आइपीओ भर्न पाँच हजार छैन ? अब एक हजारमै गर्नुुस् आवेदन
काठमाडौं । आइपीओ भर्न पाँच हजार नभएर तनाबमा हुनुहुन्छ ? अब चिन्ता नगर्नुस, एक हजारमै पनि भर्न पाइन्छ आइपीओ । नेपाल धितोपत्र बोर्डले १० कित्ता सेयर भर्न पाइने व्यवस्था गरेको छ । बोर्डले बुधबार परिपत्र जारी गर्दै १० कित्ता सेयर भर्न पाउने व्यवस्था गरेको हो । यस अघि बोर्डले सबै आवेदकलाई न्युनतम १० कित्ता सेयर दिनुपर्ने व्यवस्था कार्यान्वयन गरेको थियो । २०७३ सालबाट लागु भएको सो योजनाले सेयर बजारमा साना लगानीकर्ताहरुको समेत पहुँच बढेको भन्दै अब १० कित्ता समेत आवेदन दिने सकिने व्यवस्था अघि सारिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । बोर्डले अब सार्वजनिक निष्काशन गर्ने सबै कम्पनीको आइपीओमा १० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था लागु गराउन पत्र काटेको हो । हालसम्म न्युनतम ५० कित्ताका लागि मात्रै आवेदन दिन सकिने व्यवस्था थियो । सेयर बजारमा साना लगानी कर्ताको सहभागीता बढाउन, बजारलाई समावेशी बनाउन र एक नेपाली एक डिम्याट खाता कार्यान्वयनका लागि १० कित्ता आवेदन दिन सकिने व्यवस्था अघि सारिएको बोर्डले जनाएको छ ।
गुराँस लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीको तर्फबाट सहायक महा प्रबन्धक बालमुकुन्द रुपाखेती र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सार्वधिक , आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवन बीमा योजना विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्यले दुई संस्थाबीच बैंकास्योरेन्स सम्झौता भएको छ । माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकको सबै शाखाबाट यस कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हाल मात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ ।
३ नम्बर प्रदेशको प्रेस रजिष्टारमा पत्रकार रेवती सापकोटा नियुक्त
हेटौँडा । ३ नम्बर प्रदेशको प्रेस रजिष्ट्रारमा पत्रकार रेवती सापकोटा नियुक्त भएका छन् । बुधबार बसेको प्रदेश मन्त्री परषदको बैठकले सापकोटालाई प्रेश रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले आन्तरिक मामिला तथा योजना मन्त्रालय अन्तरगत रहने गरी प्रेस रजिष्ट्रार नियुक्त गरेको हो । सिन्धुपाल्चोक चौताराका स्थायी बासिन्दा रहेका पत्रकार सापकोटा २० बर्षदेखि पत्रकारिता पेशामा आवद्ध रहेका छन् । स्नाकोत्तर तह अध्ययन गरेका सापकोटा विभिन्न सञ्चार माध्यममा आवद्ध रहेका छन् । यता, बैठकले हिमाली तथा पहाडी जिल्लामा महिला तथा बाल स्वास्थ्य प्रबद्र्धनका लागि साना योजना कार्यक्रम अनुदान सम्बन्धी कार्यविधि–२०७५ स्वीकृत गरेको छ । मागमा आधारित योजना कार्यक्रम छनौट, कार्यान्वयन सम्बन्धी कार्यबिधि–२०७५ स्वीकृत गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए । यसैबीच, गत चैत १७ गते बारा र पर्सामा आएको हावाहुरीका कारण पीडित परिवारको आवास निर्माणका लागि २ नम्बर प्रदेश सरकारलाई रकम पठाउने निर्णय गरेको छ । यस अघिको मन्त्रिपरिषद बैठकले हावाहुरी पिडितलाई एक करोड दिने निर्णय गरिसकेको थियो । बैठकबाट नेपाल भ्रमण बर्ष २०२० प्रबद्र्धन सम्बन्धी प्रदेश स्तरिय कार्यबिधि पनि स्वीकृत गरेको ढुंगेलले जानकारी दिए । जलचर संरक्षण सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक पनि प्रदेश सरकार मन्त्री परिषदको बैठकले स्वीकृत गरेको ढुंगेलले बताए ।
नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा पेप्सिकोलामा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ७९ औं शाखा काठमाडौंको पेप्सिकोला टाउनप्लानिङमा विस्तार भएको छ । काठमाडौं महानगरपालिका वडा नं ३२ सिनामंगल स्थित पेप्सिकोलाको टाउनप्लानिङमा बैंकले शाखा खोलेसँगै ११२ औ एटिएम पनि संचालनमा ल्याइएको छ । बैंकका संचालक प्रजन्यराज भण्डारी, सूर्य प्रकाशलाल श्रेष्ठ, निरन्जनलाल श्रेष्ठ, भुवनेश्वरप्रसाद शाह तथा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायतको उपस्थितिमा शाखा तथा एटिएमको उद्घाटन गरिएका हुन् । बैंकले ग्रामिण क्षेत्रमा आफ्नो शाखा विस्तार गरेसंगै उपत्यकाको पूर्वी क्षेत्र पेप्सिको लामा शाखा थप गरेको हो । सम्पूर्ण वित्तिय कारोबार हुने यस शाखामा स्थानीय माग अनुसार सानो, ठूलो सबै प्रकारका लकरको पनि व्यवस्था रहेको छ । बैंकका शाखाहरु काठमाडौं उपत्यकाभित्र २४ र बाहिर ५५ वटा संचालनमा ल्याएको छ । ‘बेस्ट व्याकको २०१८’ अवार्ड प्राप्तगर्न सफल बैंक सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा तथा १२ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखा रहित बैंकिङ सेवामार्फत बैंकले ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको छ ।
नेशनल लाईफ इन्स्योरेन्सद्धारा बझाङ्गमा निःशुल्क स्वास्थ्य शिविर संचालन
काठमाडौं । बझाङ्गमा नेशनल लाईफ इन्स्योरेन्सद्धारा नि शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । रामप्रसाद खत्री स्मृती प्रतिस्ठान बझाङ्गको आयोजना तथा खप्तडछान्ना गाउँपालिका र नेशनल लाईफ इन्स्योरेन्सको सह प्रायोजनमा बझाङ्ग जिल्लाको खप्तड छान्ना गाउंपालिका वडा नं. ४ नेटाकाटिया ब्रमस्थलमा पर्ने दुर्गा महालिङ्ग मा.बि.को भवनमा चैत २५ र २६ गते दुई दिने निशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर सञ्चालन भएको हो । उक्त शिविरमा लुम्बिनी अञ्चल अस्पताल, तिलोत्तमा हस्पिटल, तिलोत्तमा आंखा अस्पताल, आम्दा हस्पिटल बुटवल र हिमाल डेन्टलका चिकित्सकहरुको संयुक्त टोलिले सेवाप्रदान गरेको थियो । ७ वटा बिशेषज्ञ बिधामा सेवा प्रदान गरिएकोमा सामान्य चिकित्सा तर्फ ६९५ जना, हाडजोर्नी तर्फ ८८१ जना, दन्तरोग तर्फ २६१ जना, आंखातर्फ ३८१ जना, स्त्रीरोग तर्फ ५७६ जना, बालरोग तर्फ १९४ जना, शल्यक्रियातर्फ १० जना गरी जम्मा २ स्वास्थ्य परिक्षण भएकोमासो मध्ये ३९४ जनाको अल्ट्रासाउन्ड, १०१ जनाको ल्याब परिक्षण , ३१ जनाको मोतिबिन्दु अप्रेशन, ५३ जनाको दांतहालेको, १०८ जनाको दांत निकालेको बताइएका छन् । सो टोलिबाट लगभग २२ लाख बराबरको निशुल्क औषधी समेत बितरण गरिएको थियो । यस रामप्रसाद स्मृती प्रतिष्ठानले बिशेषज्ञ स्वास्थ्यशिबिर संचालन, गरिव तथा जेहेन्दार बिधार्थीलाई छात्रबृती लगायतका समाज सेवाका कार्यक्रम गर्दै आएको छ ।
एनबिआई र कामना सेवा विकासबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता
काठमाडौं । एनबिआई र कामना सेवा विकास बैंकबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता भएको छ । एनबिआईको तर्फबाट सहायक महा प्रबन्धक धन थापा र कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले उक्त वित्तीय साक्षरता सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झोैतापत्र अनुसार एनबिआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरुबारे कामना सेवा विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबिआई मोबाइल एप्बारे ज्ञान दिलाई आ –आफ्नो ग्राहकमा वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्ने भएकाे छ । बैंकले एनबिआई एप् मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ । यसरी दुई संस्थाहरु एउटै महान् उद्देश्यको लागि साझेदारी गरि अघि बढ्नाले बचत गर्ने र व्यवसाय सन्चालनबारे जागरुक्ता ल्याउन थप उर्जा मिल्ने छ । वित्तीय साक्षरताको सबै आवश्यक सामाग्री सबै माझ लैजान एनबिआई मोबाईल एप्को प्रयोगले देशमा वित्तीय साक्षरताको विस्तारमा शुरु गर्ने जनाएका छन् ।
झिनो अंकले बढ्यो नेप्से, ४१ करोडको कारोबार
काठमाडौ । नेप्से परिसूचक घट्ने र बढ्ने क्रम चलिरहेको छ । साताको चौथो दिन बुधबार झिनो अंकले नेप्से बढेको छ । पहिलो र दोश्रो दिन उकालो लागेको शेयर बजार तेश्रो दिन ओरालो झरेको थियो भने चौथो दिन पुनः ३.५२ अंकले बढेको छ । बुधबार परिसूचक ०.३० प्रतिशतले बढ्दा ११८४.६१ बिन्दुमा पुगेको छ । सेयर बजारमा १६९ कम्पनीले सेयर कारोबार गरेका छन् । १६ लाख १२ हजार ३ सय ९६ कित्ता सेयर खरिद बिक्री हुँदा ४१ करोड ४ लाख ९४ हजार ६ सय ३२ रुपैयाँको कारोबार भएको छ । बजार बढेको दिन नेप्सेको १ सूचक बाहेक सबै सूचकमा हरियाली छाएको छ । बैंक समूह २.९६, होटल समूह ०.२२, विकास बैंक समूह ३.१४, वित्तीय समूह ३.१७, निर्जीवन बीमा समूह २४.२३, उत्पादनमूलक समूह ३.०८, अन्य समूह ६.७३, लघुवित्त समूह २.३६ र जीवन बीमा समूह १२.५९ अंकले बढेका छन् । बजार बढेको दिन जलविद्युत समूह भने ५.४३ अंकले घटेको छ । बजार बढेको दिन बुधबार नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकका लगानीकर्ताले ५.०७ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने उन्नत्ति लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ५.५५ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
अब स्कूलका विद्यार्थीको पनि बीमा हुने, ७३ लाख विद्यार्थीले लाभ लिन सक्ने
काठमाडौं । अब कक्षा १ देखि १२ कक्षासम्म पढ्ने विद्यार्थीको पनि बीमा गर्न सकिने भएको छ । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले स्कूल तहमा अध्ययन गर्ने विद्यार्थीको लागि आईजीआई बीमा लेख जारी गरेको छ । देशभर स्कूल तहमा करिव ७३ लाख विद्यार्थी रहेकोले उनीहरुलाई लक्षित गरी कम्पनीले नयाँ बीमा लेख बनाएको कम्पनीले जनाएको छ । यस योजनामा निधन भएको अवस्थामा विद्यार्थीलाई १ लाख र अभिभावकको ५ लाख रुपैयाँसम्म दुर्घटना बीमा भुक्तानी हुनेछ । स्थायी अंगभंग भएको विद्यार्थीले ३ लाख र अभिभावकले ५ लाख पाउने छन् । अंगभंग भएको अवस्थामा विद्यार्थीलाई १ लाख र अभिभावकलाई २ लाख ५० हजार भुक्तानी हुनेछ । अस्थायी रुपमा अशक्त भएको दुई महिनासम्म मासिक बढीमा १० हजारको दरले शैक्षिक शुल्क भुक्तानी हुनेछ । ‘हरेक दिन विद्यार्थीहरु दुर्घट्नामा परेको समाचार आउँछ । कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थी ७३ लाख भन्दा बढी छन् । उनीहरुको हित गर्ने उदेश्यले नयाँ बीमा पोलिसी ल्याएको हौ’ बुधबार नयाँ पोलिसी सार्वजनिक गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले भने । यस्तो कार्यक्रमले विद्यार्थी, अभिभावकलाई राहात पुग्नुको साथै स्कूल तहमा बीमाबारे जनचेतना विस्तार गर्न सहयोग पुग्ने उनको विश्वास छ । यस पोलिसी खरिद गर्ने विद्यार्थी विरामी भई उपचार गर्नु परेमा ५० हजार रुपैयाँसम्म र दुर्घटनामा परेको अवस्थामा २५ हजार रुपैयाँसम्म औषधि उपचार खर्च पनि दिने कम्पनीले जनाएको छ ।