सेयर बजार ९.२२ अंकले घट्दा शिखर इन्स्योरेन्सको १६ करोडको सेयर कारोबार
काठमाडौं, २३ मंसिर । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । साताको अन्तिम दिन बिहीबार पनि नेप्से परिसूच करिब १० अंकले घटेको छ । परिसूचक ९ दशमलब २२ अंकले घटेर १५४४ अंकमा झरेको छ । सो दिन १३४ कम्पनीको ७ लाख ३ हजार कित्ता सेयर ६० करोड २५ लाख रुपैयाँमा कारोबार भएको छ । उक्त कारोबार रकम बुधबारको तुलनामा १० करोडले बढी हो । झण्डै दोहोरो अंकले झरेको बजारमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको १६ करोड ५५ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बिहीबार कम्पनीको प्रतिकित्ता सेयर ३ हजार ६०० रुपैयाँ रहेको छ । त्यस्तै, एभरेष्ट बैंक र छिमेक लघुवित्त विकास बैंकको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा फाइनान्स समूहको परिसूचक बाहेक कारोबार भएका बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । बीमा र जलविद्युत समूहको परिसूचक क्रमशः ४५ र २६ अंकले ओरालो लागेका छन् । फाइनान्स समूहको परिसूचक सामान्य शून्य दशमलब ७ अंकले उकालो लागेको छ भने अन्य बाँकी समूहको परिसूचक सामान्य अंकले घटेका छन् । बजारमा सबैभन्दा बढी अरुण फाइनान्सका लगानीकर्ताले ८ प्रतिशत गुमाएका छन् भने सबैभन्दा बढी नबिल इन्स्योरेन्सका लागानीकर्ताले ८ प्रतिशत कमाएका छन् ।
संविधान संशोधन विधेयक दर्ता गर्नुपर्नाका कारण देखाउन सर्वोच्चको आदेश
काठमाडौं, २३ मंसिर । सर्वोच्च अदालतले संविधानको भावना विपरीत हुने गरी प्रदेशको सिमाना हेरफेर गर्ने, अङ्गीकृत नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, भाषा आयोगको विषयमा संविधान संशोधन विधेयक ल्याउनु पर्नाका कारण बारे सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले बिहीबार नेपालको संविधानको भावना विपरीत संविधान संशोधन विधेयक संसद्मा दर्ता गर्नुपर्नाका कारणको पुस ५ गते लिखित जवाफ माग गरेको हो । पूर्व सांसद मञ्च, नेपालका तर्फबाट विष्णुबहादुर राउत, झलकनाथ वाग्ले, शङ्करनाथ शर्मा अधिकारी, ब्रह्मनारायण चौधरी, शारदा पोखरेल पाँचजनाले यही मङ्सिर १६ गते प्रदेशको सिमाना हेरफेर गर्ने, अङ्गीकृत नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, भाषा आयोगको विषयमा संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक नेपालको संविधानको भावना विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवदेन दायर गरेका थिए । रित निवेदनमा प्रदेश सिमाना र सङ्ख्या हेरफेर तथा घटबढ गर्ने संवैधानिक अधिकार केवल निर्वाचित सङ्घीय संसद् तथा प्रदेश सभाहरूलाई मात्र भएको उल्लेख थियो । व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव नेपालका संविधानको भावना र मनसाय विपरीत रहेको भन्दै सो संशोधन प्रस्तावलाई पारित नगर्न नगराउने भनी रिट निवेदनमा माग गरिएको थियो । बिहीबारको आदेशमा सरकारले लिखित जवाफ पेस गरेपछि अन्तरिम दिने वा नदिने बारेमा पनि सोही दिन छलफल हुने उल्लेख छ । रासस
भिबोर सोसाइटीको २२२ दिने मुद्दती निक्षेप योजना अन्तर्गत ९ प्रतिशत ब्याज
काठमाडौं, २३ मंसिर । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले २२२ दिने मुद्दती निक्षेप योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले ९ प्रतिशत प्र.ब.ब्याजदर प्राप्त गर्न सक्नेछन् । यो मुद्दतीको अवधि २२२ दिन रहने छ । बैंकले आफ्नो ४२ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर सबै स्थानबाट यो अधिकतम ब्याज दरको लाभ लिन सम्पूर्ण ग्राहक वर्गमा आग्रह गरेको छ । यो निश्चित अवधिको लागि मात्र रहने बैंकले जनाएको छ ।
पारदर्शिताको लागि कुनैपनि सूचना लुकाईंदैन– पर्यटन मन्त्रालय
काठमाडौं, २३ मंसिर । पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम संचालन तथा नेपाल वायु सेवा निगममा अपारदर्शी गतिविधि भइरहेको भन्दै व्यापक आलोचना खेपिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पारदर्शिताको लागि कुनैपनि सूचना नलुकाउने र सार्वजनीक रुपमा जानकारी दिने जनाएको छ । मन्त्रालयले आफ्नो मातहतका कुनैपनि निकायबाट सूचना लिन सक्ने जनाउँदै सार्वजनीक हितमा पारदर्शिताको लागि सकेसम्म सवैखाले सूचना उपलब्ध गराउने जनाएको हो । पर्यटन मन्त्री जीवनबहादुर शाहीले मन्त्रालय र मातहत निकायबीच आन्तरिक समन्वय हुन नसकेको गुनासो आइरहेको बताउँदै सबै संयन्त्रलाई चुस्त र प्रभावकारी बनाउन आफुले सक्दो पहल गर्ने बताए । मुलुकको आर्थिक समृद्धिमा पर्यटन गतिविधिले ठूलो भूमिका खेल्ने हुँदा यसको विकासमा संचारमाध्यमबाट पनि सकारात्मक संदेश जानुपर्ने र आवश्यक जानकारीको लागि पर्यटनसँग समन्वय गर्न मन्त्री शाहीले पत्रकारहरुलाई पनि आग्रह गरे । मन्त्री शाहीले मुलुकको पर्यटन क्षेत्रको सुधार गरी विदेशी पर्यटक आकर्षण गर्न पूर्वाधार विकासलगायत कार्यलाई प्राथमिकताका साथ अघि बढाएको बताए । उनले आफु मन्त्री भएको एक सय दिनको समीक्षा सहित सुझाब लिन पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेका थिए । मन्त्रालयमा आयोजा गरिएको कार्यक्रममा सचिव शंकरप्रसाद अधिकारीले मन्त्रालय र मातहत निकायको सूचना प्रणाली व्यवस्थापन र नियमित गर्न तत्कालै प्रवक्ताको बैठक राखी नियमित सूचना प्रदानको व्यवस्था गरिने जानकारी दिए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन प्रवद्र्धनात्मक कामलाई प्रभावकारी बनाउन बोर्डलाई गतिशील बनाउँदै लगिने बताए ।
नेपाल इन्भेष्टमेन्ट बैंकले पायो बैंक अफ द एयर अवार्ड २०१६, अहिलेसम्म पाँच पटक जित्यो
काठमाडौं, २३ मंसिर । नेपाल इन्भेष्टमेन्ट बैंकले ‘बैंक अफ द एयर अवार्ड २०१६’ प्राप्त गरेको छ । बेलायतको प्रतिष्ठित पत्रिका ‘दी बैंकर्स’ले हिजो राती यो अवार्ड प्रदान गरेको छ । लण्डनमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र ज्योति प्रकाश पाँडेले उक्त अवार्ड लिएका छन् । बैंकका सूचना शाखाका सावित्री घिमिरेका अनुसार बैंकले अहिलेसम्म पाँच पटक यो अवार्ड प्राप्त गरेको छ । बैंकर्स पत्रिकाले प्रत्येक वर्ष हरेक देशका बैंकहरु मध्ये उत्कृष्ट बैंकलाई बैंक अफ द एयर अवार्ड दिने गरेको छ ।
खराब मौसमका कारण भारतमा आठ सय पर्यटक अलपत्र
नयाँ दिल्ली, २३ मंसिर । अत्याधिक खराब मौसमका कारण भारतको दक्षिणपश्चिम क्षेत्रमा पर्ने अन्दामन र निकोबार टापुमा स्वदेशी तथा विदेशी गरी आठ सय जना पर्यटक अलपत्र परेका छन् । भारतीय नौसेनाले अन्दामन र निकोबार टापु गरी दुवै ठाउँमा चार वटा पानी जहाज पठाएको जनाएको छ । नौसेनाका प्रवक्ता डि.के. शर्माले पर्यटकहरू अलपत्र परेको ठाउँमा चार वटा पानी जहाज पठाएको भए पनि हेभलक टापुमा अत्यधिक खराब मौसमका कारण सो ठाउँमा पुग्न नसकेको जानकारी दिए । “आठ सयभन्दा बढी पर्यटक यातायातका साधन नपाएर अलपत्र परेका छन्, हामी उनीहरूलाई उद्धार गर्न तयारी अवस्थामा छौँ, त्यसका लागि सफा मौसमको प्रतिक्षा गरिरहेका छौँ,” उनले भने । प्रवक्ता शर्माले थपे, “हाम्रो सबैभन्दा ठूलो चासो पर्यटकहरूलाई सुरक्षित तरिकाले उद्धार गर्नु हो ।” हेभलकको किनारा पर्यटकका लागि लोकप्रिय गन्तव्य मानिन्छ । हरेक नयाँ वर्षमा हजारौँ पर्यटकले हेभलकमा डिसेम्बरमा रमाइलो गर्ने गर्दछन् । रासस/सिन्ह्वा
नेपालबाट संसारले सिक्न सक्छ- परराष्ट्रमन्त्री डा. महत
काठमाडौं, २३ मंसिर । परराष्ट्रमन्त्री डा प्रकाश शरण महतले नेपालले शान्ति वार्ताबाटै द्धन्द्धको समाधानमा हासिल गरेको सफलता संसारकै लागि एक सफल उदाहरण भएकोले यसबाट विश्वले नै सिक्न सक्ने बताएका छन् । इन्डोनेसियाको बालीमा बिहीबारदेखि सुरु भएको बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले भने— संसारका अरु देशमा पनि द्धन्द्ध व्यवस्थापन र शान्ति स्थापनाका लागि नेपालबाट विश्वले नै सिक्न सक्छ । शान्ति र प्रजातन्त्रका लागि नेपालले विगत लामो समयदेखि गरेको संघर्षको उदाहरण दिँदै परराष्टमन्त्री डा. महतले यस संघर्षले नेपाली नागरिकलाई पनि शान्त र सहनशिल बन्न सिकाएको धारणा राखेका छन् । नेपालले विगतमा शान्ति र प्रजातन्त्रका लागि गरेको यस संघर्षको परिणामस्वरुप दशकौंपछि नेपाली जनताले संविधान सभामार्फत आफै संविधान लेख्ने अवसर पाएका र नेपाली जनताद्धारा जारी यस संविधान प्रजातान्त्रिक, समावेशी र सहभागितामूलक रहेको पनि बताए । मन्त्री डा महतले भने- हामी संसारममा नै उदाहरण दिनमिल्नेगरी समावेशी प्रजातन्त्रको अभ्यास गरिरहेका छौँ र हामीले संविधानमा नै देशको संसदमा कम्तीमा पनि ३३ प्रतिशत र देशका सबै स्थानीय तहहरुमा ४० प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेका छौँ । उनले अगाडि भने, हाल नेपालमा राष्ट्रपति, संसदमा सभामुख र प्रधानन्यायाधीशमा पनि महिला रहेका छन् । समावेशी र सहभागितामूलक विकास प्रयासलाई नेपाल सरकारले प्राथमिकतामा राखेको र देशका महिला, गरिब तथा समाजमा विभिन्न कारणले पछि परेका समुदायका नागरिकको सशक्तिकरणका लागि आवश्यक नीति र कार्यक्रमहरुका लागि अघि बढेको जानकारी पनि उनले सो सम्बोधनका क्रममा दिए । नेपालले आगामी केही समयभित्रै केन्द्र तथा स्थानीय तहहरुका निर्वाचनको योजना गरिरहेको र यसमार्फत लामो समयपछि नेपाली जनताले लेखेको संविधानको कार्यान्वयनमा थप सशक्तता आउने र दिगो विकास र देशले लिएको समावेशी र सहभागितामूलक शासन व्यवस्थालाई थप संस्थागत बनाउन सहयोग पुग्ने धारणा पनि राखेका छन् । सो सम्मेलनमा मन्त्री डा महतले नेपाल धार्मिक सहिष्णुता र सांस्कृतिक बहुलताको एक अद्धितीय उदारहण हो भन्दै हाम्रो देशमा हिन्दू, बौद्ध, इस्लामलगायतका अन्य धर्महरुबीचमा ऐतिहासिक रुपमा सहिष्णुता कायम रही आएको स्मरण गरेका छन् । नेपाल सधैं शान्तिपूर्ण सहअस्तित्व र धार्मिक तथा बहुसांस्कृतिक मान्यतामा विश्वास गर्छ भन्दै उनले भने-प्रजातन्त्र, कानुनी शासन, बहुलबाद र शान्तिपूर्ण सहअस्तित्वका माध्यमबाट नै अन्तर्राष्टिय समुदायका बीचमा पनि सहयोग, साझेदारिता र समन्वय कायम गर्न सकिन्छ भन्नेमा नेपालको विश्वास रहेको बताए । नेपाल संसार नै एउटा परिवार हो भन्ने बसुधैव कुटुम्बकम मान्यतामा विश्वास गर्छ भन्दै एसिया नै यस्तो क्षेत्र हो जुन गौतम बुद्ध, महात्मा गान्धी, कन्फ्युसियस र अरु कैयौं महान दार्शनिकहरुको जन्मस्थल हो । एसिया यस्तो धार्मिक र सांस्कृतिक बहुलताको धनी क्षेत्र हो भन्दै नेपालजस्तै इन्डोसियाको बालीले पनि एसियाली विविधतायुक्त समाजको प्रतिनिधित्व गर्ने बताए । समाजका हरेकखाले चुनौतीहरुको समाधानका साथै नागरिकको सामाजिक न्यायका लागि समावेशी प्रजातन्त्र र धार्मिक स्वतन्त्रता एवम् सहिष्णुता सशक्त औजार हुन् भन्दै नेपाल सधैं धर्म वा अन्य कारणले हुने कुनै पनि प्रकारका आतंकवादको विरुद्धमा रहदै आएको प्रतिबद्धता पनि सो अवसरमा उनले व्यक्त गरेका छन् । नेपाल सधैं शान्ति, प्रजातन्त्र र मानवअधिकारका पक्षमा रहेको भन्दै नेपालले हरेक नागरिकको मौलिक तथा नैसर्गिक अधिकारको सम्मानको पक्षमा रहेको उनले उल्लेख गरेका छन् ।
नेपाल र बङ्गलादेशबीच विद्युत् सेवा विस्तार बारे छलफल, बङ्गलादेशमा विद्युत्को माग
काठमाडौं, २३ मंसिर । बङ्गलादेशको भ्रमणमा रहेका ऊर्जामन्त्री जनार्दन शर्माले बङ्गलादेशका प्रधानमन्त्री सेख हसिनासँग दुई देशबीच विद्युत् सेवा विस्तार गर्नेबारे छलफल गरेका छन् । बिहीबार साँझ भएको शिष्टाचार भेटमा उनीहरुबीच नेपालसँग विद्युत्को प्रचूर सम्भावना रहेको र बङ्गलादेशमा ठूलो परिमाणमा विद्युत्को माग भएकाले दुई देशबीच विद्युत् सेवा विस्तार गर्नेबारे सम्झौता गरी अघि बढ्ने विषयमा कुराकानी भएको थियो । भेटका अवसरमा उनीहरुबीच द्विपक्षीय सम्बन्ध विस्तारका अन्य विविध विषयमासमेत छलफल भएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ । सो अवसरमा नेपालका तर्फबाट ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे तथा बङ्गलादेशका लागि नेपाली निमित्त राजदूत डिल्लीप्रसाद आचार्य र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिजमन्त्री नसु्रल हमिद, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार गोहर रि ज्वी, परराष्ट्र मन्त्राल तथा विद्युत्, ऊर्जा तथा खनिज मन्त्रलायका उच्च अधिकारी उपस्थित थिए । रासस