काठमाडौं । रत्नपार्क, जमल र तीनधारा पाठशाला अघिल्तिर गरी तीन स्थानका ट्राफिक आइल्यान्डको व्यवस्थापन प्रभु बैंकले गर्ने भएको छ । आइल्यान्डको व्यवस्थापनको विषयमा मङ्गलबार काठमाडौँ महानगरपालिकाका तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले ठाउँ लिने, आफ्नो प्रचार गर्ने तर सौन्दर्य अभिवृद्धिमा ध्यान नदिने हो भने आपसी सम्बन्ध लामो समय टिक्न सक्दैन भन्दै दिगो रूपमा काम गर्नुपर्ने धारणा राखेका छन् । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले महानगरले स्वीकृत गरेको ढाँचामा मौसम सुहाउँदा फूल, ठाउँ सुहाउँदा बिरुवा र आकर्षक फोहोरा निर्माण गर्ने जानकारी दिए।
सम्झौताबमोजिम बैंकले वडा २८ मा पर्ने रत्नपार्क, वडा २७ मा पर्ने जमलको आकाशे पुलमुनि र वडा १ मा पर्ने तीनधारा संस्कृत पाठशाला अघिको ट्राफिक आइल्यान्डमा बगैँचा निर्माण गरेर हरियाली बनाउने, मर्मत सुधार, हेरचाह र आधुनिक पानीको फोहोरा निर्माण गर्नेछ ।
आउँदो पाँच वर्षका लागि भएको सम्झौताबमोजिम आइल्यान्डको व्यवस्थापन गरेबापतको खर्च बैंक आफैँले व्यहोर्नेछ । आइल्यान्डमा बैंक र महानगरको परिचय झल्कने लोगो राखिने छ ।