विकासन्युज

बुधबार सेयर कारोबारमा उच्च गिरावट

काठमाडौं, २२ मंसिर । बुधबार नेप्से परिसूचक सामान्य अंकले घटे पनि कारोबार रकममा भने उच्च गिरावट भएको छ । बजारमा जम्मा ५० करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबारको तुलनामा २७ करोड रुपैयाँले घटी हो । गत साउनमा दैनिक २ अर्ब बढी रुपैयाँको कारोबार भएको बजारमा बुधबार भने उच्च गिरावट आएको छ । सो दिन १३७ कम्पनीको ६ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा नेप्से परिसूचक शून्य दशमलब ६१ अंकले घटेर १५५३ दशमलब ९० अंकमा झरेको छ । बजारमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सको सेयर कारोबार भएको छ । ५ करोड ३२ लाख रुपैयाँको सेयर किनबेच भएको उक्त कम्पनीको प्रतिकित्ता सेयरको मूल्य ३ हजार ५७४ रुपैयाँ रहेको छ । त्यस्तै, एभरेष्ट बैंक र सिद्धार्थ बैंकको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ ।

चन्द्रागिरी केबलकारको उद्घाटन मंसिर ३० गते

काठमाडौं, २२ मंसिर । चन्द्रागिरी केबलकारको उद्घाटन मंसिर ३० गते गरिने भएको छ । चन्द्रागिरी हिल्स लिमिटेड श्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दहालले चन्द्रागिरी केबलकारको उद्घाटन गर्नेछन् । हालसम्म चन्द्रागिरी केबलकारमा ४ अर्बको लगानी भैसकेको छ भने होटल लगायतका थप पुर्वाधार अझै निर्माण भैरहेका छन् । राजधानी नजिकैको नयाँ पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न लागिएको चन्द्रागिरी समुन्द्र सतहबाट २५५० मिटरको उचाईमा रहेको छ । यसमा आइएमई ग्रुप र भाटभटेनी समुहको लगानी रहेको छ ।

सुनसरीमा भएको उद्योग आगलागीमा बीस करोड रुपैयाँ बराबरको नोक्सानी

इटहरी, २२ मंसिर । सुनसरी जिल्लाको दुहवीभलुवा नगरपालिका– ४ स्थित कालोडल्लप उत्पादन उद्योगमा मंगलबार साँझ आगलागी हुँदा बीस करोड रुपैयाँ बराबरको धनमाल नोक्सान भएको उद्योग सञ्चालक मनिष अग्रवालले बताएका छन् । खाना पकाउने एलपी ग्यास चुहावट भई उद्योगमा आगलागी भएको थियो । आगो फैलनासाथ उद्योगमा भएका ग्यास सिलिन्डर पड्किन थालेपछि उद्योगभित्र आगो फैलिएको थियो । आगो फैलिएपछि त्यहाँ कार्यरत मजदुरमा भागदौड मच्चिँदा तीन कामदार घाइते भएका थिए । उद्योगमा करिव दुई हजार मजदुर कार्यरत थिए । घाइते मजदुर अमृत श्रेष्ठ दिलीप चौधरी र राजु यादवलाई राति नै उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको स्थानीय इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव पोख्रेलले जानकारी दिएका छन् । आगलागीका कारण उद्योगकोे कच्चा पदार्थ उपकरणसमेत जलेर पूरै नोक्सानी भएको सञ्चालक अग्रवालले बताए । इटहरी, धरान, विराटनगर, दमक र राजविराजबाट आएका बारुणयन्त्रले राति २ बजे मात्र आगो नियन्त्रण मा लिन सफल भएको प्रहरीले जनाएको छ । रासस

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी विधेयक मस्यौदा अन्तिम चरणमा

काठमाडौं, २२ मंसिर । वैदेशिक लगानीकर्तालाई आकर्षित गर्न विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी विधेयक मस्यौदा तयारीको अन्तिम चरणमा पुगेको छ । स्वदेशी र विदेशी लगानीकर्तालाई समान व्यवहार गर्न औद्योगिक व्यवसाय प्रवद्र्धन ऐनका प्रावधानसँग अनुकुल हुने गरी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण विधेयक एदोग मन्त्रालयले तयार पारेकोे हो । उद्धार अर्थ व्यवस्थाको सुरुवातसँगै नेपालले २०४९ सालमा उक्त ऐन आएपछि भारतमा रहेका कतिपय बहुराष्ट्रिय कम्पनीहरु नेपाल भित्रिएका थिए । त्यसपछि जारी गरिएका आयकर ऐन, अन्तःशुल्क लगायतका ऐनमा समावेश परस्पर विरोधी प्रावधानहरुले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन राम्ररी कार्यान्वयन हुन नसकेको थिएन । वैदेशिक लगानी स्वीकृतिका लागि एकै ठाउँबाट सम्पूर्ण सेवाहरु प्रदान गर्ने उद्देश्य सहित दर्ता प्रक्रियालाई सरलीकरण गर्र्ने, अनलाइनबाटै आवेदन तथा स्वीकृत गर्न सक्ने तथा वैदेशिक लगानीसँग जोडिएर आउने बौद्धिक सम्पत्ति संरक्षणलाई मस्यौदाले प्राथमिता दिएको उद्योग मन्त्रालयकी प्रवक्ता यमकुमारी खतिवडाले बताइन् । नयाँ ऐनले विदेशी लगानी र प्रविधि हस्तान्तरणको स्वरुपलाई स्पष्ट रुपमा परिभाषित गरेको छ । एकल विन्दु सेवा केन्द्रको व्यवस्था, विदेशी लगानी प्रवद्र्धनका लागि औद्योगिक व्यवसाय ऐन २०७३ मा व्यवस्था भएअनुसार उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको व्यवस्था ऐनले गर्ने भएको छ । विदेशी पोर्टफोलियो लगानीका लागि बाटो खुला हुने, संस्थागत र व्यक्तिगत लगानीको फरक व्यवहार, गैर आवसीय लगानीकर्तालाई थप सहजताको व्यवस्था मस्यौदामा उल्लेख गरिएको छ । प्रस्तावित मस्यौदामा शाखा विस्तार गरी विदेशी लगानी गर्न पाउने व्यवस्था हुन लागेको छ भने पूँजी लगानी कोष खडा गरी लगानी गर्न खुला गर्न लागिएको खतिवडाले बताइन् । विदेशी पूँजी बजारमा धितोपत्र जारी गरी विदेशी मुद्रा उठाउन सकने व्यवस्था गरिने छ । छुट र सुविधा र सहुलियतको प्रत्याभूति गरिने भएको छ भने विदेशी लगानी कर्तालाई परिचयपत्र र सोबाट प्राप्त हुने सुविधाको व्यवस्था, आ्रैद्योगिक रुपमा महत्वपूर्ण व्यक्तिको सुविधाको व्यवस्था, जग्गा प्राप्तिमा सहजीकरण, नकारात्मक सूचीमा न्यून क्षेत्र समावेशलगायतका व्यवस्था नयाँ ऐनले गर्न लागेको छ । विद्यमान ऐनमा विदेशी लगानीको सिमा, विदेशी लगानीको प्रवेश तथा वर्हिगमन, जग्गा प्राति, छुट सुविधा र सहुलियत तथा लगानी सुरक्षणको प्रत्याभुति हुन नसकेकाले विदेशी लगानी भित्रिन नसकेको गुनासा आएपछि सरकारले ऐन परिमार्जन शुरु गरेको हो । संशोधित कानुनको मस्यौदामा विदेशी लगानीको प्रवेश र वहिर्गमनको स्पष्ट व्यवस्था गरिएको छ । त्यसैगरी धितोपत्रमा लगानी गर्न, उद्योग खरिद गरी विदेशी लगानी गर्न, प्रविधि हस्तान्तरण तथा शाखा विस्तार, पूँजी लगानी कोष खडा गरी लगानी गर्न सकिने उल्लेख छ । तर त्यसका लागि बैकिङ्ग प्रणालीमार्फत रकम ल्याउनुपर्ने छ । विदेशी लगानीको नियमन र अनुगमन भने औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानून बमोजिम गठन भएको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डले गर्ने छ । सो बोर्डले पूँजी हद वृद्धिका लागि स्वीकृति दिने नदिने निर्णय आफै गर्नेछ । विदेशी लगानीकर्ताको प्रवेशाज्ञालाई गैर पर्यटक, व्यवसायिक र आवासीय गरी ३ भागमा वर्गिकरण गरिएको छ । जग्गा प्राप्ती र भोगचलनको सम्बन्धी प्रावधानमा पनि मस्यौदा विद्येयक खुकुलो छ । विदेशी लगानीको नियमन, अनुसन्धान र जरिवाला लगायतको व्यवस्था पनि मस्यौदामा छ । अब छिट्टै मस्यौदालाई कानुन मन्त्रालय पठाइने मन्त्रालयले बताएको छ ।

जेसीबीको नयाँ शाखा सुर्खेतमा, ग्राहकलाई विश्वस्तरीय सेल्स सर्भिस र स्पेयर सुविधा दिने

काठमाडौं, २२ मंसिर । नेपालको लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले सुर्खेतमा नयाँ ‘थ्रि एस’ शाखा सुरु गरेको छ । मध्यपश्चिम विकास क्षेत्रमा जेसीबी मेसिनहरुको बढ्दो मागलाई सम्बोधन गर्न जेसीबीले उक्त स्थानमा नयाँ शाखा विस्तार गरेको हो । यहाँबाट ग्राहकले विश्वस्तरीय सेल्स, सर्भिस र स्पेयर सुविधा पाउने कम्पनीको विश्वास रहेको छ । समारोहबीच निर्माण व्यवसायी संघ, सुर्खेतका अध्यक्ष यमबहादुर बीसी र जेसीबी प्रोडक्ट सपोर्ट म्यानेजर बालकृषण बस्यालले संयुक्त रुपमा गरेका थिए । सुर्खेतमा शाखा विस्तारसँगै एमएडब्लु अर्थमुभर्सले देशभर ११ वटा स्थानबाट ‘थ्रि एस’ सुविधा दिनेछ । हाल जेसीबीले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ र जनकरपुरबाट सेल्स, सर्भिस र स्पेयरको सेवा दिइरहेको छ । एमएडब्लु अर्थमुभर्सले केही साताअघि जेसीबी लाइभलिंक प्रविधि नेपालमा ल्याएको थियो । यो प्रविधिमार्फत् मेसिनलाई टाढैबाट निगरानी र नियन्त्रण गर्न सकिन्छ । जेसीबी लाइभलिंकले जेसीबी मेसिनको सर्भिस, संचालन र सुरक्षा (एसओएस)बारे महत्वपूर्ण सूचना दिन्छ । यसले मेसिन चलेको समय, इन्धन खपत, इन्धनको मात्रा र इन्जिनमाथिको भारबारे समेत जानकारी दिन्छ जसले गर्दा कम संचालन खर्चमा पनि उत्पादकत्वलाई बढाउँछ । ललितपुरमा अवस्थित जेसीबीमा हाल साढे दुईसयभन्दा बढी कर्मचारी कार्यरत छन् भने अर्थमुभिङ र निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । नेपालमा जेसीबीका ब्याकहो लोडर, ह्विल्ड लोडिङ शोभेल, ट्रयाक्ड एक्साभेटर, भाइब्रेटरी कम्प्याक्टर, स्किडड स्टिर लोडर र डिलर जेनसेट लगायतका उत्पादन उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

१७ बाणिज्य बैंकले गरे लाभांशको घोषणा, सबैभन्दा बढी लाभांश दिनेमा एभरेष्ट र कम दिनेमा मेगा बैंक

काठमाडौं, २२ मंसिर । गत आर्थिक वर्षको नाफाबाट १७ वटा बाणिज्य बैंकहरुले आफ्ना लगानीकर्ताहरुलाई राम्रो लाभांश दिने भएका छन् । २८ वटा बाणिज्य बैंकमध्ये १७ वटा बाणिज्य बैंकहरुले गत आर्थिक वर्षको खुद नाफाबाट लगानीकर्ताहरुलाई लाभांश दिने घोषणा गरेका छन् । बाणिज्य बैंकहरुले  अागामी असार मसान्त सम्ममा ८ अर्व चुक्तापुँजी पुर्याउनुपर्ने भएकोले लगानीकर्ताहरुलाई नगद भन्दा बोनस सेयर बढी दिएका छन् । लाभांश घोषणा गरेको बाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी एभरेष्ट बैंकले आफ्ना लगानीकर्ताहरुलाई ७० प्रतिशत बाेनस सेयर दिने घोषणा गरेको छ भने सबैभन्दा  कम मेगा बैंकले १३.९५ प्रतिशत लाभांशको घोषणा गरेको छ । बाणिज्य बैंकहरुमा नविल बैंकले ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश गरी ४५ प्रतिशत लाभांश दिएकाे छ । त्यस्तै नेपाल इनभेष्टमेन्ट बैंकले २० प्रतिशत बाेनस सेयर र २१ प्रतिशत नगद गरी ४१ प्रतिशत लाभांस दिने भएको छ । बाणिज्य बैंकहरुमध्ये इन्भेष्टमेन्ट बैंकले नै सवैभन्दा धेरै नगद लाभांश दिएको छ । त्यसैगरी नेपाल बंगलादेश बैंकले ३२ प्रतिशत बोनस र १.६८ प्रतिशत नगद गरी ३३.६८ प्रतिशत लाभांशको घोषणा गरेको छ भने सनराइज बैंकले पनि ३३.३३ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । एनआइसी एसिया बैंकले २७.३६ प्रतिशत, सिटिजन्स बैंक इन्टरनेसनलले १६.६३ प्रतिशत, ग्लोवल आइएमईले १६ प्रतिशत वोनस सेयर, सानिमा बैंकले १५.०७९ प्रतिशत, स्ट्यान्डर्ड चार्टर बैंकले ३५.०७ प्रतिशत बोनस सेयर र एनएमवी बैंकले २० प्रतिशत लाभांश दिने भएका छन् । त्यस्तैगरी, प्राइम कमर्सियल बैंकले २४.२१ प्रतिशत, माछापुच्छ्रे बैंकले २१.८३ प्रतिशत, हिमालयन बैंकले ३१.५७ प्रतिशत र सिद्धार्थ बैंकले ४८.७५ प्रतिशत लाभांश दिने घोषणा गरको छ । अरू वाणिज्य बैंकहरूले लाभांश घाेषाणा गर्न बाँकी छ ।

‘नबिल विज्ञान प्रविधि पुरस्कार’ बाट चार जना अनुसन्धानकर्ता सम्मानित

काठमाडौं, २२ मंसिर । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कारहरु’ ४ जना अनुसन्धानकर्ताहरुलाई प्रदान गरियो । सो पुरस्कार सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा सोमबार आयोजित नास्टको ३४ औं वाषिकोत्सव तथा पुरस्कार वितरण समारोहमा प्रदान गरिएको थियो । सम्मानित ४ जना अनुसन्धानकर्ताहरु प्रा. डा. टंकनाथ धमला, डा. हरिप्रसाद अर्याल, प्रा. डा. कृष्णदास मानन्धर तथा प्रा. डा. श्रृजनलाल श्रेष्ठलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ बाट पुरस्कृत गरिएको छ । कार्यक्रम पश्चात पुरस्कृत विज्ञहरुसगंको भेटमा बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले विज्ञान तथा प्रविधि क्षेत्रमा अध्ययन र अनुसन्धान गरि यस क्षेत्रको विकासमा योगदान पुर्याएकोमा धन्यवाद गरेका छन् । साथै, उनले नबिल बैंकको नाममा स्थापित ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ ग्रहण गरेकोमा आभार प्रकट गरेका छन् । उक्त पुरस्कारको राशि प्रति व्यक्ति वा संस्था १ लाख २५ हजार रुपैया रहेको छ । नास्टको उक्त समारोहमा जम्मा १७ अनुसन्धानकर्ताहरुलाई विभिन्न विधाहरुमा पुरस्कृत गरिएको थियो । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानको संरक्षकत्वमा गठित प्रतिष्ठित बैज्ञानिक तथा प्राज्ञहरुको समुहद्वारा कृतीहरुको छनौट गरिने हुनाले नाष्टद्वारा स्थापित पुरस्कारहरु यस क्षेत्रकै प्रतिष्ठीत पुरस्कार मानिन्छ ।

जर्मनीमा ८१ प्रतिशत जनता मोबाइलफोनको इन्टरनेट प्रयोगकर्ता

बर्लिन, २२ मंसिर । जर्मनीमा ८१ प्रतिशत जनताले मोबाईलबाट इन्टरनेट चलाउने गरेको पाइएको छ । सङ्घीय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको सन् २०१६ को पहिलो चौमासिक विवरणमा ६९ प्रतिशतले भने ल्यापटप वा नेटबुकबाट इन्टरनेट चलाउने गरेको जनाएको छ । त्यसैगरी डेस्कटप कम्युटरबाट इन्टरनेट प्रयोग गर्नेहरुको संख्या ६५ प्रतिशत रहेको बताइएको छ । साथै १९ प्रतिशत जनताले स्मार्ट टेलिभिजनबाट र १७ प्रतिशतले इबुक रिडर लगायतका अन्य साना डिभाइसबाट इन्टरनेटको प्रयोग गर्ने गर्दछन् । तथ्याङ्कले यो पनि देखाएको छ की, १० बर्ष देखि ४४ बर्ष सम्मका करिब शतप्रतिशत नागरिकले इन्टरनेट प्रयोग गर्दछन् भने ४५ बर्षदेखि ६४ बर्ष सम्मको उमेर समूहका ९३ प्रतिशत नागरिकले इन्टरनेट प्रयोग गर्ने गरेको छन् । तुलनात्मक रुपमा ६५ बर्षदेखि माथिको उमेर समूहमा भने निकै थोरैले मात्रै इन्टरनेट प्रयोग गर्ने गरेको तथ्यांक छ । सो उमेर समूहका प्रयोगकर्ता अघिल्लो बर्षको तुलनामा भने अहिले बढेका छन् । ६५ बर्षदेखि माथिको समूहले सन् २०१५ मा ४९ प्रतिशत थिए भने, सन् २०१६ मा यो भन्दा माथिको ५५ प्रतिशत जर्मन नागरिकले इन्टरनेट प्रयोग गर्न थालेका छन् । रासस ÷सिन्ह्वा