निगमले करारमा रहेका एकतिहाई कर्मचारीलाई बेतलवी बिदाई गर्ने
काठमाडाैं । नेपाल वायुसेवा निगमले करारमा रहेका एकतिहाइ कर्मचारीलाई बिदा दिने निर्णय गरेको छ । निगमले करार सेवामा रहेका एक तिहाइलाई बेतलबी बिदा दिने निर्णय गरेको हो। करार सेवामा रहेका १ सय ५० एयर होस्टेस, १० विदेशी पाइलट र ५ नेपाली पाइलटलाई बेतलबी बिदा दिएको निगमले जानकारी दिएको छ । निगमकाअनुसार केहीलाई १० दिनको, केहीलाई २ साताको र केहीलाई अर्को सूचना जारी नभएसम्मका लागि बिदा दिइएको हो । यसैगरी, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको व्यवस्थापन कार्यमा संलग्न करारका कर्मचारीलाई पनि निगमले बिदा दिएको छ । विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी निगमले लिएको छ ।
इटहरीमा ज्योति विकास बैंकको क्षेत्रीय र शाखा कार्यालय
काठमाडाैं । ज्योति विकास बैंकले इटहरी उपमहानगरपालिकामा बैंकको क्षेत्रीय कार्यालय र शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ। बैंकले शुक्रबार चैत ७ गतेका दिन इटहरी उपमहानगरपालिकामा आफ्नै भवनमा क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको हाे। बैंकिङ्ग सेवाको पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ ज्योति विकास बैंकले उक्त क्षेत्रमा क्षेत्रीय कार्यालय र शाखा कार्यालय सञ्चालन गरेको हो। इटहरी उपमहानगरपालिका वडा नं ५, सुनसरीस्थित क्षेत्रीय कार्यालयको उद्घाटन इटहरी उपमहानगरपालिकाका मेयर द्वारिक लाल चौधरी तथा ज्योति विकास बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए। समारोहमा बोल्दै मेयर चौधरीले ज्योति विकास बैंकले पूर्व क्षेत्रमा सञ्चालनमा ल्याएका कार्यालयहरुले सेवाग्राहीलाई थप सेवा मिल्ने तथा विभिन्न कर्जा सेवाले गर्दा उद्यमशीलतामा थप टेवा पुग्ने बताए । साथै, इटहरी उपमहानगरपालिका वडा नं ६, सुनसरीस्थित ज्योति विकास बैंकको शाखा कार्यालयको उद्घाटन उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम बहादुर पौडेलले गरेका थिए । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत, बैंकका अन्य कर्मचारी, ग्राहकवर्गहरु तथा स्थानिय व्यवासायीहरुको पनि उपस्थिति रहेको थियो। हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५६ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ३४ अर्ब रूपैयाँ निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब २९ अर्ब रूपैयाँ लगानी गर्न सफल भएको छ ।
कोरोना संक्रमणको अनुभवन साट्न चीनले नेपालसहित २२ देशसँग भिडियो कन्फरेन्स गर्यो
काठमाडौं । चीनले नेपालसहित २२ देशसँग कोरोना भाइरस जोखिम न्यूनिकरणको लागि अनुभव आदान प्रदान गरेको छ । चीनले भिडियो कन्फरेन्समार्फत अनुभव आदान प्रदान गरेको हो । भिडियो कन्फ्रेन्समा नेपाल, भारत, पाकिस्तान भुटानलगायत विभिन्न २२ देश सहमागी थिए । कन्फ्रेन्सबाट कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चीनले चालेको कदम र पाएको सफलताका विषयमा अन्य मुलुकहरुलाई जानकारी दिइएको थियो । भिडियो कन्फ्रेन्समा सहभागी देशहरुले कोरोनाले आर्थिक, सामाजिक र मनोवैज्ञानिक असरलाई कसरी सामना गर्ने भन्ने विषयमा चीनसँग जानकारी लिएका थिए । कोरोनाको उद्गमस्थल चीन भएपनि आफू कोरोना संक्रमणबाट मुक्त भएको चीनले घोषणा गरिसकेको छ । चीनले पाएको कोरोनाविरुद्धको सफलता र कोरोना नियन्त्रणका लागि अरु देशलाई गर्न सक्ने सहयोग विषयमा समेत छलफल भएको थियो ।
दैनिक उपभोग्य सामानमा कालोबजारी गर्नेलाई ५ वर्ष कैद
काठमाडौँ । दैनिक उपभोग्य सामानमा कालोबजारी गर्नेलाई ५ वर्ष कैद हुने भएको छ । नेपाल सरकारले ग्यास, पेट्रोललगायत अन्य उपभोग्य वस्तुमा कालोबजारी गरेमा पाँच वर्षसम्म कैद गर्ने निर्णय गरेकाे हो । शुक्रबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गरेमा ५ वर्षसम्म कैद गर्ने निर्णय गरेको हो । विश्वभर कोरोना भाइरसले त्रास उत्पन्न भइरहेको बेला नेपाल सरकारले ग्यास, पेट्रोललगायत अन्य उपभोग्य वस्तुमा कालोबजारी गरेका पाँच वर्षसम्म कैद गर्ने निर्णय गरेको छ । मन्त्रालय उच्च स्रोतका अनुसार बैठकले ग्यास उद्योगले असहयोग गरे अनुमति खारेज गर्ने निर्णय पनि गरेको छ । कोरोना भाइरसको त्रासले मास्कदेखि ग्याससम्म कालोबजारी हुने गरेको सर्वसाधारणको गुनासो छ । यतिखेर बजारमा विभिन्न दैनिक उपभोग्य वस्तुहरुको कृतिम अभाव देखाउँदै सामानमा कालोबजारी बढेको छ । यसको नियन्त्रण तथा रोकथामका लागि सरकारले यस्तो निर्णय गरेको हो ।
अस्पतालमा अत्यावश्यक बाहेकका स्वास्थ्य परीक्षण नगर्न निर्देशन
काठमाडौं । काठमाडौंमा रहेका ५० शैया माथिको अस्पतालहरुलाई सरकारले चैत मसान्तसम्म अत्यावश्यक बाहेकका शल्यकृया र परिक्षण नगर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैतसम्मको लागि अत्यावश्यक बाहेकका शल्यकृया र परिक्षण नगर्न निर्देशन दिएको हो । मन्त्रालयले शुक्रबार जारी गरेको १५ बुँदे निर्देशनमा यस्तो उल्लेख गरिएको छ । कोभिड १९ को सर्तकतालाई मध्यनजर गर्दै मन्त्रालयले निर्देशन जारी गरेको हो ।
गोरखाको गुम्बा बनाउन मनकामना दर्शनले दियो २ लाख रुपैयाँ
काठमाडौं । गोरखा नगरपालिका सतिपिपलमा निर्माण भैरहेको बुद्ध गुम्बाको लागि मनकामना दर्शन प्रा.लि. ले २ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नेपालकै पहिलो केबुलकारका संस्थापक स्व.लक्ष्मणबाबु श्रेष्ठको सम्झनामा उनको कान्छो भाई भरतबाबु श्रेष्ठको उपस्थितिमा मनकामना दर्शन प्रा.लि. का निर्देशक राजेशबाबु श्रेष्ठले उक्त रकम एक कार्यक्रमका बीच गोरखा बौद्ध समूहका अध्यक्ष विष्णु बहादुर थापा मगरलाई हस्तान्तरण गरेका हुन् । गोरखामा जन्मिएर राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पर्याएका स्व. लक्ष्मणबाबु श्रेष्ठको नाममा उनका परिवारले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ ।
अत्यन्त जरुरी अवस्थामा मात्र अस्पताल आउनुहाेस्- त्रिवि शिक्षण अस्पताल
काठमाडौं । त्रिवि शिक्षण अस्पतालले अत्यन्त जरुरी अवस्थामा मात्र अस्पताल आउन आग्रह गरेको छ । सुचना जारी गर्दै अस्पतालले अत्यन्त जरुरी अवस्थामा मात्र अस्पताल आउन आग्रह गरेको हो । कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै अस्पतालमा बिरामीको चापलाई कम गर्नको लागि यस्ताे आग्रह गरिएकाे अस्पतालका निर्देशक प्रेम कृष्ण खड्गीले बताए । मानिस स्वस्थ छ कि छैन भनेर जाँचिने जेनरल हेल्थ चेकअपका प्याकेज र दिउँसो चल्ने क्लिनिक सेवा अर्थात ईएचएस सेवा हालको लागि बन्द गरिएको खड्गीले जानकारी दिए । ‘अत्यन्त जरुरी आकस्मिक अवस्थामा बाहेक अस्पताल आउनुअघि सम्बन्धित विभागले उपलब्ध गराएको सम्पर्क नम्बरमा सम्पर्क गरेर मात्र आउनु हुन अनुरोध गरिन्छ । सम्पर्क फोन नम्बर मा उपलब्ध हुनेछ । जनरल हेल्थ सर्भिस (जिएचएस) तथा इएचएस सेवा हालका लागि स्थगित गरिएको छ । इमर्जेन्सी सेवा भने नियमित रुपमा नै पूर्ण रुपले २४ सै घण्टा सुचारु रहनेछ ।,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तो छ अस्पतालले जारी गरेको विज्ञप्तिका ५ बुँदा १. यस अस्पतालमा ज्वरो/रुघा/बोकी/स्वाशप्रस्वाशमा समस्या भएका बिरामीहरुका लागि ट्रिएज गर्न छुट्टै फिभर ओपिडी संचालन गरिनेछ। यस्ता लक्षण भएका बिरामी फिभर ओपिडीबाट आवश्यक परेको खण्डमा मात्र अन्य ओपिडीमा पठाइने छ। २. अत्यन्त जरुरी आकस्मिक अवस्थामा बाहेक अस्पताल आउनुअघि सम्बन्धित विभागले उपलब्ध गराएको सम्पर्क नम्बरमा सम्पर्क गरेर मात्र आउनु हुन अनुरोध गरिन्छ। सम्पर्क फोन नम्बर वा www.tuth.org.np मा उपलब्ध हुनेछ। ३. इमर्जेन्सी तथा अर्जेन्ट बाहेक अन्य शल्यक्रियाहरु अर्को सूचना नभएसम्म लागि स्थगन गरिएको छ। ४. जनरल हेल्थ सर्भिस (जिएचएस) तथा इएचएस सेवा हालका लागि स्थगित गरिएको छ। इमर्जेन्सी सेवा भने नियमित रुपमा नै पूर्ण रुपले २४सै घण्टा सुचारु रहनेछ। ५. अस्पतालमा भर्ना भएका तथा उपचारार्थ आउने बिरामीहरुको कुरुवा तथा आफन्तहरुलाई हुन सक्ने सम्भावित जोखिम न्यूनिकरण गर्न १ जना विरामीको लागि १ जना मात्र कुरुवा बस्न अनुरोध गरिन्छ। विस्तृत जानकारी www.tuth.org.np मा उपलब्ध गराइने छ।
स्यानिटाइजरः वयस्कमा पनि असर, बालबालिकलाई झनै हानिकारक
काठमाडौं । मानिसहरुले कोभिड १९ बाट कसरी बच्न सकिन्छ भन्ने विषयमा जानकार भएदेखि बजारमा ह्याण्ड स्यानिटाइजरको व्यापार ह्वात्तै बढेको छ । भाइरस तथा व्याक्टेरिया संक्रमणबाट जोगिन मानिसले जथाभावी रुपमा यसको प्रयोग गरिरहेको छन् । यसले किटाणु मार्न भन्दै आफूमात्र नभई बालबालिकाहरुमा पनि जथाभावी प्रयोग गरिरहेको छन् । तर स्यानिटाइजरको कहाँ प्रयोग गर्न र यसले कसरी काम गर्छ भन्ने कुरा जान्न आवश्यक छ । स्वास्थ्य विशेषज्ञहरु सम्भव भएसम्म साबुन पानीले हात धुने सल्लाह दिन्छन् । किनभने यसले हातमा भएको सबै प्रकारका किटाणु र रसायनहरुको मात्रा घटाउँदछ । तर, साबुन र पानी जतिबेला पनि उपलब्ध नहुनाले विशेषज्ञहरु यसको विकल्पको रुपमा ह्याण्ड स्यानिटाइजर प्रयोग गर्न सुझाव पनि दिन्छन् । स्यानिटाइजरले तपाईंको हातमा भएको किटाण मार्छ । साबुनले त्यसलाई पखाल्छ । साबुनले सिधै किटाणु मार्दैन तर यसले किटाणुहरु कम गराउँछ । प्रत्येक्ष रुपमा देखिने हातका फोहोरहरुलाई हटाउन ह्याण्ड स्यानिटाइजरले काम दिँदैन । यसको लागि साबुन नै प्रयोग गनुपर्छ । बजारमा विभिन्न किसिमका ह्याण्ड स्यानिटाइजरहरु पाईन्छन् । तर ६० प्रतिशतभन्दा बढी अल्कोहल मिसिएको स्यानिटाइजरले मात्र किटाणुहरु मार्ने र सर्नबाट जोगाउने विशेषज्ञहरुको बताउँछन् । ह्याण्ड् स्यानिटाइजर अन्वेषक सन् १९६६ मा पहिलोपटक एक विद्यार्थी नर्स ल्युप हरन्यानडेजले हात धुने सामाग्री नभएको अवस्थामा रक्सी मिसिएको जेल जस्तो सामाग्री प्रयोग गर्न सकिन्छ भनेकी थिईन् । तर, सन् २००९ मा एचवान एनवान भाईरस स्वाईन फ्लुले महामारीको रुप लिएपछि स्वास्थ्य संस्थाहरुमा यसको प्रयोग गर्न थालिएको हो । सम्भव भएसम्म साबुन पानी नै आफ्नो सुरक्षित स्थानमा आइसकेपछि हात साबुन पानीले सफा गनुहोस् । सुरक्षित स्थान भन्नाले तपाईको घर, तपाईको कार्यस्थल, तपाईको बस्ने कुर्सी आदि हुन् । तर याद गर्नुहोस् साबुन पानीले गरिएको सरसफाईलाई केहीले पनि जित्न सक्दैन । साबुन पानी नभएको अवस्थामा मात्र स्यानिटाइजरको प्रयोग गर्नुहोस् । सकेसम्म घर बाहिर हँुदा मात्र स्यानिटाइजरको प्रयोग गर्नुहोस् । यसलाई तपाईले ब्याकअपको रुपमा राख्न सक्नुहन्छ । थोरै प्रयोग गरौं किटाणु मार्छ भन्दैमा जति पायो त्यति स्यानिटाईजरको प्रयोग गर्नु राम्रो होइन । स्यानिटाइजर थोरै पनि धेरै हुने गर्दछ । चाहिनेभन्दा बढी स्यानिटाइजरको प्रयोग गर्दा छाला सुख्खा हुने, फुट्ने, छालाको प्राकृतिक तेल हराउने जस्ता समस्या देखापर्दछ । बालबालिकाको लागि हानिकारका ह्याण्ड स्यानिटाइजरमा सामान्यत ६० प्रतिशतभन्दा बढी मात्रामा अल्कोहल हुने गर्दछ । बालबालिकाहरु आफ्नो हात बारम्बार आँखा, मुखमा लैजाने गर्दछन् । विभिन्न अध्ययनले अल्कोहलयुक्त स्यानिटाइजरले बालबालिकाहरुको मुखमा परेको अवस्थामा स्वास्थ्यमा असर गर्न देखाएको छ । १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई यसले विशेष असर गर्ने देखिएको छ । स्यानिटाइजर बालबालिकाको मुखमा परे आँखा चिलचिलाउने, सुन्निने, वान्ता हुने, मुख चिलाउने, खोकी लाग्ने, पेट दुख्ने र कुनै अवस्थामा त बालबालिकाको मृत्युसमेत हुने पनि गरेको विभिन्न अध्ययनले देखाएको छ । त्यसैले स्यानिटाइजर प्रयोग गरिसकेपछि बालबालिकाले नभेट्ने गरी टाढा राख्नुपर्छ । अभिभावकालाई सचेत बनाउन औषधी पसलेहरुले मुख्य भुमिका खेल्न सक्छन् । भाइरसलाई बाँच्न र अर्काे भाइरस जन्माउनको लागि एक जिवित कोषको आवश्यक हुन्छ । त्यसैले हात फोहोर भएको अवस्थामा वा अन्य समयमा पनि आँखा मिच्ने, हात बारम्बार मुखमा लैजाने, घाउहरु छुने काम नगरौं । यसो गरियो भने भाइरस बाँच्न वा अर्काे भाइरस जन्मन सक्ने खतरा रहन्छ । अन्तराष्ट्रिय विभिन्न संचारमाध्यमहरुले तयार पारेको सामग्रीमा आधारित