सिटिजन्स बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले मोहन्याल शाखाद्धारा मोहन्याल गाउँपालिका वडा नं. ४ खिमडी स्थित श्री भृकुटी माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयका छात्रछात्राहरुको पठनपाठनमा मद्दत हुने हिसाबले उक्त सहयोग हस्तान्तरण गरेको हो । बैंकले मंगलबार एक कार्यक्रमकाबीच सो विद्यालयलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । विद्यार्थीको सर्वागिंण विकासमा शिक्षाले ठूलो भुमिका खेल्ने भएकोले गर्दा सो कुरालाई ध्यानमा राखी यस बैंकले यो सहयोग गरेको छ । नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले लिएको छ । भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ । बैंकले हाल ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
कुमारी बैंक र टेस्ला डायगनोस्टिक क्लिनिकबीच सम्झौता
काठमाडौं । कुमारी बैंक र बालुवाटारस्थित टेस्ला डायगनोष्टिक क्लिनिकबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले उक्त सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र टेस्ला डायगनोष्टिक क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठले हस्ताक्षर गरेका छन् । जसअनुसार टेस्ला डायगनोष्टिक क्लिनिकका विभिन्न स्वास्थोपचार सेवा तथा औषधोत्पादन शुल्कमा ग्राहकले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । हाल बैंकले १२४ शाखा सञ्जाल, १२२ एटिएम, २१ शाखारहित ईकाई तथा ६ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आएको छ ।
चलचित्र उद्योगलाई राहत दिन संघको माग, अर्थमन्त्री भन्छन्- अध्ययन भइरहेको छ
काठमाडौं । नेपाल चलचित्र संघले विश्वव्यापीरुपमा देखिएको कोरोनाभाइरस (कोभिड-१९) ले नेपाली सिनेमा घरहरु तथा चलचित्र क्षेत्रमा पारेको असर बारेमा अर्थ, संचार तथा सूचना प्रविधि मन्त्री डा। युवराज खतिवडासँग भेट गरेको छ । संघले नेपाल उद्योग बाणिज्य महासंघको पहलमा अर्थ संचार तथा सूचना प्रविधि मन्त्रीलाई कोरोनाभाइरसले पारेको प्रभावको बारेमा ज्ञापनपत्र बुझाउँदै राहत प्याकेज घोषणा गर्न माग गरेको छ । सो भेटको क्रममा संचार तथा सूचना प्रविधि मन्त्री डा खतिवडाले कोरोनाभाइरसले नेपाली अर्थतन्त्रमा पार्नसक्ने प्रभावको बारेमा अध्ययन भईरहेको जानकारी दिए । उनले नेपाली चलचित्र उद्योग पनि सो असरबाट प्रभावित भएकोमा जानकार रहेको भन्दै सबै क्षेत्रको जानकारीहरु एकत्रित गरिरहेको र प्रभावबारे छलफल गरिरहेको स्पष्ट पारे । ‘पर्ख र हेरको अवस्थामा छौं, कुन तहको क्षति हुन्छ त्यहिअनुसार योजना गर्ने हो, आगामी १ महिना कठिनाई हुने देखिएकोछ, केन्द्रिय बैंकसँग बसेर छलफल चलाईरहेका छौं र त्यसलाई अगाडि लानेछौं,’ अर्थ, संचार तथा सूचना प्रविधि मन्त्री डा खतिवडाले भने । उनले चलचित्र संघका पदाधिकारीहरुलाई ज्यादै आतंकित हुनुपर्ने अवस्था नभएको आश्वासन दिँदै नेपाली चलचित्र उद्योगको लागि मध्यमकालिन र दिर्घकालिन रणनीतिमा पनि काम गरिरहेको बताए । अर्थमन्त्री खतिवडाले कोरोनाभाइरस रोक्न नाकाहरुमा उच्च सर्तकता अपनाईएको भन्दै मनोरन्जन क्षेत्रमा हाल लिनुपर्ने विभिन्न किसिमका अनुमतिहरुलाई एकद्धार प्रणालीमा लैजाने प्रयास गरिरहेको जानकारी दिए । त्यसअघि संघका अध्यक्ष मधुसुधन प्रधानले सिनेमा हलहरुमा कोरोनाभाइरसको जोखिम न्यूनिकरण गर्नका लागि उच्च सतर्कताका साथ सरसफाई गरिरहेको र स्यानिटाइजरको व्यवस्था गरिएको जानकारी गराए । उनले कोरोनाभाइरसको प्रभावले गर्दा हाल सिनेमा हलहरुमा दर्शकहरुको संख्या न्यून भएपनि दैनिकरुपमा विभिन्न किसिमका राजस्व तथा करहरु तिरिरहेको गुनासो गरे । ‘हामीले दैनिक ब्याज, भ्याट, मनोरन्जन कर, चलचित्र विकास करलगायत राजस्व तिरिरहेका छौं, अहिले कोरोनाभाइरले प्रभावित पारेको छ, अन्य उद्योग सरह राहत प्याकेज दिनुपर्यो,’ अध्यक्ष प्रधानले भने । भेटकाक्रममा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोभिड-१९ को असर सबैभन्दा धेरै पर्यटन, होटल, रेष्टुरेन्ट क्षेत्रमा परेको भन्दै त्यसपछि प्रत्यक्षरुपमा सिनेमा हलहरु असर देखिएको अर्थमन्त्रीलाई जानकारी गराएका थिए। ‘प्रत्यक्षरुपमा फिल्म हलहरुमा पनि असर परेको छ भने अनिश्चित कालसम्म असर पर्ने देखिएको छ, त्यसैले चलचित्र क्षेत्रलाई पनि रिफाइनान्सिङ्गको व्यवस्था गर्नुपर्यो,’ वरिष्ठ उपाध्यक्ष गोल्छाले भने । महासंघका कार्यसमिति सदस्य अन्जन श्रेष्ठले कोरोनाभाइरसले हुने मृत्यु भन्दा त्यसको आर्थिक र मानसिकरुपमा पर्ने असरले मानिसहरुको मृत्यु हुने संख्या बढ्नसक्ने आशंका गरेका छन् । नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले नेपाली चलचित्र क्षेत्रमा ठूलो लगानी रहेको भन्दै देशभरीका २०० भन्दा बढि हलहरुमा हाल असर परेको बताए । उनले अर्बौंको लगानी जोखिममा परेको भन्दै यसलाई संवेदनशिल भएर हेर्न मन्त्रीलाई अनुरोध गरे । संघका कार्यसमिति सदस्य भाष्कर ढुङ्गानाले सिनेमा हल निर्माण र यो उद्योगमा प्रत्यक्ष नेपालीहरुको लगानी र रोजगारी सिर्जना भएको भन्दै चलचित्र हलहरुले भने कर तिर्नुपर्ने तर अनलाइन स्ट्रिमिङ्ग सेवामार्फत सिनेमा देखाउँदा भने नेपालमा कर नतिर्ने अवस्था अन्त्य गरिनुपर्ने बताए । नेपाल चलचित्र संघका अध्यक्ष प्रधानको नेतृत्वमा गएको टोलीमा संघका महासचिव अशोक शर्मा, उप महासचिव गोपालकाजी कायस्थ, सदस्यहरु भाष्कर ढुङ्गाना, कलाकार दिपकराज गिरी तथा महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा तथा कार्यसमिती सदस्य अन्जन श्रेष्ठ सहभागी थिए ।
बैंकहरूकाे ऋणपत्र र पुनर्बीमा कम्पनीको साधारण सेयरमा लगानीकाे अवसर गुमाउँदै लगानीकर्ता
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ हाउसको सफ्टवयर नचल्दा पुँजी बजारका लाखौं लगानीकर्ता पीडित भएका छन् । अनलाईनबाट सेयर किनबेच हुने meroshare.cdsc.com.np आइतबारदेखि नियमित चलेको छैन । सिडिएसको मेरो सेयर नचल्दा साधारण सेयर किन्ने, ऋणपत्र किन्ने, बेचेको सेयर ट्रान्सफर गर्ने कार्यहरु प्रभावित भएको लगानीकर्ता अम्बिका पुडासैनीले बताए । मेरो सेयर नचलेपछि लगानीकर्ताहरुबाट धेरै गुनासो आईरहेको कालिका सेक्युरिटीका प्रबन्ध निर्देशक नरेन्द्रराज सिजापतिले बताए । सेयर बेचेको तीन दिनभित्र मेरो सेयरबाट ट्रान्सफर हुनैपर्छ । ट्रान्सफर ढिला भएमा धेरै जरिवाना हुन्छ । बजार घटेको बेलामा लगानीकर्ताहरु विभिन्न वहाना बनाएर खरिद अडरबाट भाग्न खोज्छन् । यस्तो बेलामा समयमा ट्रान्सफर भएन भने लगानीकर्ता झगडा गर्न आउँने गरेको सेयर ब्रोकर व्यवसायी बताउँछन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ऋणपत्रहरु नियमित निष्काशन भईरहेका छन् । यस्तो बेलामा सिडिएससीको मेरो सेयर नचल्दा बैंकहरुलाई पनि गाह्रो भएको छ । मंगलबार सिटिजन्स बैंक इन्टरनेशनलको ऋणपत्रमा लगानी गर्ने अन्तिम मिति हो । सर्वसाधारणले आश्वा प्रणालीबाट मात्र यस्तो ऋणपत्रमा लगानी गर्न सक्छन् । ‘मेरो सेयरबाट ऋणपत्रमा लगानी गर्न सकिएन भनेर धेरै लगानीकर्ताले फोन गर्नुभयो । तर हामीले त्यसमा केही गर्न सक्दैनौं’ बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले भने । ‘बैंकको ऋण पत्र लिनुहोस्, यसमा फाइदा छ भनेर हामीले धेरै खर्च गरेर सर्वसाधारणसम्म सूचना पुर्यायौं । तर लगानीकर्ताले आवेदन गर्ने बेलामा सीडिएससीको अनलाईनले काम गरेन भन्ने सुन्दा हामीलाई दुःख लागेको छ’ पोखरेलले भने । लगानीकर्ताले नबिल बैंककाे ऋणपत्रमा पनि लगानी गर्न पाएका छैनन् । विभिन्न कम्पनीहरूकाे हकप्रद सेयर किन्नलाई पनि समस्या भएकाे छ । मंगलबारदेखि नै नेपाल पुनर्बीमा कम्पनीको साधारण सेयर बिक्री खुला भएको छ । तर सेयर किन्न चाहानेका प्रयास सबै बिफल भएका छन् । पुर्नबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझिले लगानीकर्ताले अनलाईनबाट सेयर आवेदन गर्न पाइएन भन्ने गुनासो गरेको र आफूले सिडिएस एण्ड क्लियरिङका अध्यक्ष चन्द्रसिंह साउदलाई समस्याबारे जानकारी गराएको बताए । यस विषयमा विकासन्युजले चन्द्रसिंह साउदसँग कुरा गर्न खोज्दा बोल्न मानेनन् । सीडीएसको अफिसका कुनै पनि फोन उठेनन् भने कामू सीईओ कन्चन सापकोटासँग सम्पर्क हुन सकेन । नेप्से र सीडिएसको सफ्टवयर गरिद गर्दा भ्रष्टाचार भएको र कामै नलाग्ने सफ्टवयर प्रयोग गरेकोले बारम्बार समस्या आउने गरेको जानकारहरु बताउँछन् ।
एनआईसी एशिया बैंकका ग्राहकले गोकर्ण फरेष्ट रिसोर्टमा १५ प्रतिशत छुट पाउने
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंस्थित गोकर्ण फरेष्ट रिसोर्टका विभिन्न सेवामा १५ प्रतिशत छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच समझदारी(एमओयू) भएको छ । समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा रिसोर्टको तर्फबाट रुम डिभिजनका निर्देशक रोजिन सापकोटाले हस्ताक्षर गरेका छन् । यो योजना एक वर्षको लागि लागू हुने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिएका छन् । उक्त समझदारी बमोजिम यस बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले होटलको फूड एण्ड बेभरेज आउटलेटहरू तथा हार्मोनी स्पा सेवा प्रयोग गरे वापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५ प्रतिशतसम्म छुट पाउनेछन् । साथै, यस बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ । यसैगरी ग्राहकहरूले बैंकसँग आबद्ध भएका देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतबाट सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकले हाल ३१९ शाखा कार्यालयहरु, ४५५ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा घोषित कार्यक्रम स्थगित
काठमाडौं । पछिल्लो समय कोरोना भाइरसले ल्याएको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले आफ्ना घोषित कार्यक्रमहरुलाई स्थगन गरेको छ । नेपाल सरकारले सार्वजनिक सभा, सम्मेलन, समारोह, महोत्सव लगायत भीडभाड हुने कार्यक्रम नगर्न सार्वजनिक आव्हान गरिसकेको सन्दर्भमा सो आव्हानलाई मध्येनजर गर्दे यस महासंघले घोषित आफ्ना कार्यक्रमहरु स्थगित गरेको हो । अन्य मुलुकको तुलनामा नेपालमा हालसम्म न्यून संक्रमण देखिएको भएतापनि सजगता र सावधानी अपनाइएन भने यसले हाम्रो मुलुकमा पनि महामारीको रुप लिन सक्ने भएकाले यसतर्फ सजग रहन सबैसमक्ष महासंघले अपिल गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका सम्बन्धमा विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिम मुलुकको दर्जामा राखेको छ । महासंघद्घारा घोषित कार्यक्रम अन्तरगत यही चैत १४, १५, १६ राजधानीमा राष्ट्रिय महाअधिवेशनका साथै प्रदेश तथा जिल्लास्तरीय औद्योगिक प्रदर्शनीहरु रहेका थिए । कोरोना भाइरसका कारण नेपालको औद्योगिक क्षेत्र, पर्यटन व्यवसाय तथा सानो पूँजीमा संचालित लघु, घरेलु तथा साना उद्योगहरु धाराशायीमा परेको तथा भ्रमण वर्ष २०२० समेत स्थगनमा परेको छ । संक्रमणको त्रासले नेपालको औद्योगिक क्षेत्रमा प्रत्यक्ष असर परिरहेको भन्दै महासंघले छिमेकी राष्ट्र भारतसँग जोडिएका चार वटा नाका मात्र खोलेकोले उद्योग क्षेत्रलाई आवश्यक पर्ने कच्चा पदार्थ आयातमा असर परिरहेको महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले बताए । यसैगरी नेपालको औद्योगिक क्षेत्रमा कार्यरत विदेशी श्रमिकहरु सुरक्षाका लागि आफ्नो मुलुक फर्किएका र स्वदेशी जनशक्ति समेत सुरक्षित स्थानतर्फ लागेकाले उद्योग क्षेत्रमा जनशक्तिको अभाव हुँदै गएको उनले बताए । कच्चा पदार्थ, जनशक्तिको अभाव, सन्त्रासको वातावरणका कारण उत्पादकत्वमा कमी भई नेपालको औद्योगिक क्षेत्रमा विचलन आएको भन्दै महासंघले यस्तै अवस्था अरु केही समय रहेमा उद्योगहरु बन्द गर्नुपर्ने अवस्थाको सिर्जना हुन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ । कोरोना भाइरसका कारणले औद्योगिक क्षेत्रलाई असर पारेता पनि उद्योगहरुले कर्मचारी तथा मजदुरहरुलाई पारिश्रमिक दिइनुपर्ने, प्रशासनिक खर्च भइरहने र बैंकको व्याज लागिरहने भएकाले उद्योग क्षेत्र खास गरेर लघु, घरेलु तथा साना उद्योगीहरु मर्माहत भएको महासंघले जनाएको छ । तसर्थ कोरोना भाइरसबाट पीडित लघु, घरेलु तथा साना उद्योगका लागि विभिन्न व्यवस्था गरिदिन नेपाल सरकारसँग महासंघले आग्रह गरेको छ । कोरोना संक्रमण अवधिमा लागेको बैंकको व्याज तथा हर्जाना छुट हुनुपर्ने तथा चैत मसान्तसम्म बुझाउनु पर्ने आयकरको किस्ता बुझाउने म्याद अर्को तीन महिनाका लागि थप गर्नुपर्ने महासंघले जनाएको छ । उद्योग नविकरण गर्ने म्याद हाललाई कम्तिमा छ महिना थप गरि नविकरण शुल्क मिनाहा गरिनुपर्ने, वैदेशिक रोजगारबाट फर्केकाहरुलाई स्वदेशी उद्योगमा प्रतिस्थापन गर्न वा नयाँ उद्योग संचालनका लागि प्रोत्साहन गर्न उचित सीप विकास तालिम प्रदान गर्नुपर्ने महासंघको आग्रह छ । राज्यका संयन्त्रबाट दिईने अन्य छुट, सुविधा वा सहुलियतको लागि निर्णय हुनुपर्ने भन्दै सरकारले सार्वजनिक स्थलहरुमा स्यानिटाइजर तथा माक्सको व्यवस्था गरि दिनुपर्नेमा महासंघको जोड छ ।
ज्यान मुद्दाका फरार १८ वर्षपछि पक्राउ
काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार रणबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । उनले अंश सम्बन्धी विवादका कारण आफ्नै सौतेनी आमा साईली थापालाई आफ्नै घरभित्र घाँटी थिची हत्या गरेका थिए। हत्या गरेकाे १८ वर्षपछि थापालाई धादिङ्गको रानीबारीबाट अनुसन्धान व्यूरोबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय धादिङ्गमा बुझाईएको छ ।
अर्थ समितिमा बीमा बहसः कोरोना विरुद्ध बीमा गरौंः सांसद, मिल्दैनः अर्थमन्त्री
काठमाडौं । केही दिनदेखि अर्थ समितिमा बीमा विधेयक माथि दफाबार छलफल चलिरहेको छ । सोही छलफलको क्रममा सांसदहरुले महामारीको बीमा गर्न आवश्यक रहेको सुझाव बीमा समितिलाई दिएका हुन् । सांसद पदम गिरीले कोरोना भाइरसको लागि छुट्टै बीमा पोलिसी ल्याउँने वातावरण निर्माण गर्नुपर्ने बेला भएको धारणा राखे । ‘विश्वमा फैलिएको कोरोना भाइरस नेपालमा आउँनु अगावै बीमा पोलिसी तयार गर्न आवश्यक छ, बीमा समितिकै पहलमा कोरोना भाइसरको बीमा हुने पोलिसी ल्याउँनु होस,’ सांसद गिरीले भने । सांसद गिरीले उठाएको प्रसंगमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले समेत पूर्ण सहमति जनाए । सभापति दाहालले बीमाको काम भनेको जोखिम धारण गर्ने भएकोले आपत विपतमा बीमा क्षेत्र जनताको सहयोगी हुनपर्ने बताए । ‘बीमा कम्पनीहरुलाई बीमा समितिले निर्देशन दिनुपर्छ, बीमाको काम भनेकै जोखिम धारण गर्ने हो, बीमा क्षेत्रले कोरोना भाइसको बीमा गर्ने तयारी गर्दा राम्रो होला,’ सभापति दाहालले भने । स्वस्थ्य हुँदै बीमा गर्दा हुन्छ, रोग लागेपछि हुन्नः अर्थमन्त्री अर्थ मन्त्री डा. युवराज खतिवडाले रोग लागिसकेको अवस्थामा व्यक्तिले बीमा गराउँन नमिल्ने भएकाले रोग लाग्नुपूर्व बीमा गराउँन सबैलाई सचेत गराउँनु पर्ने बताए । ‘रोग विरुद्ध बीमा हुन्छ, स्वस्थ्य व्यक्ति जोसुकैले पनि यस्तो बीमा गर्न सकिन्छ, तर रोग लागेपछि बीमा गराउने भन्ने हुँदैन, महामारी आउँनु अगाडी नै बीमा गर्ने हो भने त्यसले आर्थिक सुरक्षण प्रदान गर्छ, यतातिर जनचेतना बढाउन हामी सबै लाग्नुपर्छ,’ मन्त्री खतिवडाले भने । बीमा समितिले महामारीलाई बीमाले नसमेटने जनाउँदै आएको छ । समितिले बीमा गराइसकेको बिमितको हकमा भने पोलिसीले समेटनेसम्मको सुरक्षण दिँदै आएको जानकारी दिएको छ । बीमा व्यवसाय नाफा तथा सेवाको व्यवसाय भएकाले आवश्यकता अनुसार यस व्यवसायले साथ दिनसक्ने विश्वास सांसदहरुले व्यक्त गरेका छन् । अहिले विश्व स्वस्थ संगठनले स्वास्थ संकटकाल घोषणा गरेकाले स्वास्थ्य क्षेत्रमा जनचासो बढ्दो छ । बीमा विधेयकमाथिको छलफलमा मन्त्री डा. खतिवडासहित पूर्व अर्थमन्त्री डा. बाबुराम भट्टराई, ज्ञानेन्द्र बहादुर कार्की, कांग्रेस महामन्त्री शशांक कोईरालालगायत उपस्थित थिए । यस्तै, बीमा समितिकातर्फबाट अध्यक्ष चिरञ्जिवी चापागाईं तथा कार्यकारी निर्देशक राजुरमण पौडेल उपस्थित थिए ।