आन्दोलनको लागि तयार रहन जिफन्टद्धारा १५ लाख मजदुरलाई निर्देशन
काठमाडौं, २६ कात्तिक । औद्योगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्र ऐनलगायतका विषयमा मजदुरहरुको अधिकार कटौती हुनेगरी ल्याइएको ऐनको प्रस्तावका विरुद्ध नेकपा एमालेको मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)ले कडा आन्दोलनको तयारी गर्ने भएको छ । सरकारले मजदुरलाई झुक्याएर चोरबाटोबाट मजदुरमारा गतिबिधि अगाडि बढाउने खोजेको भन्दै निर्णय नसच्याए आगामी मे १ देखि आन्दोलनको आंधिबेहरी र हुण्डरी मच्चाउने गरि जिफन्टले आन्दोलनको तयारी गर्ने भएको हो । जिफन्ट प्रदेश संगठन कमिटी नं ३ को आयोजनामा राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष विष्णु रिमालले मजदुरलाइ कार्यकर्तालाई आन्दोलनको लागि तयार रहन निर्देशन दिएका हुन् । उनले प्रदेश ३ बाट प्रतिनिधित्व गरेका ३ सय २० प्रतिष्ठानका अध्यक्ष र प्रतिनिधिहरुलाई सम्बोधन गर्ने क्रममा सरकार र व्यवसायीसँगको सम्बन्ध छिनोफानो गर्नेगरि मजदुर आन्दोलनमा जुट्न श्रमशक्तिमा रहेका १५ लाख मजदुरलाई तयार रहन आग्रह गरे । सबै ट्रेड युनियन संगठनसँग मिलेर आन्दोलनको हुन्डरी मच्चाउने तयारी भईरहेको जानकारी दिंदै रिमालले भने– ‘छिनोफानो जिफन्ट एक्लैले गर्नेछैन । नेपालमा रहेका सबै ट्रेड युनियनहरुलाई साथमा लिएर गरिनेछ । नेपालमा श्रम आन्दोलनको लागि आवश्यक पर्छ भने हुण्डरी मच्चाउन क्षमता राख्छौं ।’ कार्यक्रममा जिफन्ट महासचिव विष्णु लम्सालले मजदुरमाथि हुने शोषणबारे नेता कार्यकर्तालाई चुप भएर बस्न नदिने र तल्लोभन्दा तल्लो स्तरसम्म दबाबमूलक कार्यक्रमको शुभारम्भ गरिएको बताए । जिफन्ट उपमहासचिव एवं प्रदेश नं ३ का संयोजक जनक चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी थिईन् । कार्यक्रममा ३ सय २० प्रतिष्ठानका १ हजार प्रतिनिधिको सहभागीता रहेको थियो । जसले १५ लाख श्रमशक्तिको प्रतिनिधित्व गर्ने कार्यक्रममा जानकारी दिइयो । यस्तो छ मजदुर आन्दोलनको एजेण्डाः जिफण्टले तयारी गरेको आन्दोलनको एजेण्डामा सबै स्थानमा ट्रेड युनियन गठन भए नभएको हिसाब गर्ने, न्यूनत्तम पारिश्रमिकको व्यवस्था भए नभएको हिसाब गर्ने, कतिपय उद्योगमा सामुहिक सौदाबाजी हुन नदिईएकोमा त्यसको लेखाजोखा राख्ने, कर्मचारीलाई स्थायी गर्ने कानुनी व्यवस्था छ, त्यो भएको छ कि छैन हेर्ने, व्यवसायीहरुले राज्यले तोकेको र कानुनले तोकेको व्यवसायजन्य सुरक्षाहरु व्यवस्थित गरिएको छ कि छैन ? त्यसको लेखाजोखा राख्ने लगायत ६ बुँदा समेटीएको छ ।
ज्योति विकास बैंकको नाफा ४ करोड रुपैयाँ, गत वर्षभन्दा १५७ प्रतिशतले वृद्धि
काठमाडौं, २६ कात्तिक । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफामा ४ करोड ३५ लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १ सय ५७ दशमलव ०२ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले मुनाफा १ करोड ६९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकले जगेडा कोषमा ३० करोड ७२ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २० दशलमव ५३ प्रतिशतले वृद्धि गरी ७ अर्ब ९४ करोड ७९ लाख रुपैयाँ संकलन गरेर कर्जामा ६ अर्ब ७६ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनाभन्दा ३० दशमलव ०३ प्रतिशतले वृद्धि हो । बैंकको खुद व्याज आम्दानीमा १ सय २२ दशमलव ४९ प्रतिशतले बढेर ९ करोड ९४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफामा ४९ दशमलव ३५ प्रतिशत वृद्धि गरी ३ करोड ९८ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ । बैंकको प्रोभिजनमा ३ करोड २ लाख रुपैयाँ राखिएको छ भने २७ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ । बैंकको प्रतिशेयर आम्दानी वार्षिक १७ दशमलव ६६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २२ दशमलव ०३ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३१ दशमलव १२ रुपैयाँ र तरलता अनुपात २७ दशमलव १३ प्रतिशत रहेको छ । बैंकको निस्कृय कर्जा २ दशमलव १३ प्रतिशत र जोखिम युत्त सम्पत्ति १६ दशमलव ४३ प्रतिशत रहेको छ ।
भारत र चीनका लागि नेपाली राजदूत र चेम्वर पदाधिकारीबीच भेटवार्ता, आर्थिक कुटनीतिलाई प्रभावकारी बनाईनु पर्नेमा जोड
काठमाडौं, २६ कात्तिक । भारत र चीनकाखलागि नवनियुक्त नेपाली राजदूतद्वय क्रमशः दीपकुमार उपाध्याय, लिलामणी पौडेल र चेम्वर पदाधिकारीबीच आर्थिक कुटनीतिका विषयमा छलफल भएको छ । नवनियुक्त राजदूतद्वयलाई नेपाल चेम्वर अफकमर्समा स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अध्यक्ष डा. राजेश काजी श्रेष्ठले छिमेकी देशहरुमा निर्यात बढाउन र लगानी भित्र्याउन आर्थिक कुटनीतिको प्रभावकारी भूमिका रहने हुदाँनिजी क्षेत्रले नवनियुक्त राजदूतहरुबाट ठूलो अपेक्षा गरेको बताए । अध्यक्ष श्रेष्ठले भारत र चीनसंग नेपालको ठूलो व्यापार घाटा रहेको बतााउंदै भारतसंग सम्पन्न सन्धी सम्झौता कार्यान्वयन गर्न राजदूत दीपकुमार उपाध्यायको ध्यानाकर्षण गराए । अध्यक्ष श्रेष्ठले कोलकातामा कन्टेनर रोकिदां बस्तुको लागत वृद्धि हुन गएको तर्फ ध्यानाकृष्ठ गराउंदै विशाखापटनम बन्दरगाहलाई प्रभावकारी बनाउन राजदूतदीपकुमार उपाध्यायलाई अनुरोध गरे । अध्यक्ष श्रेष्ठले चीनले प्रदान गर्दै आएको भन्सार सुविधाको अधिकतम सदुपयोग गर्न तथा चिनीया पर्यटकहरुलाई नेपालमा आकर्षित गर्न, तातोपानी नाका संचालनमा ल्याउन र सुवागढी र स्याफ्रुवेशीसडक निर्माणमा राजदूत लिलामणी पौडेलको ध्यानाकर्षण गराएका छन् । राजदूतहरुले मुलुकको आर्थिक सम्वृद्धिका लागि आफूले दुई देश बीच पुलको निर्वाह गर्ने बताउंदै आफूले क्षमताले भ्याएसम्म लागी पर्ने बताएका छन् । भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले नेपालमा बहुराष्ट्रिय कम्पनीहरुले अपेक्षित सफलता हासिल गरिरहेको दृष्टान्त दिदैं नेपाल लगानीको लागि उपयुक्त स्थान रहेको बताए । त्यसैगरी चीनकालागि नेपाली राजदत लिलामणी पौडेलले चीनमा नेपाली उत्पादनहरुको माग राम्रो रहेको जानकारी गराउंदै नेपाली उत्पादनहरुले विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्नु पर्ने बताए । कार्यक्रममा चेम्वरका प्रथम उपाध्यक्ष ज्ञानेन्द्र रत्नतुलाधर, द्वितीय उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव कमलेश कुमार अग्रवाल, कोषाध्यक्ष राजेन्द्र अर्याल, सचिव निलकण्ठ चौंलागाई, देवेन्द्र भक्तश्रेष्ठ, सन्तोष कुमार पाण्डे, सह कोषाध्यक्ष राजारत्न तुलाधर लगायत कार्यसमिति सदस्यहरुले भारत र चीनसंगको व्यापार अभिवृद्धि गर्न विभिन्न सुझावहरु दिएको चेम्बर अफ कमर्शले जनाएको छ ।
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको छैटौ शाखा कैलैयामा
काठमाडौं, २६ कात्तिक । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले कलैया,बारा जिल्लाको कलैयामा छैठौं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाबाट एटिएम सेवा, एस.एम.एस बैंकिङ्ग सेवा सुविधा, इन्टरनेट बैंकिङ्ग सेवा, विप्रेशन सेवा सुविधा तथा डीपी सेवा समेत रहेको फाइनान्स कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ । फाइनान्सले चाडै नै दमक तथा जितपुरमा थप शाखा विस्तार गर्ने तयारी गरिरहेको छ । गत असार मसान्तसम्ममा निक्षेप संकलन २ अर्ब १७ करोड तथा कर्जा १ अर्ब ७९ करोड प्रवाह गरेको यस वित्तीय संस्थाको चुक्ता पूँजी ५०प्रतिशत हकप्रद सेयर तथा १२ प्रतिशत बोनस सेयर जारी पश्चात ४९ करोड ३९ लाख रुपैयाँ हुने बताइएको छ ।
जगदम्बा सिमेन्टलाई २ वर्षसम्म लगातार एनएस क्वालिटी अवार्ड
काठमाडौं, २५ कार्तिक । जगदम्बा सिमेन्टले लगातार दोस्रो वर्ष एनएस क्वालिटी अवार्ड पाएको छ । सन् २०१४ मा एनएस क्वालिटी लेटर अफ एप्रिसिएशन अवार्ड पाएको यस कम्पनीले सन् २०१५ मा पनि एनएस क्वालिटी लेटर अफ एप्रिसिएशन पाएको छ । राजधानीमा विहीबार आयोजित कार्यक्रमा उद्योगमन्त्री नविन्द्रराज जोशीले उक्त अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ । जगदम्बा सिमेन्टमा विश्वस्तरीय सिमेन्ट उद्योगबाट आयातीत क्लिङकर प्रयोग हुँदै आएको छ भने यसका उत्पादनहरु दक्ष प्राविधिकहरुबाट निरीक्षण र प्रमाणित गरे पश्चात मात्र बजारमा लगिने हुँदा गुणस्तरमा एक रुपता भएको र उपभोक्ताहरुले रुचाएको कम्पनीको भनाई छ । बजारमा आफ्नो उत्पादनको बढ्दो माग तथा ग्राहकहरुको विश्वासलाई आत्मसात गर्दै कम्पनीले उत्पादनलाई समेत समयानुकुल परिस्कृत एवम् परिमार्जित गर्दै लगेको जनाएको छ । कम्पनीले आफ्ना उत्पादनहरुमा हालसम्म नेपाल गुणस्तरका चिन्हहरु ओपीसीमा नेपाल गुणस्तर ४९, पिपिसीमा नेपाल गुणस्तर ३८५ र पिएससीमा नेपाल गुणस्तर ३८४ सम्मान प्राप्त गरिसकेको कम्पनीले जनाएको छ । कम्पनी क्वालिटी म्यानेजमेन्ट सिस्टम आईएसओ ९००१ः२००८, इन्भाइरोमेन्ट म्यानेजमेन्ट सिस्टम अवार्ड आइएबओ १४००१ः२००४ लगायतबाट समेत सम्मानित भइसकेको छ । त्यसैगरी कम्पनीले व्यूरो अफ इन्डिया स्ट्याण्डर्डबाट आईएस ८११२ र पीएससीमा आईएस ४५५समेत प्राप्त गरिसकेको कम्पनीले विहीबार जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।
दुर्घटनाबाटै सकिदैँछन् नेपालमा सिंगल इन्जिनका जहाज, सिंगल इन्जिनका नयाँ जहाज ल्याउनै प्रतिबन्ध
काठमाडौं २६, काठमाडौं । नेपालमा दुर्गम क्षेत्रको सारथि भनेर चिनिने गरेको सिंगल इन्जिनका जहाज एकपछि अर्को गरेर दुर्घटनाबाटै सकिन थालेको छन् । पटकपटकको सिंगल इन्जिनका जहाज दुर्घटनामा देखिएको प्राविधिक पक्षको कमजोरीका कारण पछिल्लो समय नेपाल नागरिक उड्डयन प्राधिकरण ( क्यान)ले नयाँ सिंगल इन्जिनका जहाज आयातमा प्रतिवन्ध लगाएको छ भने भएकै जहाजमा पनि यात्रु बोक्न कडाइ गरेको छ । सिंगल इन्जिनका जहाजलाई यात्रु उडानमा प्रतिवन्ध लगाएर कार्गो उडानमा मात्रै प्रयोग गर्न प्राधिकरणले दिएको छ । नेपालमा पछिल्लो सयम यात्रु उडानमा भएको जोखिमलाई दृष्तिगत गरेर प्राधिकरणले सिंगल इन्जिनका वायुसेवालाई कार्गो उडानमा मात्रै सिमिति राखेको छ । कार्गो उडानमा मात्रै सिमिति गरेको भएपनि पछिल्लो समय सिंगल इन्जिनका जहाज दुर्घटनाबाट नै सकिन थालेका छन् । हाल नेपालमा गोमा, काष्टमण्डप र माकालुको मात्रै सिंगल इनिजनका जहाज रहेका छन् । यी मध्ये एयर काष्टमण्डप दुर्घटना भएको र प्राविधिक पक्ष कमजोर भएकै कारण प्राधिकरणले प्रतिवन्ध लगाएको छ भने मकालुसँग एउटामात्रै जहाज रहेको छ । मकालुको सो एउटा मात्रै जहाज पनि शुक्रबार हुम्लाको धावनमार्गमा फोर्स ल्याण्डिङ गरेको छ । जसका कारण यो जहाज तत्काल उडान गर्न नमिल्ने भएकोले प्राधिकरण स्रोतको भनाइ छ । काष्टमण्डपका एउटा जहाज उडान योग्य नहुँदा यी दुई कम्पनी जहाज विहिन भएका छन् । गोमा एयरसँग पनि दुई वटा सिंगल इन्जिको जहाज भएपनि यसले भने यात्रु उडान नभएर कार्गो उडानमा मात्रै केन्द्रित गरेको सम्वन्धित वायुसेवा कम्पनिको भनाइ छ । नेपालमा वायुसेवा निगमले डेढ दशकअगाडि संचालन गरेको सिंगल इन्जिनका तीन वटा जहा दुर्घटनाबाटै सकिए भने पछिल्लो समय उदाएका वायुसेवाको पनि अवस्था त्यस्तै भएको नेपाल नागरिक उड्डन प्राधिकरणको भनाइ छ । प्राधिकरणको अनुसार थप जहाज ल्याउन प्रतिवन्ध लाएको र भएकै जहाज पनि दुर्घटना हुन थालेको पनि सिंगल इन्जिनका वायुसेवा जहाजविहिन हुन थालेका हुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा यस अघि गठन भएको सिंगल इन्जिनका वायुसेवाको उडानमा प्रतिवन्ध लगाउन सकिने सुझाव दिएको थियो । सोही सुझावका आधारमा मन्त्रलायले प्राधिकरणलाई सिंगल इन्जिनका जहाजको उडानमा प्रतिवन्ध लागउको थियो । अदालतको अन्तरिम आदेशबाट यस्तो प्रतिवन्ध खुला गरेको भएपनि काष्टमण्डपको जहाज ६ महिना अगाडि दुर्घटना भएको प्रतिवेदन पछि विगत दुई महिनादेखि सिंगल इन्जिनका जहाजमा यात्रु उडानको अनुमति नभएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका उपमहानिर्देशक राजनराज पोखरेलका अनुसार सिंगल इन्जिनका जहाज अहिले निरुत्साहित छन् । जहाजलाई निरुत्साहित गर्नु भनेको प्रतिवन्ध नै हो तर यसको औपचारिक रुपमा प्राधिकरणले प्रतिवन्धको निर्णय भने गरेको छैन । सिंगल इन्जिनलाई यात्रु बोक्न दिने कि नदिने भन्ने विषयको मुद्धा अदालतमा विचाराधिन भएकोले प्राधिकरणले यस विषयमा औपचारिक निर्णय भने नगरेको उनको भनाइ छ ।
प्रभु बैंकले ३ महिनामा २८ करोड कमायो, गत वर्षभन्दा ८ प्रतिशतले बढी
काठमाडौं, २६ कात्तिक । प्रभु बैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २८ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिव ८ प्रतिशतले बढी हो । तीन महिनामा कर र बोनस अघिको नाफा ५० करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । यस बैंकको विजनेश साइजमा भने उल्लेख्य वृद्धि देखिएको छ । बैंकको निक्षेप ६५ अर्ब २९ करोड रुपैयाँ छ । कर्जा प्रवाह ५१ अर्ब ७४ करोड रुपैयाँ छ भने लगानी ७ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । चुक्ता पुँजी ५ अर्ब ८८ करोड रहेको यस बैंकको संचित कोषमा ५५ करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५५ पैसा छ । गत तीन महिनामा बैंकको खराब कर्जा ८.३८ प्रतिशतबाट घटेर ७.५४ प्रतिशतमा झरेको छ । बैंकमा कर्जा निक्षेप अनुपात ७४ प्रतिशत छ भने क्यापिटल एडेक्वेशी १०.५१ प्रतिशत रहेको छ ।
ग्लोबल आईएमई बैंक र अार्इएफसीबीच सहकार्यको प्रयास
काठामडौं, २६ कात्तिक । ग्लोबल आईएमई बैंकले इन्टरनेशनल फाइनान्स कर्पोरेशनकासँग साझेदारीको प्रयास थालेको छ । यसै क्रममा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र इन्टरनेशनल फाईनान्स कर्पोरेसनका क्षेत्रिय निर्देशक मेङ्गेस्तु एलिमह्युबीच भेटघाट भएको छ । उनीहरुबीच भएको भेटघाटमा ग्लोबल आईएमई बैंक र नेशनल फाईनान्स कर्पोरेसन बीच एक आपसमा व्यवसायिक सहयोग आदान प्रदान गर्ने विषयमा कुराकानी भएको बैंकले जनाएको छ । भेटमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, इन्टरनेशनल फाईनान्स कर्पोरेसनका कन्ट्रि म्यानेजर, वेन्डि वार्नर, आवासिय प्रतिनिधी, रेहेना रासिद लागयतको उपस्थिति रहेको थियो । इन्टरनेशनल फाईनान्स कर्पोरेसनले विभिन्न देशमा रहेका फाईनान्सियल संघ संस्थाहरुसंगको सहकार्यमा विभिन्न संघ संस्था तथा ती देशका नागरिकहरुको लागि लगानी तथा व्यवसायिक सुझाबहरु प्रदान गर्दै आइरहेको संस्था हो ।