‘जतिवटा उद्योग चलायो, दैनिक त्यतिथरी औषधि खानुपर्छ’ उद्यमी प्रबलजंग पाण्डे भन्छन्–‘तरपनि म हरेक वर्ष नयाँ उद्योग खोल्छु’
काठमाडौं, २३ मंसिर । ‘एउटा नयाँ उद्योग खोल्नु भनेको बल्ड प्रेसरको अर्को एउटा औषधि थप्नु हो । मैले अहिले ३ वटा उद्योग हेर्छु र मैले दैनिक ४ प्रकारका औषधि खान्छु । अब मैले नयाँ उद्योग खोले भने ५ प्रकारका औषधि खानुपर्ने हुन्छ’ युवा उद्यमी प्रवलजंग पाण्डे भन्छन्–‘नयाँ उद्योग खोल्नु भनेको अर्को तनाव लिनु हो । तरपनि म नयाँ उद्योग खोल्छु । यो मेरो अठौट हो । आज सरकारले बुझेको छैन, तर कुनै दिन सरकारले बुझ्ने छ ।’ प्रबलजंग पाण्डे हरेक वर्ष एउटा उद्योग खोल्दै जाने उदेश्य आफूले लिएको बताए । ‘सानो होस वा ठूलो, प्रत्यक वर्ष एउटा उद्योग खोल्छु’ उनले आफ्नो अठोट सुनाए । उनी र उनका परिवारले औषधि, सिमेन्ट, जलविद्युत् क्षेत्रमा लगानी विस्तार गरिरहेको छ । साथै, बैकिङ, बीमा र सूचनाप्रविधि जस्ता सेवा मुलक क्षेत्रमा पनि लगानी विस्तार गर्दै आएको छ । आफूले लगानी गरेको सबै कम्पनीहरुको पर्फमेन्स राम्रो रहेको बताए । ‘हामीले लगानी गरेको जुनसुकै बिजनेश वार्षिक १५÷२० प्रतिशत वृद्धि भईरहेको छ । उद्योग होस्, बैकिङ होस् वा बीमा’ पाण्डे भन्छन्–‘हामीले औषधिको उत्पादनमा हरेक वर्ष २५ प्रतिशतले वृद्धि गर्दै आएका छौं । पहिला जनकपुरमा मात्र सिमेन्ट उद्योग थियो, अहिले विराटनगरमा पनि सिमेन्ट उद्योग लगाएका छौं । जनकपुरमा पहिला ४०० मेट्रिकटन उत्पादन हुन्थ्यो, अहिले उत्पादन क्षमता वृद्धि गरेर ८०० मेट्रिकटन पुर्याएका छौं । एकमहिना भित्र क्लिङकर उद्योग सञ्चालन गर्दैछौं ।’ ‘हामीले उत्पादन गरेको औषधि विश्व बजारमा प्रतिस्पर्धा गरिरहेको छ । हामी ८ भन्दा बढी देशमा औषधि निर्यात गर्दै आएका छौं’ पाण्डेले भने–‘हामी संलग्न भएको शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा सबैभन्दा अगाडि छ, बैंकले पनि राम्रो गरिरहेको छ ।’ व्यवसायको लागि उद्योग भन्दा सेवाको क्षेत्र सजिलो भएको उनले बताए । ‘सेवा क्षेत्रमा प्रतिस्पर्धा स्वदेशमा मात्र हुन्छ । उद्योगले विश्व बजारसँग प्रतिस्पर्धा गर्नुपर्छ । त्यसैले उद्योग चलाउन गाह्रो छ’ उनले भने । उद्योग चलाउँदा धेरै समस्याहरुसँग जुध्नु पर्ने उनले बताए । उत्पादन लागत बढी हुनु सबैभन्दा ठूलो समस्या भएको उनले बताए । बजार सानो भएकोले ठूलो परिमाणमा उत्पादन गर्न नसक्नु, उद्योमा विद्युत आपूर्ति नियमित नहुनु, अधिकांश नेपाली उद्योग विदेशी कच्चा पदार्थमा आधारित हुनु र कच्चा पदार्थ नै महँगो पर्नु, ढुवानी तथा यातायातको लागत बढी हुनु, नीतिगत अस्तिरता हुनु, जग्गा व्यापारीलाई भन्दा उद्योगीलाई आयकर दोब्बर हुनु मुख्य समस्या भएको बताए । उद्यमीलाई इज्जत नदिने संस्कारले व्यवसायीहरुको मनोबल गिरेको उनले बताए । ‘नेता, प्रशासकहरु नै उद्योगी व्यवसायीलाई चोर, ठग भनेर गाली गर्छन’ युवा उद्यमी पाण्डे भन्छन् ‘जतिसुकै दुःख भएपनि हामी उद्योग बन्द गर्दैनौ । हामी जस्ता धेरै उद्यमी, जो निरन्तर उद्योगमा लागेका छन्, उनीहरु नै यो देशका सच्चा देशभक्त र देश निर्माता हुन् ।’ ‘जुनदिन औषधिको एउटा केसमा मलाई प्रहरीले एक दिन समातेर लग्यो र भोलि पल्ट छोडिदियो । त्यहि वेला मैले भनेको थिए, नेपालमा उद्योगमा लगानी गर्नु भनेको पाप गर्नु हो । अहिलेसम्म मेरो बुझाई त्यहि हो कि उद्योगमा लगानी गर्नु पाप गर्नु नै हो’ उनले निरासा व्यक्त गरे । उनीसँग गरिएको ‘विकास वहस’ विकास मिडियाको प्रिन्ट संस्करण देशविकास पत्रिका र डिजिटल संस्करण विकासन्युज डटकममा अागामी आईतबार प्रकाशित हुनेछ ।
नेपालमा मोबाइल एप्लिकेसन डेभलपमेन्ट विषयको अध्ययन हुने, व्यवस्थापन तथा विज्ञान विषय अध्ययनरतले पढ्न पाउने
काठमाडौं, २३ मंसिर । नेपालमा पनि स्नातक तहको मोबाइल एप्लिकेसन डेभलपमेन्ट विषयको अध्ययन अध्यापन हुने भएको छ । कमलपोखरीमा रहेको इस्लिङ्टन कलेजले बेलायतको मेट्रोपोलिटियन विश्वविद्यालयको सहकार्यमा नेपालमा पहिलो पटक आगामी शैक्षिकसत्रदेखि अन्तर्राष्ट्रियस्तरमा सो विषयमा पठनपाठन सञ्चालनमा ल्याउन लागेको हो । तीन वर्षमा अध्ययन सम्पन्न हुने सो विषय छ सेमेस्टरमा हुने कलेजद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसका लागि ती दुई शैक्षिक निकाय कलेजका अध्यक्ष सुलभ बुढाथोकी र विश्वविद्यालयका उपकुलपति प्रा जोनर्याफ्टेरीका बीच आपसी सहमति समेत भएको छ । दश जोड दुई तहमा व्यवस्थापन तथा विज्ञान विषय अध्ययन पूरा गरेका छात्राछात्राले सो विषय अध्ययन गर्न योग्य हुने छन् । नेपालमा बसी अन्तर्राष्ट्रियस्तरका अध्ययन गर्न पाउनु नेपाली विद्यार्थीका सुखद् रहेको इस्लिङ्टन कलेजका अध्यक्ष बुढाथोकीले बताए । उनले कलेजबाट स्नातक तह पूरा गरेका विद्यार्थीलाई सूचना प्रविधि र व्यवस्थापन विषयमा स्नातकोत्तर तहमा अध्ययन गर्न ७५ प्रतिशत छात्रवृत्तिको समेत व्यवस्था आगामी शैक्षिकसत्रबाट सुरु गर्न लागिएको जानकारी दिए । सन् १९९६ मा स्थापना भएको सो कलेजबाट सूचना प्रविधि र व्यवस्थापन विषयमा १३ हजारले स्नातक तह पूरा गरिसकेका छन् । रासस
देश विकासमा निर्माण व्यवसायीको महत्वपूर्ण योगदान- मन्त्री लेखक
काठमाडौं, २३ मंसिर । दिगो र गुणस्तरिय भौतिक संरचनाको निर्माणले देश विकासमा महत्वपूर्ण योगदान पुग्ने हुँदा राज्य निजी क्षेत्रमा भर परेको भौतिक निर्माण तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आफ्नो स्थापनाको रजत जयन्तिको अवसरमा राजधानीमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री लेखकले निजी क्षेत्रबाट हुने दिगो र गुणस्तरीय भौतिक संरचनाको निर्माणबाट नै देशविकास हुने भएकाले राज्य निजी क्षेत्रमा भर परेको बताएका हुन् । उनले आजको आवश्यकता निर्माण मात्रै नभएर समयमा नै गुणस्तरीय र दिगो निर्माणमा व्यवसायीले प्राथमिकता दिनुपर्ने बताए । नवौं निर्माण दिवस तथा रजत जयन्ति समापन समारोहमा महासंघको समृद्धि विकासमार्फत भन्ने नारामा थप गरी गुणस्तरीय र समयमै विकासबाट समृद्धि भन्ने नारा तय गर्न आग्रह गरे । यो नारालाई सरकारले पनि आत्मसाथ गर्न तयार भएको मन्त्री लेखकको भनाइ छ । उनले राष्ट्र निर्माणको जिम्मा निजी क्षेत्रको हातमा रहेको बताए । उनले भने–‘देशको भौतिक विकास निर्माणमा निजी क्षेत्रको मात्रै योगदान रहेकोले व्यवसायीले दक्षता प्रदान गर्दै आफ्नो देशको निर्माण आफै गर्न सक्छौं भन्ने विश्वस दिलाउन सक्नुपर्छ ।’ मन्त्री लेखकले नेपालका निर्माण व्यवासायी पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धाबाट छनोट हुन सक्ने बतावरण बनाउन महासंघलाई सुझाव दिए । कार्यक्रममा उपस्थित विशिष्ट अतिथि भूमिसुधार मन्त्री विक्रम पाण्डेले विकास निर्माणको क्षेत्रमा निजी क्षेत्रले पु¥याएको योगदानको प्रशंसा गर्दै हरेक निर्माण कार्यमा नेपाली निर्माण व्यवसायीलाई नै अवसर दिनुपर्ने बताए । उनले निर्माण जगत्मा नेपाली व्यवसायीहरु सक्षम बन्दै गइरहेकाले सरकाले विदेशी निर्माण कम्पनीलाई भन्दा स्वदेशी कम्पनीलाई नै प्रथमिकता दिने तयारी गरेको बताए । महासंघका अध्यक्ष शरदकुमार गौचनले देश निर्माणमा निजी क्षेत्रले २५ बर्षमा उल्लेख्य फड्को मारेको बताए । नेपालमा निर्माण व्यवसायीको लामो इतिहास नभएपनि देश निर्माणमा निकै अगाडी रहेको दावी गरे । सरकारले नीति नियम कानुन बनाउँदा व्यवसाय मैत्रि हुनुपर्नेमा गौचनले जोड दिए । उनले निर्माण व्यवसायीलाई वलियो नवनाएसम्म देश निर्माण र समृद्धि नहुने बताए । महासंघ २०४६ सालमा स्थापन भएर २५ वर्ष पार गरेको अवसरमा तत्कालिन कार्यसमिति पदाधिकारी, निर्माण व्यवसायलाई व्यवस्थित गर्न विभिन्न कोणबाट सहयोग गर्नेे पूर्व सरकारी कर्मचारीसहित विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । संघले रजत जयन्तिको महासंघले समापनको अवसर पारेर प्रभातफेरी, महासंघको प्रङ्गनमा निर्माणको प्रतिमा अनावरण गर्नुका साथै सांङ्गीतिक कार्यक्रम गरेको थियो ।
स्काइवर्थको नयाँ राइस कुकर नेपाली बजारमा, दुई मोडलमा उपलब्ध
काठमाडौं, २३ मंसिर । नेपालको एक अग्रणी कम्पनी तथा नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्स्को आधिकारिक विक्रेता स्मार्ट एप्लाएनसेस्ले नयाँ “स्काईवर्थ राइस कुकर” बजारमा ल्याएको छ । कम्पनीले नेपाली बजारको आवश्यकतालाई मध्यनजर गर्दै उक्त कुकर बजमारमा ल्याएको हो । कम्पनीका अनुसार हाल बजारमा उक्त राइस कुकरका दुई मोडलहरु, आरसी२२०० र आरसी३२०० उपलब्ध रेहका छन् । दुई मोडलहरु मध्ये आरसी२२०० ९०० वाट पावर भएको २२०–२४० भोल्टको प्रोडक्ट हो । जसको क्षमता २.२ लिटर रहेको कम्पनीले जनाएको छ । त्यसैगरी, आरसी३२०० मोडल १००० वाट पावर भएको २२०–२४० भोल्टको प्रोडक्ट हो जसको क्षमता ३.२ लिटर रहेको छ । दुवै प्रोडक्टहरु आकर्षक डिजाइनका साथै विभिन्न फिचर्सहरुका साथ बजारमा उपलब्ध छन् । जस्तै: कुक र वार्म प्रणाली, नन्–स्टिक एलुमिनियम इन्नर पट, एलुमिनियम हिटिङ्ग प्लेट तथा उच्च तापक्रमबाट सुरक्षा दिने छ । उक्त दुई उत्पादनहरुले अब ग्राहकहरुलाई अभैm बढि विकल्पहरु तथासुपथ मूल्यमा गुणस्तरीय र अन्तराष्ट्रिय स्तरका प्रोडक्टहरु प्रदान गर्ने कुरामा कम्पनी विश्वस्त छ ।
सेवा विकास बैंकको १२० प्रतिशत हकप्रद विहिबारदेखि भर्न पाइने, पुस २७ गतेसम्म म्याद
काडमाडौं, २३ मंसिर । सेवा विकास बैंकले दिने एक सय २० प्रतिशत हकप्रद सेयर बिहीबारदेखि खुल्ला गरेको छ । बैंकले ५१ लाख ६ हजार ६ सय ६२ कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको हो । सो हकप्रद प्रतिकित्ता एक सय रुपैयाँका दरले ५१ करोड ६ लाख ६६ हजार २०० रुपैयाँ बराबरको हो । सेवाको एक सय कित्ता सेयर हुनेले थप एक सय २० कित्ता भर्न पाउनेछन् । असोज १८ गतेसम्म बैंकको सेयर खरिद गरेका सेयरधनीहरुले मात्र यो हकप्रद सेयर भर्न पाउने छन् । बैंकको हकप्रद सेयर निष्कासनका लागि एनएमवी क्यापिटले विक्रि प्रबन्धको जिम्मा पाएको छ । बैंकको हकप्रद सेयर पुस २७ गतेसम्म मात्र भर्न पाइने छ । हकप्रद सेयर भर्नका लागि आवेदकले एनएमबि बैंक लिमिटेडको मुख्य कार्यलय, र शाखा कार्यँलयहरु मार्फत तथा एनएमवी क्यापीटल र सेवा विकास बैंकमा फारम भर्न र बुझाउन सक्नेछन् ।
सगरमाथा फाइनान्सको साढे २९ करोडको हकप्रद सेयर निष्काशन, २० करोड ३८ लाखको बोनस दिने योजना
काठमाडौं, २३ मंसिर । सगरमाथा फाइनान्स लिमिटेडले १० बराबर ८ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । हाल ३६ करोड ९२ लाख रुपैया चुक्ता पुँजी भएको यस फाइनान्सले २९ करोड ५४ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेको हो । आज मंसिर २३ गतेसम्म सेयर किनेका सेयरधनीले मात्र हकप्रद सेयर लिन पाउनेछन् । हकप्रद सेयरको लागि पुस ११ देखि माघ १७ गतेसम्म आवेदन गर्नुपर्नेछ । फाइनान्सले हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईबीएल क्यापिटल मार्केट्सलाई दिएको छ । एनआईबीएल क्यापिटल मार्केट्स र सगरमाथा फाइनान्सका शाखा कार्यलयहरुबाट हकप्रद सेयर आवेदन भर्न सकिने कम्पनीले जनाएको छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ६६ करोड ४७ लाख रुपैयाँ हुनेछ । फाइनान्सले दुई वर्षको नाफाबाट २० करोड ३८ लाख रुपैयाँ बराबरको बोनस सेयर निष्काशन गर्ने र चुक्ता पुँजी ८६ करोड ८५ लाख रुपैयाँ पुर्याउने योजना सार्वजनिक गरेको छ । यस फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट ११ करोड ८ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने तयारी गरेको छ भने चालु आर्थिक वर्षको नाफाबाट कम्तिमा ९ करोड ३० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण योजना बनाएको छ । हाल यस फाइनान्सको जगेडा कोषमा २६ करोड रुपैयाँ छ । बुधबार यस फाइनान्सको सेयर प्रतिकित्ता ४१९ रुपैयाँमा कारोबार भएको छ ।
नेपालका मन्त्री नै बेरोजगार, मन्त्रीले भने कि काम देऊ नत्र मन्त्रालय अन्तै गाभिदेऊ
काठमाडौं २३, मंसिर । गरिब तथा विपन्न वर्गका हितका नाममा मात्रै संघीय तथा स्थानीय विकास मन्त्रालयले एक दर्जन कार्यक्रम हेर्दै आएको छ । उस्तै प्रकृतिका कतिपय कार्यक्रम अरू मन्त्रालयमार्फत पनि फरक–फरक नाममा सञ्चालित छन् । नामै ‘गरिबी निवारण’ रहेको मन्त्रालयमा भने सम्बन्धित एउटै कार्यक्रम छैन। पर्याप्त काम नभएकै कारण सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानी नामअनुसार सरकारले कार्यक्रम दिनुपर्ने, नभए मन्त्रालय नै अन्यत्र गाभिदिनुपर्ने भन्दै हरेक भेटमा प्रधानमन्त्रीसँग माग राख्दै आएका छन् । ‘गरिबी निवारण मन्त्रालयलाई काम नदिने हो भने जहाँ त्यससम्बन्धी काम हुन्छ, त्यहीं काम दिए भइहाल्छ । किन बेग्लै मन्त्रालय बनाएर पंगु बनाउनुपर्यो रु’ प्रधानमन्त्री पुष्पकमल दाहाललाई पटक–पटक ध्यानाकर्षण गराएको प्रंग उद्धृत गर्दै थानीले बुधबार भने, ‘भागबन्डा पुर्याउन मात्र मन्त्रालय खडा गरेर हुँदैन । काम दिनुपर्छ ।’ सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानी गरिबी निवारण, विपन्न उत्थान कार्यक्रमको कार्यक्षेत्र असन्तुलित, एकतर्फी र अमिल्दो भएको भन्दै उनले मन्त्रिपरिषद् बैठकमा समेत कुरा उठाएका छन् । मन्त्रालयलाई प्रभावकारी बनाउन कम्तीमा ३ वटा कार्यक्रमलाई आफूअन्तर्गत राखिनुपर्ने प्रस्ताव थानीको छ । त्यसमा गरिबी निवारण कोष, युवा स्वरोजगार कोष र गरिबसँग विश्वेश्वर कार्यक्रम उनले ल्याउन चाहेका हुन्। ‘यी तीनैवटा कार्यक्रम र आफ्नो मन्त्रालयको उद्देश्य, लक्ष्य एउटै छ । त्यसैले पूरै समाहित वा सम्पर्क मन्त्रालय गरिबी निवारण हुनुपर्छ,’ उनी भन्छन् । हाल गरिबी निवारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोष अर्थ र गरिबसँग विश्वेश्वर स्थानीय विकास मन्त्रालयअन्तर्गत छन् । स्थानीय विकासअन्तर्गत भने वरिष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, अपांग भत्ता, लोपोन्मुख जनजाति सहयोग, बाल संरक्षण, ग्रामीण पहुँच कार्यक्रम, विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन, नेपाल खाद्य संकट सम्बोधन, जीवनस्तर सुधारका लागि स्थानीय पूर्वाधार, कर्णाली रोजगारजस्ता कार्यक्रम छन् । ती सबै गरिब तथा विपन्नको विकाससँग सम्बन्धित हुन् । अर्थ मन्त्रालयअन्तर्गत एक दशकदेखि चल्दै आएको युवा स्वरोजगार कोषमा भने बर्सेनि कम्तीमा ४ अर्ब रुपैयाँ खर्च हुने गरेको छ । गरिबसँग विश्वेश्वरमा पनि यो वर्ष १६ करोड रुपैयाँ विनियोजन भएको छ । कान्तिपुर दैनिकबाट ।
विदेशी कालिगडले लैजान्छन् वार्षिक १८ अर्ब, सुनचाँदी व्यवसायमा मात्रै १ लाख विदेशी कालिगढ
काठमाडौं २३, मंसिर । सुनका गहना बनाउने विदेशी कालिगडले मात्र वर्षमा १८ अर्ब रुपैयाँभन्दा बढी रकम लैजाने गरेका छन् । नेपालमा पर्याप्त दक्ष जनशक्ति नहुँदा ठूलो परिमाणमा रकम बाहिरिने गरेको व्यवसायीहरू बताउँछन् । मुलुकमा ८० प्रतिशत कालिगड विदेशी रहेको र तीमध्ये अधिकांश भारतीय र बंगलादेशी रहेको व्यवसायीहरूको भनाइ छ । “सुनचाँदी व्यवसायमा मुलुकभर डेढ लाख कालिगड छन्, तीमध्ये विदेशीको संख्या मात्रै १ लाख छ,” नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनार भन्छन्, “१ लाख विदेशी कालिगडले सुनचाँदीको काम गरेर मात्र वर्षको १८ अर्बभन्दा बढी कमाउँछन्, यो पैसा विदेशी रहेको छ ।” स्थानीयस्तरमा कालीगढ उत्पादन गर्न नसक्दा बर्सेनि यति ठूलो रकम बाहिरिइरहेको उनको भनाइ छ । नेपालले सुनचाँदीका गहना बनाउने जनशक्ति उत्पादनतर्फ ध्यान नदिँदा र व्यवसायीहरूले यसको समाधानका लागि ठोस पहल नगर्दा बर्सेनि यति ठूलो रकम विदेशी कामदारका लागि बाहिरिने गरेको हो । भन्सार विभागका अनुसार नेपालमा वार्षिक २० देखि २५ अर्ब रुपैयाँबराबरको सुनचाँदी र हिरा आयात हुनेगर्छ । यो तथ्यांकले सुन आयात र बनाउनकै लागि मात्र बर्सेनि ४० अर्बभन्दा बाहिरिने देखिएको छ । महासंघका अनुसार, सुनचाँदीमा काम गर्ने कालिगड र यसमा सहयोग गर्नेको मासिक तलब ५ हजारदेखि ५० हजार रुपैयाँ छ । राम्रो काम गर्न जान्नेलाई आकर्षक तलब भए पनि स्वदेशी जनशक्तिको अभाव देखिएको र विदेशबाट ल्याउनुपरेको गुनासो व्यवसायीहरूको छ । महासंघका अनुसार, विशेष गरी भारत र बंगलादेशका कालिगड नेपालमा कार्यरत छन् । कालिगडका लागि १८ अर्बभन्दा बढी रकम बाहिरिए पनि सरकारले स्वदेशमै कालिगड उत्पादनका लागि खासै चासो दिएको छैन । महासंघ अध्यक्ष सुनार सरकारले तालिमको व्यवस्था गरिदिए स्वदेशमै भएको जनशक्तिलाई स्वरोजगार बनाउन सकिने बताउँछन् । “रोजगारीकै लागि नेपालीहरू खाडीमुलुकमा गएर ५० डिग्रीको तापक्रममा श्रम गरिरहेका छन्,” उनले भने, “सुनचाँदी व्यवसायमा दक्ष जनशक्ति नहुँदा बाहिरी मुलुकबाट ल्याउनु परिरहेको छ ।” पछिल्लो समय नेपाली कला, संस्कृति र परम्पराबाट आधुनिकतातर्फ उन्मुख भएकाले पनि विदेशी जनशक्तिको माग धेरै हुने गरेको छ । दैनिक १ हजार ५ सय नेपाली रोजगारीका लागि विदेशी गइरहेको बेला सरकारले भने स्वदेशी जनशक्ति उत्पादनका लागि ध्यान दिन सकेको छैन । कारोबार दैनिकबाट ।