सुविसुको ‘मोर देन एक्सपेक्टेड’ योजना अन्तर्गत ईन्टरनेट र टिभीमा ५० प्रतिशत छुट
काठमाडौं, २२ मंसिर । सुविसु केवल नेट प्रा.लि. ले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुका लागि मोर देन एक्सपेक्टेड योजना प्रस्तुत गरेको छ । जस अन्तर्गत ग्राहकहरुले क्लियर टिभी एचडी सेटअप बक्स, मोडियम, वाईफाई राउटर जडान खर्च निःशुल्क रुपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । उक्त योजना अन्तर्गत ग्राहकहरुले क्लियर टिभीको प्याकेज २ हजार ९ सय ९९, र इन्टरनेट र टिभी कम्बो प्याकेज ७ हजार ९ सय ९९ मा प्राप्त गर्न सक्नेछन् । कम्पनीले ईन्टरनेट र टिभी सेवाका प्याकेजहरुमा ५० प्रतिशत भन्दा बढि छुट दिएको हो । उक्त योजना सिमित अबधिका लागि लागु गरिएको छ भने योजनामा केही शर्तपनि लागु हुने कम्पनीले जनाएको छ । सुबिसुले ग्राहकहरुलाई एउटै तारबाट ईन्टरनेट र टिभी सेवा प्रदान गर्दछ ।
काठमाडौंमा टाटा टिपर मेला हुने, नयाँ टिपर खरिदका साथै पुराना एक्स्चेन्ज गर्न सकिने
काठमाडौं, २२ मंसिर । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले यही मंसिर २४ र २५ गते आफ्नो प्रधान कार्यालय नैकापमा टाटा टिपर मेला संचालन गर्ने भएको छ । उक्त टिपर मेलामा ग्राहकहरुले टाटा मोटर्स्को अत्याधुनिक टिपरहरु अवलोकन, छनोट र पुराना टिपरहरु एक्स्चेन्ज गर्ने अवसर प्राप्त गर्नेे कुरा कम्पनीले जानकारी गराएको छ । साथै कम्पनीले ग्राहकहरुको पुराना गाडीहरुको चेक जाँच र खरिद गर्ने नयाँ टिपरहरुका लागि अन द स्पट फाइनान्स र बीमा सुविधा प्रदान गर्ने कुरा जानकारी गराएको छ । यी सम्पूर्ण कार्यक्रमहरु एउटै छानामुनि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु सहित सम्पन्न हुने कम्पनीले बताएको छ । नेपालभरका टाटा टिपर प्रयोकर्ताहरुका लागि लक्षित गरिएको उक्त टिपर मेलामा सम्पूर्ण दर्शहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने उक्त २ दिने मेलामा दर्शकहरुको उल्लेख्य एवं उत्साहजनक सहभागिता रहने कुरामा कम्पनी आशावादी रहेको छ ।
प्राधिकरणका तीन सञ्चालकले मन्त्रालयमा नै गएर बुझे स्पष्टीकरण पत्र
काठमाडौँ, २२ मंसिर । नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकले उर्जा मन्त्रालय गएर स्पष्टीकरण पत्र बुझेका छन् । बुधबार प्राधिकरणका सञ्चाक मनोज कुमार मिश्र, लक्ष्मण प्रसाद अग्रवाल र सुरज लामिछानेले उर्जा सचिव अनुपकुमार उपाध्यायको कार्यालयमा गएर स्पष्टीकरण पत्र बुझेका हुन् । यसअघि मन्त्रालयले घरमा र कार्यालयमा स्पष्टीकरण पत्र पठाउदा पनि उनीहरुले पत्र बुझ्न अस्विकार गरेका थिए । उनीहरुको नाम पत्रिकामा छापिएपछि उनीहरुले पत्र बुझेका हुन् । उनीहरुविरुद्ध उर्जा मन्त्रालयले प्राधिकरण सुधार अभियानमा अवरोध गरेको आरोप लगाइ काराबाही थालेको थियो । सोही कारबाही स्वरुप उनीहरुलाई स्पष्टीकरण पत्र दिइएको हो । उनीहरुले प्राधिकरणका प्रमूख कार्यकारी अधिकृत कुलमान घिसिङको प्रस्ताव बोर्डबाट पारित गर्न दिएका थिएनन् । घिसिङे प्राधिकरण सुधार एवं कम्पनी मोडलमा परियोजना अघि बढाउने प्रस्ताव सञ्चालक समितिमा राखेका थिए ।
माथिल्लो कर्णाली र अरुण थ्री एक बर्षपछि धकेलिए, भारतीय कम्पनीले लगानी जुटाउन सकेनन्
काठमाडौं, २२ मंसिर । ९००/९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजना र अरुण थ्री एक बर्षपछि धकेलिएका छन् । निर्माणकर्ता कम्पनीहरुले लगानीको व्यवस्था(फाइनान्सियल क्लोजर) गर्न नसक्दा यी दुबै आयोजना सम्पन्न हुने मिति एक बर्ष पछि धकेलिएको हो । माथिल्लो कर्णालीको निर्माण कर्ता कम्पनी जिएमआर हो भने अरुण थ्रीको निर्माता सतलज जलविद्युत निगम लिमिटेड हो । पुर्व सम्झौता अनुसार माथिल्लो कर्णालीको निर्माता कम्पनी जिएमआरले असोज ३ गते र अरुण थ्रीको सतलजले मंसिर १० गते भित्र लगानीको श्रोत जुटाइ सक्नुपर्ने थियो । तर यी दुबै कम्पनीले हालसम्म लगानीको श्रोत जुटाउन सकेका छैनन् । ‘जिएमआर र सतलज दुबैले तोकिएको समयमा लगानीको श्रोत जुटाउन सकेका छैनन्, यसले आयोजना अघि बढाउन केहि समस्या उत्पन्न भएको छ, समयमै काम सम्पन्न गर्न पनि समस्या हुने देखेका छौं’, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत माहाप्रसाद अधिकारीले भने । लगानी बोर्ड श्रोतका अनुसार यी दुबै कम्पनीले लगानीको श्रोत जुटाउनकै लागि एक बर्ष समय थपिदिन आग्रह गर्दै लगानी बोर्डमा निवेदन दिईसकेका छन् । ‘दुबै कम्पनीले लगानीको श्रोत जुटाउनका लागि एक बर्षको थप समय माग्दै बोर्डमा निवेदन दिएका छन, यसले आयोजनाहरु कम्तिमा पनि एक बर्ष पर धकेलिने निश्चित भएको छ’, लगानी बोर्ड श्रोतले विकासन्युजसँग भन्यो । दुबै कम्पनीले भूकम्प र नाका बन्दी कारण तोकिएको समय भित्र लगानी जुटाउन नसकेको दावी गरेका छन् । जिएमआर भारतीय निजी कम्पनी हो भने सतलज जलविद्युत निगम भारतको पब्लिक कम्पनी हो । माथिल्लो कर्णालीको लागत ११५ अर्ब प्रक्षेपण गरिएको छ भने अरुण थ्रीको लागत ६७ अर्ब प्रक्षेपण गरिएको छ । माथिल्लो कार्णालीको पिडिएमा निर्माण कर्ता कम्पनी जिएमआरसँग नेपालले २०७१ असोज ३ गते हस्ताक्षर गरेको थियो भने अरुण थ्रीको पिडिएमा लागि सतलजसँग २०७१ मंसिर ९ गते हस्ताक्षर गरेको थियो । माथिल्लो कर्णालीले सन २०२१ सेप्टेम्बर १९देखि विद्युत उत्पादन गर्ने पिडिएमा उल्लेख गरिएको छ । त्यस्तै, अरुण थ्रीले सन २०२३ नोभेम्बर २५ देखि विद्युत उत्पादन थाल्ने उल्लेख छ । तर यी दुबै कम्पनीले तोकिएको समयमा लगानी जुटाउन नसकेपछि कम्तिमा एक बर्ष पर धकेलिने निश्चित भएको छ । ‘दुबै कम्पनीले वित्तिय व्यवस्थापन गर्न सकेका छैनन्, समयमै काम सम्पन्न गर्नमा पनि आशंका उत्पन्न भएको छ, हामी गहन अध्ययन गरिरहेका छौं’, प्रमुख कार्यकारी अधिकृत अधिकारीले भने । माथिल्लो कर्णालीबाट नेपालले २५ बर्षमा १५६ अर्ब रोयल्टी, ८३ अर्ब आयकर र १२ प्रतिशत निःशुल्क विद्युत, २७ प्रतिशत निःशुल्क इक्विटी र २ मेगावाट बराबरको ग्रामिण विद्युतिकरण उपलब्ध हुने बताइएको छ । त्यस्तै, अरुण थ्रीबाट नेपालले १५० अर्ब रोयल्टी, ७७ अर्ब आयकर, २१ दशमलब ९ प्रतिशत निःशुल्क विद्युत र प्रभावित नागरिकलाई प्रतिपरिवार प्रतिमहिना ३० युनिट विद्युत उपलब्ध हुने बताइएको छ । नेपालका ठुला जलविद्युत आयोजना भारतीय कम्पनीलाई कौडीको भाउमा दिएको भन्दै सरकारको आलोचना हुने गरेको छ । त्यस्तै, भारतीयहरुले नेपालका ठुला जलविद्युत तथा पुर्वाधार आयोजना निर्माणको जिम्मेवारी लिएर नबनाउने र नेपालाई अबिकासको भूमिरीमा राखिरहेको आरोप लागिरहेको छ । यहि आरोपका बिच दुर्य वटा ठुला जलविद्युत आयोजनाको जिम्मा लिएर काम अघि नबढाएपछि सोही आरोपलाई थप बल पुगेको छ ।
नेपालमा पहिलो पटक इन्टरेनट मार्फत फन्ड ट्रान्सफर, एनआईसी एसियाको अन्तर बैंक फण्ड ट्रान्सफर सञ्चालनमा
काठमाडौं, २२ मंसिर । एनआइसी एसियाले अन्तर बैंंक फन्ड ट्रान्सफर गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले नेपाल क्लियरीङ हाउससँगको सहकार्यमा इन्टरनेट बैंकिङ सेवामार्फत सो सुविधा सञ्चालनमा ल्याएको हो । बैंकले इन्टरनेटमार्फत सोझै फण्ड ट्रान्सफर गर्न मिल्ने सेवा ल्याउने नेपालकै पहिलो बैंक भएको दावी गरेको छ । सो सेवा सञ्चालनमा आएपछि बैंकका ग्राहकहरुले सजिलैसँग ६० भन्दा बढी बैंक तथा बित्तीय संस्थाहरुमा रहेका खाताहरुमा फण्ड ट्रान्सफर गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम सेवा एबम् सुविधा उपलब्ध गराउने उदेश्यका साथ सो सेवा सञ्चालनमा ल्याइएको बैंकले दावी गरेको छ ।
नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच सम्झौता, अब चिनियाँ मार्गबाट पनि इन्टरनेटमा आवद्ध हुन सक्ने
काठमाडौं, २२ मंसिर । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवल बीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केबुल मार्ग बाट जोड्न नेपाललाई आईपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र चाइना टेलिकम ग्लोबल लिमिटेड (सीटीजी)का कार्यकारी उपाध्यक्ष ओउ यानले हङकङमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् । केही समय अघि मात्र नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवल अप्टिकल फाइबरमार्फत जोडिएका थिए । त्यसपछि हाल यो सम्झौता सम्पन्न भएको हो । चीनसँग स्थल मार्ग हुँदै जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुनेछ । भारत हुँदै प्रयोग गरिएको रुट बाहेक इन्टरनेशनल कनेक्टीभिटीको लागि यो अर्को महत्वपूर्ण विकल्प रहेको कम्पनीले जनाएको छ । अब चिनियाँ मार्गबाट पनि इन्टरनेट आवद्धता सम्भव भएको छ । यसअघि भारतीय मार्गबाट मात्र सो सम्भव थियो । नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायकसँग जोडिएकोमा अब चिनियाँ बाटोबाट समेत इन्टरनेटमा आवद्ध हुन सहज भएको छ । उक्त सम्झौता गर्न आयोजित कार्यक्रममा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्यले, नेपाल टेलिकमले यो थप रुटबाट लाभ लिन सक्ने विश्वास ब्यक्त गरेका छन् । उनले चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो रुटमार्फत नेपाललाई ट्रान्जिट हबको रुपमा स्थापित गर्न सकिने अपेक्षा गरेका छन् । त्यस्तै सीटीजीका कार्यकारी उपाध्यक्ष ओउ यानले चाइना टेलिकमले हिमालय क्षेत्रमा आफ्नो रुट विस्तार कार्य गरिरहेको र यसबाट नेपाल–चीन रुटमा सेवा प्रदान गर्नुका साथै भारतबाट समेत ट्रान्जिट सेवा प्राप्त गर्न सहयोग पुग्ने बताएका छन् । उनले नेपाल टेलिकमलाई अत्याधुनिक सुविधासहितको रुट प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
आइएमईले सुरु गर्यो भारतबाट रेमिटेन्स ल्याउन, अक्सिजनसँग सहकार्य
काठमाडौं, २२ मंसिर । आइएमई लिमिटेडले भारतमा रेमिटेन्स सेवा आरम्भ गरेको छ । भारतीय रेमिटेन्स सेवा प्रदायक कम्पनी अक्सिजनसँगको सहकार्यमा आइएमईले भारतबाट रेमिटेन्स सेवा आरम्भ गरेको हो । अब भारतमा रहेका नेपाली कामदारले अक्सिजनका शाखा तथा सेन्टरहरुबाट नेपालमा रकम पठाउन सक्नेछन् । नेपालमा आइएमईले नेपालभर छरिएर रहेका आफ्ना शाखा तथा सेन्टरहरुबाट रकम भुक्तानी दिनेछ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आइएमई र अक्सिजनको नेतृत्वले भारतबाट नेपालमा रेमिटेन्स मार्फत रकम पठाउन सकिने सेवा आरम्भ गरेको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा अक्सिजनका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रमोद सक्सेना र कार्यकारी निर्देशक आशुतोष श्रीवास्तवको उपस्थिती थियो । आइमएईका तर्फबाट प्रबन्ध निर्देशक हेमराज ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र ग्लोबल आइएमई बैंकका सिनियर डेपुटी सिइओ जनक शर्मा पौडेलको सहभागीता रहेको थियो । कार्यक्रमा आइएमईका सिइओ सुमन पोखरेलले भारतमा रहेका नेपाली कामदारले अब आफ्नो आम्दानी सुरक्षित तवरले नेपाल पठाउन सक्ने बताए । यो सेवाले भारतबाट नेपाल भित्रिने रकमलाई बैधानिक बाटोबाट ल्याउन सहयोग पुग्ने पनि उनले बताएका थिए । | त्यस्तै, अक्सिजनका अध्यक्ष प्रमोद सक्सेनाले पनि भारतमा रहेका ५० लाख नेपाली कामदारलाई घर दैलामा पुगेर रेमिटेन्स पठाउने सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । अक्सिजनलाई भारतमा रेमिटेन्सको कारोबार गर्ने ठुलो कम्पनी मानिन्छ ।
साना किसान बैंकको २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि लाभांश पनि
काठमाडौं, २२ मंसिर । साना किसान बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि एक दशमलब ३१६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय मंगलबार बसेको बैंकको २७९औं बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निणर्यलाई राष्ट बैंक तथा बैंकको आगामी साधारण सभाले अनुमोदन गर्नुपर्ने छ । सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।