विकासन्युज

हिमालय टेलिभिजनमा ‘डान्सिङ वीथ द स्टार्स’, मुख्य प्रायोजकमा आइएमई

काठमाडौं । बीबीसी स्टुडियोको फर्म्याटमा आधारित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को पहिलो सिजन यही बैशाख पहिलो सातादेखि प्रसारण हुने भएको छ । बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायतका बिश्वका ६० भन्दा धेरै देशमा प्रसारण भइरहेको डान्सिङ रियालिटी सोको फ्रेन्चाइज लिइ नेपाली संस्करणमा हिमालय टेलिभिजनले उत्पादन तथा प्रसारण गर्न लागेको हो । हरेक शुक्रबार र शनिबार राति ८ बजेदेखि प्रसारण हुने पहिलो सिजन २६ इपिसोडको हुनेछ । विश्वभर चलेको फम्र्याट अनुसार आइएमई डान्सिङ विथ द स्टारमा १२ जना बिभिन्न क्षेत्रका स्टार प्रतियोगी हुनेछन भने उनीहरुलाई पेयरिङ गर्दै १२ जना प्रोफेसनल कोरियोग्राफरले स्टारसँगै पर्फमेन्स दिनेछन । कार्यक्रममा २ जना होस्ट र ३ जना निर्णायक हुनेछन । दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट इलिमिनेट हुँदै जाने छन । बिजेताले कुल २५ लाख करसहित नगद र अन्य पुरस्कार प्राप्त गर्ने छन । यस कार्यक्रमको प्रमुख प्रायोजकको रुपमा आइएमई र भोटिङ्ग पार्टनरको रुपमा आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घन गरिएको ‘आइएमई पे’ आबद्घ भएका छन् । यसै सम्बन्धमा विशेष कार्यक्रममा हिमालय टेलिभिजन र आइएमइबीच साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात यस कार्यक्रमको नाम आइएमई प्रेजेन्टस् “डान्सिङ वीथ द स्टार नेपाल” रहने छ । सम्झौता अनुसार डान्सिङ वीथ द स्टारको भोटिङ्ग राउन्डमा एप मार्फत गरिने सबै भोटिङ्ग ‘आइएमई पे’ एप मार्फत हुनेछ ।

नेपाल इन्भेस्टमेन्ट बैंकको १७औं एक्सटेन्सन काउन्टर भक्तपुरमा

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायणमा १७औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । उक्त बैंकको नयाँ एक्सटेन्सन काउन्टर वित्तीय पहुँचमा सहयोग पुर्याउने तथा वित्तीय साक्षरतालाई व्यापक तुल्याउने उद्देश्यसहित उद्घाटन गरिएको हो । नयाँ खुलेको दुवाकोटास्थित उक्त काउन्टर दक्षिणमा भक्तपुर नगरपालिका र पश्चिममा मध्यपुर ठिमी नगरपालिकाले घेरिएको छ । यो काठमाडौंको केन्द्रबाट करिब २० किलोमिटर दूरीमा छ । एनआईबीएलले ८२ शाखा, १२४ एटीएमहरू, १७ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू तथा ५६ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

तनहुँमा ५१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित

तनहुँ । यही चैत ६ गतेदेखि हुने एसइई परीक्षामा यहाँका ५१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । विभिन्न विद्यालयका गरी छात्रा ३४ र छात्र १७ गरी ५१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् । परीक्षा दिन फारम भरेर बीचैमा विद्यालय आउन छाडेका, कोही बिहे भई गएका र कोही रोजगारीको सिलसिलामा विदेशिएका कारण उनीहरु परीक्षा दिनबाट वञ्चित भएका शिक्षा विकास तथा समन्वय इकाइ परीक्षा शाखाका प्रमुख विश्वप्रकाश रेग्मीले जानकारी दिएका छन् । उनका अनुसार सामुदायिक विद्यालयतर्फका एक सय सोह्र विद्यालयबाट दुई हजार पाँच सय २१ छात्रा, दुई हजार दुई सय २५ छात्र गरी चार हजार सात सय ४६ र संस्थागत विद्यालयतर्फका ५८ विद्यालयबाट छ सय ११ छात्रा र आठ सय ७३ छात्र गरी एक हजार चार सय ८४ गरी कूल छ हजार दुई सय तीस विद्यार्थी यस परीक्षामा सामेल हुने भएका छन् । जसमा छात्रातर्फ तीन हजार एक सय ३२ र छात्रतर्फ तीन हजार ९८ रहेका छन् । गत वर्ष जिल्लामा छ हजार दुई सय ९१ विद्यार्थीले परीक्षा दिएका थिए । गत वर्षको तुलनामा यस वर्ष ६१ विद्यार्थी कम रहेका छन् । रासस

घट्न थाल्यो रेमिटान्स, साढे ७ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा संचिति

काठमाडौं । विदेशमा काम गर्ने नेपालीले पठाउने रकम (रेमिटान्स) घट्न थालेको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको माघ महिनामा रेमिटान्स आप्रवाह घटेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार गत माघ महिनामा रेमिटान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा ०.५ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको गत माघसम्ममा ५ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ रेमिटान्स आएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटान्स आप्रवाह २८.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिटान्स आप्रवाहमा ०.२ प्रतिशतले कमी आएकोछ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६ प्रतिशतले बढेको थियो । गत माघसम्ममा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ०.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.९ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आय १.१ प्रतिशतले कम भएर ५ खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७.३ प्रतिशतले बढेको थियो । चालु खाता एवम् शोधनान्तर स्थिति माघसम्ममा चालु खाता घाटा १ खर्ब १२ अर्ब १५ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ६६ अर्ब ६७ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको ७ महिनामा १ अर्ब ४६ करोड रहेकोचालु खाता घाटा समीक्षा अवधिमा ९८ करोड ४८ लाख रहेको छ । पुँजीगत ट्रान्सफर ८ अर्ब ३१ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३८ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ४३ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १५ करोड रुपैयाँ थियो । शोधनान्तर स्थिति २१ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४९ अर्ब ३२ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको ७ महिनासम्ममा ४३ करोड १७ लाखले घाटामा रहेकोमा चालु आवको सोही अवधिमा १९ करोड ११ लाख रुपैयाँले बचतमा रहेको छ । विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५.६ प्रतिशतले बृद्धि भई २०७६ माघ मसान्तमा १० खर्ब ९६ अर्ब ६८ करोड रुपैयाँ बराबर पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ माघ मसान्तमा ९ अर्ब ६४ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा २०७६ माघ मसान्तमा ९ खर्ब ४७ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७६ माघ मसान्तमा १ खर्ब ४९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । २०७६ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ । सञ्चिति पर्याप्तता सूचक गत आर्थिक वर्षको ७ महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.७ महिनाको वस्तु आयात र ८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको भनाइ छ । विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३१.७ प्रतिशत, ७०.८ प्रतिशत र २९.० प्रतिशत रहेका छन् । गत असार मसान्तमा यी अनुपातहरु क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।

सुदूरपश्चिममा ५५ हजार विद्यार्थीले एसइई दिंदै

डोटी । बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा आवश्यक सबै तयारी पूरा भएको छ । सुदूरपश्चिम क्षेत्रीय शिक्षा विकास निर्देशनालय दिपायल राजपुरका अनुसार सबै परीक्षा केन्द्रमा प्रश्नपत्र, उत्तर पुस्तिकालगायत सामग्री पुगिसकेका छन् । प्रदेशबाट यस वर्षको एसइईमा छात्र २६ हजार १४२, छात्रा २८ हजार ३९५ गरी जम्मा ५४ हजार ५३७ विद्यार्थी सहभागी हुने भएका छन् । यस वर्षको नियमित एसइईतर्फ छात्र २४ हजार २५७ तथा छात्रा २६ हजार ३९१ गरी कूल ५० हजार ६४८ सहभागी हुने भएका छन् । प्राविधिक धारतर्फ छात्र ६६३ तथा छात्रा ३६४ गरी कूल एक हजार २७ विद्यार्थी सहभागी हुने भएका तथा ग्रेडवृद्धितर्फ छात्र एक हजार २२२ तथा छात्रा एक हजार ६४० गरी कूल दुई हजार ८६२ रहेका क्षेत्रीय शिक्षा विकास निर्देशनालयका निर्देशक दुर्गाराज विष्टले जानकारी दिएका छन् । उनका अनुसार सभ्य तथा मर्यादित एसइई सञ्चालनका लागि प्रदेशभरिमा कूल २११ परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ति भइसकेका र उनीहरुलाई परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आवश्यक अभिमुखीकरण दिइसकिएको छ । त्यस्तै, परीक्षालाई व्यवस्थित, अनुसाशित, मर्यादित र भयरहित तरिकाले सम्पन्न गर्न शिक्षा विकास तथा समन्वय एकाइलगायत एसइई परीक्षा जिल्ला समन्वय समितिका पदाधिकारीसहित शिक्षा विकास निर्देशनालयबाट यहाँका नौवटै जिल्लामा परीक्षामा सहजीकरण र अनुगमन गर्नका लागि अनुगमन टोली खटाइसकिएको निर्देशक विष्टले बताए । यस वर्ष एसइईका लागि तोकिएका परीक्षा केन्द्रमा कोरोनाविरुद्ध सावधानी अपनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको छ । शिक्षा मन्त्रालयको अपिलअनुसार विद्यार्थीलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रमा परीक्षा अवधिभर सहायता कक्ष ‘हेल्थ डेस्क’ राख्ने प्रबन्धका लागि सम्बन्धित स्थानीय तहलाई अनुरोध गरिसकिएको जनाइएको छ । क्षेत्रीय शिक्षा विकास निर्देशनालयले विद्यार्थीलाई परीक्षा दिन आउँदा र घर जाँदा साबुनपानी प्रयोग गरेर हात धुन, मास्क प्रयोग गर्न, अरूसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान आग्रहसमेत गरेको छ । रासस

वाणिज्य बैंकको २९औँ एक्स्टेन्शन काउन्टर सिन्धुलीमा

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राष्ट्रिय वाणिज्य बैंक सिन्धुलीको २९औँ ‘एक्स्टेन्शन काउन्टर’ तथा राजश्व सङ्कलन केन्द्र आजदेखि सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आफ्नो खातामा रु एक हजार १०५ जम्मा गर्दै शाखाको कारोवार शुभारम्भ गरेका हुन् । उनले केन्द्र सञ्चालनमा आएपछि कार्यालयले राजश्व बुझाउन बैंक धाउनुपर्ने बाध्यता हटेको बताए । प्रजिअ गौतमले भने, “धरौटी तथा राजश्व कार्यालमा काम गर्ने कर्मचारीले सङ्कलन गर्ने र भोलिपल्ट मात्रै जम्मा गर्ने परिपाटीको अन्त्य भएको छ भने उक्त पैसाको दुरुपयोग हुने सम्भावनाको पनि अन्त्य भएको छ ।” एक्स्टेन्शन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र स्थापना गर्नुको मुख्य उद्देश्य भनेको राजश्व सङ्कलन गर्नु नै भएको राष्ट्रिय वाणिज्य बैंक सिन्धुलीका प्रबन्धक खिलानाथ भट्टराईले बताए । उनले बिस्तारै उक्त काउन्टरबाट कर्मचारीको नगद जम्मा तथा चेक कारोवार, नागरिक लगानी कोषलगायत राजश्व सङ्कलन गरिने उनको भनाइ छ । वाणिज्य बैंकले हाल देशका सातवटै प्रदेशका ७७ वटै जिल्लाबाट २३९ वटा शाखा कार्यालयमार्फत सेवा दिइरहेको छ । बैंकका २०४ एटिएम र २८ वटा एक्सटेन्शन काउन्टरबाट सेवासमेत दिइरहेको छ ।

माघको मूल्यबृद्धि पोहोरकोभन्दा दोब्बर, सरकारी लक्ष्यभन्दा निकै धेरै

काठमाडौं । गत माघको मूल्यबृद्धि करिब ७ प्रतिशत छ । यो बृद्धिदर गत वर्षको माघ महिनाकोभन्दा करिब ३ प्रतिशतले बढी हो । नेपाल राष्ट्र बैंकका अनुसार गत माघको मूल्यबृद्धि ६.८७ प्रतिशत छ । गत वर्षको माघमा यस्तो मूल्यबृद्धि ४.३५ प्रतिशत थियो । माघ महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ । काठमाडौं उपत्यकामा ७.५८ प्रतिशत, तराईमा ७.२९ प्रतिशत, पहाडमा ५.४६ प्रतिशत र हिमालमा ५.२८ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ माघमा यी क्षेत्रहरुमा क्रमशः ५.१९ प्रतिशत, ३.४४ प्रतिशत, ४.९१ प्रतिशत र ५.२७ प्रतिशत मूल्यबृद्धि थियो । माघ महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८७ प्रतिशत रहेकोमा भारतमा यस्तो (फेव्रुअरी महिनाको) मुद्रास्फीति ६.५८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ४.३५ प्रतिशत र २.५७ प्रतिशत रहेको थियो ।

सिमेन्टकाे तीव्र गतिले वार्षिक २० करोड बोरा उत्पादन

लुम्बिनी । नेपालमा सिमेन्ट उत्पादनमा तीव्रता आएको छ । प्रतिवर्ष २० करोड बोरा सिमेन्ट उत्पादन गरिरहेका नेपालका सिमेन्ट उद्योगको उत्पादनकै कारण सिमेन्टमा नेपाल आत्मनिर्भर भएको हो । भौतिक पूर्वाधारमा तीव्र गतिले विकास भइरहँदा उक्त क्षेत्रमा प्रयोग हुने सिमेन्ट र छडको उत्पादनमा पनि विकास भइरहेको छ । सिमेन्ट उद्यममा ४४ वर्षदेखि आबद्ध रहनुभएका अर्घाखाँची सिमेन्टका महाप्रबन्धक उद्धव कार्कीका अनुसार १३ वटा रोटरी क्लिन, सात वटा भिएसके र ४१ वटा ग्रान्डिङ प्लान प्रयोग गरिरहेका कूल ६१ उद्योगले वार्षिक २० करोड बोरा सिमेन्ट उत्पादन गरिरहेका छन् । नेपाल सरकारको स्वामित्वमा रहेको उदयपुरमा रहेको उदयपुर सिमेन्ट, मकवानपुरमा रहेको हेटाैंडा सिमेन्ट उद्योगसहित ६१ उद्योग सञ्चालित छन् । निजी क्षेत्रबाट ११ रोटरी क्लिन प्लानका उद्योग सञ्चालनमा रहेका छन् । तीमध्ये सिरहामा रहेको मारुति, धनुषामा रहेको कसमस, हेटौँडामा रहेको शिवम्, धादिङमा युनाइटेड, पूर्वी नवलपरासीमा होङ्सी, पश्चिम नवलपरासीमा सर्वोत्तम, पश्चिम नवलपरासीमै पाल्पा, रुपन्देहीमा अर्घाखाँची, अर्घाखाँचीमा शुभश्री अग्नी, दाङमा घोराही र दाङमै सोनापुर सिमेन्ट उद्योग रोटरी क्लिन प्लानसहित सञ्चालनमा छन् । यसैगरी, भिएसके प्रविधिमा आधारित धनकुटामा नियाले, पर्सामा शालिमार, परासीमा बुटवल, रुपन्देहीमा रिलायन्स, धादिङमा केपी, रोल्पामा रोल्पा र कपिलवस्तुमा भूगर्भ सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन् । रोटरी प्लान र भिएसके प्रविधिमा सञ्चालित उद्योगले क्लिङ्करसमेत उत्पादन गर्ने गर्दछन् । यसैगरी, देशभर ४१ ग्रान्डिङ सिमेन्ट उद्योग सञ्चालित छन् । अठार लाख मेट्रिक टन क्षमता रहेको होङ्गसी सिमेन्टबाट हाल छ हजार मेट्रिक टन सिमेन्ट उत्पादन भइरहेको छ । यसैगरी १० लाख मेट्रिक टन क्षमता रहेको अर्घाखाँची सिमेन्ट उद्योगले दैनिक तीन हजार मेट्रिक टन उत्पादन गरिरहेको छ । नौ लाख मेट्रिक टन वार्षिक उत्पादन क्षमता रहेको सर्वोत्तम सिमेन्टले पनि दैनिक तीन हजार मेट्रिक टन उत्पादन गरिरहेको छ । हेटाैंडामै ऋद्धिसिद्धि सिमेन्ट सञ्चालनका लागि तयारी अवस्थामा रहेको छ । यसैगरी घोराही सिमेन्टले क्षमता वृद्धि गर्दै दैनिक तीन हजार मेट्रिक टन पु¥याउँदै छ । दाङमा नै सम्राट, पूर्वी नेपालमा सौर्य र धादिङमै हवासिन सिमेन्ट उद्योग सञ्चालनमा आउने तयारीमा रहेका छन् । सडक निर्माणमा आरसिसी प्रयोग हुनुले नेपालमा अबको एक दशक अझै सिमेन्ट र छडको माग बढ्ने देखिएको छ । दैनिक छ लाख बोरा सिमेन्ट खपत भइरहेको छ । माघ, फागुन, चैत, वैशाख, जेठ र असार महिनामा बढी खपत हुने गर्दछ । उक्त महिनामा सरकारी ठेक्काअनुसारका काम तथा आयोजना परियोजनाले मात्रै नभएर निजी आवासीय प्रयोजनका घर कम्प्लेक्स पनि बढी मात्रामा हुने गर्दछन् । जाडो महिनामा एकातिर दिन छोटो हुने र अर्कातिर सिमेन्ट सेटिङ पनि ढिलो हुने हँुदा सो याममा सिमेन्टको खपत कम हुने गरेको निर्माण व्यवसायी महासङ्घ प्रदेश नं ५ का कोषाध्यक्ष त्रिभुवनदत्त मिश्राले बताउनुभयो । रासस