नेपाली सेनाले खुलायो २१ सय ३५ जनाका लागि जागिर
काठमाडौं, १ कात्तिक । नेपाली सेनामा २१ सयभन्दा बढीका लागि जागिर खुलेको छ । जंगी अड्डा काठमाडौंसहित विभिन्न पृतना, बाहिनी, गण तथा गुल्ममा विभिन्न पदमा गरी २१ सय ३५ जनाको लागि जागिर खुलेको हो । नेपाली सेनालो निकालेको सुचना अनुसार सिपाही पदमा मात्रै १ हजार ९ सय ५० जनाको लागि आवदेन मागिएको छ । काठमाडौंको जंगी अड्डामा मात्रै ४ सय जना सिपाही माग गरिएको छ । सेनाले लेखा, जमदार, हुद्दा, अमलदार, सैन्य ड्राइभर, बन्दोबस्ती सिपाही, कुचिकार, धोबी, केशकर्तक, वेटर र लोहार पदमा आवेदन मागेको छ । इटहरी, फिदिम, राजबिराज, हेटौंडा, सिन्धुली, रौतहट, रामेछाप, पोखरा, बझाङ, इलाम, बुटवल, लमजुङ, नेपालगञ्ज, दाङ, जुम्ला, जाजरकोट, दिपायल, धनगढीका विभिन्न सैन्य पृतना, बाहिनी, गण तथा गुल्ममा भर्ति गर्न लागिएको हो ।
मूल्य वृद्धिसँगै काठमाडौंमा घरजग्गा कारोबार पाँच वर्षमा साढे २ गुणाले बढ्यो
काठमाडौं, १ कात्तिक । काठमाडौं जिल्लामा ५ वर्षमा घरजग्गा कारोबार साढे दुई गुणाले बढेको छ । आर्थिक वर्ष २०६८/६९ मा १८ हजार ९ सय १० कित्ता कारोबार भएको घरजग्गा गएको आव २०७२/७३ मा बढेर ६५ हजार ७ सय २० कित्ता पुगेको भूमिसुधार तथा व्यवस्थापन विभागले जानकारी दिएको छ । काठमाडौं जिल्लाका पाँचओटा मालपोत कार्यालयको तथ्याङ्कअनुसार गत आवमा उक्त सङख्याको घरजग्गा कारोबार भएको प्रमाणीकरण भएका छन् । गएको वर्षमात्र एकै वर्षमा ६५ हजार ७ सय २० घरजग्गा किनबेच भएका छन् । अघिल्लो आर्थिक वर्ष २०७१/७२ मा ३३ हजार ८ सय २७ घरजग्गा कारोबार प्रमाणीकरण भएकोमा गएको वर्ष कारोबारको संख्या दोब्बर भएको छ । गएको आवमा अघिल्लो आवको भन्दा ३१ हजार ८ सय ९३ घरजग्गा बढी कारोबार प्रमाणीकरण बढी भएको छ । खासगरी भूकम्पयता काठमाडौं बसाइँको आकर्षण बढ्दै गएकोले यहाँको जग्गा खरीद बिक्री पनि ह्वात्तै बढेको छ । साथै जग्गामा गरिएको लगानीले आकर्षक प्रतिफल दिने भएकाले पनि उपत्यकामा जग्गा कारोबारीको सङ्ख्या बढिरहेको विभागका निर्देशक सुशीलप्रसाद आचार्यले बताए । राजधानी केन्द्रित भौतिक पूर्वाधारहरूको निर्माणले गर्दा काठमाडौंको जनसङख्या वृद्धिदर कम हुने लक्षण देखिएको छैन । त्यस्तै बसाइँसराइ गरेर काठमाडौंमा आउनेको संख्या पनि बढिरहेको छ । घरजग्गा किनबेच भएको कित्ता आर्थिक वर्ष कित्ता संख्या २०७२/७३ ६५,७२० २०७१/७२ ३३,८२७ २०७०/७१ १९,७९० २०६९/७० ४४,९२७ २०६८/६९ १८,९१० स्रोतः भूमिसुधार तथा व्यवस्थपान विभाग जग्गा खरिदमा न्यून मूल्याङ्कन जग्गाको कारोबारी बढ्दैसँगै राज्य ठगिने क्रमपनि बढ्दै गएको छ । किनबेच भएका अधिकांश घरजग्गाको मालपोत मूल्याङ्कन २ लाख ५० हजारदेखि ४ लाख ५० हजार रुपैयाँ प्रतिआना कायम गरिएको छ । तर, वास्तविक किनबेच भने प्रतिआना ४ लाखदेखि ९ लाख रुपैयाँसम्ममा हुने गरेको घरजग्गा व्यवसायीहरूले बताउँछन् । राज्यलाई तिर्नुपर्ने घरजग्गा रजिष्टेश दस्तुर छल्नका लागि कारोबारी( किन्ने र बेच्न) हरु घरजगाको न्यून मूल्याङ्कन गर्दै आएका छन् । अहिले बैंकहरूले घरजग्गा खरीदका लागि कम दरमै ऋण दिइरहेकाले पनि यसको खरीद बिक्री बढेको हो । नेपालमा आपूmले जम्मा गरेको पैसा सुरक्षितरूपमा राख्ने अरू विकल्प नहुँदा अर्थात घरजग्गामा गरेको लगानीले उचित प्रतिफल दिने भएकाले पनि कारोबार बढ्दै गएको हो । ९० प्रतिशत घरजग्गा चक्रपथ बाहिर किनबेच मालपोत कार्यालय डिल्ली बजार बाहेक सबै मालपोत कार्यालय चक्रपथ बाहिर छन् । मनमैजु र साँखु मालपोत चक्रपथभन्दा धेरै टाढा छन् भने कलङ्की र चाबहिल मालपोत चक्रपथसँगै बाहिर जोडिएका छन् । यी सबै मालपोत कार्यालयमा सबै जसो जग्गा चक्रपथ बाहिरकै किनबेच भएका छन् । काठमाडौंमा बसाइँ सर्नेको चाप बढ्दै जानु र चक्रपथभित्र खाली ठाउँ एकदमै कम भएकोले चक्रपथ बाहिरका ठाउँ धेरैको रोजाइमा परेको मालपोत कार्यालय, कलङ्कीका प्रमुख प्रेमप्रसाद दाहालले बताँउछन् । चक्रपथभित्रै घर जग्गा किन्ने मानिसको संख्या बढी हुने व्यवसायीहरू बताँउछन् । तर, चक्रपथभित्र ठाउँ नै खाली नभएको र जग्गा हुनेले पनि बेच्न नचाहने भएकाले कारोबार संख्या कम भएको उनीहरूको भनाइ छ ।
दरौँदी ए जलविद्युत्को परीक्षण उत्पादन सुरु
गोरखा, १ कात्तिक । गोरखाको मुच्चोकमा निर्माण गरिएको ६ मेगावाट क्षमताको दरौँदी ए जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु गरिएको छ । असोज २२ गतेदेखि विभिन्न चरणमा परीक्षण उत्पादन गरिँदै आएको आयोजनाले जनाएको छ । उक्त आयोजना कालिका हाइड्रोपावर कम्पनीले एक अर्ब १० करोडको लगानीमा निर्माण गरेको हो । आयोजनाको सम्पूर्ण परीक्षण सकिएपछि नेपाल विद्युत् प्राधिकरणलाई छिट्टै विद्युत् बिक्री सुरु गरिने आयोजना निर्माण कम्पनीका प्रबन्धक विष्णु पन्तले बताए । ‘रन अफ द रिभर’ प्रकृतिको आयोजनाको पावर हाउस चनौटेमा निर्माण गरिएको छ । चनौटेदेखि गोरखा सदरमुकामको हरमटारीस्थित विद्युत् सवस्टेसनसम्म प्रसारण लाइन ल्याइएको छ । आयोजनाको विद्युत् १५ दिनसम्म नेपाल विद्युत् प्राधिकरणले निःशुल्क रुपमा प्रयोग गरेपछि व्यावसायिक रुपमा आयोजनाको विद्युत् उत्पादन गरिने बताइएको छ । गत असारमा विद्युत् उत्पादन हुने लक्ष्य राखिएको भए पनि भूकम्प, नाकाबन्दी जस्ता समस्याले गर्दा तोकिएको समयभन्दा केही ढिलो विद्युत् उत्पादन भएको हो । आयोजनाको विद्युत् गोरखास्थित सवस्टेसनमा जडान गरेपछि गोरखामा विद्युत् भार कटौती नहुने बताइएको छ । तीन केभीए क्षमताको सवस्टेसनलाई क्षमता बढाएर आठ केभीए क्षमताको बनाउने काम भइरहेको छ । दरौँदी ए आयोजना निर्माण सकिएपछि दरौँदीमै १० मेगावाट क्षमताको अर्को आयोजना निर्माण गरिने पन्तले बताए । रासस
पाल्पामा १३७ वटा झोलुङ्गे पुल निर्माण
पाल्पा, १ कात्तिक । पाल्पा जिल्लामा १३७ ओटा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई बाह्रै महिना आवतजावत गर्न सहज हुन थालेपछि उनीहरु अहिले खुसी बनेका छन् । वर्षौंदेखि खोलाले बगाउँछकी भन्दै जोखिम मोलेर यात्रा गर्ने यहाँका स्थानीय पुल बनेपछि यात्रामा निस्किदाको मनको त्रास समेत मेटिएको छ । यातायातको सुविधा पुग्न नसकेका दुर्गम गाउँमा खेतमा मेलापात, औषधि उपचार गर्न माइत आवतजावत गर्दा खोला तरेर जानुपर्ने बाध्या हट्दा स्थानीय महिला तथा बालबालिका हर्षित बन्दै आफ्ना गृहकार्यमा जुटेका छन् । पाल्पा जिल्लामा झोलुङ्गे पुलको अवधारणाअन्तर्गत केन्द्रबाट एक करोडको हाराहारीमा पुल निर्माण तथा मर्मतका लागि रकम निकासा हुँदै आएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख भीमार्जुन पाण्डेयले जानकारी दिए । पुल निर्माण र मर्मतलाई थप व्यवस्थापन गर्न नियमित मर्मत सम्भार, बृहत् मर्मत सम्भार र नयाँ निर्माण गरी तीन भागमा सञ्चालन हुँदै आएको छ । पुलको मर्मत सम्भारका लागि प्रत्येक पुलका लागि एकजना हेरालुको समेत व्यवस्था गरिँदै आएको पाण्डेयले बताउछन । चालु आवमा पाल्पा जिल्लामा सात वटा नयाँ झोलुङ्गे पुल निर्माण हुनेछन् । सात वटा पुल निर्माणपछि यहाँका स्थानीय बासिन्दालाई अझै यात्रा सहज हुने भएकाले निर्माणका लागि सहयोग गर्दै आएका छन् । रासस
भूकम्प पीडितलाई एक लाख थप्ने रकमको जोहो भएन, रकमान्तर गर्ने अर्थमन्त्रालयको तयारी
काठमाडौं, १ कात्तिक । सरकारले भूकम्प पीडितका लागि थपिदिने भनिएको एक लाख नगद अनुदानका लागि श्रोतको अभाव देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको बैठकले भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि एक लाख नगद अनुदान थप्ने निर्णय गरेको थियो । त्यस अघि निजी आवास निर्माणका लागि दुई लाख रुपैँया दिने व्यवस्था थियो र त्यसकै आधारमा प्राधिकरणले पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ वितरण समेत गरिरहेको छ । तर सरकारले एक लाख थपेर निजी आवास निर्माणका लागि तीन लाख नगद अनुदान पुर्याउने घोषणा गरेको लामो समय वितिसक्दा समेत श्रोतको व्यवस्थापन भने गर्न सकेको छैन् । पुननिर्माणका कामबारे विश्व बैंक र एसियाली विकास बैंकले सन्तोषजनक प्रतिक्रिया जनाईरहेका बेला सरकारले थप एक लाख दिने घोषणा गरेपछि ती निकायले रकमको श्रोतबारे जिज्ञासा राखेका थिए । अर्थमन्त्री कृष्ण बहादुर महराले श्रोत व्यवस्थापनबारे ठोस योजना प्रस्तुत नगरेकाले दाताहरु असन्तुष्ठ रहेका बताइन्छ । पछिल्लो समय अर्थमन्त्रालय भूकम्प पीडितलाई थप्ने भनिएको एक लाख रुपैंयाँका लागि रकमान्तर गर्ने निष्कर्षमा पुगेको छ । ‘अहिलेसम्म कुन श्रोतबाट थप एक लाख दिने भन्ने बाटो देखिएको छैन तर सरकारले निर्णय गरिसकेकाले रकमान्तर गरेर भएपनि भूकम्प पीडितलाई एक लाख रुपैंयाँ थपिन्छ’, अर्थ सचिव शान्तराज सुवेदीले विकासन्युजसँग भने । उनले पहिलो किस्ता वापत उपलब्ध गराइएको ५० हजार रुपैंयाँको कामको लेखाजोखा गरेर मात्रै दोश्रो किस्ताको रकम दिने र सो अवधीसम्ममा रकमान्तर गरेरै भएपनि श्रोतको जोहो गर्ने पनि स्पष्ट पारे । पहिले तीन किस्ता वापत पहिलो किस्तामा ५० हजार, दोश्रोमा ८० हजार र तेश्रोमा ७० हजार रुपैंयाँ दिने व्यवस्था थियो । थप एक लाख रुपैंयाँ दिने निर्णयसँगै दोश्रो किस्ता एक लाख ५० हजार र तेश्रो किस्तामा एक लाख दिने व्यवस्था गरिएको छ । हाल पुननिर्माणका लागि ७४५ अर्ब रुपैंयाँ अपुग हुने देखिएको छ । कुल ९३८ अर्ब लागत अनुमान गरिएको पुननिर्माणका लागि दाताहरुले ३४३ अर्ब रुपैंयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसमध्ये २७२ अर्ब रुपैंयाँको सम्झौता भैसकेको छ ।
विश्वका सर्वाधिक मूल्यवान कम्पनी, एप्पल शिर्षस्थानमा कायम, कसको कति प्रतिशत शेयर बढ्यो?
काठमाण्डौं, १ कार्तिक। अमेरिकी बहुराष्ट्रिय प्राविधिक कम्पनी एप्पल इङ्क सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । इण्टरब्राण्डले सार्वजनिक गरेको बेष्ट ग्लोबल ब्राण्ड्ज शीर्षकको प्रतिवेदनअनुसार १ खर्ब ७८ अर्ब डलर ब्राण्ड मूल्यसहित एप्पल सूचीको शीर्ष स्थानमा रहेको छ । १ वर्षअघिको तुलनामा यस वर्ष कम्पनीको ब्राण्ड मूल्य ५ प्रतिशत बढेको छ । सूचीको दोस्रो स्थानमा १ खर्ब ३३ अर्ब डलरसहित अल्फाबेट इङ्कको भगिनी कम्पनी गूगल इङ्क सूचीको दोस्रो स्थानमा रहेको छ । प्रतिवेदनअनुसार विगत १ वर्षमा कम्पनीको ब्राण्ड मूल्य ११ प्रतिशत बढेको छ । सूचीको तेस्रोदेखि पाँचौं स्थानसम्म अमेरिकी हल्का पेय निर्माता कम्पनी कोकाकोला, सफ्टवेयर कम्पनी माइक्रोसफ्ट कर्पोरेशन र जापानी अटोनिर्माता कम्पनी टोयोटा मोटर रहेका छन् । अमेरिकी चिपनिर्माता कम्पनी आईबीएम कर्पोरेशन, कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङ इलेक्ट्रोनिक्स, अमेरिकी अनलाइन रिटेलर अमेजन डट कम, जर्मन लक्जरी अटोनिर्माता कम्पनी मर्सिडिज बेञ्ज, अमेरिकी विद्युतीय कारनिर्माता कम्पनी जनरल इलेक्ट्रिक सूचीको छैटौंदेखि १०औं स्थानमा रहेका छन्। समीक्षा अवधिमा सामाजिक सञ्जाल फेसबूक इङ्क, ई–कमर्श कम्पनी अमेजोन र खेलौना निर्माता कम्पनी लेगो ब्राण्ड मूल्यमा सबैभन्दा धेरै वृद्धि हासिल गर्ने कम्पनी भएको प्रतिवेदनमा उल्लेख छ । १ सय बहुमूल्य कम्पनीको सूचीमा यस वर्ष प्रविधि र अटोमोबाइल कम्पनीले २९ स्थान ओगटेका छन् । ब्राण्डको वित्तीय प्रदर्शन, उपभोक्तामा यसको प्रभावलगायतका पक्षलाई दृष्टिगत गरेर सूची तयार पारिएको हो । यस सूचीमा पहिलोपटक फ्रान्सेली फेशन ब्राण्ड डियोर र अमेरिकी अटोनिर्माता कम्पनी टेस्ला मोटर्स पर्न सफल भएका छन् । यी दुई कम्पनी क्रमशः सूचीको ८९औं र १ सयौं स्थानमा छन् । जर्मन लक्जरी फेशन ब्राण्ड ह्युगो बोस, अमेरिकी अटोकम्पनी शेभ्रोले भने सूचीबाट बाहिरिएका छन् । एजेन्सीको सहयोगमा
फेसबुकले स्ट्रिम भिडियोमा ‘एप्पल टिभी’ र ‘क्रोमकास्ट’ थप गर्यो
काठमाडौं, १ कार्तिक। इन्टरनेट र सोसियल साइट जाइन्ट फेसबुकले लाईभ स्ट्रिम भिडियोमा दुईवटा आइपी टिभी थप गरेको छ। फेसबुकले एप्पलको अनलाईन टिभी सर्भिस ‘एप्पल टिभी’ र गुगल क्रोमको ‘क्रोमकास्ट’ थप गरेको हो। कम्पनीले स्थापित टेक कम्पनीहरुसँग अझ धेरै सहकार्य तथा प्रयोगकर्तालाई फेसबुकमा आएपछि अरु सोसियल साइटमा जान नपरोस भनेर यो सुविधा थप गरिएको जनाइएको छ। तपाई स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने यो सुविधा प्रयोग गर्नका लागि फेसबुक खोलेपछि टप कर्नरको दाहिने भागमा रहेको टिभीको संकेतलाई थिच्नुपर्दछ। त्यसपछि तपाई कुन भिडियो स्ट्रिम खोल्न चाहनुहुन्छ त्यसलाई सेलेक्ट गरेर प्रयोग गर्न सकिन्छ। तत्काल एप्पलका डिभाइसहरुमा मात्र उपलब्ध यो सेवा केहि समयपछि एन्ड्रोइड अपरेटिङ सिस्टम भएका डिभाइसमा पनि आउने कम्पनीले जनाएको छ। फेसबुकका प्रोडक्ट डाइरेक्टर ब्रेन्ट ऐरेले फेसबुकका प्रयोगकर्ताले अब लाईभ स्ट्रिम हेर्न अरु ब्राउजर वा साइटमा जान नपर्ने तरिकाले डिजाइन गरिएको जनाएको छ। प्रयोगकर्ताले उक्त भिडियोमा तत्काल प्रतिक्रिया जनाउन वा कमेन्ट गर्न सक्ने सुविधा दिइने जनाइएको छ।
राष्ट्रपति र पूर्वराष्ट्रपतिबीच नाता जोडिँदै, राष्ट्रपतिको छोरी र पूर्व राष्ट्रपतिको नातिबीच टिकाटालो
काठमाडौं १, कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राष्ट्रपति डाक्टर रामवरण यादववीत नाता जोडिने भएको समाचार सोमबारको नयाँ पत्रिका दैनिकमा छापिएको छ । राष्ट्रपति भण्डारीकी कान्छी छोरी डाक्टर निशाकुसुम र पूर्वराष्ट्रपतिका यादवकी भतिजी किरणका छोरा अभिषेकबीच विहेको टिकाटालो भएको छ। अब दुई राष्ट्रपतिबीच सम्धी सम्धिनीको नाता हुनेछ। राष्ट्रपति निवासमा आइतबार टिकाटालो भएको हो। उनीहरुको विहे आगामी माघ महिनाका लागि तय गरिएको छ।