विकासन्युज

सनराइज बैंकका ग्राहकले आइफोन र वान प्लस मोबाइल किस्तामा किन्न पाउने

काठमाडौं । सनराइज बैंकका ग्राहकले आइफोन र वान प्लस मोबाइल किस्तामा किन्न पाउने भएका छन् । सनराइज बैंक र आइफोनको आधिकारिक बिक्रेता ओलिज स्टोर प्रा.लि. बीच उक्त सम्झौता भएसँगै ग्राहकले उक्त सुविधा पाउने भएका हुन् । यस सम्झौता अन्तर्गत सनराइज बैंकका ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड प्रयोग गरि आइफोन र वान प्लस ब्राण्डका मोबाइल साथै म्याक बुक लगायतका विद्युतीय उपकरणहरु शून्य प्रतिशत ब्याजदरको किस्तामा किन्न सक्नेछन् । ग्राहकहरुले उक्त किस्ता ६ र १२ महिनाको अवधिमा सरल रुपमा तिर्न सक्ने बैंकले जनाएको छ । बैंकले हाल २००० भन्दा बढि मर्चेन्ट नेटवर्क, १५४ एटिएम , १३० शाखाहरु, ९ वटा एक्सटेन्सन काउण्टर, ४८ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ ।

सेलपे सेवाले ल्यायो सामसङ ग्यालेक्सी एस२० जित्ने अफर, कसरी हुने सहभागी ?

काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नयाँ योजना ‘२०२०-एस२० अफर’सुरु गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले लक्की ड्र मार्फत कुनै एक भाग्यसाली विजेताले एउटा नयाँ सामसङ ग्यालेक्सी एस२० जित्नेछन् । यो योजना चैत ७ गते देखि चैत २७ गते सम्म लागु हुनेछ । यस योजनामा सेलपेका ग्राहकहरुले न्युनतम २० रुपैयाँको कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट, पीटुपी फण्ट ट्रान्सफर (मर्चेन्ट भुक्तानी बाहेक) गरे, लक्की ड्र को लागि एउटा कोड नं. पाउनेछन्, सो कोड नं. लक्की ड्र को लागि छनोट हुनेछ । सोही कोडहरुबाट लक्की ड्र मार्फत कुनै एक भाग्यसाली ग्राहकले एउटा नयाँ सामसङ ग्यालेक्सी एस२० जित्ने मौका पाउनेछन् । यसका कसाथै ७ जना भाग्यसाली ग्राहकहरुले हरेक हप्ता पेलेस, एड्रेस लङज र एक्स-एजबाट विभिन्न उपहारहरु पाउनेछन् । यो योजना नयाँ तथा पुराना दुबै ग्राहकहरुको लागि लागू हुनेछ । जसमा नयाँ ग्राहकहरुले सेलपे एप्प डाउनलोड गरेर आफ्नो बैंक खाता लिंक गरे पश्चात न्युनतम २० रुपैयाँको कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट, पीटुपी फण्ट ट्रान्सफर (मर्चेन्ट भुक्तानी बाहेक) को कारोबार गरी यस योजनामा सहभागी हुन पाउनेछन् ।

ललितपुरको विद्यालयलाई नेपाल बंगलादेश बैंकको आर्थिक सहयोग

काठमाडौं । नेपाल बंगलादेश बैंकले ललितपुरको इमाडोलस्थित श्री महेन्द्र आदर्श माध्यमिक विद्यालयलाई ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चैत ६ गते विद्यालयलाई सो मात्राको रकम हस्तान्तरण गरेको हो । विद्यालयलाई आवश्यक परेको डिजिटल स्क्रोलिङ सूचना बोर्ड जुटाउनका लागि बैंकले सो रकम उपलब्ध गराएको हो । यो सहयोगले विद्यालयमा महत्वपूर्ण सूचना प्रदान गर्नको लागि सहज हुने विद्यालयका प्रधान अध्यापक एक बहादुर भण्डारीले जानकारी गराए । यसका साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ । बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले उक्त नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने बैंकको लक्ष्य रहेको छ ।

टेलिकमले परिवर्तन गर्यो रिङ व्याक टोन, दिन थाल्याे यस्ताे सन्देश

काठमाडौं । नेपाल टेलिकमले आफ्नो जीएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने रिङ व्याक टोनलाई परिवर्तन गरेको छ । हाल नोबेल कोरोना भाइरस(कोभिड-१९) महामारीको रुपमा विश्वभर फैलिइरहेको र नेपाल पनि उक्त भाइरस संक्रमणको उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले प्रक्षेपण गरेको अवस्थामा यसबाट हुनसक्ने सम्भावित संक्रमण तथा बच्ने उपायहरुका बारेमा जनचेतना फैलाउन कम्पनीले आजबाट उक्त टोन परिवर्तन गरेको हो । सो अनुसार स्वदेश वा विदेशका जुनसुकै नम्बरबाट नेपाल टेलिकमको जीएसएम मोबाइल नम्बरमा कल गर्दा ग्राहकले कल नउठाउँदासम्म कल गर्ने व्यक्तिले कोरोना भाइरसबाट हुने संक्रमणका लक्षण, भाइरसबाट बच्ने उपाय आदि जानकारी निःशुल्क रुपमा सुन्न सक्नेछन् । यसैगरी कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारको निर्देशन समेतको आधारमा सार्वजनिक सक्रियता तथा गतिविधि नियन्त्रित गर्नुपर्ने भएकाले नेपाल टेलिकमका सेवाहरुको महशुल भुक्तानी तथा रिचार्जका लागि यथासम्भव विद्युतीय माध्यमको प्रयोग गर्न कम्पनीले ग्राहकवर्गमा आह्वान गर्दछ । सो अनुसार कम्पनीका सेवाहरुको महशुल भुक्तानी गर्नका लागि टेलिकमका ग्राहक सेवा केन्द्रहरु खुल्ला रहने भए तापनि वैकल्पिक उपायहरु उपयोग गरी घरमै बसी सहज रुपमा महशुल भुक्तानी गर्न ग्राहकवर्गमा अनुरोध गर्दछ । भुक्तानीका वैकल्पिक उपायहरु निम्न रहेका छन्ः (१) रिचार्ज कार्ड, (२) इलेक्ट्रोनिक भुक्तानी (एमपोस), (३) कम्पनीको वेबसाइट www.ntc.net.np तथा मोबाइल एप्लिकेसन, (४) ई–बैंकिङ, ई–कमर्स तथा मोबाइल बैंकिङ र (५) कुनैपनि बैंकको भिसा तथा मास्टर कार्ड प्रयोग गरी कम्पनीको वेबसाइटबाट रिचार्ज गर्ने । उक्त भाइरसबाट हुनसक्ने सम्भावित संक्रमण र सोबाट सुरक्षित रहन तथा संक्रमण नियन्त्रणको लागि गरिने प्रयासका क्रममा आउन सक्ने जुनसुकै परिस्थितिमा पनि नेपाल टेलिकमले आफ्नो सेवा चुस्त दुरुस्त राख्न सबै प्रयत्नहरु जारी राख्ने र ग्राहकवर्गलाई स्वस्थ र सुरक्षित रही कम्पनीका भ्वाइस, एसएमएस, डाटा/इन्टरनेट आदि सेवाहरु उपयोग गर्न अनुरोध गर्दछ । मुलुकको आवश्यकता र ग्राहकवर्गको सुविधाका लागि कम्पनीले कुनैपनि विषम परिस्थितिमा संभव भएसम्म सबै प्रयासहरु जारी राख्ने व्यहोरा पनि ग्राहकवर्गलाई अनुरोध गर्दछ ।

प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र प्रभु बैंकको संयुक्त आयोजनामा जुम्लाको खलंगामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएकोे छ । भौगौलिक रुपमा विकट रहेको सो जिल्लाका महिलालाई वित्तीय साक्षरता अभिवृद्धि गर्ने उदेयश्का साथ आयोजित कार्यक्रम जुम्ला सदरमुकाम खलंगामा सम्पन्न भएको हो । कार्यक्रममा चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले वित्तीय पहुँचमा महिला पुगेपनि चेतनाको अभावले उत्पादनमुखी क्षेत्रमा लगानी नभएको बताए । बचतसँगै, सीप तथा रोजगारमुलक क्षेत्रमा लगानी गर्न नगरपालिकाले पनि सघाउने बताउँदै उनले सहकारी तथा वित्तीय क्षेत्रले पनि वित्तीय साक्षरता अभियान सञ्चालन गर्न सुझाव दिए । जुम्लामा पुरुषको तुलनामा महिला आर्थिक रुपमा सबल बन्दै गएको तथा बाह्य तथा आन्तरिक आर्थिक कारोबारमा समेत महिलाको पहुँच वृदि हुँदै गएको बताए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले पैसाको महत्वबारे जानकारी गराउदै आवश्यक परेको ठाउँमा मात्र पैसा खर्च गर्नुपर्ने बताए । धनपैसा जीवनमा नभई नहुने भएकाले यसलाई सही सदुपयोग गर्न उनले आग्रह गरेका छन् । कार्यक्रममा प्रभू बैंक कर्णाली प्रदेश प्रमुख शरद तिमल्सिनाले गाउँ गाउँमा बैंक विस्तार गरिसकेकाले पनि सवैमा वित्तिय साक्षरता बढाउँदै जानुपर्ने बताए । उनले सुगममा मात्र नभएर दुर्गम क्षेत्रमा पनि बैकिङ्ग सेवा विस्तार गरिसकेकाले सर्वसाधारणलाई यसबाट लाभ लिन आग्रह गरेका छन् । कार्यक्रममा सेजनका अध्यक्ष भीम गौतमले ग्रामिण क्षेत्रमा सहकारी तथा वित्तीय क्षेत्रमार्फत करोडौंको आर्थिक कारोबार हुने तर उत्पादनमूलक क्षेत्रमा लगानी नहुने, कारोबारबारे महिलानै स्पष्ट नहुने भएकाले वित्तीय साक्षरता सञ्चालन गरिएको बताए । आफ्नो पुँजीलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्न उनले महिलालाई आग्रह गरेका छन् । कार्यक्रममा झन्डै ४० जनाको सहभागिता रहेको थियो । वित्तीय साक्षरता कार्यक्रमका सहभागी महिलाले शिक्षाकै अभावले उत्पादनमुखी क्षेत्रमा लगानी नभएको बताए । महिलालाई घरदेखि बाह्य आर्थिक कारोबारमा सक्रिय बनाउने, सहजै हिसाबकिताब राख्न सक्ने, आफ्नो बचत र ऋण सही ठाउँमा उपयोग गर्ने लगायतका विषयमा कार्यक्रममा जानकारी दिइएको थियो ।

कामना सेवाको मोबाईल बैंकिङबाट टपअप गर्दा २५ प्रतिशत क्यास ब्याक पाइने

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो मोबाईल बैकिङ एपबाट टपअप गर्दा २५ प्रतिशत क्यास ब्याक प्रदान गर्ने भएको छ । एफ वान सफ्टको सहकार्यमा सीमित अवधिको लागि यो योजना ल्याएको हो । यो सुविधा मोबाईल बैकिङ्ग एपबाट पहिलो पटक टपअप गर्ने ग्राहकले मात्र प्राप्त गर्ने छन् । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले १२३ वटा शाखा तथा ६४ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

सर्वोच्च अदालतमा शुक्रबार मुद्दाको सुनुवाइ नहुने

काठमाडौं । सर्वोच्च अदालतले विश्वभरि नै फैलिरहेको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट बच्न पूर्ण बैठक बस्ने तय गर्दै शुक्रबार मुद्दाको सुनुवाइ स्थगन गरेको छ । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार कोरोनाको सम्भावित सङ्क्रमणलाई न्यूनीकरण गर्ने उपायका बारेमा प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक बस्ने तय भएको हुनाले शुक्रबार सुनुवाइ स्थगन गरेको हो । शुक्रबार बिहान ११ः०० बजे बस्ने तय भएको पूर्ण बैठकले अदालत बन्द गर्ने वा अतिआवश्यकबाहेक अरु बन्द गर्ने भन्ने विषयमा निर्णय गर्ने भएको छ । यही चैत ४ नेपाल बार एशोसिएसनले विश्वभरि नै कोभिड–१९ फैलिरहेका अवस्थामा अत्यावश्यक कामबाहेक अन्य सेवा प्रवाह नगर्ने निर्णय गर्न सर्वोच्च अदालत समक्ष अपिल गरेको थियो । बारले प्रेस विज्ञप्तिमा मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा गम्भीर भई कम्तीमा एक महिना सेवा प्रवाहमा कटौती गर्न जनाएको छ । अदालतले नियमित परीक्षण गरेर मात्र सेवा प्रवाह गर्न शुरु गर्ने व्यवस्था मिलाउनुपर्ने वा उक्त व्यवस्था गर्न नसकिएमा बन्दी प्रत्यक्षीकरणको अत्यावश्यकबाहेकको सेवा प्रवाह नगर्ने निर्णय गर्न बारले अपिल गरेको हो । अदालतसँग धेरै सेवाग्राहीको भीडभाड हुने र भीडभाडमा कोरोनाको सङ्क्रमणको सम्भावना हुनेहुँदा सङ्क्रमणको सम्भावनालाई न्यूनीकरण गर्न माग गरिएको थियो । सर्वोच्च अदालत बार एशोसिएसनले यही चैत ४ गते नै आकस्मिक बैठक बसी कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी कम्तीमा तीन हप्ताका लागि अदालत बन्द गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको थियो । सर्वोच्च अदालतले बारको अपिललाई ध्यानमा राख्दै शुक्रबारका लागि पूर्ण बैठक तय गरको हो । शुक्रबारका लागि सम्पूर्ण मुद्दाको सुनुवाइ बन्द गर्ने भएको छ । रासस

चैतभर पत्रपत्रिका बन्द गर्ने प्रस्ताव

काठमाडौं । विश्वभर कोरोना संक्रमण बढिरहेको बेलामा नेपाल पनि यसबाट बच्न सतर्कता अपनाइएको छ । कोरोना संक्रमणबाट बच्नको तत्कालका लागि १८ बुँदे निर्णय गरेर कार्यान्वयन गरिरहेको छ । सरकारको सोही निर्णको आधारमा अधिकांश अन्तराष्ट्रिय हवाई उडानहरु रोकिएका छन् । सिमित संख्याका विदेशी एयरलाइन्सका उडानले मात्रै नेपालमा प्रवेश पाउने व्यवस्था गरिएको छ । यस्तै, सरकारले आजदेखि सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गरेको छ भने विश्वविद्यालय, सिटिइभिटी, लोक सेवा आयोग जस्ता निकायले लिने सबै प्रकारका लिखित परीक्षा स्थगित भएका छन् । सरकारले अतिआवश्यक काम नपरी घरबाहिर ननिस्कन र २५ जनाभन्दा बढी भेला नहुन निर्देशन नै जारी गरेको छ । यही संकट र सन्त्रासको कारण पत्रपत्रिका बन्द गर्ने प्रस्ताव आएको छ । समाचार संकलन, सम्पादन, प्रकाशन तथा विक्री वितरण कार्यका लागि ठूलो मात्रामा जनशक्ति परिचालन हुनुपर्ने भएकोले पत्रपत्रिका बन्द गर्ने प्रस्ताव आएको प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए । ‘समाचार संकलन तथा सम्पादन प्रक्रियामा ठूलो संख्यामा जनशक्ति संलग्न हुन्छ, त्यसपछि प्रेसमा लगेर छाप्ने तथा छापिएका पत्रपत्रिका ग्राहकको घर वा कार्यालयसम्म वितरण गर्ने प्रक्रियामा अर्काे ठूलो जनशक्ति परिचालन हुन्छ, यस्तो सन्त्रास र समस्याको बीचमा संचालन गर्न समस्या पर्ने हुँदा पत्रपत्रिका बन्द गर्ने कि भन्ने प्रस्ताव आएको छ, हामी छलफल गरिरहेका छौं,’ कार्यबाहक अध्यक्ष श्रेष्ठले विकासन्युजसँग भने । पत्रपत्रिका बन्द गर्ने प्रस्ताव आएपनि काउन्सिलले निर्णय भने गरिसकेको छैन । सरकारले सिमेमा हल, डान्सबार, सबै प्रकारका परीक्षा, जीम सेन्टर, स्वीमिङ पुल, नाटक घर जस्ता क्षेत्रहरु चैत महिनाभर बन्द गर्ने निर्णय गरेकोले पत्रपत्रिका पनि सो अवधिसम्मको लागि बन्द गर्ने प्रस्तावमा छलफल भएको हो ।