मुक्तिनाथ विकास बैंकका ग्राहकलाई तीन जिल्लामा विशेष छुट, कुन-कुनमा कति ?
काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले प्रदेश-५ अन्तर्गत तीन वटा जिल्लामा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकले दाङ्ग, बर्दिया र बाँके जिल्लामा सञ्चालनमा रहेका विभिन्न होटेल, रिसोर्ट, क्याफे, रेष्टुरेन्ट तथा विद्यालयमा विशेष सुहलियत सहित छुट पाउने गरी सम्झौताहरुमा हस्ताक्षर भएको छ । सम्झौताहरु अनुसार मुक्तिनाथ विकास बैंकको भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले विशेष छुट पाउने छन् । छुट प्राप्त गर्न सकिने स्थानहरु: यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा, निःशुल्क डिम्याट खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताएका छन् ।
एनआईसी एशिया बैंकद्वारा १५ लाख बीमा रकम भुक्तानी
काठमाडाैं । एनआईसी एशिया बैंकले झापाको विर्तामोडस्थित भद्रपुर रोड निवासी महेश अग्रवाललाई औषधी उपचार बीमाअन्तर्गत रू १५ लाख प्रदान गरेको छ । उनलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले मंगलबार उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । महेश अग्रवालले यस बैंकको चन्द्रगढी शाखामा सुपर चमत्कारिक निक्षेप योजनाअन्तर्गत ‘डायमण्ड’ श्रेणीको खाता खोले वापत उक्त रकम प्राप्त गरेका हुन् । आफ्नो ओपन हर्ट सर्जरी भए पश्चात सो खाताभित्र घातक रोगहरूको बीमा सुविधाअन्तर्गत खातावालाले बीमा रकम दावी गरेका थिए । यसैगरी, बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १ सय २७ भन्दा बढी ग्राहकले बीमा बापतको ८७ लाख रूपैयाँभन्दा बढी रकम प्राप्त गरिसकेका छन् । बीमा सहितको बचत सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्य अनुरुप बैंकले विभिन्न चमत्कारिक सुविधा सहित तीन किसिमका बीमा योजनाहरू समेटिएको न्यू सुपर चमत्कारिक बचत खाता सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत खाता खोल्नुहुने ग्राहकले रू २१ लाख सम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने छन् । उक्त बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रू १० लाख सम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा र रू १ लाख सम्मको औषधी उपचार बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । औषधी उपचार बीमाअन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग (इएम्) उपचारमा रू २० हजार सम्म र अस्पताल भर्ना वापत रू ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्नेछ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५७ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
निर्माण उपकरणमा भइरहेको आगजनीबाट महासंघ आक्रोशित, दोषीलाई कडा कार्बाहीकाे माग
काठमाडौं । देशका विभिन्न भागमा निर्माण कार्यको लागि प्रयोगमा रहेका यन्त्र उपकरण माथि अज्ञात समुहबाट भइरहेको श्रृखंलावद्ध आगजनीका घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका महासचिव रोशन दाहालले बुधवार विज्ञप्ति जारी गर्दै आगजनीका घटनाका बारेमा प्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा निकायका प्रमुख लगायतलाई पटक पटक लिखित तथा मौखिक रुपमा जानकारी गराइएको उल्लेख छ । तर आगजनीका त्यस्ता घटनामा कुनै कमी नआई निर्माण व्यवसायीहरुलाई अझ बढी आतंकित पार्ने निन्दनीय कार्य निरन्तर भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार बेनी, दरबाङ सडक आयोजना अन्र्तगत विरुवा–क्याराभान जेभीले सडक निर्माण कार्य प्रयोजनका लागि फिल्डमा प्रयोग गरेको क्याराभान कन्स्ट्रक्सन प्रा लि को स्वामित्वमा रहेको एक्साभेटर र ब्याक–हो लोडरमा आइतबार राति अज्ञात समूहबाट आगजनी गरिएको छ । त्यस्तै दानबहादुर खड्का संचालक रहेको रेगन निर्माण सेवा सुर्खेतको १ थान एक्साभेटरमाथि जाजरकोट जिल्ला बोरकोट गाउँपालिका वडा नम्बर ९ स्थित पृथ्वीबहादुर बोहराको घरमा रहेको क्याम्पमा रासायनीक पदार्थ प्रयोग गरी आगजनी गरिएको महासंघको विज्ञप्तिमा जनाइएइको छ । उक्त एक्साभेटर जाजरकोट–जुम्ला सडक निर्माणमा प्रयोग भइरहेको थियो । आगजनीका यस्ता घटनाले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा सहित भौतिक पूर्वाधारको विकासमा खटिएको सिंगो मुलुकलाई नै अपूरणीय क्षति हुने महासंघको ठहर छ । विगतमा यस्ता घटनामा संलग्नलाई कार्वाहीको दायरामा नल्याएका कारण नै एकपछि अर्को आक्रमण तथा आगजनीका घटना भइरहेको महासंघको भनाइ छ । महासंघले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न गृह प्रशासन समक्ष आग्रह गर्दै देशभरका निर्माण व्यवसायी सहित उनीहरुको उपकरणको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न माग गरेको छ । साथै पीडित कम्पनीलाई राज्यको तर्फबाट तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गरिदिन पनि महासंघले आग्रह गरेको छ । व्यवसायीहरुको संयमतालाई कमजोरी नठान्न आग्रह गर्दै महासंघले व्यवसायीहरु माथिको अन्याय, अत्याचार नरोकिए पेशागत सुरक्षाकालागि देशभरको निर्माण कार्य ठप्प पार्दै सशक्त आन्दोलनमा उत्रन बाध्य हुन चेतावनी दिएको छ ।
ज्योति विकास बैंकले अडियो लाइब्रेरीलाई दियाे ५ थान कम्प्युटर
काठमाडाैं । ज्योति विकास बैंकले दृष्टिविहीनहरुको शिक्षाको सहजताको हेतुले स्थापित अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपाललाई ५ थान कम्प्युटर प्रदान गरेको छ। बैंकले अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपालको श्रव्य पुस्तकालयको लागि बुधबार साे कम्प्युटर प्रदान गरेको हो। ती कम्प्युटरहरू ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपालका अध्यक्ष रमेश बावु तिवारीलाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैंकका नायब महाप्रबन्धक पारस राज कँडेल, सहायक महाप्रबन्धक रामहरि आचार्य तथा संस्थाका उपाध्यक्ष कोपिला गुरुङ र सल्लाहकार सदस्य डा. गोविन्द आचार्यको पनि उपस्थिति रहेको थियो। अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपालले देशभरिका दृष्टिविहिन विद्यार्थीहरुको शिक्षाको हक सुनिश्चित गरी सहज जीवनयापनको लागि अन्य नागरिक सरह सक्षम बनाउन पुस्तकहरु डिजिटलाइज गराइ श्रव्य मैत्री बनाउँदै आएको छ। यस परियोजनाले बैंकबाट प्राप्त कम्प्युटरहरु पनि श्रव्य पुस्तक उत्पादन, वितरण तथा विद्यार्थीहरुको प्रयोगको लागि उपयोग गर्नेछ। हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५६ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।
उपभोक्तालाई सरकारको आव्हान: बिजुलीको महसुल आफै तोक्नुस्
काठमाडौं । विद्युत नियमन आयोगले उपभोक्तालाई विद्युतको महसुल कति राख्ने भन्ने विषयमा प्रतिक्रिया लिने भएको छ । नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेको विद्युत महसुल दर तोक्नका लागि आयोगले उपभोक्तासँग धारणा लिने भएको हो । बुधबार पत्रकार सम्मलेन गर्दै आयोगले विद्युत महसुल तोक्नका लागि सर्वसाधारणबाट विभिन्न सामाजिक सञ्जालहरुबाट धारणा माग गरेको बताएको हो । नेपालमै पहिलो पटक सूचना प्रविधि (इहियरिङ) समेतको माध्ययमबाट सार्वजनिक सनवाई आयोजना गरी वितरण अनुमति प्राप्त संस्थाको उपभोक्ता महसुल प्रस्ताव उपर प्रतिक्रिया लिने बताएको हो । नेपाल विद्युत प्राधिकरणको प्रस्तावको अध्ययन गरी आफ्नो राय, सुझाव तथा प्रतिक्रिया प्रदान गर्न ग्राहक वर्ग, उपभोक्ता हित संरक्षण सम्बन्धी संस्था, जन९प्रतिनिधि, सञ्चार माध्यमका प्रतिनिधि तथा सरोकारवालाहरुलाई आव्हान गरेको छ । आयोगका अध्यक्ष दिल्ली बहादुर सिँहले आयोगले अत्याधुनिक प्रविधिको प्रयोगद्वारा मेची देखि महाकाली सम्मका मात्र नभई विदेशमा कार्यरत नेपालीहरुले समेत श्रव्य-दृश्यको माध्ययमबाट आफ्नो राय दिन सक्ने बताए । उनले आम सर्वसाधारण उपभोक्तालाई मर्का नपर्ने गरी महसुल तोक्नका लागि उनीहरुबाटै प्रतिक्रिया माग गरेको बताए । ‘नेपाल विद्युत प्राधिकरणबाट विद्युत महसुल दरको प्रस्ताव आएको छ, त्यो पनि हामीले वेबसाइटमा राखेका छौं, त्यही अनुसार उपभोक्ताले आफुलाई सहज हुने महसुल दर तय गर्नसक्नेछन् र प्रतिक्रिया पनि दिन सक्नेछन्’, उनले भने । सिँहले प्राधिकरणलाई दिगो र व्यवसायीक बनाउन र सर्वसाधारणलाई राहत हुने हिसावले महसुल दर तोक्ने बताए । नेपाल विद्युत प्राधिकरणले विद्युत नियमन आयोग आयोग समक्ष पेश गरेको विद्यत महसुलमाथि सार्वजनिक सुनुवाई हुने भएको छ । विद्युत हसुल दरमाथि नेपाल विद्युत नियमन आयोगले चैत १४, १६ र १७ गते सार्वजनिक सुनुवाई गर्ने भएको हो । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक सुनुवाई हुने बताइएको हो । आयोगले आधुनिक प्रविधिबाट प्रतिक्रिया दिन इच्छुक सरोकारवालाहरुले सार्वजनिक सनवाई हुने दिन बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म मोबाइल नम्बर ९८४७३४००३८ वा ९८४७३४००४३ वा ९८४७३४००४५ मा फोन गरी वा सोही मोबाईल नम्बरको भाइबर वा प्रतिक्रिया दिन सक्ने उल्लेख गरेकाे छ ।
टेस्ला डायग्नोस्टिक क्लिनिकको औपचारिक सुरुवात
काठमाडौं । बालुवाटारमा अवस्थित टेस्ला डायग्नोस्टिक क्लिनिकले बुधबार आफ्नो सेवाको औपचारिक सुरुवात गरेको छ । सोही अवसरमा क्लिनिकले विभिन्न स्वास्थ्य प्याकेजहरुमा ५० प्रतिशत छुट तथा अन्य सेवाहरुमा २५ प्रतिशत छुटको व्यवस्था सहित आफ्नो सम्पूर्ण निदान सेवाहरु सुरु गरेको छ । सन् २०१९ मा स्थापना भएको यस क्लिनिकले एक नवीन डायाग्नोस्टिक, अनुसन्धान तथा वेलनेश क्लिनिक स्थापना गर्नुका साथै किफायति दरमा नयाँ प्रविधिका साथमा उच्चमत गुणस्तरको मेडिकल सेवाहरु प्रदान गर्ने भएको छ । टेक्नोलोजिकल विकासको गति र स्वास्थ्य सेवामा उत्कृष्टताको लागि बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै टेस्लाले उन्नत र उच्चस्तरिय प्रविधिको सेवा, रेडियोलोजी सम्वन्धि सम्पूर्ण सेवाहरू प्रदान गर्दै आइरहेको छ प्याथोलोजी ल्याबले सबै आधारभूत जाचँहरु सम्बन्धी सेवा प्रदान गर्छ । अन्य डाइग्नोष्टिक सेवाहरु जस्तै इको कार्डियोग्राफी, एबिपि, होल्टर, इसिजी, पिएफटि, युरिया ब्रिथ टेष्ट एण्ड बिएमडी पनि उपलब्ध रहेको छ । यस क्लिनिकले बहिरङ्ग सेवा दिदै आइरहेको छ साथै, रोकथामपूर्ण स्वास्थ्य सेवामा प्रमुख ध्यान दिनुको साथै सहुलियत दरमा विभिन्न स्वास्थ्य स्क्रीनीङ्गको प्याकेजहरु प्रदान गर्दै आइरहेको छ । बिरामी केन्द्रित सेवा प्रदान गर्ने मिसन अनुसरण गर्दै, फार्मेसीले औषधि र औषधि अभ्यासको सम्बन्धमा परामर्श सेवा पनि प्रदान गर्दै आइरहेको छ । यस सँगै फार्मेसीले एक नियन्त्रित वातावरणमा औषधीहरूको सुरक्षा पनि सुनिश्चित गर्दै आइरहेको छ । क्लिनिकले यस क्लिनीकमा आउने बिरामी/असक्त महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै यातायात सुविधा पनि संचालन गरेको छ, जसले क्लिनिकका विमारीहरुको यातायातको आवश्यकताहरु व्यवस्थित गर्न मद्दत गर्नेछ । यो क्लिनिक विहान ७ बजे देखि राती ८ बजे सम्म खुल्छ । क्लिनिक खुल्ने अवधिभित्र रेडियोलोजी र इमेजिंग परामर्शदाता डाक्टरहरु उपलब्ध हुनुहुनेछ । प्याथोलोजि सेवा पनि अन्र्तराष्ट्रिय मान्यता अनुरुप बरिष्ठ तथा अनुभवी प्याथोलोजिष्टहरुको निगरानीमा सञ्चालन भइरहेको छ । यसका साथै अन्य बहिरङ्ग (अेपिडी) सेवाहरु पनि साप्ताहिक तालिका अनुसार उपलब्ध हुनेछन् ।
तत्काललाई ६ हजार जनशक्तिको दरबन्दी पदपूर्ति, ५ प्रतिशत व्याजमा ऋण
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसालले किसानले प्राविधिक सेवा पाउने ग्यारेण्टी दिँदै तत्कालका ६ हजार दरबन्दीमा अविलम्व पदपूर्ति गर्ने बताए । बुधबार पत्रकार सम्मेलन गर्दै स्थानीय तहमा रहेका करिब आठ हजार कृषि तथा पशु सेवातर्फका प्राविधिक जनशक्तिको दरबन्दी रहेको र हालका लागि ६ हजारलाई रोजगारी दिने घोषणा गरेका हुन् । लामो समयसम्म मौनतामा रहेका मन्त्री भूसालले आफ्नो परीक्षाका लागि आफैले प्रश्न उठाएको भन्दै कृषकले उत्पादन गरेका हरेक सामानको मूल्य तोक्ने र बिक्री भए सरकारले खरिद गर्ने जानकारी दिए । ‘हरेक किसानलाई ५ प्रतिशत नबढ्ने गरी व्याजमा सुलभ ऋण प्रदान गर्नुका साथै सहुलियत ऋणमा वास्तविक किसानको पहुँच ग्यारेन्टी नभएको अहिलेको अवस्था अन्त्य गरिनेछ’ कृषिमन्त्री भूसालले भने । किसानलाई न्यूनतम बचत हुने कृषि उत्पादन व्यवस्थातर्फ ध्यान दिँदै कृषि उत्पादनमा दिगोपना सिर्जना गर्न पाँच नीतिगत आधारलाई अगाडी बढाउने कृषिमन्त्री भूसालले जानकारी दिए । उनले पन्चनीति सार्वजनिक गर्दै भने, ‘ उत्पादन सामग्री अनुदान, कृषकलाई सहुलियत कर्जा, घरदैलो प्राविधिक सेवा टेवा, बाली तथा पशुपन्छी बीमा र न्यूनतम बचतको ग्यारेण्टीलाई आधार शिला मान्दै आगामी दिनमा मन्त्रालय काम कार्य गर्ने तथा दलाल पुँजीवादलाई निरुतसाहित गर्नेछु ।’
सरकारले घोषणा गरेको आर्थिक विकासको सुरु वर्षमा बैंकमा निक्षेप र ऋण दुबै घट्यो
काठमाडौं । सरकारले चालु आर्थिक वर्षलाई समृद्धि र विकासको सुरु वर्ष घोषणा गरेको छ । सरकार गठन भएको पहिलो वर्षलाई आर्थिक विकास र समृद्धिको आधार वर्षको रुपमा घोषणा गरेको सरकारले दोस्रो वर्षलाई विकास र समृद्धि सुरु वर्षको रुपमा घोषणा गरेको थियो । सरकारले यसरी विकास सुरु वर्ष घोषणा गरेपनि यो वर्षको सूचकले अपेक्षाकृत सफलता हासिल हुनेमा शका उत्पन्न गरेको छ । यद्यपि, पछिल्लो समय विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस संक्रमणलाई कारण देखाउँदै प्रश्न र गुनासोहरुबाट जोगिन पाउने अवसर भने सरकारले पाएको छ । कोरोना भाइरस संक्रमण देखाएर सरकारले आर्थिक विकास र समृद्धिका सूचकबाट पन्छिन पाउने सुविधा भएपनि तथ्यांकले भने अर्थतन्त्रले सोभन्दा अगाडि नै अपेक्षित गति लिन नसकेका देखाएका छन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा बैंकिङ क्षेत्रबाट प्रवाह हुने कर्जा र बैंकमा जम्मा हुने निक्षेप गत आर्थिक वर्षकोभन्दा पनि कम भएको पाइएको छ । गत आर्थिक वर्षको उपलब्धीप्रति प्रश्न उठेपछि सरकारले सो वर्षलाई आर्थिक विकास र समृद्धिको आधार वर्ष भएको भन्दै चालु आर्थिक वर्षलाई विकास सुरु वर्ष भनेको थियो । तर, विकास सुरु भनिएको वर्षमा नै बैंकिङ क्षेत्रका गतिविधि गत आर्थिक वर्षको भन्दा सुस्त देखिएका छन् । अर्थतन्त्रको रक्त संचार मानिने बैंकिङ गतविधिमा सुस्तता आउँदा सरकारको अपेक्षा अनुसार विकासले गति लिन नसकेको प्रष्ट हुन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा गत आर्थिक वर्षको तुलनामा निक्षेप रकम बृद्धिदर कम छ । यस्तै कर्जा प्रवाहको बृद्धिदर पनि घटेको छ । निक्षेप परिचालन बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ६.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ८.७ प्रतिशतले बढेको थियो । गत आर्थिक वर्षको तुलनामा यो वर्षको निक्षेप बृद्धिदर कम छ । गत माघ मसान्तमा चल्ती, बचत र मुद्दतीको कुल निक्षेपमा क्रमशः ८.२ प्रतिशत, ३१.६ प्रतिशत र ४९.९ प्रतिशत अंश रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.७ प्रतिशत, ३३.५ प्रतिशत र ४७.६ प्रतिशत थियो । माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.९ प्रतिशत छ । अघिल्लो वर्षको माघ मसान्तमा यस्तो निक्षेपको अंश ४४.८ प्रतिशत थियो । कर्जा प्रवाह बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४ प्रतिशतले बढेको थियो । कर्जा प्रवाहको बृद्धिदर पनि गत वर्षको भन्दा घटेको छ । बैंक तथा वित्तीय संस्थाको २०७६ माघ मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५.१ प्रतिशत घरजग्गाको धितोमा र १३.४ प्रतिशत चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७५ माघ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६३.४ प्रतिशत र १४.५ प्रतिशत रहेको थियो । बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फ १०.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ १०.३ प्रतिशत, निर्माण क्षेत्रतर्फ १०.२ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १०.२ प्रतिशत र सेवा क्षेत्रतर्फ ११.८ प्रतिशतले कर्जा बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा १८.३ प्रतिशत, ओभरड्राफ्ट कर्जा ४.९ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ७.८ प्रतिशत, डिमान्ड तथा चालु पुँजी कर्जा १०.५ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ८.७ प्रतिशत र हायर पर्चेज कर्जा १ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृतिको कर्जा ०.१ प्रतिशतले घटेको छ । तरलता व्यवस्थापन नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ७ महिनामा खुला बजार कारोबारमार्फत् कुल ५८ अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ३५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको थियो । राष्ट्र बैंकले रिपोमार्फत ९१ अर्ब ६४ करोड रुपैयाँ र स्थायी तरलता सुविधामार्फत ६९ अर्ब ५५ करोड रुपैयाँ गरी कुल १ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा रिपोमार्फत २१ अर्ब ३ करोड र स्थायी तरलता सुविधामार्फत ६ अर्ब ७२ करोड रुपैयाँ गरी कुल २७ अर्ब ७५ करोड रुपैयाँ तरलता प्रवाह भएको थियो । राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंक) बाट अमेरिकी डलर २ अर्ब २ करोड खुद खरिद गरी २ खर्ब ३० अर्ब ९ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब ७२ करोड खुद खरिद गरी १ खर्ब ९७ अर्ब ६६ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो । यस्तै, अमेरिकी डलर २ अर्ब ४० करोड बिक्री गरी २ खर्ब ७२ अर्ब ८० करोड रुपैयाँ बराबरको भारतीय रुपैँया खरिद गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब ४८ करोड र अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी ३ खर्ब ११ अर्ब ५ करोड रुपैयाँ बराबरको भारतीय रुपैँया खरिद गरिएको थियो । पुनरकर्जा उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिदै आएको पुनरकर्जा २०७६ माघ मसान्तमा २१ अर्ब १९ करोड रुपैयाँ लगानीमा रहेको छ । यस अन्तर्गत साधारण पुनरकर्जा १८ अर्ब १७ करोड रुपैयाँ र निर्यात पुनरकर्जा १ अर्ब ३८ करोड रुपैयाँ उपयोग भएको छ । भूकम्प पीडितलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनरकर्जाको बक्यौता २०७६ माघ मसान्तमा १ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यस्तो कर्जा १ हजार ५ सय ९२ ऋणीले उपयोग गरेका राष्ट्र बैंकले जानकारी दिएको छ । सहुलियतपूर्ण कर्जा गत माघ मसान्तसम्ममा कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत २२ हजार ३ सय २४ ऋणीको ४७ अर्ब १६ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । त्यसैगरी, सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत ३ हजार ७ सय ८० ऋणीको २ अर्ब ३१ करोड रुपैयाँ कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । अन्तर–बैंक कारोबार गत माघ मसान्तसम्ममा वाणिज्य बैंकहरुबीच १० खर्ब ५९ अर्ब ९ करोड रुपैयाँ र अन्य वित्तीय संस्था (वाणिज्य बैंकबीच बाहेक) बीच १ खर्ब ३७ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक र अन्य वित्तीय संस्था (वाणिज्य बैंकबीच बाहेक) ले क्रमशः ८ खर्ब ४२ अर्ब १० करोड र १ खर्ब २६ अर्ब ४ करोड रुपैयाँको यस्तो कारोबार गरेका थिए ।