विकराल रूप लिँदै काेराेनाः संक्रमित संख्या २० लाख पुग्याे, १ लाख २६ हजारकाे मृत्यु
काठमाडौं । विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१०)बाट संक्रमित हुनेको संख्या २० लाख पुगेको छ । बुधबार बिहान संक्रमितको संख्या २० लाख पुगेको हो । कोरोनाका कारण मृत्यु हुनेकाे संख्या हालसम्म १ लाख २६ हजार ७ सय ५४ पुगेको छ । कहाँ कतिको मृत्यु ? कोरोनाबाट सबैभन्दा प्रभावित अमेरिका बनेको छ । त्यहाँ ६ लाख १४ हजार बढी संक्रमित छन् भने २६ हजार ६४ को मृत्यु भइसकेको छ । अमेरिकापछि स्पेनमा कोरोना संक्रमित धेरै छन् । स्पेनमा १ लाख ७४ हजार, इटलीमा १ लाख ६२ हजार, फ्रान्समा १ लाख ४३ हजार, जर्मनीमा १ लाख ३२ हजार संक्रमित छन् । त्यस्तै, अमेरिकामा २६ हजार बढीको मृत्यु हुँदा इटलीमा २१ हजार, स्पेनमा १८ हजार, फ्रान्समा १५ हजार, बेलायतमा १२ हजार बढीको मृत्यु भइसकेको छ । नेपालमा भने हालसम्म १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना नियन्त्रण र रोकथामका लागि विश्वका अधिकांश विगत केही सातादेखि देश लकडाउनमा छन् । कोरोनाको उद्गमस्थल चीनमा कोरोना संक्रमण न्यून भएको छ तर अन्य भने भइसकेको छैन । त्यहाँ मंगलबार मात्रै ४६ जना नयाँ संक्रमित फेला पर्दा एकजनाको मृत्यु भएको छ ।
भारतमा भयावह बन्दै काेराेना, ३ सय ९३ जनाको मृत्यु, संक्रमितको संख्या साढे ११ हजार पुग्याे
काठमाडाैं । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ११ हजार ४ सय ८७ पुगेकाे छ । वल्ड मिटर्सका अनुसार भारतमा हालसम्म ३ सय ९३ जनाकाे मृत्यु भइसकेकाे छ । महाराष्ट्रमा सबैभन्दा बढी २६ सय ८७ जना संक्रमित भएका छन् । सो राज्यमा अहिलेसम्म १७८ जनाको मृत्यु भएको छ। यस्तै दिल्लीमा अहिलेसम्म १५ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ ३० जनाको मृत्यु भइसकेको छ। विश्वभर फैलिरहेकाे काेराेना भाइरसले जनजीवन पनि निकै प्रभावित बनेकाे छ ।
लकडाउन : कालिमाटी तरकारी बजारकाे मूल्य देखियाे यस्तो अन्तर
काठमाडौं । सरकारले लकडाउन घोषणा गरेसँगै तरकारीको मूल्यमा केही अन्तर देखिएको छ । कालिमाटी तरकारी बजारमा तरकारीको थोक मूल्य अहिलेको तुलनामा लकडाउन भन्दा अगाडीकाे मूल्यमा थाेरै मात्र तरकारीमा अन्तर छ । विश्वमा काेराेनाकाे महामारी बढेसँगै सरकारले चैत ११ गते देखि देश लकडाउन घोषणा गरेसँगै उपभाेग्तामा तरकारी सहज रूपमा नपुगेपनि पहिलाकाे तुलनामा तरकारी बजारकाे मूल्यमा भने खासै अन्तर छैन । २०७६ साल चैतको १० गते ठूलो गोलभेडा प्रतिकेजी ४५ देखि ४८ थोक मूल्य रहेको सानो गोलभेडा ६० देखि ६५ रुपैयाँमा बिक्री भएको थियो । त्यस्तै बैशाख तीन गते बुधबार कालिमाटी बजारमा ठूलो गोलभेडा प्रतिकेजी ४५ देखि ४८ रुपैयाँसम्म बिक्री भइरहेको छ भने सानो गोलभेडाको मूल्य प्रतिकेजी ३० देखि ३५ रुपैयाँ छ । सुकेको प्याज प्रतिकेजी ३७ देखि ३९ रुपैयाँसम्म बिक्री भइरहेको छ भने गत चैत १० गते ४८ देखि ४९ रुपैयाँमा बिक्री भएको थियो । लकडाउनको यो अवधिमा प्याजको मूल्य १० रुपैयाँले घटेको छ । गाजरको थोक मूल्य चैत १० गतेको र अहिले साेही मूल्य ३० देखि ३५ रुपैयाँ छ । लकडाउन अगाडी प्रतिकेजी २५ देखि ३० रुपैयाँमा थोक मूल्य रहेको काउली अहिले २० देखि २५ रुपैयाँमा बिक्री भइरहेको छ । च्याउको मूल्य डकलाउन अगाडी र अहिलेमा खासै फरक छैन, अगाडी प्रतिकेजी २ सय ५० देखि २ सय ५५ सम्म बिक्री भएको च्याउ हाल २ सय ५० देखि २ सय ६० सम्म बिक्री भइरहेको छ । चैत १० गते तरकारी बजारमा प्रतिकेजी २ सय २० देखि २ सय २५ रुपैयाँमा बिक्री भएको नेपाली लसुनको मूल्य भने बढेर २ सय ८० देखि २ सय ८५ सम्म पुगेको छ । त्यस्तै चाइनिज लसुन प्रतिकेजी ४ सय ७० देखि ४ सय ७५ सम्म बिक्री भएको थियो भने अहिले घटेर ३ सय ८० देखि ३ सय ९० रुपैयाँमा बिक्री भइरहेको छ । कालिमाटी तरकारी बजारमा डकलाउन अगाडी सुकेको खुर्सानी प्रतिकेजी ३ सय ४० देखि ३ सय ३ सय ५० सम्म बिक्री भएको थियो भने अहिले नि सोही मूल्यमा बिक्री भइरहेको छ । त्यस्तै हरियो खुर्सानी, भेडे खुर्सानीको मूल्यमा पनि परिवर्तन आएको छैन् । अदुवाको मूल्यमा भने केही वृद्धि भएको छ । अहिले प्रतिकेजी १ सय ५० देखि १ सय ६० रुपैयाँमा बिक्री भइरहेको अदुवा लकडाउन अगाडी १ सय २० देखि १ सय ३० रुपैयाँमा बिक्री भएको थियो । तने बोडीको मूल्यमा भने लकडाउनले ठूलो प्रभाव पारेको छ । चैत १० गते प्रतिकेजी १ सय ३० देखि ३५ रुपैयाँमा बिक्री भएको तने बोडी अहिले प्रतिकेजी ३५ देखि ४० रुपैयाँमा बिक्री भईरहेको छ । त्यस्तै प्रतिकेजी ९५ देखि एक सय रुपैयाँ बिक्री भएको घिरौला ४५ देखि ५० रुपैयाँसम्म बिक्री भएको छ । रायो, पालुगो, चमसुर, मेथी, चमसुर आदीका सागको मूल्यमा सोही मूल्यमा अर्थात प्रतिकेजी ३५ देखि ४० रुपैयाँसम्म बिक्री भइरहेको छ । बकुला भने प्रतिकेजी ४५ देखि ४८ रुपैयाँमा चैतको १० गते बिक्री भएको थियो भने अहिले प्रतिकेजी ३५ देखि ४० रुपैयाँसम्म बिक्री भइरहेको छ । चैत १० गते प्रतिकेजी २० देखि ३० रुपैयाँमा बिक्री भएको घिउ सिमी अहिले ३५ देखि ४० रुपैयाँसम्म बिक्री हुन्छ । यो समय तितो करेलाको मूल्य घटेको छ । प्रतिकेजी १ सय २० रुपैयाँमा बिक्री भएको तितो करेला अहिले ८० देखि ८५ रुपैयाँमा बिक्री भइरहेको छ । चैत १० गते सोमबार काक्रो प्रतिकेजी ५० देखि ५५ रुपैयाँमा सम्म कालिमाटी तरकारी बजारमा पाइथ्यो भने अहिले पनि सोही मूल्यमा बिक्री भइरहेको छ । कागती पनि सोही मूल्य अर्थात प्रतिकेजी १ सय ३० रुपैयाँमा बिक्री भइरहेको छ । कालिमाटी तरकारी बजारमा आलुको मूल्य थोरै मात्रामा बढेको छ । लकडाउन भन्दा अगाडी प्रतिकेजी ३४ रुपैयाँ थोक मूल्य रहेको आलु हाल ३८ रुपैयाँमा बिक्री भइरहेको छ ।
ट्रम्प र डब्लूएचओकाे विवाद चुलियाे, आर्थिक सहयोग रोक्न निर्देशन
काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिँदै आएको आर्थिक सहयोग रोक्का गर्न आफ्नो प्रशासनलाई निर्देशन दिएको बताएका छन् । ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनका क्रममा ट्रम्पले भने, ‘मैले मेरो प्रशासनलाई डब्लूएचओलाई दिइँदै आएको सहयोग रोक्न र कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि गरेको खराब व्यवस्थापन तथा चीनको ढाकछोप गरेको घटनाको मूल्यांकन गर्न भनेको छु ।’ डब्लूएचओलाई सबैभन्दा बढी सहयोग गर्ने राष्ट्र अमेरिका हो । गत वर्ष अमेरिकाले डब्लुएचओलाई ४०० मिलियन अमेरिकी डलर सहयोग गरेको थियो । यो डब्लुएचओको कुल बजेटको करिब १५ प्रतिशत हो । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण नियन्त्रणको काममा डब्लूएचओ ‘असफल’ भएको उनले बताएका छन् । डब्लूएचओ कोरोना भाइरस नियन्त्रणको आधारभूत प्रयासमै असफल भएको उनको आरोप छ । संयुक्त राष्ट्रसंघीय निकाय डब्लूएचओले कोरोना भाइरस चीनमा देखिएपछि त्यसको ढाकछोप गरेको राष्ट्रपति ट्रम्पको गम्भीर आरोप छ । यो अव्यवस्थाका लागि डब्लूएचओ जिम्मेवार हुनुपर्ने उनले बताए । यसअघि पनि राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको संक्रमणलाई लिएर डब्लूएचओले चीनको पक्षमा वकालत गरेको आरोप लगाएका थिए । त्यसको प्रतिक्रिया स्वरुप संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले कोरोना भाइरसको महामारीलाई राजनीतीकरण नगर्न आग्रह गरेका थिए । ट्रम्पले डब्लूएचओलाई दोषी देखाए पनि अमेरिकामा भने समयमै विज्ञहरुको कुरा नसुन्दा र गम्भीरताका साथ सजगता नअनाउँदा कोरोना संक्रमण बढी फैलिएको र धेरै मानिसको ज्यान गएको भन्दै उनको प्रशासनको आलोचना भइरहेको छ । उनले भने आफूले गरेका सबै काम सही र उपयुक्त रहेको दाबी गरिरहेका छन् । कोरोना भाइरसको महामारीका कारण विश्वमा सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म २५ हजारभन्दा बढीको मृत्यु भएको छ भने पाँच लाख ९२ हजार भन्दा बढी संक्रमित भएका छन् । बीबीसी
कोरोना परीक्षण गर्ने आरडिटी र पिसिआर विधिमा के फरक छ ?
काठमाडौं । हाल नेपालामा दुई विधिबाट कोरोनाभाईरस (काेभिड-१९) को परीक्षण भईरहेको छ । एक हो पिसिआर र दोस्रो रहेको छ आरडिटी अर्थात र्यापिड डायगोनेस्टिक किट विधि। हालसम्म यी दुई विधिबाट १२ हजार ९ सय ६ वटा परीक्षण भएको छ । यो दुई मानिसको शरीरमा कोरोना भाईरसले लाग्ने रोग कोभिड-१९ छ कि छैन भनेर पत्ता लगाउनको लागि प्रयोग हुने भिन्न विधि हो । तर बजारमा यो दुई विधिलाई लिएर मानिसहरुमा केही भ्रमहरु छन् । यी दुई विधिले कसरी काम गर्छ त भन्ने पछिल्लो समय धेरैले बुझ्न चाहेको विषय रहेको छ । के फरक छ ? हाम्रो शरीरले जहिले पनि कुनै पनि रोगसँग लड्नको लागि एन्टिबडी उत्पादन गर्दछ । वैज्ञानिकहरुले यही एन्टिबडीलाई आधार मानेर परीक्षण गर्नको लागि र्यापिड डायगोनेस्टिक किट विधि ल्याएको हाे । यद्यपी एन्टिबडी पत्ता लगाएर रोग पत्ता लगाउने विधि भने नयाँ होईन । डेंगु, हेपाटाईटिस, ऐड्सहरुको पनि हामीले यही एन्टिबडीको मार्फत रोग पत्ता लगाउने गरेका छौं । कोभिड १९ सँग लड्नको लागि पनि हाम्रो शरीरले दुई एन्टिबडि उत्पादन गर्दछ । १. आईजीएम यो एन्टिबडी रोग लागेको सामान्यता एक हप्तापछि शरीरले उत्पादन गर्दछ । यो पनि तर व्यक्ति पिच्छे फरक पर्न जाने र यो शरीरमा २ देखि ३ हप्तासम्म रहन्छ । २. आईजीजी यो एन्टिबडी रोग लागेको २ हप्तापछि शरीरले उत्पादन गर्दछ र यो शरीरमा महिनौंसम्म रहन सक्छ। सुरुमा रोग लागि सकेपछि शरीरमा भाईरस मात्र भेटिने र पछि गएर १ हप्तामा आईजीएम र दुई हप्ता बितिसकेपछि आईजीजी पनि भेटिने गर्दछ । यस्तै रोग लागेको एक महिनापछि भाईरस र आईजीएम नेगेटिभ हुनसक्ने तर एजीएम महिनौसम्म रहने गर्दछ । यसको मतलब सुरुमा परीक्षण गर्दा पिसिआर मात्र पोजेटिभ आउन सक्ने र एन्टिबडीको लागि गरिने परीक्षण नेगेटिभ आउनसक्छ । त्यस्तै दुई तीन हप्तापछि परीक्षण गर्दा पिसिआर पनि पोजेटिभ आउने र एन्टिबडी पनि पोजेटिभ आउन सक्छ । र तीनदेखि चार हप्तापछि पिसिआर नेगेटिभ आउने र एन्टिबडी पोजेटिभ आउने हुन्छ । जटिल पिसिआर परीक्षण पिसिआर परीक्षण एउटा जटिल परीक्षण रहेको छ । यसको नतिजा टेष्टको लागि राखिएको करीब ६ घण्टा पछि आउँछ । याे निकै जटिल विधि हो । यसको लागि सुविधासम्पन्न ल्याब, एकदमै दक्ष जनशक्ति हुनुपर्छ। यसमा प्रविधि मार्फत शरीरमा भाईरसको जीन छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ । यस प्रविधिमा एकपटकमा एउटा परीक्षण गर्न र समूहमा एकैपटक धेरै परीक्षण गर्न उही प्रकृया र समय आवश्यक हुने भएको कारण एक पटकमा सकेसम्म धेरै नमुना परीक्षण गर्नुपर्ने हुन्छ । बिरामीको केस जटिल भएको अवस्थामा मात्र एक दुईवटा परीक्षण गरेर नतिजा ६ घण्टाको वरीपरी आउने तर धेरैवटा एकैपटक गर्दा परीक्षण सजिलो हुने भएकोले एउटा परीक्षणको नतिजा कम्तिमा पनि २४ देखि ३६ घण्टा वरिपरी लाग्ने गर्दछ । यो जटिल विधि भएकोले यसलाई कसरी सजिलो बनाउने भन्दै गर्दा वैज्ञानिकहरुले आरडिटी विधि पत्ता लागएका हुन् । आरडिटी अर्थात र्यापिड डायगोनेस्टिक किट आरडिटी प्रविधि एउटै निकै नै सरल प्रविधि हो जसलाई सामान्य व्यक्तिले पनि प्रयोग गर्न सक्छन् । नेपाल मात्र नभएर अमेरिका, युरोपियन युनियन, अष्ट्रेलियाले पनि यो प्रविधिलाई प्रयोगमा ल्याएका छन् । यस्तै भारतले पनि आफ्नो भर्खरै प्रकाशित टेष्टिङ मापदण्डमा लक्षण देखाएका व्यक्तिहरुमा आरडिटीको माध्यमबाट परीक्षण गर्न उल्लेख गरेका छ । र्यापिड किट प्रयोग गर्नको लागि धेरै विज्ञता पनि नचाहिने, ल्याब पनि आवश्यक नहुने, जहाँ पनि गएर जाँच्न सकिने, सामान्य तालिम पर्याप्त हुने र १५ मिनेटमै नतिजा देखिने भएकोले यो प्रविधि धेरै फाईदाजनक छ । कुनै पनि राष्ट्रले सबै परीक्षण पिसिआर प्रविधीबाट गर्दैन । आरडिटीबाट परीक्षण हुँदा धेरैभन्दा धेरै व्यक्तिहरु छोटो समयमै परीक्षणको दायरामा आउने र त्यसले पछि हुने संभावित संक्रमणबाट बचाउने सकिन्छ। आरडीटी परीक्षणले रोग लागेर निको भईसकेको अवस्थामा एन्टिबडीको मार्फत पहिला शरीरमा यो रोग थियो भन्ने देखाउँछ । साथै, यो परीक्षणले नेपालमा कतिलाई कोरोनाभाईरस (काेभिड-१९) लागेको थियो भन्ने पत्ता लगाउन सकिन्छ । ( डा. रुणा झा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक हुन् । )
संसद विकासको रकम कोरोना कोष बनाउन सुझाव
काठमाडाैं । संघीय संसद र प्रदेशसभाको संसद विकास कोषको रकम कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न संसदले सरकारलाई सहमति दिएको छ । उनले सभामुख अग्नी प्रसाद सापकाेटाले आज कार्य व्यवस्था परामर्श बैठकमा यस्तो सुझाव दिएका हुन्। संसदका बैठक सञ्चालनका लागि सावधानी अपनाउन डिसइन्फेक्सन गेटलगायतका पूर्वाधार तत्काल व्यवस्था गर्नुपर्ने‚ स्वास्थ्य र सुरक्षाको क्षेत्रमा काम गर्ने जनशक्तिलाई विश्वासमा लिन उनीहरुको सुरक्षा र उत्प्रेरणाको आवश्यक व्यवस्था गर्नुपर्ने सुझाव बैठकमा आएको बताइएकाे छ । सरकारले विगतमा गरिएका भिडियो कन्फ्रेन्स सफल अभ्यासजस्ता भर्चुअल माध्यमबाट संसदका गतिविधिहरु सञ्चालन गर्न ई–पार्लियामेण्टको अभ्यासलाई अघि बढाउनु पर्ने र यसको तयारीका लागि सचिवालयबाट आवश्यक बजेट तथा प्राविधिक तयारी गर्न निर्देशन दिनुपर्ने सुझाव उनीहरुले दिएका छन्।
यूएसएसडी सेवा र ई पासको लागि टेलिकमले उपलब्ध गरायो एसएमएस सर्ट कोड
काठमाडौं । नेपाल टेलिकमले नेपाल सरकारको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर-सीसीएमसीसँगको सहकार्यमा देशमा कोरोना संक्रमण नियन्त्रणको लागि सर्वेक्षण कार्यक्रम सञ्चालन गरेको छ । पहिलो चरणमा सो सर्वेक्षण सुदूरपश्चिम क्षेत्रमा कार्यान्वयन गरिने छ र क्रमशः प्राथमिकता अनुसार अन्य प्रदेशहरुमा समेत सञ्चालन गर्न सकिनेछ । सो सर्वेक्षणका लागि कम्पनीले सम्बन्धित प्रदेशका सबै जिल्लाहरुमा रहेका कम्पनीका मोबाइल प्रयोगकर्ताहरुलाई एसएमएस मार्फत जानकारी गराउने छ । एसएमएस प्राप्त भए पश्चात कम्पनीका मोबाइल प्रयोगकर्ताहरुले यूएसएसडी मार्फत *1419# डायल गरी सोधिएका प्रश्नहरुको जवाफ सहज रुपमा अंक १ वा २ थिचेर दिन सक्नेछन् । सो सर्वेक्षण देवनागरी लिपिमा उपलब्ध हुनेछ र हरेक प्रश्नको उत्तर यदि ‘हाे’ वा ‘छ’ भएमा १ र ‘होइन’ वा ‘छैन’ भएमा २ थिचेर पठाउनु पर्नेछ । उक्त सर्वेक्षणबाट प्राप्त तथ्यांक सीसीएमसीलाई सिधै प्राप्त हुनेगरी कम्पनीले आवश्यक व्यवस्था समेत गरेको छ । यसरी सर्वेक्षणबाट प्राप्त हुने तथ्यांकको विश्लेषणबाट सीसीएमसीले कोरोना संक्रमणको अवस्थाको बारेमा महत्वपूर्ण जानकारी हासिल गर्नसक्ने र संक्रमण नियन्त्रण गर्न थप सहयोग पुर्याउन सक्ने विश्वास गरिएको छ । यसैगरी हाल मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा अत्यावश्यक सेवा तथा वस्तु परिचालन गर्न तथा आवतजावत गर्नको लागि नेपाल सरकार, गृह मन्त्रालयले प्रदान गर्ने विद्युतीय पास(ई पास) सम्बन्धी जानकारी उपलब्ध गराउनको लागि नेपाल टेलिकमले एसएमएस सर्ट कोड सेवा उपलब्ध गराएको छ । नेपाल सरकार, गृह मन्त्रालयको ई-पास सम्बन्धी वेब पोर्टल epass.moha.gov.np मार्फत आवेदन प्राप्त भएपछि ई-पास उपलब्ध गराउने सम्बन्धी जानकारी नेपाल टेलिकमको मोबाइल भएका सम्बन्धित निवेदकहरुलाई Short Code “1112” मार्फत पठाउन सकिनेछ । उक्त कोड ई-पास उपलब्ध गराउने प्रयोजनका लागि सञ्चालन गरिएको हो । लकडाउन अवधिभरको लागि उक्त सर्ट काेड मार्फत पठाइने एसएमएस कम्पनीले निस्शुल्क गरेको छ भने सो सर्ट काेड सञ्चालनको लागि नेपाल टेलिकमले SMPP Account तथा VPN Connection समेत निः शुल्क उपलब्ध गराएको छ । साथै कम्पनीका मोबाइल प्रयोगकर्ताहरुले नेपाल सरकारको ई-पास सम्बन्धी वेब पोर्टल epass.moha.gov.np प्रयोग गर्दा खपत हुने मोबाइल डाटा समेत लकडाउन अवधिभरको लागि कम्पनीले निस्शुल्क गरेको छ ।
विपद् र जोखिम विरुद्ध राष्ट्रिय रणनीति बनाउन सरकारसँग हातेमालो गर्न तयार छौंः निर्मा
काठमाडौं । नेपाल बीमा तथा जोखिम व्यवास्थापन एसोसिएसन (निर्मा) ले विपद् र जोखिम विरुद्ध सरकारसँग हातेमालो गर्न तयार रहेको बताएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बच्न सरकारले लकडडाउन घोषणा गरेको सन्दर्भमा निर्माले विपद र जोखिम विरुद्ध राष्ट्रिय रणनीति बनाउनु पर्ने र त्यसका लागि सरकारसहित सरोकारवाला सबैसँग सहकार्य गर्ने जानकारी दिएको हो । कोरोनो भाइरस संक्रम रोक्न सरकारले लागू गरेको लकडाउनको कारण सर्वसाधारणको दैनिकीमै असर परेको भन्दै निर्माले यो परिस्थितिको सामना गर्नका लागि सरकारद्धारा स्थापना गरिएको राष्ट्रिय बिपद न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण तथा नीजि पहलमा स्थापना भएका विभिन्न जोखिम व्यवस्थापनका क्षेत्रमा कार्य गर्ने संघ संस्थाहरुसँग हातेमालो गरी अघि बढ्नका लागि नेपाल बीमा तथा जोखिम व्यवस्थापन एशोसियसन प्रतिबद्ध रहेको जानकारी गराइएको हो । ‘भविष्यमा आईपर्ने विभिन्न प्रकारका विपद् र जोखिम बिरुद्ध रणनीतिक तयारीका लागी नेपाल सरकारलाई सहयोग गर्न हामी तयार छौं,’ निर्माका अध्यक्ष डा. रविन्द्र घिमिरेद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । नयाँ बर्ष २०७७ आगमनको पूर्वसन्ध्यामा सारा संसार कोरोना भाइरस (कोभिड १९) को महामारीसँग जुध्न वाध्य भएको भन्दै निर्माले विश्वमा ४ अर्बभन्दा बढी मानिस बन्दाबन्दीकै अवस्थामा रहेकोले नेपालमा यो समय अझै लम्बिने आंकलन गरेको छ । शुरुआती दिनहरुमा यस खतरनाक रोगलाई निकै हल्का रुपमा लिएको कारणले जोखिम व्यवस्थापन सम्बन्धी पर्याप्त तयारी नगर्दा विश्वका शक्तिशाली मुलुकहरु समेत त्राहीमाम भएका र आज कोरोनासंग सिङ्गो मानव सभ्यता डरायमान बन्न पुगेको निर्माको ठहर छ । ‘मानव सभ्यताको सुरुवाती दिनहरुबाटै धेरै प्रकारका जोखिम र विपद्हरुको सामना गर्दै हामीहरु यहाँसम्म आइपुगेका छौ, यो अवधिमा मानव जातिले ठुला ठुला प्राकृर्तिक विपद र मानव सिर्जित विपद्हरुको सामना मात्र होइन, त्यस्ता विपदमाथि बिजय प्राप्त नै गरेको इतिहाँस छन्, मानवीय सभ्यता जति विकसित हुदै जान्छ, जोखिमका स्वरुप र परिणामहरु पनि परिवर्तन हुदै जाने तथ्य हामीबीच छ,’ निर्माले भनेको छ । कोरोना बिरुद्धको यो मानव जातिको लडाईमा नेपाल पनि सहभागी हुन पुगेको भन्दै निर्माले यसको संक्रमणबाट बच्न बन्दाबन्दीनै उपयुक्त देखिएकोले सरकारको यो आव्हानलाई सकारात्मक रुपमा लिई, जीवन रहेमात्र स्वतन्त्रताको उपयोग गर्न पाईन्छ भन्ने तथ्यलाई आत्मसाथ गर्दै सरकारलाई सहयोग गर्नु सबैको दायित्व हो भनेको छ । ‘यसको असर तत्कालको संक्रमणबाट बच्नु मात्र नभएर भोलिका दिनमा नेपाली अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने पनि हो, तथापि हाम्रो जस्तो अर्थतन्त्रमा यसको कस्तो प्रभाव पर्छ भन्नेमा हतार गर्नु पति हुदैन, कोरोना कहरको यो चुनौती भित्र नेपाल जस्ता देशका लागि सम्भावना पनि हुन सक्छन्, ती सम्भावना आगामी दिनमा देखिने छन्,’ अध्यक्ष डा. घिमिरेले भने । नेपालमा आउने बेला बेलाका यस्ता जोखिम र विपद्हरुले पनि सरकारलाई पूर्ण रुपमा सजग गराउन सकेको छैन भन्दै अध्यक्ष घिमिरेले विपद् व्यवस्थापन र जोखिम न्यूनिकरणमा संसारले धेरै फड्को मार्दासमेत नेपाल भने निकै पछाडि रहेको बताए । देशका केही सक्षम जनशक्ति आज विदेशी भूमिमा आफ्नो आविष्कार र अनुसन्धानको परिणाम कौडीको भाउमा बिदेशीलाई सुम्पन बाध्य छन् । देशमा रहेकाहरुलाई आवश्यक अनुसन्धान र विकासमा लगाउन सरकारले सकेको छैन । अवका दिनमा सकारात्मक सोचका साथ भोलिका दिनमा आइपर्न सक्ने विपद्को पूर्व तयारीमा जुट्न तथा जोखिम न्युनिकरणका माटो सुहाउदो उपायको खोजी तथा विकासमा अघि बढ्नु पर्ने अध्यक्ष घिमिरेले बताए ।