
काठमाडौं । सहारा विकास बैंकबाट प्रवद्र्धकले हात झिकेका छन् । बैंकले गत वर्ष २५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेकोमा प्रवद्र्धकहरुले हकप्रद सेयरमा लगानी नगरेको पुष्टि भएको छ ।
चुक्तापुँजी ७ करोड २९ लाख भएको सहारा विकास बैंकले २०७५ असारमा १ बराबर २.५ अनुपातमा १८ करोड २४ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेको थियो ।
प्रवद्र्धक सेयर ५१ प्रतिशत रहेको यस बैंकमा प्रवद्र्धकले ९ करोड ३० लाख ६८ हजार रुपैयाँ बराबरको सेयर लिनु थियो । प्रवद्र्धकले एक प्रतिशत सेयर पनि नकिनेको भेटिएको छ ।
प्रबद्र्धक सेयर नकिनेको जनाउँदै सहारा विकास बैंकले ९ लाख २१ हजार १४८ कित्ता सेयर लिलामीमा राखेको छ । २०७५ जेठ ६ गतेदेखि असार २४ गतेसम्म हकप्रद सेयर निष्काशन खुला गरेकामा प्रवद्र्धकले सेयर नकिनेकोले बढाबढ मूल्यमा बेच्न लागेको सहारा विकास बैंकले जनाएको छ ।
हकप्रद सेयर पछि बैंकको चुक्ता पुँजी २५ करोड ५४ लाख हुने बैंकले जनाएको थियो । तर प्रवद्र्धकले सेयर किन्न नमानेपछि बैंकको चुक्ता पुँजी १६ करोड ३३ लाख रुपैयाँ मात्र छ ।
सर्लाहीको मलंगवामा केन्द्रीय कार्यालयमा रहेको यो बैंक एक जिल्ला स्तरीय बैंक हो । बैंकका प्रवद्र्धहरुबीच द्वन्द्व हुँदा उनीहरुले हकप्रद सेयरमा लगानी नगर्ने पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले बताए । यस बैंकको सेयर पछिल्लो ४६० रुपैयाँमा कारोबार भएको छ । याे बैंक अरू बैंकमा मर्ज गराउनु राम्राे हुने उनले बताए ।