विकासन्युज

चैत ९ गतेदेखि सेयर बजार बन्द

काठमाडौं । आगामी चैत ९ गते(आइतबार) देखि सेयर बजार बन्द हुने भएकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशवासीको नाममा सम्बोधन गर्दै सो दिनदेखि चैत २१ गतेसम्म अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु बन्द हुने बताएका हुन् । नेपाल राजपत्रमा प्रकाशित अत्यावश्यक सेवा सम्बन्धि व्यवस्थामा सेयर बजार पर्दैन  । त्यसैले याे अवधिमा पुँजी बजार १३ दिनसम्म बन्द हुने निश्चित छ । तर बैंक र बीमा भने नियमित खुल्ने छन् । अत्यावश्यक अनुसार सेवा संचालन हुनेमा १५ मा बैकं र १६ मा बीमा सेवा पर्दछन्।    

प्रधानमन्त्रीले भनेः अर्थतन्त्रमा संकुचन आउन नदिने कार्यक्रम ल्याउछाैं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई संकुचन आउन नदिने उपयुक्त कार्यक्रम छिटै ल्याउने बताएका छन् । देशवासीका नाममा शुक्रबार सम्बोधन गर्दै ओलीले अर्थ व्यवस्थामा परेको र पर्न सक्ने असरको विश्लेषण गरी अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिटै उपयुक्त कार्यक्रम ल्याउने घोषणा गरेका हुन् । उनले कोरानाको महामारीले विश्वव्यापी रूपमा अर्थतन्त्रमा परेको प्रभावको विषयमा अर्थ मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको बताए । त्यसका आधारमा अर्थतन्त्रमा संकुचन नआउने गरी छुट्टै प्योकज ल्याउन उनले घोषण गरेका हुन् । उनले उद्यमी तथा र श्रमजीवी– श्रमको संसारका सबै सहयात्रीमा यस महामारीले सिर्जना गर्न सक्ने प्रतिकूलताप्रति सरकार संवेदनशील रहेको भन्दै त्यसलाई सम्बोधन गर्ने उद्घोष गरे । यसका लागि सबैलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध पनि गरे ।

कोरोना भाइरस संक्रमण रोक्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बाेधनकाे पूर्णपाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आफ्नाे स्वास्थ्यको बारेमा होईन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरु सामु उपस्थिति भएको छु । अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ । विश्वका अधिकांश मुलुकहरू यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन् । सुखद पक्ष, अहिलेसम्म यस संक्रमणको प्रत्यक्ष प्रभाव हाम्रो देश नेपालमा देखिएको छैन । तर हामी पनि यस जोखिमबाट ढुक्क हुने अवस्थामा भने छैनौं । नागरिकको स्वास्थ्य र सुरक्षालाई मैले सधैं उच्च प्राथमिकतामा राखेको छु । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र यसबाट उत्पन्न हुनसक्ने प्रभावका बारेमा चिन्तित रहेकोले प्रारम्भदेखि नै स्पष्ट कार्ययोजना बनाई काम गर्न मैले निर्देशन दिँदै आएको छु । देशमा संक्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र संक्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले शुरुको अवस्थाबाट नै विशेष तयारी गर्दै आएको छ । यसक्रममा मेरै नेतृत्वमा ५ वटा तयारी बैठकहरु सम्पन्न गरी छिमेकी चीनको उहान शहरबाट विद्यार्थीहरुको उद्दार र क्वारेन्टाइनको व्यवस्था गरिएको सबैलाई जानकारी नै छ । दोस्रोपटक मृगौला प्रत्यारोपणको लागि अस्पताल जानु अघि मैलै, मेरो अनुपस्थितिमा कार्य गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति बनाई समस्या समाधानको नीतिगत नेतृत्व गर्ने व्यवस्था मिलाएको थिएँ । साथै, मुख्य सचिवको नेतृत्वमा रहेको कार्यान्वयन समिति मार्फत गरिएका निर्णयहरु कार्यान्वयन गर्ने व्यवस्था पनि मिलाएको थिएँ । यिनै संयन्त्र मार्फत सरकारले प्रदेश सरकार र स्थानीय तहसँग समेत समन्वय गरी आफ्ना प्रयासहरू एकीकृत ढङ्गबाट अगाडि बढाउँदै आएको छ । दिदिबहिनी तथा दाजुभाईहरु, महामारीसँग जुध्न सजिलो छैन । हामीले केही समयका लागि आफ्ना व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरूरी भएको छ । यसले जनजीवनमा केही असहजता ल्याउन सक्छ, हाम्रा आनीबानी र दैनिक व्यवहारलाई असर पार्न सक्छ । तर सम्भावित संक्रमणलाई परास्त गर्न हामीसँग यस बाहेक अर्को विकल्प पनि छैन । तसर्थः तपाईहरुले भरोसा गर्नु भएको प्रधानमन्त्रीको हैसियतले म आग्रह गर्दछु– -सरसफाईमा उचित ध्यान दिनुहोस्– साबुन पानीले पटकपटक हात धुने र स्यानिटाइजर प्रयोग गर्ने गर्नुहोस् । – भीडभाडबाट टाढै रहनु होस्, – सकेसम्म घरमै बस्नुहोस्, -अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्नु होस्, – हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहुनुहोस्, – चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गर्नुहोस्, – धैर्यवान हुनुहोस् र संयमता अपनाउनु होस्, र – सावधान हुनुहोस् तर आतङ्कित नहुनुहोस् । संक्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बच्न, आफ्नो परिवारलाई बचाउन र समुदायलाई संक्रमणबाट जोगाउन कम्तीमा १४ दिन घरमा क्वारेन्टाइनमा बस्नुपर्छ । सबै दिदीबहिनी तथा दाजुभाईहरुले यस अप्ठ्यारो घडीमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । संक्रमणको रोकथाम, नियन्त्रण र उपचारकालागि सरकारले कुनै कसर बाँकी राख्ने छैन । यसका लागि देशभरका अस्पतालहरूबाट सेवा प्रदान गर्ने, पर्याप्त औषधि र उपकरणको प्रबन्ध गर्ने, आवश्यक जनशक्तिको व्यवस्था गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ । यस कार्यमा प्रत्यक्ष रूपमा संलग्न रहने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सुरक्षा निकाय लगायतका जनशक्तिलाई उचित प्रोत्साहन सहित उच्च मनोबलका साथ परिचालन गर्ने व्यवस्था मिलाइएको छ । विद्युतीय माध्यमबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवाहरू सम्बन्धित कर्मचारी र सेवाप्रदायकले घरबाटै प्रदान गर्न प्रोत्साहित गरिनेछ । तर, सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्नुहुनेछ । सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक पर्ने निजी सहित सबै प्रकारका सवारी साधनहरू आवश्यकताअनुसार संचालन गर्ने व्यवस्था मिलाइएको छ । निजी क्षेत्र समेतको सहयोगमा खाद्यान्न लगायतका अत्यावश्यक उपभोग्य सामाग्रीको नियमित आपूर्ति हुने व्यवस्था मिलाइएको छ । तर, अप्ठ्यारो समयको फाईदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी तथा कालोबजारी गर्ने, खाद्यवस्तुमा मिसावट गर्ने जस्ता अपराधिक काममा कोही संलग्न भएको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाहि समेत गरिने स्पष्ट पार्दछु, । विश्वव्यापी यो महामारीले समग्र अर्थव्यवस्थामा पारेको असरका सम्बन्धमा अर्थ मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको छ । अर्थव्यवस्थामा परेको र पर्नसक्ने प्रभावको विश्लेषण गरी अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिट्टै उपयुक्त कार्यक्रमहरू ल्याउने नै छ । उद्यमी तथा श्रमजीवी– श्रमको संसारका सबै सहयात्रीहरुमा यस महामारीले सिर्जना गर्नसक्ने प्रतिकूलताप्रति सरकार संवेदनशील छ र त्यसलाई संबोधन गर्ने नै छ । दिदिबहिनी तथा दाजुभाईहरु, तपाई हाम्रै स्वास्थ्य र सुरक्षाालई ध्यानमा राखि केही क्षेत्रहरुमा निम्नानुसारका उपायहरु लागु गर्नपर्ने बाध्यकारी अवस्था पनि आएको छ । – नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ । – सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने छ । – देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ । – आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ । – मानिसहरुको भडिभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ । – विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ । – महामारीको अवस्थालाई हेरी, यहाँहरुकै सहयोगमा थप कदमहरु पनि चाल्न सकिने छ । यी व्यवस्थाहरूबाट देशभित्र र बाहिर रहेका नेपाली दिदीबहिनी दाजुभाइहरू र अन्य यात्रुहरूलाई यथाशक्य कम असुविधा होस् भन्नेतर्फ नेपाल सरकार सचेत र संवेदनशील छ । म विश्वास दिलाउन चाहन्छु, यस असहज परिस्थितिलाई छिटोभन्दा छिटो अन्त्य गरी जनजीवनलाई सामान्य बनाउन सरकार प्रयत्नशील रहने छ । संसदमा प्रस्तुत एवं एकमतले पारित गरिएको संकल्प प्रस्ताव र सर्वदलीय बैठकमा अभिव्यक्त विचारहरुले यस समस्याको समाधानमा सिंगो राष्ट्र एकजुट रहेको भावना प्रकट भएको छ, जुन खुशीको कुरा हो । यस अभियानमा सरकारका सबै अङ्गहरु, नागरिक समाजका सबै संघ÷संस्थाहरु र आमसञ्चार जगत समेत सबैलाई पारस्परिक सहयोगका साथ नेपाली राष्ट्रिय भावना प्रकट गर्न म हार्दिक आव्हान गर्दछु । मुलुक बाहिर ठूलो संख्यामा नेपाली दिदिबहिनी तथा दाजुभाईहरु रहँदै आउनु भएको छ । कोरोना भाइरसको महामारीका कारण तपाईहरुलाई मुलुक फर्किन केही असुविधा परेको मेरो जानकारीमा छ । यस घडीमा, नआत्तिन र चिन्तित नहुन आग्रह गर्दै आवस्यक पर्दा आपूm रहेको देशको कुटनीतिक नियोगमा सम्पर्क राख्नु हुन आग्रह गर्दछु । हाम्रा नियोगहरुले तपाईहरुका समस्या हल गर्न सक्दो सहयोग गर्ने जानकारी गराउँदछु । म अस्पतालबाट डिस्चार्ज भएलगत्तै भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीको पहलमा आयोजित दक्षिण एशियाली राष्ट्रहरुका सरकार तथा राष्ट्र प्रमुखहरुको भिडियो कन्फरेन्समा मैले पनि सम्बोधन गरेको थिएँ । कोरोना भाइरस महामारीका विरुद्ध खर्च गरिने भारतीय प्रधानमन्त्रीले आव्हान गर्नु भएको संयुक्त कोषमा नेपालले पनि योगदान गर्ने प्रतिबद्धता जनाएको थिएँ । सार्क राष्ट्रमा यथोचित सहयोग गर्न सकियोस भन्ने उद्देश्यले यस कोषमा १० करोड रुपियाँ योगदान गर्नेे समेत जानकारी गराउँदछु । यस महामारीसंग जुध्न हाम्रा छिमेकीहरु, क्षेत्रीय मित्रहरु र अन्तर्राष्ट्रिय समुदायसंग पारस्परिक सद्भाव र सहयोगका साथ अघि बढ्न हामी प्रतिवद्ध छौं । तपाईहरूकै सहयोगमा विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको सम्भावित संक्रमणबाट आम जनसमुदायलाई सुरक्षित राख्न हामी सफल हुनेछौं । यस उद्देश्य प्राप्तिका लागि निजी क्षेत्र, संघसंस्था, दुबै छिमेकी तथा अन्य मित्रराष्ट्रहरू लगायत अन्तर्राष्ट्रिय समुदायहरुबाट हालसम्म प्राप्त सबैप्रकारका सद्भाव तथा सहयोगका लागि धन्यवाद भन्न चाहन्छु । आगामी दिनमा समेत छिमेकी तथा अन्य मित्र राष्ट्रहरु र शुभेच्छुक संस्थाहरुबाट निरन्तर सहयोग प्राप्त हुनेमा मैले विश्वास लिएको छु । मृगौला प्रत्यारोपण र उपचारपछिको शीघ्र स्वास्थ्यलाभमा यहाँहरुले मेरो इच्छाशक्ति र उच्च मनोबल प्रमुख कारक रहेको चर्चा गर्दै आउनु भएको मैले सुनेको छु । यस घडीमा मलुकले हामी सबैको दृढ ईच्छाशक्ति र उच्च मनोवलको माग गरेको छ । हाम्रो इच्छाशक्ती, उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न, पराजित गर्न र अघि बढ्न निर्णायक भूमिका खेल्ने छ भन्ने मैले विश्वास लिएको छु । ०७२ सालको विनासकारी भुकम्प र त्यसपछि सिर्जित प्रतिकुलतालाई हामीले दृढताका साथ सामना ग¥यौं । यस अप्ठ्यारो घडीमा पनि त्यस्तै दृढता सहित,सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइले पूर्ण सहयोग र साथ दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु । धन्यवाद !

कोभिड-१९ आपतकालीन कोषमा नेपालकाे १० करोड सहयोग

काठमाडाैं । सार्क राष्ट्रहरु मिलेर बनाइने कोभिड -१९ आपतकालीन कोषका लागि नेपाल सरकारले १० करोड रुपैयाँ सहयोग गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको आपतकालीन कोष स्थापना गर्ने प्रस्तावको यसअघि नै स्वागत गरिसकेको जनाउँदै १० करोड नेपालको योगदान रहने बताएका हुन् । उनले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै १० करोड रुपैयाँ सहयोग गर्ने बताएका हुन् । भारत सरकारले उक्त कोषका लागि १० मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।  सार्क राष्ट्रहरुले याे काेषका लागि सहयाेग गर्ने क्रम बढ्दै गएकाे छ ।

पुर्नबीमा कम्पनीकाे सेयर बाँडफाँड चैत १४ गते हुने, साढे तीन गुणा बढी माग

काठमाडौं । चरम आर्थिक संकटकाे बेलामा पनि राम्रा कम्पनीले सेयर निष्काशन गरेमा माग उच्च हुने देखिएकाे छ । काेराेना महामारीकाे बेलामा नेपाल पुनर्बीमा कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशन गर्दा करिव साढे ३ गुणा बढी आवेदन परेको छ । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीका अनुसार कम्पनीको आईपीओमा  सर्ब साधारणकाे उत्साहजनक सहभागिता रहेकाे बताए । निष्काशन गरिएकाे भन्दा बढी सेयरकाे माग भएकाेले शुक्रबार ५ बजेपछि आवेदन लिन बन्द गरिएकाे उनले बताए ।  सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्री प्याकुरेलका अनुसार ५ अर्ब ५७ कराेड ४७ लाख ३५ हजार रूपैयाँ बराबरकाे सेयर माग भएकाे छ ।उक्त रकम मागकाे ३.४८ गुणा बढी हाे ।  सेयर माग गर्नेकाे संख्या ४ लाख ९ हजार ७२२ व्यक्ति तथा कम्पनी रहेका छन् । कम्पनीले चैत ४ गतेदेखि एक अर्ब ६० करोड रुपैयाँ बराबर अर्थात एक करोड ६० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । कम्पनीले जारी गरेको कूल सेयरमध्ये एक करोड ५१ लाख २६ हजार ५ सय कित्ता सेयर आम सर्वसाधारणमा बिक्रीमा राखिएको थियो । यस्तै, कूल आठ लाख कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँकी ७३ हजार ५ सय कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था थियो । नियम अनुसार थाेरै माग गर्नेलाई प्राथमिकतामा राखेर सेयर बाँडफाँड हुने  रायमाझीले बताए । चैत १४ गते सेयर बाँडफाँड गर्ने तयारी भएकाे उनले बताए । कम्पनीको अधिकृत पुँजी १५ अर्ब, जारी पुँजी १० अर्ब र चुक्ता पुँजी आठ अर्ब ४० करोड रुपैयाँ रहेको छ । साधारण सेयर बिक्रीपश्चात् कम्पनीको कुल चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ ।  

सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै अन्तर्राष्ट्रिय सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द  गर्ने बताएका छन् । शुक्रबार देशवासीका लागि सम्बोधन गर्दै उनले चैत ९ गतेदेखि १८ गतेसम्मका लागि सबै उडान रोक्ने बताएका हुन् । विश्वभर फैलिरहेको कोराना भाइरसकाे संक्रमण रोक्न सरकारले यस्तो निर्णय गरेको हो । हाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २६ वटा विदेशी र तीन वटा नेपाली गरी २९ वटा एयरलाइन्सले उडान गर्दै आएका छन् । यो विमानस्थल बिहान ६ बजेदेखि मध्यराति ३ बजेसम्म सञ्चालन हुँदै आएको छ । सरकारले  १५ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान शुक्रबार मध्यरातिदेखि रोकिने जनाएकाे थियाे । याे सबै  हवाई उडान बन्द हुने भएका छन् । सरकारले यसअघि पश्चिम एसियाअन्तर्गत खाडी मुलुक, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने तथा ती मुलुकलाई ट्रान्जिट बनाई जुनसुकै मुलुकबाट आउने यात्रुलाई २० मार्च (७ गते शुक्रबार) मध्यरातिदेखि लागू हुने गरी १५ अप्रिल (वैशाख ३ गते) सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियाे । आवागमनमा सरकारले दोस्रोपटक गरेको कडाइसँगै मध्यपूर्वका एयर अरेबिया, फ्लाई दुबई, यूएईको इत्तिहाद एयरवेज, जजिरा एयरवेज, ओमन एयर, सलाम एयर र कतार एयरवेजको उडान रोकिने भएको छ । युरोप जोड्ने टर्किस एयरलायन्स तथा पूर्वी एसियाबाट काठमाडौं आउने हङकङको क्याथे ड्र्यागन, दक्षिण कोरियाको कोरियन एयर, मलेसियाको मलेसियन एयरलाइन्स मालिन्दो एयरको पनि शनिबार बिहानदेखि उडान रोकिने भएको छ । त्यस्तै मध्यपूर्वमा उडान गर्दै आएका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका उडान पनि रोकिने छन् । सरकारले भारत, थाइल्यान्ड, बंगलादेश, सिंगापुर र भुटानबाट नेपाल आउने तथा नेपालबाट यी मुलुक जाने एयरलाइन्सलाई रोकेको थिएन । अब ती पनि राेकिने छन् ।

चैत १० गतेदेखि देशभरका लामो दुरीको सवारीसाधन बन्द

काठमाडौं । सरकारले चैत १० गते देखि देशभरका लामो यात्रामा जाने गाडीहरु सबै बन्द गर्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साझ राष्ट्रको लागि सम्बोधन गर्दै चैत १० गतेदेखि देशभरका लामो यात्रामा जाने गाडीहरु सबै बन्द गर्न भएको बताएका हुन् । विश्वभर काेराेनाकाे त्रास बढेसँगै उनले अनिश्चितकालिनकाे लागि उक्त सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

मेगा बैंकले दृष्टिविहीन विद्यार्थीलाई दियाे शैक्षिक सामाग्री र कम्प्युटर

काठमाडौं। मेगा बैंक नेपालले काभ्रेका दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र कम्प्युटर सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सपोर्ट टु फेलोशिप सोसाइटी नेपाल संस्थामार्फत काभ्रेको धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र कम्प्युटर प्रदान गरेको हो । मेगा बैंकका बनेपा शाखा प्रमुख राजेश्वर श्रेष्ठले दृष्टिविहीन विद्यार्थीहरुलाई कम्प्युटर, दृष्टिविहीन विद्यार्थीहरुले प्रयोग गर्ने विशेष कापी, कलम, झोला तथा बोर्ड हस्तान्तरण गरेका हुन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले विभिन्न जिल्लाका विद्यार्थीलाई सहयोग गर्दै आएको छ ।