विकासन्युज

कोरोना संक्रमणको आशंकामा दुई जना अस्पतालमा भर्ना

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा २ जना व्यक्ति कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा भर्ना भएका छन् । शनिबार भारतबाट नेपाल भित्रिएका २ जनालाई उच्च ज्वरो देखिएपछि महाकाली अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतका अनुसार गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका २ जनामा १०० डिग्री फरेनहाइटभन्दा बढी ज्वरो देखिएको थियो । परीक्षणका क्रममा ज्वरो उच्च देखिएपछि दुवै जनालाई महाकाली अञ्चल अस्पताल पु¥याइएको हो । कोरोना संक्रमणको आशंका गरिएका दुवै जनालाई आइसोलसन वार्डमा भर्ना गरेर परीक्षणका लागि नमूना (स्याम्पल) लिने प्रक्रिया थालिएको अस्पताल स्रोतले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार शनिबार मात्रै १० हजार बढी नेपाली गड्डाचौकी नाका भएर भारतबाट नेपाल भित्रिएका छन् ।

५०% तलब दिएर कर्मचारीलाई छुट्टी दिने महालक्ष्मीको निर्णय, संकटमा मिलेर कम्पनी बचाउने संकल्प

  काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले कोरोना महामारीको बेलामा कसरी कम्पनी व्यवस्थापन गर्ने भन्ने बारेमा ११ बुँदे निर्णय गरेको छ । त्यसमा पालैपालो गरी आधा कर्मचारीलाई विदा दिने निर्णय भएको छ । कम्पनीको नियम अनुसार पाउने बिदाभन्दा बढी विदामा बस्नु पर्नेलाई ५० प्रतिशत तलब भुक्तानी गर्ने निर्णय भएको कम्पनीको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताएका छन् । ‘देश र जनता अहिले अन्तराष्ट्रिय संकटबाट गुज्रिरहेका छन् । उचित ब्यवस्थापन नगर्दा कम्पनी डुब्न सक्छन । तपाईं हाम्रो जागिर जान सक्छ । देश ठूलै संकटमा फस्न सक्छ’ भट्टराईले फेसबुक स्ट्याटसमा लेखेका छन्–यस्तोमा आफू पनि बाच्ने, अरुलाई पनि बचाउने, कम्पनी पनि बचाउने अनि देशलाई पनि सहज हुने गरि कार्य गर्नुमा नै हामी सबैको भलाई छ । कोरोना भाईरसबाट संसार नै पीडित छ । नेपाल सरकारले पनि संभावित भयावह स्थितिको अनुमान गरि अत्यावश्यक बाहेक सबै सेवाहरु चैत्र ९ देखि २१ गतेसम्म बन्द गरेको छ । तर सरकारले बीमा कारोबारलाई अत्यावश्यक सेवामा राखेको छ । त्यसैले यो सेवालाई निरन्तरता दिनु र कोरोनाबाट बच्नु पनि जरुरी भएकोले उपयुक्त निर्णयहरु लिएको उनले जानकारी दिए । ‘मानिसको जीवनमा भविष्यमा आईपर्ने जोखिम कै लागि बीमा गर्नु पर्ने भएकोले यो संकटको घडीमा भागेर हिड्नु पनि भएन । यस्तो बेलामा सुरक्षित पनि हुने र बीमा कारोबारको उचित व्यवस्थापन गर्नु बुद्धिमानि हुने ठानेका छौं’ भट्टराईले भने । उनका अनुसार शनिवार बसेको बैठकले ११ बुँदे निर्णय गरेको छ । उक्त निर्णयहरु भट्टराईले फेसबुकबाट सार्वजनिक गरेका छन् । कार्यलय सञ्चालन विधि र विदाका बारेमा कम्पनीले लिएको निर्णयहरु यस्ता छन् । १) कार्यालका कर्मचारि सबैको दैनिक ज्वरो मापन गर्ने, मास्क लगाउन लगाउने,सेनिटाईजर प्रयोग गराउने र १÷१ घण्टामा साबुन पानीले हात धुन लगाउने । २) कार्यालयका कर्मचारिलाई १/१ घण्टामा तातो पानी, चिया, कफि उपलब्ध गराउने । ३) कार्यालयमा भेटन सेवाग्राही र ग्राहक आउदा भेटने एउटा छुट्टै कोठाको ब्यवस्था गर्ने र ३ फिटको दुरिराखि भेट बार्ता गर्ने । अन्य कोठा कोठामा जान नदिने । ४) आउने ग्राहक र सेवाग्राहीलाई गेटमा नै ज्वरो नापीमास्क लगाई सेनिटाईजर लगाएर मात्र गेट भित्र आउन दिने । ५) बिमा कार्यालयमा एकै ठाउमा ५ जना भन्दा बढि ग्राहकसंग छलफल वा भेटघाट नगर्ने । ६) शाखा वा क्षेत्रिय कार्यालयमा दैनिक अत्यावश्यक कामको लागि आलोपालो गरि २ जना मात्र दैनिक उपस्थित हुने । सो भन्दा बढिलाई अनिवार्य बिदा बस्न लगाउने । ७) प्रधान कार्यालयमा प्रत्येक विभागमा अधिकृत एक जना र सहायक एक जना गरि दुई जना मात्र उपस्थित गराई दैनिक आई पर्ने सेवा दिने र बाँकी कर्मचारी लाई बिदा दिने । ८) प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृत पनि आलो पालो गरि आउने र बिदा बस्ने । ९) अनिवार्य दिदा लिँदा सार्बजनिक सवारीमा आउने र टाढा घर भएका कर्मचारिलाई प्राथमिकतामा राखि बिदा दिने । १०) बिदा दिदा सबैलाई पहिले संचित बिदाबाट कट्टि हुने गरि दिने, त्यो नहुने स्थायीलाई एडभान्स बिदा दिने र त्यो पनि नहुनेलाई बोर्डबाट पास गरि ५० प्रतिशत मात्र पाउने पेड लिभ दिने । ११) बिदा आलो पालो गर्दा कोरोना भाईरसको स्थिति हेरि १/१ दिन, ३/३ दिन वा ५/५ दिनको लगातार हुने गरि दिने ।

उत्तर कोरियाद्वारा छोटो दुरीका दुई क्षेप्यास्त्र प्रहार

सोल । उत्तर कोरियाले छोटो दुरीका दुई ओटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाका सैन्य अधिकारीका अनुसार उत्तर कोरियाले शनिबार समुद्रको पूर्वी जलक्षेत्रतर्फ क्षेप्यास्त्र हानेको हो । विश्वभरी कोरोनाको सङ्क्रमण फैलिइरहेको बेलामा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो । कोरोनाको सङ्क्रमबाट विश्व नै आक्रान्त भइरहेको बेलामा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गर्न अति नै असान्दर्भिक भएको दक्षिण कोरियाका अधिकारीहरुले टिप्पणी गरेको छ । उनीहरुले यस्ता असान्दर्भिक र अशोभनीय कार्य तत्काल रोक्न पनि उत्तर कोरियालाई आग्रह गरेका छन् । उत्तर कोरियामा अहिलेसम्म कसैलाई पनि कोरोना भाइरसको सङ्क्रमण नभएको दावी गरिएको छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभरी दुई लाख ७६ हजार ४६८ जना सङ्क्रमित भएका छन् भने ११ हजार ४ सय १७ जनाको मृत्यु भएको छ । जापानको रक्षा मन्त्रालयले पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको पुष्टी गरेको छ । रासस/एएफपी

आइतबारदेखि यी स्थानमा जाने यात्रुलाई निःशुल्क बस सेवा

काठमाडौं । विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणलाई मध्यनजर गर्दै नुवाकोट र काभ्रेपलाञ्चोक जाने यात्रुलाई निःशुल्क बससेवा सञ्चालन गरिने भएको छ । ग्रेटफुल टुर्स एण्ड ट्रान्सपोर्ट प्रालिले नुवाकोटको त्रिशूली र काभ्रेपलाञ्चोकको दोलालघाटसम्म जानका लागि आइतबारदेखि चार बस सञ्चालन गर्न लागेको हो । तीमध्ये दुई काभ्रेपलाञ्चोक र दुई नुवाकोट जानेछन् । ट्रान्सपोर्टका प्रबन्ध निर्देशक रमेश गौतमले सवारी साधन नपाएर नुवाकोट र काभ्रेपलाञ्चोक जान रोकिएका यात्रुलाई मध्यनजर गरेर निःशुल्क बस सञ्चालन गर्न लागेको जानकारी दिए । “आइतबारदेखि सञ्चालन हुने बससेवा यात्रुको सङ्ख्यामा वृद्धि भएर विस्तारै बढाउँदै लान्छौँ”, उनले भने । देशलाई दुःख परेका बेला आफूले सहयोग गर्न लागेको प्रबन्ध निर्देशक गौतमको भनाइ थियो । विश्वमा फैलिएको कोभिड–१९को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले यही चैत १० गतेदेखि लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधन आवतजावतमा रोक लगाउने निर्णयसमेत गरिसकेको छ ।रासस

अपडेट: कोरोना भाइरसबाट विश्वभर ११ हजार ४ सय १७ जनाको मृत्यु, इटालीमा सबैभन्दा बढी

जेनेभा । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट शनिबारसम्म ११ हजार ४ सय १७ जनाको मृत्यु भएको छ, र यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभर दुई लाख ७६ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिमध्ये ९१ हजार ९ सय ५४ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ७३ हजार व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ भन्दा बढी देशमा देखा परिसकेको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । कोरोनाभाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २ सय ५५ व्यक्तिको मृत्यु भएको छ भने ८१ हजार जना सङ्क्रमित भएका थिए । चीनले अपनाएको उच्चतम सतर्कता, हुबे प्रान्तको राजधानी उहान सहित प्रान्तभर आवतजावतमा गरिएको प्रतिबन्ध, तत्काल उपचार समेतका आपतकालीन व्यवस्थाले संक्रमित व्यक्तिको मृत्युदर कम रहेको मानिएको छ । हाल कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित इटालीमा ४ हजार ३२ जनाको मृत्यु भइसकेको छ । बुढ्यौली जनसंख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ । हाल ३७ हजार ८ सय ६० जना सङक्रमित रहेको इटालीमा ५ हजार १ सय २९ व्यक्ति उपचारपछि घर फर्किएका छन् । मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । यहाँ कोरोनाकै कारण एक हजार ४ सय ३३ व्यक्तिको मृत्यु भइसकेको छ भने ११ हजार ४ सय ६६ जना सङक्रमित रहेका छन् । ६ हजार ७ सय ४५ जना उपचारपछि घर फर्किएका बताइएको छ । स्पेनमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ९३ व्यक्तिको मृत्यु भएको छ । हाल १८ हजार ८ सय ९० जना सङक्रमित रहेका छन् । शनिबार प्राप्त समाचार अनुसार एक हजार ५ सय ८८ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । जर्मनीमा ६८ जनाको मृत्यु भएको छ भने १९ हजार ६०० जना सङक्रमित रहेका छन् । उपचारपछि १ सय ८० जना घर फर्किएका छन् । संयुक्तराज्य अमेरिकामा २७५ व्यक्तिको मृत्यु भएको छ । हाल १९ हजार ३ सय ५२ जना सङक्रमित रहेका छन् भने १ सय ४७ जनाको उपचार गरिएको छ । फ्रान्समा ४ सय ५० जनाको मृत्यु भएको छ । हाल १० हजार ५ सय ७५ जना सङक्रमित रहेका छन् । दक्षिण कोरियामा १ सय २ जनाको मृत्यु भइसकेको छ भने ६ हजार ८५ जनामा अझै पनि सङ्क्रमण छ । कोरोनाभाइरस संक्रमणका कारण स्वीजरल्याण्डमा ५६ जना, बेलायतमा १ सय ७७ जना, नेदरल्याण्ड्समा १ सय ६ जना, बेल्जियममा ३७ जना र जापानमा ३५ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कम्तीमा २ सय ७० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । पाँच जनाको मृत्यु भइसकेको भारतमा मोदी सरकारले आइतबार एक दिन “जनता कफ्र्यु” लागू गर्न र घरबाहिर कोहीपनि ननिस्कन आह्वान गरेको छ । दक्षिण एसियाली अन्य मुलुकहरु श्रीलङ्कामा ७३, अफगानिस्तानमा २४, बङ्गलादेशमा २०, माल्दिभ्समा १३ र भुटानमा २ जना सङ्क्रमित देखिएका छन् । नेपालमा भने हालसम्म एक व्यक्तिमा कोरोना संक्रमणको आशंका गरिए पनि उनी उपचारपछि घर फर्किसकेका छन्, र नयाँ संक्रमित व्यक्ति भेटिएका छैनन् । रासस/एएफपी

एनआईसी एशियाका डिजिटल बैंकिङ्गका सेवा निःशुल्क

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गका तथा अन्य विभिन्न सेवाहरू निःशुल्क प्रदान गर्ने भएको छ । कोरोना भाइरस (कोभिड -१९) महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले एनआईसी एशिया बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने सबै सेवाहरू निःशुल्क गरेको छ । विश्वभरि नै तिब्र रुपमा फैलिरहेको यस भाइरसको जोखिम कम गर्न अहिले विभिन्न देशहरुले युद्धस्तरमा अनेक सावधानीका उपायहरु अपनाएका छन् । एक व्यक्तिबाट अर्काेमा सजिलै सर्न सक्ने हुनाले भीडभाडमा नजान तथा सबैलाई सजग रहन सरकारले सुझाव दिएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नोट कारोबारको सट्टा कार्ड तथा विद्युतिय कारोबारको माध्यम प्रयोग गर्न वान्छनिय हुन्छ । डिजिटल बैंकिङ्गको समयमा नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेका उक्त बैंकले स्वास्थ्य तथा सुविधालाई मध्येनजर गर्दै आफ्ना ग्राहकलाई घरमै बसेर अनलाईन खाता खोल्न मिल्ने सुविधा प्रदान गर्न बैंकले आग्रह गरेको छ । बैंकले ७ प्रकारका सेवालाई ध्यानमा राख्दै निशुल्क सबै ग्राहकलाई सेवा दिने निर्णय गरेको हो । मोबाईल बैंकिङ्ग सेवा, डेबिट कार्ड, इन्टरनेट बैंकिङ्ग, मिस्डकल बैंकिङ्ग, भाइबर बैंकिङ्ग, च्याटबट, आईभीआर सर्भिसभित्रका सम्पूर्ण सेवा बैंकले प्रदान गर्ने जानकारी दिएको छ । हाल देशभरी बैंकको ३ सय १९ शाखा कार्यालय, ४ सय ५९ एटिएम, १ सय ८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । त्यस्तै बैंकको मुलुकभरी नै २१ लाखभन्दा बढी ग्राहक रहेका छन् । त्यस्तै बैंकले गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आएको छ ।

पानी वितरण प्रणाली र चुहावटमा विशेष ध्यान दिन खानेपानी मन्त्रीको निर्देशन

काठमाडौं । मेलम्चीको पानी काठमाडौं ल्याईसकेपछि उपत्यकामा कसरी वितरण गर्ने भन्ने सम्बन्धमा कार्ययोजना बन्ने भएको छ । खानेपानी मन्त्रालयको सभाहल सिंहदरबारमा शुक्रबार खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा भएको छलफलमा मेलम्चीको पानी वितरण गर्न कार्य योजना बन्ने भएको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले कार्य योजना बनाएर पानी वितरण गर्ने तयारी गरिरहेको छ । छलफलमा मन्त्री मगरले पानी वितरण प्रणाली र चुहावटमा बढी ध्यान दिन केयुकेएललाई निर्देशन दिएको हो । पाईप फुटेर कहीँ कतै लिकेज (चुहावट) भएको छ भने तुरुन्त फिल्डमा गएर मर्मत गरिहाल्न मन्त्री मगरले निर्देशन दिइन् । मेलम्चीको पानी काठमाडौं आउनुपूर्व अहिले भईरहेको चुहावटमा ध्यान दिन उनले केयुकेएलको ध्यानाकर्षण गराइन् । मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा जम्मा भईसकेपछि अहिले वितरण भईरहेको पुरानै प्रणालीबाट उपत्यकाका विभिन्न ठाउँहरुमा वितरण गर्ने र नयाँ वितरण प्रणालीबाट पछि वितरण गर्दै जाने केयुकेएलका कार्यकारी प्रमुख मिलन शाक्यले बताए । सुन्दरीजलमा बनेको प्रशोधन केन्द्रमा मेलम्चीको १७ करोड लिटर पानी प्रशोधन भईसकेपछि त्यही पानी सुरुवाती चरणमा पुरानै पाईपलाईन प्रणालीबाट वितरण गर्ने योजना रहेको शाक्यले जानकारी दिए । ‘उपत्यकाका घर घरमा पुरानै प्रणालीबाट पानी वितरण गर्दै लगिनेछ ।’ शाक्यले भने, ‘नयाँ पाईप लाईन प्रणालीलाई पनि हरेक दिन सँगसँगै परीक्षण गरिनेछ । एकै चोटी पानी नयाँ प्रणालीबाट वितरण गर्दा समस्या आउला भनेर यसो गर्न लागिएको हो ।’ मेलम्चीको पानी पहिलो चरणमा अनामनगरस्थित नयाँ पाइपलाईन वितरण प्रणालीबाट वितरण गर्ने तयारी रहेको छ । सुरुवातमा ५ सय १० वटा धाराहरुमा पानी वितरण हुनेछ । अहिले काठमाडौं उपत्यकामा २ लाख २१ हजार ६ सय धाराहरु बनिसकेका छन् । पानी वितरण गर्दै जाने र द्रुत तरिकाले चुहावट ९लिकेज० पनि मर्मत गर्ने योजना अनुसार नै शाक्यको संयोजकत्वमा मेलम्चीको पानी वितरण तयारी समिति पनि बनाईएको छ । उक्त समितिले द्रुत गतिमा लिकेज मर्मत गर्न फिल्डमा प्राविधिक टोली खटाउने छ । मेलम्चीको पानी संकलनका लागि राजधानीमा ९ वटा पानी पोखरी (ठूला पानी ट्यांकी) को निर्माण सम्पन्न भईसकेको छ । अब ती पोखरीबाट उपत्यकाका विभिन्न स्थानमा पाइपद्वारा पानी वितरण गरिने छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले आरुबारी, बाँसबारी, महांकाल, खुमलटार, बालाजु, भक्तपुरको टिगनी, महाराजगन्ज, कीर्तिपुर, र धोबीघाटमा पोखरीको निर्माण गरिसकेको छ । यसैबीच बैठकमा मन्त्री मगरले कोरोनाको सम्भावित संक्रमणबाट सावधानी अपनाउनु पर्ने भन्दै खानेपानीको महसुल तिर्नुपर्ने समयावधि एक महिना थप गर्न निर्देशन साथै जरिवाना तिर्न नपर्ने गरी महसुल तिर्ने समयावधि बढाउन उनले केयुकेएललाई निर्देशन दिए ।

नर्भिक अस्पतालमा काेराेना संक्रमित बिरामीकाे मृत्यु भएकाे भन्ने अडियाे भ्रामक

काठमाडाैं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा काेराेना भाइरसबाट संक्रमित बिरामीकाे मृत्यु भएकाे भन्ने सन्देशकाे अडियाे गलत भएकाे अस्पतालका अध्यक्ष बसन्त चौधरीले बताएका छन्। सामाजिक सञ्जालमा हल्ला भएजस्ताे अस्पतालमा कुनै काेराेना भाइरस संक्रमितकाे मृत्यु नभएकाे चौधरीले बताएका छन् । हालसम्म नर्भिकमा जाँच भएका कुनै पनि विरामीमा कोभिड १९ का पत्ता नलागेका उनले बताएका छन् । अस्पतालमा उपचार गराइरहेका ९ जनामध्ये ६ जनालाई काेराेना लागेकाे र एक जनाकाे मृत्यु भएकाे भन्ने सामाजिक सञ्जालमा फैलिएकाे सूचना हल्ला मात्र रहेको बताउँदै चौधरीले हल्लाकाे पछि नलाग्न आग्रह गरे। उनले ट्विटमार्फत् नियतबस गराइएको हल्ला भएकाले यस विषयमा साइबर क्राइम ब्यूरोमा जानकारी गराइएको उल्लेख गरेका छन्। ‘शनिवार बिहानैदेखि नै फेसबुक लगायतका विभिन्न सामाजिक सञ्जालमा नर्भिकमा ८ जना कोभिड १९का विरामी भेटिए भन्ने शाब्दिक एवम् भाषिक भ्रामक, कपोलकल्पित एवम् झुट्टा समाचार प्रकाशित भएको पाउँदा नर्भिक इन्टरनेशनल हस्पिटल परिवार आश्चर्यचकित भएको छ’ नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले भने ‘राष्ट्रमा आइपरेको जटिल एवम् संवेदनशील समस्यामा सवै निकाय एक जुट भै समस्यासँग लड्नु पर्ने आजको चूनौतीपूर्ण अवस्थामा यस्ता खाले भ्रामक समाचारप्रति हामी घोर खेद प्रकट गर्दछौं ।’ अडियोमा नर्भिक अस्पतालमा ९ जनालाई चेक गर्दा ६ जनालाई कोरोना भाइरस देखाएको र नेपालमा एकदमै फैलिसकेको भन्दै आतंक मच्चाउन खोजिएको छ। नर्भिक अस्पतालमा काम गर्ने घर नजिकै बस्ने स्टाफले भनेको भनिएको छ। उसले पुल्चोकमा रहेको नर्भिक अस्पताल भनेको छ। नर्भिक पुल्चोकमा हैन थापाथलीमा छ। अडियोमा हिमाललाई फोन गरेर कुरा सुनाउन खोजेको जस्तो बनाइएको छ। तर यो फोन वार्ता भने हैन। किनभने फोनमा एकतर्फी कुरा मात्र छ। उक्त अडियाे शनिबार विहानै देखि भाइरल बनेकाे थियाे । साेही अडियाेलाइ आधार मानेर केही अनलाइनले समाचार बनाएका छन् । अडियाेमा आधारित समाचारमा कुनै पनि सत्यता नभएको जनाउँदै भ्रम फैलाउने कार्य पूर्णतया सामाजिक अपराध भएकाे र निन्दनीय भएकाेले दाेषी व्यक्तिकाे पहिचाहन गरी कारवाही गर्न अस्पतालले माग गरेकाे छ । सरकारले कोरोनाको परीक्षण हुने अस्पतालको सूचीमा नर्भिक पर्दैन। भाइरसकाे परीक्षण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र हुन्छ।  नेपालमा हालसम्म भएको परिक्षणमा एक जनामा मात्र कोरोना संक्रमण देखिएकोमा उनी उपचारपछि निको भइसकेका छन्। पछिल्लो समय भएका परीक्षणमा संक्रमण देखिएको छैन।