एनसेलले पायो फ्रोस्ट एण्ड सलिभन नेपाल मोबाईल सेवा प्रदायक २०१६ अवार्ड
काठमाडौं, ३० असोज । नेपालको पहिलो निजी क्षेत्रको मोबाईल सेवा प्रदायक कम्पनी एनसेल प्राईभेट लिमिटेड लगातार दोस्रो वर्ष फ्रोस्ट एण्ड सलिभन नेपाल मोबाईल सेवाप्रदायक २०१६ अवार्डबाट सम्मानित भएको छ । यो पुरस्कार एनसेललाई अन्र्तराष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एण्ड सलिभनले प्रदान गरेको हो । यो पुरस्कार फ्रोस्ट एण्ड सलिभनले प्रदान गर्ने एशिया प्रशान्त सर्वश्रेष्ठ अभ्यास पुरस्कार उप–समुह अन्र्तगत पर्दछ । यसले एशिया प्रशान्तको अटोमोटिभ, उर्जा, भवन निर्माण तथा पर्यावरण, स्वास्थ्य सेवा र सूचना तथा संचार प्रविधिलगायतका क्षेत्रहरुमा हजारौ कम्पनीहरु मध्ये सबैभन्दा राम्रो अभ्यास गर्दै आएको कम्पनीलाई यो सम्मान प्रदान गर्ने गरेको छ । ग्राहक संख्या, मोबाईल सेवाको आम्दानी, प्रतिग्राहक मिश्रित औषत आय, प्रतिग्राहक आयको वृद्घि, सेवा अथवा व्यवसायमा नविनता लगायतका बजारमा कम्पनीहरुको वास्तविक विविध सूचकहरुको आधारमा पुरस्कार पाउने कम्पनीहरुको मुल्याङ्कन गरिएको आयोजकले जनाएको छ । एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स् भनेका छन्–‘ग्राहकमा ध्यान केन्द्रित गर्दै उनीहरुको विभिन्न संचार सेवाको आवश्यकताहरुलाई परिपुर्ति गर्ने हाम्रो प्रयासले फेरी एक पटक अन्र्तराष्ट्रिय रुपमा सम्मान पाएको छ ।’ लगातार दोस्रो वर्षको यो सम्मानबाट प्रात्साहित एनसेल, आफ्नो नेटवर्कमा महत्वपूर्ण सुधार ल्याउन र अझ थप नविन सेवाहरु देशैभर पुर्याउन प्रतिवद्ध रहेको उनको भनाई छ । ‘हामी नेपालीजनतालाई निरन्तर रुपमा उत्कृष्ट र दिगो सेवाप्रदान गर्न कतिवद्घ छौ’ प्रबन्ध निर्देशक पर्किन्सको भनाई उदृत गर्दै कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सेञ्चुरी बैंकले अरनिको डेभलपमेन्ट बैंक एक्वाएर गर्ने, माघभित्र चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्ने
काठमाडौं, ३० असोज । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले धुलिखेलस्थित क्षेत्रीय स्तरको अरनिको डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति (एक्वाएर) गर्ने भएको छ । यस विषयमा दुई बैंकबीच आइतबार सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर भएको छ । सेन्चुरी बैंकले प्राप्ति सम्बन्धि कार्य २०७३ माघ महिनाभित्र सम्पन्न गरी एकिकृत कारोबार गर्ने लक्ष्य लिएको जनाएको छ । हाल सेञ्चुरी बैंककोे चुक्ता पूँजी २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । यस बैंकले ८५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरिसकेको छ । यसअघि सेञ्चुरी बैंकले २९ करोड ०५ करोड चुक्तापूँजी रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्झौता हस्ताक्षर गरिसकेको छ । दुबै संस्था (सेञ्चुरी बैंक लि. तथा अरनिको डेभलपमेन्ट बैंक लि.) को गत आ.व. को मुनाफा आफ्नै पूँजीमा बाडेर समाहित हुने हुँदा एकिकृत कारोबार पश्चात् सेञ्चुरी बैंकको पूँजी ५ अर्ब भन्दा माथि पुग्ने सेन्चुरी बैंकले जनाएको छ । त्यसैगरी इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्तिपछि सेञ्चुरी बैंकले ५० भन्दा बढी शाखा कार्यालयहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्ने छ । प्राप्ति, हकप्रद तथा मुनाफा आर्जनबाट सेञ्चुरी बैंकले तोकिएको पूँजी पुर्याउने लक्ष्य लिएको बैंकले जनाएको छ ।
आरएसडीसी लघुवित्तको ४ लाख कित्ता साधारण सेयर बाँडफाँड
काठमाडौं, ३० असोज । आरएसडीसी लघुवित्त बिकास बैंकले जारी गरेको ४ लाख कित्ता साधारण सेयर बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलमा सो मात्रामा साधारण सेयर बाँडफाँड भएको हो । उक्त सेयर आवेदकहरुले न्युनत्तम ११ कित्तादेखि शून्य दशमलब ३८ प्रतिशतसम्म शेयर पाएका छन् । ५ हजार रुपैयाँ वा ५० कित्तादेखी २ लाख ५५ हजार रुपैयाँ वा २५५० कित्ता शेयरमा आवेदन दिनेहरु गोलाप्रथाबाट छानिएका छन् । उनीहरुले १० कित्ताको दरमा शेयर पाएका छन् । त्यस्तै, २५६० कित्ता देखि ४ हजार कित्ता शेयरको लागि आवेदन दिनेले ११ देखि १४ कित्तासम्म शेयर पाएका छन् । यो वर्गकालाई शून्य दशमलब ३५ देखि शून्य दशमलब ३८ प्रतिशतको दरमा शेयर बाँडफाँड गरिएको हो । हाल बैंकको चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणका लागि चार करोड बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ ।
नेपाली वर्णविन्यासको मुद्दा पूर्ण इजलाशमा गयो, ३० दिनभित्र सुनुवाई हुने
काठमाडौं, ३० असोज । सर्वोच्च अदालतले परम्परागत नेपाली वर्णविन्यास परिवर्तनको रिट निवेदनमा विशेष अग्राधिकारसहित पूर्ण इजलाशमा छलफल गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतका न्याधिशद्धय गोविन्दकुमार उपाध्याय र शारदाप्रसाद घिमिरेको संयुक्त इजलाशले आइतबार सो निर्णय गरेको हो । अदालतले विपक्षीहरुले लिखित जवाफ पेश गरेको मितिले ३० दिनभित्र पूर्ण इजलाशसहित सुनुवाई गर्ने भएको हो । आइतबार रिटमाथि अधिवक्ताद्धय बाबुराम दाहाल र स्वागत नेपालले गरेको बहसपछि अदालतले सो निर्णय भएको थियो । नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र तथा नेपाल प्रज्ञा प्रतिष्ठानससिहत परिवर्तनमा संलग्न सरकारी निकायलाई सहित छलफल गर्ने भएको हो । पत्रकारद्वय स्वागत नेपाल र टपेन्द्रबहादुर कार्कीले दायर गरेको रिटमा आइवार संयुक्त इजलाश बसेको थियो । सो इजलाशले पूर्ण इजलाशमा जानुपर्ने आवश्यकता बोध गर्दे ३० दिनको मितिनै तोकर छलफलको निर्णय गरेको हो । प्रचलित वर्र्णिवन्यासको अस्तित्व मेट्ने गरी सरकारले गरेको निर्णय र सोअनुरूप तयार भएका पाठ्यक्रम खारेज गर्न माग गर्दै दायर रिटमा प्रारम्भिक सुनवाइ गर्दै न्यायाधीश जगदीश शर्मा पौडेलले २६ भदौमा जवाफ पेस गर्न कारण देखाउ आदेश जारी गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र र नेपाल प्रज्ञा प्रतिष्ठानलाई विपक्षी बनाएर दायर रिटमा उनीहरूको जवाफ बुझाउने ३० असोज अर्थात आज अन्तिम दिन हो । निवेदकले भाषाजस्तो संवेदनशील विषयमा संविधानले व्यवस्था गरेको भाषा आयोगको सिफारिसमा मात्र भाषाबारे निर्णय गर्नुपर्ने लगायतको संवैधानिक र कानुनी प्रावधान उल्लंघन गरेको भन्दै तत्काल मन्त्रीस्तरीय निर्णय र निर्णयअनुसार विद्यालयमा लागू पाठ्यपुस्तक वितरणमा समेत रोक लगाउन माग छ । पाठ्यक्रम विकास केन्द्रको प्रस्तावमा तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले २२ साउन २०६९ मा अभ्यासमा रहेको वर्र्णिवन्यास संशोधनको निर्णय गरेका थिए । उनकै निर्णयको आधारमा सरकारले परिमार्जित वर्णविन्यासअनुसार नेपाली शब्दकोश, विद्यालय तहमा कक्षा ९ सम्मको नेपाली विषयको पाठ्यक्रममा परिवर्तन गरी अध्ययन अध्यापन गराउन थालेपछि निवेदकले मन्त्रीको निर्णयलाई चुनौती दिएका हुन् ।
यस वर्ष मात्र एक खर्ब ३४ अर्ब रुपैयाँको खाद्यन्न आयात
काठमाडौं, ३० असोज । सरकारले खाद्यवस्तु उत्पादनमा जोड दिँदै आएपनि यसको आयात भने बढ्दो छ । यसवर्ष मात्र सबै प्रकारका गरी कूल एक खर्ब ३४ अर्ब रुपैयाँको खाद्य वस्तु आयात भएको छ । खाद्यन्नमा गहुँ र कुखुराको मासुबाहेक नेपालीलाई आफ्नो उत्पादनले धान्दैन । खानेबानीमा सुधार नहुँदा पनि चामालको आयातदर वृद्धि हुँदै आएको छ भने गहुँको खपत दर न्यून छ । नेपालमा यसवर्ष १७ लाख मेट्रिक टन गहुँ उत्पादन भएको छ भने २५ अर्ब रुपैयाँको चामल आयात भएको छ । आज अक्टोबर १६ का दिन विश्वभर खाद्य दिवस मनाइन्छ, नेपालमा भने परिणाम खोज्ने भन्दा औपचारिक भाषणमा मात्रै यो दिवस मनाइएको छ । ‘जलवायु परिवर्तन भइरहेको छ, खाद्य र कृषि फेरिनैपर्छ । ’ ३६ औँ विश्व खाद्य दिवसको नारा हो यो । नारामा गोलवद्ध भएका वक्ताले खाद्य अधिकार र कर्तब्यका बारेमा सिंहदरबार भित्र र बाहिर आ–आफ्ना अभिव्यक्ति सार्वजनिक गरे । सिंहदरबार बाहिर खाद्यका लागि कृषिका अभियानका संयोजक डा कृष्ण पौडेलले संविधानमा उल्लेखित खाद्य अधिकार र खाद्य सम्प्रभूतालाई कार्यान्वयन गर्न सबै समूह र व्यक्ति प्रतिवद्ध हुनुपर्ने धारण व्यक्त गरे । नेपालका अधिकांश भागमा खानै नपाएर कोही व्यक्ति मरेको औपचारिक तथ्याङ्क अहिलेसम्म बाहिर आएको छैन तर कर्णली अञ्चलका केही जिल्लामा भोकमरी बढेको भन्ने समाचार सम्प्रेषण हुने क्रम जारी छ । सो क्षेत्रमा पाइने स्थानीय उवा, कोदो, जौँ, कागुनो, जुनेलोजस्ता अतिपौष्टिक खाद्यन्न विस्थापित भएका छन् । त्यहाँका मानिसको खानेबानीमा समेत परिवर्तन आएको छ । स्थानीयस्तरमा पाइने अन्नको सट्टा खरिद गरेको चामलमा परनिर्भर भएका कारण स्थानीय खाद्यन्न अभाव भएको हो । राष्ट्रिय कृषक समूह महासङ्घका अध्यक्ष उद्धव अधिकारी खाद्यान्नउत्पादनमा भन्दा खरिदमा सरकारी निकाय सक्रिय भएको आरोप लगाउछन् । नेपाल कृषि पत्रकार प्रतिष्ठानका उपाध्यक्ष किरण आचार्य खेती गर्नेभन्दा नगर्नेले भरपेट खान पाउँछन् तर दैनिक खेतबारीमा काम गर्ने महिला, आदिवासी, दलित जनजाति, सुकुम्वासी र सीमान्तकृत तथा पिछडिएको वर्गले भरपेट खान पाउदैनन् भन्छन्। अहिले पनि २५ प्रतिशतभन्दा बढी नेपाली चरम गरिबीमा जीवन बिताउन बाध्य छन् भने ४० प्रतिशत भन्दामाथि कुपोषणको सिकार छन् । तर नेपालले खाद्य सुरक्षा र पोषणका लागि दिगो खाद्य प्रणाली स्थापित गर्न सकेको छैन । सेप्टेम्बर २०१५ मा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सम्मेलनमा १९३ राष्ट्रले आगामी १५ वर्षभित्र भोकमरी अन्त गर्ने जनाएका थिए । त्यसको दुई महिनापछि फ्रान्सको राजधानी पेरिसमा भेला भएका १९५ देशका प्रतिनिधिले खाद्य सुरक्षा नै अहिलेको मुख्य प्राथमिकता रहेको तर जलवायु मुख्य चुनौती रहेको धारण सार्वजनिक गरेका थिए । नेपालमा भने जलवायु परिवर्तन भन्दा पनि जग्गाको खण्डीकरण र खेतीपाती नगर्ने अर्थात बाझै राख्ने चलनले खाद्य सङ्कट निम्तीनसक्ने विज्ञवर्गले चिन्ता व्यक्त गरेका छन् । कृषि गणना २०६८ लाई आधार मान्दा विगत एक लाख २९ हजार हेक्टर जमिन बाझै छ । जस्मा ३० लाख ९० हजार हेक्टर जमिनमा खेती भएको छ । सो अवधिमा धान ९ प्रतिशत, गहुँ ६, मकै १२ कोदो १९, जौ ३५, फापर ४०, कोसेबाली २१, तोरीबालीमा १३ प्रतिशतले उत्पादन घटेको छ । छैठौं कृषि गणनाले एक लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेसा अपनाउन नपाएको र कृषिबाटै रोजगार गर्न चहानेको लागि राज्यले सहज लगानीको वातावरण मिलाउन नसकेको समेत सो गणनामा उल्लेख छ । त्यसैगरी, हुनेखाने कुलिन वर्ग सहर केन्द्रित हुने र युवावर्ग वैदेशिक रोजगारमा गएका कारण जग्गा बाझिने क्रम बढेको हो । बयालिस प्रतिशत कृषकले व्यवसायीक कृषिका लागि ऋण उपलब्ध नभएको कृषि गणना २०६८मा उल्लेख छ । उर्वरजमिनलाई बाझो राख्न नपाइने कानुनको अभाव, सीमित व्यक्तिबाट प्रचुर जमिन अतिक्रमण, जग्गको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिवर्तन , परम्परागत आकासे खेतीमा परनिर्भरता, सिँचाइको अभाव, उन्नत जातका बिउविजन तथा मलखाद तथा कृषि अनुदानको अभाव, सरकारी उदासिनता, उत्पादको उचित मूल्य नपाउनु र शिक्षित वर्गबाटै कृषि पेसालाई उपहास गर्ने कारणले नेपालमा खाद्य सङ्कट बढ्दै आएको हो । रासस
काष्ठमण्डप डेभलपमेन्ट बैंकले २३ प्रतिशत बोनस दिने, पूँजी ८३ करोड रुपैयाँ पुग्ने
काठमाडौं, ३० असोज । काष्ठमण्डप डेभलपमेन्ट बैंकले लगानीकर्तालाई २३ प्रतिशत बोनस दिने भएको छ । साथै, बैंकले एक दशमलब ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय बैंकको आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंक तथा बैंकको अगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पूँजी ६७ करोड ९९ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको नयाँ पूँजी ८३ करोड ६३ लाख रुपैयाँ पुग्ने छ । आइतबार बैंकको प्रतिकित्ता सेयर करिब ५ सय रुपैयाँमा कारोबार भएको छ ।
सिभिल बैंक र इन्टरनेशनल लिजिङ्गको सोमबारदेखि एकिकृत कारोवार शुरु
काठमाडौं, ३० असोज । सिभिल बैंक र इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्स कम्पनी एक आपसमा गाभिई सोमबारबाट (२०७३ कार्तिक १) संयुक्त कारोवार शुरु गर्ने भएको छ । नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृती प्राप्त भई उक्त कम्पनीको कारोबार भोलिदेखि हुन लागेको छ । मर्जर पछि बैंकको नाम सिभिल बैंक नै रहेको र बैंकको संचालक तथा उच्च व्यवस्थापनमा पनि कुनै परिर्वतन नभएको बैंकले जनाएको छ । यो मर्जर पश्चात बैंकको शाखा संख्या ५१ पुगेको छ । सिभिल बैंकले २३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको युनिक फाईनान्स र २२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । यो खरिद पछी बैंकको चुक्ता पुँजी ५ अर्ब ५४ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । यस मर्जरबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्धि भई केहि ठूला परियोजनाहरु लगायत उद्योग व्यवयसायमा थप लगानी गर्न सहज हुने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । २०७४ असार मसान्तसम्म बैंकको चुक्ता पुँजी ८ अर्ब पुर्याउन बैंकले बोनस शेयर र हकप्रद शेयर दिने बताएको छ । साथै, अन्य बैंक तथा वित्तीयसँग गाभ्ने र गाभिने प्रक्रियालाई अगाडि बढाइने बैंकका प्रमुख कार्यकारी अधिकृत महर्जनले बताए ।
कञ्चन डेभलपमेन्ट बैंकले २५ प्रतिशत बोनस दिने, पूँजी २४ करोड रुपैयाँ पुग्ने
काठमाडौं, ३० असोज । कञ्चन डेभलपमेन्ट बैंकले लगानीकर्तालाई २५ प्रतिशत बोनस दिने भएको छ । साथै, बैंकले एक दशमलब ३१५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय आइतबार बसेको बैंकको १०५औं सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंक तथा बैंकको अगामी साधारणसभाले परित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पूँजी १९ करोड ८० लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको नयाँ पूँजी २४ करोड ७५ लाख रुपैयाँ पुग्ने छ । आइतबार बैंकको प्रतिकित्ता सेयर करिब साढे ६ सय रुपैयाँमा कारोबार भएको छ ।