
काठमाडौं । एभरेष्ट बैंक र लक्ष्मी बैंकबीच मर्जका लागि भएको प्रयास अबरुद्ध भएको छ । पछिल्लो समय मर्जको लागि लक्ष्मी बैंक लचिलो बनेको छ तर एभरेष्ट बैंक टाँढिदै गएको छ ।
दुई बैंकबीच मर्जको लागि विगत एक वर्षदेखि प्रयास भएको थियो । दुबै बैंकले राष्ट्र बैंकबाट अनुमति लिएर विदेशी कम्पनी इएण्डवाईबाट डीडीए गराएका थिए । उक्त डीडीए रिपोर्ट थन्किएको छ भने दुई बैंकबीच सम्वाद टुटेको छ ।
लक्ष्मी बैंक अझै मर्जको लागि लचिलो रहेको पाइएको छ भने एभरेष्ट बैंक मर्जबाट टाँढिदै गएको छ । एभरेष्ट बैंकले यसअघि कुमारी, तत्कालिन किष्ट र नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जको प्रयार गरेर अन्तिममा तोडेको थियो ।
एभरेष्ट बैंकको पछिल्ला गतिविधि र मर्ज बारे उसको इतिहास सम्झेरै यतिबेला लक्ष्मी बैंकको मनमा चिसो पसेको छ ।
शर्तपछि शर्त
पहिला डीडीए रिपोर्टका आधारमा स्वाप रेसियो तय गर्ने, त्यसपछि मर्ज सम्बन्धि सम्झौता गर्ने एभरेष्ट बैंकको प्रस्तावका आधारमा दुबै बैंकले डीडीए गराए ।
डीडीए विदेशी कम्पनीबाट गराउने एभरेष्ट बैंकको अडानपछि राष्ट्र बैंकबाट स्वीकृति लिएर दुबै बैंकले इएण्डवाई नामक अन्तराष्ट्रिय अडिट कम्पनीबाट डीडीए गराए । डीडीए गर्ने कम्पनी छनौट गर्दा पनि एभरेष्ट बैंकको निर्णायक भूमिका रहेको बताइएको छ ।
डिडिए रिपोर्टमा एभरेष्ट बैंकको सेयर मूल्य प्रतिकित्ता १०० रहदाँ लक्ष्मी बैंकको सेयर मूल्य प्रतिकित्ता ६० हुने उल्लेख गरिएको छ ।
स्रोतका अनुसार गत चैतमा डिडिए रिपोर्ट आएपछि एभरेष्ट बैंकले नयाँ सर्त राख्यो । उसले फेरि २०७५ असार मसान्तको वित्तीय विवरणलाई पनि आधार मानेर मर्ज गर्ने अडान लियो । दुबै बैंकले असार मसान्तको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।
यतिबेला एभरेष्ट बैंक र लक्ष्मी बैंकबीच मर्जको विषयमा वार्ता टुटेको छ । एभरेष्ट बैंकका अध्यक्ष विके श्रेष्ठ लण्डनमा गएर बसेका छन् । अध्यक्ष विदेशमा रहेको जनाउँदै एभरेष्ट बैंक वार्तामा बस्न मानेको छैन ।
‘सबै तयारी पुरा भयो, वित्तीय वितरण पनि आयो । समय धेरै बितिसक्यो, अचेल दुई पक्षबीच वार्ता हुुन सकिरहेको छैन’ स्रोतले भयो ।
लक्ष्मी बैंक अप्ठ्यारोमा
लक्ष्मी बैंकको सञ्चालक समिति मर्जप्रति इमान्दार देखिएको छ तर मर्ज प्रक्रिया लम्बिदा लक्ष्मी बैंकलाई नै अप्ठ्यारो परेको छ ।
यस बैंकको प्रमुख कार्यकारी अधिकृत सुधेश खालिङको कार्यकाल तीन महिनाअघि नै सकिएको हो । एभरेष्टले असार मसान्तको वित्तीय विवरण हेर्ने भनेपछि बैंकले खालिङको कार्यकाल तीन महिना मात्र थपेको पाइएको छ ।
खालिङका लागि थपिएको तीन महिनाको कार्यकाल पनि सकिएको छ । उनी भदौं १० देखि बिदामा बस्दैछन् । ‘मर्ज हुन्छ नै भनेर हामीले सीईओ थोरै समयका लागि लियौं । यतिबेला मर्ज प्रक्रिया गतिहिन भएको छ’ लक्ष्मी बैंकका एक सञ्चालकले भने ।
मर्ज हुने भनेपछि कर्मचारीमा पनि अन्याैल्ता देखिएको छ । बैंकको वार्षिक योजना र कार्यक्रम प्रभावित भएका छन् । विजनेश र ब्राण्डिङका काम प्रभावित भएका छन् ।