श्री एयरलाइन्सले भाडा घटायो, कहाँ जान कति ?
काठमाडौं । श्री एयरलाइन्सले शनिबारदेखि नयाँ भाडा ताेकेकाे छ । शनिबार नयाँ भाडादर सार्वजनिक गर्दै सरकारले तोकेको भन्दा कम भाडा दिएर यात्रुलाई सेवा दिने बताएको छ । विश्वभर काेराेना भाइरसकाे त्रासपछि काठमाडाैं छाड्नेकाे भिड छ । यसकाेबीचमै श्रीले नयाँ भाडादर ताेकेकाे हाे । श्री एयरलाइन्सले सरकारले केही दिनको लागि तोकेको दरभन्दा कम भाडा लिएर सेवा दिने दाबी गरेको हो । एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले कम्पनीले काठमाडौं आउने यात्रुको सख्या अति कम भएका कारण काठमाडौं आउने भन्दा बहिर जाने भाडा केही बढी भए पनि नेपाल सरकारले स्वीकृत गरेका भाडा दरको सीमा भित्रै बसी सेवा सुचारु गरिरहेको जानकारी दिए। ‘अहिले काठमाडौं छाड्ने यात्रुको सङ्ख्या बढेको छ, यस्तो बेला आन्तरिक एयरपोर्टमा यात्रुको चाप छ, जति टिकट विक्री हुँदै गयो, उत्ति टिकटको मूल्य अटोमेटिक बढ्ने गर्छ ,तर, श्रीले मेनुअल रुपमा टिकटको मूल्य घटाएको हो,’ उनले भने । अब काट्ने टिकटमा आगामी दुई दिन उल्लेखित भाडादर लागु हुने कम्पनीले जनाएको छ । शनिबार सार्वजनिक गरेकाे भाडादरमा भद्रपुरको भाडादर अधिकतम ७ हजार ४ सय रुपैयाँ छ । जबकि नयाँ भाडादर अनुसार यात्रुले भद्रपर उड्न ८ हजार ९६५ रुपौयाँ तिर्नुपर्छ । त्यसैगरी, सरकारले तोकेको काठमाडौंदेखि बिराटनगरसम्मको भाडा ७ हजार ४ सय ४० रुपैयाँ छ । तर, श्रीले अधिकतम ६ हजार १ सय रुपैयाँ लैजाने दाबी गरेको छ । जनकपुरको भाडा ४ हपार २ सय ४० रुपैयाँ छ । श्रीले अधिकतम ३ हजार ३ सय रुपैयाँमा लैजाने बताएको छ । सकारले सिमराको भाडा ३ हजार ८० रुपैयाँ तोकेकोमा श्रीले ३ हजारमा लैजाने बताएको छ । यसैगरी सरकारले काठमाडौं पोखराको भाडा ४ हजार ९ सय ७५ तोकेको भएपनि श्रीले अधिकतम ३ हजार ७ रुपैयाँमा पोखरा उडाउने भएको हो । त्यसैगरी भैरहवाको भाडा ६ हजार १०५ रुपैयाँ तोकेकोमा श्रीले अधिकतम ४ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । त्यसैगरी, सरकारले नेपालगन्ज र धनगढीको भाडा क्रमशः ९ हजार ८ सय ५० र १२ हजार ४ सय ५० रुपैयाँ तोकेकोमा श्रीले अधिकतम ६ हजार २ सय र ७ हजार ९ सयमा यात्रुलाई लैजान लागेको उनकाे भनाइ छ ।
कोरोनाको प्रभाव: अमेरिकी शेयर बजारमा भुइँचालो, डाउजोन्स ९ सय अंकले घट्यो
न्यूयोर्क । अमेरिकी शेयर बजार वाल स्ट्रीट सातामा जसरी शुरुवात भएको थियो अन्त्य पनि त्यस्तै भयो, अर्थात् शेयर बजारमा कोरोना भाइरसको असर पूरै देखियो । शेयर बजारमा द्रुत गतिमा गिरावट आउनुका साथै तेलको मूल्यमा भारी कमी भयो । कोरोनाको महामारी फैलिन नदिने उपायस्वरुप अमेरिकी संघीय र राज्य सरकारहरुले देशको अर्थतन्त्रभन्दा मानिसको स्वास्थ्यलाई प्राथमिकता दिएपछि शेयर बजारमा मन्दी छाउनु स्वाभाविक थियो । एसियाली शेयर बजारमा केही सुधार देखिए पनि अमेरिकाकै प्रतिष्ठित शेयर सूचक डाउजोन्स औद्योगिक समूह एकै दिन ९ सय अङ्कले घट्यो । सातामा डाउजोन्स १७.३ प्रतिशत घटेको छ । पछिल्ला पाँच हप्तामध्ये चार हप्तामा शेयर सूचकांकमा लगातार गिरावट आएको छ । ट्रम्प प्रशासनले गरेको आर्थिक सहयोग सम्बन्धी घोषणाबाट एक दिन थामिएको शेयर बजारमा अरु दिन भुइँचालो नै गएको थियो । सन् २००८ को वित्तीय सङ्कटका कारण शेयर बजारमा देखिएको मन्दीपछि यो नै सर्वाधिक खराब हप्ता रह्यो । लगानीकर्ताहरु कोरोनाभाइरसले अमेरिका र अन्य प्रमुख अर्थतन्त्रहरुलाई गहिरो मन्दीमा धकेल्ने त होइन भनेर चिन्तित भएका छन् । प्रकोप फैलिन नदिन सरकारहरुले अबलम्बन गरेका नीतिहरुले अर्थव्यवस्थामा कठिनाई आउनुका साथै कर्मचारी कटौतीको सम्भावना बढाएका छन् । केन्द्रीय बैंकहरू र सरकारहरूले आर्थिक क्षतिलाई कम गर्न आपतकालीन कार्यक्रमहरू घोषणा गरिरहेका छन् तर यो अपर्याप्त कदम रहेको भन्दै आलोचना हुन थालेको छ । मानिसहरु विश्व अर्थतन्त्रको पहिलो नम्बरमा रहेको अमेरिकामा नोक्सान सहनु परेका घरपरिवार र उद्योगहरुलाई ट्रम्प प्रशासनले अर्बौं डलरको राहत उपलब्ध गराउने अपेक्षा गरिरहेका छन् । “कोरोनाभाइरसले अर्थव्यवस्थालाई शिथिल बनाउँदैछ,” एल्ली इन्भेस्टकी प्रमुख लगानी रणनीतिकार लिन्ड्से बेलले बताए । यहीबीच, तेलको माग घटेपनि उत्पादन बढाइएका कारण तेलको मूल्यमा कमी आएको छ । “यो अर्थतन्त्रको लागि दोहोरो धक्का हो ।” न्यूयोर्कका गभर्नर एन्ड्र्यू कुमोले अधिकांश कामदारहरूलाई घरमै बस्न आदेश दिएपछि शुक्रबार शेयरको बिक्री एकाएक बढेको थियो । क्यालिफोर्नियाले यस्तै उपाय घोषणा गरेको एक दिन पछि न्यूयोर्कले यो घोषणा गरेको थियो । न्यूयोर्क र क्यालिफोर्नियामा अब रेष्टुरेन्टहरू, खुद्रा बिक्रेताहरू र अन्य व्यवसायहरु बन्द गरिएका छन् । यी उपायहरूले पनि खनिज तेलको माग घटाउने छ । अमेरिकी कच्चा तेलको मूल्यमा करिब २१ प्रतिशत गिरावट आएको छ र यो सन् २००२ को फेब्रुअरीपछि पहिलो पटक प्रति ब्यारेल २० डलर भन्दा तल पुगेको छ । लगानीकर्ताहरू बजारको वर्तमान अस्थिरतालाई रोक्न कोरोनाभाइरसको नयाँ संक्रमण रोकिनुको विकल्प नरहेको बताउँछन् । वेल्स फार्गो इन्भेस्टमेन्ट इन्स्टिच्युटका ग्लोबल मार्केट रणनीतिकार, पल क्रिस्टोफरले भने “हामीलाई थाहा छैन, अर्को दुई हप्तामा के हुने हो । अन्य देशहरूमा जस्तै संक्रमणको चक्रमा अमेरिका फस्यो भने त्यसबेला आँधी आउनेछ ।” विश्वभर कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ११ हजार ४०० भन्दा बढी पुगिसकेको छ । विश्वव्यापी रूपमा २ लाख ७६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । यीमध्ये करिब ९२ हजार मानिस निको भएका छन् । अधिकांश व्यक्तिहरूमा कोरोनाभाइरसको हल्का वा मध्यम लक्षणहरू निम्त्याएको पाइन्छ, जस्तै ज्वरो र खोकी लाग्नु । तर हल्का बिरामी भएकाहरू करिब दुई हप्तामा निको भएको पाइएको छ । विशेषगरी वृद्धहरू र पहिल्यैदेखि स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा निमोनिया लगायतका गम्भीर अवस्था देखिन सक्छ र यस्तो परिस्थितिमा स्वास्थ्यलाभका लागि कम्तीमा छ हप्ता लाग्नेछ । रासस/एपी
सुनसान बने होटल, बेतलवी घर फर्किए कर्मचारी
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसँगै नेपाली होटहहरु पनि सुनसान बनेका छन् । होटलमा ग्राहक नआएपछि धेरै होटलले व्यवसाय बन्द गरिसकेका छन् । यतिखेर काठमाडौं उपत्यकालगायत देशभरका होटलहरु बन्द हुने क्रम बढेको छ । कतिपय होटलहरुले व्यवसाय बन्द गरिसकेका छन् भने कतिपय बन्द हुने क्रममा छन् । होटलहरु बन्द भएसँगै त्यहाँ काम गर्ने कर्मचारीहरु पनि बेतलवी घर फर्किरहेका छन् । उनीहरु अनिश्चित समयको लागि घर फर्फिएको जनाइएको छ । काठमाडौंका अधिकांश पाँच तारे होटलहरु पनि बन्द भइसकेका छन् भने कतिपय बन्द हुने अवस्थामा छन् । काठमाडौंको पाँच तारे होटल हायात बन्द भएको छ। हायात ब्यवस्थापनले आगामी ६ साताका लागि होटल बन्द गर्ने निर्णय गरेको हो। कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि सावधानी अपनाउन होटल बन्द गरिएको जनाइएको छ । अर्को पाँच तारे होटल सोल्टीले दुई वटा विङ्मध्ये एउटा बन्द गरिसकेको छ। बत्तीसपुतलीस्थित होटल द्वारिकाज्ले पनि आफ्नो सेवा बन्द गरेको जनाएको छ। अहिले कोरोनाका कारण पर्यटक आवगमन ठप्प छ। नेपाल सरकारले पनि पर्यटक भिसा दिन बन्द गरेको छ। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले भिडभाड हुने ठाउँमा नजान सर्वसाधारणलाई अपिल गरेको छ। यस्तै, मेरियट ग्लोबलले नेपालको मेरियटलाई बन्द गर्न सुझाब दिइसकेको छ। होटलका अुसार मेरियट पनि अब बन्द हुने अवस्थामा छ । होटलले अहिले बिजुली र पानीकै खर्च पनि धेरै भएको भन्दै अन्य खर्च पनि उस्तै हुने भएकाले बन्द गर्नुको बिकल्प नरहेको जानकारी दिएको छ । बन्द गरेपछि कर्मचारीलाई के गर्ने भन्ने बिषय टुङ्ग्याउन भने बाँकी रहेको बताइएको छ । अर्को होटल र्याडिसन पनि बन्द गर्ने पक्षमा छ। त्यहाँ पनि कर्मचारीसँग कुराकानी मिलाएर बन्द गर्ने तयारी भइरहेको छ। र्याडिसनमा अहिले ३ वटा कोठामा मात्र पाहुना छन्। अन्नपुर्ण र याक एण्ड यति होटलले पनि अहिले कर्मचारीसँग कुराकानी गरिरहेका छन्। बन्द गर्ने भएपछि उनीहरुलाई के कति हर्जाना दिने भनेर छलफल भइरहेको छ। अहिले अधिकांश होटलहरुले फागुन महिनासम्मको तलब दिएर अनिश्चितकालको लागि कर्मचारीहरुलाई घर पठाएका छन् । सुरक्षा गार्ड र केही सीमित कर्मचारीहरु बाहेक बाँकी सबै कर्मचारीहरुलाई एउटै निर्णयबाट बिदाई गरिएको पर्यटन व्यवसायी एवं होटल सञ्चालकहरुले जनाएका छन् । तर, कतिपयले भने बेतलवी घर फर्काएको बताइएको छ । काठमाडौंको प्रमुख पर्यटकको गन्तव्य ठमेलका होटलहरु पनि क्रमिक रुपमा बन्द भइरहेका छन् । सरकारले लगभग सबै देशबाट नेपाल आउन बन्द गरेपछि होटलहरुले कर्मचारीलाई बेतलवी बिदामा घर पठाउन थालेका हुन् । होटल संघ नेपालका महासचिव साजन शाक्यले सरकारसँग ती कर्मचारीहरुलाई तलबको २५ प्रतिशतसम्म खर्च दिनेबारे पहल भइरहेको भए पनि त्यसबारे निर्णय भइनसकेकाले अहिलेसम्मका लागि सबै कर्मचारीहरुलाई बिना तलब अनिश्चितकालको लागि बिदाई गरेको बताए । तर, उनीहरुको पुनरागमन हुन्छ भन्ने यकीन नरहेको सञ्चालकहरु बताउँछन् । होटलले ८५ प्रतिशतभन्दा धेरै कर्मचारीहरुलाई अनिश्चितकालको लागि बिना तलब बिदा गरिएको जनाएको छ । साक्यले अहिले होटलहरुको व्यवसाय ठप्प भएकोले बन्द गर्नुको विकल्प नरहेको बताए । सरकारले सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जन स्थल आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको हो। अत्यावश्यक कामका बाहेक आवतजावत र हिँडडुल नगर्न सरकारले आग्रह गरेको छ। सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने निर्णय गरेको छ।
गण्डकी प्रदेशमा १ सय ११ आइसोलेसन बेड तयार
काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट सजगता अपनाउन गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका अस्पतालमा १ सय ११ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएमा बिरामीको उपचारका लागि प्रदेशका विभिन्न जिल्लाका सरकारी तथा निजी अस्पतालमा गरी हालसम्म सो सङ्ख्यामा विशेष सुविधासहितको आइसोलेसन कक्ष तयार गरिएको हो । गण्डकी प्रदेशको सबैभन्दा ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दश श्ययाको आइसोलेसन कक्ष तयार गरिएको छ । मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५, चरक मेमोरियलमा ३० र जीपी कोइराला स्वासप्रस्वास केन्द्र तनहुँमा ३० श्ययाको आइसोलेसन कक्ष तयारी अवस्थामा राखिएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशका ५० श्ययाभन्दा बढीका सबै सरकारी तथा निजी अस्पताललाई आफ्नै बजेट÷स्रोतमा कम्तीमा पाँच श्ययाको आइसोलेसन कक्ष स्थापनाका लागि कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गठन गरिएको प्रदेशको उच्चस्तरीय निर्देशक समितिले गत हप्ता निर्देशन दिएको थियो । स्याङ्जा जिल्ला अस्पतालमा चार तथा पर्वत जिल्ला अस्पतालमा तीन, धौलागिरि अञ्चल अस्पताल बागलुङमा चार श्ययाको आइसोलेन कक्ष तयार गरिएको उहाँले जानकारी दिनुभयो । लमजुङ, नवलपुर, जोमसोम, बागलुङका केही निजी अस्पतालमा समेत एक÷दुई वटाका दरले श्यया तयार गरिएको बताइन्छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले कोरोना सङ्क्रमित भएको प्रमाणित भएका बिरामीलाई उपचारका लागि विशेष व्यवस्थासहितको कक्ष र चिकित्सक तयारी अवस्थामा राखिएको बताए । “कोरोनाविरुद्ध पूर्वसावधानी अपनाउँदै सङ्क्रमितलाई विशेष प्रकारले उपचारका लागि छुट्टै कक्षको व्यवस्था गरेका छौं । गण्डकी प्रदेशका कोही पनि सङ्क्रमित भएको पाइएको छैन । आवश्यक परेमा श्यया थप्न सकिन्छ”, आचार्यले भने । पछिल्लो समय सामान्य रुघाखोकी लागेका बिरामीसमेत कोरोनाको त्रासले परीक्षणका लागि अस्पताल पुग्ने गरेकाले अस्पतालमा भीडभाड बढेको उहाँको भनाइ थियो । स्वास्थ्य सहायता कक्ष स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका विभिन्न आठ स्थानमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । पोखरा विमानस्थलको प्रस्थान र आगमन, लेकसाइडको बाराहीचोक, बागलुङको बुर्तिबाङ, तनहुँको आँबुखैरेनी, स्याङ्जाको गल्याङस्थित राम्दी पुल, मुस्ताङको जोमसोम विमानस्थल, मुक्तिनाथ र घाँसा, नवलपरासीको गण्डक ब्यारेज र नवलपुरको गैँडाकोट नगरपालिका अगाडि स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको बताइन्छ । त्यसैगरी विभिन्न सार्वजनिक तथा निजी सङ्घ संस्थाले आआफ्नो पायकको स्थानमा स्वास्थ्य सजगताका लागि सहायता कक्ष स्थापना गरी सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् । रासस
कर्णालीमा एक हजार क्वारेन्टाइन, विपद् व्यवस्थापनमा ५० करोड काेष
काठमाडौं । कर्णाली प्रदेश सरकारले एक हजार क्वारेन्टाइन स्थापना गर्ने भएको छ । कोभिड–१९ को प्रतिकार्य गर्न प्रदेश सरकारले नेपाली सेनाको सहयोगमा मध्यपश्चिम विश्वविद्यालयमा ६ सय र रेडियो नेपालमा ४ सय क्वारेन्टाइन निर्माण गर्ने निर्णय भएको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद् र कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यान्वयन समितिको संयुक्त बैठकले क्वारेन्टाइन स्थापनाको निर्णय गरेकाे हाे । तत्काल विपद् व्यवस्थापनका लागि ५० करोडको कोष तयारी गरी सोही कोषबाट नियमानुसार खर्च व्यवस्था मिलाउने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिए । त्यस्तै, कर्णाली प्रदेश प्रवेश गर्ने हवाई तथा स्थलमार्गका नाकामा उच्च सतर्कता अपनाई त्यस्ता नाकाबाट नेपाली नागरिकलाई मात्र प्रवेश गर्न दिने गरी आवागमन बन्द गर्नेसहितका १४ निर्णय गरिएको उनले बताए । विदेशी नागरिकलाई सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनुमतिले मात्र प्रवेश गर्न दिने र त्यसरी प्रवेश गर्ने व्यक्तिलाई प्रदेशको क्वारेन्टाइनमा कम्तीमा १४ दिन अनिवार्य राख्ने व्यवस्था मिलाउने निर्णय भएको प्रवक्ता केसीले बताए । जोखिमलाई ध्यानमा राखी अत्याआवश्यक वस्तुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउने, स्वास्थ्य सचेतनासम्बन्धी जनहितका सूचना तथा सामग्री प्रदेशभित्रका सबै एफएम रेडियो, टिभी च्यानल तथा छापा माध्यमलाई प्रयोग गरी प्रकाशन÷प्रसारण गर्ने गराउने साथै सामाजिक सञ्जालमार्फत नियमित रुपमा सूचना प्रवाह गर्ने निर्णय भएको उनले जनाएका छन् । “सरकारले विशेषगरी यो सङ्कटको समयमा कालाबजारी, कृत्रिम अभाव सिर्जना गर्ने जो सुकैलाई कानूनबमोजिम कडा कारवाही गर्ने कदम चाल्नुका साथै सम्भावित सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन २५ भन्दा बढीको कुनै पनि जमघट गर्न गराउन रोक लगाउने निर्णय गरिएको छ”, उनले भने, “बैंक तथा वित्तीय संस्था, नेपाल सरकारका सेवाग्राहीको बढी चाप हुने कार्यालय विद्युत् प्राधिकरण, दूरसञ्चार संस्थानलगायतका कार्यालयमा नेपाल सरकारले गरेका निर्णयलाई कार्यान्वयन गर्न गराउने व्यवस्था मिलाउँछौँ ।” सीमा जोडिएका नाकामा स्यानेटाइजर, मास्क, थर्मोमिटरसमेतका सामग्रीको सहजरुपमा व्यवस्थापन गर्ने कार्यका लागि सामुदायिक सङ्घसंस्थालगायतका सबै पक्षको संयुक्त संलग्नतामा स्वास्थ्य अवस्थाको निगरानी, प्रयोगशाला क्षमता विस्तार गर्ने, सङ्क्रमित देखिएमा प्राथमिक उपचारको तत्काल प्रबन्ध गर्ने, अस्पतालको प्रक्षेपण, आइसोलेसन वार्डको तयारी र क्वारेन्टाइनस्थलको तत्काल चयन गर्ने व्यवस्था गर्ने गराउने भएको छ । भारतमा रहेका कर्णाली प्रदेशका नागरिकलाई छिटोभन्दा छिटो घर फर्कन अनुरोध गर्ने, फर्किएका नागरिकलाई सीमानाकाबाट यातायात प्रबन्ध गरी क्वारेन्टाइनमा राखेर मात्र घरसम्म पु¥याउने व्यवस्था मिलाउने निर्णय गरिएको बताइएको छ । त्यसैगरी, राति १० बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स सेवा, बारुणयन्त्र, सुरक्षा, स्वास्थ्य संस्थाका सवारीसाधन, शवबाहन, सरकारी निकायका चारपाङ्ग्रे सवारी साधनबाहेक अन्य निजी तथा भाडाका सवारीसाधनले सम्बन्धित प्रमुख जिल्ला अधिकारीको अनुमति लिई मात्र चलाउन पाउने व्यवस्था मिलाउने, सुरक्षा निकायको सतर्कता २४ सँै घण्टा रहने व्यवस्था गर्ने गराउने, यातायातका साधन, सबै कार्यालय र सार्वजनिकस्थलको सरसफाइमा विशेष ध्यान दिनेसमेत निर्णय गरिएको प्रवक्ता केसीले जानकारी दिए । रासस
मनकामना मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोक
काठमाडौं । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक लगाइने भएको छ । कोभिड–१९ को सङ्क्रमण फैलन नदिन मनकामना मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएको मन्दिरका मुख्य पुजारी इन्सान थापामगरले जानकारी दिए । सरकारले २५ भन्दा बढीलाई एकै ठाउँमा भेला हुन रोक लगाएपछि अत्यधिक दर्शनार्थीको भीड हुने मनकामना मन्दिरमा केही समयका लागि पूजाआजा गर्न रोक लगाइएको उनले बताए । मनकामना मन्दिरमा दैनिक करिब तीन हजार ५ सयभन्दा बढी सर्वसाधारण भक्तजनले पूजा गर्ने गरेका छन् । धार्मिक हिसाबले गोरखा जिल्लाको प्रमुख धार्मिक तथा ऐतिहासिक गन्तव्यका रुपमा मनकामना मन्दिरलाई लिने गरिन्छ । यसअघि जिल्ला सुरक्षा समितिको बैठकले पनि कोरोनाको सङ्क्रमणबाट सुरक्षित हुन भन्दै मन्दिरमा सर्वसाधारणका लागि पूजा गर्न रोक लगाउने निर्णय गरेको थियो । बैठकले अर्को सूचना जारी नभएसम्मका लागि पूजा गर्न रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । अब मनकामना मन्दिरमा नित्य पूजा र साँझको आरती पूजा मात्र हुने मन्दिरका मूल पुजारी थापामगरले बताए । चैतेदशैँको पर्व पूजाबाहेक अन्य पूजा रोकिने मन्दिरका मुख्य पुजारी थापाको भनाइ छ । उनका अनुसार अब बिहान सधै जस्तो हरेक दिन नित्य पूजा र साँझमा देवीलाई आरती मात्र दिइनेछ । यो वर्षको चैतेदशैँ भने आउँदो १९ गते परेको छ । मन्दिरमा चैतेदशैँको बेला गुठियार भेला भएर राँगो, बोका बलि दिइने मूल पुजारी थापामगरले जानकारी दिए । रासस
यी हुन् बन्द नहुने १८ अत्यावश्यक सेवा
काठमाडाैं । सरकारले आगामी चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक सेवा बाहेक बाँकी सबै सेवाहरु बन्द गर्ने निणर्य गरेको छ । शुक्रबार देशवासीको नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री केपी ओलीले देशवासीको नाममा सम्बाेधन गर्दै चैत ९ गतेदेखि १३ दिनसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्न आह्वान गरेका छन् । नेपाल राजपत्रमा प्रकाशित अत्यावश्यक सेवा सम्बन्धि व्यवस्थामा १८ वटा परेका छन् । जुन ९ गतेपछि पनि बन्द नहुने भएका छन् । के-के हुन् त अत्यावश्यक सेवाहरू ? – दैनिक उपभाग्य वस्तुहरू (खाद्यान्न, दाल चामल नुन तेल) को पठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा – पेट्रोलियम पदार्थको पैठारी ढुवानी र वितरणसम्बन्धी सेवा – सञ्चार सेवा – आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा – खानेपानीको सञ्चालन तथा वितरण सेवा – पर्यटन, आवास, माेटेल, होटेल रेष्टुरा र रिसोर्टसम्बन्धी सेवा – अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी (एम्बुलेन्स सेवाजस्ता सेवाहरु) – औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा – फोहोर मैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार -निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा – बैंकिङ सेवा – बीमा सेवा – विद्युत सेवा – डाँक तार वा टेलिफोन सेवा – स्थल तथा हवाइमार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने सेवा – हवाई अड्डा ,हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा – हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार, राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा – प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धित सेवा – हातहतियार, खरखजाना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित सेवा
एनसेलले ल्यायो ‘नाइट कल र एसएमएस प्याक’
काठमाडौं । एनसेलका सबै प्रिपेड ग्राहकहरुले अब अझ सुलभ दरमा भ्वाइस तथा एसएमएस सेवाबाट फाइदा लिन सक्नेछन् । एनसेलले मात्र रु १० (कर सहित रु १२.७७) मा भ्वाइस र एसएमएस सेवा बन्डलिङ गरिएको आकर्षक ‘नाइट कल र एसएमएस प्याक’ योजना ल्याएको छ । यो प्याक सुचारु गर्ने ग्राकहले ४८० मिनेट टक टाइम र ४८० वटा एसएमएस पाउँछन् । बिहीबार (चैत्र ६) बाट ९० दिनका लागि संचालनमा आएको यो प्याक अन्तर्गत पाईने टक टाइम र एसएमएस एनसेल नेटवर्कमा राति १० देखि बिहान ६ बजे सम्मको समयमा प्रयोग गर्न सकिन्छ र यसको समयावधि २४ घण्टाको हुन्छ । ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स३एस्ट्रिक्स२ह्यास डायलगरी वा एस्ट्रिक्स१७११८ह्यास डायलगरी तेस्रो विकल्प छानेर यो प्याक सुचारु गर्न सक्छन् । साथै अंग्रजीमा एनयु टाइपगरी १७११८ मा एसएमएस पठाई पनि यो प्याक लिन सकिन्छ । आफ्नो आवश्यकता अनुसार ग्राहकले यो प्याक जति पटक पनि खरिद गर्न सक्नेछन् । यस प्याक अन्तर्गत उपलब्ध हुने टक टाइम र एसएमएस खपत गरी सकेपछि विद्यमान दरमा यी सेवाहरु प्रयोग गर्न सक्नेछन् । सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता अनुरुप भ्वाइस र एसएमएस बन्डलिङ सहितको यो आकर्षक प्याक ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । एनसेलले गत पुष १६ देखि भ्वाइस प्याकको खरिदमा निःशुल्क नाइट एसएमएस पनि दिदै आएको छ । यो योजना अन्तर्गत ग्राहकले भ्वाइस प्याकको टक टाइम भोलुम बराबरको अन नेट नाइट एसएमएस पाउँदै आएका छन् । यो योजना अन्तर्गत यदि ग्राहहले १२ मिनेट टक टाइम रहेको भ्वाइस प्याक सुचारु गरेको खण्डमा १२ वटा एसएमएस बोनस पाउँछन् । त्यसैगरी यदि ४२५ मिनेट टक टाइम रहेको मासिक भ्वाइस प्याकको खरिदमा ४२५ वटा एसएमएस बोनस एसएमएस पाउँछन् । यसको मतलब जति मिनेटको टक टाइम हो त्यतिनै वटा बोनस एसएमएस ग्राहकले पाउँछन् । ग्राहकको आवश्यकता अनुसारको सेवा प्रदान गर्न एनसेलले १२ मिनेट देखि ७२० मिनेट सम्म टक टाइम रहेको विभिन्न ११ भ्वाइस प्याकहरु प्रदान गर्दै आएको छ ।