विकासन्युज

चैत २१ गतेसम्म अदालत बन्द हुने

काठमाडौं । सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठकले यही चैत २१ गतेसम्म सम्पूर्ण अदालत बन्द गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीशसहित न्यायाधीशको शुक्रबार(चैत ७ गते) बसेको बैठकले दुई हप्ता बन्दी प्रत्यक्षीकरणको मुद्दाबाहेक अरु सबैको सुनुवाइ नहुने गरी सर्वोच्च अदालतसहित सबै अदालत बन्द गरिने निर्णय गरेको अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए। रासस

समृद्धि फाइनान्सको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले सेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केटलाई नियुक्त गरेको छ । कम्पनीले आफ्नो सेयर सम्बन्धी सम्पूर्ण काम गर्नको लागि उक्त मार्केटलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । सो सम्बन्धि दुई संस्थाबीच चैत ७ गते सम्झौता भएको कम्पनीले जनाएको छ ।

अत्यावश्यक वस्तुको कृत्रिम अभाव र अस्वभाविक मूल्यबृद्धि रोक्ने हो भने…

काठमाडौं । कुनै पनि महामारीको समयमा बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुने गर्छ । यस्तो बेलामा सामान्यतः आवश्यकता र अभावले भन्दा पनि चाहिने सामान पाइदैन कि भन्ने मनोविज्ञान हावी हुँदा उपभोक्ताले बढी संचय गर्ने गर्छन् । यसैकारण बजारमा अभाव र मूल्यबृद्धिको सम्भावना रहन्छ । तर, दैनिक उपभोग्य वस्तुको उत्पादनदेखि उपभोक्तासम्म पुग्दा विभिन्न तहमा विभिन्न प्रकारका संयन्त्र परिचालित हुन्छन् । उदाहरणको रुपमा उत्पादक, ढुवानीकर्ता, होलसेलर, खुद्रा व्यापारी वा भण्डारण केन्द्रसम्मलाई लिन सकिन्छ । आयातित वस्तुको सन्दर्भमा हो भने आयात गरिने देशको परिस्थितिले पनि कतिपय कुराहरु निर्धारण गर्ने गर्छ । अब पछिल्लो समय देखिएको कोरोना भाइरस सन्त्रासको कुरा गरौं । विश्वभर संक्रमण फैलिरहेको कोरोना भाइरस नेपालमा भने देखिएको छैन । नेपालमा कोरोना भाइरसको संक्रमण नदेखिए पनि सतर्कताको लागि सरकारले विभिन्न उपायहरु अबलम्बन गरेको छ । आम नागरिकमा पनि सन्त्रास व्यप्त छ । यही सन्त्रासको बीचमा पहिलो चरणमा भाइरस वा व्याक्टेरियाबाट बच्न प्रयोग गरिने पहिलो चरणका बस्तुहरु स्यानिटाइज, मास्क, ह्याण्डवास जस्ताको अभाव देखियो । अहिले बजारमा मास्क, स्यानिटाइजर र ह्याण्डवासको अभाव त्यति धेरै छैन । तर, कोरोना संक्रमण देखिनुअघि प्रतिपिस ५ रुपैयाँमा पाइने मेडिकल मास्कको मूल्य अहिले २५ देखि ३० रुपैयाँ पर्छ । स्यानिटाइजरको मूल्य पनि बढेको छ । कोरोना संक्रमणबाट बच्न सरकारले पहल सुरु गरेसँगै बजारमा दैनिक उपभोग्य बस्तुको अभाव सिर्जना भएको छ । सरकार तथा विक्रेता र भण्डारणकर्ताहरुले पर्याप्त मौज्दात छ भन्दाभन्दै पनि खाना पकाउने ग्यास, चामल, दाल, गेडागुडी जस्ता केही वस्तुको अभाव देखिएको छ । यस्तै, कतिपय स्थानमा औषधीको अभाव भएका समाचारहरु पनि आइरहेका छन् । कोरोेना सन्त्रासको कारण संक्रमण रोक्नभन्दै सरकारले स्कूल तथा विश्वविद्यालय तहका सबै प्रकारका परीक्षा स्थगित गरेको छ । लोक सेवा आयोग, सिटीइभिटी जस्ता निकायले लिने सबै प्रकारका परीक्षा पनि रोकिएका छन् । होटल, डान्सबार, सिनेमाघर, जीम सेन्टर, पार्टी प्यालेस जस्ता धेरै मासिनको जमघट हुने स्थानहरु पनि बन्द गरिएको छ । घरमै बसेर काम गर्दा पनि हुने प्रकारको काम गर्ने कार्यालयहरुले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न भनेको छ भने केही समय काम रोक्दा पनि हुने प्रकारका काम गर्ने गराउने कार्यालयहरुले कर्मचारीलाई विदा दिन थालेका छन् । सरकारी निर्णय तथा सर्वसाधारणको स्वशतर्कताको कारण काठमाडौं उपत्यकामा भीडभाड ज्यादै कम देखिएको छ । उपत्यकाभित्र चल्ने स्थानीय सवारी साधन कम भएका छन् । चलेका सवारी साधनमा पनि यात्रुको संख्या निकै न्यून छ । चोक तथा, सडक तथा गल्लीहरुमा पैदलयात्रीको संख्या असाध्यै कम छ । पछिल्ला केही दिनयता काठमाडौं उपत्यका निकै सुनसान भएको आभास मिलेको छ । उपत्यकाबाट आआफ्नो घरतिर जाने यात्रुको संख्या ह्वात्तै बढेको छ । यसले गर्दा करिब ४० लाख मानिस बस्ने अनुमान गरिएको काठमाडौं उपत्यकाको लागि चाहिने दैनिक उपभोग्य र अत्यावश्यक बस्तुको आपूर्तिमा केही सहजता उत्पन्न भएको छ । तर, अझै पनि केही वस्तुहरुको अभाव कायमै छ । संकट र सन्त्रासको बेलामा देखापर्ने कृत्रिम अभाव र अस्वभाविक मूल्यबृद्धि नियन्त्रण गर्न सरकारले प्रयास गरेपनि अपेक्षित सफलता प्राप्त नहुन सक्छ । नेपालको सन्दर्भमा पनि संकट र सन्त्रासको बेलामा अत्यावश्यक र दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न सरकारी प्रयास कामयावी नभएको उदाहरण प्रसस्त छन् । यस्तो बेलामा सरकारले आफ्ना जुन जुन संयन्त्रलाई परिचालन गर्दा बढी सफलता प्राप्त हुन्छ, त्यतातिर बढी ध्यान दिनुपर्छ । जस्तो कि दैनिक उपभोग्य बस्तुको विक्री वितरणमा सरकारी सहभागिता एकदमै न्यून छ । तर, सरकारले दशैं, तिहार जस्ता ठूला चाडवर्पमा सहुलियत पसल राख्ने गरेको अनुभव छ । अहिले पनि सरकारका व्यापारिक संस्थाहरु, साल्ट ट्रेडिङ, नेसनल ट्रेडिङ, खाद्य संस्थान, दुग्ध विकास संस्थान जस्ता निकायलाई सक्रिय बनाएर दैनिक उपभोग्य वस्तुको आपूर्ति बढाउन पहल गर्नु उचित हुन्छ । सरकार आफैले पनि यस्ता पसल संचालन गर्ने घोषणा गरिसकेकोले कार्यान्वयन छिटो गर्नु जरुरी छ । सरकारका व्यापारिक संस्थाहरुले निश्चित स्थानहरुमा आफ्ना स्टलहरु राखेर विक्री गर्दा त्यसले ठूलो योगदान त पुर्याउदैन तर सांकेतिक हस्तक्षेप भने हुन्छ । सर्वसाधारणले सरकार भएको महसुस गर्छन् र त्रास कम हुन्छ । अभाव र संकटको बेलामा सरकारले पहल गर्छ भन्ने सन्देश प्रभाव भएमात्रै पनि बढी संचय गर्ने प्रबृत्ति निरुत्साहित हुन्छ । यस्तो बेलामा सरकारले बढी ध्यान दिने भनेको नियतबश कृत्रिम अभाव सिर्जना गर्ने तथा अस्वभाविक मूूल्य बृद्धि गर्ने प्रबृत्ति कसरी नियन्त्रण गर्ने भन्नेमा हो । हुन त सरकारी निकायहरु बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमन गरिरहेको छ । प्रहरीले पनि बजार अनुगमन गरिरहेको छ । तर, बाणिज्य विभाग र प्रहरीले गर्ने बजार अनुमगन त्यति प्रभावकारी हुने गरेका छैनन् । ती निकायका कुनै अधिकारीलाई चर्चामा आउनु पर्यो भने वा सस्तो लोकप्रियता कमाउन मन लाग्यो भने बजार अनुगमनको नाटक गर्ने गरेका प्रसस्त उदाहरण छन् । बजार अनुगमनभित्रका कुत्सित उदेश्य र हर्कतको बारेमा बेलाबेलामा प्रश्न उठ्ने गरेको पनि छ । बाणिज्य विभाग र प्रहरीले गर्ने बजार अनुगमनको महत्व त छ, तर सो अनुगमन त्यति प्रभावकारी नहुनु र आलोचनायुक्त हुनुका खास कारण छन् । ती कारण के हो भने बजारमा कस्ले उत्पादन गर्छ, कसले भण्डारण गर्छ, होलसेल विक्रेता को हो, आपूर्ति प्रणालीमा कहाँ समस्या छ भन्ने जानकारी बाणिज्य विभाग वा प्रहरीलाई हुदैन । जस्तो अहिले मास्कको मूल्यबृद्धिलाई नै लिउँ । कुनै मेडिकल पसलले होलसेलरबाट प्रतिपिस २० रुपैयाँमा मास्क ल्याएको छ भने उसले पहिलोको जस्तै प्रतिपिस ५ रुपैयाँमा बेच्न सक्दैन । तर, बाणिज्य विभाग वा प्रहरीले बजार अनुगमन गर्दा महंगोमा मास्क बेच्न फलानो मेडिकललाई यति जरिवाना गरियो भन्न सक्छ । यसरी समस्याको समाधान हुदैन । यसको विकल्प राजस्व प्रशासनसँग छ । देशभर रहेका कर कार्यालयहरुलाई आफ्नो क्षेत्रको मास्क उत्पादक वा आयातकर्ता को हो, त्यसको डिष्टिब्यूटर को हो, होलसेल व्यापारी को हो, उनीहरुले कुन कुन फर्म वा व्यापारिक संस्थालाई बेच्ने गरेका छन्, कुन खुद्रा पसलले के कस्तो सामान बेच्छन् भन्ने जस्ता यावत जानकारी हुन्छ । मास्कलाई उदाहरणको रुपमा प्रस्तुत गरिएको हो । यस्तै जानकारी, तेलको हुन्छ, ग्यासको हुन्छ, पेट्रोलियम पदार्थको हुन्छ, दालको हुन्छ, चामलको हुन्छ, औषधीको हुन्छ, लत्ताकपडाको हुन्छ, अर्थात सबै कुराको हुन्छ । कर कार्यालयले आफ्नो क्षेत्रको सबै प्रकारका उत्पादक, आयातकर्ता, वितरक वा विक्रेताको विवरण संकलन गर्न सक्छन् । यसरी संकलन गरिएको विवरणको आधारमा बाणिज्य विभागसँग समन्वय गरेर बजार अनुगमन गर्नुपर्छ । यसरी गरिने बजार अनुगमन सस्तो लोकप्रियता वा कुनै अधिकारीको चाहना परिपूर्ति गर्ने प्रकारको नभई समस्याको समाधान गरेर सर्वसाधारणलाई अत्यावश्यक वा दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्नेगरी हुनुपर्छ । बजारमा अभाव देखिएका बस्तुको उत्पादन वा आयातको लागि पहल गर्न पनि यस्तो तथ्यांक संकलन गरेपछि अझ प्रभावकारी हुन्छ । यसरी सहज आपूर्ति व्यवस्था मिलाउन व्यवहारिक रुपमा भने गाह्रो छ । किनभने राजनीतिक नेतृत्व र कर्मचारी संयन्त्र यसरी समन्वयमा काम गर्न तयार नभएका विगतका तिता अनुभवहरु धेरै छन् । बजारमा दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति भयो भने वाणिज्यमन्त्रीले जस पाउँछन् भन्दै अर्थमन्त्रीले राजस्व प्रशासनलाई यसरी प्रयोग गर्न गराउन असहयोग गर्न सक्छन् । वाणिज्य तथा आपूर्ति प्रणालीमा कार्यरत कर्मचारी संयन्त्रले बढी स्वावासी पाउँछन् भनेर राजस्व प्रशासनका कर्मचारीले हाम्रो काम होइन भन्दै असहयोग गर्न सक्छन् । तर, कुनै व्यक्ति विशेष वा पार्टीको गुट विशेषलाई फाइदा वा घाटा के कस्तो हुन्छ भन्ने हिसाव किताव गर्ने यो समय हुँदैहोइन । मानवीय संकटको बेलामा सबैले गम्भीरतापूर्वक काम गर्ने हो भने समाधान गर्न नसकिने समस्या देखिएको छैन ।

काेराेना प्रभाव: सवारीमा अनुगमन तीव्र, मापसेको कक्षा लिनु नपर्ने

काठमाडौं । बिश्वव्यापी रूपमा फैलिदै गएको कोभिड-१९ (कोरोना) भाईरस संक्रमणबाट बच्न सतर्कता अपनाउदै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सेवाहरू प्रदान गर्न थालेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार कोरोना भाईरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महाशाखाले विशेष अभियानबाट यात्रु माथि हुने जोखिमलाई मध्येनजर गरी उपत्यकाका मुख्य मुख्य बसपार्क एवम् भिडभाड हुने स्थानहरूमा नागरिकलाई सचेतना जगाउने तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउने गरि प्लेकार्डसहितको ट्राफिक प्रहरी टोली आज शुक्रबारदेखि खटाईएको छ । उनले भने- ‘यस विशेष टोलीले सीट क्षमताअनुसार मात्र यात्रु राख्न, यात्रुहरूलाई कोचिएर यात्रा नगर्न, सधैँ मास्क लगाएर यात्रा गर्न, भिडभाड गरी नबस्न विशेष अनुरोध गर्नेछन् ।’ महाशाखा तथा मातहतका ट्राफिक कार्यालयहरूबाट उपत्यकाको ८६ स्थानमा २०० भन्दा बढी ट्राफिक प्रहरीहरू परिचालन गरी यो विशेष अभियान सञ्चालन गरिरहेको महाशाखाका प्रमुख ढकालले बताए । सचेतना कक्षा बन्द ट्राफिक महाशाखाले मादक पदार्थ सेवन, लेन अनुशासन उल्लङ्घन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालक उपर दिदै आएको सचेतना कक्षा हाललाई स्थगित गरेको छ । महाशाखाका प्रमुख ढकालले भने- ‘मादक पदार्थ सेवन, लेन अनुशासन उल्लङ्घन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालकलाई दिदै आएको सचेतना कक्षा हाललाई स्थगित गरिएको छ ।’ ट्राफिक प्रहरीको कारवाहीमा परेका कागजपत्रहरु नियमानुसारको जरिवाना तिरेर लान सकिने व्यवस्था महाशाखाले मिलाएको छ । अत्यावश्यक अवस्थामा मात्र सावधानीपूर्वक मापेस चेकिङ ट्राफिक महाशाखाले दैनिक रूपमा हुदैँ आएको मापसे लगायत अन्य चेकिङहरू अति आवश्यक अवस्थाबाहेक अन्य अवस्थामा नगर्ने तर चेकिङ गर्नुपर्ने अवस्थामा सावधानीपूर्वक चेकिङ गर्ने व्यवस्था मिलाईएको जनाएको छ । यस विषम परिस्थितिमा सम्पूर्ण सवारी चालकहरूलाई मापसे लगायत अन्य ट्राफिक नियम उल्लङ्घन गरी सवारी नचलाईदिन महाशाखाले विशेष अनुरोध गरेको छ । त्यस्तै सार्वजनिक सवारी साधनलाई कोभिड-१९ (कोरना) भाईरस संक्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गरे नगरेको तथा सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको अनुगमन आजदेखि तीव्र पारेको महाशाखाले जनाएको छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले कोरोनाविरुद्ध जनचेतना र सावधानीका लागि आजदेखि कार्यालयको मूलगेटमा साबुन पानीले हात धुने र ज्वरो नापेर मात्र कार्यालयमा छिर्ने व्यवस्था गरिएको बताए । एसपी श्रेष्ठले भने, ‘ट्राफिक महाशाखाको मूलगेट अगाडि बाल्टिनमा पानी र साबुन राखिदिएका छौं । ज्वरो नापेर र हात धोएर मात्र भित्र जानुहोला भन्ने सूचना समेत मूलगेट अगाडि राखेका छौं । कार्यलयमा प्रहरी कर्मचारी होस् वा सेवाग्राही आगन्तुकलाई साबुन पानीले हात धोएपछि मात्र भित्र प्रवेश गर्ने व्यवस्था मिलाएका छौं ।’ महाशाखाका मातहतका ट्राफिक कार्यालयहरूमा पनि आज विहानैदेखि साबुन-पानीले हातधुने व्यवस्था मिलाउन निर्देशन गरिसकेको महाशाखाले जनाएको छ । ‘यात्रु तथा सडक प्रयोगकर्ताहरूलाई लक्षित गरी कोरोना भाईरस संक्रमणको जोखिमबाट सुरक्षित रहनको लागि  विशेष अभियानमा ट्राफिक प्रहरी परिचालित गरिसकेको छ, यसमा नागरिक पनि त्यत्तिकै सचेत हुन जरूरी छ’ श्रेष्ठले भने ।

इसेवाबाट अब जुनसुकै बैंकमा रकम पठाउँदा पैसा नलाग्ने

काठमाडौं । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ । इसेवाले बिहीबार रातीदेखि अप्रिल ३० सम्म लागु हुनेगरी बैंकमा रकम ट्रान्सफर गर्दा शुल्क नलाग्ने जनाएको हो । इसेवामार्फत इसेवा खातामै (पि टु पी ट्रान्स्फर) गर्दा यस अघि नै निशुल्क सेवा रहेकोमा अब बैंक ट्रान्स्फर पनि निशुल्क बनाइएको हो । इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भन्नुभयो, ‘अहिलेको अवस्थामा बैंकहरुसँगको सहकार्यमा बैंक ट्रान्सफरलाई निशुल्क बनाएका छौँ । यसले ग्राहकलाई थप सहज हुने र सेवा सर्वसुलभ हुने अपेक्षा गरेका छौँ । इसेवाले ग्राहकका लागी अन्य सहुलियतका कार्यक्रम समेत ल्याउने जनाएको छ । इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

राष्ट्र बैंकले सामाजिक सञ्जाल कार्यविधि बनाउँदै, अब युट्युवमार्फत् भएको आम्दानी सिधै बैंक खातामा

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जाल कार्यविधि बनाउने भएकाे छ । बैंकले सामाजिक सञ्जालमार्फत् हुने कारोबार वा विज्ञापनमा नियमन गर्ने सम्बन्धी कार्यविधि बनाउने तयारी गरेकाे हाे । जसअन्तर्गत अब युट्युवमार्फत् भएको आम्दानी सिधै नेपालका बैंक खातामा पठाउने मिल्ने व्यवस्था गरिने बताइएकाे छ। हालसम्म याे व्यवस्था  थिएन । गत माघ दोस्रो साता फेसबुक, ट्विटर, युट्युव जस्ता समाजिक सञ्जाल तथा इन्टरनेटमार्फत् गरिने विज्ञापनलाई औपचारिक माध्यममा ल्याउनका लागि राष्ट्र बैंकले निर्देशन दिएको थियो । यसैलाई आधार बनाएर कार्यविधि बन्ने भएको हो । सामाजिक सञ्जालमा गरिने बुस्टमार्फत् अर्बौ रूपैयाँ बाहिरिने क्रम बढेसँगै भुक्तानी प्रणालीलाई व्यवस्थित गर्नका लागि राष्ट्र बैंकले उक्त निर्देशन दिएको थियो । फेसबुक, ट्विटर, युट्युवले नेपालमा नेपाली कानूनअनुसार ट्रेडमार्क त दर्ता गराए पनि सम्पर्क कार्यालय भने खोलेका छैनन् । अबकाे कार्यविधिले यसकाे पनि  नियमन गर्नेछ । नेपालबाट सामाजिक सञ्जाल तथा इन्टरनेटमा गरिने कारोबारलाई औपचारिकता दिन व्यवहारीक कठिनाइ भएको कारण यसको कार्यान्यवनमा केही ढिलाइ हुदै आएको बैंकले जनाएकाे छ । एजेन्ट कम्पनीबाट नेपालीले सामाजिक सञ्जाल वा इन्टरनेटमार्फत् गरिने विज्ञापनको भुक्तानी गर्न सक्ने नयाँ ब्यावस्था हुन लागेको हो ।

स्वावलम्बन लघुवित्तद्वारा दलित समुदायका छात्रछात्रालाई शैक्षिक सामग्री वितरण

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय सिरहाले ग्राहक सदस्य तथा न्यून आय भएको स्थानीय दलित समुदायका छात्रछात्रालाई विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ । शाखा कार्यालयबाट सिरहा नगरपालिका वडा नं.६ बसविट्टा स्थित श्री आधारभूत बिद्यालयका १०० जना न्यून आय भएको स्थानीय दलित समुदायका छात्रछात्रालाई स्कूल झोला, कापी र कलम वितरण गरेको हो । कार्यक्रमका प्रमुख आतिथि सिरहा नगरपालिका वडा नं.६ का अध्यक्ष विजय कुमार यादवले वित्तीय संस्थाले सामुदायिक विद्यालयमा अध्ययनरत न्यून आय भएको दलित छात्रछात्रालाई विभिन्न शैक्षिक सामग्री वितरण गरेकोमा आभार व्यक्त गरेका छन् । वित्तीय संस्थाले विपन्न महिलाहरुलाई कर्जा तथा बचतको माध्यमबाट आर्थिक उन्नतीमा टेवा पुर्याएको बताए । संस्थाले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय मार्फत २ लाख ४९ हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा प्रदान गर्दै आएको छ । वित्तीय संस्थाको अधिकृत पूँजी रु.१ अर्ब साथै जारी तथा चुक्ता पुँजी ७९ करोड २३ लाख रूपैयाँ रहेको छ ।

अमेरिकी डलरको मूल्य अहिले सम्मकै महँगाे

काठमाडौं । अमेरिकी डलरको भाउ अहिले सम्मकै उच्च भएकाे छ । दिनप्रतिदिन बढ्दै गएको डलरका मूल्य शुक्रबार झन बढी भएको हाे ।  नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा निर्धारण गरेको छ । यो हालसम्मकै उच्च मूल्य हो । विश्वभर काेराेना भाइरसकाे संक्रमण बढिरहेकाे बेला डलरकाे मूल्य पनि बढी भएकाे छ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा लगानीकर्ता सुनतर्फ आकर्षित भएका हुन् ।