विकासन्युज

अनधिकृत व्यापारलाई रोक्न ऐन ल्याउदै सरकार, डिजिटल कारोबारलाई प्रोत्साहित गरिने

काठमाडौं, २२ भदौ । बजार दिन प्रतिदिन मौलाउँदै गएको अनधिकृत व्यापारलाई रोक्न सरकारले ऐन ल्याउने भएको छ । बढ्दै गएको अनधिकृत व्यापारलाई रोक्न, वस्तु एवम् सेवाको प्रत्यक्ष कारोबारलाई निरुत्साहित गरी डिजिटल कारोबारलाई प्रोत्साहन गर्न सरकारले व्यवस्थापन तथा नियमन ऐन ल्याउने लागेको हो । खासगरी नेटवर्किङ व्यवसायलाई निरुत्साहित गर्न यो ऐनको मस्यौदा वाणिज्य मन्त्रालयले तयार पारेको हो । मस्यौदामा नेपालमा पिरामिड सैलीमा सदस्य सङख्या बढाएर कारोबार हुँदै आएको नेटवर्किङ सम्बन्धि व्यापारको अन्त्य गरिने तथा त्यस्तो स्वीकृत नलिइ त्यस्तो व्यापार सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ । अहिले ऐन नहुँदा विभिन्न लोभमा परेर परेर अनधिकृत व्यापार गर्नेहरुले उपभोक्ता ठग्दै आएका छन् । प्रत्यक्ष कारोबारका घटनामा दोषी पाइएमा न्यूनतम १ वर्ष कैद तथा ३ लाख रुपैयाँ जरीवाना र अधिकतम १४ वर्ष कैद तथा २८ लाख रुपैयाँ जरीवाना तिर्नुपर्ने प्रावधान पनि मस्यौदा तयार पािरएको रहेको छ । वाणिज्य मन्त्रालयले वस्तु तथा सेवाको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन ऐन)का लागि विधेयकको मस्यौदा तयार गरी राय सुझावको लागि कानुन मन्त्रालय पठाइएकोे छ । वस्तु तथा सेवाको अनधिकृत बिक्री वितरण बढेर उपभोक्ता ठगिएको गुनासो चौतर्फी रुपमा आएपछि सरकारले यसको व्यवस्थापन र नियमनका लागि ५ महिनाअघि ऐनको मस्यौदा राय, सल्लाह तथा सुझावको लागि कानुन मन्त्रालय पठाएको हो । प्रत्यक्ष कारोबारका लागि सरकारी इजाजत लिनुपर्ने प्रावधान भए पनि अनुमति नलिइ अनधिकृत रूपमा यस्ता कारोबार हुँदै आएका छन् । ‘यस्तो कारोबारलाई निरुत्साहित गर्न, औपचारिक कारोबारलाई बढ्वा दिन आवश्यक छ,’ वाणिज्य मन्त्रालयका प्रवक्ता रवि शंकर सैंजुले भने ‘यो ऐनले यस्तो प्रकृतिको व्यवसाय गर्ने कारोबारीहरुलाई थप व्यवस्थापन र नियमन गर्छ ।’ केही वर्षयता वस्तु उत्पादन गरी तिनको प्रत्यक्ष बिक्री गर्ने तथा डिजिटल कारोबार गर्नेजस्ता प्रत्यक्ष कारोबार गर्ने प्रवृत्ति बढेको छ । उक्त मस्यौदामा इजाजत लिएरमात्र वस्तुको कारोबार गर्नुपर्ने, अप्रमाणित तथा भ्रमपूर्ण विज्ञापन जारी गर्न नपाइने, बिक्री गर्ने वस्तुको गुणस्तर कायम गर्नुपर्ने, करार गरेरमात्र काममा लगाउनु पर्ने लगायत शर्तहरू राखिएका छन् । त्यस्तै वस्तु तथा सेवाको अनधिकृत कारोबारको अनुगमनका लागि केन्द्रीय तथा क्षेत्रीय समिति गठन गर्ने गरिने भएको छ । यसका लागि केन्द्रमा वाणिज्य सचिव र जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा अनुगमन समिति गठन गरिने व्यवस्था पनि मस्यौदामा राखिएका छन् ।

सर्वोत्कृष्ट निजामती पुरस्कारः अर्थ सचिव शान्तराज सुवेदीलाई

काठमाडौ २२ भदौ । यस वर्षको ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव शान्तराज सुवेदीलाई दिइने भएको छ । सुवेदी हाल अर्थ सचिवमा सरुवा भएका हुन् । मुख्य सचिव डा. सोमलाल सुवेदीको सयोजत्वका गठित पाँच सदस्यीय पुरस्कार छनौट समितिले सचिव सुवेदीलाई सर्वोत्कृष्ट पुरस्कार दिइने निर्णय गरेको सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिए । पुरस्कारको राशि दुई लाख रहेको छ । यसैगरी यसवर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई दिइने भएको छ । समितिले सिफारिस गरेअनुसार पुरस्कार पाउनेमा किरण पौडेल सहन्यायधिवक्ता महान्याधिवक्ताको कार्यालय, देवेन्द्र कार्की सहसचिव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खगेन्द्रप्रसाद सुवेदी मुख्य मनोविज्ञान वेत्ता सहसचिव लोक सेवा आयोग गजेन्द्रबहादुर श्रेष्ठ उपमहालेखा नियन्त्रक महालेखा नियन्त्रकको कार्यालय, प्रदीपराज कँडेल उपसचिव गृहमन्त्रालय रहेका छन् । यसैगरी हुमबहादुर केसी उपसचिव कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, माधवप्रसाद लामिछाने निर्देशक महालेखा परीक्षकको कार्यालय, हरिबाबु पोखरेल उपसचिव अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गोकुल बस्नेत उपसचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कृष्णवहादुर बोगटी इन्जिनियर खानेपानी तथा सरसफाइ कार्यालय बझाङ रहेका छन्। पुरस्कारको राशि जनही एक लाख रहेको छ । यसैगरी निजामती सेवा पुरस्कार ३० जना निजामती कर्मचारीलाई दिइने मन्त्रालयका सूचना अधिकारी चेम्जोङले जानकारी गराए । उक्त पुरस्कारको राशि ५० हजार रहेको छ । तीनवटै पुरस्कार बुधबार नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजना गरिने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले वितरण गर्ने मन्त्रालयका उपसचिव सुप्रभा खनालले जानकारी गराए । यसैगरी ‘सेवानिवृत राष्ट्र सेवक कर्मचारी सम्मान’को बुधबार दिवसको अवसरमा नाम घोषणा गरिनेछ । उपसचिव खनालका अनुसार अवकास प्राप्त ५० जनालाई दिइने उक्त सम्मान पछि मन्त्रालयमा आयोजित कार्यक्रममा वितरण गरिनेछ । आज १३ औ निजामती सेवा दिवस मनाइदै छ । अहिले करिब ८३ हजार निजामती कर्मचारी रहेका छन् । रासस

अम्बे सिमेन्टद्वारा बिष्णु जनज्योति स्कुललाई आर्थिक सहयोग

काठमाडौं, २२ भदौ । अम्बे ग्रुपअन्तर्गतको अम्बे सिमेन्टले रामेछापको माकादुम स्थित विष्णु जन ज्योति सेकेण्डरी स्कुललाई आर्थिक सहयोग गरेको छ । कम्पनीले विष्णु जन ज्योति सेकेण्डरी स्कुललाई एक लाख ११ हजार एक सय ११ रुपैंयाँ सहयोग गरेको हो । अम्बे ग्रुपका अध्यक्ष हरि प्रसाद न्यौपानेले सहयोग रकम विद्यालयका प्रिन्सिपल रिप बहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन् । सहयोग रकम विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको छात्रवृत्तिका लागि उपयोग गरिने बताए । साथै उनले उक्त आर्थिक सहयोगको लागि अम्बे सिमेन्टलाई धन्यवाद दिँदै थप सहयोगका अपेक्षा समेत व्यक्त गरे । अम्बे ग्रुपका अध्यक्ष हरि प्रसाद न्यौपानेले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिकाको शिक्षाको लागि सहयोग गरेको बताएका थिए ।

श्री एयरलाइन्सले जहाजबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्दै,  एक वर्षभित्रमा पाँच अर्ब लगानी

काठमाडौं २२, भदौ । हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले नियमित उडानका जहाजको अनुमति पाएको छ । १७ वर्षदेखि नियमित रूपमा हेलिकोप्टर उडाइरहेको यो कम्पनीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानको जहाज थप गरेर नियमित उडानको अनुमति दिएको हो । मन्त्रालयबाट मंगलबार फिक्स विंग्स (पंखा जडित) जहाज संचालनको इजाजतपत्र (लाइसेन्स) श्रीले पाएको छ । ‘मन्त्रालयबाट इजाजत पाएकोले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान संचालन अनुमित (एओसी) लिएर आगामी तीन महिनाभित्रमा आन्तरिक गन्तव्यमा जहाज उडाउँछौ’, श्री एयरलाइन्सका प्रवन्ध निर्देशक सुधीर मित्तलले भने । उनका अनुसार डेढ दशक लामो समय हेलिकोप्टर (रोटर विंग्स) संचालन गरेको अनुभवलाई आन्तरिक उडानमा पनि प्रयोग गर्न लागिएको हो । श्रीले हेलिकोप्टरमार्फत आन्तरिक र अन्तर्राष्ट्रिय दुबै अनुमति थप गर्न खोजिएको हो । मंगलबारबाट आन्तरिक उडानको लागि भने इजाजत थप भएको छ । जहाज उडान सुरुसँगै आवश्यक प्रक्रिया पू¥याएर अन्तर्राष्ट्रिय उडान अनुमतिसमेत लिने श्रीले जानकारी दिएको छ । अहिलेको श्रीको प्राथमिकता आन्तरिक गन्तव्यमा हो भने ६ महिना भित्रमा क्षेत्रीय अन्तर्राष्ट्रिय गन्तव्यको उडानको पनि भएको मित्तलको भनाइ छ । आन्तरिक उडान संचालन सुरु गरेपछि आवश्यक प्रक्रिया मिलाएर अन्तर्राष्ट्रिय उडानमा जानुपर्ने भएकोले हामीले छिटो गर्ने भन्दाभन्दै पनि प्रक्रिया पूरा गर्न समय लाग्न सक्ने मित्तलको बुझाई छ । हालका लागि भारतका विभिन्न सहरका गन्तव्यबाट अन्तर्राष्ट्रिय उडानमा जाने र आवश्कता अनुसार एयरवस वा वोइङका जहाजमा थप गर्दै मध्यपूर्वी मुलुकपनि जान सकिने मित्तलको भनाई रहेको बुधबारको अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ । आन्तरिक उडानमा दुई अर्ब रुपैयाँसम्मको लगानी योजना बनाएको मित्तलले जानकारी दिए । मित्तलको एकल लगानी रहेको यो वायुसेवाले उड्डयन क्षेत्रमा क्रियाशील भएर लागिएसकेपछि आक्रामक योजना बनाएरै आगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । १७ वर्षको हेलिकोप्टर उडानको अनुभवबाट जहाज उडान नेपालमा श्रीले एमआई १७ नामक ठूला र एएस ३५० बी ३ नामक साना हेलिकोप्टर संचालन गरिरहेको छ । हेलिकोप्टरमा राम्रो सेवा गरेको अनुभवलाई नै जहाजमार्फत अन्तरिक र अन्तर्राष्ट्रिय उडानमा प्रयोग गर्ने योजना बनेको श्री एयरका कर्पोरेट प्रवन्धक अनिल मानन्धरको भनाइ छ । श्रीले आन्तरिक उडानका लागि ५० सीट क्षमताका सीआर जे २०० नामक तीनवटा जहाज ल्याउने भएको छ । तत्काल दुईवटा यो जहाज ल्याएर उडान संचालन गरिहाल्ने योजना श्रीको छ । काठमाडौं विमानस्थललाई आधार बनाएर माउन्टेन फ्लाइट, भन्द्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीसहितका शहरी क्षेत्रका विमानस्थल (ट्रङ्क रुटका) गन्तव्यमा उडान गर्ने योजना यो वायुसेवाको छ । आन्तरिक उडानका यी गन्तव्यमा उडान गर्न सीआरजे २०० नामका जहाजबाट उडान हुन्छ । देशभित्र उडान गर्न ५० र ७० सीटका क्षमतामा जहाज हेरिएको मानन्धरको भनाइ छ । उड्डयन नियम अनुसार कम्तिमा दुईवटा जहाज संचालन गर्नुपर्ने भएकोले एकैपटक दुईवटा र थप एक गरी दुइटै क्षेत्रमा तीनतीन वटा जहाज हुने छ । अन्तर्राष्ट्रिय उडानका लागि ईआरजे १९० सिरिजका ११० सीटक्षमताको जहाज ल्याउन प्रक्रिया अगाडि बढेको छ । अन्तर्राष्ट्रिय उडानका गन्तव्यमा भारतीय सहर हैदराबाद, मुम्मै, मदरास, बैग्लोर, कोलकत्ता, वनारसलगायतका गन्तव्य रहेको उल्लेख छ । अन्तर्राष्ट्रिय उडान गर्न ब्राजिली जहाज निर्माता कम्पनी एम्ब्रेयरमा निर्मित १ सय १० सिट क्षमतायुक्त ‘इआरजे–१९०’ सिरिजका तीनथान जहाज ल्याउने गरी योजना तय भैसकेको छ । श्री का अनुसार जहाज तयारी अवस्थामा रहेकोले उड्डयन प्राधिकरणबाट अनुमति पाउनेवित्तिकै काठमाडौं आइहाल्ने जानकारी दिएको छ । डेढ दशकदेखि हेलिकोप्टर संचालन गरिरहेको यो कम्पनीले लामो समयदेखि नियमित उडानको जहाज संचालन गर्न पनि आन्तरिक योजना बनाइरहेको थियो । नेपालमै रोजगारी बढाउने उद्देश्यले हवाइ क्षेत्रमै आक्रामक लगानी गर्न थालेको पनि मित्तलको भनाइ छ । जहाज उडानमा प्रतिस्पर्धामा जाने आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न श्रीले आफ्नो व्यापारिक योजनालाई फराकिलो दायरा बनाएर अगाडि सारिएको जानकारी दिएको छ । श्रीले हाल साना र ठूला गरी १० वटा हेलिकोप्टर सञ्चालन गरिरहेको छ । नेपालसहित अफ्रिकी मुलुकमा पनि श्रीले एमआई १७ नामक ठूलो हेलिकोप्टर उडाइरहेको छ । हाल श्रीसँग रुसमा निर्मित २४ सिट क्षमताका ६ वटा एमआई–१७ नामक ठूलो हेलिकोप्टर छ । फ्रान्सेली वायुसेवा कम्पनी एयरबस हेलिकोप्टर्सले निर्माण गरेको पाँच र ६ सिट क्षमताका अर्को चारवटा ‘एएस३५० बिथ्रिई’ नामका साना होलिकोप्टर पनि छन् । हेलिकोप्टर सेवाप्रदाकय कम्पनीबाट नियमति उडानका आन्तरिक वायुसेवामा जाने कम्पनी श्री नै पहिलो होइन । यस अघि गोर्खा र कस्मिक एयरले पनि ठूलो हेलिकोप्टरसँगै नियमति उडानका जहाज संचालन गरेका थिए । आफूसँग भएको वर्षोदेखिका आन्तरिक र अन्तर्राष्ट्रिय हेलिकोप्टर सेवाको अनुमति तथा सेवालाई विस्तार गरेर जहाजमा पनि जान लागेको श्रीको भनाइ छ ।

मोबाइल हब बन्दै सीटीसी मल, सीटीसीको आयोजनामा भदौ ३१ देखी मोबाईल एक्स्पो

काठमाडौं २२, भदौ । काठमाडौंको सुन्धारास्थित सीटीसी मल मुलुककै ठूलो मोबाइल हबका रुपमा सञ्चालनमा आएको छ । सीटीसी मोबाइल बजार बजार व्यवस्थापनले नयाँ अवधारणसहित तीन, चार, पाँच र छैठौं तलामा ग्राहकका लागि सुविधासम्पन्न मोबाइल बजार स्थापना गर्न सफल भएको हो । सीटीसी मोबाईल बजारमा सबै किसिममा मोबाइल, सर्भिस सेन्टर तथा मोबाइलका लागि चाहिने सबै किसिमका एसोसरिजहरु सुपथ मुल्यमा उपलब्ध रहेको ब्यबस्थापकले जानकारी दिएको छ । सीटीसी मलको पाँचौ र छैठौं तल्लामा २० भन्दा बढी मोबाइल सर्भिस सेन्टरहरु रहेका छन् । जसमध्ये हुवावे, माइक्रोम्याक्स, जियोनी, लाभा, एम आई, पानासोनिक, कार्वन, स्पाइस, ओविआई, रेज, केन्ट, सेलकन, टचकन, फ्लाई, विनकम, किवी लगायत ब्राण्डका मोबाइल सर्भिस सेन्टरहरु रहेका छन् । यस्तै सामसुङ्ग, लेनेभो, जोप्पो, सिजी र लक्ष्मी गु्रपबाट प्रबद्र्वित नयाँ मोबाइलको सर्भिस सेन्टर पनि छिट्टै सञ्चालनमा आउने सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले जानकारी दिए । मलको तेस्रो र चौथो तल्लामा सबै ब्राण्डका मोबाइल पसलहरु सञ्चालनमा रहेका छन् । पछिल्लो समय सपिङ्ग मलहरुको संख्या बढ्दै गएकोमा यो मललाई मोबाइल बजारका रुपमा चिनाउन र सबै मोबाइल प्रयोगकर्ताको सहजताका लागि मोबाइल बजार सञ्चालनमा ल्याएको अध्यक्ष श्रेष्ठले बताए । नेपालमा प्रविधिको विकाससँगै बढ्दो मोबाइलको प्रयोग गर्ने आम नेपालीको अधिकार सुरक्षित गर्दै छिटपुट रुपमा रहेका मोबाइल बजारको विकल्पको रुपमा सीटीसी मोबाइल बजार सञ्चालनमा ल्याइएको पनि मोबाइल बजारका अध्यक्ष श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार मोबाईल बजारले नेपालमा सञ्चालित सबै कम्पनीले विक्री गर्ने मोबाइलहरु सर्भिसका लागि विभिन्न तालिमहरु समेत दिने योजना रहेको छ । यसैबीच सीटीसी मोबाइल बजारको आयोजनामा आगामी भदौ ३१ गते मोबाईल एक्स्पो हुने भएको छ ।

काफ्लेलाई बर्खास्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव, पेट्रोलियम पदार्थको मूल्य घटबढ नगर्न निर्देशन

काठमाडौं २२, भदौ ।  उर्जा मन्त्रालयले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई बर्खास्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउन पहल उठाएको छ । मूल्यांकन समितिले गरेको मूल्यांकनउपर पुन मूल्यांकनका लागि मन्त्रिपरिषदले गत भदौ २ गते गठन गरेको स्वतन्त्र प्यानल गठन गरेको थियो । उक्त प्यानलले प्रस्ताव गरे बमोजिम प्रधानमन्त्री कार्यालयले गत साता उर्जा मन्त्रालयलाई पत्राचार गरेपछि उर्जाले काफ्लेलाइृ हटाउन प्रस्ताव उठाएको हो । काफ्ले उर्जा मन्त्रालयबीच भएको कार्यसम्पादन सम्झौताअनुसार मन्त्रालयले गठन गरेको मूल्यांकन समितिले काफ्लेलाई अनुतिर्ण गरेको थियो । त्यसपछि उनले स्वतन्त्र मूल्यांकनको लागि भन्ज्दै मन्त्रिपरिषदमा निवेदन दिएका थिए । पेट्रोलियम पदार्थको मूल्य घटबढ नगर्न नेपाल आयल निगमलाई निर्देशन आपूर्तिमन्त्री दीपक बोहोराले दशैं, तिहार, छठ पर्व अवधिभर पेट्रोलियम पदार्थको मूल्य घटबढ नगर्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन् । मन्त्री बोहोराले असोज एक गतेदेखि कात्तिक २१ गतेसम्म मूल्य समायोजन नगर्न निर्देशन दिएको खबरआजको कारोमारमा छापिएको छ। नेपालीको मुख्य चाडपर्वका बेला अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिम समायोजन गर्दा उपभोक्ता मारमा पर्ने र इन्धनको समेत अभाव हुन सक्ने भन्दै यस्तो निर्देशन दिइएको हो । मन्त्री बोहोराले यस वर्ष दशैं, तिहार र छठ पर्व अवधिभर न्यून मूल्य राखेरै भए पनि उपभोक्तालाई बढीभन्दा बढी छुट दिने व्यवस्था मिलाउनसमेत निजी क्षेत्रका व्यापारीहरुलाई आग्रह गरेका छन्।

अब युट्युबबाटै संसद बैंठक लाइभ, मोफसलका सञ्चारमाध्यम लाभाविन्वत हुने

काठमाडौं २२, भदौ  । व्यवस्थापिका संसदका हरेक बैठक अब युट्युबबाटै प्रत्यक्ष प्रसारण गर्ने गरी संसद सचिवालयले गृहकार्य अघि बढाएको छ । ‘पार्लियामेन्ट अफ नेपाल लाइभ’ मा डाउनलोड गरेपछि नेपालको संसदको प्रत्यक्ष प्रसारण हेर्न पाइने गरी संसद सचिवलायले गृहकार्य अघि बढाएको हो । यद्यपि, यसबारे अन्तिम निर्णय हुन भने बाँकी रहेको बुधबारको राजधानी दैनिकमा समाचार छापिएको छ । सभामुख ओनसरी घर्ती मगर, व्यवस्थापिका संसदका महासचिव मनोहरप्रसाद भट्टराई, सैसद सचिव हिलाल सुबेदी रु सोमबहादुर थापाको संयुक्त छलफलपछि बैठकको युट्युवमा लाइभ गर्ने निष्कर्ष निकालिएको स्रोतले बतायो । व्यवस्थापिका संसदका हरेक बैठकको प्रतयक्ष प्रसारण युट्युवबाट गए मोफसलमा रहेका सञ्चारमाध्यमसमेत लाभाविन्वत हुने भएका छन् ।

कुमारीको पारिश्रमिक तीन हजार रूपैयाँ

काठमाडौं २२, भदौ । जीवित देवी मानिने कुमारीको मासिक पारिश्रमिक कति होलारु कसैले कुमारीको पारिश्रमिक ३ हजार रूपैयाँ मात्र छ भन्यो भने ठट्टा ठानेर नहाँस्नुहोला। भक्तपुरकी कुमारीलाई कौसि तोषाखानाबाट २ हजार १ सय ५० रूपैयाँ र गुठी संस्थानको भक्तपुर सूर्यविनायकस्थित शाखाबाट ९ सय रूपैयाँ गरी मासिक पारिश्रमिक जम्मा ३ हजार रूपैयाँ मात्रै रहेको बुधबारको नागरिक दैनिकमा समाचार छापिएको छ। भक्तपुर तलेजु मन्दिरका मूल नाइके नरेन्द्रप्रसाद जोशीले कुमारीको तलब वृद्धभत्ता जति पनि नभएको भन्दै दुःख व्यक्त गरे। ‘तलब रकमले कुमारीकै अपमान गरेजस्तो लाग्छ,’ तलेजुका मूल नाइके जोशीले भने,‘ बरू वृद्ध भत्ता मासिक दुई हजार छ।’ काठमाडौं र ललितपुरका कुमारीको तलब भने भक्तपुरकी कुमारीको भन्दा बढी छ। २०४१ साल यता कुमारीलाई भत्ताको व्यवस्था गरिएको हो।