विकासन्युज

एकैदिन हजार रुपैयाँले बढ्यो सुन, प्रतिताेला ७६ हजार ५ सयमा कारोबार

काठमाडौं । बुधबार सुन प्रतितोला एकै दिन हजार रुपैयाँले बढेको छ । गत मंगलबार प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बढेर ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । साताको तेस्रो दिन/मंगलबार ७५ हजार २ सय रुपैयाँमा बिक्री भएको तेजावी सुन बुधबार ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी भने सोही मूल्यमा अर्थात ७ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।

कृषि विकास बैंक र काठमाडौ महानगरपालिकाबीच माइतीघर मण्डला संरक्षणसम्बन्धी सम्झौता

काठमाडौं । कृषि विकास बैंक र काठमाडौ महानगरपालिकाबीच माइतीघर मण्डला सुधारका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बैंकका कामु उपमहाप्रबन्धक धु्रवचन्द्र गौतम र काठमाडौ महानगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार मण्डलामा बगैचा निर्माण गर्ने, वृक्षारोपण गर्ने, मौसम अनुसारका फूलका वोट एवं विरुवाहरु लगाउने, मर्मत संम्भार गर्ने हेरचाह, रेखदेख गर्ने तथा सौन्र्दयीकरण गर्ने कार्य बैंकले गर्ने छ । सम्भौता अवधी ५ वर्षको हुनेछ ,यस अघि पनि बैंकले मण्डलाको संरक्षण तथा सौन्र्दयताका लागि उल्लेखनीय कार्यहरु गर्दै आएको थिया

कालोबाजारी गर्नेलाई चोक-चोकमा ल्याएर सबैले चिन्ने गरी कारबाही गरौं: उद्योग सभापति

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले सामान अभावको समयमा कालोबजारी गर्नेहरुलाई चोक चोकमा ल्याएर सबैले चिन्ने गरी कारबाही गर्न सरकरालाई निर्देशन दिएका छन् । उनले उद्योगमन्त्री लेखराज भटट्लाई अगाडि राखेर कोरोनाको त्रासकाे समयलाई माैका छोपी कालोबजारी बढेकाले त्यस्ता कालोबजारी गर्नेहरुलाई सार्वजनिक स्थल वा चोक-चोकमा ल्याएर सामाजिक कारबाही गर्नुपर्ने बताएका हुन् । ‘पछिल्लो समय कालोबजारी बढदै गएको छ, प्रत्येक महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रत्येक वडामा अनुगमन गरी कालोबजारी गर्नेहरुलाई सबैले चिन्ने गरेर कार्वाही हुने पर्छ’ श्रीवास्तवले भने । उद्योग मन्त्रालयले कोरोना भाइरस संक्रमणको त्रासको समयमा कृत्रिम अभाव सिर्जना गरी कालाबजारी र अत्याधिक मूल्य असुली नगर्न ब्यवसायीलाई आग्रह गर्दै आएकाे छ । मन्त्रालयले त्रासको समयमा हुने कृत्रिम अभाव, कालाेबजारी, अत्याधिक मूल्य असुली, गुणस्तरहीन वस्तुको बिक्री नगर्न र नगराउन व्यवसायीलाई आग्रह गरेको गरिरहेकाे छ। कृत्रिम अभाव देखाउने व्यापारीमाथि कारबाही गर्ने चेतावनी सरकारी प्रशासनबाट आइरहे पनि उपभोक्ता भने ठोस कदमको पर्खाइमा छन् । सरकारको अनुगमन गर्ने निकाय वाणिज्य विभागले प्रत्येक दिन दुई–चार अनुगमन टोली नखटाएको होइन । तर, प्रत्येक टोलमा फैलिएको कृत्रिम अभावको जालो तोड्न केही संख्याका प्रतिनिधि पर्याप्त छैनन् । बजारमा भइरहेकाे कृतिम अभावलाई रोक्नका लागि  गाउँ, नगरपालिका र प्रदेश स्तरसम्म जनप्रतिनिधि र कर्मचारीको अनुगमन टोली निर्माण गर्नु पर्ने आवश्यक छ ।

कालोबजारी रोक्न सांसद बस्नेतको आग्रह

भक्तपुर । प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले तत्काल कालोबजारी रोक्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । विश्वमा कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको बेलामा नेपालमा बढ्दो त्रासको मौका पारेर व्यापारीले कालोबजारी गरेको गुनासो चौतर्फी आएपछि जिल्ला प्रशासन कार्यालयदेखि स्थानीय तहसम्मलाई कालोबजारी नियन्त्रण गर्न उनले आग्रह गरेका हुन् । जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरमा मङ्गलबार भएको छलफलमा सांसद बस्नेतले जिल्लाका चारवटै नगरपालिकामा तत्काल विपद व्यवस्थापन समितिको बैठक राखेर कारोनाको सम्भावित विपद्को पूर्वतयारी गर्नुपर्नेमा जोड दिए । यसका लागि स्थानीय तह, स्वास्थ्यकर्मी, सञ्चारक्षेत्र, सुरक्षाकर्मी, स्वयंसेवकलगायत सबैको सक्रियता आवश्यक रहेको उनले बताए । वाग्मती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले अहिले देशमा कालोबजारी बढेको बताउँदै सामाजिक सञ्जाल र फेसबुकमार्फत गलत सूचना सम्प्रेषण गर्दै आतङ्क फैलिएकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिए । चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले विपद व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारी नै सक्रिय हुनुपर्ने बताएका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति मनोज थापाले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि ५० हजार जनचेतनामूलक पर्चा वितरण गरिएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले कोरोना नियन्त्रणका सम्बन्धमा सञ्चार क्षेत्रले जोखिम मोलेरै भए पनि समन्वय, खबरदारी र सचेतीकरणको भूमिका निर्वाह गरिरहेको बताए । छलफलमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सम्भावित विपद्को पूर्वतयारीका लागि जिल्लामा सबै तहले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउँदै तीन दिनभित्र प्रतिकार्य योजना तयार पार्ने उल्लेख गरे । सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, नेपाली सेनाको वीरदल गणका गणपति महासेनानी (कर्णेल) शिवप्रसाद पौडेल, भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमलगायतले जोखिम न्यून गर्ने कार्ययोजना बनाउनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । रासस

एउटै विद्यालयमा ३१ अक्षयकोष स्थापना

गलकोट । बागलुङ नगरपालिका–९ स्थित सिगाना माध्यामिक विद्यालय तित्याङमा ३१ अक्षयकोष स्थापना भएका छन् । विद्यालयको समग्र शैक्षिक उन्नयनका लागि ३१ शिक्षाप्रेमी तथा शुभेच्छुकले रु १५ लाख १७ हजार बराबरको अक्षयकोष स्थापना गरेका हुन् । बागलुङ नगरपालिकाभित्र यती धेरै सङ्ख्यामा अक्षयकोष स्थापना गर्ने सो विद्यालय पहिलो बनेको छ । विद्यालयको समग्र शैक्षिक गुणस्तरमाथि उठाउन, विद्यालयलाई राम्रोसँग सञ्चालन गर्न र विभिन्न छात्रवृत्ति प्रदान गर्नका लागि विभिन्न व्यक्तिले अक्षयकोष स्थापना गरी सहयोग गरेको सो विद्यालयका प्रधानाध्यापक गोपालकुमार शर्माले जानकारी दिएका छन् । शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि गरिब, विपन्न, जेहेन्दार विद्यार्थीलाई प्रोत्साहित गर्न जरुरी भएको र त्यसका लागि कोषले महत्वपूर्ण भूमिका खेलेको शर्माको भनाइ छ । “आर्थिक समस्याकै कारण कतिपय विद्यार्थीलाई कापी, कलम, पोशाक जुटाउन पनि समस्या छ”, उनले भने, “विद्यालयमा स्थापना गरिएका अक्षयकोषले कयौँ विद्यार्थीको अध्ययनमा सहयोग पुर्याएको छ ।” प्रधानाध्यापक शर्माका अनुसार अक्षयकोषले विद्यार्थीलाई आर्थिक सहयोगसमेत गर्दै आएको छ । यसले विद्यार्थीलाई अध्ययन गर्न ठूलो सहयोग पुग्नेछ । विद्यालयमा शिक्षाप्रेमी, शुभेच्छुकबाट स्थापना गरिएको अक्षयकोष रकम गरिब, विपन्न, जेहेन्दार विद्यार्थीको पठनपाठनमा खर्च गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । विभिन्न समय र सन्दर्भ पारेर अक्षयकोषको ब्याज रकमबाट गरिब, जेहेन्दार तथा विपन्न विद्यार्थीको शिक्षामा विद्यालयले सहयोग गर्ने क्रम बढेपछि विद्यार्थी र अभिभावक पनि उत्साहित देखिएका छन् । अध्यक्ष खड्काका अनुसार, विद्यालयमा रु तीन हजारदेखि दुई लाख २२ हजारसम्मका अक्षयकोष स्थापना भएका छन् । विद्यालयलको शैक्षिक विकासका लागि स्वतस्र्फूत रूपमा पूर्वशिक्षक, समाजसेवी, शिक्षाप्रेमीलगायतले अक्षयकोष स्थापना गरी विद्यालयलाई सहयोग गरिएको छ । भौतिक पूर्वाधारमा सम्पन्न देखिने यस विद्यालयमा बालकक्षादेखि कक्षा १२ सम्म अध्ययन, अध्यापन भइरहेको छ । पछिल्लो समय यहाँका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधि शिक्षाको गुणस्तर सुधारमा सक्रिय छन् । विसं २०११ मा स्थापना भएको विद्यालयमा विसं २०४५ देखि हालसम्म ३१ अक्षयकोष स्थापना भएका हुन् । विद्यालयमा कूल ३२० विद्यार्थी अध्ययनरत छन् । रासस

पेट्रोलियम पदार्थको सहज उपलब्धताः अनावश्यक हल्लाको पछि नलाग्न उपभोक्तालाई आग्रह

विराटनगर । पेट्रोलियम डिलर्स एशोसिएशन कोशी विराटनगरले अनावश्यक हल्लाको पछि नलागी पेट्रोलियम पदार्थको अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड–१९) प्रति आम उपभोक्ता सशंकित हुँदै नेपाल–भारत सीमाना बन्द हुने आधारहीन खबरका आधारमा चाहिनेभन्दा बढी पेट्रोलियम पदार्थ भण्डारण गरी समग्र बजारलाई प्रभावित नगर्न एशोसिएशनले मङ्गलबार एक विज्ञप्ति प्रकाशित गरी सबैमा अनुरोध गरेको छ । विज्ञप्तिमा भनिएको छ’, “प्रदेश नं १ का लागि भारतको बरौनी डिपो (जोगवनी नाका), सिलगुडी डिपो (काँकडभिट्टा नाका) र अमलेखगञ्ज बाराबाट पेट्रोलियम पदार्थ सहजरूपमा आपूर्ति भइरहेको छ ।” भारतीय सीमानाकाबाट सहज रूपमा पेट्रोलियम पदार्थको आपूर्ति भइरहेको र पेट्रोलियम पदार्थ नियमितरूपमा वितरण भइरहेको उल्लेख गर्दै विज्ञप्तिमा आधारहीन हल्लाका पछि नलागी आवश्यक मात्राको पेट्रोलियम खरिद गर्न उपभोक्तासँग अनुरोध गरिएको छ । यस क्षेत्रमा कार्यरत पेट्रोलियम व्यवसायी सम्पूर्ण उपभोक्ता वर्गको सेवाप्रति सदैव समर्पित रहँदै आएको हुँदा अहिले पनि पेट्रोलियम पदार्थको बिक्रीवितरण विगतझँै सहज रूपमा हुने विज्ञप्तिमा जनाएको छ । रासस

३५ करोड लगानीमा सौराहामा बन्ने भयो सिटीहल

भरतपुर । चितवनको पर्यटकीय नगरी सौराहामा सिटीहल बन्ने भएको छ । रु ३५ करोड २२ लाख ७० हजारको लागतमा एक हजार क्षमताको सिटीहल निर्माण हुने सङ्घीय शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले जानकारी दिएका छन् । उनले एउटा एक हजार क्षमताको ठूलो सिटीहलसँगै ५० जना अट्ने अर्को भवनसहित मिटिङहलसमेत निर्माण हुने बताएका छन् । रेलिगेर कन्स्ट्रक्शन प्रालि ललितपुरले निर्माणको जिम्मा पाएको छ । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागमार्फत बन्न लागेको सो हलको मङ्गलबार पूर्वअर्थमन्त्री तथा चितवन क्षेत्र नं १ का सांसद सुरेन्द्र पाण्डेले शिलान्यास गर्दै सिटीहल निर्माणपछि सौराहाको पर्यटनले गति लिने बताए । सिटीहलले यहाँको सामाजिक तथा आर्थिक विकाससँगै सौराहाको पर्यटनलाई थप टेवा पु¥याउने उहाँले विश्वास व्यक्त गरेका छन् । रत्ननगर नगरपालिकाले अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याएको ठाउँमा सरकारले सिटीहल निर्माण शुरु गरेको हो । कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, रत्ननगर नगरपालिका प्रमुख नारायण, उपप्रमुख विमला दुवाडी, वडा नं ७ का वडाध्यक्ष राजन भट्ट, नेकपाका नगर अध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरेलगायतले मन्तव्य राखेका थिए । रासस

राष्ट्र बैंकमा चिन्तामणिका ३२ वर्षः अफिसमै ‘नजरबन्द’देखि खुल्लामञ्चमा जुत्ता पसलसम्म

काठमाडौं । २०४४ साल चैत ६ गते नेपाल राष्ट्र बैंकको जागिर सुरु गरेका चिन्तामणि शिवाकोटीको सेवा अवधि ३२ पुगेको छ । यो बीचमा हुने जागिर जीवनको असाध्यै धेरै उतारचढावको सामना गरे । शिवाकोटी विद्यार्थीकालदेखि नै कम्युनिष्ट राजनीतिसँग नजिक थिए । २०४६ सालमा प्रजातन्त्र पुनस्थापना भएपछि २०४८ सालमा आमनिर्वाचन भयो । सो निर्वाचनमा नेपाली काँग्रेसले सुविधाजनक बहुमतसहित सरकार बनायो । सरकारको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरे । कोइराला सरकार विरुद्ध तत्कालिन नेकपा एमाले निकट कर्मचारी आन्दोलित भए । सो आन्दोलनमा एमाले निकटसहित अन्य बामपन्थी विचारधारा निकट कर्मचारी पनि सहभागी थिए । यही सन्दर्भमा नेपाल राष्ट्र बैंकका कर्मचारी पनि आन्दोलित भए । कर्मचारी संघले नेपाल राष्ट्र बैंक व्यवस्थापनसँग केही माग राखेको थियो । तर, राष्ट्र बैंकले कर्मचारीका सबै माग पूरा गरिदियो । आफूहरुका माग पूरा भएपनि निजामती कर्मचारी आन्दोलित भइरहेकोले आन्दोलनमा ऐक्यबद्धता जनाउनु पर्ने परिस्थिति रहेको संघका तत्कालिन अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री बताउँछन् । ‘हामीले राखेका सबै माग व्यवस्थापनले पूरा गरेपछि हामीले थप आन्दोलन गरिरनु पर्ने औचित्य नै बाँकी रहेको थिएन, तर निजामती कर्मचारी आन्दोलन रोकिएको थिएन, सो आन्दोलनमा ऐक्यबद्धता जनाउन हामी खोजिरहेका थियौं,’ नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर समेत रहेका संघका तत्कालिन अध्यक्ष क्षेत्रीले विकासन्युजसँग भने । निजामती कर्मचारीले आन्दोलनकै क्रममा भद्रकालीमा रिले अनसन गरे । सो अनसनमा नेपाल राष्ट्र बैंकका कर्मचारी पनि सहभागी भए । राष्ट्र बैंकबाट कर्मचारीको नेतृत्व संघका तत्कालिन अध्यक्ष क्षेत्री आए । युनियनका अन्य १५ जना सदस्य तथा पदाधिकारी पनि अनसनमा सहभागी भए । शिवाकोटी संघको सहसचिव थिए । आफूहरुले सबै माग पूरा गर्दा पनि कर्मचारीले आन्दोलन गरेको भन्दै राष्ट्र बैंक व्यवस्थापन रुष्ट भयो । अनि आन्दोलनमा सहभागी भएका कर्मचारीलाई सुर्खेत, जनकपुर जस्ता स्थानमा सरुवा गरियो । त्यो बेला राष्ट्र बैंक कर्मचारी नियमावलीमा युनियनका पदाधिकारीलाई सरुवा गर्न नपाइने व्यवस्था थियो । तर, व्यवस्थापनले सरुवा गरिदिएको थियो । यस्तैमा युनियनले तत्कालिन डेपुटी गभर्नर अच्युत प्रसाद पौडेलसँग युनियनका पदाधिकारीलाई सरुवा गर्न नपाइने नियम विपरित किन सरुवा गरियो भन्दै गम्भीर छलफल गरे । ‘युनियनका पदाधिकारीलाई सरुवा गरिएको निर्णय आएपछि यो निर्णय नियमविपरित भयो भनेर हामीले राती ९ बजेसम्म उहाँकै कार्यकक्षमा बसेर डेपुटी गभर्नर अच्यूत प्रसाद पौडेलसँग छलफल गर्यौं, उहाँले यो निर्णय भोलि सच्याउँछौं भन्नुभयो,’ तत्कालिन अध्यक्ष क्षेत्रीले भने । यसरी अबेर रातिसम्म छलफल भएपछि कर्मचारीलाई घर जाने सवारी साधन पाउन गार्यो भयो । डेपुटी गभर्नर पौडेल गौशाला नजिक बस्थे । त्यसैले उनले त्यतातिर जाने कर्मचारीलाई आफ्नै गाडीमा हालेर लगे । अन्यत्र जाने कर्मचारीलाई राष्ट्र बैंकको गाडीले घर पठाइयो । तर, कर्मचारीसँग छलफलमा बसेका कर्मचारीले उनलाई घेराउ गरेर बन्दक बनाए, अनि हाइज्याक गरे भन्ने सन्देश सरकारी अधिकारी समक्ष पुगेछ । अनि पौडेललाई राति नै अर्थमन्त्रालयमा बोलाइयो । छलफलमा सहभागी कर्मचारीलाई डेपुटी गभर्नरलाई हाइज्याक गरेको तथा ढुकुटीमा हातपात गरेर असुरक्षा पुर्याएको अभियोगमा कारबाही थालियो । अन्य १५ जना कर्मचारीसँग शिवाकोटी पनि निलम्बनमा परे । करिब १५ दिनपछि शिवाकोटीसहित केही कर्मचारीको निलम्बन फुकुवा भयो । तर, कारबाही फुकुवा भएपनि शिवाकोटीलाई राष्ट्र बैंकको पुरानो भवनको ३ तलामाथि एउटा कोठामा एक्लै, पत्रपत्रिका पढ्न नपाउने, अफिसकै कर्मचारी वा अन्य आगन्तुकले पनि भेट्न नपाउने, टेलिफोन प्रयोग गर्न नपाउने गरी राखियो । ‘कोरोना भाइरस लागेको व्यक्तिलाई अहिले जसरी राख्ने भनिएको छ, त्यतिबेला शिवाकोटीजीलाई पनि त्यसरी नै राखिएको थियो,’ क्षेत्रीले भने । तत्कालिन अध्यक्ष क्षेत्रसहित उपाध्यक्ष प्रेम पाण्डे, कोषाध्यक्ष, सदस्यहरु गरी ११ जनालाई राष्ट्र बैंकको जागिरबाट निकालियो । यसरी जागिर जानेहरुमा राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका नेपाल बैंक संचालक समितिका अहिलेका अध्यक्ष बासुदेव अधिकारी पनि थिए । कल्याणबन्धु अर्यालको पनि जागिर गयो । नागरिक लगानी कोषको अहिलेका कार्यकारी निर्देशक रमण नेपालको पनि जागिर गएको थियो । ढुकुटी लुट्न लागेको अभियोग लागेका क्षेत्री नेपाल राष्ट्र बैंकको गभर्नर भइसकेका छन् । ढुकुटी लुट्न लागेको अभियोग लागेका शिवाकोटी अहिले पनि राष्ट्र बैंकको बरिष्ठ डेपुटी गभर्नर छन् भने आगामी गभर्नरको लागि बलियो प्रत्यासी हुन् । शिवाकोटीलाई कोरोना भाइरस सक्रमितलाई आइसोलेसन वार्डमा राखिए जसरी करिब १५ दिन राखिएको थियो । उनलाई यसरी राखिएको विरोधमा कर्मचारी संघ नाराबाजी गर्ने गथ्र्याे भने अन्य कर्मचारीले पनि विरोध गरे । र, शिवाकोटीमाथिको कारबाही केही खुकुलो भएको थियो । तर, उनलाई काम गर्ने वातावरण दिइएको थिएन । मानसिक तनाब दिएर राखिएको थियो । शिवाकोटीको जागिर थामिए पनि क्षेत्रीलगायत ११ जनाको जागिर गएको थियो । जागिर जानेहरुले सर्वाेच्चमा मुद्दा दायर गरे । र, ‘भ्रष्टाचारीको गुणगान गाउनुभन्दा जनताको खुट्टा समाउनु बेस’ भन्दै सो समुहले खुल्लामञ्चमा जुत्ता पसल सुरु गर्यो । राष्ट्र बैंक व्यवस्थापनले कारबाही गरेका कर्मचारीहरुले संयुक्त लगानी गरेर सो जुत्ता पसल संचालन गरिएको थियो । अफिस समय सकिएपछि चिन्तामणि शिवाकोटी, राष्ट्र बैंकमै अझै कार्यरत राजेन्द्र रिमालहरु सो जुत्ता पसलमा जुत्ता बेच्न आउने गर्थे । रिमाललाई पनि व्यवस्थापनले निकै दुःख दिएको थियो । सो पसलको नाम ‘राष्ट्र बैंकबाट अन्यायपूर्ण रुपमा निकालिएका कर्मचारीहरुको दुकान’ नाम दिइएको थियो । सो दुकानको नाममा राजनीति गरिएको भन्दै प्रहरी प्रशासनले दुःख दिएको क्षेत्री सम्झन्छन् । कर्मचारीमाथि २०४९ सालको साउनमा कारबाही गरिएको थियो । भदौमा पसल सुरु गरिएको थियो । पसल राख्न ५ वटा जति फलमको डण्डी भोटाहिटीबाट ल्याउनु पर्ने र बेलुका फेरि त्यही लगेर लानु पथ्र्याे । जाडोको समयमा फलामको डण्डी बोकेर हिड्नुपर्ने, दिनभरी धुवा धुलो भएको ठाउँमा बस्नुपर्ने भएको कारण सबै कर्मचारी विरामी पर्न थाले । अनि पसल बन्द गरियो । अनि फेरि के गर्ने भन्ने समस्या आयो । केही कर्मचारीले फाइनान्स कम्पनी खोल्ने विकल्प सुझाए । तर, राष्ट्र बैंकले नै जागिरबाट निकालिएका कर्मचारीलाई राष्ट्र बैंकले नै लाइसेन्स दिएर फाइनान्स कम्पनी संचालन गर्न दिदैन भन्ने तर्क आयो । त्यो योजना पनि गर्भमै तुहियो । अनि कर्मचारीले आफूहरुको व्यानर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुर्याउने भन्दै बससेवा संचालन गर्ने योजना योजना बन्यो । अनि नेपाल बैंकबाट ऋण लिएर पूर्व पश्चिम चल्ने बससेवा सुरु भयो । कर्मचारीले २ वटाबाट सुरु गरेको बस ५ वटासम्म पुगिसकेको थियो । बसमा कर्मचारीको पनि सेयर लगानी थियो । शिवाकोटी पनि सेयरधनी थिए । बस सेवा संचालन गर्ने कम्पनीको नाम ‘स्वाभिमान परिवन सेवा’ थियो । कम्पनी दर्ता नै गरिएको थियो । तर, दुर्भाग्य सो वर्ष सबैभन्दा पहिला उनीहरुले संचालन गरेको बस नै त्रिसुलीमा खस्ने बस भयो । सो वसमा रहेका राष्ट्र बैंकका कर्मचारी बद्री अधिकारीको सो घटनामा निधन भयो । अधिकारी बसको कन्डक्टर थिए । त्यही वर्ष २ दिन अगाडि थाइ इन्टरनेसनलको जहाज ललितपुरको घोप्टेभीमा ठोकियो । त्यो बेलाका डेपुटी गभर्नर हिरन्यलाल बज्राचार्य पनि बैंककबाट काठमाडौं फर्कदै थिए । उनी पनि सोही जहाजमा थिए कि भन्ने हल्ला फैलियो । के भएछ भनेर बुझ्न बीरगञ्जबाट काठमाडौंमा आउँदा अधिकारीको निधन भएको थियो । तर, डेपुटी गभर्नर बज्राचार्य सो जहाजमा आएका थिएनन् । पछि बसमा बेइमानी हुन थाल्यो । सबै ठाउँमा कर्मचारी बस्न सकेनन् । अनि कर्मचारीहरु ड्राइभरको नजिक क्याविनमा बस्न थाले । अनि बसका ड्राइभरले सो बस जथाभावी ठोक्न थाले । अनि ज्यान बचाउन भन्दै कर्मचारीहरुले संचालन गरेको बस सेवा बन्द भयो । पछि क्षेत्रीसहित सबैले सफाइ पाए । उनीहरुको जागिर जोडियो । यसरी अन्यायपूर्वक जागिरबाट निकालिएका क्षेत्री, रमण नेपाल, बासु अधिकारीसहित सबैको जागिर पुनस्थापना भयो । यसमध्ये क्षेत्री नेपाल राष्ट्र बैंकको गभर्नर भइसकेका छन् भने सो सबै प्रकरणमा सहभागी भएका चिन्तामणि शिवाकोटी अहिले बरिष्ठ डेपुटी गभर्नर छन् । र, ५ चैतदेखि खाली हुने आगामी कार्यकालको गभर्नरको लागि बलियो प्रत्यासी बनेका छन् ।