विकासन्युज

सेयर लगानीकर्ता ब्रोकरको अफिसमा जान नपाउने

काठमाडौं । लगानीकर्ताले धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) को अफिसमा गएर टिभीमा सेयर कारोबारको लाइभ हेर्न नपाउने भएका छन् । बोर्डले बढी भिडभाड नगर्न र लगानीकर्ता ब्रोकर अफिसमा आउने अवस्था निरुत्साहित होस भने यस्तो निर्णय गरेको हो । कोरोना संक्रमण सन्त्रासको कारण पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले स्क्रीन एक्जिविसन रुम बन्द गर्न निर्देशन दिएको कारण टिभी हेर्न नपाइने भएको हो । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले सेयर ब्रोकरलाई विभिन्न ५ बुदे निर्देशन दिएको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको विभिन्न निर्णय तथा सेयर लगानीकर्ता, धितोपत्र दलाल व्यवसायी र अन्य सरोकारवालासँगको परामर्शमा यस्तो निर्णय गरिएको बोर्डको भनाइ छ । नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले ‘अत्यावश्यक कामका बाहेक आवतजावत, हिडडुल नगर्ने, सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी मानिसहरु भेला नहुने, स्कूल, कलेज, सरकारी, सामूदायिक तथा निजी क्षेत्रका तालिम केन्द्र तथा प्रतिष्ठानहरु एवं निजी क्षेत्र क्षेत्रका शैक्षिक परामर्श केन्द्रहरुबाट संचालित कार्यक्रमहरु बन्द गर्ने’लगायतका विभिन्न १८ वटा निर्णय गरेको थियो । सोही निर्णयका आधारमा बोर्डले धितोपत्र बजार सम्बद्ध विभिन्न पाँच लगानीकर्ता संघले पेश गरेको ज्ञापन पत्र तथा उक्त पाँच लगानीकर्ता संघहरुका प्रतिनिधिहरु, स्टक एक्सचेञ्जका उच्च पदाधिकारीहरु, स्टक ब्रोकर एशोसिएसनका पदाधिकारी र बोर्डका पदाधिकारीहरु बीच कोरोना भाइरसका कारणबाट फैलिएको त्रास र यसवाट विभिन्न आर्थिक गतिविधिहरुमा परेको प्रभाव तथा असर सम्बन्धमा छलफल भएको थियो । उक्त छलफल पश्चात् नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको पछिल्लो निर्णय र बजार सम्बद्ध पक्षहरुको हालको परिस्थितिप्रतिको चासो तथा गाम्र्भियता समेतलाई दृष्टिगत गरी विभिन्न निर्णय गरिएको बोर्डको भनाइ छ । यस्ता छन् निर्णयहरु (१) धितोपत्र दलाल व्यवसायीहरुले स्क्रीन एक्जिविसन रुम बन्द गर्ने (२) कार्यालयमा कर्मचारी बाहेक एक पटकमा पाँच जनाभन्दा बढीको संख्यामा ग्राहकको भिडभाड नहुने व्यवस्था गर्ने । (३) कार्यालयमा कर्मचारीहरु तथा लगानीकर्ताहरु प्रवेश गर्दा हात सफा गर्ने, स्यानिटाइजर तथा मास्कको प्रयोग र तापक्रम मापन कार्य गर्ने व्यवस्था गर्ने । ४) कोरोना भाइरस तथा यसबाट बच्ने उपायहरु सम्बन्धी सूचनामूलक जानकारी प्रवेशद्वारमा राख्ने । (५) नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मिति २०७६।१२।०५ को सम्बन्धित निर्णयहरु कार्यान्वयन गर्ने व्यवस्था मिलाउने ।

टेलिकमले ल्यायो ‘एनटी सूचनाको संसार’ सेवा, ३२१०० नम्बर डायल गरी कोरोनाबारे निःशुल्क सुन्न सकिने

काठमाडौं । नेपाल टेलिकमले ‘एनटी सूचनाको संसार’ सेवा उपलब्ध गराएको छ । उक्त सेवामार्फत टेलिकमले कोरोना भाइरस (कोभिड–१९) बारे जानकारीमूलक सामग्री आफ्नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निःशुल्क सुन्न सकिने व्यवस्था गरेको हो । उक्त नम्बरमा कल गरे पश्चात् कोरोना भाइरस (कोभिड–१९) के हो, यसका लक्षणहरु, पैmलने तरिका, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनु पर्ने उपायहरु र अपनाउनु पर्ने सावधानी बारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरुका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । साथै यस सम्बन्धी थप जानकारी लिनका लागि नेपाल सरकारका हटलाइन नम्बरहरु समेत यहींबाट थाहा पाउन सकिन्छ । नेपाल टेलिकमले गत असार महिना देखि नै ‘एनटी सूचनाको संसार’ सेवा कम्पनीका मोबाइल ग्राहकलाई उपलब्ध गराइरहेको छ । यो एक प्रकारको कल–इन सिष्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी नेपाली भाषामा कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निःशुल्क प्राप्त गर्न सकिन्छ । विभिन्न जानकारीहरु नेपाली भाषामा सुन्न पाइने हुनाले ‘एनटी सूचनाको संसार’ सेवाबाट ग्राहकवर्ग लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

स्वदेश फर्किने विदेशी पर्यटकको घुइँचो

काठमाडौं । जर्मन नागरिक पेग्गी गेला बिहिबार काठमाडौं स्थित कतारवेजको टिकट काउण्टरमा लाइनमा व्यस्थ देखिन्थिन् । आफ्नै देश जर्मन फर्कनका लागि उनी निराश मुद्रामा एकोहोरो चिहाइरहेकी थिइन् । उनी निराश मात्र होइनन् थकित पनि उतिकै भएको उनको मुहारबाट प्रष्ट झल्किन्थ्यो । स्वदेश फर्किन पाइने होकि होइन भन्ने दोधारमा देखिन्थिन् उनी । उनी जस्तै त्यो पंक्तीमा सयौं विदेशी पर्यटकहरु पंक्तिवद्ध भएर लागेका थिए । ती सबैका मुहार निन्याउरा थिए । सबै आफ्नै देश फर्किने सुरसारमा थिए । तर, टिकट पाइन्छ वा पाइँदैन भन्ने उनीहरु निश्चित थिएनन् । विश्वभर कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलिरहेको बेला उनीहरु त्रासमात्र होइन स्वदेश पुगेपछि जे होस् भन्ने धारणा राखे । घुम्नका लागि नेपाल आएका उनीहरु निकै त्रसित र गम्भीर देखिन्थे । पेग्गीले चाँडोभन्दा चाडो आफु घर फर्किन चाहेको बताइन् । ‘आजर भोलीमात्र एयरलाइन्सहरु चल्ने भनिएको छ, यहाँ यत्रो लाइन छ, टिकट पाइन्छ कि पाइँदैन, समस्यामा परेँ,’ उनले भनिन् । सबै एयरलाइन्सहरु रद्ध भएकोले आफुहरुलाई स्वदेश फर्किन समस्या पारेको उनले बताइन् । धेरै विदेशी पर्यटक नेपालमै भएयकोले उनीहरुलाई स्वदेश फर्कन गाह्रो भइरहेको उनीहरुको गुनोसो छ । सरकारले अन्तर्राष्ट्रिय उडानहरु रोकेसँगै उनीहरुलाई घर फर्किन समस्या भएको हो । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका प्रवक्ता रुद्रसिँह तामाङले विदेशी पर्यटकले सहज रुपमा जान पाउने धारणा राखे । ‘लक डाउन गरेका देशका नागरिकले देश फर्कन सक्दैनन्, तर लक डाउन नगरेका नागरिकलाई हामी पठाइरहेका छौं,’ उनले भने । नेपालमा भएका विदेशी पर्यटकका सरकारसँग समन्वय गरेर उनीहरुलाई पठाउने उनको भनाइ छ । सरकारले विदेशी नागरिकको आगमनमा थप कडाइ गर्ने निर्णय गरेसँगै नेपालमा उडान गर्दै आएका १५ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान शुक्रबार मध्यरातिदेखि रोकिने भएको छ । कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार युरोपका सबै मुलुकबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएपछि उडान रोकिन लागेको हो । हाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २६ वटा विदेशी र तीन वटा नेपाली गरी २९ वटा एयरलाइन्सले उडान गर्दै आएका छन् । यो विमानस्थल बिहान ६ बजेदेखि मध्यराति ३ बजेसम्म सञ्चालन हुँदै आएको छ । समितिले पश्चिम एसियाअन्तर्गत खाडी मुलुक, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने तथा ती मुलुकलाई ट्रान्जिट बनाई जुनसुकै मुलुकबाट आउने यात्रुलाई २० मार्च (७ गते शुक्रबार) मध्यरातिदेखि लागू हुने गरी १५ अप्रिल (वैशाख ३ गते) सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । आवागमनमा सरकारले दोस्रोपटक गरेको कडाइसँगै मध्यपूर्वका एयर अरेबिया, फ्लाई दुबई, यूएईको इत्तिहाद एयरवेज, जजिरा एयरवेज, ओमन एयर, सलाम एयर र कतार एयरवेजको उडान रोकिने भएको छ । युरोप जोड्ने टर्किस एयरलायन्स तथा पूर्वी एसियाबाट काठमाडौं आउने हङकङको क्याथे ड्र्यागन, दक्षिण कोरियाको कोरियन एयर, मलेसियाको मलेसियन एयरलाइन्स मालिन्दो एयरको पनि शनिबार बिहानदेखि उडान रोकिने भएको छ । त्यस्तै मध्यपूर्वमा उडान गर्दै आएका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका उडान पनि रोकिने छन् । सरकारको निर्णयले भारत, थाइल्यान्ड, बंगलादेश, सिंगापुर र भुटानबाट नेपाल आउने तथा नेपालबाट यी मुलुक जाने एयरलाइन्सलाई रोकेको छैन । अस्ट्रेलिया, अमेरिकालगायतका मुलुकमा रहेका नेपाली राहदानीवाहकले यी मुलुक हुँदै काठमाडौं आउन सक्नेछन् । हाल भारतबाट इन्डिगो, एयर इन्डिया र भिस्तारा एयरलाइन्सले काठमाडौंका लागि उडान गर्दै आएका छन् भने बंगलादेशबाट विमान बंगलादेश, थाइल्यान्डबाट थाई एयर र थाई लायन एयरले उडान गर्दै आएका छन् । अन्तर्राष्ट्रिय एयरलाइन्स तथा तिनका उडानमा शनिबारदेखि कटौती हुने भएपछि २१ घण्टा सञ्चालन हुँदै आएको विमानस्थल सञ्चालनको समय पनि हेरफेर गर्नेबारे छलफल सुरु भएको प्राधिकरणले जनाएको छ ।

लोक सेवाका सबै लिखित परीक्षा स्थगित

काठमाडौं । लोक सेवा आयोगले लिने लिखित परीक्षा स्थगित भएका छन् । आयोगले ८ चैतदेखि चैत मसान्तसम्मका सबै प्रकारका लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरस सन्त्रासको कारण सरकारले उच्च सतर्कता अपनाइरहेको समयमा लोक सेवाले पनि आफ्ना सबै प्रकारका लिखित परीक्षा रोक्ने निर्णय गरेको हो । आयोगले निजामती कर्मचारी, सुरक्षा निकाय र संगठिन संस्थाको कर्मचारी भर्नाको लागि लिखित परीक्षा लिने गर्छ । कोरोन सन्त्रासको कारण आयोगले सबै परीक्षा रोक्ने निर्णय गरेको हो ।

हिमालयन बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप सहित १०० भन्दा बढी स्थानमा विशेष छुट

काठमाडौं । हिमालयन बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप सहित १०० भन्दा बढी स्थानमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा सेवा अभिबृद्धि गर्ने उदेश्यले, आफ्ना सम्पूर्ण ग्राहकलाई काठमाडौं, पोखरा, चितवन लगायत देशका विभिन्नस्थानमा विशेष छुटको व्यवस्था गरेको हो । यसै सन्दर्भमा बैंकले आफ्ना ग्राहकका लागि नेपालको हस्पिट्यालिटीको क्षेत्रको समुह सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीसँग एक सम्झौता पत्रमा हस्ताक्षर गरी उक्त समुहको नेपालका विभिन्न स्थानमा रहेका १९ वटा होटल, रिसोर्ट, रेष्टुराँ, क्याफेहरुमा १० प्रतिशतको आकर्षक तथा विशेष छुटको व्यवस्था गरेको छ । बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी तथा सिद्धार्थ बिजनेस ग्रुपका तर्फबाट निर्देशक प्रभाकर खड्काले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । बैंकका ग्राहकहरुले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, गहना गृह, कपडा, चश्मा तथा घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित समाग्री, खेलकुद समाग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक लगायत अन्य स्थानहरुमा आफु हिमालयन बैंकका ग्राहक भएको कुनै पनि परिचय (डेबिट÷क्रेडिट कार्ड, चेक बुक, स्टेटमेन्ट आदि) प्रस्तुत गरेमा भारी छुट पाउने छन् । बैंकले देशभरिका विभिन्न ७५ स्थानबाट सुरु गरेका विषेश छुटको व्यवस्था हाल बढेर १०० वटा भन्दा बढी स्थानमा लागु भएको तथा निकट भविष्यमा बैंकले यस योजना देशभरि कम्तिमा २०० वटा थप स्थानहरुमा विस्तार गरि आफ्ना ग्राहकवर्गहरुलाई छुट सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर सिन्धुलीमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सिन्धुलीाको कमलामाई नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा २९औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्रको शुभारम्भ गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गरेका हुन् । शाखा कार्यालय सिन्धुलीमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने छ । सो अवसरमा शाखा कार्यालय सिन्धुलीका शाखा प्रवन्धक खिलराज भट्टराई, सहायक शाखा प्रबन्धक बिनोद ओझा, जिल्ला प्रशासन कार्यालय सिन्धुलीका कर्मचारीहरुको लगायतको उपस्थिति रहेको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २३९ वटा शाखा कार्यालय, २९ वटा एक्सटेन्सन काउन्टर, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

सिजीका एयर कुलर नेपाली बजारमा

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले गर्मी महिनालाई लक्षित गरी विभिन्न किसिमका आकर्षक एवं गुणस्तरीय कुलर नेपाली बजारमा ल्याएको छ । सिजीले यी कुलरहरु विभिन्न प्रकार र साईजहरुमा उपलब्ध गराएको छ । जसमा डेजर्ट कुलर, पर्सनल कुलर, विन्डो कुलर र टावर कुलर रहेका छन् । हेर्दा निकै नै आकर्षक देखिने यी कुलरहरुमा अनेकौ विशेषताहरु पनि रहेका छन् । ती विशेषताहरुमा कन्सिड कपर मोटर, आल्मुनियम ब्लेड, ठुलो पानीको ट्याकि, हनिकम्ब प्याड, पावरफुल मोटर, मल्टिडाइमेन्सनल एयरफ्लो, कास्टोर मोविलिटि, आईस च्याम्बर, डस्ट फिल्टर नेट, कार्वन फिल्टर, भिटामिन सि फिल्टर, इनर्जी सेभिङ र इको फ्रेन्डली रहेका छन् । यी कुलरहरु सजिलैसँग चलाउन रिमोट पनि उपलब्ध गराएको छ । सबै भन्दा धेरै रेन्ज भएको कुलरहरु छानी छानी आफ्नो आवश्यता अनुसार सजिलै खरिद गर्न सकिनेछ । यी कुलरहरुमा १२ महिनाको वारेन्टी उपलब्ध गराएको छ ।

सेयर बजार बन्द गर्न लगानीकर्ताको माग, बोर्ड भन्छः छलफल गर्दैछौं

काठमाडौं । लगानीकर्ताले धितोपत्र बजार बन्द गर्न माग गरेका छन् । कोरोना भाइरसको विश्वव्यापी सन्त्रासको कारण अर्थतन्त्रमा तथा लगानीकर्ताको मनोविज्ञानमा परेको नकारात्मक असरका कारण बजार बन्द गर्नुपर्ने लगानीकर्ताको माग छ । लगानीकर्ताको माग अनुसार बजार बन्द गर्नको लागि छलफल अघि बढाइएको धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए । धितोपत्र क्षेत्रको नियामक निकाय बोर्ड भएपनि सर्वसाधारणको लगानी रहेको सम्पत्ति भोगचलनमै असर पर्ने गरी बजार बन्दको निर्णय गर्न हुने कि नहुने भन्ने द्विविधामा बोर्ड छ । कोरोना संक्रमणको सन्त्रासका कारण बजार बन्द गर्नुपर्ने माग आएपनि बन्दको निर्णय गर्ने कि नगर्ने भन्ने विषयमा अहिले नै यकिनसाथ भन्न नसकिने अध्यक्ष ढुंगानाले बताए । ‘कोरोना संक्रमण सन्त्रासको कारण बजार बन्द गर्नुपर्ने माग आएको छ, सन्त्रासको वातावरणमा बजार बन्द गर्नु उचित नै हुन्छ होला, तर बजार बन्द गर्दा लाखौं सर्वसाधारणको सम्पत्ति भोगचलनमा समस्या आउने भएकोले संविधान प्रदत्त सम्पत्ति माथिको हक कुण्ठित हुने भएकोले कसरी अघि बढ्ने भनेर सरोकारवालासँग छलफल गर्दैछौं,’ अध्यक्ष ढुंगानाले विकासन्युजसँग भने । बोर्डले निर्णय गरेर बजार धेरै दिन बन्द गर्न सक्दैन । बोर्डलाई बढीमा ५ दिन मात्रै बजार बन्द गर्न पाउने अधिकार छ । तर, सोभन्दा बढी समय बजार बन्द गर्नुपर्ने अवस्थामा सरकारको निर्णय चाहिन्छ । यसैकारण बोर्डले अर्थमन्त्रालयसँग आवश्यक समन्वय गरिरहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बजार बन्द गर्ने नगर्ने निर्णय गर्न समय बाँकी रहेको बताएका छन् । साताको अन्तिम दिन आज बजार खुलिसकेको र अब आइतबार मात्रै बजार खुल्ने भएकोले निर्णय गर्ने समय अझै २ दिन बाँकी भएकोले परिस्थितिको आकलन गरी उचित निर्णय लिन सकिने साउदको भनाइ छ । यसअघि २०७२ को शक्तिशाली भुकम्पको बेलामा २२ दिनसम्म बजार बन्द भएको थियो । सो समयमा आफूहरुको सम्पत्ति भोगचलन (खरिद विक्री) गर्न नपाएको भन्दै लगानीकर्ताले आलोचना पनि गरेका थिए । बजार बन्द भएको अवस्थामा सेयर किन्न वा बेच्न पाइदैन । बजार बन्द भएको बेलामा कसैलाई आफूसँग भएको सेयर विक्री गरेर नगद बनाउनु परेमा समस्या हुनेछ । तर, सन्त्रासको समयमा लगानीकर्ता आत्तिएर सस्तोमा बेच्न खोज्दा बजार क्र्यास हुने सम्भावना पनि रहन्छ । यसैकारण कतिपय अवस्थामा सरकारले निर्णय गरेर बजार बन्द गर्ने गरेका उदाहरण पनि छन् ।