विकासन्युज

बुम रेमिट्यान्सको एजेन्टमा भिबोर सोसाइटी डेभलपमेन्ट बैंक नियुक्त

काठमाडौं, १ कात्तिक । बुम रेमिट्यान्स प्रा.लीले भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडलाई आफ्नो एजेन्ट नियुक्त गरेको छ । बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले ४२ वटा शाखा तथा १ एक्सटेन्सन काउण्टर मार्फत भुक्तानी गर्नेछ । भिबोर बैंकले नेपालका सबै शाखाहरुले बुम रेमिट सफ्ट्वेयर मार्फत आन्तरिक विप्रेषण पठाउनुका साथै भुक्तानी पनि गर्न सक्ने छ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा १८०० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । उक्त सम्झौतापत्रमा भिवोर बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाल र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् । हाल बुम रेमिट्यान्सले खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ । अब चाडै नै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्ट्रेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।

एभरेष्ट बैंकद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना

काठमाडौं, १ कात्तिक । बाइसौं वार्षिकोत्सवको अवसर पारेर एभरेष्ट बैंकले कार्तिक १ गते आफ्नो मुख्य कार्यालय परिसरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । उक्त कार्यक्रममा लगभग २५० व्यक्तिले ग्रयाण्ड अस्पतालका चिकित्सक टोलिबाट परामर्शरउपचार पाएका छन् । शिविरमा ई.एन.टि., दन्त चिकित्सा, ग्यास्त्रोएन्टेरोलोजी, ओप्थाल्मोलोजी र अर्थोपेडिक लगायतका सेवाहरू उपलव्ध थिए । शिविरको उद्देश्य विभिन्न स्वास्थ्य समस्याहरुको प्रारम्भिक निदान कसरि गर्ने भन्ने बारे थियो, जसमा चिकित्सक टोलिले ती समस्यासंग सम्बन्धित सतर्कता र समाधानका उपाय बताएका थिए ।

सिविआईएल क्यापिटलको स्वतन्त्र संचालकमा दुई जना नियुक्त

काठमाडौं, १ कात्तिक । सिविआईएल क्यापिटल लिमिटेडको स्वतन्त्र संचालकमा दुई जना नियुक्त भएका छन् । सोमबार संस्थाको संचालक समितिको बैठकले कमल विक्रम सिंह र भोला प्रसाद पाण्डेलाई आगामी २ वर्षको लागि कम्पनीको स्वतन्त्र संचालकमा नियुक्ति गरेको हो । सिविआईएल सिटिजन्स बैंकको सहायक कम्पनी हो । यो कम्पनीमा श्री नागरीक लगानी कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको सह–लगानी रहेको छ । उक्त कम्पनीले नेपाल धितो पत्र बोर्डबाट धितोपत्र निष्काशन तथा विक्रि प्रबन्धक, धितोपत्र प्रत्याभूति कर्ता (अण्डर राइटर) शेयर रजिष्ट्रार तथा लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) को काम गर्ने अनुमति पाएको छ । संस्थाको रजिष्ट्रर कार्यालय काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा रहेको छ । संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका १४ अञ्चल स्थित सम्पूर्ण शाखा कार्यलयहरुबाट प्रदान गरी त्यहाँ अवस्थित इच्छुक लगानी कर्ताहरुलाई संस्थाको व्यावसायिक तथा अनुभवी व्यवस्थापन समुहबाट सेवा प्रदान गर्ने लक्ष्य संस्थाले लिएको छ ।

दसैंमा मात्रै यान्त्रिक पुलले कमायो साढे १० लाख रुपैयाँ

पर्वत, १ कात्तिक । मुलुककै पहिलो व्यावसायिक यान्त्रिक पुल कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले यसबर्षको दसैँमा १० लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको छ । केबुलकार मोडेलमा निर्माण गरिएको यान्त्रिक पुलले दसैँको प्रतिपदादेखि पूर्णिमासम्म आठ लाख ४१ हजार रुपैयाँको कारोबार गरेको हो । कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले दिएको जानकारीअनुसार दसैँको प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म कारोबार उत्साहजनक रुपमा भएको हो । यसपटक दसैँमा यान्त्रिक पुलबाट १३ हजार २७६ जनाले वारपार गरेका छन् । गत वर्ष यान्त्रिक पुलबाट प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म यात्रा गर्ने यात्रुबाट १० लाख ८३ हजार रुपैयाँ आम्दानी भएको थियो । यस वर्ष पनि उत्साहजनक रुपमा आम्दानी गर्न सफल भएको यान्त्रिक पुल लिमिटेडका कार्यालय प्रमुख चिरञ्जीवी रेग्मीले जानकारी दिए। पर्वत सदरमुकाम कुश्मा बजारबाट बागलुङ जिल्लाको बलेवा पुग्नका लागि पैदल मार्गबाट झन्डै एक घन्टा लाग्ने गर्छ । यान्त्रिक पुलको सञ्चालनसँगै एक घन्टाको यात्रा करिब सात मिनेटमा छोटिृएको छ । केबलकार मोडेलमा निर्माण गरिएको उक्त पुलबाट यात्रा गर्नका लागि एकतर्फी भाडा रु एक सय तोकिएको छ भने बागलुङ जिल्लाको बलेवा क्षेत्रका बासिन्दाका लागि रु ७५ तोकिएको छ । सो पुल गाउँघर र पहाडी क्षेत्रमा यात्रु ओसारप्रसार गर्न तथा कृषि उपज र अन्य सामग्री ढुवानीका लागि सबैभन्दा उपयुक्त माध्यम बन्न सक्ने देखिएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले बताए। “गाउँमा कच्ची सडक खन्नुभन्दा यस्तै यान्त्रिक पुल र केवलकार निर्माण गर्ने हो भने धेरै सहज हुन सक्छ”, उनले भने – “हाम्रोजस्तो पहाडी भूभागका लागि यो नै अति उत्तम विकल्प हो, सरकारले यसलाई प्रवद्र्धन गर्नुपर्छ ।” पर्वत उद्योग वाणिज्य सङ्घको पहलमा यान्त्रिक पुल निर्माण भएको हो । रासस

अन्तराष्ट्रिय गरिबी निवारण दिवसः पेटभरी खान नपाउनेको संख्या ९० करोड बढी

काठमाडौं, १ कात्तिक । विश्व बैंकले दैनिक एक दशमलब ९० अमेरिकी डलर आम्दानी गर्न नसक्नेहरुलाई निरपेक्ष गरिबको सूचिमा राख्दै आएको छ । सो भन्दा कम आम्दानी गर्नेहरुलाई दैनिक भेटभरी खान नपाउनेहरुको रुपमा गणना गरिन्छ । बैंकले सन २०१२ मा तयार पारेको योजनामा सन २०१५ को समाप्तिसम्ममा संसारमा निरपेक्ष गरिबहरुको संख्या ७० करोड भन्दा कम गराउने लक्ष्य थियो । तर अझैपनि संसारमा ९० करोड भन्दा बढि जनसंख्या निरपेक्ष गरिबीको रेखमुनी रहेको बिभिन्न अध्ययनहरुले देखाएका छन् । जबकी विश्व बैंकले सन २०१२ मै तयार पारेको प्रतिवेदनले भने संसारमा ८९ करोड ६७ लाख मानिस निरपेक्ष गरिबको संख्या थियो । जुन कुल जनसंख्याको १२ दशमलब ८ प्रतिशत हुन आउँछ । विश्व बैंकले सन २०३० सम्ममा संसारबाट गरिबहरुको संख्या ३ प्रतिशतमा झार्ने योजना बनाएको छ । जबकी हाल यस्तो संख्या ९ दशमलब ६ प्रतिशत रहेको छ । विश्व बैंकले सन २०१५ को तथ्यांकमा आधारित रहेर तयार पारेको प्रतिवेदन अनुसार हाल संसारमा कुल जनसंख्याको ९ दशमलब ६ प्रतिशत मानिस मात्रै निरपेक्ष गरिबीको रेखामुनी रहेका छन् । यो संख्या सन २०१२ को भन्दा २ करोडले कम हो । सबै भन्दा गरिबी अफ्रिकी महादेशमा रहेको छ । त्यहाँ कुल जनसंख्याको ४२ प्रतिशतसम्म मानिस निरपेक्ष गरिबीको रेखामुनी रहेका छन् । के हो गरिबी निवारण दिवस ? १९९२ डिसेम्बर २२ तारिखका दिन संयुक्त राष्ट्रसंघको महासभाले अक्टोबर १७ तारिखलाई अन्तराष्ट्रिय गरिबी निवारण दिवसका रुपमा मनाउने निर्णय गरेको हो । युद्ध, गरिबी र भोखमरीका विरुद्ध यो दिवसको सुभारम्भ गरिएको हो । अमेरिकामै साढे १३ प्रतिशत जनता गरिब १४ प्रतिशत अमेरिकी जनता गरिबीको रेखामुनी रहेको एक अध्ययनले देखाएको छ । अमेरिकी जनगणना रिपोर्टका अनुसार ४ करोड ३० लाख अमेरिकी जनता गरिबीको रेखामुनी रहेका छन् । यो संख्या भनेको अमेरिकी जनसंख्याको १४ प्रतिशत हो । सन २०१४ मा पछल्लो १६ वर्षमा सबै भन्दा बढि गरिबी बढेको पनि सो रिपोर्टले उजागर गरेको छ । सन २०१४ मा भन्दा १ दशमलब २ प्रतिशतले बढी १३ दशमलब ५ प्रतिशत अमेरिकीहरु गरिबीको रेखामुनी पुगेका हुन् । विश्वको सबै भन्दा ठुला अर्थतन्त्रका रुपमा रहेको अमेरिकामा ४ करोड ३० लाख जनता गरिबीको रेखामुनी पुग्नु गम्भिर संकटको संकेत भएको बताईन्छ । कति नेपाली छन् गरिब ? केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या ६१ लाख ४७ हजार ८ सय ७५ छ । यो कुल जनसंख्याको २३ दशमलब ८ प्रतिशत हो । राष्ट्रिय जनगणना ०६८ अनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार छ । संख्याका आधारमा सबैभन्दा धेरै गरिब रौतहटमा छन् । रौतहटमा दुई लाख २७ हजार गरिब रहेको तथ्यांक छ । यसमध्ये विषम परिस्थितिमा ५६ हजार आठ सय ६० र गहन समस्यामा २० हजार एक सय ८९ गरिब छन् । संख्याका आधारमा सबैभन्दा कम गरिब मनाङमा छन् । ६ हजार पाँच सय ३८ जनसंख्या रहेको मनाङमा दुई हजार एक सय ५० जना गरिब छन् । विषम गरिबको संख्या ६ सय ४६ र गहन गरिबको संख्या दुई सय ४९ छ । त्यस्तै, जनसंख्याको अनुपातका आधारमा सबैभन्दा धेरै गरिब बाजुरामा छन् । बाजुरामा गरिबको संख्या ८५ हजार आठ सय ६७ छ । यो कुल जनसंख्याको ६४ दशमलब शुन्य ४ प्रतिशत हो । कुल जनसंख्या एक लाख ३४ हजार नौ सय १२ छ । सो जिल्लामा २६ हजार नौ सय एक गरिब विषम परिस्थितिमा र ११ हजार ८९ गरिब गहन समस्यामा रहेको तथ्यांक छ ।

सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट, ६३ करोडको कारोबार

काठमाडौं, १ कात्तिक । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । सो दिन नेप्से परिसूचक १० दशमलब ३८ अंकले घटेर १७९३ दशमलब ३६ अंकमा झरेको छ । आइतबार परिसुचक १६ अंकले घटेको थियो । सोमबार ११६ कम्पनीको ७ लाख ८३ हजार कित्ता सेयर ६३ करोड ६७ लाख रुपैयाँमा कारोबार भएको छ । सो दिन हाइड्रोपावर र अन्य समूह बाहेक बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६२ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल र बैंकिङ् समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् भने बाकी समूहको परिसूचक सामान्य अंकले घटेका छन् । हाइड्रोपावर र अन्य समूहको परिसूचक क्रमशः १७ र शून्य दशमलब ११ अंकले उकालो लागेका छन् । बजारमा सबैभन्दा बढी किसान माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले करिब ६ प्रतिशत गुमाएका छन् । ३ प्रतिशत गुमाउनेमा अन्य चार कम्पनीका लगानीकर्ताहरु रहेका छन् । सो दिन सबैभन्दा बढी कामना विकास बैंकले करिब ६ प्रतिशत कमाएको छ । मितेरी विकास बैंक, अपी पावर कम्पनी, ज्योति विकास बैंक लगायत अन्य दुई कम्पनीको सेयर मूल्य २ प्रतिशत भन्दा बढीले बढेको छ । कुमारी बैंकको सबैभन्दा बढी ७ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । प्रभु इन्स्योरेन्स र बैंक अफ काठमाडौं लुम्बिनीको ५ करोड बढी रुपैयाँको सेयर किनबेच भएको हो ।

महालक्ष्मी विकास बैंकका सिइओ ‘म्यानेजर अफ दि इयर’ बाट सम्मानित

काठमाडौं, १ कात्तिक । युरोपियन बिजिनेस एसेम्ब्लीले फ्रान्समा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईलाई ‘म्यानेजर अफ दि इयर’बाट सम्मान गरेको छ । साथै, उक्त एसेम्ब्लीद्धारा बैंकलाई बेष्ट इन्टरप्राइजेज पुरस्कार प्राप्त भएको छ । पुरस्कार फ्रान्सको केन्समा प्रदान गरिएको हो । कार्यक्रममा एसिया, युरोप, अफ्रिका तथा मध्यपूर्वका ३६ देशका विभिन्न कम्पनीका प्रतिनिधिहरु सहभागी थिए ।

काष्ठमण्डप डेभलपमेन्ट बैंकले ४ः१ हकप्रद निष्कासन गर्ने, कात्तिक ९ गते बुक क्लोज

काठमाडौं, १ कात्तिक । काष्ठमण्डप डेभलपमेन्ट बैंकले ४ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सोहि प्रयोजनको लागि कात्तिक ९ गते बैंकको सेयर कारोबार बन्द हुने भएको छ । हाल बैंकको चुक्ता पूँजी ६७ करोड ९९ लाख रुपैयाँ रहेको छ । सोमबार बैंकको प्रतिकित्ता सेयर करिब ५ सय रुपैयाँमा कारोबार भएको छ ।