सनसिटी अर्पाटमेन्टको तेस्रो व्यक्तिको पिसिआर टेस्टकाे नतिजा नेगेटिभ
काठमाडौं । सनसिटी अपार्टमेन्टका तेस्रो व्यक्ति (बुहारी)को काेराेनाभाईरस (काेभिड-१९) काे नमुना परीक्षण फेरी पनि नेगेटिभ आएको छ । कोरोनाभाईरस (काेभिड-१९)को पिसिआर मेसिनबाट गरिएको उनको दोस्रो परीक्षण पनि नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाले बताए । मंगलबार सनसिटी अपार्टमेन्टमा उक्त व्यक्तिकाे परिवारको दुई सदस्य (८१ वर्षीया आमा र ५८ वर्षका छोरा)को पिसिआरबाट परीक्षण हुँदा नतिजा पोजेटिभ आएको थियो । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा बुधबार देवकोटाले यस्तै सो परिवारसँग संलग्न कामदारहरुको पनि पिसिआर परीक्षणको लागि नमुना संकलन भईसकेको जानकारी दिए । यस्तै बुधबार अर्पाटमेन्टमा २ सय ९८ जनाको र्यापिड परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको छ ।
सरकार भन्छ, ‘ठूला आयोजनाको काम सुरु गर, साइटमा न कामदार छन्, न सामग्री, नत पास नै’
काठमाडौं । यतिखेर देश लकडाउनमा छ । सर्वसाधारणहरु घरभित्रै छन् । उनीहरुले आफ्ना दैनिक गतिविधीहरु गर्न पाएका छैनन् । यसको प्रत्यक्ष प्रभाव र असर देशको अर्थतन्त्रमा परेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस ( कोभिड १९) सँग लड्नका लागि पनि लकडाउन अपरिहार्य छ । त्यसैले पनि अन्य देशहरु जस्तै नेपाल सरकारले यो उपाय अवलम्बन गरेको हो । केही दिन अगाडि मात्रै लकडाउनका कारण राष्ट्रिय गौरवका आयोजनाहरु पनि प्रभावित बने भनेर सरकारले ती ठूला आयोजनाहरुको काम सुचारु गर्न अनुमति दियो । झण्डै दुई साता बन्द आयोजनाले निर्माण कार्य सुचारु गर्नका लागि अनुमति पनि पाए । उनीहरुलाई पनि काम समयमै सक्नु पर्ने दवाव पनि उतिकै छ । सरकारले काम सुरु गर्न अनुमति दिँदा दिदै पनि ती ठूला आयोजनाहरु भने अझै पनि काम सुरु गर्ने अवस्थामा छैनन् । ती आयोजनाहरुलाई अहिले काम पुनः शुरु गर्न चौतर्फि समस्या परेको छ । हिजो लकडाउनको कारण घर फर्किसकेका कामदारहरु अहिले निर्माणाधीन आयोजना स्थलमा आउन सक्ने अवस्था छैन । नत ती आयोजनाहरुलाई निरन्तरता दिनको लागि निर्माण सामग्री नै छ । ती धेरै राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजनाहरु मध्ये केही आयोजनाको निर्माण कार्य मात्र आंशिक रुपमा सुरु भएको छ । जलविद्युतमा कार्यरत मजदुरमध्ये केही घर गइसकेको अवस्थामै आयोजनाले निर्माण सुरु गरेका छन् । विमानस्थलहरुको काम निरन्तर रुपमा अगाडि बढाउनका लागि सामग्रीको अभाव छ । धेरै परियाेजनाका त कामदार पनि घर फर्किसकेका छन् । सरकारले राष्ट्रिय गौरवका आयोजनाका रुपमा लिएका अपरियोजनाहरुमा तामाकोशी जलविद्युत, पोखरा विमानस्थल र मेलम्ची खानेपानी आयोजनाको काम अहिले नियमित भइरहेको भएपनि पहिलेको जस्तो तीव्र रुपमा भने छैन । ती आयोजनाहरुमा काम सुरक्षित रुपमा त भइरहेको छ । तर, निर्माण सामग्रीको अभावका कारण समयमै काम नसकिने होकी भन्ने पनि प्रश्न खडा भएको छ । आयोजनास्थलमा कामदार रहेका, तर बाहिरबाट कोही पनि नयाँ मानिस नगएका परियोजनाहरू भने सुचारु भएकै छन् । उनीहरु पहिल्यैदेखि एकान्त (आइसोलेसन)मा रहेर काम गरिरहेकै छन् । विमानस्थलसँग सम्बिन्धित आयोजनाहरु लकडाउनले विमानस्थलहरुर्लाइ पनि निकै असर परेको छ । विमानस्थल निर्माण गर्नका लागि धेरै सामग्रीहरु विदेशबाट आयात गरिन्छ । अहिले नेपाल र धेरै सामान आयात गर्नु पर्ने देशहरु लकडाउनमा रहँदा सामग्री आयात गर्न समस्या भइरहेको बताइएको छ । निर्माण सामग्री आपुर्तिका लागि आवतजावत ठप्प भएकोले धेरै समस्या भएको बताइएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका प्रवक्ता रुद्रसिँह तामाङले आयोजना स्थलमा सामान अभावको कारण निर्माण कार्य नियमित रुपमा नभएको बताए । ‘काम रोकिएको पनि छैन, तीव्र रुपमा भएको पनि छैन,अहिले सामानकै अभाव भएकोले लकडाउन अवधिभर काम नियमित गराउन असम्भव छ, उनले भने । ‘गौतमबुद्ध विमानस्थलका सामानहरु कोही स्पेनमा कोही बेलायतमा र कोही क्यानडामा छन्, त्यहाँबाट सामान ल्याउन अहिले सम्भव छैन, काम कसरी नियमित गर्न सकिन्छ ?,’उनले भने । आयोजनाहरुको मुख्य काम नै नभएको उनले बताए । ‘काम गर्ने त भन्छन्, तर अहिलेको अवस्थामा त्यो सम्भव छैन,’ उनले भने । लकडाउनले सुरुका केही दिन समस्या आए पनि अहिले सरकारी निकायले समेत सहयोग गरेकाले निर्माण कार्यलाई निरन्तरता दिइएको नागरिक उड्डयन प्राधिकरणको राष्ट्रिय गौरव आयोजनाका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए । सरकारले निर्माण कार्यलाई प्राथमिकतामा राख्न निर्देशन दिएपछि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालयले समेत सहयोग गरेको अधिकारीले बताए । सरकारले आयोजनाको काम नरोक्ने भने पनि सामग्री ल्याउन सहजीकरण हुन नसकेकाले द्रुतगतिमा कार्य गर्न नसकिएको उनको भनाइ छ । यस्तै, पोखरा विमानस्थलमा यतिवेला साढे ३ सय कामदार भित्रै बसेर काम गरिरहेको आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । ‘आयोजनामा कसैलाई पनि भित्र जान दिएका छैन, भित्रै खाने–बस्नेलाई मात्रै काम लगाएका छौँ,’ मुनकर्मीले भने । सिमेन्ट अभाव भए पनि होङ्सी सिमेन्ट ल्याउनका लागि सिडिओ कार्यलयसँग समन्वय भइरहेको उनले बताए । मेलम्ची खानेपानी राष्ट्रिय गौरवका आयोजनाहरु मध्येको एक प्रमुख परियोजना मेलम्ची खानेपानी जलविद्युत आयोजना हो । लकडाउनको अवधिमा ठूला आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिन सरकारले निर्देशन दिए पनि समन्वय अभावले केही मात्र सुचारु हुन सकेका छन् । लकडाउनले मेलम्ची खानेपानीलाई पनि धेरै असर परेको छ । आगामी असारमा सम्पन्न गर्ने लक्ष्यसाथ काम भइरहेको मेलम्ची खानेपानी आयोजना अहिले आंशिक रूपमा चलिरहेको छ । योसँगै यो असारमा सम्पन्न हुने वा नहुने पनि दुविधा उब्जिएको छ । आयोजना प्रमुख तिरेशप्रसाद खत्रीका अनुसार लकडाउनअघि ४ सयजनाले काम गरिरहेकामा अहिले ६० जनाको हाराहारीमा मात्र छन् । घर फर्केका कामदार नफर्केसम्म आयोजनाको काम पूर्ण क्षमतामा हुने सम्भावना नभएको उनको भनाइ छ । उनले द्दर फर्किसकेको कामदारलाई बोलाउन पनि पासको व्यवस्था नभएको उताए । पास पाउन पनि समस्या भएको उनको भनाइ छ । सडक विभागसँग सम्बन्धित आयोजना देशमा भइरहेको लकडाउनले सडक विभागसँग सम्बन्धित आयोजनाहरुलाई पनि निकै प्रभाव परेको छ । छिमेकी देश चीन र भारत जोड्ने तीन महत्वपूर्ण राष्ट्रिय गौरवका आयोजनामा पनि आंशिक रूपमा काम सुरु भएको छ । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले कोसी करिडोरको संखुवासभा, कालीगण्डकी करिडोरको मुस्ताङ र कर्णाली करिडोरका केही ठाउँमा काम सुरु गरिएको बताए । यी करिडोर निर्माणको काम अत्यन्तै विकट क्षेत्रमा छ । त्यसैले पनि तिनीहरुको काम गर्न सम्भव छन । उनले ती आयोजनाहरुको काम पूर्ण रूमा सुरु गर्न एक साता लाग्ने बताए । तर, कामदार आउनुपर्ने र निर्माण सामग्रीलगायतको व्यवस्थापनमा सहज हुनुपर्ने उत्तर–दक्षिण करिडोर आयोजना निर्देशनालयका निर्देशक शिवप्रसाद नेपालको भनाइ छ । उनका अनुसार सामग्रीको आपुर्ति गर्न एकदमै कठिन छ । शर्माले सबै आयोजनाहरुको काम सुरु गर्न थालिएको बताए । तत्काल निर्माण थाल्नुपर्ने पुल, नदी नियन्त्रणलगायतका आयोजनाहरुको भने सुतिच तयार पारेरकोरोनासम्बन्धी उच्चस्तरीय समितिमा पठाउने र आवश्यक सहजीकरण गर्ने तयारी भइरहेकामे उनको भनाइ छ । उनले करिब ५० भन्दा बढी आयोजनामा काम भइरहेको बताए । जसमा करिब ३ हजार कामदारहरुले नियमित काम गरिरेहका छन् । जलविद्युत क्षेत्र लकडाउनले जलविद्युत क्षेत्रमा पनि ठूलो समस्या निम्त्याएको छ । उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालले अहिले आयोजना स्थलमा उच्च सर्तकता पनाएर काम भइरहेको बताए । तर, धेरै कामदारहरु घर फर्किसकेकोले र निर्माण सामग्रीको पनि अभाव भएकोले कामलाई नियमित अगाडि बढाउन समस्या भइरहेको बताए । ‘अब बर्खायाम नजिकिँदै छ, निर्माण भइसकेका संरचनाहरुलाई सुरक्षित राख्न पनि चुनौती छ, निर्माण सामग्री साइटमा पुर्याउन पनि त्यतिकै चुनौती छ, उनले भने । निर्माणको सामग्री ढुवानीका लागि गृह मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर काम भइरहेको उनको भनाइ छ । विभिन्न जिल्लाहरु भएर सामान ढुवानी गर्नु पर्ने भएकोले लकडाउनको ‘लकडाउनको समयमा घर फर्किसकेका कामदारको व्यवस्थापन फेरी साइटमा ल्याउन सक्ने अवस्था सम्भव छैन, अहिले साइटमा उपलब्ध कामदारलाई परिचालन गरेर काम भइरहेको छ, यसले पनि काम समयमै सकिने होइन कि भन्ने चुनौती पनि छ’ उनले भने । राष्ट्रिय गौरवकै सूचीमा रहेको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम पनि सुरु भएको छ । आयोजनाको बाँधलगायत संरचना परीक्षण चलिरहेको र पेनस्टक जडानको कामसमेत चलिरहेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताए । उनले आयोजना निर्माण स्थल एकान्तमा भएकोले पनि काम सहज भएको बताए । तर, केही सामग्रीहरुको भने अभाव रहेको उनको भनाइ छ । सो आयोजनामा हाल ५ सय कामदारले काम गरिरहेका उनले बताए । सरकारले ठूला आयोजनाहरु सुरु गर्न अनुमति दिएपनि साइटमा कामदार नहुँदा, निर्माण सामग्री नहुँदा र जाने कादारलाई पनि पासको व्यवस्था नभएकोले निर्माणाधीन आयोजनाहरुको काममा निरन्तरता दिन समस्या भइरहेको छ ।
स्थानिय तहले पनि राहतका लागि खाद्यान्न लगेका छन्: उर्मिला श्रेष्ठ
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले स्थानिय तहहरुलाई पनि खाद्यान्न दिँदै आएको कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले जनाएकी छिन् । संचारकर्मीहरुसँग बोल्दै प्रमुख कार्यकारी श्रेष्ठले भनिन् ‘स्थानिय तहले पनि राहतका लागि खाद्यान्न लगेका छन् । ललितपुर महानगरपालिकाका २९ वटै वडा, किर्तिपुरका सम्पूर्ण वडा, काठमाडौं महानगरपालिकाका अधिकांश वडाहरुका लागि यहाँबाट पनि सामान उठाउनु भएको छ । बुढानिलकण्ठ र चन्द्रागिरीबाट पनि बुझ्न आउनु भएको छ, गत विहिवार र शुक्रबार यहाँ (कालिमाटी) त निकै भिड भएकाे महशुस भयो, राहतका लागि भनेर आउने मोटरहरुको लाम पनि निकै लामो थियो ।’ ‘अहिले अलि होलो भएकाे छ, उपत्यका बाहिर चाहि राहतका लागि भनेर अधिकांश ठाउँमा नुन र चिनी लग्नु भएकाे छ । त्यस्तै बिक्री कार्यलाई व्यवस्थित तुल्याउने हेतुले हामीले उपत्यका स्थित पाँच स्थानमा बिक्री कक्ष संचालनमा गरिरहेका छौ भने उपत्यकामा ३ वटा मोबाइल भ्यान परिचालन गरिएको छ, चितवनमा खुद्रा पसल संचालित छ भने देशैभर जति पनि हाम्रा कार्यालय र डिपोहरु छन् – सो स्थानहरु मध्ये सम्पूर्ण स्थानबाट सर्वसाधारण समेतलाई नुन बिक्री गर्दै आएका छौ भने संभव रहेका स्थानमा चिनी पनि बिक्री गर्दै आएको साथै कैलालीको धनगढीमा चाहि नगरपालिका स्वयले मोटरको ब्यवस्था मिलाएकाले घुम्ती सेवा मार्फत पनि खाद्यान्न बिक्री गर्न थालिएको छ’ – उनले भनिन् । लकडाउन लम्बिदै जाँदा नुन र चिनीको अभाव हुन्छ कि भनेर चिन्ता गर्नुपर्ने अवस्था नरहेको प्रस्ट पार्दै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भनिन् ‘नौ देखी दश महिनासम्मलाई पुग्ने नुनको मौज्दात हामीले राखेका छौ, चिनीको हकमा राहतका लागि एकै चोटी बढि परिणाम लैरहनु भएको छ, तसर्थ अहिलेको परिस्थितीलाई हेर्दा घरायसी प्रयोजनका लागि करिब एक डेढ महिनालाई पुग्ने मौज्दात हामीसँग छ, त्यस बाहेक अघिपछि पनि हाम्रो नियमित स्टलसम्म आउनु हुने हाम्रा नियमित ग्राहक र सबै त होईन अन्य सिमित महानुभावको माग धान्ने गरि अझ भनौ एक डेढ महिनासम्मका लागि चामल, तेल, गेडागुडी, चियापत्ती आदी वस्तुहरु हामी दिन सक्छौ, साथै ग्यासको पनि समस्या छैन ।’ र अर्को कुरा आयातमा अवरोध नभएका कारण सामान आउने क्रम पनि जारी छ, त्यसैले त्यस्तो अप्ठयारो पर्दैन भन्ने हाम्रो बुझाई छ ।’ तर चाही मजदुर अभावका कारण लोड अनलोडमा आँशिक समस्या देखिकाले केही खाद्यान्नहरु आउन धेरै त होईन थोरै समय ढिला हुने गरेको छ, भनौ न सरसर्ती हेर्दा यो पनि सामान्य अवस्था नै हो ।’ श्रेष्ठले नुन र चिनीको बजार माग अत्याधिक रहेको जानकारी दिदै नुनको खुद्रा मुल्य प्रति केजी २० रुपैया र चिनी प्रति केजी ७३ रुपैया रहेको पनि उनले स्पष्ट पारिन् । त्यसैगरि, कर्पोरेशनका विभागिय प्रबन्धक पंकज जोशीले मोबाईल भ्यान मार्फत प्रवाह हुँदै आएको सेवा बारे जानकारी भने ‘दैनिक ३ वटा मोबाईल भ्यान मार्फत उपत्यका स्थित नौ दश स्थानसम्म पुगी कर्पोरेशनले खाद्यान्न बिक्री गर्दै आएको छ, हालसम्म भित्री शहरी बस्ती क्षेत्र देखी लिएर काठ क्षेत्रसम्म गरि करिब एक सय साठि सत्तरी टोल छिमेकसम्म पुगिसकेको छ, यो निरन्तर जारी रहन्छ । हामीले मोबाईल भ्यान मार्फत नुन, चिनी, आटा, मैदा, चामल, सेनिटाईजर लगायतका अत्यावश्यकिय सामाग्रीहरु बिक्री गरेको छौ, साथै, केही दिन यताबाट इन्डक्सन चुलो पनि बिक्री गर्न थालिएको छ ।’ ‘बजार माग र पकेट क्षेत्रको आधारमा स्थान छनौट गर्ने गरिएको छ’ उनले भने । साथै, कर्पोरेशनबाट स्थानिय तह बाहेक पनि चेम्बर अफ कमर्श, उद्योग वाणिज्य संघ र अन्य संघ संस्थाहरुले राहतका लागि भनेर खाद्य सामाग्री लगेको जानकारी जोशीले दिए । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हालको जटिल परिस्थितीको गाम्भिर्यतालाई मनन गर्दै अत्यावश्यक सामाग्री खरिदका क्रममा सामाजिक दुरी कायम राख्न आम उपभोक्ता वर्गमा आग्रह गर्नुका साथै आफूलाई आवश्यक पर्ने अत्यावश्यक सामाग्रीको लागि कर्पोरेशनलाई खबर गरेको अवस्थामा घर टोलसम्म सामाग्री पुर्याउने जिम्मेवारी साल्ट ट्रेडिङले पुरा गर्ने समेत बताईन् ।
सनसिटी अपार्टमेन्टकाे ‘ए’ ब्लकमा बस्ने सबैको र्यापिड टेस्टको रिपोर्ट नेगेटिभ
काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टकाे ‘ए’ ब्लकमा बस्ने सबैको र्यापिड डाइग्रोस्टिक टेस्टको रिपोर्ट नेगेटिभ आएको छ । अपार्टमेन्टको ए ब्लकमा बस्ने एकै परिवारका दुई जना कोरोना संक्रमित पुष्टि भएसँगै र्यापिड टेस्ट विधिबाट परीक्षण शुरु गरिएको थियो । एकैसाथ ३ जनालाई कोरोना भाइरस देखिए पछि आज विहान स्वास्थ्य शाखा सहसंयोजक लक्ष्मी कोइरालाको नेतृत्वमा १५ जनाको टोलिले ‘ए’ ब्लकमा रहेका २ सय ९६ जनाको परीक्षण गर्दा नेगेटिभ रिपाेर्ट आएकाे कागेश्वरी नगरपालिकाको उप प्रमुख विन्दु पुडासैनीले बताईन । सो अपार्टमेन्टको ए ब्लकमा बस्ने सबैको र अन्य ब्लकमा बस्नेको स्वास्थ्य अवस्था हेरेर टेष्ट गरिएको र हालसम्म एक जनामा नि पोजेटिभ नदेखिएको उप प्रमुख पुडासैनीले जानकारी दिइन । करिब ५ सय परिवार बस्ने क्षमता भएकाे उक्त अपार्टमेन्टमा पाँचबाट ब्लक रहेका छन् , भने हाल यति नै मानिस बसाेबास गरिरहेका छन् भने र यकिन गर्न नसक्ने कागेश्वरी नगर उप-प्रमुखकाे भनाइ छ ।
सिटिजन लाइफ इन्स्योरेन्सले राहत कोषमा दियो साढे ७ लाख रुपैयाँ
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । अहिलेको यस विषम परिस्थितिमा सहयोगको पाइला अघि बढाउँदै कम्पनीले साे मात्राकाे सहयाेग गरेकाे हाे । साथै, कम्पनीसँगको समन्वयमा कम्पनीको शाखा कार्यलयहरुले स्थानिय नियकसंग सहकार्य गरि महामारी सचेतना तथा रोकथामको लागी अत्यावश्यक सहयोग गरेको व्यहोरा जानकारी गर्दछौं । विश्वभर फैलिएको यस महामारीले अहिलेसम्म १ लाख २६ हजार भन्दा बढी मानिसहरुको ज्यान लिएको छ । यस महामारीलाई नेपालमा फैलिन नदिनको लागि स्थानीय निकाय र नेपाल सरकारले निरन्तररुपमा प्रयास गरिरहेको यस समयमा सिटिजन लाइफ इन्स्योरेन्सद्वारा उपलब्ध गराइएको आर्थिक सहयोगले केहि हदसम्म भए पनि मद्दत पुर्याउँने आशा गरिएको छ ।
राष्ट्रपति महिला उत्थान, कर्णालीको वरदान
जाजरकाेट । दुर्गम तथा पिछडिएको जिल्लाका समस्यमा परेका गर्भवतीहरुलाई हवाई मार्गमार्फत उद्धारगरी स्वास्थ्य संस्थासम्म पुर्याउन सञ्चालन गरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रम कर्णालीका महिलाका लागि वरदान सावित भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्वार र उपचार कार्यक्रम प्रभावकारी देखिएको यहाँका वासिन्दाले अनुभव गरेका छन् । सडक सञ्जाल नपुगेका दुर्गम र पिछडिएको जिल्लाका गर्भवती महिलालाई हेलिकोप्टरबाट उद्वारगरी अस्पतालसम्म पुर्याउने गरिएकाले यहाँका धेरै सुत्केरी महिलाको ज्यान जोगिएको पाइएको छ । यस कार्यक्रममार्फत कर्णाली प्रदेशका १० जिल्लामा मात्र सङ्घीय सरकारबाट ४१ जना र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयबाट १५ जना गर्भवतीको उद्वार भएको छ । जाजरकोटका ५, डोल्पाका १३, हुम्लाका ९, मुगुका ६, कालिकोटका ६ र सल्यानका २ जना गर्भवतीको हेलिकोप्टरबाट उद्वारगरी उपचार गराइएको छ । उद्वार कार्यविधि २०७५ अनुसार गर्भवतीको हवाई मार्गबाट उद्धार गरिएको हो । नेपाल सरकारद्धारा निर्माण गरिएको ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको उद्वारसम्बन्धी कार्यविधि, २०७५’ बमोजिम यहाँका सुत्केरी तथा अप्ठेरोमा परेका दुर्गम क्षेत्रका महिलाको उद्वारगरी अस्पताल लगेर सुत्केरी गराइएको छ । यस कार्यक्रमअनुरुप उपचार पाउनेमा यहाँका सवैभन्दा बढी गर्भवती डोल्पा लिल्लाका परेका डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । उनका अनुसार सडक सञ्जालले नछोएको र जिल्लामा भरपर्दो स्वास्थ्य संस्था नभएका कारण हवाई मार्गमार्फत धेरै गर्भवतीको उद्धार गरिएको हो । “सरकारले यसरी हवाई मार्गबाट सुत्केरीको उद्वार गरेर विभिन्न अस्पतालमा नपुर्याएको भए अहिलेसम्म धेरैको ज्यान जान सक्थ्यो” उनले भनिन् । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्वार गर्ने कार्यक्रम सुरु भएदेखि अहिलेसम्म गम्भीर अवस्थामा पुगेका ९१ जनाको ज्यान बचाउन सफल भएको छ । जसमध्ये कर्णालीका मात्र धेरै छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विसं २०७५ असोज ३० गते सो उद्वार कार्यविधि बनाएको थियो । यो कार्यविधि कार्यान्वयनमा आएसँगै कर्णालीका गर्भवतीको उद्वार कार्य शुरुभएको थियो । पुर्वशान्ति तथा पुनर्निर्माण मन्त्री तथा डोल्पाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद सत्या पहाडीले यो कार्यक्रमले यहाँका धेरै महिलामाथि न्याय भएको बताए । उनले भने, “यो कार्यक्रम शुरु भएदेखि नै राम्रो प्रभाव पारेको छ, यहाँका महिलाले न्याय पाएको महसुश हामी सबैलाई भएको छ ।” कर्णाली तथा दुर्गमका महिलाहरुले प्रसुतीजन्य जटिलताका कारण अकालमै मृत्युवरण गर्नुुपरेको पीडालाई पटक पटक संसदमा उठाएका कारण यो हवाई उद्वार कार्यक्रम आएको र हाल सफल पनि भएको उनले बताइन्। कोही गरिब भएकै कारण मर्नुपर्ने अवस्थाको डरलाग्दो यथार्थलाई मध्यनजर गर्दै यो कार्यक्रमको शुरुवातका लागि कर्णालीका जनप्रतिनिधिहरुले आवाज उठाएको सांसद पहाडीले बताए । स्वास्थ्य सेवाबाट वञ्चित दुर्गमका महिलाको ज्यान मात्र जोगिएको छैन राज्यले नागरिकको जीवन रक्षाका लागि निर्वाह गर्नुपर्ने भूमिका पनि प्रभावकारी भएको देखिएको उनको वुुझाई छ । खासगरी कर्णालीका दुर्गम जिल्लामा अझै सबै ठाउँमा सडक पुगेको छैन । सूचनाको पहुँच सवै ठाउँमा नभएकै कारण उद्वार हुन नसकेको गुनासो समय समयमा आइरहेकै हुन्छ । यसरी हवाई उद्वार हुँदा आमा र शिशुको समेत ज्यान बच्नुका साथै मातृ तथा शिशु मृत्यु दरमा कमी ल्याउन समेत योगदान पुगेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । सुविधासम्पन्न अस्पतालमा उपचार नगरिए ज्यान जान सक्ने सम्भावना भएमा स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्य स्वयंसेविकाले स्थानीय स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीको सिफारिश र खबरका आधारमा गृह मन्त्रालयको समन्वयमा गर्भवती वा सुत्केरी महिलालाई यस कार्यक्रममार्फत तत्काल हेलिकोप्टरबाट उद्वार गरिँदै आइएको छ । नेपाल सरकारको राष्ट्रपति उत्थान कार्यक्रम समन्वय इकाइले उद्वारका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ । विसं २०७५ पुस ६ गते हुम्ला चंखेली गाउँपालिकाकी २२ वर्षीया नीरा शाहीको पहिलोपटक उद्धार गरेर यो कार्यक्रमको औपचारिक शुरुवात भएको हो । महिला बालबालिका मन्त्रालयका सूचना अधिकारी अन्जु ढुङ्गानाकाअनुसार दुर्गममा बसोबास गर्ने विपन्न परिवारका महिलाले बढी प्राथमिकता पाएका र त्यसैबमोजिम उद्धार पनि गरिएको बताए । दार्चुला, बैतडी, मुगु, डोटी, अछाम, जाजरकोट, दैलेख, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा, म्याग्दी, ताप्लेजुङ, रसुवा, सङखुवासभा, भोजपुर, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, दोलखा, मनाङ, मुस्ताङ, रोल्पा, सल्यान, रुकुमपूर्व र रुकुमपश्चिमका सडक सञ्जाल नपुगेका हिमाली र पहाडी भेगमा यो कार्यक्रम सञ्चालन गरिएको छ । दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती र सुत्केरी महिलाहरूको हवाई उद्वार गर्नका लागि रु २२ करोड बजेट विनियोजन गरिएको छ । त्यस्तै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले समेतले कर्णाली प्रदेशका सुत्केरी हुन नसकी समस्यामा परेका गर्भवतीको उद्धार गर्ने तथा सङ्घीय सरकारसँग सम्पर्क गर्ने काम गरिरहेको मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार थोरै बजेट भएकोले मन्त्रालयले स्वास्थ्य निर्देशनालयलाई अख्तियारी दिएर खर्च गर्दै आएको छ । शुरुमा सङ्घीय सरकारसँग गर्भवतीको उद्धारका लागि अनुरोध गर्ने र कुनै कारणवस सो कार्य सम्भव नभएमा प्रदेश सरकारले अन्तिममा उद्वार गर्ने व्यवस्था मिलाएको अधिकारीको भनाई छ । यस प्रदेश सरकारले विभिन्न जोखिममा परेका ४९ महिलाको उद्धार गरेको बताइएको छ । तीमध्ये अघिल्लो वर्ष मात्र १५ जना गर्भवती महिलाको उद्वार गरिएको थियो । तर पनि आवश्यक प्रचारप्रसारको अभावमा यो कार्यक्रमको अझै पनि सबै जनताको पहुँचमा पुग्न नसकेको अनुभव नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलको छ । अधिकांश गर्भवतीहरुको पहुँचमा भएका नेताको पहलमा मात्र उद्वार भएको उनले बताए । उनले भने, “ सरकारले कोष नै खडा गरेर गर्भवतीको उद्धार त गरिरहेको छ तर त्यो सवै पहुँचवालाका लागि मात्र हुन गएको छ जस्तो मलाई लागेको छ, सामान्य मानिसले यस्तो सेवा लिन कठिन बन्दै गएको छ ।” सामान्य नागरिकहरु सूचनाको पहुँचमै नरहेकोले पनि यस्तो अवस्था आएको धेरेको अनुभव छ । फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष धावा सम्डुक गुरुङले हाम्रो जस्तो सञ्चारदेखि सडक सुविधा नभएको ठाउँमा यो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताए । उनले यो कार्यक्रम नभएको भए धेरै गर्भवतीको ज्यानसक्थ्यो भने । उनले भने, “हाम्रो जस्तो आर्थिक अवस्था कमजोर भएको जिल्लामा सवैको पहुँचमा सञ्चार छैन, फोन गर्न एक दिन हिडेर जानुपर्छ, जनप्रतिनिधिको सूचनाका आधारमा अहिलेसम्मका सुत्केरीको उद्धार भएको छ, त्यसैले यहाँका सवै नागरिकलाई समान रुपमा समेट्ने प्रयास यो कार्यक्रममार्फत गर्ने प्रयास गरेका छौँ ।” यस्तै ठुलीभेरी नगरपालिकाका नगरप्रमुख गणेसबहादुर शाहीले यो कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताए । उनले डोल्पाका लागि यो कार्यक्रम सबैभन्दा ठूलो वरदान सावित भएको बताए । शिक्षा, स्वास्थ्य, सूचनामा पहुँचको अवस्था कमजोर भएको डोल्पामा नियमित गर्भजाँच देखि अन्य सेवा नपाएको अवस्थामा धेरै महिलामा स्वास्थ्य समस्या आइरहने हुँदा यो कार्यक्रमले यहाँका महिलालाई ठूलो राहत मिलेको बताए । डोल्पा अस्पतालमा सुत्केरी सेवा प्रभावकारी नभएका कारण महिलाहरुलाई बाहिरै लगेर उपचार गर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । गर्भवतीको सेवा र सुविधाका लागि ठुलीभेरी नगरपालिकाले खाने, बस्ने र उपचारका लागि आउदा लाग्ने बाटो खर्च बापतको शुल्क समेत उपलव्ध गराइरहेको नगरप्रमुख शाहीको भनाई छ । रासस
२०७७ सालमा सिनेमाः रिलिज विद्युतीय उपकरणबाट, भुक्तानी डिजिटलाइज्ड
काठमाडौं । चीनको उहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल संसारभर फैलिसकेको छ । जसबाट वैश्विक अर्थव्यवस्थामा गम्भीर असर पर्ने सरोकारवालाले बताइसकेका छन् । मानव सभ्यतालाई नै चुनौती दिन सफल कोरोना भाइरसले मानवको आधारभुत आवश्यकताको परिभाषालाई बलल्नु पर्ने अवस्थामा पुर्याएको छ । यो कहरको बर्तमान अवस्थामा मानव जीवनको प्रमुख आवश्यकता भनेको गाँस, बास, तथा पहिरनको साथै स्वास्थ्य शिक्षा तथा मनोरन्जन समेत संकटमा परेको छ । आशा गर्न सक्छौं कि केही समयपछि कोरोनासँग विजय प्राप्त गर्नेछौं । यो हाम्रो वर्ष २०७७ कोरोना भाइरस संक्रमणमाथिको विजयको वर्षका साथै मानव सभ्यताको नयाँ पदचापको पानीढलो बन्ने प्रवल संभावना समेत रहेको छ । केही समयपछि कोरोना कहर साम्य हुनेछ । मानवीय क्रियाकलाप दिन प्रतिदिन सामान्य हुँदै जानेछ । व्यापार व्यवसायले नयाँ पद्दतिवाट आफ्नो साम्राज्य फैलाउँदै जानेछ । वतर्मान परिस्थितिमा अन्य क्षेत्र जस्तै चलचित्र क्षेत्रपनि नराम्रोसँग प्रभावित भएको छ । अन्य सामान्य समयमा समेत व्यवसाहिक रुप धारण गर्न नसकेको आरोप लाग्ने गरेको, निर्माणमा प्रयोग भएको ८० प्रतिशत लगानी डुब्ने गरेको, दर्शकको अपेक्षा अनुरुप चलचित्र निर्माण हुन नसकेको, जस्ता समस्याले गाँजेको नेपाली सिनेजगत यो कोरोनाको कहरबाट झन थलापरेको छ । कोरोना संक्रमणपछि विश्व बजारसँगै नेपालमा पनि हरेक क्षेत्रमा डिजिटल कारोबार बढ्ने सम्भावना देखिन्छ । नेपाली चलचित्र क्षेत्रले पनि चलचित्र प्रदर्शनको परम्परागत अवधारणा परिवर्तन गरी प्रविधिमैत्री नयाँ अवधारणामा जाने सम्भावना देखिन्छ । अहिलेसम्मको सिनेमाको व्यापारलाई हेर्दा विषेशत निर्माता मात्र समस्यामा पर्ने गरेको देखिएको थियो । कोरोनाबाट सिर्जित मानसिकताहरु जस्तै भिडभाडमा नजाने, सामाजिक दुरी कायम गर्ने, लगायतका कारणले चलचित्र निर्माता मात्र नभएर वितरक, प्रसारक, प्राविधिक, कलाकार लगायत समग्र क्षेत्र नै समस्यामा पर्ने देखिन्छ । यो समस्याको सामाधानको लागि अन्य क्षेत्रले जस्तै चलचित्र क्षेत्रले पनि केही नयाँ विधि र प्रक्रिया अबलम्बन गर्नुपर्ने आवश्यकता सरोकारवाले महसुस गरेका छन् । वर्तमानको कहरबाट औधोगिक क्षेत्रलाई माथि उक्लिन धेरै समय नलागे पनि मनोरञ्जन उद्योगलाई भने १ देखि २ वर्षसम्म लाग्न सक्नेछ । चलचित्र निर्माता तथा कलाकाल दीपकराज गिरी नेपाली चलचित्र वितरणको परम्परागत प्रणालीमा पुनरबिचार गरी नयाँ अबधारणामा नजाने हो भने नेपाली कला साहित्य र पहिचान समाप्त भएर सांस्कृतिक अतिक्रमणको चपेटामा परिने खतरा रहेको बताउँछन् । ‘म सानो छदा गाडीमा हिन्दी गित बज्थे, पार्टी वा विहेमा हिन्दी गित नै घन्किन्थे, हलहरुमा हिन्दी सिनेमा नै चल्थे, अहिले यी सबै ठाउँमा नेपाली गित र नेपाली चलचित्रको उपस्थिति बलियो भएको छ, अहिले फेरि हामी संकटको संघारमा छौं, विदेशी चलचित्रहरु हाम्रा कार्यालय वा निवासहरुमा आइरहेका छन्, हाम्रा चलचित्रहरु फिल्म हलमा मात्रै छन्, यो परम्परागत प्रणालीमा सुधार गरेर हामी पनि नेपालीका घर वा कार्यालयमा पुग्न सकेनौं भने नेपाली चलचित्र उद्योगको अवस्था दयनीय हुन सक्ने सम्भावना छ,’ गिरीले भने । नेपाली चलचित्रले पनि डिजिटल प्लेटफर्म प्रयोग गरेर चलचित्र प्रदर्शन गर्ने र डिजिटल भुक्तानी लिने प्रणालीमा आवद्ध हुनुपर्ने उनको भनाइ छ । विश्व बजारमा चलचित्र प्रदर्शनको लागि नेटफ्लिक्स जस्ता प्लेटफर्म तयार भएर सोही अनुसार नेपाली चलचित्र पनि प्रदर्शनको अवधारणा आउन सक्ने निर्माता तथा निर्देशक निश्चल बस्नेछ बताउँछन् । तर, यसका लागि अहिलेको पूर्वाधारले नपुग्ने र नयाँ बन्नुपर्ने उनको भनाइ छ । ‘थिएटरमा गएर फिल्म हेर्नुको मजा घर वा कार्यालयमा बसेर डिजिटल प्लेटफर्मबाट हेरेर लिन सकिदैन, तर डिजिटल प्लेटफर्मबाट फिल्म प्रदर्शन गर्न नै सकिदैन वा यो विकल्प नै होइन भन्ने कुरा होइन, यसका लागि भुक्तानी प्रणालीलाई सहज बनाउनु आवश्यक देखिन्छ,’ निर्माता तथा निर्देशक बस्नेतले भने । डिजिटल प्लेटफर्मबाट फिल्म प्रदर्शन गर्नको लागि भुक्तानी प्रणाली सहज, कम खर्चिलो र सबैको पहुचमा पुग्न आवश्यक रहेको उनको धारणा छ । अहिले संचालनमा रहेका डिजिटल भुक्तानी मध्यस्थकर्ता सेवा प्रदायकले लिने कमिसन धेरै भएको र सोही कारण फिल्म हेर्ने दर्शक तथा निर्मातालाई नोक्सानी हुने र मध्यस्थकर्ता सेवा प्रदायकले बढी फाइदा लिने अवस्थामा पुनरावलोकन हुनुपर्ने उनको भनाइ छ । निर्मात्री तथा अभिनेतृ दिपाश्री निरौला पनि अबको नेपाली चलचित्रको भविष्य डिजिटल प्लेटफर्ममै रहेको रहेको बताउँछिन् । तर, यसका लागि डेटा सुरक्षा मुख्य चुनौतिको रुपमा देखापरेको उनको भनाइ छ । ‘नेपालमा पनि फिल्म प्रदर्शन गर्ने केही डिजिटल प्लेटफर्म संचालनमा छन्, तर त्यसमा राखिएको फिल्म पाइरेसीको चपेटामा परेका उदाहरण पनि बढ्न थालेका छन्, त्यसैले पाइरेसी रोक्ने र भुक्तानी प्रक्रियालाई सहज बनाउने हो भने अबको एकमात्र विकल्प डिजिटल प्लेटफर्म नै हो जस्तो देखिन्छ,’ निरौलाले भनिन् । चलचित्र मनोरञ्जन मात्र नभएर, कला, साहित्य, संस्कृति समेतको जर्गेना तथा प्रचारप्रसारको माध्यम भएकोले यो क्षेत्रको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी बताउँछन् । हाल प्रयोगमा रहेको वितरण प्रणलीमा केही सुधार गर्नुपर्ने, प्रविधिको प्रयोगसँगै डिजिटल माध्यमलाई व्यवस्थित तथा सुरक्षित गरिनुपर्ने, चलचित्र क्षेत्रमा सिनेमा हलको ठूलो भुमिका तथा महत्व भएकोले सुरक्षित तवरले हलसम्म दर्शक तानिने वातावरण बनाउन यो क्षेत्रसँग सम्बन्धित सबैले विशेष पहल गर्न जरुरी रहेको अधिकारीको भनाइ छ । यस्तै राज्यले पनि चलचित्र क्षेत्र नतङ्ग्रिदासम्म सिनेमाको उत्पादन, प्रसारण, तथा वितरणमा लगाइएको कर छुट गरेर सिनेजगतलाई धरासायी हुनबाट जोगाउनुपर्ने अधिकारी बताउँछन् । चलचित्र वितरक प्रचन्डमान श्रेष्ठको मत भने अलिक फरक छ । कुनैपनि क्षेत्रको बजार सधै एकनास नभएर उचारचढाब हुने भन्दै उनले २०७२ को भुकम्पपछि पनि मनोरञ्जन उद्योग चाढै नै पुनस्थापित भएको बताए । संकटको बेलामा नै मानिसलाई मनोरन्जनको आवश्यकता हुने भएकोले दर्शकले सिनेमा हेर्ने तर त्यसको लागि स्तरीय चलचित्र भने बन्नुपर्ने उनको धारणा छ । यो कहरपछि सिनेमा हेर्ने प्रबृत्तिमा भने केही परिवर्तन आउने, सिनेमा हलसम्म पुग्ने दर्शकहरु डिजिटल माध्यमहरुमा केन्द्रित हुने हुनाले डिजिटल माध्यमको उचित नियमन तथा व्यवस्थापन हुन सकेन भने चलचित्र निर्माताहरु चरम घाटामा जाने तथा नेपाली चलचित्र क्षेत्र नै खतरामा पर्न सक्ने वितरक श्रेष्ठको मत छ । विश्वभर संक्रमण फैलिरहेको कोरोना भाइरस संक्रमणले नेपालीलाई पनि डिजिटल कारोबारमा अभ्यस्त बनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले इन्टरनेट तथा मोबाइल बैंकिङ कारोबार गर्न ग्राहकलाई प्रोत्साहन गरिरहेका छन् । मोबाइल र इन्टरनेट कारोबारमा कुनै पनि प्रकारको शुल्क नलाग्ने व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाले नेपालीलाई डिजिटल कारोबारमा बानी पर्न वाध्य बनाएको छ । यही डिजिटल कारोबारमा जगमा बसेर चलचित्र प्रदर्शनसम्मलाई पनि प्रविधिमैत्री बनाउन सकिने सरोकारवालाको भनाइ छ । तर, यसका लागि पेमेन्ट गेटवे सहज हुनुपर्ने, डेटा सुरक्षाको लागि पर्याप्त पूर्वाधार बन्नु पर्ने, कुनै प्रकारको कानुनी अड्चन वा विवाद सिर्जना भएमा न्यायिक निरुपणको लागि कानुनी संरचना तयार हुनुपर्ने सरोकारवालाको भनाइ छ । ‘पहिला चलचित्र बन्न थाले, त्यसपछि थिएटरको अवधारणा आयो होला, पछि टेलिभिजन आयो र अहिले मोबाइल आएको छ, अब चलचित्र थिएटर वा टिभीमा मात्रै होइन, मोबाइल मार्फत मान्छेका हातहातमा रिलिज हुने दिन आएका छन्, प्रविधिले दिएको यो अवसर हामीले पनि उपयोग गर्नुपर्छ, त्यसका लागि हामी तयार भएर रहनुपर्छ,’ दीपराज गिरीले थपे ।
नौबिसे पिप्लामोड सडकको मर्मतसम्भार शुरु
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को सन्त्रासले मुलुकभरको जनजीवन ठप्प छ । अधिकांश सर्वसाधारण घरमै दिन बिताइरहेका छन् । अत्यावश्यक बाहेकका सवारीसाधन नचल्दा सर्वसाधारणको दैनिकी निकै प्रभावित भइरहेको छ । तर, कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को केही सकारात्मक प्रभाव पनि देखिन थालेको छ । लकडाउनकै कारणले सवारीको अत्याधिक चापले भरिभराउ जस्तै हुने त्रिभुवन राजपथ अहिले शान्त र आर्कषक देखिन थालेको छ । यस अघि अत्याधिक सवारी चापको कारणले सडक मर्मतसम्भार गर्न नसकिएको त्रिभुवन राजपथको नौबिसे पिप्लामोड सडकको मर्मतसम्भारको काम अहिले थालिएको छ । लकडाउनको समयमा अत्यावश्यक बाहेकका सवारी साधन नगुड्ने भएपछि सो सडकको मोड सुधारको काम थालिएको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई.कृष्णराज अधिकारीका अनुसार दुई दिन अघिबाट घुम्तीहरुमा मोड सुधारको काम थालिएको छ । सो सडक खण्डको १० किलोमिटर क्षेत्रमा माथिल्लो तहमा कालोपत्र (ओभरले) गर्ने तयारी गरिएको छ । कालोपत्रेका लागि अलकत्रा घोल्ने मेसिन (प्लान्ट) लगिसकिएको छ । प्रमुख अधिकारीले ठेकेदार कम्पनीले ओभरलेका लागि तयारी गरिरहेको जानकारी दिए । सो सडक सात मिटर फराकिलो रहेको छ । लकडाउनको समयमा काम गर्न पाएमा दुई साता भित्रमा सबै काम सम्पन्न हुने उनको भनाइ छ ।गएको दशैं अगाडी एकतर्फी सडक रोकेर मर्मत गर्दा सवारी जाम अत्याधिक भएपछि काम गर्न सकिएको थिएन । प्रमुख अधिकारीले भने,“असोजको ५ गते सम्म दिउँसोमा केही समय एक तर्फी सवारी रोकेर काम गर्दा अत्यधिक सवारी जाम भएपछि काम स्थगन गरेका थियौं ।” सो सडकखण्ड राजधानी काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य नाका हो । यो क्षेत्रमा साँघुरो, उकालो र नागबेली सडक भएकाले सवारी जाम अत्यधिक हुने गर्दछ । सवारी साधनहरु सञ्चालन भएको समयमा काम गर्न निकै कठिन हुने गरेकाले लकडाउनको अवसरलाई उपयोग गर्न लागिएको हो । डिभिजन सडक कार्यालयले लकडाउनलाई उपयोग गर्दै पृथ्वी राजमार्गमा रोड मार्कीङ्को काम पनि शुरु गरेको छ । रासस