मध्यरातमा कोरोनाविरुद्ध सेनाले किटनाशक औषधी छर्किने भन्ने सत्य होइन – सेना
काठमाडौं । हेलिकप्टर प्रयोग गरि कोरोना भाइरसविरुद्ध किटनासक औषधी छोडिने भन्ने कुरा सत्य नभएको नेपाली सेनाले जानकारी दिएका छन् । विश्वव्यापी फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै आन्तरिक रुपमा प्रभावकारी व्यवस्थापनमा खटिएका नेपाली सेनाले किटनाशक औषधी छाड्ने योजना नरहेको शनिबार बेलुकी सूचना सार्वजिनक गरेकाे छ । विभिन्न सञ्चार माध्यममा नेपाली सेनाले कोरोना भाइरसविरुद्ध किटनासक औषधी छोडिने भन्ने समाचारप्रति सेनाको गम्भिर ध्यान केन्द्रित भएसँगै उक्त सूचना प्रकाशित गर्नु परेकाे नेपाली सेनाले जनाएकाे छ ।
१० करोड लगानी थपेर स्यानिटाइजर बनाउँदै जडीबुटी उत्पादन कम्पनी
काठमाडौं । सरकारी स्वामित्वको कम्पनी जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले स्यानिटाइजर उत्पादन गर्ने भएको छ । कोरोना भाइरस संक्रमणको कारण बजारमा स्यानिटाइजको अभाव देखिएपछि सरकारी स्वामित्वको कम्पनी यसको उत्पादन तयारीमा लागेको हो । कम्पनीले अहिले उत्पादन गरिरहेका वस्तुले पनि स्यानिटाइजको काम गर्ने भएपनि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड अनुसारका कम्पोनेन्ट नभएकोले स्यानिटाइजर नै उत्पादन गर्न लागिएको कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिए । ‘हामीले अहिले उत्पादन गरेका सिन्ट्रोनेला, मेन्था, मसलाको तेल जस्ता वस्तुले पनि व्याक्टेरिया तथा भाइरस संक्रमण रोक्न भूमिका खेल्छन्, तर यी वस्तुले स्यानिटाइजरकै काम गर्छन भनेर दाबी गर्न ल्याव परीक्षणबाट पुष्टी भइसकेको अवस्था छैन, त्यसैले स्यानिटाइजकै काम गर्न डब्लुएचओको मापदण्ड अनुसारको कम्पोनेन्ट मिसाएर स्यानिटाइजर नै उत्पादन गर्ने तयारीमा छौं,’ महाप्रबन्धक कार्कीले विकासन्युजसँग भने । स्यानिटाइजरमा कम्तिमा पनि ७० प्रतिशत अल्कोहल चाहिन्छ । यसको परिपूर्ति नेपालमै परम्परागत रुपमा उत्पादन भइरहेको एकपाने रक्सीले पनि गर्न सकिन्छ । तर, व्यवसायिक रुपमा स्यानिटाइजर बनाउन ठूलोपरिमाणमा अल्कोहल चाहिने भएकोले सोबाट सम्भव नहुने कम्पनीले जनाएको छ । स्यानिटाइजरको लागि चाहिने अल्कोहलको मात्रा पूरा गर्ने अर्काे र सवैले प्रयोग गरेको वस्तु इथानोल हो । अहिले भारतलगायतका देशले इथानोल निर्यातमा प्रतिवन्ध गरेका कारण कम्पनीलाई चाहिने परिमाणमा प्राप्त गर्न सकिन्छ कि सकिन्न भन्ने कुराले उत्पादन कहिलेदेखि बजार आउँछ भन्ने निर्धारण हुने महाप्रबन्धक कार्कीले बताए । ‘डब्लुएचओले दिएको फर्मुला मिलाएर स्यानिटाइजर बनाउने हो, हामीले अहिले पनि एन्टी व्याक्टोरियल र एन्टी भाइरल वनस्पतिबाट तेल निकालेर विक्री गरिरहेका छौं, स्यानिटाइजर उत्पादन गर्न चाहिने कच्चा पदार्थको उपलब्धता हुने हो भने अबको एक डेढ महिनाभित्रमा उत्पादन बजारमा आइसक्छ,’ महाप्रबन्धक कार्कीले भने । कम्पनीले आफ्ना विभिन्न स्थानमा रहेका उद्योग तथा ल्यावहरुमा कच्चा पदार्थको समिश्रण गर्ने र काठमाडौंमा ल्याएर बट्टामा राखेर बजारमा पठाउने तयारी गरेको छ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले ५० एमएलदेखि ५ सय एमएलसम्मको बट्टामा उपलब्ध हुने गरी स्यानिटाइजर बजारमा ल्याउन लागेको छ । स्यानिटाइजर उत्पादन गर्नको लागि कम्पनीसँग दक्ष जनशक्ति तथा उपकरणको व्यवस्था गर्न बढीमा १० करोड रुपैयाँ थप लगानी आवश्यक देखिएको महाप्रबन्धक कार्कीले जानकारी दिए ।
कलंकीका एक घरबेटीले गरे तीन महिना भाडा नलिने घोषणा
काठमाडौं । काठमाडौंको कलंकीका घरधनी हरिहर लामिछानेले ३ महिनासम्मको घरभाडा नलिने घोषणा गरेका छन्। कोरोनाको जोखिम बढेसँगै सरकारले उच्च सतर्कता अपनाएको छ। पढाई तथा जागिरका लागि काठमाडौंमा रहेका मानिसहरु गाँउ फर्कन थालिसकेकाे याे अवस्थामा भाडा लिनु नलिने कुरा सामाजिक संजाल मार्फत जानकारी गराएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस मार्फत लामिछानेले आफ्नो घरमा बस्नेहरुलाई चैतदेखि ३ महिनादेखि ३ महिनासम्मको भाडा नलिने घोषणा गरेका हुन। आफूले प्रचारबाजीको लागि मात्र नभई दुःखको बेला मानवीय सेवाको भावले यस्तो निर्णय लिएको बताए। कलंकी स्थित आफ्नो निवासमा बहालमा बसेका सबैको ३ महिनाको घरभाडा मिनाहाको घोषणा गर्ने व्यक्ति उत्तरी मकवानपुर स्थित थाहा नगरपालिकाको चित्लाङका हरिहर लामिछाने हुन् ।
कोरोना भाइरसकाे संक्रमणबारे झुटो अडियाे प्रचार गर्ने युवक पक्राउ
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको मृत्यु भएको भन्दै झुटो प्रचार गरेको अभियोगमा युवक पक्राउ परेका छन् । रामेछाप घर भइ भक्तपुर बस्दै आएका २० वर्षिय विवेक थापा मगरलाइ उक्त अभियोगमा प्रहरीले पक्राउ गरेको हो । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइरहेको र अस्पताल र सरकारले मिलेर सो कुरा बाहिर नभनेकाे भन्दै सामाजिक संजालमा एउटा अडियाे सन्देश पोष्ट गरेका थिए । अडियोमा नर्भिक अस्पतालमा ९ जनालाई चेक गर्दा ६ जनालाई कोरोना भाइरस देखाएको र नेपालमा एकदमै फैलिसकेको भन्दै आतंक मच्चाउन खोजिएको छ। नर्भिक अस्पतालमा काम गर्ने घर नजिकै बस्ने स्टाफले भनेको भनिएको छ। तर कोरोना संक्रमणको पुष्टि भएको, मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउनेहरु पनि सक्रिय भएको पाइएको छ । यस्ता अनर्गल प्रचारबारे नेपाल प्रहरीको ध्यानाकर्षण भएको र दोषीलाई पक्राउ गरी कारबाही गरिने नेपाल प्रहरी साइबर ब्यूरो शाखा भक्तपुरले जानकारी दिएको छ । सम्बन्धित समाचार नर्भिक अस्पतालमा काेराेना संक्रमित बिरामीकाे मृत्यु भएकाे भन्ने अडियाे भ्रामक
साताको शेयर : कोरोनाकाे प्रभाव परे पनि आठ अर्बको कारोवार, अर्काे सातादेखि बजार बन्द
काठमाडौं । कोरोना भाइरसको त्रासले शेयर बजारसमेत प्रभावित भएको छ । सोही कारण नेप्सेमा चरम उतारचढावसमेत देखा परेका छन् । यस साता लगानीकर्तामा पनि एक प्रकारको नकारात्मक अवस्था देखा पर्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १७४ कम्पनीका कूल दुई करोड २७ लाख १९ हजार १ सय २२ कित्ता शेयर रुपैयाँ ८ करोड २६ लाख ९५ लाख दुई हजार ७ सय ११ बराबरको कारोवार भएकाे थियाे । त्यस्तै अर्काे सातादेखि अर्थात आइतवारदेखि सेयर बजार बन्द हुने भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशवासीको नाममा सम्बोधन गर्दै सो दिनदेखि चैत २१ गतेसम्म अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु बन्द हुने बताएका हुन् । साताको पहिलो दिन नेप्से परिसूचकमा भारी गिरावट देखा पर्यो । शेयर कारोवारमा सहजता ल्याउन भन्दै नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेपाल स्टक एक्सचेञ्जले कारोवार समय थप गरेर ४ बजेसम्म पु¥याएको भए पनि बजारमा उत्साह देखिन सकेन । त्यस दिन नेप्से परिसूचक ६४.१४ अङ्कले घटेर एक हजार ३१३.०४ मा पुग्यो । कूल १७४ कम्पनीका ५५ लाख ७० हजार ३० कित्ता शेयर दुई अर्ब १० करोड १४ लाख १७ हजार २ सय ९२ रुपैयाँमा खरिद बिक्री भए । सोमबार नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भयो । त्यस दिन नेप्से ३.३५ ले वृद्धि भई एक हजार ३१६.३९ मा पुग्यो । कूल १६० कम्पनीको ४१ लाख ९१ हजार ४ सय १५ कित्ता शेयर रु एक अर्ब ६१ करोड ५३ लाख ४१ हजार ८ सय ७७ मूल्यमा खरिद बिक्री भए । मङ्गलबार नेप्से परिसूचक भारी अङ्कले ओरालो लाग्यो । त्यस दिन नेप्से परिसूचक ४४।३३ अङ्कले घटेर एक हजार २७२।०६ मा पुग्यो । घटेको बजारमा कारोवार रकम भने झण्डै डेढ अर्ब बराबर भएको छ । कूल १७५ कम्पनीको ४३ लाख ६७ हजार ७ सय ७५ कित्ता शेयर एक अर्ब ४६ करोड ५१ लाख ८४ हजार ६५६ मूल्यमा खरिद बिक्री भए । बुधबार पनि नेप्से परिसूचक ओरालो लाग्नेक्रम रोकिएन । त्यसदिन नेप्सेमा १६.२६ अङ्कले गिरावट भयो । आज कूल १७२ कम्पनीको ३४ लाख ८३ हजार २२१ कित्ता शेयर रु एक अर्ब १८ करोड ४४ लाख १६ हजार ८ सय ७८ मा खरिद बिक्री भए । साताको अन्तिम दिन बिहीबार नेप्सेमा सामान्य सुधार देखापर्यो । त्यस दिन नेप्सेमा १३.५० ले वृद्धि भई एक हजार २६९.३० मा पुग्यो । नेप्सेको उकालो यात्रासँगै कारोवार रकमसमेत बढेर झण्डै रु दुई अर्बको हाराहारीमा पुग्यो । कूल १७३ कम्पनीको ५१ लाख छ हजार ६ सय ८१ कित्ता शेयर एक अर्ब ९० करोड ३१ लाख ४२ हजार आठ बराबरको कारोवार भयो । चार कम्पनीको शेयर सूचीकृत साताभर बजारमा विभिन्न चार कम्पनीका कूल ६९ लाख २४ हजार ३ सय १२ कित्ता शेयर सूचीकृत भए । त्यसमा कृषि विकास बैंकको कूल ५४ लाख नौ हजार ३ सय १७ कित्ता शेयर लाभांश, गणपति माइक्रोफाइनान्सको ७२ हजार ४ सय ५० कित्ता शेयर लाभांश, आइसिएफसी फाइनान्सको चार लाख ४३ हजार २ सय ९६ कित्ता शेयर लाभांश र आरएमडिसी लघुवित्तको कूल नौ लाख ९९ हजार २ सय ४८ कित्ता शेयर लाभांश सूचीकृत भएको छ । रासस
सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने: अनिवार्य मास्क लगाउन आह्वान
काठमाडौं । कोरोना भाइरस (कोभिड १९ ) जोखिमबाट सतर्कता अपनाउन सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले शुक्रबारदेखि नै विशेष पूजाको रसिद काट्न बन्द गरेको थियो । बिहीबारसम्म काटेका रसिदको विशेष पूजा आइतबार सकिएपछि सोमबारदेखि भक्तजनले मनोकांक्षा पूरा गर्ने उद्देश्यले गर्ने विशेष पूजा नगरिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । कोषले भक्तजनसँग पूजाका लागि तोकिएको शुल्क लिएर विशेष रुद्राभिषेक गर्ने व्यस्था गरेको थियो । विशेष पूजाका लागि धेरै भक्तजनको रुचि पनि बढ्दै गएको थियो । कोषका लागि आम्दानीको स्रोत पनि बनेको विशेष पूजा सो भाइरसको सतर्कता लागि २५ जना भन्दा बढी उपस्थित हुन नपाउने नियमका कारण स्थगित गरिएको हो । यसले पशुपतिको नित्य पूजामा कुनै प्रभाव नपर्ने उनले बताए । पशुपतिमा दर्शनका लागि आउने भक्तजनका लागि तीन मिटर परैबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ । पशुपति आउने सबै भक्तजनलाई अनिवार्य रुपमा मास्क लगाएर आउन पनि कोषले आह्वान गरेको छ । पशुपति मूल मन्दिरभित्र दर्शनका लागि छिर्ने भक्तजनलाई पश्चिम ढोका अघि साबुन, पानी, स्यानिटाइजर लगायत सुरक्षाका उपाय पनि अललम्बन भएको छ । यसैगरी पशुपति क्षेत्रमा हुने ठूला यज्ञ पनि बन्द गरिएको छ । चैत ११ गतेदेखि हुन लागेको महारुद्रयाग पनि हाललाई स्थगित गरिएको छ । पशुपतिमा हुने गंगा आरतीमा शनिबारदेखि २५ जनाभन्दा कम मानिसमात्र सहभागी हुनेछन् । कोरनाको त्रास कम भएपछि हाल स्थगित गरिएका विशेष पूजा लगायत यज्ञ यागादि पनि गरिने जनाइएको छ । रासस
काेराेना भाइरस प्रभाव: कामदार चीनमा, आयोजना कम्पनी प्रभावित
काठमाडौं । कोरोना भाइरसका कारण विश्व नै त्राहीमान भइरहेका बेला त्यसको प्रभाव विभिन्न क्षेत्रमा परेको छ । नेपालका विभिन्न विकास निर्माणका कामसमेत त्यसबाट प्रभावित भएका छन् । निर्माण सम्पन्न हुने क्रममा पुगेका र राम्रो भौतिक प्रगति भएका जलविद्युत आयोजनासमेत त्यसबाट नराम्ररी प्रभावित भएका छन् । चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनीले निर्माण गरिरहेका दुई आयोजनामध्ये एक आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको थियो । तर, कोरोना भाइरसका कारण चिनियाँ प्राविधिक आउन नसक्दा इलेक्ट्रोमेकानिकल उपकरण जडान गर्न समस्या भएको छ । कम्पनीले माथिल्लो र तल्लो साञ्जेन गरी दुई आयोजना निर्माण गरिरहेको छ । त्यसमध्ये १८.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेनको काम करिब सम्पन्न हुने चरणमा पुगेको थियो । भौतिक निर्माणको काम करिब ९० प्रतिशत सम्पन्न भएको सो आयोजनाको विद्युत गृहमा उपकरण जडान गर्ने कार्यतालिका तय गरिएको थियो । तर गत डिसेम्बरको अन्तिमदेखि चीनमा फैलिएको कोरोनाका कारण चिनियाँ कामदार उतै रोकिँदा उपकरण जडानमा समस्या भएको साञ्जेन जलविद्युत कम्पनी लिमिटका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए । चीनमा कोरोनाको सङ्क्रमण कम भएपछि चिनियाँ प्राविधिक आउने सूचना आए पनि सरकारले विदेशी नागरिकलाई तत्काल नेपाल आउन लगाएको प्रतिबन्धका कारण उनीहरु उतै रोकिएका छन् । कोरोनाको प्रभाव न्यून नहुँदासम्म आयोजनामा कुनै काम नहुने अवस्था देखिएको छ । “कोरोना भाइरसको असरले उपकरण जडानको काम प्रभावित भएको छ, चिनियाँ कामदार फर्किन नसक्दा उपकरण जडानमा ढिलाइ भएको हो”, उनले भने । रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेनबाट चालू आर्थिक वर्षको अन्त्यदेखि विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएको छ । कोरोनाका कारण थपर दुई महिना पर धकेलिने अवस्था आएको श्रेष्ठको भनाइ छ । “कोरोनाको असरले काम रोकिँदा उत्पादन तालिका पनि पछि सर्ने सम्भावना देखिएको छ, हेरौँ प्रभाव कस्तो पर्छ, सोही आधारमा थप निर्णय होला”, श्रेष्ठले भने । यस्तै आयोजना सकिएको भए पनि प्रसारण लाइनको अभावमा उत्पादित विद्युत पूर्ण क्षमतामा राष्ट्रिय प्रसारण लाइनमा जोड्न पनि समस्या रहेको थियो । निर्माणाधीन चिमिले–त्रिशूली थ्री बी हब प्रसारण लाइन र सवस्टेशनको कामसमेत पूरा भएको छैन । सो प्रसारण लाइन नबने पनि वैकल्पिक व्यवस्था गरेर नौ मेगावाट विद्युत् जोड्ने तयारी गरिएको थियो । तल्लो साञ्जेनको सुरुङ ‘ब्रेक थ्रु’ चिलिमको हालकै प्रसारण लाइनमार्फत नौ मेगावाट विद्युत् जोड्ने तयारी गरिएको थियो । यस्तै कूल ४२ दशमलव पाँच मेगावाट क्षमताको तल्लो साञ्जेनको शुक्रबार मात्रै सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको कूल तीन हजार ६७३ मिटर लामो मुख्य सुरुङ शुक्रबार निर्माण सम्पन्न भएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए । आज शनिबार सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि साञ्जेन खोलाको पानी व्यवस्थापन गरेर शुक्रबार नै सुरङ ‘ब्रेक थ्रु’ गरिएको आयोजनाले जनाएको छ । आयोजनाको प्रमुख र महत्वपूर्ण मानिएको सुरुङ निर्माण कार्य सम्पन्न भए पनि अब सुरुङको ढलान तथा मर्मतको काम अगाडि बढाइनेछ । सो कार्यका लागि कम्तीमा आठ महिना समय लाग्नेछ । हाल आयोजनाको भौतिक निर्माण झण्डै ७८ प्रतिशतको हाराहारीमा पुगेको छ । यस्तै आयोजनाको बाँध क्षेत्रको भौतिक निर्माण यसअघि नै सम्पन्न भएको छ । हाल विद्युत् गृह निर्माण तथा टेलरेस सुरुङमा पाइप जडानलगायतका काम भने जारी छ । कोरोनाका कारण ठेकेदार कम्पनीका प्राविधिक, कर्मचारी र केही उपकरण चीनमा नै रहेका कारण आयोजनाको काम प्रभावित भएको छ । तल्लो साञ्जेनबाट आगामी कात्तिकदेखि विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएको छ । ती दुवै आयोजना सरकारले अगाडि सारेको जनताको जलविद्युत् कार्यक्रममा समावेश गरिएका आयोजना हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शुरु गरेकाे सो कार्यक्रमले जलविद्युत्मा आन्तरिक लगानी प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । रासस
कोरोना संक्रमण बिरुद्ध आयुर्वेद चिकित्सा
विश्व कोरोनाको प्रकोपले आतङ्कित छ । नेपालमा कारोनाको संक्रमण हालसम्म नदेखिए पनि यो नेपाल भित्रिने प्रयाप्त सम्भावनाहरु छन् । भनिन्छ ‘प्रिभेन्सन इज बेटर देन क्योर’ । अतः यस्तो बेलामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुनबाट बच्नु वा हुन नदिनु बुद्धिमानी हुन्छ । स्मरण राख्नुपर्ने पहिलो कुरा कुरा के हो भने, संक्रमण सम्भावितले रोगप्रतिरोधात्मक क्षमतालाई बलियो बनाएर भाइरससँग सजिलै लड्न सक्छ । जसका लागि आयुर्वेद चिकित्सा शास्त्रहरुमा विभिन्न विधिहरुको व्याख्या गरिएको पाइन्छ । कोरोना संक्रमणको हालसम्म कुनै उपचार भेट्टिएको छैन । कुनै खोपको पनि आविष्कार भएको छैन । यस परिस्थितिमा संक्रमणमबाट बच्ने उपाय नै गर्ने हो । भन्नुको अर्थ हरसम्भव आफ्नो रोगप्रतिरोधात्मक (इम्युनिटी) क्षमतालाई बढाउनु हो । शरीरलाई स्वस्थ कायम राख्नु हो । बेलायतको प्रसिद्ध मेडिकल पत्रिका ‘ल्यानसेट’का अनुसार संक्रमितमा देखिने सामान्य एवं साझा लक्षण भनेको ज्वरो, सुख्खा खोकी र साँस बढ्ने हुन्छ । केहीमा नाक बग्ने, नाक बन्द हुने, धाँटी सुक्ने वा दुख्ने, पखाला लाग्ने आदि हुन्छ । यी लक्षण सधैं देखिन्छ भन्ने पनि हुँदैन । र, यीमध्ये केही वा सबै लक्षण देखिदैमा कोरोना संक्रमण भएकै हो भनेर ग्यारेन्टी गर्न सकिँदैन । कोरोना संक्रमण भएका व्यक्तिमा देखिने लक्षण पनि यस्तै हुन् भन्ने मात्रै हो । आयुर्वेदानुसार ज्वरोबाट बच्न उपवास गर्नु उत्तम मानिन्छ । खोकीबाट बच्न दिनभरीमा पटक पटक बेसार पानी वा गुर्जोको काढा, असुरोको पातको रस बनाएर पिउन सकिन्छ । साँस लिन अप्ठयारो भए तत्काल अस्पताल भर्ना हुनुपर्छ । अक्सिजनको सहारा लिनुपर्ने हुनेहुन्छ । संक्रमित व्यक्ति दिउँसो सुत्नु हुन्न । दिउँसोको सुताईले वसन्त ऋतु (चैत–बैसाख) मा शरीरमा कफको बृद्धि भई इम्युनिट (रोग प्रतिरोधात्मक क्षमता) लाई असर पार्छ । घर बाहिर पकाईएको नास्ता, खाना वा खाजा खानुहुन्न । साथै माछा, मासु, अण्डा, दुध (मधुर रसयुक्त हुने भएकोले) वा दुधजन्य खाद्यपदार्थ र वेकरी (मैदायुक्त भएकोले) आईटमहरु सेवन गर्नु हुन्न । चिया कफीले यस मौसममा शरीरको कफ काट्ने भएकोले कालो चिया र कालो कफी प्रतिदिन ४ देखि ५ कपसम्म (विना चिनीको) खानु यस मौसममा राम्रै मानिन्छ । मह (मेदोहर) र ध्यू (क्रिदोष सामक) को प्रयोगले इम्युनिटी थप बलियो हुन्छ । कफ बर्धक हुने भएकोले सकेसम्म मासु प्रयोग नगर्ने र गर्नै पने अवस्थामा जंगली जनावरको मांस वा मांसरस यस ऋतुमा हितकर बताईएको छ । कोरोनाको यस माहोलमा सकेसम्म शाकाहार रहनु स्वस्थकर देखिएको छ । बजारमा अनेकथरी खानेतेल पाइन्छ । जसमध्ये धेरै थरी तेल स्वस्थको लागि अहितकर पाइएको छ । अतः यस मौसममा खाने तेलको प्रयोग सचेत रुपमा गर्नुपर्छ । सकेसम्म तेलमा तारे भुटेको खाना खान छोड्नुपर्छ । एक पटक तताएको तेल फेरि प्रयोग गर्नु हुन्न । सधैं एकै ब्रान्डको तोरीको तेल प्रयोग गर्नु नै बुद्धिमानी हुने देखिन्छ । किनकि बजारमा पाइएका सुर्यमुखी, भटमास, आलस आदिका तेल झनै अखाद्य पदार्थयुक्त पाइएको छ । अमेरिकी हार्डवर्ड मेडिकल स्कूलले कोरोना संक्रमणपछिको निराशा र मानसिक विक्षिप्तताबाट बच्न योग र ध्यान गर्न सिफारिस गरेको छ । योगाभ्यास एउटा सम्पूर्ण प्याकेज मानिएकोले योग आसनले शरीरलाई पुष्ट, प्राणायामले स्वाँसलाई स्थीर, ध्यानले मनलाई एकाग्र एवं शान्त बनाई सकरात्मक सोचको अभिबृद्धि गराउँछ । सकारात्मक सोच पनि रोगप्रतिरोधात्मक क्षमता बृद्धिको बलियो आधार हो । आयुर्वेदमा इम्युनिटी बृद्धिका लागि दिनचर्या, ऋतुचर्या, स्वस्थवृत्, सद्वृत, सदाचार (नमस्कार गर्ने संस्कार, पटक पटक हात धुने, जस्ता) आदिको विधान गरिएको छ । कोरोना विरुद्धको बिशेष दिनचर्याको रुपमा व्याधिक्षमत्वको वृद्धिको लागि – यस ऋतुमा शारीरिक पाचनशक्ति तुलनात्मक रुपमा कमजोर नै हुने भएकाले पुराना अन्नबाट वनेका हल्का सुपाच्य भोजन गर्दा फाइदा हुन्छ । भातभन्दा रोटी खानुपर्छ । छिट्टै पच्ने दाल खानुपर्छ । – नास्ता, खाना वा खाजामा मौसमीफलफूल एवं शब्जी सेवन गर्ने बानी गर्नुपर्छ । फलफूल खाली पेटमा खाने गर्नुपर्छ । खाना धरै पटक चपाएर मात्र निल्ने गर्नुपर्छ । – शारीरिक क्षमता अनुसारका व्यायाम तथा योगाभ्यास गरी शरीरमा आन्तरिक न्यानोपन उत्पन्न गराउनु स्वस्थकर हुन्छ । – गुर्जो, अदुवा र तुलसी पात मिश्रित काढा पटक पटक बनाएर पिउनुपर्छ । बेसार पानी पकाएर पटक पटक पिउँदा पनि शरीरको इम्युनिटी बढ्ने हुन्छ । – विहानीपख सबेरै उठ्ने गर्नुपर्छ र नित्यकर्म सकेर कम्तिमा ३० मिनेट सधैं सुर्यकिरणको स्नान गर्नुपर्छ । यसले व्याधिक्षमत्व बढाउँछ । – उत्तरायणमा पर्ने वसन्त ऋतुमा अमलालाई इम्युन बर्धक रसायनको रुपमा प्रयोग गर्न सकिन्छ । – वैज्ञानिक अनुसन्धानहरुका अनुसार उपवासले पनि इम्युनिटी बढाउने देखाएकोले सबैले कम्तिमा हप्ताको एक दिन उपवास गर्ने गर्नु हितकर हुन्छ । – घर बाहिर बनेको वा प्याक गरिएको पत्रु खाना खानुहुन्न, बासी वा फ्रिजको खाना सकेसम्म उपयोग गर्नुहुन्न । – यस मौसममा रख्सी मिश्रित औषधी आसव र अरिष्ट प्रयोग गर्नु हितकर मानिन्छ । यसर्थ वसन्त ऋतुमा कहिले काँही हल्का मात्रामा सेवन गरिएको गुणस्तरीय रख्सीले स्वस्थको रक्षा गर्ने देखिन्छ । तर घरेलु रख्सी र दैदिन सेवन गर्ने बानी सर्वथा हानीकार हुन्छ । – दिनभर पटक पटक सम्झी सम्झी हात, मुख धोई राख्नुपर्छ । सकरात्मक सोचका साथ सबैको मंगलको कामना गरी राख्नुपर्छ । (लेखक आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टर, धुलिखेलका चिकित्सक हुन्)