कालोबजारी रोक्न सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने
काठमाडौं । सरकारले नागरिकहरुका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण बजारमा दैनिक उपभोग्य सामानको अभाव देखिन थालेपछि सरकार आफैले सो काम गर्ने भएकाे हाे । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा भइरहेकाे कालाेबजारी राेक्न सरकारले सुपथ मूल्यका दैनिक उपभाेग्य सामानकाे पसल सञ्चालन गर्ने बताएका हुन् । मंगलबारको उद्योग वाणिज्य तथा आपूर्ति समितिको बैठकमा मन्त्री भट्टले विभिन्न ठाउँमा दैनिक उपभोग्य सामानको सहज आपुर्तिका लागि सुपथ मूल्यका पसल सुरु गर्ने बताएका हुन् । ‘बजारमा दैनिक उपभोग्य सामानको कृतिम अभाव छ, यसको अनुगमन तथा निगरानी हामी गरिरहेका छौं, तथापी नागरिकको सहजताको लागि सरकारले आफै सुपथ मूल्यका पसल खोल्ने कदम गरेको हाे’, उनले भने । बैठकमा समितिले बजारमा दैनिक उपभोग्य समानमा भइरहेको कालोबजारी रोक्न, आपूर्ति ब्यवस्थालाई सहज बनाउन र प्रभावकारी अनुगमन मार्फत गूणस्तरीयता कायम गर्न सरकारी निकायलाई निर्देशन दिएको छ । कोरोना भाइरसको महामारी फैलिएको भन्दै र बजारमा दैनिक उपभोग्य सामान अभाव भएको भन्दै व्यवसायीले सामानमा कालोबजारी गरिरहेका छन् । नागरिकले पनि पछि कतै दैनिक उपभोग्य समान नपाइने होकि भन्ने मनासायले वस्तुको भण्डारण गर्न थालेका छन् ।
सेञ्चुरी बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा १० प्रतिशत छुट
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका सेवामा १० प्रतिशत छुट पाउने भएका छन् । । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक, कार्यसमिति सदस्य, बैंकका कर्मचारी तथा उनका परिवारहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रबन्धक – कार्डस र ट्रान्जेक्सन बैकिङ्ग युनेस पुरी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक सेल्स एण्ड मार्केटिङ्ग प्रोप्राइटर प्रभाकर खड्काले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहक, कार्यसमिति सदस्य, बैंकका कर्मचारी तथा उनका परिवारहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
कोरोना प्रभावः मधुवनका हाटबजार १५ दिन बन्द
राजापुर । मधुवन नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारीअन्तर्गत नगरका सबै हाटबजार बन्द गर्ने भएको छ । छिमेकी मुलुकहरुमा कोरना भाइरस फैलिरहेको बेला नेपालमा पनि सो भाइरस भित्रिनसक्ने भन्दै त्यसको जोखिम न्यूनीकरणका लागि १५ दिनका लागि नगरका सबै हाटबजार बन्द गर्ने निर्णय गरेको हो । कोभिड–१९ सम्बन्धी जानकारी तथा सचेतना गराउने उद्देश्यले बर्दियाको नगरपालिकाले स्वास्थ्य सहायता कक्ष स्थापना गरिसकेको छ । नगर प्रमुख गणेशबहादुर क्षेत्रीले भाइरससम्बन्धी चेतना हरेक व्यक्ति, घर र समुदायमा हुनुपर्ने भएकाले आफूले जानेको कुरा अरुलाई सिकाउन नगरवासीसँग आग्रह गरिएको बताए । रासस
सासंद बिन्दा पाण्डेको प्रस्तावः पैसाबाट कोरोना सर्छ, डिजीटल भुक्तानीलाई प्रमोट गरौं
काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य तथा नेकपा सांसद बिन्दा पाण्डेले भुक्तानीको लागि डिजिटल प्रणालीको प्रबद्र्धन गर्नुपर्ने बताएकी छन् । बाट गर्नु पर्ने बताएकी छन् । विश्वरभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिरहेको र पैसाबाट पनि कोरोना सर्छ भन्ने सन्देश प्रवाह भएकोले नेपालमा भुक्तानी प्रणालीलाई डिजिटलाइज्ड सुवर्ण मौका भएकोले यसको प्रबद्र्धन गर्नुपर्ने उनको भनाइ छ । मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले सो प्रस्ताव गरेकी हुन् । ‘पैसाबाट पनि कोरोना सर्छ भन्ने कुरा आएको छ, क्यास प्रणाली बढी झन्जटिलो र खर्चालु छ, अब नेपालमा पनि डिजिटल भुक्तानी प्रणालीलाई प्रमोट गर्नुपर्छ,’ उनले भनिन् ।
भरतपुरमा ७० शैय्याको अस्पताल तत्काल निर्माण गर्ने
चितवन । भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा भरतपुर कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइने भएको छ । भरतपुर महानगरको अगुवाइमा आज यहाँ सम्पन्न सरोकारवालाको बैठकले ७० शैय्याको अस्पताल तत्काल निर्माण गर्ने निर्णय गरेको हो । बैठकले महानगरपालिका प्रमुख रेनु दाहाल संयोजक रहेको १५ सदस्यीय कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण पूर्व तयारीका लागि कार्यदलसमेत गठन गरेको छ । कार्यदलमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष डा. अनिलविक्रम कार्की, जिल्ला समन्वय समितिका प्रतिनिधि, जिल्लाका ठूला अस्पताल, निजी अस्पताल, उद्योग सङ्घ र उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घका प्रतिनिधि सदस्य रहेका छन् । कार्यदलको सदस्य सचिवमा वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी रहेका छन् । कार्यदलको आजै बसेको बैठकले १० श्ययाको सघन उपचार कक्ष, १० श्ययाको हाई डिपेन्डेन्ट युनिट (एचडियू) र ५० श्ययाको सामान्य श्यया ७२ घण्टाभित्र निर्माण गरिसक्ने निर्णय गरेको छ । कार्यदलका सदस्य सचिव अधिकारीका अनुसार अस्पताल सञ्चालनका लागि विभिन्न व्यक्ति र संस्थाहरुलाई कामको जिम्मेवारीसमेत दिइएको छ । अस्पतालको बहिरङ्ग सेवा डा. अधिकारी र चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष डा. अनिलविक्रम कार्कीले समन्वय गरी सञ्चालन गर्ने जिम्मेवारी बैठकले दिएको छ । यसैगरी, जनरल वार्ड बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्य, एचडियू सञ्चालन गर्न कलेज अफ मेडिकल साइन्सेस एवं निजी अस्पताल समन्वय समिति र सघन उपचार कक्षको जिम्मेवारी चितवन मेडिकल कलेजलाई दिइएको छ । जनशक्ति व्यवस्थापनका लागि भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी र आवश्यक पूर्वाधारको व्यवस्थापनका लागि भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति, उद्योग वाणिज्य सङ्घ चितवन र उद्योग सङ्घ चितवनलाई बैठकले जिम्मेवारी दिएको छ । बैठकले प्रयोगशाला र रेडियोलोजी विभाग सञ्चालन गर्न निजी अस्पताल समन्वय समितिलाई जिम्मेवारी दिएको छ । कार्यदलका प्रवक्तासमेत रहेका अधिकारीका अनुसार जिल्ला र बाहिरका अस्पताल एवं विभिन्न स्वास्थ्य परीक्षण गरिएका क्षेत्रमा भेटिएका शङ्कास्पद बिरामीलाई यस अस्पतालमा पठाइनेछ । तत्कालका लागि सरकारी र निजी अस्पतालमा रहेका आइसोलेसन कक्ष पनि सञ्चालनमा रहने छन् । महानगर प्रमुख दाहालले रोग भित्रिन नदिन उच्च सतर्कता अपनाउने काम भइरहेको भन्दै रोग फैलिहालेमा पूर्व तयारीका लागि काम थालिएको बताए । सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने भन्दै उनले एकजुट भएर काम गरेमा रोग भित्रिन नपाउने र भित्रीहालेमा क्षति बेहोर्नु नपर्ने बताए । रासस
नागरिक लगानी कोषले ल्यायो सबै नेपालीलाई पेन्सन दिने कार्यक्रम, सामाजिक सुरक्षा कोषकोभन्दा फाइदा धेरै
काठमाडौं । नागरिक लगानी कोषले सबै नेपालीलाई पेन्सन दिनेगरी नागरिक पेन्सन योजना सुरु गरेको छ । कुनै पेशा व्यवसाय वा क्षेत्रमा आवद्ध भएका र नियमित आम्दानी गर्ने नेपालीलाई लक्षित गरी नागरिक पेन्सन योजना ल्याइएको हो । कोषले ल्याएको पेन्सन योजनामा आफ्नै बन्द व्यापार गर्नेहरु पनि सहभागी हुन सक्नेछन् । जागिर गर्नेहरुलाई पनि यो योजनाले समेट्ने कोषका उपकार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेलले जानकारी दिए । नागरिक पेन्सन योजनामा सहभागी भएकाहरुले पेन्सन योजनाबाट बाहिरिन पनि पाउने सुविधा राखिएको छ । कट्टेलका अनुसार पेन्सन योजनामा सहभागी भएका नागरिकको मृत्यू भएमा उसको श्रीमान वा श्रीमतीले पूरै पेन्सन पाउने व्यवस्था गरिएको छ । यस्तै, कोषमा जम्मा भएको रकमको ८० प्रतिशतसम्म ऋण लिन पाइने, मासिक ५ सय रुपैयाँदेखि आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सकिने, बैदेशिक रोजगारीमा हुनेले पनि यो योजनामा सहभागी हुन पाइने लगायतका सुविधा छन् । यस्ता छन् योजनाका विशेषताहरु सहभागिता यस योजना अन्र्तगत आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था एवंम प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन् । बचत गर्न सकिने सीमा यस कार्यक्रममा सहभागी हुने बचतकर्ताहरुले न्यूनतम मासिक ५ सय रूपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्ने छन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक, वा वार्षिक रुपमा रकम जम्मा गर्न सकिने विशेषता समेत रहेको छ । यस्तो किस्ता बुझाउँदा मासिक ५ सय रुपैयाँभन्दा कम नहुने गरी बुझाउनु पर्नेछ । किस्ता रकम नियमित बुझाउनु पर्ने सहभागीले आफूले छनौट गरेको किस्ता अनुसारको रकम नियमित रुपमा बुझाउनु पर्नेछ । यसरी निर्धारण गरिएको किस्ता रकम समयमा दाखिला नगरेमा कोषले निर्धारण गरेको विलम्ब शुल्क तिरी किस्ता नियमित गर्न सकिने छ । योजनाबाट अलग हुने अवस्था बचतकर्ताको आय स्रोत गुमेमा वा असक्तताको कारणले आय आर्जन गर्न असक्षम भएमा वा वसाई सरी अन्य मुलुकमा गएको खण्डमा यस योजनाबाट अलग हुन सकिने छ । यसरी योजनाबाट अलग हुदा बचतकर्ताहरुले शर्त बमोजिम नियमित रुपमा बचत गरेको कम्तीमा २ वर्ष पुरा भएको हुनु पर्नेछ । यस्तो अवस्थामा बचतकर्ताको नाममा जम्मा रहेको साँवा रकम एकमुष्ठ भुक्तानी गरिनेछ । पेन्सन पाउन योग्य हुने अवस्था –पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठी वर्ष पुरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । –बचतकर्र्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ भूक्तानी लिन वा पेन्सनको रुपमा भूक्तानी लिन सक्नेछन् । –कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागी हुन सक्नेछन् । पेन्सन गणना विधि सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउनेछन् । पति वा पत्नीले पेन्सन पाउने – पेन्सन पाउन योग्य सहभागीले पेन्सन प्राप्त गर्न शुरु गरेपछि निजको मृत्यु भएमा मृतकको पति वा पत्नीलाई निजले पाइरहेको रकम वराबर नै पारिवारिक पेन्सन प्रदान गरिनेछ । तर, सहभागीसँग निजको अंशबण्डा भएको भए वा वैवाहिक सम्बन्ध कायम नरहेको अवस्थामा यो सुविधा प्रदान गरिने छैन । –बचतकर्ताको निबृतिभरण शुरु भएपछि निज र निजको श्रीमान वा श्रीमति दुबैको मृत्यु भएमा कोषमा सम्बन्धित ब्यक्तिको नाममा बॉकी रहेको बचत रकम निजहरुको कानुनी हकदारलाई प्रदान गरिनेछ । – कुनै बचतकर्ताको निबृतिभरण प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको नजिकको हकवालालाई निजले जम्मा गरेको रकम, त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ रुपमा प्रदान गरिने छ । – नेपाल सरकार वा अन्यत्रबाट पेन्सन पाइरहेको व्यक्तिले कोषमा योगदान गरी निवृत्तिभरणको लागि योग्य भएमा कोषबाट पेन्सन लिन बाधा पर्ने छैन । योजनामा रकम जम्मा गर्ने विधि – सहभागी बचतकर्ताले जम्मा गर्नु पर्ने रकम कोषले तोकेको बैंक खातामा भौचर मार्फत वा बिद्युतीय भूक्तानीमार्फत जम्मा गर्न सक्ने छन् । बचतकर्ताले बैंकमा रकम दाखिला गरेपछि सोको जानकारी कोषलाई दिनु पर्नेछ । कोषद्वारा तोकिएको खातामा रकम जम्मा नभएमा उक्त रकमप्रति कोषको कुनै दायित्व रहने छैन । –कोषमा रकम जम्मा गर्दा सम्बन्धित सहभागी बचतकर्ताको नाम र कोषले प्रदान गरेको परिचय नम्बर अनिवार्य रुपले उल्लेख गर्नु पर्ने छ । –रकम जम्मा गर्दा आफ्नो सही नाम र कोषले प्रदान गरेको परिचय नम्बर उल्लेख गर्नु पर्ने दायित्व सम्बन्धित बचतकर्ताको हुनेछ । गलत नाम वा परिचय नम्बर उल्लेख भई रकम जम्मा भएमा त्यसको जिम्मेवारी कोषले लिने छैन । कोषमा जम्मा भएको रकममा ब्याज तथा प्रतिफल दिइने – योजना अन्तर्गत कोषमा जम्मा भएको रकममा समितिले समय समयमा निर्धारण गरे अनुसार दैनिक मौज्दातको आधारमा ब्याज गणना गरी त्रैमासिक रुपमा ब्याज प्रतिफल प्रदान गरिने छ । सहभागीहरुलाई सापटी तथा अन्य सुबिधा – कोषले योजनाका सहभागी बचतकर्तालाई निजको नाममा जम्मा रहेको रकममा बढीमा ८० (असी) प्रतिशतसम्म सापटी प्रदान गर्न सकिनेछ । – जुनसुकै कारणले बचतकर्ताको मुत्यु भएमा निजको अन्तिम संस्कारको लागि निजको नजिकको आश्रित परिवार सदस्य वा हकवालालाई दश हजार रुपैयाँ एकमुष्ठ उपलब्ध गराइनेछ । – बचतकर्ताले कोषद्वारा तोकिएका प्राइभेट अस्पतालमा औषधी उपचार गर्दा लाग्ने खर्चमा छुट सुविधा प्रदान गर्न सकिने छ । – दुर्घटनामा परीे बचतकर्ता मृत्यु हुन गएमा निजको नजिकको हकवालालाई दुर्घटना वीमा बापत एक लाख रुपैयाँ प्रदान गरिने छ । सम्बन्धित सामग्री सबै नेपालीलाई पेन्सन दिने महत्त्वाकांक्षी कार्यक्रम संचालनको अन्तिम तयारीमा सीआईटी
म्याग्दीमा चौध विद्यार्थी एसइई दिनबाट वञ्चित
म्याग्दी । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीका १४ जना विद्यार्थी सहभागी हुनबाट वञ्चित भएका छन् । कक्षा ९ मा परीक्षा फारम भरेका तर तोकिएको हाजिरी नपुगेका १४ जना विद्यार्थी एसइईमा सहभागी हुनबाट वञ्चित भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । नौ जना छात्रा र पाँचजना छात्र एसइई परीक्षामा सहभागी हुनका लागि अयोग्य पहिचान भएका एकाइका प्रमुख दलबहादुर थापाले बताए । एसइईमा सहभागी हुन कक्षामा ७५ प्रतिशत हाजिर भएको हुनुपर्ने नियम छ । गतवर्ष हाजिरी नपुगेर एसइईमा सहभागी हुन अयोग्य भएका विद्यार्थी सङ्ख्या ३१ जना थियो । विवाह, वैदेशिक रोजगार, पारिवारिक र आर्थिक कारणले पढाइलाई निरन्तरता दिन तथा नियमित विद्यालय आउन नसकेका कारण उनीहरु एसइई परीक्षामा सहभागी हुनबाट वञ्चित भएका हुन् । यसवर्ष म्याग्दीका एक हजार ११० जना छात्रा र एक हजार ८७ जना छात्र गरी कूल दुई हजार १९७ जना विद्यार्थी एसइईमा सहभागी हुने भएका छन् । एक वटा खुल्ला विद्यालयसहित ७१ वटा विद्यालयका विद्यार्थी सहभागी हुँदैछन् । हेम मावि शिवाङ, जनप्रिय मावि दरवाङ, मङ्गला मावि बाबियाचौर, धवलागिरि मावि सिङ्गा, बेनी सामुदायिक मावि, प्रकाश मावि, न्यु वेष्ट पोइन्ट आवासीय मावि, मुक्तिधाम मावि र मुक्तिमार्ग माविमा परीक्षा केन्द्र तोकिएको छ । बेनी सामुदायिक मावि र न्यु वेष्ट आवासीय माविबाहेकका विद्यालयमा सम्बन्धित विद्यालयका प्रअलाई नै केन्द्राध्यक्ष तोकिएको छ । परीक्षा केन्द्राध्यक्ष नियुक्त गरेर उत्तरपुस्तिका पठाइसकिएको र प्रश्नपत्र पनि आजसम्म परीक्षा केन्द्रमा पुर्याउने तयारी छ । यसैगरी रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटको ज्ञानोदय माविको दृष्टिबिहीन स्रोत कक्षाका प्रेम विश्वकर्मा मुक्तिधाम मावि भगवती केन्द्रबाट परीक्षामा सहभागी हुँदैछन् । साधारणतर्फ चैत ६ देखि १४ गतेसम्म र प्राविधिकतर्फको १७ गतेसम्म एसइई परीक्षा सञ्चालन हुदैछ । रासस
शाओमीको नयाँ आधिकारीक सर्भिस सेन्टर पोखरामा शुरु
काठमाडौं । शाओमी ग्लोबल टेक्नोलोजीले पोखरामा नयाँ आधिकारीक सर्भिस सेन्टर शुरु गरेको छ । लिडरले मंगलबार आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको हो । पोखराको महेन्द्रपुलमा अवस्थित कम्पनीको गण्डकी प्रदेशको पहिलो सर्भिस सेन्टर र नेपालभरमा कम्पनीको पाँचौं सर्भिस सेन्टर हो जुन शाओमीले आठ महिनाको अवधिमा संचालनमा ल्याएको छ । अन्य सर्भिस सेन्टरहरु काठमाडौं, नारायणघाट, नेपालगन्ज र इटहरीमा अवस्थीत छन् । ब्राण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको छ र नेपालमा आफ्टर सेल्स् सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको छ । प्रत्येक सर्भिस सेन्टर ४०० वर्ग फिटमा फैलिएको छ जहाँ टेक्निशियन र प्रोफेशनलहरुको समर्पित टोलीले प्रयोगकर्ताहरुलाई छिटो समस्या समाधान गर्न सहयोग पु¥याउँछन् । यस अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले आफ्टर सेल्स र ग्राहक सेवाप्रतिको प्रयासमा नवीनतम उपायहरुको उत्तम कार्यान्वयन गर्न जारी राखेको बताए । यी सर्भिस सेन्टरहरु संचालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको र उपत्यकाभित्र वितरण र संकलनका लागि समर्पित टोली, लगातार क्वालिटी जाँच र देशभरका सबै प्रमुख बजारहरुमा समर्पित सर्भिस वेयरहाउस र कलेक्सन पोइन्टको पर्याप्त पहुँच भएको लिडरले जानकारी दिएको छ ।