विकासन्युज

धितोपत्र बोर्डले भन्योः बजार खोल्नु भनेको छैन, प्रधानमन्त्रीको कुरा नटेरेर आफै जोखिम लिनेलाई हामीले के भन्ने ?

काठमाडौं । पुँजी बजारको नियामक निकाय निकाय धितोपत्र बोर्डले आज सेयर बजार बन्द रहने बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गत शुक्रबार गरेको सम्बोधन अनुसार आज बजार बन्द भएको र कसैले आफैले जोखिम लिएर बजार खोलेमा त्यो विषयमा केही बताउँन नसकिने बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए । ‘प्रधानमन्त्रीले शुक्रबार गर्नुभएको सम्बोधन अनुसार आज सेयर बजार बन्द हो, खोल्नुपर्ने कारण भए हामीले खोल्न बेग्लै निर्देशन दिने थियौं, बजार खोल्न निर्देशन नदिनु भनको आज बजार बन्द नै हो, कसैले आफ्नै रिस्कमा बजार खोलेको भए त्यो उसैको कुरा हो,’ अध्यक्ष ढुंगानाले विकासन्युजसँग भने । आज बजार खोल्नुको अर्थ सरकारको निर्णयको अवज्ञा गर्नुभएको पनि अध्यक्ष ढुंगानाले बताए । ‘विश्वभर फैलिएको कोरोनो संक्रमणबाट बच्नको लागि सरकारले पहल गरेको छ, सरकारको आग्रह र निर्देशनको अवज्ञा गरेर कसैले बजार खोल्छ भने बेग्लै कुरा हो, प्रधानमन्त्रीको निर्देशन नै नमान्नेहरुलाई मैले अहिले थप केही भन्न सक्दिनँ,’ ढुंगानाले भने । प्रधानमन्त्री ओलीले गत शुक्रबार सरकारकाे नाममा सम्बाेधन गर्दै चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक सेवा बाहेक बाँकी सेवाहरू बन्द गर्न आग्रह गरेकाे थियाे । सरकाले तयार पारेकाे राजपत्रकाे सूचीमा सेयर बजार अत्यावश्यक सेवामा परेकाे छैन । त्यसैले आजदेखि सेयर काराेबार हुनु पर्ने हाे । ‘प्रधानमन्त्रीकाे सम्बाेधनले बजार स्वतः बन्द हाे । अब बजार खाेल्नु पर्ने भएचाँहि बाेर्डकाे निर्देशन चाहिन्थ्याे । अहिले हामीले खाेल्ने कुरा गरेकै छैन ।’- ढुंगानाले थपे। तर सरकारकाे विपरित पनि नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले आइतबार सेयर बजार खाेलेकाे छ ।

आज विभिन्न ठाउँमा ग्यास बाँडिदै, कुन ग्यास कहाँ पाइन्छ ?

काठमाडाैं ।  नेपाल आयल निगमले  आज  विभिन्न ठाउँमा ग्यास बाड्ने भएकाे छ । कोरोना भाइरसका त्रासका कारण खाद्य सामाग्रीसँगै एलपी ग्याँसको अभाव हुन थालेपछि निगमले आज विभिन्न ठाउँमा ग्यास बाड्ने भएकाे हाे । उपभोक्ताले सहज रुपमा ग्याँस नपाएको गुनासो बढेपछि काठमाडौं उपत्यकामा कारोबार गर्ने ग्यास कम्पनीहरुले आज साँझ ५ बजेसम्म विभिन्न स्थानमा एलपी ग्याँस वितरण गर्ने जनाइएकाे छ । कुन कम्पनीको ग्यास कहाँ वितरण हुँदैछ ? १. नेपालरतारा ग्यास – बीएमसी कर्नर बालाजु, अनामनगर स्टोर, अनामनगर, एसएस स्टोर, सातदोबाटो २. सगररचण्डी ग्याँस – बिक्री डिपो, जडिबुटी ३. एचटीसी ग्याँस – साल्ट टे«डिङ कर्पोरेशन कालीमाटी, जडिबुटी गोदाम ४. ओम ग्याँस – आदर्श स्टोर थली, डाँछी, उत्सव खड्का नैकाप ५. बाबारश्रीरलुम्बिनी ग्याँस – भद्र फ्युल सेन्टर कपन, इलाईट स्टिल अगाडि, धुम्बाराही ६. एचपी ग्याँस – असीम किचेन एण्ड ग्याँस सप्लायर्स ७. सिद्धार्थ ग्याँस – केसी एलपी ग्याँस सप्लायर्स, इमाडोल ८. श्री माया ग्याँस – कम्पनीको डिपो, सतुंगल ९.लोकप्रिय ग्याँस – भान्जा ट्रेडर्स, नैकाप १०. सूर्य ग्याँस – जोशी भीमसेन स्टोर, जगाती ११. गीता ग्याँस – टोयटा शोरुमको अगाडि धुम्बाराही १२. राजधानी ग्याँस –बिक्री डिपो, सीतापाइला १३. हिमाल ग्याँस – प्रयास टेडर्स एण्ड सप्लायर्स, भगवती बहाल १४. नमस्ते – कुमार स्टोर, कागेश्वरी मनहरा १५. भानु ग्याँस – लीला ग्याँस डिपो, गोंगबु १६. एभरेष्ट- सुगम ग्याँस – ग्याँस एण्ड अक्सिजन ट्रेड, सिफल १७. श्रीराम ग्याँस – सेल्स डिपो, हरिसिद्धी

साताकाे पहिलाे दिन प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुन

काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोला एक हजार रुपैयाँले बढेको छ । गत साताको अन्तिम दिन प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको अन्तिम दिन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा बिक्री भएको तेजावी सुन एक हजार रुपैयाँ बढेर ७६ हजार २ हजारमा कारोबार भइरहेको छ । त्यस्तै गत शुक्रबार प्रतितोला ७ सय रुपैयाँमा कारोबार भएको चादी २० रुपैयाँ बढेर ७ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

नेपाल रेडक्रस साेसाइटीकाे महाधिवेशन सर्याे, कोरोना भाइरसको रोकथाममा सक्रिय हुने

काठमाडाैं । नेपाल रेडक्रस सोसाइटीकाे चैत्र तेस्रो साताकाे लागि तय भएकाे संस्थाको महाधिवेशन स्थगित भएकाे छ । साेसाइटीकाे महाधिवेशन २०७७ जेठ अन्तिम सातालाई सारिएको  साेसाइटीकाका अध्यक्ष संजीव थापाले बताए । कोभिड-१९ (कोरोना भाइरस) रोकथाम र प्रतिकार्यको लागि नेपाल रेडक्रस सोसाइटीले संस्थाका ७७ वटै जिल्लामा नेपाल रेडक्रस साेसाइटी जस्ताे पराेपकारी संस्थाकाे भूमिका  बढी हुने भएकाेले स्वयंसेवक र कर्मचारीहरु त्यस कार्यमा सक्रिय हुने उनले बताए । मुलुकका सबै जिल्लास्तरमा रेडक्रसका शाखाले सामुदायिक परिचालक/स्वयंसेवकको व्यवस्था गरेका छन् । संस्थाका विभिन्न विभागहरुले एकिकृत योजना बनाई  क्षमता विकास गरी स्वयंसेवक परिचालन,  सामुदायिक आवश्यकता र संलग्नताको अवधारणा बमोजिम जनचेतनामूलक कार्यक्रमहरु केन्द्रदेखि जिल्लास्तरमा सञ्चालन भइरहेका नेरेसो स्वास्थ्य विभागका निर्देशक विपुल न्यौपानेले बताए  । विद्यालय तथा समुदायमा छलफल कार्यक्रम, अभिमुखीकरण/तालिम सञ्चालन, स्थानीय संघ सस्थाहरूसँग बैठक, सूचना, शिक्षा तथा सञ्चार सामग्रीको वितरण,  सडक नाटक तथा एफ एम रेडियो मार्फत् समुदायलाई आवश्यक सही सूचनाहरू प्रचारप्रसार गतिविधिहरुमा नेरेसोका युवा स्वयंसेवकहरु परिचालित भएका हुन् । कोरोनाका कारण हुनसक्ने जोखिम न्यूनीकरणका लागि नेपाल सरकार, रेडक्रसका अन्तर्राष्ट्रिय महासँघ, यूएन, लगायतका निकायसँग आवश्यक समन्वय गरी समग्रमा त्यसवाट हुनसक्ने क्षतिको रोकथाम तथा नियन्त्रण गर्न मद्दत पुर्याउने गरी कार्यविधि र कार्ययोजना नै तयार गरी काम भइरहेको नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकालले बताए। नेपाल सरकारको स्वास्थ्य मन्त्रालयसंग निकटमा रही सन् २०२० को जनवरीदेखि कोरोना भाइरसको प्रतिकार्य र रोकथाममा नेरेसोले काम गर्दै आएको हो । आपत्कालीन केन्द्र पनि सञ्चालनमा आइसकेको छ । रेडक्रसले भाइरसभन्दा कैयौंगुणा छिटो फैलिएको अफवाह वा भ्रम कम गराई मानसिक दवाव, पीडा, डरका साथै समुदायमा हुनसक्ने हेयभाव(स्टिङ्गमा) कम गराउन कार्य गरिरहेको नेरेसोका सञ्चार विभाग निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । सहयोगका साथै व्यक्तिगत सुरक्षाको प्रवन्ध शुक्रराज सरुवारोग अस्पताल स्वास्थ्य डेस्कमा नेपाल रेडक्रसका स्वयंसेवकहरु दैनिक खटिइरहेका छन् । यस अलावा रेडक्रस स्वयंसेवक र कर्मचारीहरुले देश भित्रिने नाका, एयरपोर्ट तथा मानिसहरूको बढी चहलपहल हुने स्थानमा हेल्प डेक्समा सहयोग गरिरहेका छन् । यसैबीच थप सजगता अपनाऊन केन्द्रीय कार्यालयमा प्रवेश गर्ने कर्मचारी तथा स्वयंसेवकको तापक्रम नाप गर्ने, गेटबाट पस्ने वित्तिकै हात धुने, बैठक बस्नै परेमा दुरी कायम गर्ने उपायहरु अवलम्बन गरिएको छ । रक्तसञ्चार केन्द्रमा रगतको मागको लागि आऊने विरामीका आफन्तहरुलाई पनि यस्तै शुरक्षाका उपायहरु अपनाइएका छन् । रक्तदानमा सहयोग गर्न अनुरोध नेपाल सरकारले भिडभाड नगर्न निर्देश गरे अनुरुप मानिसहरुको सामूहिक भेला हुने क्रम घट्दै गइरहेकोले रक्तदान कार्यक्रममा समेत प्रभाव पर्न गई काठमाडौं लगायत देशका सबै जसो जिल्लाहरुमा रक्तदानका कार्यक्रमहरुमा कमी आएको रक्तसञ्चार केन्द्रकी निर्देशक डा. मनिता राजकर्णिकारले बताए । ‘रगतको आपूर्तिमा कमि हुन नदिन र रगत आवश्यक पर्ने विरामीहरुको जीवन बचाउन पायक पर्ने रक्तसञ्चार केन्द्रहरुमा गई रक्तदान गर्न नेरेसोले  अनुरोध गरेको छ  । डा. राजकर्णिकारले भने-‘असहज परिस्थितिमा रक्तसञ्चार निरन्तर गर्न थप सतर्कता र तयारी गरिएको छ र सहयोगको लागि स्वास्थ्य मन्त्रालयसँग कुराकानी भैरहेको छ ।’ अत्यावश्यक सेवाबाहेक अन्य सवै गतिविधि स्थगन अहिलेको सन्दर्भलाई दृष्टिगत गर्दै कोरोना भाइरस तथा डेंगु रोकथाम र नियन्त्रण लगायत रक्तसञ्चार सेवा, एम्बुलेन्स सेवा, प्राथमिक उपचार तथा विपद् प्रतिकार्य जस्ता अत्यावश्यक र आपत्कालीन सेवा गतिविधिहरु बाहेक अन्य तालिम, गोष्ठी, भ्रमण, भेला जस्ता कार्यक्रम अर्को सूचना जारी नभएसम्म नगर्न नगराउन नेरेसो केन्द्रीय कार्यालयले सबै निकायहरुलाई सूचना जारी गरेको संस्थाका कार्यबाहक महामन्त्री हरिप्रसाद न्यौपानेले जानकारी दिए। कोरोना भाइरसको प्रकोपको परिस्थिति मूल्यांकन गरी चैत्र तेस्रो साता हुने संस्थाको महाधिवेशनलाई २०७७ जेठ अन्तिम सातालाई सारिएको नेरेसोका अध्यक्ष संजीव थापाले बताए । यसअघि चैत्रको २३ देखि २५ गतेदेखि काठमाडौँमा महाधिवेशन तोकिएको थियो । परिस्थिति जटिल बनेको खण्डमा आइसोलेशन वा क्वारेन्टाइनमा थप सहयोग गरिने परिस्थिति जटिल बनेको खण्डमा कोरोना भाइरस संक्रमित र सम्भावित जोखिम भएका व्यक्तिहरूलाई घर वा सामुदायिक स्थलहरूमा क्वारेन्टाइनमा राख्नु पर्ने अवस्था आएमा रेडक्रसले स्थानको सहयोगका साथै आइसोलेशन वा क्वारेन्टाइनमा रहेका व्यक्तिहरूका लागि सहयोग गर्ने रणनीति बनाएको छ ।  सामग्रीहरू खरिद, स्वास्थ्य अवस्थाको अभिलेखन, पारिवारिक सम्पर्क स्थापना, कैदीबन्दीहरु लाई सहयोग,  मनोसामाजिक परामर्श तथा सहयोग जस्ता क्षेत्रमा काम गरी जीवन सहज बनाउन रेडक्रसकर्मीहरु खटिने योजना बनाइएको छ ।साथै, योजना अनुसार उपचार गर्ने अस्पतालहरूलाई आवश्यक सहयोग व्यवस्था मिलाइने छ । कोभिड-१९ भएको व्यक्ति पाइएको पुष्टि भएमा ऊसँग सो अघि सम्पर्कमा आएका व्यक्तिहरूको पनि खोजी गरी उपचार गर्नु पर्ने अवस्थामा खोजी(कन्ट्याक ट्रेकिङ) गर्न रेडक्रसले तालिमप्राप्त टोलीको तयारी गरिसकेको छ ।प्रतिकार्यका क्रममा रेडक्रस मूल्य, मान्यता, का साथै बाल संरक्षण, दुर्व्यवहार , लैङ्गिक तथा यौन हिंसा रोकथामका विषयलाई विशेष ख्याल गर्न निकायहरुलाई निर्देशन दिइएको छ ।

एनएलजी इन्स्योरेन्सको धेरै सेवा अनलाइनबाटै, कर्मचारीलाई घरबाटै काम गर्ने सुविधा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले ग्राहक र कर्मचारीलाई कोरोना भाइरस संक्रमणबाट बच्न उच्च सर्तकता अपनाएको छ । बीमा सेवा अत्यावश्यक सेवाभित्र पर्ने भएकोले महामारीको बेलामा पनि सेवाहरु सूचारु गरिने तर भाइरस संक्रमणबाट जोगिन सक्दो प्रयासहरु गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले बताए । कम्पनीले सेवा सञ्चालनमा अपनाउनु पर्ने कागजी विधिलाई कम गर्दै डिजिटल कारोबारलाई जोड दिएको छ । नयाँ बीमा पोलिसी लिन वा बीमा दावी गर्नको लागि ग्राहकले इमेल, भाइवर, म्यासेन्जर, ह्वाटस्अप, लगायतका डिजिटल प्लेटफर्म प्रयोग गर्न सक्ने र कम्पनीले बीमा पोलिसी जारी गर्दा वा दावी भुक्तानीको प्रक्रिया अगाडि बढाउँदा पनि सोही विधि अपनाउने उनले बताए । ‘पोलिसी जारी गर्दा वा दावी भुक्तानी गर्दा नियमअनुसार कागजपत्र सबै बनाउँछौं । सबै डकुमेन्टहरुको हार्डकपी रेकर्ड पनि राख्छौं । तर महामारीको समयमा सकेसम्म ग्राहकलाई कार्यालयमा पुग्नु नपरोस भनेर डिजिटल डकुमेन्टका आधारमा सेवा सञ्चालन गर्छौ’ उनले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै कोरोना संक्रमणबाट जोगिन सकेसम्म अनलाइन प्रयोग गर्न र मिलेसम्म घरबाटै अफिसको काम गर्न देशवासीलाई अनुरोध गरेकोले सरकारको आह्वानको परिपालना गर्दै कार्यालय चलाउने विधि एनएलजीले अपनाएको प्रमुख कार्यकारी अधिकतृ पन्तले बताए । कम्पनीले कर्मचारीबीच हात मिलाउन, अंकमाल गर्न पूर्णत रोक लगाएको छ । त्यस्तै ग्राहक र कर्मचारीबीच हात मिलाउने, अंकमाल गर्ने काम पनि पूर्णत बन्द गरेको छ । प्रत्येक आधा घण्टामा साबुन पानीले हातधुन, स्यानीटाइजरको प्रयोग गर्न, सबैले आफ्नो कम्यूटर वा ल्यापटप मात्र चलाउन, अरुको डिभाइस नछुन, कार्यकक्षको ढोका नियमित खुला राख्न, दिनमा दुई/तीन पटक कागती पानी सेवन गर्न, एक÷एक घण्टामा तातोपानी, चिया, कफी पिउन कर्मचारीलाई प्रोत्साहित गरिएको उनले बताए । ‘एनएलजी इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीको हितलाई सधैं प्राथमिकतामा राखेको छ । यस्तो बेलामा उनीहरुको रेखदेखमा म आफै नियमित खटेको छु’ प्रमुख कार्यकारी अधिकृत पन्तले भने । कार्यालयमा पस्नुअघि ग्राहकलाई स्यानिटाईजर प्रयोग गर्न दिने, ग्राहकलाई मिटिङ कक्षमा मात्र प्रवेश दिने, मिटिङमा ५ जना भन्दा बढी नबस्ने, कर्मचारीहरुबीच तथा कर्मचारी र ग्राहकबीचको दुई २ मिटर दुरी कामय गरी बोल्ने विधि बनाई त्यसलाई पूर्णरुपमा पालना गरिएको उनले बताए । कार्यालय आउन कठिन भएका कर्मचारीको लागि घरबाटै काम गर्ने व्यवस्था पनि मिलाइएको उनले जानकारी दिए । कर्मचारी हटाउने वा तलब कटाउने विधिमा कम्पनी नगएको उनले बताए ।

बैंकको व्याज र करको समयावधि तीन महिना थप्न वालिङ उद्योग वाणिज्य संघको आग्रह

काठमाडौं । वालिङ उद्योग वाणिज्य संघले बैंकको व्याज र करको समयावधि तीन महिना थप्न आग्रह गरेको छ । संघले शुक्रबार एक विज्ञप्ती सार्वजनिक गर्दै व्यवसायी तथा उद्योगीले तिर्नु पर्ने बैंकको व्याज र करको सामयावधि  तीन महिना थप गर्न आग्रह गरेको हो । संघले चैत मसान्तसम्म तिर्नु पर्ने करको समावधि तीन महिना बढाउन स्थानिय सरकार, प्रदेश र संघलाई आग्रह गरेको हो । विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण व्यवसायीहरु संकटमा परेको बताउँदै संघले बैंकलाई तिर्नु पर्ने ऋणको समावधि तीन महिना थप गर्न उल्लेख गरिएको छ । यस्तै संघले विद्युत महसुलको न्युनतम शुल्क मिनाह गर्न विज्ञप्तीमार्फत उल्लेख गरेको छ । संघले यो संकटको समयमा बजारमा हुने कृतिम अभावलाई नियन्त्रण तथा रोक्नका लागि सबैलाई अनुरोध गरेको छ ।

त्रिभुवन विश्वविद्यालयकाे रेक्टरमा डा.भूसाल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले त्रिविकाे शिक्षाध्यक्ष (रेक्टर)मा डा. शिवलाल भुसाललाई नियुक्त गरेकाे छ  । तीन वर्ष अगाडिदेखि त्रिभुवन विश्वविद्यालयमा नै डीनको रुपमा कार्यरत डा.भूसाल गत पुस महिनादेखि निमित्त शिक्षाध्यक्षको रुपमा रहेका थिए । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डा. भूसाललाई सो पदमा नियुक्त गरेको त्रिविले जनाएको छ । अर्थशास्त्रमा विद्यावारधी गरेका भुसाल लामो समय पाल्पाको त्रिभुवन क्याम्पसमा अध्यापन गरेका थिए ।  

सेन्ट जेभियर्सकाे कक्षा १ को भर्ना परीक्षाको नतिजा स्थगित

काठमाडौं । सेन्ट जेभियर्स स्कुलले शैक्षिक शत्र २०७७/०७८ सालको लागि लिएका कक्षा १ को भर्ना परीक्षाको नतिजा स्थगित गरेकाे छ । सारेको छ । विद्यालयले शनिबार एक सूचना सार्वजनिक गर्दै परीक्षाकाे नतिजा स्थगित गरेकाे हाे । कोभिड १९ को संभावित प्रकोपलाई नजर राख्दै स्कुलले नतिजा स्थगित गरेकाे बताएकाे हाे । चैत ५ गते लिइएको कक्षा १ को परिक्षा अर्काे सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरेको विज्ञप्ती मार्फत जनाएको छ । याेभन्दा अगाडि सरकारले सेन्ट जेभियर्स स्कुललाई प्रवेश परीक्षाको नतिजा रोक्न निर्देशन दिएको थियाे । शिक्षा विकास समन्वय इकाइ, ललितपुरका प्रमुख योगेन्द्रप्रसाद बरालले नतिजा रोक्न निर्देशन दिइसकेको जानकारी थिए। सेन्ट जेभियर्स स्कुलले सरकारको निर्देशन विपरीत कक्षा १ मा छात्र तथा छात्राको भर्नाका लागि प्रवेश प्ररीक्षा लिइएको थियो । कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चैत मसान्तसम्म बालविकास केन्द्रदेखि विश्वविद्यालयमा कुनै पनि शैक्षिक गतिविधि नगर्ने निर्देशन दिएको थियो । साेही निर्देशनकाे पालना गर्दै स्कुलले परीक्षाकाे नतिजा स्थगित गरेकाे हाे ।