल मर्जेट्टीले सहयोगसम्बन्धी पत्रमा हस्तारक्षर गरेका छन् । उपप्रधानमन्त्री कृष्णबहादुर महरा र बेलायतको अन्तर्राष्ट्रिय सहयोग विकास विभागका राज्यमन्त्री रोडेरिक जेम्स नुजेन्ट स्टेवार्टको उपस्थितिमा भएको उक्त सम्झौतामा भूकम्प अतिप्रभावित जिल्ला नुवाकोट, रसुवा, धादिङ र गोरखाका १० लाख जनतालाई सहयोग गर्ने उल्लेख गरिएको छ । उक्त सहयोग कार्यक्रममा ४०० किमी ग्रामीण सडक निर्माण गरी तीन लाख जनतालाई बजार पहुँच विस्तार गर्ने लक्ष्य छ । त्यसैगरी भूकम्पले क्षति पु¥याएको पर्यटन पूर्वाधारको सुधार गरिनाका साथै दुई लाख ५० हजार जनताको खानेपानी तथा सरसफाइमा सुधार ल्याइने छ । सो अवसरमा अर्थमन्त्री महराले बेलायत नेपालको ऐतिहासिक मित्र भएको उल्लेख गर्दै भूकम्पपछिको पुनःनिर्माणमा सहयोग उपलब्ध गराएकामा बेलायतलाई धन्यवाद दिए ।बेलायती राज्यमन्त्री स्टेवार्टले भूकम्पबाट नेपाल नराम्रोसँग प्रभावित भएको र त्यसबाट लाखौँ जनता मारमा परेकाले नेपालाई सहयोग गरिएको बताए ।

मलेसिया तथा मध्यपूर्व एसियाका लागि राहदानी शुल्क घट्यो, ८० डलरको सट्टामा ५० डलर बुझाउनु पर्ने

काठमाडौं, १६ भदौ । सरकारले मलेसिया तथा मध्यपूर्व एसियाका कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, लेवनान, इराक, इरान, कुवेत, इजरायल, सिरिया, जोर्डन र यमनमा रहेका नेपालीलाई राहदानी शुल्क घटाएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले त्यस्तो निर्णय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि ती मुलुकमा रहेका नेपालीले राहदानी शुल्क ८० अमेरिकी डलर तिर्दै आएका थिए । त्यसलाई घटाएर ५० डलर कायम गरिएको हो । वैदेशिक रोजगारमा ती मुलुकमा रहेका नेपालीलाई आर्थिक बोझ कम होस् भन्ने अभिप्रायले परराष्ट्र मन्त्रालयको प्रस्तावमा नेपाल सरकारले उक्त निर्णय गरेको सो मन्त्रालयले जनाएको छ । उक्त निर्णय नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि लागू हुनेछ । बैदेशिक रोजगारीको क्रममा सबैभन्दा बढी नेपाली त्यस क्षेत्रमा कार्यरत छन् । तर यस क्षेत्रमा नेपालीहरुको आम्दानी विकशित देशहरुको तुलनामा कम रहेको छ।

खुशीयाली साट्न देशका प्रमुख शहरमा एनसेल मेला हुने, भाद्र ३० गतेबाट सुरु

काठमाडौं, १६ भदौ । देशकै अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले देशका विभिन्न ५ शहरहरुमा एनसेल मेलाको आयोजना गर्ने भएको छ । कम्पनीले रि—ब्राण्डिङ्ग पश्चात नजिकिदै गरेको चाँडपर्वको अवसर पारेर नारायणघाट, पोखरा, बुटवल, धरान र बिर्तामोडमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुसीयाली साट्न, शुभकामना आदान प्रदान गर्न र आफ्नो नयाँ ब्राण्ड स्थानिय स्तरमा चिनाउन एनसेल मेला गर्न लागेको हो । मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेला यही भाद्र ३० गते नारायणघाट (नारायणी किनार) मा आयोजना गरिने छ । यो मेला असोज १ गते पोखरा (प्रदर्शनी केन्द्र, नयाँ बजार), असोज ३ गते बुटवल (सिद्घेश्वरी मैदान, दीपनगर) र असोज ६ गते धरान (पब्लिक हाई स्कुल मैदान) मा आयोजना हुनेछ र असोज ८ मा बिर्तामोड (सुगम पेट्रोल पम्प मैदान) मा आयोजना पश्चात मेलाको समापन हुनेछ । प्रत्येक शहरमा मेला बिहान ११ बजे शुरु हुनेछ र कन्सर्ट सहित साँझसम्म चल्ने एनसेलले जनाएको छ । चर्चित कलाकार तथा संगीतिक समुहको प्रस्तुतीहरु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका केही विषेश आर्कषणहरु हुन् । यसदेखि बाहेक मेलामा आउने आगन्तुकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउने छन् भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विषेश हाईटेक जोनमा चलाएर टेष्ट गर्न सक्नेछन् । मेलामा कलाकारहरु सुगम पोख्रेल, शिव परियार, सन्दिप क्षेत्री, मिलन अमात्य, लाउरे, रेमोन दास श्रेष्ठ, समृद्घी राई र एक्स व्याण्डको प्रस्तुतीहरु रहने छन् । त्यसैगरी, युभि एन्जल्स् र डिजे रुपेशले आफ्नो प्रस्तुतीबाट दर्शकलाई मनोरन्जन प्रदान गर्नेछन् । मेलामा बालबालिका लगायत सबै उमेरका लागिविविध कार्यक्रमहरु समाबेश गरिएका छन् । बालबालिकालागि इन्फ्लेटेड क्यासल, मेरी गो राउण्ड र ट्रेन जस्ता विविध आकार्षणहरु रहेका छन् । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न गिफ्टहरु पाउन सक्नेछन् । गीत संगीत, गेमहरु र अन्य आर्कषण बाहेक, मेलामा नेपाली, ईण्डियन र चाईनिज परिकारका स्टलहरु पनि रहनेछन् । “हाम्रा आदरणीय ग्राहकमाझ पुगी खुसीयाली साट्न र सबैसँग चाडपर्वको शुभकामना आदानप्रदान गर्न एनसेल मेला आयोजना गर्न लागिएको हो,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “विविध आकर्षक कार्यक्रमहरु समावेश गरिएको यो मेलामा आउने दर्शकले भरपुर मनोरन्जन पाउने कुरामा हामी विश्वस्त छौ र सबैलाई आफ्ना परिवारजन, आफन्त र साथीभाईसंग रही खुसी साट्न थप उर्जा दिने विश्वास लिएका छौ ।”

योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त, दीपकुमार र लीलामणि राजदूतमा सिफारिस

काठमाडौँ, १६ भदौ। सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ। बिहीबारको बसेको मन्त्रिपरिषद् बठकले नेपाल राष्ट्र बैँकमा कार्यकारी निर्देशक पदमा कार्यरत श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी माओवादी निकट मानिन्छन् । मन्त्रिपरिषद्को आजको बैठकले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौड्याललाई सिफारिश गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले बताए। उपाध्याय यसअघि पनि भारतका राजदूत रहेकोमा केपी ओली सरकारले उनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। पौड्याल पूर्व मुख्य सचिव हुन्। त्यसैगरी बैठकले प्रधानमन्त्रीका आर्थिक सल्लाहकारमा डा.श्रीराम पौडेल, परराष्ट्र सल्लाहकारमा डा ऋषि अधिकारी नियुक्त गरेको छ । त्यस्तै, बैठकले प्रतिनिधि सभा, प्रदेश सभा र राष्ट्रिय सभा निर्वाचनका लागि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।