विकासन्युज

विश्वविद्यालयहरुका सबै परीक्षा स्थगित

काठमाडौं ।  त्रिभुवनलगायत सबै विश्वविद्यालयद्वारा सञ्चालन हुने सबै परीक्षाहरु स्थगित भएका छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले त्रिभुवन विश्वविद्यालय लगायत सबै विश्वविद्यालयले संचालन गर्ने परीक्षा स्थगित गर्ने निर्णय गरिएकाे जानकारी दिए । विश्वभर फैलिरहेको कोरोना भाइरस ( कोभिड १९) को संक्रमण फैलिरहेको बेला सरकारले परीक्षा स्थगित गर्ने निर्णय गरेको उनले बताए । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह पहिलो वर्षको परीक्षाको मिति चैत सात गतेदेखि तोकेको छ । त्यस्तै चैत ९ गतेबाटै एक वर्षे बीएडको परीक्षा तालिका सार्वजनिक भइसकेको छ । ‘नेकपाले सरकारलाई एसईईसँगै चैतमा हुने विश्‍वविद्यालयका पनि सबै परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएको छ, बुधबार बसेको नेकपा सचिवालय बैठकले परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएको हो, बैठकपछि सरकारलेएसईईसँगै चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो,’ उनले भने । यसबारे औपचारिक निर्णय भने केहीबेरमा सम्बन्धित मन्त्रालयले जानकारी दिने उनकाे भनाइ छ । एलएलबी दोस्रो वर्षको परीक्षा चैत १४ गतेबाट सञ्चालन हुने तालिका यसअघि नै सार्वजनिक भइसकेको छ । चैत २७ गतेबाट अन्य तहको पनि परीक्षा सञ्चालनको तालिका तयार थियो । यस्तै, सरकारले एसईईको परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको हो ।

विहीबार मन्त्रिपरिषद बैठक बस्ने, गभर्नर सिफारिस समिति बन्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक राख्ने भएका छन् । मिर्गाैला प्रत्यारोपणका लागि १२ दिन अस्पताल बसेर प्रधानमन्त्री ओली फर्केका एक साता वित्न लागेपनि उनको स्वास्थ्यको कारण मन्त्रिपरिषद बैठक बसेको थिएन । विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरसबाट बच्न र यसको सन्त्रासबाट उत्पन्न भएको आर्थिकलगायतका संकटन सामना गर्न मन्त्रिपरिषदले नीतिगत निर्णय गर्नुपर्ने वाध्यात्मक अवस्था आएपछि मन्त्रिपरिषद बैठक बोलाउन लागिएको हो । यस्तै, नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त भएपनि सो पदमा नियुक्तिको लागि प्रक्रिया सुरु गर्न मन्त्रिपरिषदले नै अग्रसरता लिनुपर्ने भएकोले बैठक बोलाउन लागिएको प्रधानमन्त्री ओलीको सचिवालय स्रोतले जानकारी दियो । ‘कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनिकरण र आवश्यक सावधानीका विषयमा केही नीतिगत निर्णय गर्नुपर्ने अवस्था छ, यस्तै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस समिति पनि बनाउनु पर्ने भएकोले मन्त्रिपरिषद बैठक बोलाउन लागिएको हो,’ सचिवालय स्रोतले भने । सरकारले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेका केही नीतिगत निर्णय मन्त्रिपरिषदबाट स्वीकृत गर्नुपर्ने भएकोले तत्काल मन्त्रिपरिषद बैठक डाक्नुपर्ने भएको हो । मन्त्रिपरिषद बैठक विहीबारको लागि बोलाइएको स्रोतको दाबी छ ।

मेगा बैंकका ग्राहकले घरमै नर्सिङ सेवा पाउने

काठमाडौं । मेगा बैंक नेपालका ग्राहकहरुलाई शुलभ हेल्थ होमले विशेष छुटका साथ घरमै नर्सिङ सेवा दिने भएको छ । मेगा बैंकसँग भएको सम्झौता अनुसार, शुलभ हेल्थ होमले विशेष छुट र सुविधासहित घरघरमै नर्सिङ सेवा प्रदान गर्ने सहमति भएको हो । सम्झौता पत्रमा मेगा बैंककी नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र शुलभ हेल्थका निर्देशक साईरा श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले चाहेमा शुलभ हेल्थ होमले घरमै नर्सिङ सेवा दिने र स्वास्थ्य सुविधाहरुमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । शुलभ हेल्थ होमले बृद्धबद्धा र बिरामीलाई घरघरमै स्वास्थ्य तथा नर्सिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंक अफ दि इयर २०१९ बाट सम्मानित भइसकेको मेगा बैंकले ग्राहकहरुलाई स्तरीय स्वास्थ्य सेवा र छुट दिने उद्देश्यले बिभिन्न अस्पताल तथा स्वास्थय संस्थासँग सम्झौता गरिसकेको छ ।

भोलिदेखि हुने भनिएको एसईई परीक्षा स्थगित

काठमाडौं । सरकारले भोलि(चैत ६ गते) देखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस(कोभिड १९) को संक्रमण र त्रास बढिरहेको बेला सरकारले एसईईको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले पूरक निर्णय गर्दै एसईई रोक्ने निर्णय भएको विकासन्यूजलाई जानकारी दिए । काेराेना भाइरस (कोभिड १९) काे रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको बताएकाे  छ। अब परीक्षा कहिलेदेखि सञ्चालन हुने हाे भने निर्णय आएको छैन । सरकारका तर्फबाट भने यसबारे आधिकारिक निर्णय सार्वजनिक भएको छैन । यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले एसईई परीक्षा सञ्चालन गर्ने निर्णय सार्वजनिक गरेको थियो । राष्ट्रिय परिक्षा बोर्डले एसईई परीक्षा चैत ६ गतेदेखि तोकेको थियो । यसवर्ष देशभरबाट ४ लाख ८२ हजार विद्यार्थी एसईइमा परीक्षामा सहभागी हुँदैछन् । ग्रेडवृद्धि परीक्षातर्फ १७ हजार विद्यार्थीहरु सहभागी हुँदैछन् र बाँकी सबै नियमित तर्फ छन् ।

कोरोनाको त्रासबीच फागुनमा करिब ५० हजार नेपाली विदेशीए

काठमाडौं । विश्व कोरोनाको त्रासमा रहेको अवस्थामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्ला महिनामा जस्तो छ । गत माघमा ४८ हजार ६ सय ७४ जना नेपाली विदेशीयका थिए भने फागुन महिनामा ४९ हजार ४ सय ५० नेपाली युवा बाहिरीयका छन् । जसमा ४५ हजार ४ सय ६८ पुरुषले भने ३ हजार ९ सय ८२ संख्यामा महिला रहेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । अर्थतन्त्रमा अबल रहेका देशहरुले नै आर्थिक संकट घोषणा गरेसँगै नेपाली अर्थतन्त्रको खम्बा डग्मगाएको छ । नेपालको कुल अर्थतन्त्रको २० प्रतिशत धार धान्ने रेमिट्यान्स गुम्ने हो कि भन्ने चिन्ता सरकारलाई छ भने लाखौं व्यक्तिको दैनिक गुजारा गर्नकै लागि विदेशीने युवाको संख्या यो महामारी (कोभिड १९) को संक्रमण फैलिदा पनि खासै नघटेको पाइयो । फागुन महिनाको अन्तिम सातादेखि सरकारले श्रम स्वीकृति बन्द गरेको थियो । नेपालीको स्वास्थ्य अवस्थाप्रति सरकारले मध्यनजर गर्दै श्रम स्वीकृति नै रोक्का गरिएको हो । फागुनको १ गतेदेखि २५ गतेसम्मको तथ्यांकनुसार यूएई जानका लागि सबैभन्दा बढी नेपाली युवा जनशक्तिले श्रम स्वीकृति लिएका छन् । १२ हजार १ सय ६ जनाले श्रम स्वीकृति लिएको यूएई पछि साउदीमा ११ हजार २ सय १५ जना, मलेसियाका लागि १० हजार ९ सय १५ युवाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै कतारमा ८ हजार ४ सय १३ जना बाहिरीय, कुवेत २ हजार २ सय ९२ जना, ७ सय ३० जनाले बहराइका लागि र जापानका लागि ५ सय ५१ जना विदेशीय जस्तै सो समयमा अन्य ८७ वटा मुलुकमा गएका छन् । गत वर्षको तथ्यांक हेर्ने हो, भने वार्षिक ५ लाखभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीका लागि देश छोड्नु पर्ने अवस्था रहेको छ । औसत भन्ने हो भने, दैनिक १२ सयभन्दा बढी नेपाली नागरिक विदेशीने गर्छन ।

उद्योगमन्त्री भट्टले भने: बजारमा कुनै वस्तुको अभाव छैन, भइहाले त्यसको जिम्मा म लिन्छु

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा दैनिक उपभोग्य सामानको अभाव भए त्यसको जिम्मेवार आफु हुने बताएका छन् । बुधबार मन्त्रालयमा भएको ‘कोरोना प्रभावः आपूर्ति व्यवस्था’ विषयक अन्तरक्रियामा मन्त्री भट्टले बजारमा दैनिक उपभोग्य वस्तु खाद्यान्न तथा औषधिलगायतका वस्तुको अभाव नभएको र सरकारले अभाव हुन नदिने बताएका छन् । उनले बजारमा कालोबजारी हुन नदिनका लागि सरकारले अनुगमनका तीव्रता दिएको बताउँदै उनले यदि वस्तुको अभाव भइहाले पनि त्यसको जिम्मेवारी आफु लिने बताएका छन् । ‘पेट्रोल, डिजेल, ग्यास, खाद्यन्न, औषधि र अन्य कुनै वस्तुको अभाव छैन, राज्यले अभाव हुन दिन्न, विभागीय मन्त्रीको हैसियतले त्यसको जिम्मा म र मेरो टिमले लिन्छ,’ उनले भने । मन्त्रालयले नियमित बजार अनुगमनलाई तिव्रता दिएको र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही पनि भइरहेको मन्त्री भट्टको भनाइ छ । उनले राज्यले कुनै पनि वस्तुको अभाव हुन नदिने प्रतिबद्धतासमेत जनाए । ‘हामीले अनुगमनलाई तिब्रता दिएका छौं, बजारमा वस्तुमा कालोबजारी हुन दिन्नौं, त्यस्ता कालोबजारी गर्नेलाई हदैसम्मको कारबाही गर्छौ,’ उनले भने । कार्यक्रमममा मन्त्री भट्टले पेट्रोल तथा सिलिण्डर घरमा राखेर दुर्घटनाको जोखिम नबढाउन सबैलाई आग्रह गरे । कार्यक्रममा सरोकारवालाहरुले पेट्रोलको मूल्य घट्ने सूचना सार्वजनिक भएलगत्तै पम्पहरु बन्द हुँदा उपभोक्ताहरु मारमा परेको बताएका थिए । खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्रमान बज्राचार्यले थोक पसलबाट सामान ढुवानी गर्दा केही समस्या उत्पन्न भइरहेको बताए । बजारमा भने कुनै पनि वस्तुको अभाव नभएको उनले बताए । कोरोना भाइरस  विश्वव्यापी प्रभावको असर नेपालमा पनि परेको छ । नेपाली बजारमा दैनिक उपभोग्य वस्तु समेत अभाव हुन थालेको उपभोक्ताहरुले गुनासो गरिरहेका छन् । यतिबेलै बजारमा दैनिक उपभोग्य सामानको कृतिम अभाव पनि मौलाएको छ ।

सिद्धार्थ बैंकका ग्राहकलाई त्रिपुरेश्वरको ब्लूक्रस हस्पिटलमा विशेष छुट

काठमाडौं । सिद्धार्थ बैंकका कर्मचारी तथा ग्राहकले काठमाडौंको त्रिपुरेश्वर स्थित ब्लूक्रस हस्पिटलको सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धि दुई कम्पनीबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात बैंकका कर्मचारीहरुले बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरी सो हस्पिटलमा स्वास्थ्य सेवा लिंदा १२ प्रतिशतसम्मको छुट र ग्राहकहरु तथा कर्मचारीका सदस्यहरुले सेवा लिँदा १० प्रतिशतसम्मको छुट पाउने छन् । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक सुरेश राज महर्जन र ब्लूक्रस हस्पिटलका तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् । बैंकले हाल १८५ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

कोरोना त्रासः अब अनावश्यक हिडडुल गर्न नपाइने, सबै सार्वजनिक स्थल पनि बन्द

काठमाडौं । सरकारले अत्यावश्यक काम बाहेक  बाहिर हिडडुल नगर्न निर्देशन दिएकाे छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय सतिमिको बैठकले सबैलाई अत्यावश्यक कामबाहेक अनावश्यक बाहिर हिडडुल नगर्न निर्देशन दिएकाे हो । समितिले विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नेपालमा भित्रिन नदिन यस्तो निर्णय गरेको हो । समितिले सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टीप्यालेस, मठमन्दिर, गुम्वा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने निर्णय गरेको छ । सोको अनुगमन गृह मन्त्रालय एवं संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गर्ने उल्लेख गरेको छ । कोरोना रोकथाम तथा संक्रमण हुन नदिनका लागि यसबाहेक समितिले अन्य १५ वटा महत्वपूर्ण निर्णय गरेको छ । साथै, समितिले कोरोना भाइरस रोगबाट संक्रमण भई उपचार गर्नुपर्ने भएमा त्यस्ता विरामीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुबाट उपचार गराउने व्यवस्था मिलाउने बताएको छ । समितिले सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जन स्थल, डान्सवार तथा क्लव आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको छ । यसको अनुगमन गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने उल्लेख गरेको छ । यस्तै, समितिले बजारमा उपभोग्य सामग्रीको कृतिम अभाव श्रृजना गर्ने, जम्माखोरी, कालो बजारी, मिसावट गर्ने, गराउनेलाई तत्काल प्रचलित कानून बमोजिम कार्वाही गर्ने, दैनिक उपभोग्य अत्यावश्यक सामग्रीहरुको पर्याप्त मौज्दात भएकोले आम उपभोक्तालाई आवश्यक भन्दा बढी सामग्रीहरु खरिद र अनावश्यक संचय नगर्न अनुरोध गर्ने उल्लेख गरेको छ । २०७६ चैत्र ६ गते देखि संचालन हुन गइरहेको एसइई परीक्षा केन्द्रहरुमा स्वास्थ्य जाँच सहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने समितिले जनाएको छ । तर, बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वविद्यालयहरुका पठनपाठन २०७६ चैत्र मसान्तसम्मका लागि बन्द गर्ने निर्णय भएको छ । यस्तै, होटेल, रेष्टुरेन्ट तथा सपिङ्ग महलका संचालकहरुलाई हात सफा गर्ने स्यानिटाइजरलगायत सफाइका सामग्रीहरुको प्रवन्ध गर्ने जनाएको छ । अवैध रुपमा लुकाइ राखिएका अवस्थामा फेला परी गृह मन्त्रालयबाट जफत गरिएका माक्सहरु मध्ये ५ लाख थान माक्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई र बाँकी माक्स साझा स्वास्थ्यसेवा सहकारी संस्था लिमिटेड मार्फत विक्री वितरण गर्ने प्रबन्धका लागि पठाउने उल्लेख गरेको छ ।