विकासन्युज

नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष, लेखापरीक्षण र निक्षेप तथा कर्जा सुरक्षण विधेयक पारित

काठमाडौँ, १६ भदौ । व्यवस्थापिका–संसद्ले कर्मचारी सञ्चय कोष (नवौँ संशोधन) विधेयक, २०७३ लाई सर्वसम्मतिले पारित गरेको छ । संसद्को विहीबारको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विधेयक परित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । यसअघि उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीराज काफ्लेले कर्मचारी सञ्चय कोषको रकम ऊर्जाको विकासलगायत सामाजिक सुरक्षाका क्षेत्रमा लगाउन विशेष कार्ययोजना आवश्यक रहेको भनी सदनको ध्यानाकर्षण गराराएका थिए । बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले विधेयकमा सामाजिक सुरक्षाको भाव पैदा गरेको तथा कोषले आफैँ वा अरु सङ्घसंस्थासँग मिलेर ऊर्जालगायत विभिन्न उत्पादनका क्षेत्रमा लगानी गर्ने वातावरण तय गरेको बताए । लेखापरीक्षण पहिलो संशोधन विधेयक त्यसै गरी लेखापरीक्षण पहिलो संशोधन विधेयक पनि पारित भएको छ । अर्थ समितिको प्रतिवेदनसहितको लेखापरीक्षण (पहिलो संशोधन) विधेयक, २०७३ सदनले आज पारित भएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले उक्त प्रस्ताव पारित गरियोस् भनी पेस गरेका थिए । उक्त प्रस्तावमा उठाइएको प्रश्नको जवाफ दिँदै मन्त्री महराले लेखापरीक्षणसम्बन्धी सम्पूर्ण विषयलाई सरकारी लेखापरीक्षणको दायरामा ल्याउने प्रयास गरिएको बताए । नेपाल राष्ट्र बैंक दोस्रो संशोधन विधेयक पारित व्यवस्थापिका–संसद्ले नेपाल राष्ट्र बैंक (दोस्रो संशोध) विधेयक, २०७३ लाई पारित गरेको छ । यसअघि बैठकमा अर्थमन्त्री महराले उक्त प्रस्ताव पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री महराले सामन्तवादी अर्थतन्त्रलाई समाजवादी अर्थतन्त्रमा जान संविधानले बाटो खोलेको छ, त्यसैले आजको वस्तुगत यथार्थलाई नजरअन्दाज गर्न नमिल्ने धारणा राखे । उनले भने – “राष्ट्र बैंकको पूँजी वृद्धि गरिएको, बैंकको सेवालाई जनतातर्फ फर्काइएकाले विधेयकमा धेरै नयाँ विशेषता बनेको छ, यसले राष्ट्र बैंकको क्षमतामा समेत वृद्धि गर्नेछ । निक्षेप तथा कर्जा सुरक्षण कोष विधेयक निक्षेप तथा कर्जा सुरक्षण कोष विधेयक, २०७३ आज सदनबाट बहुमतले पारित भएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त विधेयकमाथिको छलफलमा नेकपा (माओवादी केन्द्र)का सांसद जनकराज जोशी र नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्लेले भाग लिएका थिए । बैठकमा सांसदले उठाउनुभएको जिज्ञासालाई शान्त तुल्याउने क्रममा अर्थमन्त्री महराले विधेयकले जनताको निक्षेप र कर्जालाई राज्यले सुरक्षा गर्ने प्रत्याभूति गरेको जानकारी दिए । रासस

डाबर नेपाल र त्रिभुवन विश्वविद्यालय बीच सम्झौता

काठमाडौं, १६ भदौ । डाबर नेपाल र त्रिभुवन विश्वविद्यालय बीच फेलोशिपको स्थापना गर्ने सम्बन्घि सम्झौता भएको छ । उक्त सम्झौता अनुसार विश्वविद्यालयले योग्य विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नेछ । डाबर नेपालले विश्वविद्यालयको वनस्पतिशास्त्र विभागसँग हिमाली क्षेत्रमा औषधिमूलक र एरोमेटिक वनस्पतिमा सोध र विद्यावारिधि गरिरहेका विद्यार्थीहरुका लागि १० लाख रुपैयाँको पूर्ण छात्रवृत्ति प्रदान गर्न फेलोशिपको स्थापना गरेको हो । डाबर इन्डियाका पूर्व अध्यक्ष स्व. अशोक चन्द बर्मनको नाममा उक्त फेलोशिपको स्थापना गरेको जनाएको छ । सम्झौता अनुसार विद्यार्थीहरुले डाबरको अत्याधुनिक ग्रीन हाउसहरुको पनि प्रयोग गर्न पाउनेछन् । यस सोध कार्यको लागि डाबरको औषधिमूलक र एरोमेटिक वनस्पति विभागका प्रमुख डा. पंकज प्रसाद तिवारी को(सुपरभाइजर रहने छन् । हालको लागि त्रि.वि सँगको फेलोशिप सहकार्य ३ वर्षको हुनेछ । विगत दुई दशक देखि बनेपास्थित आफ्नो नर्सरीद्वारा डाबर नेपालले औषधिमूलक र एरोमेटिक वनस्पतिको उत्पादनको लागि कृषि प्रविधि र कृषकहरुलाई मुनाफा प्रदान गरिरहेको विज्ञप्तिमा उल्लेख छ । मुस्ताङ्ग, हुम्ला, जुम्ला, सुर्खेत, संखुवासभा जस्ता नेपालका दुर्गम स्थल र बिरगंजमा पनि डाबर नेपालले अनुबन्धित खेतीबाट विभिन्न औषधिमूलक र एरोमेटिक बोटबिरुवाको उत्पादन गरिरहेको छ ।

कोरियाबाट आउने ९६ प्रतिशत रेमिट्यान्स हुण्डीबाट, नेपाली रेमिट कम्पनीलाई कोरिया पठाउँदै राष्ट्र बैंक

काठमाडौं, १६ भदौ । कोरियामा रहेका नेपालीले गैरकानूनी रुपमा वार्षिक करिब ४१ अर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स भित्रने गरेको छ । सरकारी कोटामा (इपीएस) बाट कामका लागि कोरिया गएका नेपालीहरुले ९६ प्रतिशत आम्दानी हुण्डीबाट पठाउने गरेको पाइएको छ । गत आर्थिक वर्षमा कोरियाबाट ४३ अर्ब रुपैयाँ आउनुपर्नेमा बैंकिंग प्रणालीबाट २ अर्ब रुपैयाँ मात्रै रेमिट्यान्स नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले जानकारी दिए । सरकारी कोटाबाट कोरियामा जाने नेपालीले गैरकानुनी रुपमा रेमिट्यान्स पठाउने गरेकोले त्यसलाई रोक्न राष्ट्र बैंकले नेपाल सरकारलाई लिखित सुझाव नै दिइसकेको उनले जानकारी दिए ।  कोरियामा हाल ३० हजार नेपाली कार्यरत छन् । कोरियाली बैंकहरुसँग सम्झौता गरेर नेपालका करिब दर्जन रेमिट्यानस कम्पनीहरुले रेमिट्यान्स भित्र्याउनका लागि काम गरिरहेको उनले जानकारी दिए । ढुंगानाका अनुसार राष्ट्र बैंकले कोरियाबाट रेमिट्यान्स भित्र्याउनका लागि करिब दर्जन रेमिट्यान्स कम्पनीलाई इजाजत दिएको छ । जसअनुसार नेपाल रेमिट इन्टरनेशनलले कोरियाको पे गेट कम्पनीसँग सम्झौता गरेको छ । त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले कोरियन एक्सचेञ्जसँग, नविल बैंकले कोरियन एक्सचेञ्ज बैंक र कुकक मिन बैंकसँग रेमिट्यान्स कारोबारका लागि सम्झौता गरेको छ । त्यस्तै, ग्लोबव आइएमइ बैंक, एनएबी बैंक, सनराइज बैंकले कुक मिन बैंकसँग सम्झौता गरेका छन् भने हुलास रेमिट, सूर्य रेमिट, मायाँ रेमिटलले वेस्टन युनियन मनि ट्रान्सफरसँग सम्झौता गरेका छन् । सिजी फिन्कोले डिपजटेक बैंक र वेस्टन युनियन सँग सम्झौता गरेको छ । जसअनुसार कोरियामा कार्यरत नेपालीहरुले त्यहाँका बैंकमा गएर रकम जम्मा गरेपछि सम्झौता भएका संस्थामार्फत नेपालमा भुक्तानी मिल्छ । कोरिया सरकारले त्यहाँ रेमिट्यान्स कम्पनी दर्ता नदिएका कारण पनि यो समस्या देखिएको छ । तर पछिल्लो समयमा कोरिया सरकारले विदेशी रेमिट्यान्स कम्पनी पनि दर्ता गर्न मिल्ने कानून निर्माण गर्न उनले जानकारी दिए ।  कोरिया सरकारले कानून संसोधन गरेपछि नेपालका रेमिट्यान्स कम्पनीहरु कोरिया जाने र त्यसपछि हुण्डीको कारोबार क्रमश घट्ने राष्ट्र बैंकको विश्वास छ । कोरियाबाट पुँजी पलायन गर्न सक्रिय समूहले त्यहाँ कार्यरत नेपालीहरुलाई केही महंगोमा पैसा दिएर डलर किनेर सिंगापुर लगेर बेच्ने भएकाले कोरियामा कार्यरत नेपाली कामदारहरु हुण्डीमा आकर्षित भएको कार्यकारी निर्देशक ढुंगानाले बताए । आर्थिक वर्ष २०७०/०७१ मा एक अर्ब, २०७१/०७२ डेढ अर्ब र २०७२/०७३ मा दुई अर्ब रुपैयाँ मात्रै बैंकिङ च्यानलबाट नेपाल भित्र्एिको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।

यामाहाको दशैं अफर, हरेक साता जापानको सफर

काठमाडौं, १६ भदौ । नेपालीहरुको महान चाड दशैं र तिहारलाई लक्षित गरी यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ‘टेक्नो ट्रिप टु टोकियो’ ल्याएको छ । यो अफरअन्तर्गत हरेक हप्ता यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर किन्ने ग्राहकमध्ये एक जना भाग्यशाली ग्राहकले जापान भ्रमणको अवसर पाउनेछन् । साथै, हरेक ग्राहकले सीधै आठ हजार रुपैयाँ नगद छुट पाउने कम्पनीले जनाएको छ । अटोमोबाइल क्षेत्रमा विश्वमै परिचित ब्रान्ड यामाहाले अब हरेक साता हुने लकी ड्रमा जित हासिल गर्ने भाग्यशाली ग्राहकले जापानस्थित यामाहाको कम्युनिकेसन प्लाजा, प्लान्ट र अन्य पर्यटकीय क्षेत्रको अवलोकन गर्ने सुनौलो मौका पाउनेछन् । ‘प्रत्येक साता हामी एक जना भाग्यशालीलाई जापान भ्रमणमा पठाउनेछौं । विजेताहरुले यामाहाले प्रयोग गर्ने हालका अत्याधुनिक प्रविधि, भावी प्रविधि र कन्सेप्ट भेहिकलहरुको अवलोकन गर्नुहुनेछ,’ एमएलब्डुका सेल्स एन्ड बिजनेस डेभलोपमेन्ट–एजीएम दिपक रौनियारले भने, ‘यामाहाको प्रयोग गर्ने प्रविधिलाई भाग्यशाली ग्राहकले आफ्नै आँखाले हेर्ने र अनुभव गर्ने अवसर पाउनुहुनेछ ।’ एमएडब्लुले भर्खरै मात्र ‘स्पोर्टी’ स्कुटर रे जेडआर नेपाली बजारमा सार्वजनिक गरेको थियो । यसबाहेक बजारमा यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर, फेसिनो र रेजी लगायतका दुईपांग्रे उपलब्ध छन् । एमएडब्लुले अत्याधुनिक अटोमोबाइल प्रविधिजडित आर३को विक्रीलाई पनि तीव्र पार्ने भएको छ । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिन जडित छन् । त्यसैगरी, नेपालमा रेसिङ कल्चर भित्र्याउने श्रेय पाएको आर १५ को डिजाइन र इन्जिन रेसिङ बाइक आर १बाट प्रभावित छ जुन युवामाझ निकै लोकप्रिय छ । यामाहाको आर १५ र एफजेड सिरिजमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउने हुनार्ले यामाहाका बाइकहरुमा बढी माइलेज पाइने कम्पनीले जनाएको छ ।

सनराइज बैंकले दियो उद्यमीलाई तालिम

काठमाडौं, १६ भदौ । सनराइज बैंक लिमिटेडले उद्यमीलाई आधारभूत कर तथा लेखा नीति सम्बन्धी दोस्रो अभिमुखिकरण तालिमको दिएको छ । बैंकले प्रसिद्ध चाटर्ड एकाउन्टेण्ट सुदर्शनराज पाण्डेद्धारा उद्यमीहरुलाई आधारभुत कर तथा लेखा अभिमुखिकरण तालिम दिएको हो । सो कार्यक्रमको उद्घाटन बैंकका सहायक महाप्रबन्धक रबिन कुमार नेपालले गरेका थिए । आधुनिक सूचना प्रविधिको विकास संगसंगै व्यवसाय संचालममा पर्न सक्ने समस्याहरु र व्यवसाय संचालन पूर्व अपनाउनुपर्ने सामान्य विधिहरुको बारेमा जानकारी दिएको छ । साथै व्यवसायलाई अपेक्षित रुपमा बृद्धि गर्नु उद्यमीको प्रमुख चुनौती रहेको परिवेश र यथार्थलाई मध्यनजर राख्दै बैंकले आफ्ना ग्राहक वर्गमा वित्तीय परामर्श पुर्याउने हेतुले सनराइज बैंक एडभाइजरी सेलको स्थापना गर्ने बैंकले बताएको छ । यस बैंक “हामी संग संगै” भन्ने मूल नाराका साथ अगाडि बढिरहेको अवस्थामा आफ्ना ग्राहकहरुलाई “आधारभूत कर तथा लेखा नीति” सम्बन्धि सामान्य जानकारी दिने उद्देश्यले आफ्ना क्रियाकलापहरूको शुरुवात गरी भविष्यमा अझ सशक्त भूमिका निर्वाह गरी थप कार्यक्रमहरु संचालनमा ल्याउने प्रतिबद्घता व्यक्त गरेको छ । बैंकले विशुद्ध रुपमा नाफामूलक क्रियाकलापमा मात्र आफ्ना गतिविधिहरुलाई सीमित नराखी संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) वहन गर्ने अभिप्रायले यस्ता कार्यक्रमको तर्जुमा गर्न गईरहेको जानकारी गराएको छ । कार्यक्रममा उद्यमीहरूलाई सामान्य लेखाशास्त्रका सिद्धान्त, चालुपूँजी व्यवस्थापनका आधारभूत नियमहरुको बारेमा जानकारी दिइएको छ । नेपाल सरकारको कर नीति, कर विवरण तयार गर्दा ध्यान दिनुपर्ने सामान्य कुराहरु, कर दाखिला तथा चुक्ता प्रमाण हुन् । यसका साथै, व्यवसाय संचालन गर्दा ध्यान दिनुपर्ने अन्य सामान्य कुराहरु जस्तै व्यवसायिक योजना, वजार प्रबद्र्धन तथा बिक्री, व्यवसायिक वातावरणको विश्लेषण गरिएको थियो ।

निजी बैंकलाई डलर ल्याउन नदिइने, आगामी साता भित्र राष्ट्र बैंकले नै १ करोड डलर ल्याउदै

काठमाडौं, १६ भदौ । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई विदेशवाट अमेरिकी डलर ल्याउन स्वीकृति नदिने संकेत गरेको छ । बाणिज्य बैंकहरुले ल्याएको डलरको विनिमय दर कसरी निर्धारण गर्ने र त्यसले बजारमा अर्काे समस्या निम्तन सक्ने सम्भावना औल्याउदै राष्ट्र बैंकले स्वीकृति नदिने संकेत गरेको हो । नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, हिमालन र नविल बैंकले सिंगापूरवाट अमेरिकी डलर कार्गाे गरेर ल्याउने तयारी गरेका थिए । बजारमा नगद डलरको अभाव भएपछि राष्ट्र बैंकको सकारात्मक संकेतमा बैंकहरुले यस्तो तयारी गरेका थिए । बाणिज्य बैंकहरुले ल्याएको डलरको विनियम दर निर्धारणमा समस्या हुन सक्ने देखिएकोले उनीहरुलाई स्वीकृति दिन नसकिने देखिएको राष्ट्र बैंक स्रोतले जानकारी दियो । ‘बैंकहरुले ल्याएको डलरको विनिमय दर कसरी निर्धारण गर्ने भन्ने समस्या देखियो, एउटा बैंकमा डलर साट्दा एउटा दर र अर्काे बैंकमा साट्दा अर्काे दर हुने सम्भावना देखिएपछि बैंकहरुलाई स्वीकृति नदिने भन्ने भएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो । डलरको अभाव कम गर्न राष्ट्र बैंक आफैले सिंगारपूरवाट चार्टर गरेर अमेरिकी डलर ल्याउने तयारी अगाडि बढाएको छ । ‘डलर राष्ट्र बैंकले नै ल्याउनु पर्ने बाध्यत्मक अवस्था देखियो, यसको लागि सिंगापूरवाट १ करोड डलर ल्याउने तयारी अन्तिम अवस्थामा पुगेको छ,’ स्रोतले भन्यो । राष्ट्र बैंक आफैले डलर ल्याउनको लागि फाइल अगाडि बढेको छ । स्रोतका अनुसार सम्बन्धित विभागवाट फाइल उठेर डेपुटी गभर्नरको तहमा पुगेको छ । डेपुटी गभर्नरले फाइल सदर गरेर गभर्नरकोमा पठाएपछि सिंगापूरवाट डलर ल्याउनको लागि राष्ट्र बैंकका केही कर्मचारी सिंगापूर जाने छन् । यो कार्य आगामी साताको पहिलो वा दोस्रो दिन नै हुने र आगामी साताभित्रमै सिंगापूरबाट डलर नेपाल ल्याइसक्ने तयारी भएको स्रोतले जानकारी दिएको छ ।

टेलिकमले ल्यायो १२०० एमबी डाटा अफर, भदौ १८ गतेदेखि लागू हुने

काठमाडौं, १६ भदौ । नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरुका लागि शुभरात्री फेस्टिभल अफरको रुपमा शुभरात्री प्याकेज ल्याउने भएको छ । यो अफर राती ११ बजेदेखि विहान ५ बजेसम्म प्रयोग गर्न सकिने छ । कम्पनीका अनुसार उपभोक्ताले ५०० एमबी डाटा सब्सक्राइब गर्नका लागि SPECIAL500MB र १२०० एमबी डाटा सब्सक्राइब गर्नका लागि SPECIAL1200MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्ने छ । उपरोक्त महसुल दरमा नियमानुसार लाग्ने कर समावेश गरिएको छैन । उक्त अफर आगामी भदौ १८ गतेदेखि असोज १ गते (१५ दिन) सम्म लागू हुने कम्पनीले जनाएको छ ।

बिहीबार पनि बढ्यो सेयर बजार, नेप्से परिसूचकले नाघ्यो १८ सय

काठमाडौं, १६ साउन । यो साता लगातार सेयर बजार बढेको छ । बिहीबार पनि नेप्से परिसूचक ७ दशमलब ७३ अंकले बढेर १८०५ दशमलब १८ अंकमा पुगेको छ । यो साताभरिकै उच्च अंक हो । सो दिन १४४ कम्पनीको १७ लाख ९९ हजार कित्ता सेयर १ अर्ब ३५ करोड ४३ लाख रुपैयाँमा किनबेच भएको छ । आज कारोबार रकममा भने गिरावट भएको छ । बिहीबार बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकको सबैभन्दा बढी ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन बैंकको सेयर मूल्य १ हजार ८५ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बङ्गलादेश बैंक, माछापुछ्रे  बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एनएमबी बैंकको करिब ५ करोड बढी रुपैयाँमा सेयर किनबेच भएको छ । सो दिन विकास बैंक, बैंकिङ् र फाइनान्स समूहको परिसूचक बाहेक अन्य बाकी समूहको परिसूचक ओरालो लागेका छन् । विकास बैंक, बैंकिङ् र फाइनान्स समूहको परिसूचक क्रमशः २२, ११ र ४ अंकले बढेको छ । सबैभन्दा बढी बीमा इन्स्योरेन्सको परिसूचक २४ अंकले घटेको छ । त्यस्तै, हाइड्रोपावर समूहको २० अंकले बढेको छ भने अन्य ३ समूहको परिसूचक सामान्य अंकले घटेको छ । सो दिन सबैभन्दा बढी साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका लागानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । त्यस्तै, त्रिभेणी विकास बैंक र अरनिको डेभलपमेन्ट बैंकका लागानीकर्ताले करिब ९ प्रतिशत कमाएका छन् । सबैभन्दा बढी प्रोगेसिभ फाइनान्सका लागानीकर्ताले करिब ६ प्रतिशत गुमाएका छन् ।