विकासन्युज

कोरोना उपचार अस्पतालका चिकित्सक कर्मचारीले पाउने भए शतप्रतिशत भत्ता

चितवन । भरतपुर महानगरपालिकाको अगुवाइमा चितवन प्रदर्शनी केन्द्रमा शुक्रबार बिहानदेखि सञ्चालन गर्न लागिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारीलाई शतप्रतिशत प्रोत्साहन भत्ता दिइने भएको छ । सङ्घीय सरकारले यसअघिनै कोरोनाको उपचारमा संलग्नलाई ७५ प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरिसकेको छ । सो रकममा महानगरपालिकाले थप २५ प्रतिशत गरी शतप्रतिशत पुर्याउने भएको हो । महानगर प्रमुख रेनु दाहालले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सङ्घीय सरकारबाट दिइने रकममा थप गरी शतप्रतिशत पुर्याउन लागिएको बताएकी छन् । उनले भनिन् “सङ्घबाट रकम नआएमा पनि महानगरले ७५ प्रतिशत प्रोत्साहन भत्ता दिन्छ, आएमा शतप्रतिशत पुर्याउँछौँ ।” अस्पतालमा महानगरका स्वास्थ्यकर्मीका अतिरिक्त जिल्लाका सरकारी र नीजि अस्पताल एवं मेडिकल कलेजमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी परिचालन गरिने उनले जानकारी दिए । अस्पताल सञ्चालन गर्न गठित कार्यदलका प्रवक्ता डा भोजराज अधिकारीका अनुसार हाल कार्यरत चिकित्सक, कर्मचारीले नपुगेमा बाहिरबाट पनि जनशक्ति भर्ना गरिने छ । अध्ययन गर्दै गरेका नर्स र चिकित्सकलाई पनि अस्पताल सञ्चालनका क्रममा नियुक्त गर्नुपर्ने हुनसक्ने भन्दै तयारी थालिएको छ । बहिरङ्ग सेवा र ५० श्ययाको जनरल वार्ड आज साँझसम्ममा तयार गरिँदै छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसबाट श्यया सङ्कलन गरी साँझसम्ममा तयार गरिने अधिकारीले जानकारी दिए । यससँगै ती श्ययामा आवश्यक सामाग्री उद्योग वाणिज्य सङ्घको अगुवाइमा व्यवस्थापन गरिँदै छ । बिहीबार दिनभरमा १० श्ययाका सघन उपचार कक्ष र १० श्ययाको हाई डिपेन्डेन्ट यूनिट (एचडियू) तयार गरी शुक्रबारदेखि अस्पताल सञ्चालन गर्ने तयारी गरिएको छ । सोका लागि आवश्यक प्रयोगशाला, एक्सरे, औषधि, शौचालय, बारबेर, विद्युत्, खानेपानीलगायतका काम भइरहेका छन् । आज बिहान नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले अस्पताल बनाउन लागिएको क्षेत्र सरसफाइ गरिसकेका छन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले जुट्न नसकेका खरिद गर्नुपर्ने सामग्री महानगरले खरिद गरेर अस्पताल सञ्चालनमा ल्याउने बताएका छन् । महानगर प्रमुख दाहालको संयोजकत्वमा गठित १५ सदस्यीय कार्यदलले मङ्गलबार बिहान ७२ घण्टाभित्र अस्पताल सञ्चालन गर्ने गरी काम अघि बढाएको थियो । जिल्लामा हालसम्म चार शङ्कास्पद कोरोनाका बिरामी भरतपुर अस्पतालमा भर्ना भएकामा उनीहरु सबैको नतिजा नेगेटिभ आएको छ । रासस

नेपाल र इङ्ग्ल्याण्डबीचको खेल स्थगित

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोली र इङ्ग्ल्याण्डको ‘सी’ टोलीबीच तय भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगन भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण इङ्ग्ल्याण्डमा हुने तय भएको पहिलो मैत्रीपूर्ण खेल स्थगन भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । एन्फाका अनुसार अर्को मिति तय नभएसम्म उक्त खेल स्थगन भएको हो । मैत्रीपूर्ण खेल आगामी जेठ १२ गतेका लागि तय भएको थियो । गत माघमा एन्फा र इङ्ग्ल्याण्डको फुटबल एशोसिएशन (एफए)सँग दुई मैत्रीपूर्ण खेल खेलाउने सम्झौता भएको थियो । दोस्रो मैत्रीपूर्ण खेल भने सन् २०२१ मा नेपालमा नै हुने बताइएको छ । रासस

कामपाको ट्राफिक आइल्यान्ड आकर्षक बनाइँदै

काठमाडौं । रत्नपार्क, जमल र तीनधारा पाठशाला अघिल्तिर गरी तीन स्थानका ट्राफिक आइल्यान्डको व्यवस्थापन प्रभु बैंकले गर्ने भएको छ । आइल्यान्डको व्यवस्थापनको विषयमा मङ्गलबार काठमाडौँ महानगरपालिकाका तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले ठाउँ लिने, आफ्नो प्रचार गर्ने तर सौन्दर्य अभिवृद्धिमा ध्यान नदिने हो भने आपसी सम्बन्ध लामो समय टिक्न सक्दैन भन्दै दिगो रूपमा काम गर्नुपर्ने धारणा राखेका छन् । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले महानगरले स्वीकृत गरेको ढाँचामा मौसम सुहाउँदा फूल, ठाउँ सुहाउँदा बिरुवा र आकर्षक फोहोरा निर्माण गर्ने जानकारी दिए। सम्झौताबमोजिम बैंकले वडा २८ मा पर्ने रत्नपार्क, वडा २७ मा पर्ने जमलको आकाशे पुलमुनि र वडा १ मा पर्ने तीनधारा संस्कृत पाठशाला अघिको ट्राफिक आइल्यान्डमा बगैँचा निर्माण गरेर हरियाली बनाउने, मर्मत सुधार, हेरचाह र आधुनिक पानीको फोहोरा निर्माण गर्नेछ । आउँदो पाँच वर्षका लागि भएको सम्झौताबमोजिम आइल्यान्डको व्यवस्थापन गरेबापतको खर्च बैंक आफैँले व्यहोर्नेछ । आइल्यान्डमा बैंक र महानगरको परिचय झल्कने लोगो राखिने छ ।

सहारा विकास बैंकका प्रवद्र्धकले हात उठाए, पुँजी नपुगेपछि संकटमा

काठमाडौं । सहारा विकास बैंकबाट प्रवद्र्धकले हात झिकेका छन् । बैंकले गत वर्ष २५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेकोमा प्रवद्र्धकहरुले हकप्रद सेयरमा लगानी नगरेको पुष्टि भएको छ । चुक्तापुँजी ७ करोड २९ लाख भएको सहारा विकास बैंकले २०७५ असारमा १ बराबर २.५ अनुपातमा १८ करोड २४ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेको थियो । प्रवद्र्धक सेयर ५१ प्रतिशत रहेको यस बैंकमा प्रवद्र्धकले ९ करोड ३० लाख ६८ हजार रुपैयाँ बराबरको सेयर लिनु थियो । प्रवद्र्धकले एक प्रतिशत सेयर पनि नकिनेको भेटिएको छ । प्रबद्र्धक सेयर नकिनेको जनाउँदै सहारा विकास बैंकले ९ लाख २१ हजार १४८ कित्ता सेयर लिलामीमा राखेको छ । २०७५ जेठ ६ गतेदेखि असार २४ गतेसम्म हकप्रद सेयर निष्काशन खुला गरेकामा प्रवद्र्धकले सेयर नकिनेकोले बढाबढ मूल्यमा बेच्न लागेको सहारा विकास बैंकले जनाएको छ । हकप्रद सेयर पछि बैंकको चुक्ता पुँजी २५ करोड ५४ लाख हुने बैंकले जनाएको थियो । तर प्रवद्र्धकले सेयर किन्न नमानेपछि बैंकको चुक्ता पुँजी १६ करोड ३३ लाख रुपैयाँ मात्र छ । सर्लाहीको मलंगवामा केन्द्रीय कार्यालयमा रहेको यो बैंक एक जिल्ला स्तरीय बैंक हो । बैंकका प्रवद्र्धहरुबीच द्वन्द्व हुँदा उनीहरुले हकप्रद सेयरमा लगानी नगर्ने पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले बताए । यस बैंकको सेयर पछिल्लो ४६० रुपैयाँमा कारोबार भएको छ । याे बैंक अरू बैंकमा मर्ज गराउनु राम्राे हुने उनले बताए ।

कोरोनाको असर निर्माणाधीन परियोजनामा, समयावधि लम्बिने सम्भावना बढ्यो

काठमाडौं । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को असर निर्माणाधीन परियोजनाहरुमा पनि देखिएको छ । नेपाल सरकारले राष्ट्रिय गौरवका आयेजनाका रुपमा लिइएका परियोजनाहरुमा कोरोनाको असर देखिएको बताइएको हो । यसले पनि निर्माणाधीन आयोजनाहरुको काम समयमै सम्पन्न हुनेमा शंका उब्जिएको छ । निर्माणाधीन परियोजनाका लागि प्रायःजसोे सामग्रीहरु विदेशबाट आयात हुन्छन् भने धेरै कामदारहरु पनि भारत र चीनबाट आउने गर्दछन् । यसले पनि ती आयोजनाहरुमा असर परेको सरोकारवालाहरुले बताएका छन् । अहिले निर्माणाधीन परियोजनाहरुमा काम गर्ने कामदारहरुको देश भारत र चीनमा कोरोनाको प्रकोप छ । नयाँ वर्षका लागि घर फर्केका धेरै विदेशी कामदारहरु नेपाल फर्किएका छैनन् । नेपालका निर्माणाधीन परियोजनामा काम गर्ने अधिकांश कामदारहरु भारत र चीनका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कोरोना भाइरसको प्रत्यक्ष असर निर्माणाधीन परियोजनामा परेको बताएको छ । यस्तै, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिँहले कोरोनाका कारण निर्माणाधीन आयोजनाहरु सुस्त भएको बताएका छन् । सिँहका अनुसार सबैभन्दा बढी असर नेपालको हाइड्रो र विमानस्थलमा परेको छ । ‘कोरोनाको कारण अब निर्माण सामाग्रीको मूल्य बढ्न सक्ने सम्भावना छ । नेपालमा निर्माण भइरहेका धेरै परियोजनमा चीनियाँ र भारतीय कामदारहरु छन, कोरोनाको कारण उनीहरु आफ्नै देशमा छन्, यसले पनि काम सुस्त छ’, उनले भने । हाल अमेरिकी डलरको मूल्य बढेकोले पनि निर्माण सामाग्रीको मूल्य पनि बढ्ने संकेत देखिएको उनको भनाइ छ । यसले निर्माणाधीन परियोजनाका लागत पनि बढ्नेछ भने आयोजनाको निर्माण समायावधि पनि लम्बिने सम्भावना बढेको छ । हाल कोरोनाको कारण निर्माण कार्य न रोक्न सकेको नत तीव्र गतिमा अगाडि बढाउन सकिएको सिँहको भनाइ छ । आयोजना निर्माणको ठेक्का लिएको ठेकेदाहरुले पनि कोरानाको कारण निर्माण कार्य सुस्त भएको बताएका छन् । उनीहरुले निर्माण कार्यमा निर्माण सामाग्री र जनशक्तिको अभावले काममा तीव्रता दिन नसकिएको बताएका हुन् । स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आउँदो असारबाट विद्युत उत्पादन गर्न सुरु गर्ने बताए पनि कोरोनाको कारण यसको काम लम्बिने सम्भावना बढेको छ । चीनियाँ कामदार भएको परियोजनामा कामदारको त्यति समस्या नभए पनि विज्ञहरुको टोलीले कामको निरिक्षण गर्ने कार्य नभएकोले काम पछाडि धकलिन सक्ने आयोजनामा प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताए । ‘अहिलेसम्म त्यस्तो प्रत्यक्ष असर परेको छैन, विस्तारै यसको असर पर्न सक्ने संकेतहरु देखा परेका छन्, मुभमेन्टहरुमा पनि कमि आउन थालेका छन, युरोपका परामर्शदाताहरु आउन सकिरहेका छैनन्, अस्ति नै तीन जना आउनु पर्ने थियो तर आएनन्, यसको इम्प्याक्ट आयोजनालाई पर्ने देखिन्छ’, उनले भने । नेपाल नागरिक उडड्यन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालका अनुसार देशभर निर्माधीन अवस्थामा रहेको सबै विमानस्थलहरुमा कोरोनाको असर देखिएको छ । विशेष गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानथल र पोखरा क्षेत्रिय विमानस्ग.थलमा कोरोनाको असर बढी देखिएको उनको भनाइ छ । उनले कोरोना कति सम्म रहन्छ त्यहि अनुसारको निर्माणाधीन विमानस्थलमा असर पार्ने उनले बताए । अब निर्माणाधीन आयोजनाहरुको तोकिएको समयमा निर्माण कार्य नसकिने खतरा बढेको उनले बताए । यस्तै, पोखरा क्षेत्रिय विमानस्थलको निर्माणको निर्माण कार्यमा पनि कोरोनाकै कारण समस्या आएको बताइएको छ । हाल विमानस्थलको निर्माण कार्य ५६ प्रतिशत भइसकेको छ । परियोजना प्रमुख विनेश मुनाकर्मिले कोरोनाको कारण दुई महिनादेखि निर्माण कार्य निरन्तर रुपमा गर्न नसकेको बताए । कामदारहरु चीनकै भएकोले काम निकै प्रभावित भएको उनको भनाइ छ । उक्त विमानस्थलको कुल लागत २द्द अर्ब हो । २०२१ जुलाईमा निर्माण कार्य सक्ने भनिएको विमानस्थलको ६ महिना अगावै काम सक्ने आयोजना कार्यालयको दावि थियो । अब भने कोरोनाको कारण काम लम्बिने खतरा बढेको छ । हाल कोरोना भाइरसकै कारण धेरै राष्ट्रिय गौरवका आयोजनाहरु प्रभावित भएका छन् । यस्तै, काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा कोरोनाले खासै असर नपारेको बताइएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनामा निर्माणको काम थोरै मात्रै बाँकी छ । आयोजनाको बाँकी काम अहिले चिनियाँ निर्माण कम्पनी ‘सिनो हाइड्रो’ ले गरिरहेको छ । आयोजनामा कार्यरत दुई तीन जना मात्रै अहिले चीन गएका छन् । उनीहरु नहुँदा पनि अहिले काममा कुनै अवरोध नपुगेको आयोजनाका वरिष्ठ डिभिजनल इन्जिनियर कमलराज श्रेष्ठले बताए । उनका अनुसार नयाँ वर्ष मनाउन चीन गएका उनीहरु त्यसपछि फर्किएका छैनन् ।चीन गएकामध्ये एकजना परियोजना व्यवस्थापक र एक जना प्रबन्ध सहयोगी (लजिस्टिक सपोर्टर) रहेका छन् । उनीहरु केही समयमा फर्किने कम्पनीले जानकारी दिएको छ । राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग ‘फास्ट ट्र्याक’ निर्माणमा पनि हालसम्म कुनै असर नपरे पनि अब भने पर्ने खतरा छ । मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा लिइएकोे द्रुतमार्ग निर्माण सेनाले इतिहास रच्ने अवसरका रूपमा लिएर कामलाई तीव्रता दिएको छ । उक्त आयोजनामा हालसम्म कुनै पनि चिनियाँ ठेकेदार र कामदार संलग्न नभएका कारण कोभिड–१९ को असर नपरेको हो । खरिद ऐनको प्रक्रिया र केही नीतिगत निर्णयका कारण हुने ढिलाइबाहेक आयोजना अघि बढाउने सन्दर्भमा हालसम्म कुनै बाधाअड्चन नभएको हुँदा कार्ययोजनानुसार नै काम भइरहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले स्पष्ट पारे । राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक चासो दिएर हेरिएको ७२ दशमलव ६ किलोमिटर लम्बाइको उक्त राजमार्गको निर्माणले नेपालको आर्थिक विकासमा कायापलट ल्याउने विश्वास गरिएको छ ।

सहारा विकास बैंकको ९ लाख कित्ता सेयर लिलाममा

काठमाडौं । सहारा विकास बैंकले ९ लाख कित्ता सेयर लिलाम गर्ने भएको छ । बैंकले चैत १२ गतेदेखि ९ लाख २१ हजार १ सय ४८ दशमलव ७० कित्ता संस्थापक सेयर बोलकबोलमार्फत लिलाम गर्ने भएको हो । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ को प्रावधानलाई आधार मानी बैंकले बोलकबोल मार्फत अवितरित हकप्रद विक्री गर्न लागेको जनाएको छ । बैंकले गत वर्ष २०७५ साल जेठ ६ गतेदेखि असार २४ गतेसम्म हकप्रद सेयर निष्कासन गरेको थियो । सो अवधीमा बैंकको संस्थापक तर्फको उक्त कित्तामा आवेदन नपरेपछि लिलामीमा ल्याएको हो । बैंकले सेयरको न्युनतम मुल्य १ सय तोकेको हुँदा सो भन्दा बढीको मुल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । सेयर खरीदको लागि आवेदकहरुले न्युनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेश गर्न नपाउने

बाँके । विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेशमा रोक लगाइने भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि नेपाल र भारतका अधिकारीबीच भएको छलफलपछि जाँचबिना सीमामा ओहोरदोहोर गर्न रोक लगाइने भएको हो । कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने भन्दै नेपाल–भारत दुवै देशका अधिकारीले सीमाक्षेत्रमा सुरक्षा र स्वास्थ्य जाँचलाई अझ कडा बनाइने निष्कर्ष निकालेका छन् । सीमावर्ती भारतीय नाका रुपैडिहाको अवलोकन गर्न आएका भारत उत्तरप्रदेशको बहराइच जिल्लाका डीएम शम्भुकुमार र एसपी विपिनकुमार मङ्गलबार मध्याह्न एक्कासी नेपालगञ्ज आएका थिए । उनीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीलगायतका नेपाली अधिकारीसँगको भेटपछि स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेशमा रोक लगाइने निष्कर्ष निकालिएको हो । हालसम्म भारतमा कोरोना भाइरसका कारण तीन जनाको मृत्यु भइसकेको छ । नेपालगञ्जदेखि १९० किमी टाढा लखनऊमा समेत कोरोनाको सङ्क्रमण देखिएपछि नेपालगञ्ज नाकालाई जोखिमपूर्ण मानिएको छ । यो निष्कर्षसँगै अब नेपालगञ्जदेखि दैनिक उपभोग्य सामान खरिद तथा अन्य कामका लागि भारतीय बजार रुपैडिहा जाने र भारतबाट नेपालतर्फ आउने नागरिकको स्वास्थ्य जाँच अनिवार्य गरिनेछ । स्वास्थ्य जाँचबिना उनीहरुलाई नेपाल–भारत प्रवेशमा पूर्णरुपमा रोक लगाइनेछ । नेपालबाट जानेलाई भारतमा र भारतबाट आउनेलाई नेपालमा अनिवार्य स्वास्थ्य जाँच गरिनेछ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि दुवै देशबीच गहन छलफल भएको भन्दै प्रहरी उपरीक्षक ओलीले भन्नुभयो, “यसअघि नेपालतर्फ राखिएको हेल्प डेस्कभन्दा पर दशगजा नजिकबाटै नेपाल प्रवेश गर्ने जो–कोहीको लाइन लगाएर स्वास्थ्य जाँच गरिनेछ ।” दुवै देशबीच भएको अनौपचारिक छलफलमा भारतबाट नेपाल आउनेलाई नेपालले र नेपालबाट भारत जानेलाई भारतले एक–एक गरेर कडाइका साथ स्वास्थ्य जाँच गरिनेछ ।“यस विषयमा दुई देशबीच प्रभावकारी समन्वय गरी अघि बढ्ने सहमति भएको छ”, प्रहरी उपरीक्षक ओलीले भने । प्रजिअ खड्काले स्वास्थ्य जाँचमा कोही नछुटुन्, सबैको अनिवार्य लाइन लगाएर स्वास्थ्य जाँच गर्न भन्दै जमुनाहामा निर्देशन दिइएको बताए । उनले भारतीय अधिकारीले नाकामा अनावश्यक भीडभाड कम गराउन सुझाव दिएको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा अत्यावश्यक कामबाहेक अनावश्यक भीडभाड कम गर्न नागरिकलाई आग्रह गरेको बताउनुभयो । बहराइचका डीएम शम्भुकुमारले नेपाल–भारत सीमा बन्द नहुने स्पष्ट पार्दै तेस्रो मुलुकबाट नेपाल जानेलाई बन्द गरिएको प्रष्ट पारे । त्यस्तै नेपाल–भारत मैत्रीपूर्ण बस बन्द गरिने भएको छ । योसँगै नेपालगञ्ज नाका भएर नेपालगञ्ज–दिल्ली, नेपालगञ्ज–हिमाञ्चल, दाङ–दिल्ली सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारी साधन जान र आउन नपाउने भएका छन् । यसअघि नै सरोकारवाला निकायले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै नेपाली नागरिकलाई अत्यावश्यक कामबाहेक भारत नजान आग्रह गरिसकेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि दुबै देशका सीमावर्ती अधिकारीले समन्वय र सहकार्यका अघि बढ्नेमा एकमत भएका छन् । रासस

महेशपुर भन्सारद्वारा नौ लाखको अवैध कपडा बरामद

परासी । सीमावर्ती भारतीय बजारबाट भन्सार छली नेपाल भित्र्याइएको ठूलो परिमाणको अवैध कपडा पश्चिम नवलपरासीस्थित महेशपुर भन्सार कार्यालयले बरामद गरेको छ । जिल्लाको विभिन्न स्थानबाट करिब रु नौ लाखको अवैध लत्ताकपडा बरामद गरिएको भन्सार कार्यालयले जनाएको छ । रातीको समयमा अवैध रूपमा कपडा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा भन्सारबाट खटिएको टोलीले रामग्राम नगरपालिकाका विभिन्न स्थानबाट उक्त कपडा बरामद गरिएको महेशपुर भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माले राससलाई जानकारी दिए । “रामग्राम–७ उजैनी, रामग्राम–४ जीतपुर, पाल्ही क्याम्पस सडकलगायतका स्थानबाट एकैपटक उक्त कपडा बरामद गरिएको छ”, उहाँले भन्नुभयो, “म आफैं पनि खटिएर ठूलो मात्राको उक्त सामान बरामद गर्न सफल भइयो, कपडा र तस्करले प्रयोग गरेका दुई मोटरसाइकल पनि बरामद गरिएको छ, तस्करी नियन्त्रणका लागि हामी निरन्तर लागिरहेका छौँ ।” कपडा र मोटरसाइकल बरामद भए पनि तस्करहरु भने भाग्न सफल भएको भन्सार कार्यालयले जनाएको छ । यहाँबाट भारतबाट लत्ताकपडा, जुत्ताचप्पल, खाद्यान्न बढी मात्रामा तस्करी हुने गरेको छ भने कालो मरिच, मटर, केराउ, सुपारीलगायतको चोरी निकासी बढ्दो छ । जिल्लाको भुजहवा र विष्णुपुरा छोटी भन्सारबाट बढी मात्रामा चोरी निकासी पैठारी हुने गरेको महेशपुर भन्सारले जनाएको छ । महेशपुर मूल भन्सारको पश्चिमतर्फ रहेको भारतको खुला सिमानासँग जोडिएका नेपालको गोपालपुर, मुडेरा, गेरमी, विष्णुपुरा, रगरगञ्ज, सनई पडरी हुँदै सदरमुकाम परासीसम्मको बाटो तस्करले बढी प्रयोग गर्ने गरेको बताइन्छ । यसैगरी, महेशपुर भन्सारकै पूर्वतर्फ रहेको भारतको खुला सीमासँग जोडिएको नेपालको रमपुरवा, भुजहवा, हर्सपुरा, बसहिया, गुठीप्रसौनी, बलीनगर, रतनगञ्ज, सुस्ता, त्रिवेणीसम्मबाट पूर्वपश्चिम राजमार्गअन्तर्गतको बर्दघाट, भूमही, चिसापानी, भूताहा, बासालगायतका स्थानमा ल्याउने र यस क्षेत्रमा चल्ने सवारी प्रयोग गरी बुटवल, नारायणगढलगायतका शहरमा तस्करहरुले मालवस्तु पठाउने गरेको स्थानीयवासी बताउँछन् । चोरी निकासी पैठारी नियन्त्रणका लागि सुराकी परिचालन, एकल गस्ती, संयुक्त गस्ती, सम्बन्धित क्षेत्रका छोटी भन्सारको सक्रियता, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग समन्वय एवं सहकार्य गर्दै आएको भन्सार प्रमुख शर्माले बताएका छन् । रासस