लोडसेडिङ पूर्ण रुपमा हटाउने घोषणा गरिने, सरकारको सय दिनमा नो लोडसेडिङ प्राथमिकताको नारा
काठमाडौ २७, कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकालगायतका अन्य जिल्लामा विद्युत् लोडसेडिङ पूर्ण रूपमा हटाउने सम्बन्धमा परीक्षण प्रसारण सफल भइरहेको बताएका छन्। प्रधानमन्त्री बनेको सयौँ दिन उनले सबै वैकल्पिक उपायसहित चाँडै ‘नो लोडसेडिङ’ घोषणा गरिने बताएका हुन्। यसैबीच सरकारको सय दिनको कार्यविवरण सार्वजनिक गर्न प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल एमालेसँग पनि सहमति गरी संशोधन प्रस्ताव दर्ता गरिने बताए । ‘संविधान संशोधनको प्रस्ताव तयार भएको छ, यसमा प्रतिपक्षको पनि सहमति खोज्ने प्रयास भएको छ । सकेसम्म प्रतिपक्षको पनि सहमति भयो भने वातावरण सहज हुन्छ र निर्वाचनतिर देशलाई लैजान सकिन्छ भनेर त्यसको प्रयास भइरहेको छ,’ प्रधानमन्त्रीले भने ।
सुर्तीजन्य पदार्थमा चेतावनीमूलक सन्देश राख्नेमा नेपाल पहिलो, सकारात्मक कदमप्रतिको सह्रहना
काठमाडौं २७, कात्तिक । सुर्तीजन्य पदार्थमा चेतावनीमूलक सन्देश राख्ने मुलुकको सूचीमा नेपाल पहिलो स्थानमा परेको छ । क्यानेडियन क्यान्सर सोसाइटीले सुर्तीजन्य पदार्थमा ‘चेतावनीमूलक सन्देश’ विषयक अन्तर्राष्ट्रिय प्रतिवेदन सार्वजनिक गरेको हो । यसअघि विश्व स्वास्थ्य सङ्गठनले सन् २०१५ मा आवुधावीमा भएको विश्व सुर्ती सम्मेलनमा पनि नेपाललाई सम्मान गर्नुका साथै कानुनको प्रभावकारी कार्यान्वयनका लागि आर्थिक सहयोग प्रदान गरेको प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले जनाएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ र त्यसपछि आएका नियमावलीले व्यवस्था गरेअनुरुप नेपालले ९० प्रतिशत चेतावनीमूलक चिह्न राख्ने व्यवस्था २०७१ जेठ १ गतेदेखि लागू गरेको थियो । सरकारले सुर्तीजन्य पदार्थको बट्टा, पोका, र्यापर्स, पेटी तथा पार्सल र प्याकेजिङको बाहिरी कुल भागमध्ये ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश र घातक रङ्गीन चित्र छाप्न तथा अङ्कित गर्न निर्देशन दिएको थियो । क्यानेडियन क्यान्सर सोसाइटीले भारतको दिल्लीमा भइरहेको विश्व स्वास्थ्य सङ्गठनको फ्रेमवर्क कन्भेन्सनका सरोकारवालाको सातौँ कन्फरेन्स अफ दी पार्टीको दौरानमा सो प्रतिवेदन जारी गरेको हो । सुर्ती नियन्त्रणका लागि अन्तर्राष्ट्रिय अभिसन्धिको अनुमोदन गर्ने १८१ राष्ट्रको सम्मेलन भारतको नोइडा, उत्तर प्रदेशमा यही कात्तिक २२ गतेदेखि सुरु भएको सम्मेलन शनिबारसम्म जारी रहनेछ । कारोबार दैनिकबाट ।
स्वास्थ्यका कर्मचारीको विदेश भ्रमण, एक वर्षमा पाँच सय २० पटक विदेश भ्रमण
काठमाडौं २७, कात्तिक । स्वास्थ्य मन्त्रालय र मातहतका कर्मचारीले तालिम अवलोकन भ्रमण तथा गोष्ठीका नाममा एक वर्षमा पाँच सय २० पटक विदेश भ्रमण गरेका छन् । विभिन्न देश र दातृ निकायले आयोजना गरेका कार्यक्रममा स्वास्थ्यमन्त्रीदेखि विभिन्न तहका कर्मचारी विदेश भ्रमणमा गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। केपी ओली नेतृत्वको अघिल्लो सरकारका स्वास्थ्यमन्त्री रामजनम चौधरी नौ महिनाको अवधिमा तीनपटक विदेश भ्रमणमा गएका छन् । उनी दुईपटक विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा सम्मेलन र मिटिङमा भाग लिन गएको मन्त्रालयको रेकर्डमा छ भने एकपटक हैदराबाद गएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, तत्कालीन स्वास्थ्यसचिव एक वर्षमा सातपटक विदेश भ्रमणमा गएको पाइएको छ । उनी जेनेभा, टिमोर, इन्डोनेसिया, बैंकक, नयाँदिल्लीलगायत ठाउँ गएका हुन् । एकैपटक १८ जना भ्रमणमा विनाशकारी भूकम्पपछि पुनर्निर्माणको अनुभवका लागि भन्दै विश्व स्वास्थ्य संगठनले गत फेब्रुअरी १५ देखि १९ सम्म भारतको गुजरातमा १८ जनालाई अवलोकन भ्रमण गराएको थियो । त्यसैगरी, स्वास्थ्य बीमाको कार्यक्रमका लागि तत्कालीन स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठको नेतृत्वमा सातजना जर्मनी गएको थियो । त्यसको दुई महिना पनि नपुग्दै स्वास्थ्य बीमाको अवलोकन भ्रमण गर्न भन्दै हालका सचिव (तत्कालीन प्रमुख विशेषज्ञ) डा. सेनेन्द्रराज उप्रेतीको नेतृत्वमा नौजनाको अर्को टोली गुजरात नै गएको थियो । त्यसैगरी एक महिनाको बीचमा १७ जना कर्मचारी चीन भ्रमणमा गएका थिए । नयाँ पत्रिका दैनिकबाट ।
विश्वको सबैभन्दा ठूलो थाङ्का प्रदर्शन, ७० फीट लामो थाङ्कामा गौतम बुद्धको जीवनी प्रस्तुत
काठमाडौँ, २६ कात्तिक । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सवका अवसरमा १६ राष्ट्रका कलाकारले बनाएको विश्वको सबैभन्दा ठूलो थाङ्का आजदेखि प्रदर्शनीमा राखिएको छ । मनाङ सेवा समाजको आयोजनामा दशरथ रङ्गशालामा नेपाली कलाकार सूर्यबहादुर थकाली र जापानी कलाकार यासुका तातागीको नेतृत्वमा निर्माण गरिएको ७० मि लम्बाइ र ५० मि चौडाइको सो थाङ्काले गौतम बुद्धको जीवनीलाई प्रस्तुत गरेको छ । सो प्रदर्शनीको उद्घाटन गर्दै परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बुद्धले देखाएको बाटो नै मानवसभ्यताको दिगो बाटो भएकाले उनको सन्देश विश्वभरि फैलाउनुपर्नेमा जोड दिए । उनले भने, “बुद्धको सिद्धान्तलाई विश्वसामु चिनाउन यो थाङ्काले महत्वपूर्ण भूमिका खेलेको छ ।” नेपालका लागि जापानी राजदूत मासासी ओगावाले थाङ्का प्रदर्शनीले नेपाल–जापान सम्बन्ध अझै बलियो हुने बताउँदै सम्बन्धको ६० औँ स्थापनाका अवसरमा राजदूतावासले विभिन्न कार्यक्रम गर्ने जानकारी दिए । पूर्व श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले विश्वकै सबैभन्दा ठूलो थाङ्कालाई सरकारले नेपालमा राख्न सके नेपाल पर्यटकको आकर्षकको केन्द्रबिन्दु हुन सक्ने बताए । कार्यक्रममा नेपाली कलाकार थकाली, जापानी कलाकार तातागी लगायतले १२ वर्षको अथक प्रयासले गर्दा उक्त थाङ्का निर्माण भएको र यसमा बुद्धको जन्मदेखि परिनिर्वाणसम्मको अवस्थालाई समेटेको जानकारी दिए । उक्त थाङ्का शुक्रबार र शनिबार काठमाडौँमा, आगामी मङ्सिर ५ र ६ गते पोखरामा र मङ्सिर ११ र १२ गते लुम्बिनीमा प्रदर्शन गरिने छ । रासस
भार्गव विकास बैंकले धितोपत्र बोर्डमा दियो शतप्रतिशत हकप्रदको लागि निवेदन
काठमाडौं, २६ कात्तिक । भार्गव विकास बैंकले १ बराबर १ (१०० प्रतिशत) को अनुपातमा हकप्रद सेयर ल्याउन गत बुधबार धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले १२ करोड रूपैयाँको १२ लाख कित्ता हकप्रद सेयर ल्याउन लागेको हो । हाल बैंकको चुक्ता पुँजी १२ करोड रूपैयाँ रहेको छ । बोनस सेयर बाहेक शतप्रतिशत प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्ता पुँजी २४ करोड रुपैयाँ पुग्नेछ । बैंकको हकप्रदमा बिक्री प्रवन्धकको काम एनआइबीएल क्यापिटल लिमिटेडले गरिरहेको छ ।
विद्युत् चुहावट घटाउने तयारी, आगामी आर्थिक वर्षको अन्त्यसम्ममा ३.५ % कम गर्ने लक्ष्य
काठमाडौं, २६ कात्तिक । सरकारले विद्युत् चुहावट नियन्त्रणलाई प्रभावकारी रुपमा अगाडि बढाउने कार्ययोजना अगाडि सारेको छ । मुलुकभर २५ प्रतिशतभन्दा बढी विद्युत् चुहावट भइरहेको बेला त्यसलाई आगामी आर्थिक वर्षको अन्त्यसम्ममा कम्तीमा ३ दशमलव ५ प्रतिशत कम गर्ने लक्ष्यका साथ काम सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्कअनुसार विद्युत् चुहवाटका कारण करिब एक सय मेगावाटभन्दा बढी विद्युत् खेर गइरहेको छ । खेर गइरहेको विद्युत्लाई सदुपयोग गर्न सके सहज रुपमा विद्युत् उपलब्ध गराउन सकिन्छ । कुल जडित क्षमता कम रहेको र उक्त विद्युत् चुहावटका कारण खेर गइरहेको सन्दर्भमा त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कार्ययोजना अगाडि बढाउन लागिएको हो । ऊर्जा मन्त्रालयले राष्ट्रिय योजना आयोगमा भने आफँैले घोषणा गरेको भन्दा २ दशमलव ५ प्रतिशत कम अर्थात आगामी एक वर्षभित्र एक प्रतिशत मात्रै विद्युत् चुहावट नियन्त्रण गर्ने कार्ययोजना पेस गरेको छ । प्राविधिक चुहावट नियन्त्रण गर्न सकिए राहत महसुस गर्न सकिने प्राधिकरणले जनाउँदै आएको छ । गैर प्राविधिक चुहावट भने सामान्य रहेको छ । मुलुकका विभिन्न स्थानमा भइरहेको चुहावटलाई समेत नियन्त्रण गर्ने योजनालाई पनि महत्वपूर्ण कार्ययोजनाका साथ काम गर्ने प्राधिकरणको तयारी छ । विद्युत् विकास विभागका उपकार्यकारी निर्देशक एवम् विद्युत् चुहावट नियन्त्रण अनुगमन समितिका संयोजक सञ्जीव देवले जिल्ला, क्षेत्र र केन्द्रमा लक्ष्यसहित चुहावट नियन्त्रणको काम सुरु गरिएको बताए । विशेषगरी तराईका केही जिल्ला, झक्तपुर, चितवनलगायतका जिल्लामा बढी विद्युत् चुहावट हुने गरेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । विद्युत् चुहावट हुने जिल्ला तथा क्षेत्रमा प्राधिकरणले ६० प्रतिशतभन्दा बढी विद्युत्भार कटौती गर्ने गरेको छ । विद्युत् बढी चुहावट हुने जिल्लालाई पहिलो प्राथमिकतामा राखी नियन्त्रण अभियान सुरु गरिएको र ६० प्रतिशतभन्दा बढी विद्युत् चुहावट हुने जिल्लामा कम्तीमा पनि पहिलो चरणमा ५० प्रतिशत कम गर्ने योजनाका साथ काम सुरु भएको संयोजक देव बताउछन्। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जिल्ला, क्षेत्रीय कार्यालय, वितरण केन्द्रमा समेत चुहवाट नियन्त्रण कार्ययोजनालाई पूर्ण योजनाका साथ कार्यान्वयन सुरु गरिएको बताउछन् । चुहावट नियन्त्रणबाट प्राप्त हुने रकम नियन्त्रणमा खट्ने कर्मचारीलाई प्रोत्साहन स्वरुप प्रदान गरिने भएकाले नियन्त्रण प्रभावकारी हुने प्राधिकरणको विश्वास छ । ‘‘निश्चित प्रतिशतभन्दा बढी चुहावट नियन्त्रण एवम् बक्यौता असुल गर्न सहयोग गर्ने कर्मचारीलाई निश्चित प्रतिशत प्रोत्साहन दिने लक्ष्य राखिएको छ । त्यसले हाम्रो लक्ष्यलाई पूर्णता प्रदान गर्ने विश्वास लिएका छौ,’’ उनले भने । ऊर्जा सचिव अनुपकुमार उपाध्याय चुहावट हुने विद्युत् जोगाउनु थप उत्पादन गर्नु जस्तै भएकाले त्यसमा मन्त्रालय र संवद्ध निकाय योजनाका साथ लागेको बताउछन् । ऊर्जामन्त्री जनार्दन शर्माले केही समय पहिले सार्वजनिक गरेका ३७ बुँदे कार्ययोजना र गत साल सरकारले घोषणा गरेको ९९ बुँदे ऊर्जा सङ्कटकाल कार्ययोजनामा समेत विद्युत् चुहावट नियन्त्रण गर्ने विषयलाई प्रमुख प्राथमिकता दिइएको बताउछन् । ‘‘उत्पादित विद्युत् बिना चुहावट उपभोक्ताले पाउनुपर्छ भन्नेमा सरकार प्रतिवद्ध छ, जुनसुकै चुहावट नियन्त्रण गर्न पनि हामी प्रतिवद्ध भएर लाग्नैपर्छ, त्यसमा कोही कसैले छुट पाउन सक्दैन र दिइदैन,’’ मन्त्री शर्माले भने । प्राधिकरणले प्राविधिक रुपमा रहेको १५ प्रतिशत बढी चुहावटलाई नियन्त्रण गर्न नयाँ प्रविधिको आवश्यकता महसुस गरेको छ भने हुकिङलगायतबाट हुने चुहावट नियन्त्रणलाई भने कानुनी कारबाही तथा सम्झाइबुझाइ र जनचेतना फैलाउने जनाएको छ । रासस
सगरमाथा फाइनान्सलाई ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति
काठमाडौं, २६ कात्तिक । नेपाल धितोपत्र बोर्डले सगरमाथा फाइनान्स लिमिटेडलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि फाइनान्सको १०ः८ अर्थात् ८० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति पाएको हो । कम्पनीले २९ लाखको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बोर्डले कम्पनीलाई प्रति कित्ता १ सय रुपैयाँका दरले २९ करोड ५४ लाख रुपैयाँ मूल्य बराबरको हकप्रद सेयर जारी गर्ने अनुमति दिएको हो । कम्पनीले एनआइबिएल क्यापिटल माक्रेटस्लाई बिक्रि प्रबन्धक तोकेको छ । हाल कम्पनीको चुक्ता पूँजी ३६ करोड ९२ लाख रुपैयाँ रहेको छ । हकप्रद जारी पश्चात बैंकको पूँजी ६४ करोड ४७ लाख रुपैयाँ पुग्ने छ ।
केपी ओलीले गरे बजारमुखी अर्थतन्त्र र आर्थिक उदारीकरणको आलोचना
काठमाडौँ, २६ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजारमुखी अर्थतन्त्र, उदारीकरण तथा खुल्ला समाज आर्थिक उन्नतिका लागि प्रमुख बाटो होइन भन्ने तथ्य पुटि भएको बताएका छन् । नेपाल उद्योग व्यवसायी महासङ्घको चौथो वार्षिकोत्सवको उद्घाटन गर्दै देशलाई आर्थिक, सांस्कृतिक, वैचारिक दृष्टिले अगाडि बढाउने सोच नेकपा (एमाले) बाहेक अरुसँग नभएको बताए । नेपालमा पुष्पक विमान उडाउने मानिस विद्वान् हुने र सडकमा गाडी चलाउने मानिस ड्राइभर हुने समाजको मनोगत विचारका कारण देशको आर्थिक विकास नभएको उनको भनाइ थियो । नेपालको औद्योगिक क्षेत्रमा रहेको समस्या राष्ट्रिय समस्याका रुपमा रहेको चर्चा गर्दै पूर्वप्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीले प्रगतिशील आर्थिक नीति अवलम्बन नगरेसम्म आर्थिक विकास असम्भव रहेको बताए । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर युवराज खतिवडाले नेपालमा २० लाख परिवार लघुवित्त पेसामा संलग्न रहेको उल्लेख गर्दै विदेशी बजारमा नेपालबाट बर्सेनी चार लाख श्रमिक बाहिरिने गरेको बताइ । महासङ्घका अध्यक्ष लक्ष्मीदास मानन्धरको सभापतित्वमा भएको सो कार्यक्रमका अन्य वक्ताहरुले नेपालमा औद्योगिक क्षेत्र राम्रोसँग सञ्चालन गर्न वार्षिक एक हजार ८०० मेगावाट विद्युत्को आवश्यकता रहेको तथा विशेष गरी फलाम, आल्मोनियम, सिमेन्टजस्ता उद्योगका लागि बिजुलीको आवश्यकता उच्च रहेको बताए । देशमा औद्योगिक विकास भए मात्र आन्तरिक तथा बाह्य बजारमा पनि नेपालको प्रवेश सुनिश्चित हुने भएकाले निश्चित समयसम्म राज्यले औद्योगिक उत्पादन वृद्धिका लागि लगानी गर्नुपर्छ र पूर्वाधारको विकासमा उच्च प्राथमिकता दिनुपर्नेमा उनीहरुको जोड थियो । रासस