विकासन्युज

ज्ञानेन्द्र शाहलाई हिन्दु सम्राट घोषणा गर्ने तयारी, विराट हिन्दू सम्मेलनमा राजधानीमै

काठमाडौं ४, कात्तिक । पशुपतिको वनकालीमा बिहीबारदेखि विराट हिन्दु सम्मेलन सुरु हुने भएको छ । आयोजक हिन्दु अधिराज्य राजनीतिक समितिका अनुसार यही कात्तिक ४, ५ र ६ गतेसम्म चल्ने सम्मेलनको उद्घाटन पूर्वराजा ज्ञानेन्द्र शाहले गर्नेछन् । राजधानीमा बुधबार पत्रकार सम्मेलन गरेर हिन्दुराज्य प्रजातन्त्र पार्टीका महासचिव रविन्द्र पौडेलले राजाबिनाको देश र आँखा बिनाको मान्छे एउटै हुने तर्क गरे । यस्तै लिक नेपाल शान्ति एकता पार्टीका अध्यक्ष धनेन्द्र बस्नेतले वर्तमान शासनसत्ताले देशलाई विखण्डनको मार्गमा लिएको बताउँदै राजसंस्था बाहेक देशमा अरु कुनै शक्तिले शान्ति र स्थायित्व कायम गर्न नसक्ने दावी गरे । ३५ दलीय मोर्चाको आयोजनामा सम्पन्न हुने उक्त सम्मेलनमा विभिन्न राष्ट्रका प्रतिनिधिहरू सहभागी हुने आयोजकले जनाएको छ । समाचार नयाँ पत्रिका दैनिकबाट ।

अनमोल स्विट्समा सिलबन्दी, दुषित मिठाई विक्री गरेको अारोप

काठमाडौं, ३ कात्तिक। गुणस्तरहिन खाद्य पदार्थ विक्रिवितरण गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनमोल स्विट्समा सिलबन्दी गरेको छ। दुषित मिठाई बिक्री वितरण गरिरहेको अवस्थामा भेटाएपछि टोलीले सिलबन्दी गरिएको हो। बुधबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत मदनकुमार चापागाईंको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, उपभोक्तावादी संगठन लगायतका प्रतिनिधि सम्मिलित अनुगमन टोलीले नक्सालस्थित अनमोल स्विट्स प्रालीमा सिलबन्दी गरेको हो। ‘मिठाईमा भुसुना, पानीपुरीमा साङ्ला र बनाउने ठाउँ फोहोर देखेपछि हामीले सिलबन्दी गरेका हौं’, विभागका एक अधिकृतले भने, ‘हामीले पुरै पसल नै सिलबन्दी गरेका छौं ।’ कम्पनीलाई खाद्य ऐन अनुसार कारबाहीका लागि मुद्दा चलाइने उनले जानकारी दिए। तिहार नजिकिदै गर्दा सरकारले दैनिक रुपमा मिठाई पसलमा विशेष अनुगमन गरिरहेको छ। मंगलबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले पनि  बाग्मती, आगन जस्ता चर्चित ब्राण्डका मिठाई पसलमा अनुगमन गरेको थियो ।

बेलायत लगानीका लागि शीर्ष पाँच स्थानमा पर्न असफल, लगानीकर्ताको विश्वास गुमाउँदै

काठमाडौं, ३ कात्तिक। युरोपेली संघ (ईयू) छोड्ने पक्षमा मतदान गरेपछि बेलायतले उत्कृष्ट लगानी गन्तव्यको शीर्ष पाँचको स्थान गुमाएको छ । व्यावसायिक कार्यकारीहरूको अर्धवार्षिक प्रतिवेदनमा परामर्शदातृ फर्म इवाईले ब्रेक्जिट मतदानसँग सम्बन्धित अन्योलले सम्भावित लगानीकर्तालाई निरुत्साहित गरेको उल्लेख छ । यो पनि विशेष गरी युरोपका लगानीकर्ता बेलायतमा कारोबार गर्नबाट निरुत्साहित भएको जनाइएको छ । ईवाईका अनुसार बेलायत आगामी वर्ष लगानी गन्तव्यको मामिलामा सातौं स्थानमा झर्नेछ । बेलायतभन्दा अगाडि अमेरिका, चीन, जर्मनी, क्यानडा, फ्रान्स र जापान रहनेछन् । अप्रिलमा गरिएको अघिल्लो सर्भेमा बेलायत दोस्रो स्थानमा थियो । ईवाईमा कारोबार पक्षका विश्वव्यापी प्रमुख स्टिभ क्रुस्कोले जुन २३ पछिको मतदानले नकारात्मक अवस्था सिर्जना गरेको बताएका छन् । अर्को सर्भेले भने आगामी ६ महिनाको अवधिमा बेलायतको स्थानमा सुधार आउने आशा देखाएको उनको भनाइ छ । “दीर्घकालीन अवधिमा बेलायत शीर्ष एम एन्ड ए गन्तव्यको रोजाइका रूपमा आउन सक्ने अपेक्षा हामीले गरेका छौं,” उनले भने, “तर, अल्पकालीन अनिश्चितताले लगानीकर्तालाई लगानी रोक्ने विषयमा सोच्नका लागि बाध्य बनाएको छ ।” बेलायतले रियलइस्टेटबाहेक ८८ अर्ब डलरको सम्झौता गरेको ईवाईले जनाएको छ । यो सन् २०१३ र २०१४ कै हाराहारी हो । तर, सन् २०१५ को समान अवधिको २ सय ५५ डलरको दाँजोमा कम हो । विदेशी फर्महरूका लागि बेलायती फर्म लगातार आकर्षक बन्दै गएको ईवाईले जनाएको छ । यो पनि विशेष गरी उच्च बौद्धिक सम्पत्तिका कम्पनी, प्रविधि र स्वास्थ्य हेरचाहको क्षेत्रमा रहँदै आएको छ । जनमत–संग्रह ब्रेक्जिटको पक्षमा गएपछि जापानको सफ्ट बैंक ग्रुपले जुलाईमा २४ अर्ब पाउन्डमा लिएको बेलायती प्रविधि फर्म एआरएम होल्डिङलाई सबैभन्दा ठूलो कारोबार मानिएको छ । यो कारोबार ब्रेक्जिटको मतदानको एक महिनापछि भएको हो । अर्को ठूलो कारोबारमा अमेरिकी कम्पनी लिबर्टी मिडियाले ८ अर्ब डलरमा लिएको फर्मुला वनलाई लिइएको छ । ब्रेक्जिटको मतदानपछि धेरै सवाल उठाइएका छन् । यो विशेष गरी ब्रेक्जिटपछि ईयूका २७ सदस्यीय मुलुकसँग बेलायतको व्यापार सम्बन्धका बारेमा रहेको छ । यसमा व्यापारमा कस्तो किसिमको अवरोध आउने जस्तै भन्सार र नयाँ नियमन मापदण्डका विषयमा हुनेछन् । बेलायतस्थित व्यवसायमा यस किसिमको भन्सार र नियमन लागू हुन सक्ने आशंका व्यक्त गरिएको छ । ब्रेक्जिटको मतदानपछि अमेरिकी डलरसँगको विनियममा पाउन्ड झन्डै २० प्रतिशतले अवमूल्यन भइसकेको छ । हाल अमेरिकी डलर र पाउन्डको विनिमय दर १.२० हाराहारी छ ।

जेट एयरवेजले सार्क र खाडी क्षेत्रमा थप उडमा गर्ने

काठमाडौं, ३ कार्तिक। जेट एयरवेजले सार्क तथा खाडी मुलुकहरुमा थप सेवा विस्तार गर्ने भएको छ।  आगामी अक्टोबर ३० देखि एयरलाइन्सले मुम्बई तथा नयाँ दिल्लीबाट काठमाडौंको उडान संख्यामा बृद्धि गर्ने जनाएको छ। जसअनुसार मुम्बई काठमार्डौ दैनिक दुई उडान तथा दिल्ली काठमाडौं दैनिक तीन उडान हुनेछन् । कम्पनीले खाडी तथा केरालाको उडान संख्यामापनि उल्लेख्य बृद्धि हुने जनाएको छ । अब तिरुवन्तपुरमबाट दुबई तथा दोहामा दैनिक सेवा उपलव्ध हुनेछ। यस अघि जेट एयरलाइन्सले कोजीकोदेबाट युएइको सारजाहसम्म दैनिक सेवा सुरु गरेको थियो। थप गरिएका उडानसँगै सार्क मुलुकमा जेट एयरलाइन्सको साप्ताहिक उडान संख्या एकसय ४० पुगेको छ, जसमध्ये आधा उडान नेपालमा हुने कम्पनीले जनाएको छ। नेपालमा पर्यटकको लागि धेरै उडानको माग भएका कारण काठमाडौंमा थप उडान भर्न लागेको जेट एयरवेजका चिफ कमर्सियल अफिसर  जयराज सान्मुगामले बताए। उनले गल्फ र सार्क क्षेत्रमा सवैभन्दा व्यस्त रुटमा थप सेवा दिनु चुनौतिपूर्ण रहेको र यसका लागि एयरलाइन्सको क्षमता तथा सेवाको गुणस्तरमा कुनै कसर बाँकि नराख्ने बताए। यात्रुहरुलाई दीगो तथा स्तरीय सेवाउपलव्ध गराउने रणनीति अन्तर्गत थप उडानको व्यवस्थागरिएको जेट एयरलाइन्सले उल्लेख गरेको छ। जेट एयरवेजले यो रुटमा नेक्स्ट जेनेरेसनको बोइङ ७३७-८०० एयरक्राफ्टले सेवा दिने बताएको छ।

महाअभियोग सिफारिस समिति बन्यो, बैठकद्धारा ११ सदस्यीय समिति गठन

काठमाडौं, ३ कात्तिक । संविधान जारी भएको एक वर्षपछि महाअभियोग सिफारिस समिति बनेको छ । व्यवस्थापिका संसदको बुधबारको बैठकले ११ सदस्यीय समिति गठन गरेको हो । उक्त सिफारिस समितिमा कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, फरमुल्लाह मन्सुर, दीपक कुँइकेल र कुमारी लक्ष्मी राई सदस्य रहेका छन् । त्यस्तै, एमालेका केशव बडाल, सुशीला नेपाल, पार्वत गुरुङ र रेवतीरमण भण्डारी छन् भने माओवादीबाट अमनलाल मोदी र रामनारायण बिडारी छन् ।यस्तै राप्रपा नेपालबाट प्रमुख सचेतक दीलनाथ गिरी सिफारिस समितिमा रहेका छन् । संविधानको धारा १०१ मा महाअभियोग सम्बन्धी व्यवस्था छ । सोही धाराको उपधारा ३ र ४ मा महाअभियोग सिफारिस समिति गठन सम्बन्धी व्यवस्था छ ।

भोलिदेखि संसदको वर्षे अधिवेशन सकिँदै

काठमाडौं, ३ कात्तिक । भोलि बिहीबारदेखि व्यवस्थापिका संसदको वर्षे अघिवेशन सकिने भएको छ । प्रधानमन्त्री प्रचण्डले तिहारअघि वा छठसम्म संविधान संशोधनमा सहमति गरिने बताइरहँदा भोलिदेखि संसदको वर्षे अघिवेशन अन्त्य गर्ने तयारी संसद सचिवालयले गरेको छ । वर्षे अधिवेशन अन्त्य पछि शुक्रबार सभामुख ओनसरी घर्ती एक साताका लागि स्वीट्जरल्याण्ड जाने तयारीमा छिन् । जेनेभामा हुने १३५ औं अन्तर व्यवस्थापिका संसद सम्मेलनमा सहभागी हुन उनी स्वीट्जरल्याण्ड जाने भएकी हुन् । उक्त कार्यक्रम २२ देखि २९ तारिकसम्म हुने बताइएको छ । उक्त भ्रमण टोलीमा कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, एमालेका भानुभक्त ढकाल, माओवादी केन्द्रका टेकबहादुर बस्नेत र राप्रपा नेपालका दिलनाथ गिरी सहभागी हुनेछन् । साथै, टोलीमा व्यवस्थापिका संसदका महासचिव मनोहरप्रसाद भट्टराईसमेत रहने छन् ।

भाेलि उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा हुने, उच्च अदालतद्धारा हिजाेकाे अन्तरिम आदेश खारेज

काठमाडौं, ३ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघले कात्तिक ४ गतेको लागि आह्वान गरेको विशेष साधारणसभा हुने भएको छ । पाटन उच्च अदालतले कात्तिक २ गते जारी गरेको अन्तरिम आदेश कात्तिक ३ गते (आज) खारेज गर्दै पूर्व घोषित विशेष साधारणसभा आयोजना गर्न बैधानिक बाटो खुला गरिदिएको छ । महासंघको विधान संसोधन गर्नको लागि बोलाइएको उक्त विशेष साधारणासभा विधिसम्मत नभएको भन्दै महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकार र महासंघका कार्यकारिणी सदस्य गोविन्द घिमिरेले विशेषसाधारणसभा रोक्न अन्तरिम आदेशको माग गर्दै अदालत उजुरी दर्ता गराएका थिए । उक्त उजुरी माथि सुनुवाई गर्दै उच्च अदालत, पाटन ललितपुरले विशेष साधारणसभाको प्रक्रिया यथास्थितिमा राख्न कात्तिक २ गते आदेश दिएको थियो । उच्च अदालतले हिजोको अन्तरिम आदेश खारेज गर्ने निर्णय गरको महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए । ‘अन्तरिम आदेश खारेज भएको छ । भोली (४गते)को विशेष साभारणसभा हुन्छ’ उच्च अदालत परिसरमा विकासन्युजसँग कुरागर्दै मुरारकाले भने । याे पनि पढ्नुहाेस् : महासंघलार्इ चुनाव लाग्याे, भवानी राणालाई अध्यक्ष बनाईदै, उपाध्यक्षमा कडा प्रतिस्प्रर्धा हुने

किन खुलाएन गोर्खाज फाइनान्सले सेयर कारोबार, तीन दिन भित्र जबाफ दिन धितोपत्र बोर्डको निर्देशन

काठमाडौं, ३ कात्तिक । काठमाडौं फाइनान्स र गोर्खा विकास बैंकसँग मर्जर पुरा गरी एकीकृत कारोबार सुरु गरेको गोर्खाज फाइनान्सले लामो समय भइसक्दा पनि शेयर कारोबार खुलाएको छैन । कारोबार शुरु गरेको ६ महिना बितिसक्दा पनि सेयर कारोबार नखुलाएको भन्दै नेपाल धितोपत्र बोर्डले बुधबार कम्पनीलाई तीन दिन भित्र जबाफ दिन निर्देशन दिएको छ । गोर्खा डेभलपमेन्ट बैंक र काठमाडौं फाइनान्स लिमिटेड मर्ज भएर बनेको गोर्खाज फाइनान्सले गत चैत २८ गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो । बोर्डले मर्जर पुरा गरी एकीकृत कारोबार सुरु गरेका कम्पनीहरुले लामो समयसम्म पनि शेयर कारोबार नखोल्ने कम्पनीहरुलाई कारबाही प्रक्रिया अगाडि बढाउने क्रममा गोर्खाज फाइनान्सलाई पत्र काटेको हो । बोर्डले केही समय अगाडि मात्रै मर्जर प्रक्रिया सकेर एकीकृत कारोबार थालेका कम्पनीले २ साता भित्र अनिवार्य शेयर कारोबार सुचारु गराउनुपर्ने व्यवस्था समेत गरेको छ ।