नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ता १ करोड ८८ लाख, भ्वाइस सेवा सस्तोदेखि निःशुल्कसम्म
काठमाडौँ । करिव २० वर्ष अघि नेपालमा सेलुलर मोबाइल फोन बोक्ने मानिस एकजना पनि थिएनन्, तर आज बाटोमा निस्केर सोध्ने हो भने मोबाइल नबोक्ने मानिस एक जना भेट्न पनि मुश्किल पर्ला । नेपाल टेलिकमले २०५६ साल बैशाखमा मुलुकमा नै पहिलोपटक जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको थियो । त्यसवेला मोबाइल सेवाको मुल्य तुलनात्मक रुपमा महंगो पर्ने भएकाले शुरुका केही वर्षसम्म यस सेवाका ग्राहकहरु पनि थोरै थिए । सेवाको विस्तार पनि सीमित थियो । २०६० सालसम्म पनि नेपाल टेलिकमका कुल ग्राहक आधार ४ लाख २२ हजार मात्र थिए । हाल दूरसञ्चार प्रविधिको विकाससँगै त्यसको मुल्यमा पनि कमी आएकाले प्राविधिक र आर्थिक रुपमा पनि यो सेवा आमउपभोक्ताको सहज पहुँचमा पुगेको छ । नेपाल टेलिकमले मुलुकका आर्थिक गतिविधि बढी हुने शहरी क्षेत्रदेखि अति दुर्गम पहाडी तथा हिमाली क्षेत्रसम्म सेवाको ब्यापक विस्तार गर्नुका साथै सेवाको मुल्य पनि सहुलियतपूर्ण गर्दै ल्याएपछि मोबाइल फोन सेवालगायत दूरसञ्चार सेवाको उपभोग गर्ने ग्राहकहरुको संख्या पनि ब्यापकरुपमा बृद्धि भएको छ । २०७५ पुस महिनाको अन्त्यसम्ममा नेपाल टेलिकमको टेलिफोन सेवाका ग्राहक आधार करिव २ करोड १३ लाख पुगेका छन् । यस मध्ये जीएसएम मोबाइल सेवाका ग्राहक मात्र १ करोड ८८ लाख रहेका छन् । यसबाहेक सीडीएमए सेवाका ग्राहक १७ लाख ५२ हजार र पीएसटीएन टेलिफोन सेवाका ग्राहक ६ लाख ७६ हजार रहेका छन् । २०५६ सालमा नेपालमा मोबाइल सेवा आरम्भ हुँदा यो सेवा विलासिताको वस्तुको रुपमा आएको थियो, जव कि त्यसवेला युरोप अमेरिकालगायतका विकसित मुलुकमा मोबाइल फोन आधारभूत आवश्यकताको बस्तुका रुपमा प्रयोग हुन थालिसकेको थियो । शुरुमा मोबाइल फोन लिनका लागि ५१ हजार रुपियाँ (मोबाईल सेटको रु.२० हजारसहित) भूक्तानी गर्नुपर्ने व्यवस्था थियो । नेपाल टेलिकमले उपभोक्ताहरुका लागि सकेसम्म सहुलियतपूर्ण र पारदर्शी दररेटमा सेवाहरु उपलब्ध गराइरहेको छ । साथै भ्वाइस सेवा उपयोग गर्ने ग्राहकहरुका लागि विभिन्न दरका प्याकेजहरु पनि उपलब्ध छन् । प्रविधिको विकाससँगै मोबाइल सेवाको मुल्यमा व्यापक कटौती भएको छ । हाल १ हजार ५ सय १० रुपियाँ (११३० स्वामित्व शुल्क र ३८० क्रेडिट लिमिट) मा पोष्ट पेड मोबाइल लिन सकिन्छ भने ५० रुपियाँ बराबरको टक भ्यालु भएको प्रिपेड सिम ९० रुपियाँमा नै लिन सकिन्छ । शुरुमा पोष्टपेड सेवा मात्र सञ्चालन गरेको टेलिकमले २०६० भाद्र देखि प्रिपेड मोबाइल सेवा सञ्चालनमा ल्याएको थियो । प्रिपेड सेवा वितरण गर्न थालेपछि मोबाइल सेवाको महसुल पनि सस्तो हुँदै आयो र सेवा पनि व्यापकरुपमा विस्तार भयो । नेपाल टेलिकमले २०६५ वैशाख महिना देखि नै जिएसएम मोबाइल सेवाको पहुँच मुलुकका ७५ वटै जिल्लामा पुर्याएको थियो । प्रविधिमा भइरहेको विकाससँगै नेपाल टेलिकमले २०६४ जेठदेखि परीक्षणका रूपमा तेस्रो पुस्ताको थ्री जी मोबाइल सेवा वितरण आरम्भ गरेको थियो । थ्री जी मोवाइल सेवा दक्षिण एशियामा नै पहिलो पटक नेपाल टेलिकमले सञ्चालनमा ल्याएको हो । २०७३ असोजमा यो सेवाको पहुँच पनि ७५ वटै जिल्लामा पुर्याइएको थियो । यसका साथै मुलुकमा पहिलोपटक फोर जी सेवा भित्र्याउने श्रेय पनि नेपाल टेलिकमलाई नै प्राप्त भएको छ । २०७३ पौष १७ गते देखि नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल फोर जी (एलटीई) सेवा पनि सञ्चालन आरम्भ गरिसकेको छ । अव एक वर्षभित्रमा मुलुकभर फोर जी (एलटीई) मोबाइल सेवा विस्तार गर्ने लक्ष्यका साथ विभिन्न सम्झौताहरु भइसकेका छन् । नेपाल टेलिकमले उपभोक्ताहरुका लागि सकेसम्म सहुलियतपूर्ण र पारदर्शी दररेटमा सेवाहरु उपलब्ध गराइरहेको छ । साथै भ्वाइस सेवा उपयोग गर्ने ग्राहकहरुका लागि विभिन्न दरका प्याकेजहरु पनि उपलब्ध छन् । कम्पनीको मोबाइल सेवा प्रयोग गर्ने ग्राहकहका लागि सस्तो दरको भ्वाइस सेवाका लागि अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक आदिको व्यवस्था गरिएको छ । साथै एक अर्कामा असीमित रुपमा निःशुल्क कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधा समेत प्रयोग गर्न सीयूजी प्याकेजको समेत व्यवस्था गरिएको छ । त्यसैगरी प्रत्येक रात मासिक २० रुपैयाँमा असीमित कल गर्नका लागि सीडीएमए स्काई रिम प्रयोग गर्न सकिन्छ । हाल कम्पनीका एफटीटीएच सेवाका ग्राहकहरुलाई समेत निःशुल्क भ्वाइस सेवा कम्पनीले प्रदान गरेको छ । अल टाइम भ्वाइस प्याक यस भ्वाइस प्याक अन्तर्गत जीएसएम तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा एक दिन देखि ६० दिन समयावधिसम्म प्रयोग गर्न सकिने प्याकेज प्राप्त गर्न सकिन्छ । यी प्याकेजहरु १० रुपैयाँ देखि ५५० रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ । नाइट टाइम भ्वाइस प्याक जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा नाइट टाइम भ्वाइस प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म ३० मिनेट, १२ रुपैयाँमा १ रातसम्म असीमित (अनलिमिटेड) समय, २५ रुपैयाँमा ७ रातसम्म २४० मिनेट र १ सय रुपैयाँमा २८ रातसम्म ११ सय मिनेट कल गर्न सकिने छ । सो प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीको नेटवर्क भित्र प्रयोग गर्न सकिन्छ । प्रत्येक रात मासिक २० रुपैयाँमा असीमित कल गर्नका लागि सीडीएमए स्काई रिम प्रयोग गर्न सकिन्छ । हाल कम्पनीका एफटीटीएच सेवाका ग्राहकहरुलाई समेत निःशुल्क भ्वाइस सेवा कम्पनीले प्रदान गरेको छ । सीयूजी प्याकेज कम्पनीले कर्पोरेट ग्राहकहरुका लागि सीयूजी (कर्पोरेट युजर ग्रुप) प्याकेज उपलब्ध गराएको छ । जीएसएम÷सीडीएमएका प्रिपेड÷पोष्टपेड सबैमा यो सुविधा उपलब्ध छ । यो प्याकेज अन्तर्गत रहेका सदस्यहरुले एक अर्कामा असीमित कल गर्न सकिन्छ । यस अन्तर्गत जीएसएम/सीडीएमएका प्रिपेड ग्राहकले कम्पनीको नेटवर्कमा २०० रुपैयाँमा ६५ मिनेट भ्वाइस कल गर्न तथा १२५ एमबी डाटा चलाउन र २५ वटा एसएमएस पठाउन सक्ने सुविधा छ । यसैगरी जीएसएम/सीडीएमए पोष्टपेड/प्रिपेड ग्राहकका लागि ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँ दरका विभिन्न ग्रुप बनाइएको छ । यो ग्रुपमा रहेका सदस्यहरुले एक अर्कामा असीमित कल गर्न बाहेक अन्य नम्बरमा विभिन्न दरको भ्वाइस कल गर्न, डाटा चलाउन र एसएमएस गर्न सकिन्छ । डे प्याक डे प्याक अन्तर्गत ६ रुपैयाँमा भ्वाइस र डाटा चलाउन मिल्ने छुट्टाछुट्टै प्याकेज लिन सकिन्छ । यस अन्तर्गत ६ रुपैयाँमा विहान ६ देखि बेलुकी ६ बजे सम्म ६० मिनेट कल गर्न वा ३६ एमबी डाटा चलाउन सकिन्छ । एफटीटीएचमा निःशुल्क भ्वाइस एफटीटीएच सेवा लिने नयाँ तथा पुराना ग्राहकले ९० दिनसम्म कम्पनीको नेटवर्कभित्र निःशुल्क भ्वाइस सेवा अर्थात सिप कल सेवा उपयोग गर्न सकिन्छ । नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत ब्यक्तिगत र कर्पोरेट ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था गरेको छ । ब्यक्तिगत तर्फ ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका प्याकेज उपलब्ध छन् । यी प्याकेज ८ सय देखि १८ हजार ४ सय रुपैयाँ सम्ममा खरिद गर्न सकिन्छ । त्यसैगरी कर्पोरेट तर्फ १० एमबीपीएस र २० एमबीपीएस गतिको प्याकेज उपलब्ध छ । यस श्रेणीमा १० हजार ३ सय देखि ६९ हजार रुपैयाँ सम्मको प्याकेज उपलब्ध छन् । सीडीएमए प्रिपेड स्काईबाट मासिक २० रुपैयाँ सीडीएमए प्रिपेड स्काई मोबाइलबाट राती १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीको नेटवर्कभित्र कल गर्दा ३० दिनसम्मका लागि करवाहेक २० रुपैयाँ मात्र तिरे पुग्छ । यो सेवा सुचारु गर्नका लागि सीडीएमए प्रिपेड सेवाका ग्राहकहरुले मोबाइलको म्यासेज बक्समा नाइट टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्छ ।
भक्तपुरका कुखुरामा फेरि बर्डफ्लु देखियो, २ हजार २०० कुखुरा नष्ट
भक्तपुर । सूर्यविनायक नगरपालिका–१ दधिकोटमा रहेको फार्मको कुखुरामा फेरि एचवानएनवान भाइरस बर्डफ्लु भेटिएपछि रातारात कुखुरा नष्ट गरिएको छ । दधिकोटस्थित अनुस्कृत कुखुरा फार्ममा रहेको ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएपछि गएराति कुखुरा मारिएको छ । फार्म सञ्चालक मधुराम न्यौपानेको कुखुरा फार्ममा ब्रोइलर कुखुरामा बर्डफ्लु भएको पाइएपछि गए राति दुई हजार २०० ब्रोइलर कुखुरा नष्ट गरिएको छ । फार्ममा रहेका कुुखुरामा एचवानएनवान बर्डफ्लुको भाइरस भेटिएपछि पशु सेवा विभागका प्राविधिक टोली, स्थानीय जनप्रतिनिधि, प्रशासनको रोहबरमा कुखुरा नष्ट गरिएको फार्म सञ्चालक न्यौपानेले जानकारी दिए । बर्डफ्लु सङ्क्रमित क्षेत्रको चार किल्लाभित्र कुखुरा नष्ट गरी खाडलमा पुरिएको छ भने खाली खोरलाई सङ्क्रमणमुक्त बनाउँदै बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम गरिएको छ । यसअघि गत बुधबार सोही वडाको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्मका कुखुरामा पनि बर्डफ्लु पुष्टि भएपछि दुई हजार ९८५ लेयर्स कुखुरा नष्ट गरिएको थियो । रासस
सगरमाथाको उचाई नाप्न हिड्यो टोली, प्रधानमन्त्रीले गरे बिदाई
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ मापन गर्न जाने नेपाली टोलीलाई आज एक कार्यक्रम गरी बिदाइ गरेका छन् । बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले टोलीलाई माला र टीका लगाएर बिदाइ गरेका हुन् । उक्त टोलीमा नापी विभागका प्राविधिक कर्मचारीहरु खिमलाल गौतम, रविन कार्की, सुरजसिंह भण्डारी र युवराज धिताल रहेका छन् । पथपदर्शक छिरिङजाङ्बु शेर्पा, पेमाङिमा शेर्पा, आङपासाङ शेर्पा, आङ्बु शेर्पा र केशव पौडेललाई पनि बिदाइ गरिएको छ । प्रधानमन्त्री ओलीले उक्त अवसरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको मापन पहिलोपटक नेपालीले गर्न लागेको बताउँदै यस पटक परिणाम नै आधिकारिक हुने बताए । प्रधानमन्त्री ओलीले आरोहीहरुलाई सम्पूर्ण नेपालीको तर्फबाट शुभकामना व्यक्त गर्नुहुँदै पथप्रर्दशकको निर्देशनअनुसार सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्न आग्रह गरे । प्रधानमन्त्रीले आरोहणकार्य चुनौतीपूर्ण रहेकाले मौसम र स्वास्थ्यको अनुकूलतामा सावधानी अपनाएर अगाडि बढ्न आरोहण टोलीलाई सुझाव दिए ।
सुनको मूल्य घट्यो, प्रतितोला ६० हजार १ सयमा कारोबार हुँदै
काठमाडौं । मंगलबारको तुलनामा बुधबार छापावला सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ६० हजार ३ सयमा कारोबार भएको सुन बुधबार प्रतितोला ६० हजार १ सय रुपैयाँले बिक्री भईरहेको छ । त्यस्तै तेजावी सुन मंगलबारको तुलनामा प्रतितोलामा २ रुपैयाँ कमी भई ५९ हजार ८ सय रुपैयाँमा विक्री भईरहेको छ भने चाँदी तोलामा १० रुपैयाँ घटेर ७३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।
एलजीले ल्यायो ड्यूअल कुल एयर कन्डिस्नर, ७० प्रतिशत बिजुली बचत हुने कम्पनीको दाबी
काठमाडौँ । एलजीले नयाँवर्षलाई लक्षित गरी एलजी ड्यूअल कुल एयर कन्डिस्नर नेपाली बजारमा ल्याएको छ । कम्पनीले बजारमा ल्याएको यो एसीमा ड्यूल इन्भर्टर कम्प्रेशर साथै १० वर्षको वारेन्टी रहेको छ । नयाँ एजीले ७० प्रतिशत सम्मविजुलीको बचत गर्दछ, साथै ८० प्रतिशत छिटो चिसो पार्ने कम्पनीले जनाएको छ । एलजी ड्यूअल कुल एसी सबै मौसमको लागि उपयोगी हुने पनि कम्पनीले जनाएको छ । एलजीको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इम्पेक्स प्रालि रहेको छ ।
हावाहुरी पीडितलाई राष्ट्रिय बीमा कम्पनीको १ लाख सहयोग, कर्मचारीले गरे राहत वितरण
काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीले बारा र पर्साका हावाहुरी पीडितलाई राहत वितरण गरेको छ । हावाहुरी पीडितका लागि प्रदेश २ सरकारको खाता राहत खातामा एक लाख रुपैयाँ जम्मा गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले बताए । यसैबीच, कम्पनीका कर्मचारीहरुले आफ्नो २ दिनको तलब बराबरको रकमबाट पीडितलाई खाद्य तथा अन्य आवश्यक राहत सामाग्री खरिद गरी वितरण गरेका छन् । हावाहुरी पीडित ५० घर परिवारलाई गत २२ गते प्रतिपरिवार २५ केजी चामल, ५ केजी दाल, ५ केजी च्यूरा र २ केजी नूनका दरले राहत सामाग्री वितरण गरिएको कम्पनीका बजार विज्ञ सुकल्याण पराजुलीले जानकारी दिए ।
बारा पर्साका हावाहुरी पीडितलाई कृषि विकास बैंकको १५ लाख सहयोग
काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले बारा र पर्साका हवाहुरी पीडित परिवारलाई १५ लाख आर्थिक सहयोग उपलब्ध गराएको छ । चैत्र १७ गतेका दिन वारा/पर्सा जिल्लामा अकस्मात आएको हावाहुरी÷हुण्डरी सहितको असिनापानीबाट ठूलो धनजनको क्षती भएकोमा दुःख व्यक्त गर्दै नेपाल सरकारद्वारा गठित प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा कृषि विकास बैंक लि.ले पन्ध्रलाख रुपैयाँ आर्थिक सहयोग स्वरुप उपलव्ध गराएको जनाएको छ ।
दुई जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता, २०७८ जेठ सम्ममा विद्युत उत्पादन
काठमाडौँ । बागलुङको गल्कोट क्षेत्रमा निर्माण गरिने साढे ७ मेगावाट क्षमताका दुई वटा जलविधुत आयोजनाको विधुत खरिद विक्री सम्झौता (पिपिए) भएको छ । ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा अवस्थित मध्यदरमखोलाबाट विधुत उत्पादन गरी वितरण गर्ने गरी नेपाल विधुत प्राधिकरण र धौलागिरी सिभिल इलेक्ट्रिकल मेकानिकल इन्जियनियरीङ(धौलागिरी सेम) प्रालि बागलुङविच मंगलवार विधुत खरिद विक्री सम्बन्धी सम्झौताा (पिपिए) भएको हो । धौलागिरी सेम प्रालिद्वारा प्रवद्र्धित मध्य दरमखोला ए साना जलविद्युत आयोजना (३ मेगावाट) र मध्य दरमखोला वी साना जलविद्युत आयोजना (४.५मेगावाट) र नेपाल विधुत प्राधिकरण बीच विद्युत खरिद विक्री सम्झौता भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । सम्झौता पत्रमा नेपाल विधुत प्राधिकरणका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र धौलागिरी सेम प्रालिका अध्यक्ष हरिनारायण गौतमले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रवद्र्धक कम्पनी धौलागिरी सेम प्रालिले दुवै आयोजनाबाट वि.सं.२०७८ जेठ ३१ सम्ममा विद्युत उत्पादन गरी नेपाल विधुत प्राधिकरणको हरिचौर सवस्टेशनमा जडान गरिने छ । मध्य दरमखोला ए (३ मेगावाट) को ब्यापारिक विधुत उत्पादन मिति वि.सं.२०७७ चैत ३१ र मध्य दरमखोला वि (४.५ मेगावाट)को विद्युत उत्पादन मिति वि.सं.२०७८ जेठ ३१ रहेको छ । दुवै आयोजना स्थानीय लगानी र प्रभु बैंकको ऋण सहयोगमा समपन्न गरिने छ । दुवै आयोजनाको पिपिए टेक अर पे को नीतिमा गरिएको अध्यक्ष गौतमले वताए । दुवै आयोजनाबाट उत्पादित विधुतलाई नेपाल विधुत प्राधिकरणले सुख्खा याम (पौषदेखि चैतसम्म) मा प्रति युनिट ८ रुपैयाँ ४० पैसा देखि १० रुपैयाँ ४२ पैसामा खरिद गर्नेछ । बर्षायाम (बैशाखदेखि मंसिरसम्म) मा प्रति युनिट ४ रुपैयाँ ८० पैसादेखि ५ रुपैयाँ ९५ पैसासम्ममा खरिद गर्नेछ । दुवै आयोजनाबाट बार्षिक ४ करोड ४५ लाख १३ हजार २ सय ६९ यूनिट विद्युत उत्पादन हुनेछ ।