अब विदेशीले पदयात्रा जान नपाउने
काठमाडौं । कोभिड-१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा विदेशी नागरिकका लागि पदयात्रा बन्द गरिएको छ । नेपाल पर्यटन बोर्डले शुक्रबार(चैत ७ गते) सूचना जारी गर्दै पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स)कार्ड वितरण बन्द गरिएको जनाएको छ । योसँगै अब विदेशीले पदयात्रा जान नपाउने भएका छन् । बोर्डले आजैबाट लागू हुने गरी टिम्स वितरण अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जनाएको हो । नेपालको पदयात्रामा जाने विदेशीले टिम्स अनिवार्य लिनुपर्छ । टिम्सबापत विदेशीले व्यक्तिगतरुपमा रु दुई हजार र संस्थागत गएमा रु एक हजार तिर्नुपर्छ । पर्यटनको महत्वपूर्ण आम्दानीका रुपमा टिम्स रकमलाई लिइन्छ । वसन्त ऋतु पदयात्राका लागि उपयुक्त याम भएकाले धेरै आरोही पदयात्राका लागि नेपाल आउने गरेका थिए । कोभिडको विश्वव्यापी सङ्क्रमण फैलिएपछि सम्बन्धित मुलुकले अन्य मुलुकका नागरिक प्रवेशमा रोक लगाएपछि अन्तर्राष्ट्रिय उडान पनि कटौती भएको र विदेशीको आवतजावत पनि कम भएको हो । बोर्ड र ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)ले टिम्स कार्ड वितरण गर्दै आएका छन् । टानका अध्यक्ष खुमबहादुर सुवेदीले कोरोनाको सङ्क्रमण कम नभएसम्म टिम्स कार्ड वितरण बन्द गर्ने सरोकारवाला निकायबीच सहमति भएको जानकारी दिए । बोर्ड, टान र टान पोखरा कार्यालयले टिम्स वितरण गर्दै आएका छन् । यो याममा टानले दैनिक २००, बोर्डले १५० र पोखरा कार्यालयले ५० भन्दा बढी टिम्स वितरण गर्ने गरेको टानले जनाएको छ । रासस
सिभिल बैंकको नयाँ शाखा अत्तरखेलमा, अनौपचारीक रुपमै उद्घाटन
काठमाडौं । सिभिल बैंकले आफ्नो काठमाडौं जिल्लाको अत्तरखेलमा आफ्नो शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गानाले संयुक्त रुपमा गरेका हुन् । नेपाल सरकारद्वारा कोरोना रोगबाट बच्नका लागि जारी गरिएको सुचनालाई पालन गर्दै पूर्व निर्धारित उद्घाटन समारोहलाई स्थगित गरी अनौपचारीक रुपमै अत्तरखेल शाखाको उद्घाटन गरिएको बैंकले जनाएको छ । सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री ओख्रेनी माध्यमिक विद्यालय, सुन्दरीजल, काठमाडौंलाई विद्यालयको ई-लाईव्रेरीको लागि १ थान कम्प्युटर तथा श्री रामजानकी आधारभुत विद्यालय, नयॉपाटी, काठमाडाैंका विद्यार्थीहरुका लागि ५० थान स्कूल ब्याग हस्तान्तरण गरीयो । सो कम्प्युटर तथा स्कूल ब्याग सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गानाद्वारा सम्बन्धित विद्यालयका पदाधिकारीलाई प्रदान गरेको छ । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले उक्त क्षेत्रका बासिन्दाहरुलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसंग भएको सानो सानो पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरेका छन् । उक्त समारोहका सभापति तथा सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गानाले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भब नहुने बताए । बैंकले हाल ११३ वटा शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिंग सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।
त्रासभित्रको बाध्यता !
काठमाडौं । मानिसहरुको कोचाकोच भिड । कसैका मुहार पछ्यौरीले छोपिएका्, कसैका माक्सले त कसैका खाली । सबैका मलिन मुहार । एकले अर्कालाई अटेर गरेको भान हुने ती दृश्य साँच्चीकै कहाली लाग्दा थिए । ती दृश्यहरुमा न मित्रताको भाव भल्किन्थ्यो नत कुनै आफन्त र साथीसँगीको । ती दृश्यहरुमा देखिन्थ्यो त केबल अटेर निर्दयीपना । कोही मोबाइलमा व्यस्त, कोही एकोहोरो टोलाइरहेका थिए । प्रष्ट भनौं त्यहाँ एकले अर्कासँग कूरा गरेको दृश्य देखिदैनथ्यो । यो दृश्य हो बिहिबार मैतिदेवीदेखि नयाँ बसपार्कतर्फ जाँदै गरेको एक बसभित्रको । ती मान्छेहरु त्रसित देखिन्थे । तर, त्यो त्रासभित्र भने उनीहरुको आफ्नै बाध्यता थियो । एउटा भनाइ छ नी–‘आफु भलो त जगत भलो ।’ हो यही भनाइको सुत्रमा बाँधिएका थिए उनीहरु । विश्वभरी कोरोना भाइरस ( कोभिड १९) को त्रास छ । स्वास-प्रस्वासबाट सर्छ भनिएको यही भाइरसको कारण कयौंले ज्यान गुमाइसकेका छन् । त्यही भाइरसबाट बँच्न, आफ्नो स्वास्थ्यलाई तन्दुरुस्त राख्न मान्छेहरु अहिले अटेर बनेका छन् । एकले अर्कासँग कूरा गर्न मान्दैनन् । भिडभाड गर्न मन पराउँदैनन् । साथीसँगी र आफन्तहरुसँगै बस्न, खेल्न र बोल्न चाँहदैनन् । यो सब कोरोना भाइरसले सिर्जना गरेको परिस्थिती हो । तर, यति हुँदाहुँदै पनि मान्छे कहाँ भोकै मर्न चाहन्छन् र ? जबसम्म शरिर स्वस्थ छ, हिडडुल गर्न सक्ने अवस्था छ भने उसले आफ्नाे दैनिकी बिगार्न चाहन्न। हुनत नेपाल सरकारले अनावश्यक रुपमा बाहिर हिडडुल नगर्न, २५ जनाभन्दा बढीको भिडभाड नगर्न र सभासम्मेलन नगर्न निर्देशन दिइसकेको छ । तर, बाध्यताको अगाडि कसले पो रोक्न सक्छ र ? ३०/४० जना मानिस अटाउने गाडीमा ५०/६० जना मानिसहरु बसेर यात्रा गर्नु पर्ने बाध्यता कायमै छ । अहिले सबैभन्दा बढी त्रास काठमाडौंमा छ । मानिसहरुको बसोबास बढी र मानिसको आवतजावत बढी हुने ठाउँ काठमाडौं नै भएकोले पनि मानिसहरु अहिले काठमाडौंबाट बाहीरने क्रम बढ्दो छ । अहिले काठमाडौं छोडेर आ-आफ्नै जिल्ला जाने मान्छेहरु दिनानुदिन बढ्दै गएका छन् । बिहिबार मात्र एक लाखभन्दा बढी मानिस उपत्यका छोडेर गए । अहिले यही बाध्यतामा छन् धेरै मानिसहरु । आफ्नो गुजारा चलाउनका लागि भए पनि बाध्यताका लागि घर बाहिर निस्कने गरेका छन् उनीहरू। त्यो भिडमध्येकी मैतिदेवी बस्ने गरेकाे बताउने कमला रेग्मी मनमा कोरोनाको त्रास भएपनि बाध्यताका कारण बसमा यात्रा गर्नु परेको बताउँछिन् । ‘सरकारले बाहिर ननिस्कनु भनेर के गर्नु, बाहिर ननिस्किए खानलाई पाइँदैन, साँझको छाक टार्न पनि बाहिर काम गर्न जानै पर्यो’, उनले भनिन् । कोरोना त अहिले आएको छैन, कोरोनाकै कारण भित्र बस्यो भने भोकैले मर्ने डर हुने उनको भनाइ छ । अहिले सम्भव भएकाहरुले सार्वजनिक यातायात प्रयोग गर्न छाडेका छन् तर यो भन्दा अन्य विकल्प नभएकाहरु बाध्यताका कारण पनि भिडभाड भएको बसमा यात्रा गर्न विवश छन् । कमला मात्र होइनन् उनी जस्तै धेरै मानिसहरु दिनभर पैसाकाे जाेहाे गरेर त्यही पैसाले साँझ खाना खाने पनि छन् । उनीहरुलाई कोरोनाको कारण मर्नु भन्दा पनि साँझ खाना के खाने भन्ने पीरले पिरोल्छ । रत्नपार्क सडक पेटीमा हातमा सामान लिएर बेच्ने धादिङका यादव कार्कीको पनि समस्या उस्तै छ । उनले बसमा यात्रा नगरी उनी आफु र आफ्ना परिवारलाई साँझ खाना दिन सक्दैनन् , दिनभरीको कमाइले उनी रातिको छाक टार्छन् । उनलाई पनि कोरोनाको भन्दा बढी चिन्ता साँझको छाकको हुन्छ । उनले बिहान सामान बेच्न जाँदा र साँझ घर फर्किदा बसको नै यात्रा गर्नु पर्छ । बुधबार सरकारले सार्वजनिक सवारीलाई सिट क्षमताभन्दा बढी यात्रु बोक्न नदिने निर्णय गरेको थियो । र यातायात व्यवस्था विभागले बिहिबार एक सूचना पनि जारी गर्दै यातायात कम्पनीलाई सिटक्षमताभन्दा बढी यात्रु नचढाउन निर्देशन दियो । तर त्यसको कार्यान्वयन भने देखिँदैन । सवारी चालकहरु कोरोनाको त्रासभन्दा पनि व्यापार घट्ने चिन्तामा छन् । संक्रमण फैलाउने हिसावले सार्वजनिक यातायात सबभन्दा जोखिमपूर्ण रहेको विज्ञहरु बताउँछन् । फेरि सार्वजनिक सवारी प्रयोग गर्ने अधिकांश यात्रुलाई कसरी सतर्कता अपनाउने भन्ने जानकारी पनि छैन । स्वास र नाकमुखबाट निस्कने छिटाका कारण स्वास्थ सुरक्षाको हिसाबले सार्वजनिक सवारी त्यसैपनि उच्च जोखिममा छ तर, सवारी साधनमा यतिसम्मको हेल्चक्याईँ उचित होइन । यातायात व्यवस्था विभभागका महानिर्देशक गोगन बहादुर हमालले सार्वजनिक यातायात सार्वजनिक यातायातमा भिडभाड नहुनका लागि सिटभन्दा बढी यात्रु नचढाउ निर्देशन दिइसकेको बताए । उनले सबै गाडिमा स्यानिटाइजरको प्रयोग भइरहेको बताए । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने सरकारी निर्देशन पालना भए नभएको अनुमगमन सुरु भइसकेको बताएको छ । महाशाखाका प्रहरी प्रमुख भीमप्रसाद ढकालले अनुगमन सुरु गरिसकेको बताए । उनले यसरी भिडभाड गरे यात्रु बोक्ने गाडीलाई कारबाही पनि भइरहेको बताए । अहिले आफै सचेत हुने समय भएकोले आफै सचेत नहुनेलाई कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ । यस्तै, नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले व्यवस्थित र सुरक्षित तरिकाले यात्रा गराउनका लागि बस व्यवसायी लागि परेको बताए । उनले कतिपय बसहरुमा स्यानिटाइजरको प्रयोग गरी यात्रुलाई सहज बनाएको बताए । सार्वजनिक सवारीमा यात्रु–यात्रुबीचको दूरी निकै कम हुने हुँदा एक जना बोल्दा, खोक्दा वा हाछ्युँ गर्दा धेरैजना प्रत्यक्ष प्रभावित हुन्छन् । एउटा यात्रु उठेको सिटमा तुरुन्तै अर्को बस्छ । सबै यात्रुले समाउने डण्डी, ढोकाको ह्यान्डल, रेलिङ, सिट बार उही हुन्छ । यो अवस्थामा कुनै एक संक्रमित यात्रुले समातेको डण्डी नै सहरभरि संक्रमण पुर्या उन काफी हुन्छ । यसले भोली नेपालमा ठूलो महामारीको रुप लिन सक्छ । त्यसैले सरकारले गरेको निर्णयहरुको प्रभावकारी कार्यान्वयन गर्दै सवारीभित्र सतर्कता बढाउनुपर्ने जानकारहरु बताउँछन् ।
नेपाल वायुसेवा निगमका भारतका तीन गन्तव्यका उडान स्थगित
काठमाडौं । नेपाल वायुसेवा निगमले भारतमा तीन गन्तव्यका उडान स्थगित गरेको छ । निगमले एक सूचना जारी गर्दै उडान स्थगित गरेकाे बताएकाे हाे। निगमले भारतको नयाँ दिल्ली, मुम्बई र ब्याङ्ग्लोरमा गर्दै आएको नियमित उडानहरु चैत्र ९ गतेदेखि लागू हुनेगरी स्थगित गरेको हाे । डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसन, भारतद्धारा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी गरिएको सूचनाअनुसार ती गन्तव्यको नियमित उडानहरु स्थगित गरिएकाे हाे । चैत्र ९ गतेदेखि उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरिद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराउने एयरलाइन्सले बताएको छ। निगमले हाल चैत्र १६ गतेसम्मका लागि उडान स्थगित गरिएको जानकारी दिएको छ ।
डुब्न लागेको वाणिज्य बैंकले नाफा कमाउन थाल्यो, सीईओ भन्छन्- यो सुधार रातारात भएको होइन
कुनै समय राष्ट्रिय वाणिज्य बैंक भनेपछि नाक खुम्च्याउनेहरु थिए । टोकन लिएर घण्टौँसम्म लाइन बस्ने सेवाग्राहीले वाणिज्य बैंकले समयमै सेवा दिन्छभन्दा पत्याउन गाह्रो थियो । फेरि बैंकको व्यथा पनि आफ्नै थियो । राजनीतिक हस्तक्षेपले बैंकलाई थिलथिलो पारेको थियो । तीमध्येको मुख्य समस्या थियो राजनीतिक कार्यकर्ता भर्ती । यसैले बैंकमा व्यावसायिक क्षमतामा ह्रास ल्याएको थियो । जसका कारण संस्था झण्डै धराशायी हुने अवस्थामा पुगेको थियो । राष्ट्रिय बैंकजस्तो संस्थाको व्यावसायिक जीवनमा नै बारम्बार प्रश्न उठ्ने गर्दथ्यो । बैंकप्रति धेरैको विश्वास टुट्दै जान थालेको थियो । समयमा काम नहुने त यसको पहिचान नै बनेको थियो । सेवाग्राही कर्मचारी अल्छी रहेको बताउँथे भने आम मानिसमा नै कर्मचारी काम गर्दैनन् भन्ने परेको थियो । उता ऋण लिने पनि तिर्न नपरोस् भन्ने ठान्थे । राजनीतिक पहुँच प्रयोग गरेर मिनाहा गराउन खोज्नेहरु पनि उत्तिकै थिए । समस्या बल्झँदै गएपछि सरकारसामु यस संस्थाप्रतिको चुनौती चुलिँदै गएको थियो । नागरिकले आफ्नो गाँस काटेर स्थापना गरेको आफ्नो संस्था सकिने अवस्थामा पुगेको थियो । बैंक बैंकजस्तो थिएन । व्यवस्थापन गर्ने निकाय र व्यक्ति पनि सरकारी काम कहिले जाला घाम भन्ने अवस्थामा थिए । उनीहरुमा पनि संस्था सुध्रन्छ भन्ने कुनै विश्वास थिएन । समस्याको चक्रब्यूहबाट बाहिर कसरी निस्कने भन्ने कुनै योजना व्यवस्थापकमा थिएन । समस्याको रसातलमा फसेको संस्थालाई पुनर्जीवन दिएरमाथि उठाउन एउटा इमान्दार प्रयत्न र सशक्त निर्णय जरुरी थियो । सरकारले उँधो लागेको संस्थालाई सुधार गर्ने वा निजीकरण गर्ने विकल्प ल्यायो । त्यसमा सुधारको पहिलो विकल्प नै अवलम्बन गरियो । व्यवस्थापन सुधार गरेर बैंकभित्र देखिएको विकृति सुधार गरियो । समस्याका चाङ हटाउन अनेक प्रयास भयो । नीतिगत रुपमा पनि केही सुधार भए । जसका कारण उठ्नै नसक्ने गरी समस्यामा फसेको राष्ट्रिय वाणिज्य बैंक बौरिएर आयो । अघि संस्था सकियो भनेर टाढिएका सेवाग्राही पनि क्रमशः बैंकसँग जोडिन थाले । विश्वास भरिँदै आयो । क्षमता बढ्दै गयो । यसबीचमा धेरैका आशङ्का क्रमशः हटेर विश्वासमा परिणत भए भने बैंकमा रहँदाका कामचोर प्रवृत्तिहरु लगनशीलतामा परिणत भए । जसको परिणाम आज राष्ट्रिय वाणिज्य बैंक एक सबल संस्थाको रुपमा स्थापित हुन पुग्यो । त्यसमा सरकारको निर्णयका अतिरिक्त बैंकलाई आफ्नो सम्झेर कामगर्ने कर्मशील हातहरुको योगादान पनि त्यतिकै छ । समस्या मात्रै छ भनेर भाग्नेभन्दा त्यससँग जुधेर सफलता हासिल गर्ने प्रयासको योगदान बढ्दै गयो । यसैकारण आर्थिक वर्ष २०७५/७६ मा हाल सञ्चालित कूल २७ वाणिज्य बैंकमध्ये सबैभन्दा बढी नाफा गर्ने बैंकको रुपमा राष्ट्रिय वाणिज्य बैंक अगाडि आएको छ । विगतका निराशा चिरेर बैंक आज सबल र सक्षम संस्थाको रुपमा स्थापित हुन सफल भएको छ । यसको श्रेय समस्यासँग जुध्न साहस गर्नेलाई नै जान्छ । सरकारी संस्थालाई पनि राम्रो बनाउन सकिन्छ, अरु निजी संस्थाभन्दा अझ बढी व्यावसायिक बनाउन सकिन्छ भनेर लाग्ने व्यवस्थापकीय समूहका व्यक्तिहरु नै यसका अगुवा हुन् । अनि जसले दिनरात नभनेर, आफूजस्तै सबै कर्मचारीलाई इमान्दार बनाउने प्रयत्न गर्यो उसलाई अझ बढी जस जान्छ । आज सरकारी संस्था एकपछि अर्को दुब्लाउँदै गइरहेका बेला राष्ट्रिय वाणिज्य बैंक थप सबल र सक्षम बन्दै गएको छ । यसका लागि बैंक व्यवस्थापन अहोरात्र लाग्यो र व्यवस्थापनको काँधमा काँध मिलाए प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले । गत आवमा झण्डै रु पाँच अर्ब नाफा गरेको बैंकले चालु आवमा पनि सोही हाराहारीमा नाफा गर्ने अवस्था देखिएको छ । विगतमा ऋण नतिर्नेहरु आज धमाधम ऋण तिर्न आइरहेका छन् । बैंकले सोमबार मात्रै झण्डै रु २२ करोड ऋण उठाउने सार्वजनिक सूचना जारी गरेको छ । यस्तै ठूला ऋणीहरुलाई विगतमा समय दिइएको थियो । तर पटक पटकको प्रयास असफल भएपछि बैंक अब भने नहसने अवस्थामा पुगेको छ । यस्तै, ऋण लगानी होस् वा विस्तारमा समेत बैंक आक्रामक देखिएको छ । सरकारले अगाडि सारेको सहुलियतपूर्ण कर्जा विस्तारमा समेत बैंक अग्रणी नै छ । निजी क्षेत्रका बैंकहरु सहुलितपूर्ण कर्जा दिन आनाकानी गरिरहेको बेला राष्ट्रिय वाणिज्य बैंकले मात्रै झण्डै रु एक अर्ब बराबरको सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । आर्थिक समृद्धिको आधार स्थापनाका लागि बैंकले खेलेको भूमिका आफैँमा झनै महत्वपूर्ण छ । समस्यामा फसेको संस्था कसरी सबल संस्थाको रुपमा स्थापित भयो, बैंक अरुभन्दा भिन्न कसरी भयो, नाफा कमाउने दौडमा पनि कसरी अग्रणी भयो,लगायतका विभिन्न जिज्ञासाको जवाफ बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले एकै शब्दमा भने, ‘इमान्दार प्रयत्न नै सफलताको खास कारण हो ।’ श्रेष्ठको चार वर्षे कार्यकाल केही दिनपछि पूरा हुँदैछ । सरकारी बैंक भए पनि यसले विभिन्न क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने खालको अनुभूति जनतालाई दिएको छ । लामो समयदेखि लगानीकर्ताका रुपमा रहेको सरकारलाई प्रतिफल दिन सकेको थिएन । यसले थप विश्वास बढाएको उनको भनाइ छ । यसैपालि बैंकले सर्वश्रेष्ठ करदाताको पुरस्कार पाएको छ । बैंक वित्तीय संस्था तथा बीमा क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने संस्थाका रुपमा पहिचान बनाएको छ । सात प्रदेशको ७७ जिल्लामा पुग्ने पहिलो बैंक पनि बनेको छ । सञ्जालका हिसाबले सबैभन्दा बढी विस्तार भएको छ । यही अवधिमा बैंकले भौतिकरुपमा पनि धेरै सुधार गरेको छ । सरसफाइदेखि व्यवस्थापनमा समेत सुधार भएको छ । कर्मचारीको काम गर्ने शैलीसमेत बदलिएको छ । पूर्णरुपमा बदलिन त समय लाग्ला, तर गुणात्मक परिणत भएको छ । उनले बैंकको सुधारका क्रममा देखिएको विषय जोड्दै भने, ‘जनतालाई यसको अनुभूति भएको छ, निजी बैंकसँगको प्रतिस्पर्धामा सँगैसँगै हिँडेको अनुभूति भएको छ ।’ यो सुधार रातारात भएको होइन, यसको जग विसं २०५९/६० बाट वित्तीय सुधारको कार्यक्रमपछि हुँदै आएको छ । आन्तरिक नियन्त्रण प्रणालीमा सुधार आएको छ । लेखा प्रणालीलाई दुरुस्त पारिएको छ । खराब कर्जा धेरै घटेको छ । कामको आवश्यकताअनुसार कर्मचारी सङ्ख्यासमेत घटाइएको छ । यसले बैंक अब पूर्णरुपमा व्यावसायिक भएको पनि देखिन्छ । प्रमुख कार्यकारी अधिकृत भएर श्रेष्ठ आउँदा बैंकमा स्रोत धेरै भए पनि प्रभावकारी व्यवस्थापन हुन नसकेको अवस्था थियो । निक्षेप धेरै भएको तर ऋण भने कम थियो । उनले भने, ‘प्रतिशतको हिसाबले ८० प्रतिशतसम्म लगानी गर्न सक्थ्यौँ, तर हामी ५६ प्रतिशतमा मात्रै थियौँ । म आउँदा रु ८० अर्ब कर्जा थियो, हाल १५४ अर्ब पुर्यायाैं ।’ कर्मचारीको उत्पादन कार्य क्षमता बढेको छ । पुरानो पिँढी अवकाश भएर जाने र नयाँ युवा पिँढी आउने संयोग पनि परेको भन्नुपर्छ । दुई पिँढीको बीचमा सङ्ख्या घट्यो । नयाँपुस्ता प्रविधिमैत्री भएकाले थोरै कर्मचारीले धेरै काम गर्ने अवस्था पनि बन्यो । योबीचमा बैंकले कर्मचारीलाई आवश्यक पर्ने क्षमता अभिवृद्धिका लागि व्यावसायिक तालीम पनि सञ्चालन गर्यो । सरकारी संस्था भनेपछि राजनीतिक गतिविधि बढी हुनु सामान्यजस्तै छ । बैंकमा ट्रेड युनियनको समस्या पनि निकै थियो । त्यसलाई समेत व्यवस्थापन गरेर बैंक अगाडि बढेको छ । ‘ट्रेड युनियनले उठाएका समस्यालाई समयमै सम्बोधन गर्न लाग्यौँ । गुनासो आउनै नदिने गरी युनियनमा पनि अपनत्वको भावना विकास गर्याैं । यसले काम गर्ने वातावरण बनायो । म आफैँ नेपाल बैंकमा कर्मचारीका रुपमा काम गरेको अनुभवका आधारमा व्यवस्थापन गर्न सहज बन्यो’, उनले भने। अन्य वाणिज्य बैंकहरुले नाम मात्रको सामाजिक उत्तरदायित्वअन्तर्गतको काम गर्ने गरेकामा वाणिज्य बैंक त्यसमा समेत अग्रणी रहेको छ । कानूनअनुसार मुनाफाको एक प्रतिशत त्यसमा छुट्याउनै पर्छ । रु पाँच अर्ब चार करोड मुनाफा गरेको बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशमा बाल अस्पताल खोल्न रु ५० लाख सहयोग गरेको छ । मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले स्थापना गर्न लाग्नुभएको बाल अस्पताललाई सहयोग गरेर बैंकले नाम मात्रै राखेको छैन, सामाजिक योगदानमा ठूलो छाती गर्न सकिने उदाहरण नै प्रस्तुत गरेको छ । बैंकले नेपाल प्रहरी अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापना गरेको छ । यस्तै प्रयोगशाला स्थापना औषधि वितरण साथै ग्रामीण क्षेत्रमा विद्यालयमा कम्प्युटर, शैक्षिक सामग्रीलगायत न्यानो लुगा वितरण गरेको छ । मुलुकभर २३९ शाखाबाटै वित्तीय साक्षरतालाई अभियान नै बनाएर सञ्चालन गरेको छ । अनाथालय वृद्धाश्रमलगायत संस्थामा पनि सहयोग गरेको बताउँछन् श्रेष्ठ । कुनै समय झण्डै समस्याग्रस्त ऋण मात्रै रु १२ अर्ब थियो । डेढ दशक अघि बैंक आर्थिकरुपमा जर्जर थियो । ठूलो मेहनत र सुधारसँगै गत आवमा बैंकले थप रु १२ अर्ब नकारात्मक ऋणलाई सकारात्मक बनायो । डुब्नै लागेको ऋण उठ्यो । श्रेष्ठले भने, ‘काम गरेपछि हुँदो रहेछ नि ? म आउँदा दुई अर्ब १२ करोड नाफा थियो, स्रोतको परिचालन गरेर त्यसयता अहिले मुनालाई बढाएर लाभांशसमेत दिन सफल भयौँ । त्यसका लागि आवश्यक पर्ने वित्तीय उपकरण सकारात्मक बनायौँ र सफल भयौँ ।’ यही चैत २९ गते चार वर्षे कार्यकाल पूरा हुँदैछ श्रेष्ठको । यस अवधिमा सार्वजनिक संस्था सरकारको सहयोगको बलियो र सुरक्षित आधार हुँदाहुँदै पनि जनतामा राम्रो छाप छैन । सार्वजनिक संस्थाको ‘इमेज’मा परिवर्तन गरेर जनताको विश्वास जित्न सफल भएको उनको दाबी छ । त्यसका लागि उनले एउटा नारा नै दिए । त्यो नारा थियो ‘क्लिन एण्ड स्मार्ट आरबिबी, विथ कन्सोल्डेसन’ । बैंकका सबै शाखा कार्यालय प्रविधिमैत्रीदेखि ग्राहकमैत्री बनाइयो । धेरै गर्मी हुने तराईका सबै शाखामा वातानुकूलित जडान गरियो । ग्राहकलाई गर्ने व्यवहारमा आकाश जमिनको परिवर्तन गरियो । बैंकमा अब के काम बाँकी रह्यो त ? भन्ने जिज्ञासामा उनले भने, ‘सुदृढीकरणको काम बाँकी छ । पुराना ऐन नियम, कार्यविधि पुनरावलोकन गर्न बाँकी छ । यसमा केही संशोधन र समयानुकूल सुधार गर्न बाँकी छ ।’ बैंकको वसन्तपुर, भैरहवा, पोरखा, फिक्कललगायत १४ स्थानमा नयाँ भवन बन्दै गरेको छ । भैरहवामा भने नयाँ भवन उद्घाटन हुने चरणमा पुगेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत केही सुधार गरेको छ । घर कर्जालगायतका केही विषयमा भएका सुधारले कर्जाको माग बढ्ने अपेक्षा छ । सहुलियत कर्जामा अग्रणी सरकारले अगाडि सारेको सहुलियतपूर्ण कर्जा कार्यक्रम कार्यान्वयन गर्ने बैंकमा राष्ट्रिय वाणिज्य बैंक अग्रणी छ । विभिन्न नौ कार्यक्रम छन् । त्यसमा पछिल्लो पटक शिक्षित स्वरोजगार कर्जा र विदेशमा काम गरेकालाई समेत अवसर दिने कार्यक्रम थप भएको छ । महिलाले मात्रै सञ्चालन गरेको व्यवसायलाई प्रमुख प्राथमिकतामा राखिएको छ । भूकम्प पीडित, दलित, अल्पसङ्ख्यक तथा परम्परागत सीपलगायतका विषयमा कर्जा दिइन्छ । कृषि पशुपक्षी कपडा बुनाइ र विप्रेषण कर्जा थप गरिएको छ । केन्द्रीय बैंकको नियमानुसार आधार दरमा थप दुई प्रतिशत मात्रै ब्याज लिन पाइन्छ । सरकारले पाँच प्रतिशत ब्याज अनुदान दिएको छ । यस आधारमा वाणिज्य बैंकबाट ऋण लिनेले मात्रै ३.६ प्रतिशतमा सहुलियतपूर्ण कर्जा पाउँछन् । त्यसमा बीमा, कर्जा सुरक्षणसमेत गरिएको छ । विगतमा जुन उद्देश्यले सहुलियतपूर्ण कर्जा कार्यक्रम ल्याएको थियो । त्यो पूर्णरुपमा कार्यान्वयन हुन सकेको थिएन तर पछिल्लो पटक केही नीतिगत सुधार गरियो । जसको प्रभाव लगानीमा समेत परेको छ । लगानीका प्रतिशतले हेर्दा सहुलियतपूर्ण कर्जा दिनेमा ५० प्रतिशत हिस्सा त वाणिज्य बैंककै छ । एक हजार १०० लाई त ऋण नै दिइसकेको छ । त्यस आधारमा हेर्दा बैंकको लगानी रु ९० करोड पुगेको छ । सहुलियतपूर्ण कर्जा सहजरुपमा पाइएन भन्ने गुनासो छ नि ? श्रैष्ठ भन्छन्, ‘निवेदन दिएको भरमा पैसा पाइँदैन । प्रमाणपत्र दिएको भरमा पैसा पाउँदैन । पैसा परियोजनालाई दिने हो ।’ बैंकले विद्यार्थीलाई सोझै पैसा दिँदैन । अध्ययन गरिरहेको कलेजलाई दिन्छ । परियोजनामा काम गर्नेलाई आफ्नो काम के हो त्यो चाहियो । धेरैलाई काम गर्ने परियोजना नै बनाउन नआउने अवस्था देखेको श्रेष्ठको बुझाइ छ । प्राविधिक ज्ञान नै छैन, कसरी कर तिर्ने भन्ने जानकारी छैन । बैंकले राष्ट्रिय युवा परिषद् नेपालसँग सहकार्य गरेर काम गरिरहेको छ । यस्तै, साना तथा मझौला उद्योग महासङ्घ पनि सहकार्य गरेको छ । दक्षिण एशियाली महिला सञ्जाल, हेपर, यूके एड, सक्षमजस्ता संस्थासँग मिलेर पनि बैंकले काम गरेको छ । ऋण लिनेमा सरकारी पैसा त हो नि भनेर लापर्वाही गर्ने मानसिकता पनि देखिएको श्रेष्ठको बुझाइ छ । उनी भन्छन्, ‘यो कर्जा लिनै पर्छ, सरकारको पैसा हो, भोलि त मिनाहा भइहाल्छ नि भन्ने भ्रम पनि छ । यो अनुदान होइन, कर्जा हो ।’ विगतमा यही मानसिकताका कारण युवा स्वरोजगार कार्यक्रम सफल भएन । त्यही भएर बैंकमार्फत जानुपर्छ भनेर नै सरकारले यस्तो कार्यक्रम शुरु गरेको हो । यसमा ब्याजलगायत विषयमा अनुगमन गर्ने प्रणाली बनाइएको छ । ‘केही नीतिगत व्यवस्था गर्नुपर्ने छ । नेपाल राष्ट्र बैंकको नीति, संवैधानिक निकाय संसद्को लेखा समिति, महालेखापरीक्षक, लोकसेवा आयोगलाई मिलाएर जानुपर्छ । त्यसलाई व्यवस्थापन गरेर अघि बढ्दा सोचेअनुसार काम गर्न सकिँदैन’, चार वर्षको अवधिमा देखेका केही चुनौती औँल्याए । उनले निजी बैंकका प्रमुख कार्यकारी अधिकृतले तत्काल आफूलाई मन परेको र चाहिने कर्मचारी भर्ना गर्न सक्छ तर, सरकारी स्वामित्वको बैंक भएकाले वाणिज्य बैंकले लोकसेवा आयोगको कार्यतालिकामा रहेर काम गर्नुपर्ने बताए । ‘त्यसका लागि झण्डै एक वर्ष कुर्नुपर्छ’, उनले भने । ठूलो चुनौती मानव संशाधनमा नै देखिएको उनको भनाइ छ । भएको दरबन्दीभन्दा ९०० कर्मचारी अझै कम छन् बैंकमा । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रको प्रमुख जोखिमका रुपमा साइबर सेक्युरिटी देखिएको छ । केन्द्रीय बैंकले पनि यही कुरालाई प्रमुख प्राथमिकता दिएको छ । चिनियाँ ह्याकरले केही समय पहिले नेपालको बैंकको प्रणाली नै ह्याक गरेर पैसा लुटे । त्यसलाई बैंकले विशेष ध्यान दिएको श्रेष्ठको भनाइ छ । श्रेष्ठले केही समय अघि ‘म्यानेजर अफ दि इएर’ उपाधि पाए । म्यानेजेमेन्ट एशोसिएशन अफ नेपाल (म्यान) को अध्यक्षसमेत रहेका श्रेष्ठ सार्वजनिक संस्थान सुधारका लागि ठूलो मेहनत जरुरी रहेको बताउँछन् । हाम्रोजस्तो क्षेत्रमा व्यवस्थापनको नयाँ मोडल बनाउन लागिपरेको उनको भनाइ छ । कम्पनी ऐनअनुसार राष्ट्रिय वाणिज्य बैंकले ३० प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गर्नुपर्छ तर सरकारी स्वामित्वको बैंक भएकाले यो विषय हाल छलफलकै क्रममा छ । कुनै निर्णय भएको छैन । यसअघि सरकारकै निर्देशनमा एनआइडिसीलाई मर्ज पनि गरिसकेको छ । सरकारको पूर्ण स्वामित्वमा नै राख्ने कि शेयर बिक्री गर्ने भन्ने विषय बैंकको भन्दा पनि सरकारको विषय भएको बताउँछन् श्रेष्ठ । उनले सरकारसँग भएको सम्झौताभन्दा थप ५० प्रतिशत काम आफूले गरेको उल्लेख गर्दै भने, ‘सबैलाई विश्वासमा लिएर समूहमा काम गर्ने हो । त्यसले नै आफू र संस्था दुवै सफल हुन्छ । अब तोकादेशले कुनै पनि संस्था चल्दैन ।’ पारदर्शी हुने कुरा पनि ठूलो रहेछ । मैले गर्ने जुनसुकै निर्णय समूहको निर्णय हो । सामान्य कुरा पनि १५ देखि २० जनाले थाहा पाउने प्रणाली स्थापित गरेको छु । कुनै कर्मचारीलाई कारवाही गर्दा होस् वा पुरस्कार दिँदासमेत सबैले थाहा पाउने अवस्था छ ।’ रासस/रासस
अब सवारी साधनमा मापसे चेक नहुने
काठमाडौं । अब सवारी चालकलाई मादक पदार्थ चेकिङ नहुने भएको छ । ट्राफिक प्रहरीले अब सवारी चालकको मापसे चेकिङ नगर्ने निर्णय गरेकाे हो। विश्वभर कोरोना भाइरस फैलिरहेको बेला नेपाल प्रहरीले पनि अनिश्चित समयका लागि मात्र मापसे चेकिङ स्थगित गरेको बताइएको छ । कोरोना भाइरस फैलन सक्ने डरको कारण मापसे चेकिङ रोकिएको हो । मापसे चेकिङ नगरेपनि अन्य चेकिङ भने नियमित गरिने प्रहरीले जनाएको छ । चालकहरु अत्याधिक मदिरा सेवन गरेर आएको पाइएमा अस्पतालमा लगेर चेकिङ हुनेछ । ट्राफिक महाशाखाले दैनिक रूपमा हुदैँ आएको मापसे लगायत अन्य चेकिङहरू अति आवश्यक अवस्थाबाहेक अन्य अवस्थामा नगर्ने तर चेकिङ गर्नुपर्ने अवस्थामा सावधानीपूर्वक चेकिङ गर्ने व्यवस्था मिलाईएको जनाएको छ । स विषम परिस्थितिमा सम्पूर्ण सवारी चालकहरूलाई मापसे लगायत अन्य ट्राफिक नियम उल्लङ्घन गरी सवारी नचलाउन अनुरोध गरेको छ । ।
सेतो मच्छिन्द्रनाथ रथयात्रा स्थगित
काठमाडौं । सेतो मच्छिन्द्रनाथ रथयात्रा स्थगित गरिएको छ । शुक्रबार बसको समितिको बैठकले रथयात्रा स्थगित गरेको बताइएको हो । विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण रथयात्रा स्थगित गर्नु परेको सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले बताएको छ । चैत्र १९ देखि बैशाख १ गते सम्म सेतो मच्छिन्द्रनाथको रथयात्रा भव्यतापूर्वक उल्लासमय बाताबरणमा सम्पन्न गर्नका लागि सबै आवश्यक तयारीका कामहरु भइरहेको बताएपनि बिचमै कोरोना कारण रथयात्रा स्थगित गर्नु परेका विज्ञप्तीमार्फत जनाएको छ । सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिको संयोजक एवम् काठमाडौं महानगरपालिका २५ वडाका अध्यक्ष निलकाजि शाक्यको अध्यक्षतामा गुठी संस्थानका अध्यक्ष मिनराज चौधरी, गुठी संस्थान काठमाडौं शाखाका प्रमुख हरीबहादुर सुवेदी, मच्छिन्द्रनाथका पुजारीहरु, विभिन्न क्लब संघसंस्था र सरोकारवालाहरुको उपस्थितिमा छलफल गरी यस वर्ष आवश्यक र अनिवार्य विधि विधान मुताबिकका पुजा मात्र गर्ने र रथयात्रा नगर्ने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जुनसुकै बैंकको एटीएमबाट पैसा झिके पनि शुल्क नलाग्ने
काठमाडौं । अबदेखि जुनसुकै बैंक वित्तीय संस्थाको एटीएम बुथबाट पैसा झिक्दा पनि शुल्क नलाग्ने भएको छ । यसअघि एउटा बैंकबाट लिएको एटीएम प्रयोग गरेर अर्काे बैंक वित्तीय संस्थाको एटीएम बुथबाट पैसा झिक्दा शुल्क लाग्थ्यो । विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस संक्रमण रोक्न बैंक तथा वित्तीय संस्थाहरुले यस्तो निर्णय गरेका हुन् । बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघ, विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसन र फाइनान्स कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल वित्तीय संस्था संघको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैंक नोटबाट पनि कोरोना भाइरस संक्रमण हुन सक्ने तथा सरकारले अत्यावश्यक बाहेकका काममा घरबाट बाहिर ननिस्कनु भन्ने लगायतका निर्णय कार्यान्वयन गर्न गराउन सहज होस भनेर यस्तो निर्णय गरिएको हो । यस्तै, इन्टरनेट÷मोवाइल लगायतका विभिन्न विद्युतीय माध्यमबाट गरिने कारोबारमा कुनै पनि शुल्क नलाग्ने पनि संघहरुले निर्णय गरेका छन् । नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने कनेक्ट आइपीएस सेवा पनि निशुल्क गरिएको छ । यस्तो सवै प्रकारका निशुल्क सेवाहरु निश्चित अवधिको लागि भएको र शुल्क लाग्ने भएपछि अर्काे सुचना प्रकाशित गरिने संघको भनाइ छ ।