दोलखाबासीलाई तामाकोशीको सेयर यस वर्ष, शहिद र बेपत्ता परिवारलाई सेयर दिने तयारी छैन
काठमाडौं, २६ कात्तिक । राष्ट्रिय गौरवको आयोजना मध्ये एक अपर तामाकोशी जलविद्युत आयोजना गत मंगलबार आयोजनाको निरीक्षण गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको लगानीबाट द्वन्द्वकालमा वेपत्ता भएको तथा शहिद परिवारका सदस्यहरुलाई यस कम्पनीको सेयर दिने बताएका छन् । तर यस्तो सेयर कति जनाले पाउने र कति प्रतिशत सेयर उनीहरुलाई वितरण गरिने भन्नेबारेमा गृहकार्य नभएको कम्पनीको प्रबन्ध निर्देशक विज्ञानराज श्रेष्ठले बताएका छन् । निर्माणाधिन अपर तामाकोशी जलविद्युत आयोजना ‘शहिद र बेपत्ता परिवारका सदस्यलाई सेयर दिनुपर्छ भन्नु भएको छ । तर प्रति परिवारलाई कति सेयर दिने र कुल सेयरको कति सेयर उनीहरुलाई दिने भन्ने विषयमा गृहकार्य भएको छैन’ श्रेष्ठले भने । ४५६ मेगावाट क्षमताको अपर तामाकोशी जलविद्युत आयोजनाले प्रभावित स्थानीय जनताका लागि दिने भनेको सेयर भने यस आर्थिक वर्षभित्र निष्काशन गर्ने तयारी भएको उनले बताए । ‘चालु आर्थिक वर्ष भरीमा आयोजना प्रभावित दोलखाली जनताका लागि सेयर जारी गर्ने तयारी गरिरहेका छौं, त्यसपछि सर्व साधारणका लागि जारी गर्छाै’–श्रेष्ठले विकासन्युजसँग भने । आयोजनाले २०७२ सालमा नै स्थानीय जनताका लागि सेयर निष्काशन गर्ने तयारी गरेको थियो तर भूकम्प गएपछि भने त्यो रोकिएको थियो । आयोजनाले प्रभावित दोलखाली जनताका लागि १० प्रतिशत र सर्व साधारणका लागि १५ प्रतिशत सेयर निष्काशन गर्ने मोडालिटी तयार पारेको छ । यसअघि नै आयोजनाले २०७२ जेठ २९ गते कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरुको लागि १ करोड ८२ लाख ९९ हजार ५२० कित्ता, कम्पनीलाई ऋण प्रदान गर्ने संस्थाका कर्मचारीहरुका लागि ३० लाख ४९ हजार ९२० कित्ता र कम्पनी तथा विद्युत प्राधिकरणका कर्मचारीहरुका लागि ४० लाख ६६ हजार ५६० कित्ता सेयर निष्काशन गरिसकेको छ । हालसम्म आयोजनाको ८१ दशमलब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । विसं २०६८ बाट निर्माण सुरु भएको आयोजना २०७४ साल असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको थियो । तर २०७२ सालको भूकम्पले असर गरेपछि निर्माण प्रभावित बनेको थियो । आयोजनाले हालसम्म ३१ अर्ब ८४ करोड खर्च गरिसकेको छ । कुल ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा भूकम्पले क्षति पुर्याएपछि ४१ अर्ब ७२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
विराटनगर जुटमिल सञ्चालनका लागि गृहकार्य भइरहेको छः प्रम दाहाल
विराटनगर, २६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले देशभरका सबै रुग्ण सरकारी उद्योग सञ्चालनका लागि अध्ययन भइरहेको बताएका छन् । विराटनगरको ऐतिहासिक उद्योग विराटनगर जुटमिलको आज स्थलगत अवलोकन तथा निरीक्षणको क्रममा उनले भने – यस उद्योगलाई सञ्चालनमा ल्याउन सरकारले गृहकार्य गरिरहेको छ । प्रधानमन्त्री दाहालले “नेपालकै औद्योगिक इतिहासमा अग्रेणी भूमिका निर्वाह गरेको यो उद्योग बन्द हुनु लज्जा, हृदय बिदारक छ” भन्दै “बिगतमा निजीकरणको नाममा थुप्रै उद्योग धारासायी भए, मैले सरकारको नेतृत्व सम्हालेपछि जीर्ण उद्योग सञ्चालनका लागि अथक प्रयास गर्दै आएको छु ।” यो उद्योगका साथै हेटौँंडाको कपडा उद्योगलगायत सरकारी उद्योग सञ्चालनका लागि अध्ययन भइरहेको उनले स्पष्ट पारेका छन् । प्रधानमन्त्री दाहालले विराटनगर जुटमिलमा विद्युत् नभएर सञ्चालन नभएको विषयमा ऊर्जा मन्त्रालयमार्फत समाधान गर्ने र जग्गाको विषयमा पनि सम्बन्धित मन्त्रालयलाई समाधान गर्न निर्देशन दिने बताए। आफूले जुटमिललाई के गर्ने भन्ने विषयमा एउटा उद्देश्य लिएरै भ्रमण गरेको बताउँदै उनले जुट उद्योगको समग्र समस्या समाधानका विषयमा भारतको गोवामा हालै भारतीय प्रधानमन्त्रीसँग पनि छलफल भएको जानकारी दिए । रासस
एनबी इन्स्युरेन्सको शतप्रतिशत हकप्रद सेयर, मंसिर १७ गते वार्षिक साधारणसभा
काठमाडौं, २६ कात्तिक । एनबी इन्स्युरेन्स कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । उक्त निर्णय गत कात्तिक २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गुर्नपर्ने छ । कम्पनीको आगामी साधारणसभा यहि आउँदो मंसिर १७ गते हुने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी १५ करोड रुपैयाँ रहेको छ । हकप्रद पश्चात कम्पनीको पूँजी ३० करोड रुपैयाँ पुग्ने छ । पछिल्लो समय इन्स्योरेन्सको प्रतिकित्ता सेयर १६१ रुपैयाँमा कारोबार भएको छ ।
प्राविधिक निरीक्षण कार्यविधि तयार, कार्यविधि अनुसार घर नबने अनुदान नपाईने ( पढ्नुहोस कार्यविधिको पूर्ण पाठ)
काठमाडौं, २६ कात्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माण प्राविधिक निरीक्षण कार्यविधि, २०७३ तयार पारेको छ । भूकम्पबाट क्षति भएका निजी घरको पुनर्निर्माण, प्रबलीकरण वा मर्मत गर्नु पर्ने संरचना भूकम्प प्रतिरोधात्मक बनाउनका लागि सिफारिश गरिएको प्राविधिक ढाँचा, स्तर, सोको डिजाइन र निर्माणमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर यकिन गर्न निरीक्षण कार्यविधि तयार पारिएको हो । यस्तै पुनर्निर्माण कार्यमा खटिएका प्राविधिकहरुका लागि निरीक्षणको एकीकृत प्रकृया तोक्न आवश्यक भएकाले पनि निरीक्षण कार्यविधि तयार पारिएको प्राधिकरणले जनाएको छ । कार्यविधिमा निजी आवास पुनर्निर्माण कार्यक्रम अन्तर्गत बन्ने घरहरुको निर्माण निरीक्षण प्रक्रिया उल्लेख गरिएको छ । जसमा नक्शा पास प्रक्रिया, प्लिन्थ तहसम्मको निर्माण कार्यको निरीक्षण प्रक्रिया, प्लिन्थ तह भन्दा माथिको निर्माण कार्यको निरीक्षण प्रक्रिया समावेश गरिएको छ । यस्तै घर पुनर्निर्माण कार्य सम्पन्नताको निरीक्षण प्रक्रिया, प्रबलीकरण÷मर्मत सम्भार कार्यको निरीक्षण प्रक्रिया, तेस्रो पक्षबाट प्राविधिक अनुगमन प्रक्रिया, अनुदान सम्झौता अगावै पुनर्निर्माण भएका घरहरुको निरीक्षण प्रक्रिया लगायतबारे पनि कार्यविधिमा उल्लेख गरिएको छ । प्रक्रिया पुरा नगरी बढेका घरधनीले दोस्रो र अन्तिम किस्ता अनुदान नपाउने व्यवस्था सरकारले गरेको छ । निजी आवास पुनर्निर्माण प्राविधिक निरीक्षण कार्यविधि यस्ताे रहेकाे छ । पूर्ण पाठ पढ्नुहोस् ।
युनाइटेड सिमेन्टद्धारा निर्माणकर्मीलाई भुकम्प प्रतिरोधात्मक निर्माण सम्वन्धी तालिम
काठमाडौं, २६ कात्तिक । यूनाइटेड सिमेन्ट्स उद्योगले निर्माणकर्मीलाई लक्षित गरी भूकम्प प्रतिरोधात्मक निर्माण तथा रेट्रो फिटिङ सम्बन्धी प्राविधिक तालिम दिएको छ । उद्योगका अनुसार भूकम्पपछिको निर्माणलाई मजबुत बनाउने तथा गुणस्तरीय सामाग्री मात्रै प्रयोग गर्ने गराउने उद्देश्यले उक्त तालिम दिइएको हो । ललितपुरको लेलेमा अवस्थित आफ्नै चुनढुङ्गा खानीबाट गुणस्तरीय चुनढुङ्गा उत्खनन् गरी ओ.पि.सी. सिमेन्ट मात्र उत्पादन गर्दै आएको यस उद्योगको ‘यूनाइटेड सिमेन्ट’ ब्राण्डले नेपाल गुणस्तर चिन्ह प्राप्त गरी सकेको छ । “गुणस्तरिय निर्माण सामाग्री मात्र प्रयोग गरौ“ र मजबुत निर्माणमा जोड दिउ“” भन्ने नारा लिई अघि बढेको यस उद्योगले यस्तो किसिमको तालिम केही दिन अघि मात्रै भक्त्तपुरमा संचालन गरिसकेको छ । साथै, यस्ता किसिमका प्राविधिक तालिम अझै व्यापक रुपमा अन्य स्थानका निर्माणकर्मीलाई पनि प्रदान गर्दै जाने उद्योगको लक्ष्य रहेको छ ।
शिवम् सिमेन्टको “चाँदी नै चाँदी” योजना समाप्त
काठमाडौं, २६ कात्तिक, । शिवम् सिमेन्ट लिमिटेडले यस वर्षको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ल्याएको “चाँदी नै चाँदी उपहार योजना” समाप्त भएको छ । चाडपर्वको अवसरमा थप उत्साह प्रदान गर्न ल्याइएको योजना अन्तर्गत, शिवमले आफ्नो उत्पादनका प्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम “लक्ष्मी(गणेश” अकिंत चाँदीको सिक्का उपहार प्रदान गरेको थियो । भदौ १५ देखि कार्तिक २६ सम्म लागू गरिएको योजनामा ग्राहक तथा विक्रेताहरुले उत्साहवर्द्धक सहभागिता जनाएका थिए । आगामी दिनहरुमा पनि उपभोक्ताहरुका लागि यस्ता विशेष योजनाहरु ल्याउने प्रतिबद्धता कम्पनीले गरेको छ । शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको ओपीसी सिमेन्टमध्ये एक हो । सन् २००९ मा हेटौँडामा स्थापित सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
शुक्रबार मात्रै १३ लाख कित्ता बोनस र २० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत
काठमाडौं, २६ कात्तिक । शुक्रबार मात्रै १३ लाख ६९ हजार ५६५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सो दिन २० लाख २९ हजार ४६२ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । भक्तपुर फाइनान्स कम्पनीको १ लाख १० हजार कित्ता र बाग्मती डेभलपमेन्ट बैंकको ८ लाख ५ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, हाम्रो विकास बैंकको एक लाख ५९ हजार ५६५ कित्ता, कर्नाली डेभलपमेन्ट बैंकको २ लाख कित्ता र नेपाल कम्यूनिट डेभलपमेन्ट बैंकको ९५ हजार कित्ता गरि सो मात्रामा बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, नेपाल कम्यूनिट डेभलपमेन्ट बैंककै १० कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । हकप्रद सेयरमा बुटवल पावर कम्पनीको एक लाख ८८ हजार ९३० कित्ता, सानिमा बैंकको एक लाख ६८ हजार ५३२ कित्ता र सिर्जना फाइनान्सको ६ लाख ७२ कित्ता सेयर नप्सेमा सूचिकृत भएको छ ।
निर्माण सामाग्रीको उत्पादनकर्ता गोरखा इको प्यानललाई आइएसओ चिन्ह प्राप्त
काठमाडौं, २५ कात्तिक । नेपालमै पहिलो पटक उत्पादित गोरखा इको प्यानलको उत्पादनकर्ता इन्टरनेशल ग्रीन डेभलपर्स नेपाल प्रा.लिले आईएसओ ९००१स् २०१५ चिन्ह प्राप्त गरेको छ । स्थायी तथा अस्थायी भौतिक संरचनाको भित्री पार्टेशन वाल (गाह्रो) तथा बाहिरी वालमा प्रयोग हुने निर्माण सामाग्रीको उत्पादन गरिरहेको इको प्यानलले आईएसओ चिन्ह प्राप्त गर्न सफल भएको हो । कम्पनीका अनुसार गोरखा इको प्यानल स्वदेशी प्रिफ्याव्रिकेटेट इको प्यानल हो । यसले कुनै पनि निर्माणमा आवश्यक पर्ने वाहिरी गाह्रो र भित्री गाह्रो उत्पादन गर्दै आएको छ । यो परम्परागत निर्माण सामाग्री भन्दा हलुका, चाँंडो जडान गर्न मिल्ने, वातावरण मैत्री, थर्मल इन्स्युलेसन, साउण्ड इन्स्युलेशन, वाटर प्रुफ तथा फायर प्रुफ रहेको छ । यसका उत्पादन हलुका रहेकाले यो भूकम्प प्रतिरोधी समेत छ । इन्टरनेशल ग्रीन डेभलपर्स नेपाल प्रालिले बहराइनस्थित अलखाजा कम्पनी लिमिटेडसँगको संयुक्त लगानीमा सन् २०१४ देखि गोरखा इको प्यानल उत्पादन गर्दै आएको छ । यसले दुई इन्चदेखि नौ इन्च मोटाइसम्मको इको प्यानल उत्पादन गर्दै आएको छ । चौडाई दुईफिट र लम्वाई साढे सात फिटको इको प्यानल जडानमा छिटोछरिटो र मजबुद रहेको कम्पनीको दावी छ । यसका उत्पादन अस्थायी निर्माणमा मात्रै नभई स्थायी आवासीय घर तथा मल्टिकम्प्लेक्समा पनि प्रयोग हुँंदै आएको छ । भक्तपुरमा कारखाना रहेको यसको उत्पादन देशैभरि ठाउँंठाउँंमा रहेको डिलर्समार्फत उपलव्ध छ । हालसम्म काठमाडौं, भक्तपुर, ललितपुरलगायत उपत्यका बाहिरका विराटनगर, इटहरी, हेटौडा, चितवन, पोखरा, दाङ्ग, धनगढीमा यसका डिलर्सहरु रहेका छन् । गोरखा इको प्यानल दुई साइडमा ननएस्वेष्टस् क्याल्सियम सिल्केट वोर्ड र भित्र सिमेन्ट, वालुवा, थर्माेकोल र विशेष प्रकारको एडिटिवको मिश्रणबाट निमार्ण हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले जनाए । उनका अनुसार यसको जोडाईमा कुनै पनि च्यानलको प्रयोग हुँंदैन । त्यसैले यसको एस्थेटिक भ्यालू राम्रो हुन्छ । टंग एण्ड ग्रुभयुक्त प्यानलको जडान एडिसिभ सिमेन्ट र पियूफोमदारा गरिन्छ । यसको जडान मजबुद हुन्छ । यो वातावरणमैत्री छ । यसमा सजिलै विद्युतयि उपकरण जडान गर्न कन्सिल वायरिंग तथा बाथरुमको टायलहरु जडान गर्न सकिन्छ । सीईओ दुवालका अनुसार यो उत्पादन गर्दा वातावरणलाई प्रतिकुल हुने कुनै पनि प्रकारको उर्जाको प्रयोग हुँंदैन । यो अरु परम्परागत गाह्रो भन्दा १५ देखि २० प्रतिशतसम्म सस्तो पनि छ । भारतलगायत अन्य मुलुकबाट आयातित प्रिफ्याब भन्दा गोरखा इको प्यानल गुणस्तरयुक्त र मजबुद रहेको कम्पनीको दावी छ । सुरुमा ५० प्रतिशत बाहिरी मुलुकबाट कच्चा पदार्थ आयात गरी निर्माण थालेको कम्पनीले पुल्चोक इन्जिनियरिंग क्याम्पससँंगको सहरिसर्चमा हाल १० प्रतिशतमात्रै आयातित कच्चा पदार्थ प्रयोग गरी गोरखा इको प्यानल वनाउन सफल भएको छ । प्रिफ्याव भन्नेवितिकै कमसल तथा अस्थायी संरचनामा मात्रै हो भन्ने आम मानिसको बुझाई छ । यो भ्रमलाई चिर्दै गोरखा इको प्यानलको प्रयोग देशको बिभिन्न भागमा आवासयी घर, व्यापारिक भबन, मल्टिकम्प्लेक्स, हस्पिटललगायतमा प्रयोग हुँंदै आएको छ । वढ्दो मागलाई ध्यान दिंदै कम्पनीले निकट भविप्यमै देशका विभिन्न भागमा फयाक्टी विस्तार गर्ने योजना राखेको छ ।