नेपालीसँग भएको २५ हजारसम्मको भारु राष्ट्रको सम्पत्ति हो, टेबुल ठोकेर साट्नुपर्छ
भिष्मराज ढुंगाना भारत सरकारले चलन चल्चीमा रहेको ५०० र १००० दरका नोट नचल्ने निर्णय गरेपछि त्यसको मार नेपालीलाई नराम्ररी परेको छ । भारतले स्रोत खुलेका रकम जति पनि र सर्व साधारणलाई ठूला दरका नोट प्रति व्यक्ति ४००० भारतीय रुपैयाँ साट्न सकिने जनाएको छ । तर, नेपाल राष्ट्र बैंकले नेपालीसँग भारतीय रुपैयाँ तत्कालका लागि साट्न रोक लगाएको छ । राष्ट्र बैंकको यो निर्णयले भारतीय रुपैयाँमा कारोबार गर्दै आएका नेपालीलाई धेरै निराश र चिन्तित बनाएको छ । यो अवस्था कहिलेसम्म रहन्छ, नेपालीसँग भएको भारु राष्ट्र बैंकले साट्ने कि नसाट्ने ? प्रस्तुत छ नेपाल राष्ट्र बैंक कार्यकारी निर्देशक तथा विदेशी विनिमय विभाग प्रमुख भिष्मराज ढुंगानासँग विकासन्युजले गरिएकाे कुराकानी ः नेपालीसँग रहेको भारतीय रुपैयाँ फिर्ता गराउन राष्ट्र बैंकले के के गरिरहेको छ ? हामीले नेपालमा भएको भारुको निगरानी गरिरहेका छौैं । भारत सरकारले भारु प्रतिबन्ध लगाएकै भोलिपल्ट विहानै आकस्मिक व्यवस्थापन समितिको बैठक बसेको थियो । भारतले प्रतिबन्ध गरेकोले नेपालमा पनि भारु चलाउन मिलेन । त्यही अनुसार निर्णय गरेर सम्बन्धित निकायलाई परिपत्र गरेका छौं । त्यस्तै, राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थासँग भएको भारतीय रुपैयाँको अबस्थाबारै जानकारी लिएको छ । त्यस्तै राष्ट्र बैंकले अर्थ मन्त्रालयमा र परराष्ट्र मन्त्रालयलाई पत्रचार गरेको छ । अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई र परराष्ट्र मन्त्रालयले तत्काल भारत सरकारलाई पत्र पठाईसकेको छ । दुई देशबीच गभर्नर टु गर्भनर लेवलमा पनि सम्पर्क भएको छ । भारतीय राजदूताबासलाई पनि ५०० र १०००का भारुको सटहीको पहल गर्न अनुरोध गरेका छौं । भारतीय पक्षबाट प्रतिक्रिया के आएको छ ? नेपालमा भएको भारु साट्नुपर्छ भन्ने विषयमा भारतीय राष्ट्र बैंक (आरबीआई) सकारात्मक छ । तर आरबीआई पनि भारत सरकारको निर्णय कुरेर बसेको छ । आरबीआईबाट इमेलमार्फत हामीसँग भएको भारुको अवस्थाबारे जानकारी मागेको छ । हामीले बैंक तथा वित्तीय संस्थामा भएको पैसाको मात्रै जानकारी दिने हो, सर्वसाधारणसँग भएको पैसा यति नै छ भनेर जानकारी त दिन सकिने विषय भएन । नेपालीसँग ५०० र १००० दरका भारु कति रहेको अनुमान छ ? भारतीय रुपैयाँ २५ हजार भन्दा बढी पैसा बोक्न र घरमा राख्नै पाइदैन । त्यस्तो पैसा जतिखेर पनि जफत हुन्छ । २५ हजारसम्मको भारु राष्ट्रकै सम्पत्ति हो, यसलाई सहटी गर्ने व्यवस्था राज्यले जसरी भएपनि मिलाउनुपर्छ । सर्वसाधारणसँग भएको पैसा अनुमान पनि गर्न सकिदैन । उक्त दरका नोट बैंक तथा वित्तीय संस्थामा करिब तीन करोड ६० लाख भारु रहेको देखिएको छ । नेपालीसँग रहेको भारु सटहीको गर्ने विषयमा नेपालस्थित भारतीय दूतावासको भनाई के छ ? दुतावासकाअधिकारीहरुले सकारत्मक कुरा गरेका छन् । भारतीय सरकारले सकारात्मक रूपमा नै हेर्छ भन्ने कुरा पाएका छौं । हामीले हाम्रो तर्फबाट कुरा राखेका छौं । भारतमा काम गरेर फर्केका धेरै नेपालीलाई ठूलो समस्या भएको छ । व्यक्तिसँग भएका २५ हजार रुपैयाँसम्मको भारु त साट्नुपर्छ भनेर हामीले लविङ गरिरहेका छौं । राष्ट बैंकले सर्वसाधारसँग भएको पैसा तत्काल साट्दैनौ भन्दा सर्वसाधारण आत्तिएका छन् । सर्वसाधारणसँग भएको ५०० र १००० दरका भारतीय रुपैयाँ अब के हुन्छ त ? नेपालीले दिनरात मेहनत गरेर कामएको पैसा उनीहरुको कमाई मात्रै नभएरै नेपालकै सम्पति हो । त्यो पैसा साट्न नपाए राष्ट्रकै सम्पत्ति गुम्ने हो । त्यसैले यो सम्पत्ति नगुमाउन राष्ट्रले नै यसलाई लिने व्यवस्था गर्नुपर्छ । हामीेले आफ्नो तर्फबाट मेहनत गरिरहेका छौं । गैरकानुनी रूपमा आर्जन गरेको होइन । नेपालमा भारुको प्रयोग भारत सरकारले दिएको सीमाभित्रै रहेको चलन चल्तीमा छ । त्यसैले त्यो रकम हामीले टेवल ठोकेर पनि लिनुपर्छ, सटही हुनुपर्छ । कसैले एक करोड छ, दुई लाख छ भन्ला तर त्यो पैसा भने गैरकानुनी हो । भारतीय रुपैयाँ २५ हजार भन्दा बढी पैसा बोक्न र घरमा राख्नै पाइदैन । त्यस्तो पैसा जतिखेर पनि जफत हुन्छ । २५ हजारसम्मको भारु राष्ट्रकै सम्पत्ति हो, यसलाई सहटी गर्ने व्यवस्था राज्यले जसरी भएपनि मिलाउनुपर्छ ।
खाद्य सम्प्रभुताको ग्यारेन्टीको माग गर्दै विप्लप नेतृत्वको माओवादीको नेपाल बन्द, बन्दले निजी क्षेत्र प्रभावित
काठमार्डाैं २८, कात्तिक । विप्लव नेतृत्वको नेकपा (माओवादी)ले खाद्य सम्प्रभुताको ग्यारेन्टीको माग गर्दै आज नेपाल बन्द आयोजना गरेको कारण उपत्यकासहितका देशैभरको जनजीवन प्रभावित बनेको छ । बन्द आयोजना आव्हानले बिहानैदेखि सार्वजनिक सवारी साधन सडकमा देखिएका छैनन् भने केही निजी मोटरसाइकल र ट्याक्सीहरू मात्रै सडकमा चलिरहेका छन्। सार्वजनिक सवारी साधन नचल्दा यात्रुल सास्ती बेहोर्नु परेको छ। बन्दको प्रभावले निजी क्षेत्र सबैभन्दा धेरै प्रभावित हुने गरेको छ । दैनिक मजदुरी गर्नेदेखि निजी क्षेत्रका साना व्यापार व्यवसायदेखि ठूला उद्योग कलकारखानपनि ठप्प हुँदा एउटै बन्दबाट देशले अर्बौ रुपैयाँको क्षति व्यवहोनुपर्ने निजी क्षेत्रका व्यवसायीको भनाइ छ । प्रहरीले भने आइतबार विहानैदेखि बन्द गराउँदै हिड्ने नेकपा (माओवादी) का करिब ५ दर्जन कार्यकर्तालाई राजधानीका विभिन्न ठाउँबाट पक्राउ गरिसकेको छ । नेपाल प्रहरीका अनुसार कालीमाटी, बानेश्वर, रत्नपार्क, महाराजगञ्जमा बन्द गराउन चोकमा भेला भएका उनीहरूलाई पक्राउ गरिएको बताए। अहिलेसम्म कुनै पनि अप्रिय घटना नभएको उनले बताए। प्रहरीले काठमाडौं उपत्यकासहित देशभरको सुरक्षा व्यवस्था कडा पारेको छ। उपत्यकाका चोक चोक तथा भित्रि गल्लीमा सादा पोशाकका प्रहरी पनि खटिएका छन् ।
ओम डेभलपमेन्ट बैंकको नाफा ६१ प्रतिशतले बढ्यो, तीन महिनामा ३ करोड २१ लाख खुँद नाफा
काठमाडौं २८, कात्तिक । ओम डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा ६१ प्रतिशतले नाफा बढाएको छ । यो बैंकले चालू आवको पहिलो तीन महिनामा ३ करोड ३२ लाख रुपैयाँ खुँद नाफा गरेको छ । यस्तो नाफा अघिल्लो वर्षको सोही अवधिमा २ करोड रुपैयाँ मात्रै नाफा गरेको उल्लेख छ । बैंकको जगेडा कोषमा ६० करोड रुपैयाँ रहेको छ । बैंकले गत असोज मसान्तसम्ममा कुल १२ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरेर १० अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यो बैंकको निक्षेप अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब १९ करोड रुपैयाँ मात्रै रहेको थियो । अघिल्लो वर्ष यो बैंकको कर्जापनि ४ अर्ब ३६ करोड रुपैयाँ मात्रै थियो । यो सस्था सिटी डेपलपमेन्ट बैंक र ओम फाइनान्स एक आपसमा गाभिएर ओम डेपलपमेन्ट बैंक बनेको हो । बैंकको खराब कर्जा १ दशमलव ९६ प्रतिशत रहेको छ । यस्तो कर्जा अघिल्लो वर्षको असोज मसान्तमा १ दशमलवल ११ प्रतिशत मात्रै रहेको थियो । बैंकको निक्षेप र कर्जाको अनुपात (सीडी रेसियो) ७७ दशमलव ०८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यो सीडि रेसियो ७४ दशमलव ८६ प्रतिशत रहेको थियो । बैैंकको प्रति सेयर आम्दानी १२ रुपैयाँ रहेको छ । यो बैंकको प्रति सेयर बजारमा ६ सय २९ रुपैयाँमा कारोबार भइरहेको छ ।
तीन महिनमा माछापुच्छ्रे बैंकको नाफा २४ करोड, गत वर्षको तुलनामा ४२ प्रतिशतले बढी
काठमाडौं, २८ कात्तिक । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम तीन महिनमा २४ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशतले बढी हो । बैंकको बिजनेश पनि उच्च दरमा बढेको छ । २०७२ असोज मसान्तमा ४४ अर्ब निक्षेप रहेकोमा २०७३ असोज मसान्तसम्ममा ५८ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको छ । एक वर्षअघि कर्जा प्रवाह ३६ अर्ब रहेकोमा अहिले ४९ अर्ब ८७ करोड रुपैयाँ बनाएको छ । त्यस्तै बैंकको लगानी ६ अर्ब रुपैयाँ रहेको छ । बैंकका मुख्य परिसूचकहरु सन्तुलित छन् । क्यापिटल एडेक्वसी ११ दशमलव २० प्रतिशत छ । कर्जा निक्षेप अनुपात ७६ प्रतिशत छ । निस्क्रिय कर्जा शुन्य दशमलव ५४ प्रतिशत रहेको छ । ४ अर्ब ६६ करोड रुपैयाँ चुक्ता पुँजी भएको यस बैंकको संचित कोषमा ९२ करोड रुपैयाँ छ । गत वर्षको नाफाबाट बैंकले बोनस सेयर दिदै छ र भने पुँजी वृद्धि गर्न हकप्रद सेयर निष्काशनको तयारी गरिरहेको छ । प्रति सेयर आम्दानी २१ रुपैयाँ १७ पैसा रहेको छ । पछिल्लो समय यस बैंकको सेयर मूल्य प्रतिकित्ता ५४३ रुपैयाँमा कारोकार भएको छ ।
अबदेखि कक्षा १२ मा मात्र एसएलसी, १० कक्षामा भने माध्यमिक परीक्षा
काठमाडौं २८, कात्तिक । शिक्षा मन्त्रालयले कक्षा १२ को परीक्षालाई एसएलसी (माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा) नामकरण गरेको छ । शिक्षा ऐनको आठौँ संशोधनले कक्षा १२ सम्मलाई विद्यालय तहमा पुनर्संरचना गरेपछि अबदेखि कक्षा १२ को अन्त्यमा एसएलसी परीक्षा लिने निर्णय गरेको हो । शिक्षा ऐनको आठौँ संशोधनबाट उच्च माध्यमिक शिक्षा परिषद् खारेज भई राष्ट्रिय परीक्षा बोर्ड स्थापना भएपछि यसका कार्यालयहरू सातै प्रदेशमा राख्न सिफारिस भएको छ । शिक्षा मन्त्रालयले गठन गरेको ६ सदस्यीय प्राविधिक समितिले सहसचिवस्तरको कर्मचारी प्रमुख रहने गरी सातै प्रदेशमा कार्यालय राख्न तथा अहिलेको संरचनाभन्दा केही फरक हुनेगरी संरचना तयार गर्न सुझाब दिएको हो । प्रतिवेदनमा सातवटै प्रदेशमा सहसचिवसरहको कर्मचारीको नेतृत्वमा राष्ट्रिय परीक्षा बोर्डका क्षेत्रीय कार्यालयहरूको व्यवस्थापन गर्ने सिफारिस भएको छ । बोर्डका क्षेत्रीय कार्यालयहरू परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि सक्षम नहुँदासम्म कक्षा १० को परीक्षा हालको परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन गर्न सिफारिस गरेको छ । कक्षा ११ को राष्ट्रिय परीक्षा हाल कार्यान्वयनमा रहेको कक्षा ११ र १२ को पाठ्यक्रम पुनव्र्यवस्थापन नहुँदासम्म मात्र सञ्चालन गर्ने र परिमार्जित पाठ्यक्रमअनुसारको परीक्षा सञ्चालन गर्दा कक्षा ११ विद्यालय तहबाटै र कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा परीक्षा बोर्डले सञ्चालन गर्नेलगायतका सिफारिस भएका छन् । नयाँ पत्रिका दैनिकबाट ।
सडक सञ्जालबाट कायापलटको अपेक्षा, समृद्ध नेपालका लागि सडक रणनीति सार्वजनिक
काठमाडौँ २८, कात्तिक । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘समृद्ध नेपालका लागि सडक, रेललगायत यातायात विकासको पाँचवर्षे रणनीतिक योजना बनाएकोछ । नेपाललाई सन् २०२२ सम्म अतिकम विकसित मुलुकबाट विकासशील मुलुकको स्तरमा पुर्याउने राष्ट्रिय अठोटलाई सार्थक बनाउन तथा आमनागरिकलाई सुरक्षित, सर्वसुलभ र प्रदूषणमुक्त यातायात सेवा प्रदान गर्ने उद्देश्यसहित मन्त्रालयले पाँचवर्षे रणनीतिक योजना तयार पारेको बताइएको छ । यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले मुलुक सङ्घीय संरचनामा प्रवेश गरिसकेको अवस्थामा सङ्घ र प्रदेशबीच, प्रदेश प्रदेशबीच र छिमेकी मुलुकहरूसँग सर्वसुलभ यातायात सम्पर्कका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सडक सञ्जालको विकास, सुदृढीकरण र प्रभावकारी यातायात व्यवस्थापन गरी समृद्ध नेपाल निर्माणमा सहयोग पु¥याउनु नै यस रणनीतिक योजनाको मुख्य उद्देश्य रहेको बताए। मुलुकको राष्ट्रिय एकता, अखण्डता, क्षेत्रीय सन्तुलन र मुलुकका विभिन्न भागका नागरिकबीच आपसी सम्बन्ध कायम गरी समृद्ध नेपाल निर्माणको आधार तयार गर्ने तथा मुलुकको राजधानी र प्रत्येक प्रदेशको राजधानीलाई राष्ट्रिय राजमार्गसँग कम्तीमा एकवटा चार लेन सडकसँग जोडिने नीति यस महìवाकाङ्क्षी रणनीतिक योजनाअन्तर्गत लिइएको छ । त्यसैगरी स्थानीय जनतामा सडक यातायातको पहुँचलाई प्रदेश र केन्द्रसम्म बाह्रै महिना सहज र भरपर्दो रूपमा विकास गरिने नीति यस योजनाको छ । विद्यमान यातायात व्यवस्थापन प्रणालीमा सुधार गरी सर्वसाधारणको आवागमन र वस्तुहरूको ओसारपसार सुरक्षित, भरपर्दो तथा कम खर्चिलो बनाइने नीति योजनाको रहेको छ । गोरखापत्र दैनिक बाट ।
चुहावट भएका ग्यास सिलिन्डर बिक्री, पुराना तथा गुणस्तरहीन सिलिन्डर बजारमा
काठमाडौं २८, कात्तिक । बाँकेका ग्यास उद्योगहरुले चुहावट भएका पुराना तथा गुणस्तरहीन सिलिन्डर बजारमा पठाइरहेको खुलासा भएको छ । नेपालगञ्ज लगायतका क्षेत्रका अधिकांश उपभोक्ताका घरमा चुहावट भएका ग्यास सिलिन्डर पठाइएको खुलासा भएपछि उपभोक्ता आतंकित भएका छन् । चुहावट भएको सिलिन्डरकै कारण नेपालगन्ज, धम्बोझीको सोल्टी सेकुवा कर्नरमा आगो लागेको घटना सेलाउन नपाउँदै नेपालगन्ज ११ का शमसुदीन सिद्धिकीको घरमा मगाइएको ग्यास सिलिन्डर पनि चुहावट भएको पाइएको छ । चुहावट भएको ठाउँमा मैनवत्तीले टालेर ग्यास उद्योगले ग्रहकका घरमा पठाएको पाइएको हो । कारोबार दैनिकबाट ।
जहाजको प्राविधिक परीक्षण नेपालमै सुरु, बुद्ध एयरले थाल्यो नेपालमै विदेशी जहाज मर्मत
काठमाडौं २८, कात्तिक । मुलुकमै पहिलोपटक जहाजको परीक्षण र मर्मतसम्भार (एमआरओ) सेवा सुरु भएको छ । निजी क्षेत्रद्वारा सञ्चालित बुद्ध एयरले स्वदेशी र विदेशी एयरलाइन्सहरुलाई यस्तो सुविधा उपलब्ध गराउने भएको हो । सरकारले गत भदौमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको बुद्ध एयरको ह्याङ्गरलाई एमआरओ सेवा दिनसक्ने अनुमति दिएको थियो । नेपालमा जहाजको सामान्य चेकजाँच हुने गरे पनि यस्तो सुविधा यसअघि थिएन । बुद्धका अनुसार अब एटीआर र बीच एयरक्राफ्टको ‘होलबडी’ चेकजाँच र मर्मत गर्न नेपाल बाहिर लैजानु नपर्ने भएको छ । बुद्धको ह्याङ्गरबाट सुरु भएको एमआरओ सेवाले दीर्घकालमा विदेशी एयरलाइन्सका जहाजसमेत मर्मत गर्ने बाटो खुलेको छ । “लामो समयसम्मको तयारीपछि एमआरओ सेवा सुरु गरेका छौं,” बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने । हालसम्म बंगलादेशको नोभो एयर र भुटानको ड्रुक एयरले मर्मतको सेवा लिन बुद्ध एयरसँग सम्झौता गरिसकेका छन् । बुद्धको ह्याङ्गरमा हाल १ सय ४६ प्राविधिक कार्यरत छन् । एमआरओ परीक्षणको शुल्क नतोकिए पनि ३० हजार डलरदेखि १ लाख डलरसम्म पर्छ । नेपालमा दुई ठूला विमानस्थल ९पोखरा र भैरहवा० निर्माण भइरहेकाले पनि बुद्ध एयरले सञ्चालन गर्ने एमआरओ सेवाले धेरै एयरलाइन्सले सेवा पाउने बताइएको छ । बुद्धको ३७ हजार वर्गफिट क्षेत्रफलमा रहेको ह्याङ्गरबाटै यो सेवा उपलब्ध हुने जनाइएको छ । बुद्धले सन् २०१२ मा झन्डै २५ करोड रुपैयाँ खर्चिएर यो ह्याङ्गर निर्माण गरेको थियो । कारोबार दैनिकबाट ।